डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

भजनी नगरपालिकाको १०० दिने उपलब्धि : कक्षा ५ सम्म थारु भाषामा पढाइको तयारी

भजनी नगरपालिकाको १०० दिने उपलब्धि : कक्षा ५ सम्म थारु भाषामा पढाइको तयारी

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

धनगढी । कैलालीको भजनी नगरपालिकाले कक्षा १ देखि ५ सम्ममा स्थानीय थारु भाषामा पढाइको तयारी भइरहेको जनाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भइ आएका नगर प्रमुख केवल चौधरीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै कक्षा १ देखि ८ सम्मको शिक्षा निशुल्क गरिएको, कक्षा १ देखि ५ सम्म स्थानीय थारु भाषामा पाठ्यक्रम तयार गरि लागु गर्ने चरणमा रहेको जनाएका हुन् ।भजनी नगरपालिका आदिवासी थारु बाहुल्य क्षेत्र हो । नगरपालिकाले आफ्नो १०० दिने उपलब्धिको रुपमा निजी श्रोतका शिक्षकहरुको तलब वृद्धि गरिएको, विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर वितरण गरिएको जनाएको छ । त्यस्तै, १०० दिनको अवधिमा ४५ लाख, ४३ हजार ८६८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको जनाएको छ भने चालु आर्थिक वर्षमा सम्पति करको दररेटमा १६ प्रतिशत घटाई नगरवासीलाई सहुलियत दिएको बताएको छ ।  

जातीय क्लस्टरबाट प्रदेश र संघमा कसरी चुनिन्छन् सांसद ?

जातीय क्लस्टरबाट प्रदेश र संघमा कसरी चुनिन्छन् सांसद ?

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

                                                                                                                                             तस्विरः बीबीसी निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसदको बन्द सूचीको नाम बुझाउन २ र ३ असोजलाई तोकेको छ। समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने मतका आधारमा उम्मेदवार चयन हुन्छन्। प्रतिनिधि सभाको समानुपातिकतर्फ १ सय १० सिट छ।  यस्तै प्रदेश सभातर्फ २ सय २० सिट छ।  आगामी मंसिर ४ गते प्रत्यक्ष तर्फका सांसदले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव लडे पनि समानुपातिक उम्मेदवारको नाम भने असोजको पहिलो हप्ता भित्र आयोगमा बुझाइ सक्नुपर्छ। त्यसरी नाम बुझाउँदा क्लस्टरका आधारमा बुझाउनुपर्ने हुन्छ। आयोगले प्रदेशगत रुपमा समानुपातिकको नाम बुझाउन भनेको छ। सुरुमा ७ वटै प्रदेशमा समानुपातिक तर्फ चुनिने जातीय क्लस्टर हेरौं। जसअनुसार १ मा आदिवासी जनजाति ४६.७९ प्रतिशत, खस आर्य २७.८४, थारु ४.१५, दलित १०.०६, मधेसी ७.५७, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ। यसैगरी मधेस प्रदेशमा आदिवासी जनजाति ६.६१ प्रतिशत, खस आर्य ४.८९, थारु ५.२७, दलित १७.२९, मधेसी ५४.३६, मुस्लिम ११.५८ प्रतिशतलाई समानुपातिक सांसद बनाउनुपर्नेछ। बागमती प्रदेशतर्फ आदिवासी जनजाति ५३.१७, खस आर्य ३७.०९, थारु १.६६, दलित ५.८४, मधेसी १.५७, मुस्लिम ०.६७ हुनैपर्छ। गण्डकी प्रदेशबाट आदिवासी जनजाति ४२.३७, खस आर्य ३७.२४, थारु १.७२, दलित १७.४४, मधेसी ०.५२ र मुस्लिम ०.७१ प्रतिशत सांसद चुनिनेछन्। लुम्बिनीमा आदिवासी जनजाति १९.५८, खस आर्य २८.८४, थारु १५.१८, दलित १५.११, मधेसी १४.३५ र मुस्लिम ६.९४ प्रतिशत चुनिनेछन्। कर्णाली प्रदेशमा आदिवासी जनजाति १३.६३, खस आर्य ६२.२०, थारु ०.५०, दलित २३.२५, मधेसी ०.२४ र मुस्लिम ०.१८ चुनिन्छन्। सुदूरपश्चिम प्रदेशबाट आदिवासी जनजाति ३.६१, खस आर्य ६०.६२, थारु १७.२१, दलित १७.२९, मधेसी १.६४ र मुस्लिम ०.२३ चुनिन्छन्। प्रतिनिधि सभाका १ सय १० सिटमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिनेछन्। जसअनुसार आदिवासी जनजाति २८ .७०, खस आर्य ३१.२०, थारु ६.६०, दलित १३.८०, मधेसी १५.३० र मुस्लिम ४.४० चुनिन्छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ७६ दलबाट ६८ दलले निवेदन दिएका छन्। प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८, गण्डकी प्रदेशमा ६० दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ र सुदुरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ।  यिनै दलहरुले पाएको मतका आधारमा बन्द सूचीमा रहेकाहरुलाई जातीय क्लस्टर मिलाएर समानुपातिक तर्फका सांसदहरु चयन गरिनेछ । नेपालखबरबाट

‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा परशुराम चौधरी तथा समानुपातिकतर्फ दीपककुमार चौधरी तथा जोधनी थारुको उम्मेदवारी आधिकारिक भएको घोषणा गरिएको छ ।  ‘के पार्टीबाट उम्मेदवारी घोषणा गर्ने क्रम थालनी गरिएको हो ?’ यस प्रश्नमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मंगलबार विहान ढकियाखबरसँग भनिन्, ‘म इटहरीको कार्यक्रम छु । खास निर्णय के भएको हो, थाहा भएन , पार्टी प्रवक्तालाई सम्पर्क राख्नुहोस् ।’ उता नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस नगरिएको बताएका छन् ।  प्रवक्ता पण्डितले बर्दिया क्षेत्र नं १ को उम्मेदवारी भएको हल्ला आफूले सुनेको तर त्यो आधिकारिक नरहेको ढकियाखबरलाई बताए । ‘यहाँ साथीहरु आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर आजै उम्मेदवार भएको घोषणा गरिरहेका छन् । यस्तो बच्काना हर्कत पार्टीलाई सह्य हुन्न,’ प्रवक्ता पण्डितले भने, ‘समानुपातिकतर्फ मनोनयनको इच्छा राख्नु हुनेले कुन जिल्लामा कोसँग सम्पर्क राख्ने यसबारे पार्टीले आधिकारिक निर्णय गरेको छ । तर प्रत्यक्ष तर्फको उम्मेदवारीमा पार्टीलाई कुनै हतार छैन ।’ रिपोर्टस क्लब,  काठमाडौंमा भदौ १६ मा भएको पार्टी प्रवेश कार्यक्रममा बहालवाला सांसद रतन थापा, पूर्व सांसदद्वय कैया चौधरी र हिमाञ्चल भट्टराईसँगै पशुपति विकासका पूर्व सदस्य सचिव डा प्रदीप ढकाल पनि प्रवेश गरेका थिए । प्रवेश लगत्तै डा ढकालले ढकियाखबरसँगको कुराकानीमा आफू बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार उठ्न तयार रहेको बताएका थिए ।  कैलाली र बर्दियामा प्रत्यक्षमा को को छन् चर्चामा ?  रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । १ नम्बर क्षेत्रबाट प्रदेश सभामा पार्टीका संगठन मन्त्री लक्ष्मणकिशोर थारु तथा तीर्थ बोहराको चर्चा छ । प्रदेश सभामा आफूले टिकट नपाए बागी उम्मेदवारी दिन सक्ने भनेर लक्ष्मणकिशोरले पार्टीलाई दवाव दिन थालेका छन् ।  त्यस्तै, कैलालीको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि अरुण चौधरी तथा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । २ नम्बर क्षेत्रबाट प्रदेश सभामा रतन थापा र महेन्द्र उपाध्यायको तथा ३ नम्बर क्षेत्रबाट प्रदेश सभामा इन्दु थारुको चर्चा छ ।  ४ नम्बर क्षेत्रमा हालै नेपाल समाजवादी पार्टीबाट  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका राजाराम चौधरी आंकाक्षी छन् । उनी नेसपामा समाजवादी थारु संघको केन्द्रीय महासचिव थिए । उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् ।  रेशम चौधरी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनस्थिति बनाएका छन् । मनोनयनमा परे पनि, नपरे पनि कसलाई टिकट दिने, कसलाई नदिने यसको अन्तिम टुंगो रेशमले कारागारबाटै लगाउने छन् । अहिले उनलाई भेट्न जानेमध्ये आधा भन्दा बढीले चुनाव टिकटकै कुरा गरिरहेका छन् । 

