गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

१४८६ दिन अगाडि

|

१८ असोज २०७९

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

१४८६ दिन अगाडि

|

१८ असोज २०७९

हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मावलम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्छन् ।   आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा  गरिन्छ ।  प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।   नवरात्रीभर सप्तशती  पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।   छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैँ मनाइन्छ । भारतमा विशेष गरी नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ । पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।   आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने  दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ । गुजरातमा दसैँको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुईवटा साना–साना रंगाएका  लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन्। त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।   भारतबाहेक बंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।   करिब १ लाख नेपाल भाषी रहेको बर्मामा पनि दसैँ मनाइन्छ ।  नेपाल भाषीको बाहुल्यता रहेको पूर्व राजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ  ।   वर्मापछि बंगलादेशमा पनि दसैँ मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् ।   त्यस्तै बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैँ मनाउँछन् । न्युज कारखानाबाट

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

१४८८ दिन अगाडि

|

१६ असोज २०७९

राजेश भण्डारी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ । अत्यासलाग्दो सडक जाम खुलाउन बिहानदेखि नै कडा मेहनत गर्नुपर्छ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएदेखि मीराको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न र यातायातको सहज व्यवस्थापन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सो समितिमा सदस्य छिन् मीरा । सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको समितिले सार्वजनिक यातायातको यान्त्रिक परीक्षण गर्ने, बिमा नभएका सवारी चल्न नदिने, मादक पदार्थ र लागु पदार्थको नियमित चेकजाँच गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनमा मीराको टिम लागेको छ । सबैलाई दसैँ लागेको छ तर, मीरा ड्युटीमै दसैँ मनाउने योजनामा छिन् । ‘दसैँ कसरी मनाउनुहुन्छ ?’ भन्ने प्रश्नमा मीरा भन्छिन्, ‘ड्युटीमै बित्छ, कतै जान्नँ ।’ ट्राफिक कमाण्डरको जिम्मेवारीमा रहेकी उनी दसैँमा औपचारिक र अनौपचारिक कार्यक्रममा व्यस्त हुन्छिन् । सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँ समारोह तथा प्रहरी प्रधान कार्यालयमा गरिने मौलो पूजामा उनको सहभागिता अनिवार्य हुन्छ । ‘अनौपचारिक कार्यक्रममा पनि कमाण्डरको हिसाबले मैले मनिटरिङ गर्नुपर्छ,’ मीरा भन्छिन्, ‘विजया दशमीको दिन घर जान नपाएकालाई सिनियरले टीका लगाइदिने चलन छ, मेरो कार्यालयमा सिनियर भएको हिसाबले म पनि त्यही गर्छु ।’ मीराजस्तै घर जान नपाएर ड्युटीमै दसैँ मनाउने ट्राफिक प्रहरी धेरै हुन्छन् । आफूभन्दा जुनियरलाई परिवारको न्यास्रो मेटाउने प्रयास पनि उनले नै गर्नुपर्नेछ । ती दसैँ मीराको पुर्ख्यौली थातथलो पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ मा पर्छ । बालापन र क्याम्पस जीवन उनले वीरगञ्जमा बिताइन् । स्कुल तहको शिक्षा उनले वीरगञ्जको राष्ट्रिय विद्यापीठ व्यावसायिक माविबाट पूरा गरिन् । स्नातक तह हरिखेतान बहुमुखी क्याम्पस र स्नातकोत्तर तह ठाकुरराम क्याम्पसबाट पूरा गरिन् । स्कुल र क्याम्पस पढ्दा मीरा फुटबल खेल्थिन् । घर नजिकै चउर थियो । सिनियर दाइहरुसँग खेलेर मीराले फुटबलको लय समातिन् । २०५१ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएपछि मीराले प्रहरीमा महिला फुटबल टिम बनाइन् । नेपाल प्रहरीको टिम क्याप्टेन हुँदै राष्ट्रिय टिमको कप्तान भएर मीराले फुटबलबाट सन्यास लिइन् । नारायणी अञ्चलबाट टिम क्याप्टेन भएर खेल्ने गरेकी मीरा सिनियर र केटा साथीहरूसँगै धेरै खेल्थिन् । ‘घर नजिक चउर भएको फाइदा मैले उठाएँ,’ मीरा भन्छिन्, ‘बेलुका भएपछि टोलका मानिसहरू त्यहाँ भेला हुन्थे, त्यहीँबाट फुटबलमा लगाव भयो ।’ स्कुल तहमा भलिबलबाट खेल जीवन सुरु गरेकी मीराले फुटबल कप्तान भएर आफ्नो खेल जीवनबाट विश्राम लिइन् । स्कुल पढ्दा ‘वीरेन्द्र शिल्ड’मा सहभागी भएको अहिले पनि उनको स्मृतिमा ताजा भएर आउँछ । प्रहरीमा भर्ना हुनुअघिका दसैँ र त्यसपछिका दसैँ मीराका लागि भिन्न छन् । जागिरमा आउनुअघि वीरगञ्जमा बुबा र आमासँग उनले दसैँ मनाउने गरेकी थिइन् । ‘पारिवारिक हिसाबले दसैँ भनेको लुगा किन्ने, मिठो खाने सामान्य चलन जुन थियो, हामी पनि त्यसरी नै मनाउँथ्यौं,’ मीरा भन्छिन्, ‘हाम्रो तराईतिर मन्दिरहरूमा मेला लाग्थ्यो साथीभाइसँग बिहानै मेलामा जान्थ्यौँ, छुट्टै रमाइलो हुन्थ्यो ।’ मीरा वीरगञ्जको थारु समुदायमा हुर्किइन् । दसैँलाई तराईमा सबै समुदायले समान रूपमा मनाउने गरेको उनी सम्झिन्छिन् । निधारमा रातो टीका र जमरा लगाउने आम परम्परालाई पछ्याएर उनी हुर्केकी हुन् । तराईमा अहिले पनि दसैँ, तिहार र छठलाई उल्लासाका साथ मनाउने गरिन्छ । बाल्यकालमा मीराले परिवार र साथीभाइसँग मनाएको दसैँ र अहिलेको दसैँमा ठुलो अन्तर छ । ‘परिवारसँग बिताएको दसैँ र अहिलेको दसैँमा त तुलना नै हुँदैन,’ मीरा भन्छिन्, ‘व्यक्तिगत र व्यावसायिक हिसाबले ती दसैँ र अहिलेको दसैँलाई दाँज्न पनि मिल्दैन ।’ बाल्यकालमा साथीभाइ र परिवारसँग बिताएको दसैँको रौनक छुट्टै थियो । २०४१ सालमा बुबाको निधनपछि मीराको दसैँ आमासँग बित्थ्यो । प्रहरीमा आएपछि २०५१ मा प्रहरीमा प्रवेश गरेपछि उनले मनाउने दसैँको स्वरुप फेरियो । मीरा उनको परिवारकी पहिलो सन्तान हुन् । त्यसैले उनको परिवारप्रति अभिभावकिय दायित्व हुनु स्वाभाविक हो । प्रहरीमा आएपछि तालिमको दौरान र शान्ति मिसनमा जाँदा उनको दसैँ छुट्न थाल्यो । वीरगञ्ज जान नपाउँदा दसैँमा आमाको हातको टीका छुट्थ्यो । तर, आफू कमाण्डर नभएको बेला कार्यालयबाट छुट्टी मिलाएर मीरा छोटो सयमका लागि भए पनि दसैँमा घर पुग्थिन् । ‘मुमा एक्लै भएको बेला मिलाएर घरमा जाने प्रयासचाहिँ गरिरहेँ,’ उनी भन्छिन्, ‘विशेष गरी तिहारमा भन्दा पनि दसैँमा चाहिँ जानैपर्छ भन्ने हुन्थ्यो ।’ जिम्मेवारीका कारण जागिरमा प्रवेशपछि उनी धेरै दसैँमा घर जान सकिनन् । उनले भनिन्, ‘मुमा हुँदा सम्भव भएसम्म जान्थेँ, कहिलेकाहीँ मुमालाई आफू बसेको ठाउँमा बोलाएर पनि दसैँ मनाएँ ।’ बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको । बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको । ‘जिल्लामा कमाण्डर भएर काम गर्दा आफ्नो काम सकाएर मिल्यो भने साँझमा भए पनि घरमा पुगेर आउँथे,’ उनी भन्छिन्, ‘दसैँमा घर जानुपर्छ भन्ने जुन भाव हुन्थ्यो, मुमा नहुँदा अब त्योचाहिँ छैन ।’ मीरा ७ कक्षामा पढ्दादेखि नै खेल्न थालेकी हुन् । बालापनमा खेल्ने र साथीसंगीसँग रमाएर दसैँ मनाउने उनी जागिरमा आएपछि काममा समय दिन थालिन् । मानिसहरू दसैँ बिदालाई घुमेर पनि मनाउँछन् । तर, उनी दसैँको छुट्टीमा अहिलेसम्म कतै घुम्न गएकी छैनन् । ‘छुट्टी पाउँदा म कहिल्यै पनि बाहिर घुम्न गइनँ,’ उनी भन्छिन्, ‘मुमा एक्लै हुनुहुन्थ्यो, घरमै जान्थेँ ।’ ड्युटीमा दसैँ सार्वजनिक यातायातको व्यवस्थापन गर्न गठन गरिएको समितिकी सदस्य भएकाले मीरा चौधरी दसैँभरि सो समितिले गरेका निर्णय कार्यान्वयनमा व्यस्त हुन्छिन् । कमिटीले सार्वजनिक सवारीको अवस्थाबारे यान्त्रिक परीक्षण, बिमाको अवस्था, चालकको मादक पदार्थ सेवन र  लागु पदार्थ सेवनको अवस्थाबारे कडाइका साथ चेकजाँच गर्ने निर्णय गरेको छ । उपत्यकामा सो निर्णय कार्यान्वयन गर्ने मुख्य दायित्व उनकै काँधमा छ । भाडामा हुने कालाबजारी नियन्त्रण र यात्रुलाई सहजीकरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका १४ ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । त्यहाँ भाडादर र यात्रुका लागि सूचना टाँसिएको छ । ‘समस्या परेमा यात्रुले तत्काल खबर गर्न सक्नुहुन्छ,’ मीरा भन्छिन्, ‘चालकले मापसे गरेर सवारी चलाइरहेको कुरा यात्रुलाई थाहा भयो भने तुरुन्त सूचना दिन सक्नुहुन्छ, हामी तत्काल कारबाही गर्छौँ ।’ यातायात व्यवस्थापन समितिले लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । निर्णय कार्यान्वयनको अवस्था अनुगमन, औपचारिक कार्यक्रम र ट्राफिक व्यवस्थापनमै बित्छ डीआईजी मीराको यो वर्षको दसैँ ।  रातोपाटीबाट