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

१४२७ दिन अगाडि

|

१७ भदौ २०७९

भावुक मुद्रामा ‘मनके मजा लागल बा । खुसि बटुँ । अट्रा भारि–भारि मनैन्से भेट हुइ पैलुँ । ढेर मनैन्से चिन्हजान हुइल । बहुट मजा लागल बा हजुर !’ । मै लिखल पह्रल नै हुँ, ... !      यी माथिका शब्द हुन्, कार्यक्रममा सम्मानित व्यक्तित्व ६० वर्षीय निर्मला चौधरीका । उहाँ दाङदेउखुरी गढवा गाउँपालिका–२, महदेवाकी वासिन्दा हुनुहुन्छ । एघार वर्ष पार गरी १२औं वर्ष प्रवेशको अवसरमा ‘लावा डग्गर’ त्रैमासिक पत्रिकाको प्रकाशक संस्था थारू भाषा तथा साहित्य संरक्षण मञ्च दाङले २०७७ फागुन ८ गते उहाँलाई सम्मान गरेपछि, आप्mनो मन्तव्यमा अरुलाई धर्धरी रुवाउने गरी माथिका कुरा बोल्नु भएको थियो । नौलो सुरुवात      कार्यक्रमका लागि थारू कल्याणकारिणी सभा रातोडाँडा लमही देउखुरीको सभाहलमा बिहान ११ बजे बोलाइएको थियो । पूर्व रूपेन्देहीदेखि पश्चिम कैलाली–कञ्चनपुरसम्मका पाहुना एवं सहभागीहरूको उपस्थितिमा ढिलो गरी कार्यक्रम सुरु भयो । ब्यानरको अगाडि मञ्चमा चारवटा मात्र कुर्सी राखिएको थियो । हाम्रो चलन अनुसार लाग्थ्यो, सभा अध्यक्ष, प्रमुख अतिथि र दुईजना विशिष्ट अतिथिलाई मात्र मञ्चमा बसालिने योजना रहेछ । तर त्यसो होइन रहेछ ।      कार्यक्रम सञ्चालक लावा डग्गरका सह–सम्पादक रामप्रकाश चौधरीले प्रधान सम्पादक छविलाल कोपिलालाई सभाअध्यक्षको आसन ग्रहण गराउँदा उहाँ प्mलोवर मै बस्नु भयो । प्रमुख अतिथिलाई यथास्थानमा आसन ग्रहण गराएपछि मैले बुझिहालेँ, कि ती कुर्सीमा पुरस्कृत स्रष्टाहरूलाई बसालिने रहेछ, त्यसै गरियो । पुरस्कृत युवा गायक दोषहरण चौधरी सोही दिन काठमाडौंमा कार्यक्रम भएको कारण उपस्थित हुन नसकेको जानकारी गराइयो । कार्यक्रमको सुरु      अध्यक्षले स्वागत मन्तब्य र कार्यक्रमबारे जानकारी गराएपछि सिधै पुरस्कार तथा सम्मान वितरण गरियो । पुरस्कृत बर्दियाका युवा साहित्यकार सोम डेमनडेउडा र कैलालीका सीताराम चौधरीले कृतज्ञता मन्तब्य दिएपछि पुरस्कृत युवा गायक बसन्ती चौधरीको सुरिलो स्वरले हल नै जुरुक–जुरुक बनायो ।      अबको पालो थियो अग्रज गायक निर्मला चौधरीबाट सजना र माँगर गीत सुन्ने । सम्बोधन बिना नै सुरुमा उहाँले ‘मै मजासे बोले नै जान्ठुँ, जे जसिन बोल्बुुँ, मजेसे बुझडेबि कना अर्जि बा’ भन्नु भयो । बोल्दै जाँदा गीत गाउनु पूर्व, ‘हमार डाइ–बाबा लिखल पर्हल नै रहिँट, ओस्टक हम्र फे लिखाइ पर्हाइ स्कुल नै पठैलाँ । मैं पर्हल रहटुँ टे गिट लिखके ढरटुँ, बेन मुटुमे (छातीमा हात राख्दै) लिख्के ढर्लक एक डुइठो गिट सनाइ जाइटुँ’ भनेर अँह...भन्दै गला सफा गर्नु भयो । निर्मलाले सजना सुनाउन थाल्नु भो, ....      हरे, भुखे पियासे काम करलि रे,      खखला बखला पसना      चाहे कोहि माने न माने      ढरटि बटाँ साँछि ।      हरे, बाबा छुटल महटरिया न रे      छुटल भाइ–बहिनि      हरे छुटि गइला नैहरके लोगे      छुटल सब नगरि ।      उता युवा गायक बसन्ती भने धर्धरी रुनु भयो । पुरस्कृत हुँदा ओढाएको दोसल्लाले आँसु पुछ्दै सुँक्क, सुँक्क धेरैबेर भावुक बनेर अगाडि हेर्नै सक्नु भएन । सजनाको एक टुक्रापछि निर्मलाले फेरि विगततिर फर्कदै त्यो बेलाको भाषा, साहित्य, कला, संस्कृति, परम्परा, दैनिकी र साथीसंगीबारे चर्चा गर्न थाल्नु भयो, यसले बसन्तीलाई मात्रै होइन, सबैलाई भावुक बनाएको थियो ।                                                                       गायिका बसन्ती चौधरीलाई पुरस्कार दिदै साहित्यकार कृष्णराज सर्वहारी फेरि माँगरको एकटुक्रा गीत सुनाएर एउटा सूर्यले संसार उज्यालो बनाउँछ, तपाईं हामी सबैको मन सधैँ यस्तै उज्यालो रहिरहोस् शुभकामना ‘डेहटि विडा मागटुँ, जय गुर्बाबा’ भनेर बिसाउनु भयो । पूर्व घोषित वक्ताहरू      अनुसन्धाता उदयराज आलेले थारू भाषाको शब्दकोश निर्माणमा मौलिक शब्दहरू संकलनमा गरिएका अनुभव, विशिष्ट अतिथि सुशील चौधरीले थारू भाषामा साहित्य र प्रमुख अतिथि डा.कृष्णराज सर्वहारीले थारू भाषामा पाठ्यपुस्तकको बारेमा बोल्ने भनेर जानकारी गराइएको थियो ।      सोहीअनुसार विगत चार वर्षदेखि शब्दकोश सम्पादन गर्दै आउनु भएका आलेले शब्द संकलन, उच्चारण, क्षेत्रगत प्रभाव, स्वर, वर्ण, आयातित र अन्य भाषाको बोलीमा मौलिक ठेट थारू शब्दको खोजीबारे चर्चा गर्नु भयो । जस्तै थारू गीतमा बढी प्रयोग हुने ‘अलबेलि’, आम प्रयोगमा आउने ‘नमस्कार, अंग्रेजीमा बोलिने गुडबाइ’ लगायतका शब्दको थारुमा प्रयोग बारेमा जानकारी गराउनु भयो ।      सुशील चौधरीले नेपाली (सिंजाली), मैथिली, अवधिपछि थारू भाषा भनिए पनि क्षेत्र र जनसंख्याको हिसावले थारू भाषा दोस्रोमा पर्दछ । केही भाषाहरू निश्चित क्षेत्रमा मात्र बोलिन्छ तर थारू भाषा मेचीदेखि महाकालीसम्मका तराई भागमा बोलिन्छ भन्नुभयो ।      थारू भाषाको साहित्य वृहत् छ, यसको समालोचनात्मक समीक्षा हुन सकेको छैन, यही नै हाम्रो कमजोरी रहेको छ । हजारौं वर्षदेखि बोलिदै आएको थारू भाषा अझै कामकाजी भाषा बन्न नसक्नु दुःखको कुरा हो । जेठो पुस्ता सकिदै जाने र लिपि गरेर राख्न नसक्नु कमजोरी रह्यो । त्यसैले आज हाम्रो पुस्तामा ठूलो जिम्मेवारी आएको छ भन्दै शब्दकोश निर्माण गर्नु, मानक बनाउनु, खोज अनुसन्धानमा लाग्न अब ढिला गरिनु हँुदैन भन्नु भयो ।      डा.कृष्णराज सर्वहारीले पुरस्कृत स्रष्टाको चर्चा गर्दै वि.सं २०२८ सालदेखि नै हाम्रा अग्रजहरूले ‘गोचाली’ पत्रिका मार्फत थारू भाषाको संरक्षण, प्रवर्धन र विकासमा लिखित रूपमै सुरु गर्नु भएको थियो । उहाँहरूप्रति हाम्रो सम्मान छ भन्नु भयो । आज ५० वर्ष पुग्दासम्म पनि हामीले थारू भाषा कामकाजी भाषा बनाउन सकेनौ । यसमा दोहोरो समस्या देखिएको छ । स्थानीय सरकारले कार्यान्वयन नीति बनाउन नसक्नु र कार्यालयमा थारू कर्मचारीको पहुँच नपुग्नु नै अहिलेको समस्या हो भन्दै यसका लागि स्थानीय सरकारसंग परामर्श गरेर यसै शैक्षिक सत्रदेखि लागु हुनेगरी साथीहरू पाठ्यपुस्तक तयार गर्न जुट्नुहोस्, मेरो पूर्ण सहयोग रहने छ भनी भाषा साहित्यको क्षेत्रमा लागेका युवाहरूलाई सुझाव दिनुभयो । रचना वाचन र शुभकामना मन्तब्य प्रमुख अतिथिको मन्तब्यपछि रचना वाचन र शुभकामना मन्तब्य सुरु भएको थियो ।      माटो पोलेपछि लाल बन्छ,      धागो बुनेपछि जाल बन्छ,      राम्ररी प्रयोग गर्न जान्यो भने,      कलम पनि बन्दुकको नाल बन्छ ।      कैलालीका युवा कवि जीतबहादुर चौधरी ‘ट्रासन’ले झट्का दिने खालको मुक्तक वाचन गर्नु भयो । त्यसै गरी देउखुरीका सूर्यराज गौतम, सल्यानकी मीना खड्का, रूपन्देहीका केवलप्रसाद थारू, कैलाली, गदरियाकी लक्ष्मी राना थारू, हिमलाल चौधरी लगायतले मीठा र मर्मस्पर्शी रचना वाचन गर्नु भयो ।      