कता जाँदैछ थारू साहित्यको बाटो ?

कता जाँदैछ थारू साहित्यको बाटो ?

१४८८ दिन अगाडि

|

१५ असोज २०७९

विभिन्न इतिहासकारले थारू जातिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जाति मानेका छन्। यो नेपालको चौथो ठूलो भाषा हो। थारू भाषाका विभिन्न भेद छन्, जसमा डंगौरा थारू साहित्य सबैभन्दा समृद्ध मानिन्छ। ‘थारू साहित्यको इतिहास (२०७३)’ पुस्तकको अनुसूचीको आधार हेर्दा तथा यस पंक्तिकारको संकलन हेर्दा थारू साहित्यका विभिन्न विधामा तीन सय बढी थान पुस्तक तथा पत्रिका प्रकाशित छन्। जसमा दुई सयवटा पुस्तक, एक सयवटा पत्रिका छन्। २०२८ सालमा प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो। त्यसअघि २००७–२०२७ सालसम्म पूर्वआधुनिक थारू साहित्य मान्दा यस काल खण्डमा ८ वटा मात्रै थारू कृति प्रकाशित भएको देखिन्छ । थरुहट के बउवा और बहुरियाले आख्यानको दैलो उघार्‍यो भने अन्य पुस्तकले खासगरी लोक साहित्यको संकलन तथा प्रकाशनको आधार बनाए। २०२८ सालदेखि २०६० सम्मको समय आधुनिककालीन थारू साहित्य भन्न सकिन्छ। २०२८ सालमा थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल नामक संगठन वैशाख १ गतेका दिन दाङ वैवाङमा गठन गरियो। यही मञ्चको ब्यानरमा गोचाली पत्रिका (२०२८) पनि प्रकाशित भयो र यो गोचाली आन्दोलनको नामले परिचित भयो। मोही हक सुरक्षित हुनुपर्ने, जसको जोत उसको पोतको नारा लगायत विद्रोहको स्वरलाई मुखरित गर्दै थारू साहित्यको आधुनिक कालमा प्रवेश भयो। गोचालीले थारू साहित्यको जुन आधार कोर्‍यो, अझै थारू साहित्य त्यसमै रुमलिएको देखिन्छ। थारू साहित्यमा निबन्ध र समालोचना विधा खासै भेटिँदैन। यस आलेखमा थारू साहित्यमा आधुनिकताको चेत भरिएको साठीको दशकपछिको लेखनबारे समान्य चर्चा गरिएको छ। थारू साहित्यमा उत्तर आधुनिक काल  २०५५ साल फागुन २८, २९ र ३० गते उदयपुरको हडियामा थारू कल्याणकारिणी सभाको स्वर्ण महोत्सवको अवसरमा धेरै पुस्तक प्रकाशित भएको देखिन्छ। २०५५ सालमा मात्रै १३ वटा पुस्तक प्रकाशित भएको देखिन्छ। थारू साहित्यमा २०६१ देखियताको समयलाई उत्तरआधुनिक काल भन्न सकिन्छ। खास गरी पत्रिका प्रकाशनमा अग्रासन मासिक, उक्वार भेट मासिकमार्फत आधुनिक चेत भित्रिनु, नयाँ थप साहित्यिक विधा थपिनु, पहिल्यै भित्रिएका विधा परिष्कार हुँदै जानु यस काल खण्डको महत्वपूर्ण उपलब्धि हुन्। कविता विधा जितबहादुर चौधरी ‘ट्रासन’को यी जितके हटल कविता (कविता संग्रह २०६१) मा भएको कवितामा नयाँ प्रयोगले उत्तर आधुनिकताको छनक दिन्छ। यस चरणका अन्य कविता संग्रहमा सुरेश चौधरीको ‘तुहिन’ (२०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) लगायत रहेको छ। यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएका छन्। यी कविता संरचना तथा भाव गाम्भीर्यताको हिसाबमा कमजोर देखिन्छन्। सन्तराम धारकटुवा थारूको ‘छिटकल भावना’ (२०६२) कविता संग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो। अन्य कविता संग्रहमा प्रेमलाल दहितको टुटल झोपडी (२०६१), मनिराम चौधरीको बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (२०६२) प्रकाशित छ। एम टेंर्राको फूला (२०६३) कविता संग्रह थारू, राना थारू र नेपाली तीन भाषामा प्रकाशित छ। श्रीराम चौधरीको चिट्किन (२०६४), कैलालीका रामलखन चौधरीको छलमल्की (२०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (२०६७), लक्की चौधरीको नेन्धर (२०७१), सुशील चौधरीको नेपाली र थारू भाषामा बिरहुल बसिया (२०७२) कविता संग्रह प्रकाशित छ। छन्द कविता थारू भाषामा कमै छन्। यस्तोमा खोपीराम लम्सालको भौका (२०७२), बमबहादुर थारूको छन्दकुमारी (२०७३) पद्य कविता संग्रह प्रकाशन भएको छ। २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी’ खण्डकाव्य प्रकाशित छ। कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत नारी मनका समवेदना पस्केकी छन्। उनको पहिलो गहकिलो वजनदार कृतिले हुने बिरुवाको चिल्लो पातको उदाहरण दिएको छ। आख्यान विधा आख्यान विधाअन्तर्गत यस चरणमा बग्नाहा—७, बर्दियाका सन्तराम धारकटुवा थारू पनि थारू कथाकारमा सशक्त हस्ताक्षर हुन्। ६ वटा कथा समावेश गरिएको हमार जुनी कथा संग्रह (२०६१) प्रकाशित छ। यसमा प्रयुक्त विम्बले थारू साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन्। हमार जुनी कथा संग्रह (२०६१) लाई सोम डेमनडौराले नेपालीमा उल्था गरी अस्तित्व (२०७४) कथा संग्रहको रूपमा आएको छ। गयर्वा बुडु, गयर्वा बुडुक ठाँह्रा तथा थारू जोधा गरी तीन कृति प्रकाशित गरेका शेखर दहित भन्छन्, ‘थारू भाषामै पाठक निकै कम भएको महसुस भएको छ। त्यसैले थारूका विषय नेपाली तथा अंग्रेजी भाषामा लेख्ने सोच बनाउँदैछु।’ कैलाली थारू साहित्यको लागि उर्वर क्षेत्र हो। यहाँका मनिराम चौधरीले ‘दुखियारी बगिया’ (२०६१), हीरालाल चौधरीले दुःखके भौंरी (२०६३) तथा एम टेंर्रा वास्तविकले लालमुरै (२०६४) कथा संग्रह दिएका छन्। चौधरीभन्दा टेर्राका कथा खँदिला छन्। कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित छ। केही पत्रपत्रिकाले कथा विशेषांक प्रकाशित गरे पनि विभिन्न कथाकारको कथा सँगालोको रूपमा एक मात्र संग्रह थारू भाषक् प्रतिनिधि कथा–१ (२०६८) प्रकाशित छ। जसको सम्पादन शत्रुघन चौधरीले गरेका छन्। सुर्खेतका मानबहादुर ‘पन्ना’ को ककनडरान छोटकी (२०७०) कथा संग्रह छ। २०७३ चैत १९ र २० गते कैलालीको पटेलामा भएको दोस्रो थारू साहित्यिक मेलामा ६ जना स्रष्टाको नयाँ पुस्तक आयो। जसमा बर्दियाका शेखर दहितको गयर्वा बुडु कथा संग्रह छ। थारू साहित्यिक मेलाको तयारीमा २०७३ मा शिक्षक भोजराज चौधरी अनमोलको ‘उभरखाभर जिन्गी’ कथा संग्रह छ। तेश्रो थारू साहित्यिक मेला २०७४ मा सोम डेमनडौराको सौंस्याटल मन कथा संग्रह छ। निबन्ध विधा थारू साहित्यमा कुनै कृतिमा एक दुइटा निबन्ध परेका छन् तर निबन्धको कुनै सिँगो कृति प्रकाशित भएको देखिन्न। लक्की चौधरीले ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०), मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीको ‘थारू सस्ंंकृति’ (२०६१), थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधि (२०७२) ले निबन्धको झल्को दिन्छन्। भुलाईको संग्रहमा नेपाली लेखसमेत समाविष्ट छ। थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधिमा भने थारू समुदायको इतिहास, चाडपर्व, भाषा, संंस्कृतिबारेका लेख छन्। पंक्तिकारकै ढों ढों पों पों (२०६८) थारू भाषाको पहिलो हाँस्य निबन्ध संग्रह हो। विशुद्ध साहित्यिक निबन्ध संग्रह अझै पनि थारू साहित्यमा प्रकाशन हुन सकेको छैन। सुशील चौधरी, दिलबहादुर चौधरीले निबन्ध विधामा थारू भाषामा निरन्तर कलम चलाए पनि थारू भाषामै संग्रह आएको छैन। बालिका चौधरीको १७ निबन्ध समेटिएको जीवनका बक्ररेखा (२०७३) संग्रहमा फिक्कल अस्टिम्की शीर्षकको निबन्धमात्र समेटिएको छ। यसरी फुटकर लेखनमा निबन्ध देखिए पनि संग्रहको रूपमा भने औंलामा गन्न सकिने देखिन्छ। नाट्य विधा नाटक संग्रहकै पुस्तक यस अवधिमा पनि देखिन्न। यद्यपि थारू समुदाय केन्द्रित नाटक भने मञ्चन हुने क्रम बढ्न थालेको छ। कमलरी (२०६१) ‘दहितान ढेंकी’ (२०७०), ‘भुरभुरा रहर’ (२०७३), ‘लवकी कन्या’ (२०७४), करोट (२०७४), बुधनी, हिटवा आदि मञ्चित नाटक हुन्। बमबहादुर थारूको माधोनल काम कमन्डलु (२०७४) कृतिलाई उहाँले इन्द्रासनी झुम्रा गीतसँगै लोकनाटक पनि भन्नु भएको छ। लोकसाहित्य पंक्तिकारको संकलनमा मामा भान्जा (२०६०), थारू लोककथा–१ (२०६७) नामक पुस्तक छ। यद्यपि पुस्तक नेपाली भाषामा छ। थारू लोककथा संग्रहमा सहयोग समाज नेपाल दाङले थारू मातृभाषामा बटकोही (लोककथा) संग्रह (२०६४) प्रकाशन गरेको छ। कैलालीका तुलसी चौधरीको माँगर (२०७३), दुर्जन चौधरीले हंसा (२०७४), सीतारम चौधरीले उरन्टा घोरवा (२०७४) लगायत थारू लोककथा संग्रह छ। पंक्तिकारको थारू बालकथा संग्रह ‘सुख्ली’ (२०६२) हालसम्मको एकमात्र बालकथा संग्रह हो। यससँगै २०६६ सालमा हर जोत्ना मछरिया, अनारकलीके अन्तरकथा, तुलारामके चर्तिकला तथा सत्तलसिंहके कथा नामक ४ वटा सचित्र बालकृति छन्। यस्तै कमैया बस्तीमे भगन्वा (२०७२) लघुकथा संग्रह थारू तथा नेपाली भाषामा प्रकाशित छ। थारू भाषाका अन्य कथाकारमा मंगल थारू, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारू आदि हुन्। ३० को दशकमा लेखिएका कथा र हाल ७० को दशकमा आइपुग्दासम्म पनि थारू साहित्यको कथा लेखनको शैलीमा खासै भिन्नता आउन सकेको छैन। थारू साहित्यमा कथा लेखन गोष्ठीको सुरुआत अझसम्म हुन सकेको छैन। अन्य पाटो २०६९ माघबाट मात्र थारू युवा परिवारले ठुम्रार साहित्यिक बखेरीको नाममा काठमाडौंमा थारू कविता आन्दोलनलाई अघि बढाएको छ। छविलाल कोपिलाको सम्पादनमा थारू भाषाको लावा डग्गर त्रैमासिक (२०७१) प्रकाशन भइरहेको छ। प्रेस काउन्सिलको ‘क’ वर्गमा परेको लावा डग्गरले स्वर्ण अंक पार गरेको छ। यस पत्रिकामा समाविष्ट रचनालाई थारू साहित्यको आँखीझ्यालको रूपमा नियाल्दा थारू साहित्यले आधुनिकताको बाटो अझै अँगाल्न सकेको देखिन्न।  साहित्यको विकासमा मातृभाषाका रचनाको अनुवाद प्रकाशनको उत्तिकै महŒव रहेको हुन्छ। तर थारू भाषाको प्रतिनिधि कथाहरूको सँगालो अनुवाद भई नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनबाट प्रकाशित हुन सकेको छैन। सन्तराम धारकटुवालगायत केही कविका रचना नेपाली मात्रै होइन, अंग्रेजीमा उल्था गरेर अन्तर्राष्ट्रियकरण गर्न लायक छन्। २०७३ वैशाख ३ र ४ गते दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला सम्पन्न भयो। थारू साहित्यिक मेलाको अवसरमा नयाँ पुस्तक प्रकाशन गर्ने लहर आएको छ। गयर्वा बुडु, गयर्वा बुडुक ठाँह्रा तथा थारू जोधा गरी तीन कृति प्रकाशित गरेका शेखर दहित भन्छन्, ‘थारू भाषामै पाठक निकै कम भएको महसुस भएको छ। त्यसैले थारूका विषय नेपाली तथा अंग्रेजी भाषामा लेख्ने सोच बनाउँदैछु।’ कपिलवस्तुका चिन्तामणि थारूले आन्ही पानी (२०७०) बालकविता संग्रह प्रकाशित गरेका छन्। कैलालीकी रोदन चौधरी १२ वर्षको उमेरमा नेपाली तथा थारू भाषाको कविता संग्रह ‘पहिल कदम’ (२०७३) प्रकाशित भएको छ। उत्तर आधुनिक कालको दैलो कुल्चिए पनि थारू साहित्यको श्रीवृद्धिमा कोशेढुंगा सावित हुने कृतिको अझै पनि टड्कारो अभाव झुल्किन्छ। अन्नपूर्ण पोस्टको फुर्सदबाट

आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

१४९० दिन अगाडि

|

१३ असोज २०७९

मिनराज चौधरी  प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मंसिर ४ गतेको मिति नजिकिदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन र बहुदलीय व्यवस्था भएको हाम्रो मुलुकमा आफूले रोजेको, खोजेको दल र जनप्रतिनिधि चुन्नका लागि मताधिकार प्रयोग गर्न पाउनु हरेक बालिक नागरिकको नैसर्गिक अधिकार हो । नेपालीहरुको महान चाड दसैं, तिहार, छठको आगमनसँगै मुलुकमा निर्वाचनले सरगर्मी निकै बढिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले करिब दुई महिना बित्नै लाग्दा पनि सिट बाँडफाँटको अझै टुंगो लगाउन सकेको छैन । काँग्रेसले सयको हाराहारीमा सिट लिनुपर्ने नेता कार्यकर्ताहरुको व्यापक जनदबाब रहेको छ । उता गठबन्धनमा रहेका दलहरुले आ–आफ्नै अडानमा रहँदै खोजेअनुसार सम्मानजनक सिट नपाए गठबन्धनबाट अलग हुने घुर्कीले गर्दा सिट बाँडफाँट कार्य निकै पेचिलो र चुनौतीपूर्ण रहेको देखिन्छ । त्यसैले शीर्ष नेतृत्वपंक्ति बडो सुझबुझ बुद्धिमतापूर्ण आफ्ना नेता कार्यकर्ताहरूको भविष्यलाई केन्द्रबिन्दु बनाई निर्णय लिन आवश्यक देखिन्छ । सत्ता गठबन्धनको नेतृत्व गरेको र प्रमुख राजनीतिक दल नेपाली काँग्रेसले समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची पेश गरेपछि नेतृत्वपंक्ति र नेता कार्यकर्तामाझ व्यापक असन्तुष्टि, असहमति एवं अन्तरविरोधहरु सतहमा छताछुल्ल भएका छन् । यस सम्बन्धमा इतर पक्षले सम्मानजनक एवं न्यायोचित बन्दसूची भएन भनेर शीर्ष नेतृत्वलाई सच्याउनको लागि जनदबाद, खबरदारी, धर्ना कार्यक्रमसमेत गर्दै आएको छ । पार्टीको शीर्ष नेतृत्वले उत्पन्न भएको समस्या एवं अन्तर बिरोधलाई समयमा समाधान गर्न जरुरी छ । समानुपातिकको बन्दसूचीमै यति धेरै असन्तुष्टी र असहमति छ भने अझै प्रत्यक्ष तर्फको सिट बाँडफाँट गर्दा के अवस्था आउला सजिलै अनुमान गर्न सकिन्छ । यसर्थ पार्टी भित्रको आन्तरिक मामिलाप्रति नेतृत्वपंक्ति संवेदनशील बन्दै पार्टीको विधिविधान, समय, परिस्थिति, अवस्थाको विश्लेषण गर्दै जनचाहना अनुसार प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको टिकट वितरण न्यायोचित एवं सम्मानजनक तवरबाट गर्न आवश्यक छ । यदि काँग्रेस आन्तरिक समस्यालाई नजरअन्दाज नगरी निर्वाचनमा होमिए ठूलै क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना हुँदैछ । नेपालको हरेक राजनीतिक परिवर्तन एवं अधिकारका लागि भएको जनआन्दोलन संघर्षको नेतृत्वदायी भूमिका खेल्दै लामो राजनीतिक विरासत बोकेको काँग्रेस गठबन्धनको लेप लगाई निर्वाचनमा होमिनै लागेको अवस्थामा गठबन्धन र पार्टीको नेता कार्यकर्ताहरुको भविष्यप्रति चिन्ता चासो राख्दै नेता कार्यकर्ताहरुबाट चौतर्फी सवालहरु उठिरहेका छन् । यसर्थ आसन्न निर्वाचनमा गठबन्धनमार्फत् निर्वाचनमा जानुको कारण, औचित्य, बाध्यता, उद्देश्य र यसबाट उत्पन्न हुने सक्ने परिस्थिति, अवस्था एवं चुनौतीको बारेमा काँग्रेसजनलाई स्पष्ट पार्न आवश्यक देखिन्छ । २०७४ को संसदीय निर्वाचनमा बाम गठबन्धनका कारण ६३ सिटमा खुम्चिएको नेपाली काँग्रेस २०७९ को स्थानीय निर्वाचनमा ३३१ स्थानमा पहिलो स्थान हासिल गरी सांगठनिक बढोत्तरी गर्दा सबै नेता कार्यकर्ता शुभचिन्तक हरुमा निकै उर्जा, उत्साह उमंग बढेको छ । स्थानीय निर्वाचनको मत परिणामले काँग्रेसको सांगठनिक एवं राजनीतिक जीवनमा निकै सुधार भएकोले हौसिँदै काँग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिनुपर्छ भन्ने अधिकांश नेता कार्यकर्ताहरुको चाहना र माग थियो । तर, शीर्ष नेताहरुले ती चाहना र मागलाई वेवास्ता गर्दै गठबन्धन गरी निर्वाचनमा जाने निर्णय बाध्यात्मक बनाइएको अवस्था छ । पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी ९केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको राजनीतिक, सैद्धान्तिक एवं वैचारिक रुपमा विश्लेषण गर्दा न ‘केमेस्ट्री’ मिल्छ, न ‘कम्पोजिशन’, न त राजनीति गन्तव्य नै मिल्छ । लोकतान्त्रिक संघीय समाजवाद अंगिकार गर्ने काँग्रेस र उपेन्द्र यादवको जसपासहित चित्र बहादुर केसीको संघीयता विरोधीदेखि, साम्यवादी व्यवस्था स्थापनाका लागि उद्दत् प्रचण्ड र माधवको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीहरु सम्मिलित रहेको गठबन्धनको यात्रा कति लामो हुने हो त्यो हेर्नै बाँकी छ । राजनीतिक सिद्धान्त, विचार, आस्थाका आधारमा पानी र तेलजस्तै फरक रहेको पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरु संयुक्त निर्वाचनमा जाँदा गठबन्धन गर्नुपर्ने कारण, अवस्था, औचित्य एवं उद्देश्यबारे जनतासमक्ष स्पष्ट पार्दै मतका लागि सामूहिक अपील गर्न जरुरी देखिन्छ । लाखौं लाख नेता कार्यकर्ता रहेको नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिँदा नेता कार्यकर्ताहरूलाई समुचित टिकट बाँडफाँटसहित व्यवस्थापन गर्न सहज हुन्छ । अहिले गठबन्धनमा छुट्याइएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन क्षेत्रको सीमित सिटमा आफ्ना पार्टीका आकांक्षी उम्मेदवारहरूलाई कसरी व्यवस्थापन गर्ने काँग्रेसको लागि निकै जटिल एवं चुनौतीपूर्ण कार्य रहेको छ । अझै पार्टीभित्र संस्थापन र इतर पक्ष बीचको अन्तरद्वन्द्व र टिकट वितरणमा उत्पन्न भएको असन्तुष्टि एवं असहमति समाधान नगरी निर्वाचनमा होमिए काँग्रेसको भविष्य कहाँ पुग्ने हो नेता कार्यकर्ताहरूमा सर्वत्र चिन्ता, चासो भइरहेको छ । गठबन्धन गरी निर्वाचनमा जाँदा काँग्रेसका धेरै नेता कार्यकर्ताहरु उम्मेदवार हुन र सुनौलो राजनीतिक अवसर गुमाउनु पर्ने अवस्था सिर्जना हुँदैछ । यसका लागि काँग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न उनीहरुको विश्वासको आधार स्तम्भ बनी व्यवस्थापन गर्नका लागि दीर्घकालीन सोच, योजना, रणनीति बनाउन जरुरी देखिन्छ । यदि काँग्रेसले यसको सुनिश्चितता नगरी गठबन्धनको निर्णय जबरजस्ती लड्ने हो भने पार्टीका नेता कार्यकर्ता शुभचिन्तक, मतदाताहरुले आफ्नो दलबाहेक अन्य दलका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराउन बाध्य नहुने खतरनाक परिस्थिति सिर्जना हुने पनि देखिन्छ । हालैको स्थानीय निर्वाचनमा पनि गठबन्धन बीच नै कही आंशिक तालमेल गरी, कही मित्रवत स्वच्छ प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिएको नजिर हामी संगै छ । अहिले पनि गठबन्धनबीच सतप्रतिशत सिट बाँडफाँट सहमति हुन नसके स्थानीय निर्वाचनजस्तै नहोला भन्न सकिन्न । गठबन्धनमा आवद्ध दलबीच सिट बाँडफाँट गर्दा २०७४ को निर्वाचनमा जुन दल जहाँ विजयी भएको छ, त्यही स्थानलाई सोही दलले लिने दावीको प्रमुख आधार गठबन्धन कार्यदलले बनाएको छ । यसैलाई आधार मानी मानौं बर्दिया जिल्लाको क्षेत्र न। २ प्रतिनिधि तथा प्रदेश सभा दुबैमा नेकपा माओवादी ९केन्द्र० जितेको अवस्था छ । यही अनुरुप विजेता दललाई नै अहिलेको निर्वाचनमा दुबै सदनमा उम्मेदवारीको टिकट भाग पाउने हो भने काँग्रेस समर्थक आस्थावान मतदाताहरू कसरी बाध्यात्मक रुपमा भोट हाल्छन् रु यो गम्भीर सोचनीय सवाल हो । यसर्थ प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र तथा प्रदेश सभाको ३३० क्षेत्रमा एक अर्को दललाई क्रस हुने गरी पार्टी संगठन, स्थानीय निर्वाचन मत परिणाम, वस्तुगत अवस्था दृष्टिगत गरी समुचित सिट बाँडफाँट गरिनुपर्छ । यसप्रति गठबन्धनका शीर्ष नेताहरुले ध्यान केन्द्रीत गर्न जरुरी छ । सत्तारुद्ध गठबन्धनले सिट बाँडफाँटको आधारमा तालमेल गर्दै आसन्न निर्वाचनमा जाने भएकोले गठबन्धन दलमा आवद्ध रहेका दलहरुबीच भएका सहमति विपरीत वा प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न नगराउन सबै दलको तहगत संगठनमा परिपत्र सर्कुलर गरी आन्तरिक प्रयोजनका लागि आचारसंहितासमेत बनाई कार्यान्वयन गर्न जरुरी छ । गठबन्धनमा रहेका दलहरुले एक अर्कालाई सहयोग गर्ने र मत दिने वातावरण कसरी बनाउन सकिन्छ रु यसबारे निर्वाचन प्रचार प्रसार संयुक्त रुपमा गर्नका लागि तयारी बैठक, विभिन्न चुनावी साझा अभियान, कार्यक्रमसहित कार्यविधिहरु बनाउन आवश्यक कार्यभार देखिन्छ । त्यसै गरी गठबन्धनको सिट बाँडफाँटको गणितीय आधार हेर्दा निर्वाचन परिणाम पश्चात कुनै पनि दलले सरकार बनाउन संविधानमा भएको व्यवस्था अनुसार स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था देखिदैन । यसर्थ निर्वाचनपश्चात संयुक्त गठबन्धनीय सरकार के कसरी बनाउने रु के कसरी सञ्चालन गर्ने रु सरकारको नीति तथा कार्यक्रम एवं विकासका योजना के कस्तो रहने रु आदि विषय समेटेर साझा प्रतिवद्धता एवं निर्वाचन घोषणापत्र निर्माण गर्न जरुरी देखिन्छ । तर गठबन्धनमा रहेका दलहरु आ–आफ्नै छुट्टा छुट्टै निर्वाचन घोषणा पत्र बनाई रहेका छन् । यसर्थ अलग अलग घोषणापत्र भन्दा पनि गठबन्धनको साझा प्रतिवद्धता पत्र बनाउँदा चुनावी प्रचार प्रसारमा जनताका बीचमा गठबन्धनप्रति विश्वसनीयता बढ्ने थियो । गठबन्धनको सिट बाँडफाँटमा ढिलासुस्ती हुँदै गएकोले कहाँ, कुन दल, कुन नेताले पाउने हो रु टुंगो लागि नसक्दा अहिले काँग्रेसको सांगठनिक जीवनमा नेता कार्यकर्ताहरुबीच सक्रियतामा ह्रास ल्याएको छ । स्थानीय निर्वाचनपश्चात पलाएको जोश जाँगर उत्साह, उमंग सेलाउदै गएको छ । दुबै सभाका लागि देशैभरीबाट काँग्रेसको करिब साढे सात हजार आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस भई आएको छ ।  