रूपन्देहीका बमबहादुर चौधरीले नवलपरासी, रूपन्देही र कपिलवस्तु तीन जिल्लालाई समेटेर आपूmले थारू भाषा शब्दकोश लेख्दै गरेको जानकारी दिनु भयो । आख्यानकार शेखर दहितले हाम्रो घर नै पहिलो विश्वविद्यालय हो, हाम्रा बाजे बज्यै शिक्षक हुन्, उहाँहरूले दिएको शिक्षा हामीले लिपिबद्ध गरेर राख्न नसक्नु हाम्रो कमजोरी हो भन्नु भयो ।      उद्घोषकले समय छोट्याउन २ मिनेट घोषणा गरे पनि थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले ४० मिनेट खर्चेर मुख्य मन्त्रीदेखि मेयरसम्मको चर्चा गर्दै थारू भाषालाई कामकाजी बनाउन ६ महिना नगरपालिकालाई स्वयमसेवक थारू कर्मचारी दिन्छौ भन्दा पनि काम हुन सकेन भन्ने पीडा पोख्नु भयो । त्यस्तै थाकस देउखुरी क्षेत्रका सचिव बालगोविन्द चौधरीले विगतमा ‘मधेस एक प्रदेश’ रोक्न भूमिका खेलेको चर्चा गर्दै अब छिटै थाकस देउखुरीबाट तीन भाषामा थारू शब्दकोश सार्वजनिक गरिने जानकारी दिनु भयो ।      शुभकामना मन्तव्य दिनु हुनेहरू छन्द कवि गंगानाथ कोइराला, राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष नगेन्द्र गुरु, प्रलेस पूर्व केन्द्रीय सदस्य रामप्रसाद जैशी, देउखुरी साहित्य मञ्चका हरि पोख्रेल र भक्ति थापा स्मृति प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापा लगायत हुनुहुन्थ्यो । मलाई दुई मिनेट त लागेन होला ! मैले बोलेको यत्ति हो, शब्द पनि यिनै हुन्– सम्पूर्णलाई एकमुस्ट हार्दिक अभिवादन गरें, सम्मान गरें, १२औं वर्ष प्रवेशको अवसरमा लावा डगर पत्रिकालाई बधाई छ, शुभकामना, पुरस्कृत र सम्मानित पाँचै जनालाई हार्दिक बधाई एवं शुभकामना छ ।      अन्तिम वक्ता हुनुहुन्थ्यो राप्ती साहित्य परिषद केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल । उहाँको भनाइ थियो, कार्यक्रममा नयाँ प्रयोग राम्रो लाग्यो । ‘क’ वर्गको लावा डगर पत्रिकाले थारू भाषा तथा साहित्य संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने छ । भाषा बचाउने सबैभन्दा ठूलो माध्यम जनजिब्रो नै हो । थारू विद्यार्थीहरूलाई आप्mनो भाषा बोल्नमा निरुत्साहित होइन, उत्साहित गराउनमा शिक्षक वर्गको महत्वपूर्ण भूमिका रहन्छ । यसरी उहाँको सम्बोधनपछि कार्यक्रम समापन भयो । र, अन्तमा कार्यक्रमपछि मैले सोधें, ‘बसन्ती छोरी ! निर्मला बहिनीले मन्तब्य दिंदा तिमी किन रोएको ?’      बसन्तीले भनिन्, ‘उहाँ अन्टीले बोलेका कुराले मन छोयो, उहाँले पढ्न नपाएको पीडा व्यक्त गर्नु भो । समय र प्रविधिको प्रयोग गर्ने ईच्छा त सबैलाई हुँदोरहेछ नि । आखिर समयले कसलाई पख्र्यो र यिनै भावनाहरू मेरो मनमा भूमरी खेल्न थाले र मैले आप्mनो मनलाई थाम्नै सकेन अंकल ।’      निर्मलाको भावले यसो भन्थ्यो, समयले आफूलाई धेरै पछाडि छाडिसकेको छ । अहिले लेखिएका बोलिएका शब्द, भाव, विचार, गीत, गायन जे पनि सुरक्षित रहन्छन् । स्रष्टाको मुखबाट निस्क्यो कि कहीँ न कहीँ कैद भइहाल्छ । कलमले कापीमा कोर्यो कि कहीँ न कहीँ लिपिवद्ध भइहाल्छ । तर पहिले हाम्रो पालामा जे थियो, मनमा हुन्थ्यो । जे थियो मनबाट निस्कन्थ्यो । त्यसैले, त्यस्ता मान्छेहरू आफू मात्रै मर्दैनन्, उनीहरूसंगै हाम्रो भाषा, साहित्य, कला र संस्कृति पनि मरेर जान्छ । अतः आजको पुस्ताले यसलाई संरक्षण गरेर बचाइराख्नु आजको आवश्यकता हो । सम्मानित बहिनी निर्मला चौधरीका शब्द सापटी लिएर राख्दै बिट मार्न चाहन्छुः      ‘जस्टके एकठो सुरज संसार ओज्रार कराइठ, ओस्टके अपने ओ हम्रे सक्कुजन्हनके मन ओज्रार रहल करे, सुभकामना डेहटि विडा मागटुँ ।’ लावा डग्गर त्रैमासिक पूर्णाङ्क–४५ बाट