तर गठबन्धनको निर्णयअनुसार प्राप्त सिटमा काँग्रेसको आकांक्षी उम्मेदवारहरूलाई व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै रहेको छ । काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ टोलसम्म बिस्तार भएको संगठनका नेता, कार्यकर्ताहरुलाई चलायमान बनाउँदै जनताका बीच जान अल्छी बनाएको छ । उत्पन्न भएका यी सबै समस्यालाई काँग्रेसले सही ढंगले सही समयमा समाधान गर्न आवश्यक योजना रणनीति सहितको चुनावी कार्यक्रम बनाउन आवश्यक छ । समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाई सकेपछि ह्वात्तै बढेर गएको असन्तुष्टिलाई समयमा सम्बोधन गरिनुपर्छ । पार्टीभित्र मौलाउँदै गएको चाकरी, चाप्लुसी, खुरापाती, चम्चेहरुको गणेश परिक्रमा गर्ने गलत प्रवृत्ति, संस्कार र कार्य गतिविधिले पार्टीको आन्तरिक मामिलामा दखल पु(याउँदैछ । कतिपय नेतृत्व पंक्तिबाटै पक्षपातपूर्ण एवं निषेधको राजनीति हावी हुँदै गइरहेको छ । एकापसमा आरोप प्रत्यारोप गर्दै सभा सम्मेलन र मञ्‍चबाटै धारे हात लगाउदै जाँदा कदापी हितकर हुन सक्दैन । एक अर्काको अस्तित्वलाई स्वीकार्न नसक्ने राजनीतिक संस्कार र कार्यशैलीले अन्तत्वगत्वा काँग्रेसलाई कहाँ पु¥याउँछ सबैले सोच्नुपर्ने विषय हो । आसन्न निर्वाचनमा काँग्रेसले टिकट वितरण गर्दा आग्रह पूर्वाग्रह गर्दै तेरो र मेरो होइन, संस्थापन र इतर पक्ष भनेर होइन । नातावाद, कृपावाद, फरियावाद, धनवाद, दनवाद, भन्दा माथि उठी निष्ठा, त्याग, असल, इमानदारिताको राजनीति गर्ने, सक्रिय, जुझारु, जनप्रेमी नेताहरुलाई उम्मेदवार बनाउनु पर्छ । टिकट वितरण गर्दा नेताको निगाह, खल्ती र तोकतन्त्रबाट होइन, संविधान र लोकतन्त्र एवं समावेशिताको मूल मर्म, भावना एवं पार्टीको विधान अनुरुप समावेशी सिद्धान्तका आधारमा न्यायोचित एवं सम्मानजनक टिकट दिनुपर्छ । विडम्बना टिकट वितरणमा पार्टीको नेतृत्वपंक्ति चुकिरहेको भान हुन्छ । काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभाको ९प्रत्यक्ष र समानुपातिक तर्फ० न्यायोचित टिकट वितरण तथा आंकाक्षी उम्मेदवार नेता कार्यकर्ताहरुको समुचित व्यवस्थापन गर्न नसक्ने हो भने थुप्रै चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ । दुबै सभाका लागि देशैभरीबाट काँग्रेसको करिब साढे सात हजार आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस भई आएको छ । आकांक्षी उम्मेदवारहरुलाई न्यायोचित एवं सम्मानजनक तवरबाट व्यवस्थापन गर्न सक्ने हो भने काँग्रेसका लागि सुन्दर राजनीतिक अवसर रहेको छ । तर गठबन्धनको निर्णयअनुसार प्राप्त सिटमा काँग्रेसको आकांक्षी उम्मेदवारहरूलाई व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै रहेको छ । टिकट नपाएका धेरै उम्मेदवारसहित नेता कार्यकर्ताहरुको चित्त बुझाई थामथुम गर्न पनि उत्तिकै गाह्रो हुने परिस्थिति सिर्जना हुने देखिन्छ । स्थानीय निर्वाचनमा झैं स्वतन्त्र उम्मेदवारको असर र प्रभाव यस निर्वाचनमा पनि प्रवल रुपले पर्ने निश्चित छ । अर्कोतर्फ गठबन्धन बाहिर रहेका नेकपा एमाले, राप्रपा लगायत क्षेत्रिय भेगीय रुपमा जन्मेका राजनीतिक दलहरूको सामना पनि निकै जोडतोडले गर्नुपर्ने अवस्था छ । काँग्रेसका नेता कार्यकर्ताहरूले चाहे, खोजेजस्तो उम्मेदवार र गठबन्धनले समुचित सिट बाँडफाँट गर्न नसके काँग्रेस समर्थक आममतदाताहरु असन्तुष्ट भई मत ‘डाइभर्ट’ गर्न सक्ने खतरा पनि उत्तिकै छ । यसर्थ नेपाली काँग्रेसले आसन्न निर्वाचनमा होमिँदै गर्दा राजनीतिक एवं वस्तुगत परिस्थिति अवस्थाको सही ढंगले विश्लेषण गरी आवश्यक निर्णय लिदै कार्यदिशा तय गर्न जरुरी छ । पार्टीको बृहत्तर हितलाई केन्द्रबिन्दु बनाई उम्मेदवारको विषयमा सतहमा छताछुल्ल भएको असहमति असन्तुष्टी समाधान गरी निर्वाचनको कार्यभार एवं जिम्मेवारीलाई शिरोधार्य गर्दै बहन गर्न आवश्यक छ । त्यसै गरी निर्वाचनमा आउन सक्ने खतरा एवं चुनौतीको सामना गर्दै अवसरलाई ‘क्यास’ गर्न उचित योजना, रणनीति बनाई संगठनका हरेक तहगत नेता कार्यकर्ताहरुलाई सक्रिय रुपमा परिचालन गर्न सके मात्र काँग्रेसको साख बढ्नेछ । लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका सचिव हुन् ।

एकाएक भावुक बनेकी रञ्जिताले भनिन्, ‘सबैका मान्छे दशैं मनाउन आउँदैछन्, मेरो श्रीमान पनि आएको भए’

एकाएक भावुक बनेकी रञ्जिताले भनिन्, ‘सबैका मान्छे दशैं मनाउन आउँदैछन्, मेरो श्रीमान पनि आएको भए’

१४९१ दिन अगाडि

|

१२ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मञ्चमा एकाएक भावुक भइन् । कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा उनी नेपालीको घर आँगनमा भित्रिसकेको दशैं र दशैंमा हुने उल्लास र रौनकतालाई स्मरण गर्दै भाव विह्ल भइन् । श्रीमान रेशम चौधरीसहित घर परिवारसँगै दशैं मनाउन पाउने आशाभाव पोख्दै भनिन्, ‘धेरै कुरा भन्न चाहान्न । दशैं घर आँगनमै पुगिसकेको रहेछ । तपाईहरुको बुवा, छोरा पनि दशैं मनाउन घर पुगिसकेका होलान् । पुग्दै होलान् । मलाई पनि लाग्छ, मेरो श्रीमान पनि दशैं मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ? जो–जो कारागारमा छन्, उनीहरु पनि घर आएको भए उनीहरुका घर परिवारमा कस्तो खुशयालीको माहोल हुन्थ्यो । सबै जना बाटो कुरेर बसेका छौ आजभोलि ।’ उनले २०७२ मा संविधान बनिरहँदा आफुहरु पनि यो देशको नागरिक भएकोले पहिचान र अधिकार चाहियो भनिरहँदा आफूमाथि राज्यबाट चरम दमन र अत्याचार भएको उल्लेख गरिन् । त्यो दमन र अत्याचार सहेर बस्न बाध्य भएको बताउँदै त्यसैको उन्मुक्तिको लागि नागरिक उन्मुक्ति पार्टी गठन भएको उनले स्पष्ट पारिन् । उनले आफ्ना आफन्तजनसँग यो दशैं मनाउँन नपाए पनि आउँदो माघी भने अवश्य पनि घरमै मनाउने आशा व्यक्त गरिन् । टीकापुर घटनाका जेलबन्दीहरु घर आउनेमा विश्वास पनि दिलाइन् । जसको लागि आउँदो मंसिरमा मतदाताको साथ चाहिने आशा राखिन् । ‘गएको पुसमा दर्ता भएको पार्टी आज कैलालीको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । आउँदो मंसिरमा हामीलाई भोट दिइ राष्ट्रिय पार्टी बन्न सहयोग गर्नुस्’, उनले अगाडि भनिन् ‘हामीलाई ढकिया चिन्हमा भोट दिएर जिताउनुस् । म एउटा बचन दिन चाहान्छु, । यो दशैंमा हुँदैन होला । आउँदो माघी जसरी पनि आफ्नो घर परिवारसँगै मनाउने बाटो बनाइदिनुस् ।’  

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

१४९२ दिन अगाडि

|

११ असोज २०७९

नवराज लम्साल आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्य धन्य भएको छु । म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु । ज्ञान परम्परा र वर्तमान हो, आज म बाँचेको युग सङ्गत÷विसङ्गतको दोसाँधमा छ । जीवनका आयाम र आयतन अनुत्तरित छन् । अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ । छन्, धेरैधेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधाआदि प्रशस्त छन् तर पनि किन अन्तर उज्यालो हराउँदै गएझैँ लाग्छ ? किन बाहिरी उज्यालोले आफैँ तिर्मिराएझैँ लाग्छ ? के हो यो, सार कि निस्सार ? आफूभित्रको आफैँ किन हेर्दैन मान्छे ? आफैँभित्र के देखिन्छ ? किन देखिन्छ र कसरी देखिन्छ ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ तर पनि मान्छे भित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन ? मुहानको शान्ति खलबलिएको त छैन ? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो । लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध÷सङ्लो पार्नु हो । आज कहाँ पाउनु वेदका ऋचा लेखूँजस्तो लाग्ने नदी किनार ? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु ? कहाँ पाउनु लगौँटी कसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः ? कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन् ? म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुतिरस्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? क्षमा गर्नुस्, यो निराशा होइन । म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ । आफूले आफैँलाई सम्झन खोजेको हुँ । षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र वयं राष्ट्रे जागृयामसँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला ?  दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र ? मान्छे मान्छे हो कि मेशिन ? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? ज्ञान अन्तर उज्यालो हो कि आर्जनको भर्‍याङ ? मानव जीवन रहस्य हो कि समस्या ? सत्यको परख कसरी गर्ने ? बाँच्नुको दर्शन के हो ? लेख्नु आनन्द हो कि परिवर्तन ? दुवै हो कि, दुवै होइन ? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैँ थिल्थिलो हुन्छु, आफैँ निथ्रुक्क हुन्छु । लेख्नुअघि म आफैँलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो ? पढ्ने पाठक को हो ? यही विषय नलेखे के हुन्छ ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ ? साँच्चै कहिल्यै नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? लेख्नु भन्नु त आफैँ पोखिनु हो । पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ । आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो ? चक्र शरीरमा पनि छ र समाजमा पनि छ । षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र । जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधा शक्ति । लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो । एक्लै गएर कहीँ पुगिन्न । सँगै जानु छ समाजसँगै, सँगसँगै र हिँड्न नसक्नेलाई पनि सँगसँगैै लैजानु छ अक्षरको बाटो हिँडाएर– संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् । महाकाव्य परम्परा र अग्नि महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ । रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू । भानुभक्त आचार्यको रामायण, शाकुन्तल आदि देवकोटेली महाकाव्य विरासत, आफैँ तात्न खोजेको चिसो चुलो, नरसिंह अवतारआदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुसीको भर्भराउँदो ज्वाला उठेको छ ।   हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? यसो भन्नु मेरो धृष्टता पनि होला तर भन्न मन छ– आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसुस गरेको छु । लेखकीय सत्ताको सर्वोच्चता  मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो । स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनकोे जग हो । आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो ।  कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्वन, मलाई उस्तै उस्तै लाग्छ ।  चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरु गर्छ र काव्य निर्माण हुन्छ । कविता भन्नु आफैँलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो ।  र अन्त्यमा  आजको यो क्षण मेरो जीवनकै उपल्लो खुसीको क्षण हो । मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ । जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छुजस्तो लागेको पनि थिएन । अक्षर, समय र ईश्वरलाई धन्यवाद ।  यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु । छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु । अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु ।  मैले खोज्दै हेर्दै हिँडेका आरनहरू सम्झेको छु । त्यहाँका अग्निज्वाला सम्झेको छु । आफैँभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने बेला मेरो काखमा लुटुक्क निदाउँथी । सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ । अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहनु सकूँ । सबैको आशीर्वाद मिलोस् । मदन पुरस्कार विजेता महाकवि नवराज लम्सालले मंगलबार ललितपुरको पाटनढोकामा आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तब्यको सम्पादित अंशः