नागरिक उन्मुक्तिमा रतन, हिमाञ्चल र कैंया चौधरीहरूको प्रवेशको सन्देश

नागरिक उन्मुक्तिमा रतन, हिमाञ्चल र कैंया चौधरीहरूको प्रवेशको सन्देश

१४२७ दिन अगाडि

|

१६ भदौ २०७९

कौशलेन्द्र कुमार काठमाडौंः करिब तीन साता अघि रेशम चौधरीलाई भेट्न एक मिडियाकर्मीलाई साथ लगाएर म डिल्लीबजार कारागार गएको थिएँ । त्यस भेटमा रेशमले सूचना चुहाएका थिए, पार्टीले कार्वाही गरेको एमाले कैलाली जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सांसद रतन थापा नागरिक उन्मुक्ति पार्टीमा आउँदैछन् ।  हामीले अविश्वास व्यक्त गरेपछि रेशमले टिकट दिएको अधकट्टि नै देखाएका थिए । उनले अझै समाचार भने नबनाउनुस् ल भने पनि पत्रकारको मन किन पो मान्थ्यो र ? समाचार बन्यो ।  तै पनि रतन थापा आउलान् नआउलान्, रेशमलाई शायद संशय थियो । अझ कञ्चनपुरमा एमालेमा प्रवेश गराउन केपी ओली स्वयम् उपस्थित हुँदै थिए, जसमा नेकपा एसका सांसदहरु नै पार्टी छाडेर जाँदै थिए ।  तर विहीबार रिपोर्टस क्लबमा भएको नागरिक उन्मुक्ति पार्टीमा प्रदेश सांसद रतन थापा मात्रै पार्टीमा भित्रिएर पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको हातबाट खादा, टीका मात्रै लगाएनन् । कैलालीका अन्य दुइजना पूर्व सांसदहरु हिमाञ्चल भट्टराई तथा कैंया चौधरी समेत पार्टी प्रवेश गरे । यस प्रवेशले जिल्लामा तरंग ल्याएको छ ।                                                                                                            सुदूरपश्चिम प्रदेश सांसद रतन थापा पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तथा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा, एमालेकै पूर्व सांसद हिमाञ्चल भट्टराई तथा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरी लगायतले पार्टी प्रवेश गरे । रतनको प्रवेशले २ नम्बर क्षेत्र बलियो रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । यहाँबाट काँग्रेसका रामजनम चौधरीले पनि उठ्ने उद्घोष गरिसकेका छन् । टीकापुर आन्दोलनमा रामजनमको नकारात्मक छविले रन्जिताले सजिलै जित्ने विश्वास गरिएको छ ।  उता रतन थापा र हिमाञ्चल भट्टराईको प्रवेशले २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीले बलियो पकड बनाएको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि दौडमा अगाडि रहेका अरुण चौधरीलाई चुनावमा हारको ह्याट्रिक तोड्ने सुनौलो अवसर आएको छ ।  रतन थापाले ३० वर्ष एमालेमा बिताएको पार्टी छोड्दा दुःख लागेको, आफूले पार्टी छोड्ने कल्पना पनि नगरेको बताए । एमालेले अन्तर्घातीको कहिल्यै नमेटिने गोली हानेकाले पार्टीबाट मोहभंग भएको उनको भनाइ थियो । भ्रष्टाचारीहरुलाई चुनावमा टिकट नदिएकाले आफ्नो वदनाम गरेर कार्वाही गरिएको उनको भनाइ थियो । रतन थापाले नागरिक उन्मुक्ति पार्टी ज्वाइन गरेर अझ राम्रो ठाउँमा सेवा गर्न आइपुगेको जिकिर गरे । उनले नागरिक उन्मुक्ति पार्टीमा आफ्नो टायमलाइन सुरु गरेको बताउँदै यस पार्टीलाई इमान्दारिता, सेवामा, स्वच्छतामा एक नम्बरको पार्टी बनाउने उद्घोष पनि गरे ।  भजनी क्षेत्र रहेको ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । यस क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीको बलियो पकड मानिएको छ । विहीबारको पार्टी प्रवेश कार्यक्रममा जसपाबाट हालै अलग्गिएको डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ३ जना  केन्द्रीय सदस्य प्रवेश गरेका छन्, जो कैलालीका हुन् । तिनमा राजाराम चौधरी, राजेन्द्र देवकोटा र लक्षिराम चौधरी रहेका छन् । देवकोटा पार्टीको बलियो मानिएको राजनीतिक संवाद समितिको पनि सदस्य हुन् भने राजाराम चौधरी समाजवादी थारु संघको केन्द्रीय महसचिव हुन् ।                                                                                                                           टीका ग्रहण गर्दै  राजाराम चौधरी ४ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी तुलनात्मक रुपमा कमजोर मानिएकोमा नेपाल समाजवादी पार्टीका ३ जना  केन्द्रीय सदस्यको प्रवेशले उर्जाको काम गरेको छ । राजाराम चौधरी त्यस क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवारीको लागि आंकाक्षी छन् । उनले भने, ‘अब कैलालीमै नेपाल समाजवादीका अन्य सहकर्मीहरुलाई नागरिक उन्मुक्तिमा प्रवेश गराउने छौं ।’ उता कैलालीमा थारु कल्याणकारिणी सभा तथा नेपाल आदिवासी जनजाति महासंघ प्रवेश गराउने राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरीको प्रवेशले ५ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले संरक्षक पाएको छ । पार्टी प्रवेश कार्यक्रममै कैंयाले भने, ‘रेशम मेरो नाति हो । नातिको वचन हार्न नसकेर पार्टीमा आएको छु ।’ रेशमले संरक्षकको रुपमा आइ दिन पटक पटक गरेको आग्रहले आफू नागरिक उन्मुक्तिमा प्रवेश गरेको उनको भनाइ थियो । सोही पार्टी प्रवेश कार्यक्रममा पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव डा प्रदीप ढकाल, एमाले परित्याग गरी मोहन्याल गाउँपालिकाका प्रमुख पुर्णबहादुर साउद, नेपाली काँग्रेस परित्याग गरी शुसिला रावल, लम्कीचुहा नगरपालिकाका पूर्व नगर विकास अध्यक्ष जन्मजय भट्ट, सिरहाका डा ऋषि साह, वृद्धिजिबी हेमराज भट्ट, भूमिका चौधरी लगायत सो पार्टीमा प्रवेश गरे । कार्यक्रममा माननीय नरमाया ढकाल पार्टी प्रवेश गर्ने कार्यक्रम उद्घोष गरे पनि उपस्थित भइनन् ।    

ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

१४२९ दिन अगाडि

|

१४ भदौ २०७९

छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ । पहिला केही माग्दैनथ्यो उ । बच्चा भएकै कारणले मैले आफ्ना अभिभावकसँग केही माग्नुपर्छ भन्ने चेतना पनि उसमा थिएन होला । तर जबदेखि उसले खेलौनाहरु आफै खेलाउन सिक्यो तबदेखि उसले हामीसँग माग्न थालेको छ । बच्चा भएर पनि उसले चकलेट माग्दैन । मामुले खुवाउने हापुमा टाउको हल्लाउँदैन । जे खुवाए पनि कुपुकुपु खान्छ । बरु कहिलेकाहीँ उ खाँदा खाँदै निदाइदिन्छ । तर म यो खान्न, उ खान्न भनेर कहिल्यै जोरी खोज्दैन । ठूलै चोट वा कुनै आफतविपत नपरेसम्म उ आँशु पनि झार्दैन । एकदिन संयोग पनि यस्तै प¥यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु र उसको पनि साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । धकल धाकल यताउति गरेर उसले साइकल गुडाउने प्रयत्न गरेछ । तर साइकल डेक चलेन । अन्ततः उसले आमाले गुहार लगायो । आमा पनि काठमाण्डौको रैथाने न परिन् । चलाउँदा चलाउँदैको साइकल के गरी बिग्रिएछ । कसरी बनाइदिने हो, उनले पनि जानिनन् र छोरालाई फकाउँदै भनिछन् – बाबु, अब यो साइकल बन्दैन । ऊ बालक न हो आमाले नै अब यो साइकल बन्दैन भनेपछि एकछिन त उ अवाक भयो । अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरा भन्ने आमाको दोस्रो वचन सुनेर उ डाँको छोडेरै रुन थाल्यो । एकछिन त उनले पनि छोरालाई फकाउने प्रयत्न गरिन् । तर खेल्ने साइकल बिग्रिएको पीरमा छोराको मन सजिलै भुलेन । नयाँ किनिदिउँ भनेर फकाउँ साथमा पैसा छैन, नकिनौं खेलेर भुल्ने छोराको एकमात्र खेलौना साइकल बिग्रिएको छ । कसै गर्दा छोराको मन भुलाउन नसकेपछि अन्ततः उनले मलाई फोन लगाइदिएर आफ्नो फोन छोराको हातमा थमाइदिइन् । फोनमा हेलो पनि भन्न नपाई छोरा रोएको सुनेर मनै कुँडियो । तैपनि फकाउँदै सोधें, ‘‘के भयो छोरा ? छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फोनमै फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहिंदैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो । उसलाई विश्वास छ, बाबाले बोलेको वाचा पूरा गर्नुहुन्छ । त्यही भएर मैले फोनमै साइकल किनिदिने गरेको वाचाले उ सुफ्लिदै कुरा गरिरहेको फोन आफ्नो मामुको हातमा थमाइदियो । घटना हुनुपूर्व महिना दिन पहिलेको कुरा हो, एकदिन उ र म टीकापुर बजार डुल्न गएका थियौं । बाबु र छोरा कारमा सवार हुँदै मैले चकलेट खाने प्रस्ताव राखें । चकलेटको नाम सुनेर कुन बच्चाको मन हुरुक्क हुँदैन र ? छोराले मुन्टो हल्लाएपछि हामी एक पसलमा चकलेट किन्न ओर्लिर्यौं । सम्झें, बाबु छोरा मात्रै छौं । आज यसलाई खल्तीभरि चकलेट किनिदिन्छु । र पसलेलाई पाँच सयको नोट दिंदै भनें – साहुजी, यो सबै रुपैयाँको चकलेट दिनुस् है ! साहुजीले बीस, बाइस रुपैयाँ पर्ने क्याड्बरीको झोला थमाएको देखेर उ आश्चर्यमा प¥यो र मलाई हेर्दै भन्यो – ‘‘यो सप्पै चकलेट हामीलाई हो बुबा ?’’ – हो नि, मैले सप्पै चकलेट मेरो छोरालाई किनिदिएको हो । पोलिथिनको झोलाबाट दुइटा मात्रै चकलेट निकाल्दै उसले तोतेबोलीमै जवाफ दियो – ‘‘नो पापा, वि निड इट ओन्ली टु ।’’ उ जन्मेदेखि दुइटा भाषा जान्दछ, नेपाली र अंग्रेजी । रञ्जिताले उसलाई थारु, नेपाली र अंग्रेजी गरि तीन भाषामा पोख्त बनाएकी छिन् । बच्चाको दिमाग तेजिलो हुन्छ र सजिलै सिक्दा पनि रहेछन् । उ मसँग अक्सर अंग्रेजीमै कुरा गर्छ । हैन, मैले सप्पै चकलेट छोरालाई नै किनिदिएको हो, राख न बाबा खल्तीमा । उसले लगाएको हाप पाइन्टमा चकलेट राखिदिने प्रयत्न गर्दै भनें मैले । – नो नो, ह्वाइ वी स्पेन्ट लट अफ मनी ? हामीलाई दुइटा भए पुग्छ के । एउटा हजुरलाई, एउटा मलाई । उसले हाप पाइन्टबाट अरु चकलेट निकालेर साहुजीको हातमा फिर्ता गरिदियो । ‘‘लेउ न बाबु, खल्तीमा राख, बाबाले किनिदिएको चकलेट हो । पछि खाउलाउ नि ।’’ भन्ने साहुजीको आग्रहलाई पनि उसले लत्याइदियो । छोराले देखाएको ज्ञानी व्यवहारले म र साहुजी दङ्ग प¥यौं । केही सीप नलागेपछि बाँकी पैसा फिर्ता लिन बाध्य भएँ म । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ घरबाट बाबुछोरा मात्रै कारमा घुम्न निस्कदा सोचेको थिएँ, आज छोराले इच्छाएको खुवाइदिने र रोजेको किनिदिने । उ सबै कुरामा पैसा बचाउन मात्रै खोज्छ । नाना किन्न खोज्दा पनि घरमा छँदैछ भनेर टार्छ । खानेकुरा किन्न खोज्दा पनि पैसा धेरै खर्च हुन्छ भनेर आफै पर्स छिनेर मेरो खल्तीमा हालिदिन्छ । छोराको ज्ञानी व्यवहार देखेर कुन चाहीँ बाबुको मन हर्षविभोरित हुँदैन र ? त्यो दिन उसको व्यवहारले मख्ख भै मैले कार चलाइरहेको स्टेरिङकै हातले आँशु पुछें । सकेसम्म कुनै कुराको फर्माइस नगर्ने, नाना, गुडिया किनिदेउ भनेर कहिल्यै ¥याख¥याख्ती नपार्ने आमा बाबुलाई दुःख दिएर हैरान नपार्ने छोराले नयाँ साइकल माग्नुको कारण मैले बुझिसकेको थिएँ । हिजो उ टीकापुरको आफ्नो ठूलो कम्पाउण्डले घेरिएको चौडा घरमा थियो । उ सँग चाहेजस्तो, मनले रोजेका थरिथरिका खेलौनाहरु थिए । पैतालामा गाडी, पैतालामै गुडिया । जे चाह्यो त्यो सबै थिए । तर आज उ सँग मामा घरमा छोडिएको एउटा पुरानो साइकल मात्रै थियो । हप्तौं त्यही साइकलमा खेल्दा खेल्दै उ वाक्क थियो होला । अनि भएको त्यही साइकल पनि बिग्रिएपछि अर्को साइकल नमागेर के गरोस् त ? तर हामी पनि विवशताको पहाडले चिचिका थियौं, रञ्जिता काठमाण्डौमा सुख्खा थिइन्, म भारतमा भुख्खा थिएँ । त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र नयाँ साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । छोराको हातमा मोवाइल पर्ने बित्तिक्कै उस्तै धम्की सुन्छु म – ‘‘ए बाउ, मेरो साइकल खोइ ?’’ छोराको मायालु धम्कीपूर्ण भाषा दिन प्रतिदिन यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु । कहिलेकाहिँ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक छोरासँग झूठो बोलिरहनुको पीडा बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई । झूठको पनि सीमा हुन्छ नि । त्यसैले आजभोलि उसले मेरो कुरा पनि पत्याउन छोडिसकेको छ क्यारे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई । टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ? दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक प्रवासमा म सँग केही नभएको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्यारे ! मेरो पीडाको पाप्रा उप्काएर झनै पीडित बनाउन उनी चाहँदैनथिन् होला । मैले सोद्धा जवाफ दिन्थिन् – लगाउने कपडा छँदैछ नि । धेरै चिन्ता नगर । बरु समस्याको समाधान कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान देउ । – आभूलाई नयाँ नाना छ त ? छातिमाथि बज्रले हिर्काएको भन्दा ठूलो चोट सहदै एकदिन मैले उनलाई सोधेको थिएँ । उनी धेरैबेर बोलिनन् । मोबाइलमा सुनिएको सुँक्क सुँक्क आवाजले कुरा बुझिहालें । यसपालि दशैंमा छोराको लागि नयाँ नाना किन्ने हैसियत रहेनछ हाम्रो । फोन राखेर बाथरुममा छिरें । पानीको धारा खाली बाँटामा खोलिदिएँ । छ्वार्र आवाजले रोएको आवाज पक्कै सुनिदैन होला भनेर डाँको छोडेर रोएँ । धित मरुञ्जेल रोएँ । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर नयाँ साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै त मलाई फोन सम्पर्क गर्न मन लागेन, साथीले भने बमोजिम निकैदिन कुरें । तर साथीको भोलि कहिल्यै आएन । अर्को एकजना निकटको मित्रलाई गुहारें । दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि नै भन्नुभयो । साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला !  दशैंको बेलामा आफूलाई केही नभए पनि परिवारको लागि कमसेकम एक जोडी कपडा त किनीदिउँ भनेर धेरै साथीभाइलाई गुहारियो, तर सबैको एउटै उत्तर थियो भोलि । राज्यको मोष्ट वान्टेड सूचिमा रहेकोले पनि होला, धेरै साथी त म सँग फोनमा कुरा गर्न पनि चाहँदैनथे । एकजना पुराना साथी थिए । मेरा असाध्यै प्रशंसक । काठमाडौंमा हुने थारुहरुको हरेक क्रियाकलापमा उनी मेरो पक्षधर हुन्थे । वर्तमानमा उनी सभासद थिए । दिल्लीमा भेट हुँदा ‘भाउजू र छोराको म अवश्य केही गर्नेछु नेताजी’ भनेर उनले मलाई वचन दिएका थिए । अचानक उनी अनलाइनमा देखा परे । ‘भाउजू र छोराको लागि केही गर्न सकिन्छ ?’ उनले मेरो म्यासेज त पढे । तर जवाफ नफर्काइकनै अचानक उनी डिसकनेक्ट भए । आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिता मसँगै छिन् । उनले छोरीजस्तै बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं । उनलाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, जिन्दगीमा छोराको साइकल फर्माइस पूरा गर्न नसक्ने दिनपनि आउँदोरहेछ ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियो कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – ‘‘दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर ।’’ राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ? के हाम्रो जीवनमा यस्तो दिन पनि आउँछ ? कल्पनै नगरेको सपना कसरी देखें मैले ? भिजेको छाती र निधार रुमालले पुछेर फेरि निदाउने प्रयत्न गरें । दोस्रो पटकको निदरीमा पुनः सपना देखें । रञ्जिता पोको पकुन्तरोसहित छोराको हात समातेर उभिइरहेकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो, ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ चिरफार पुस्तकबाट