टीकापुर आन्दोलनको सम्झना र थारू फुटको वास्तविकता

टीकापुर आन्दोलनको सम्झना र थारू फुटको वास्तविकता

१५२८ दिन अगाडि

|

६ भदौ २०७९

कारागारमा रेशम चौधरीको हिसाब : प्रत्यक्षमा ८ सिट, समानुपातिकमा ९ लाख मत

कारागारमा रेशम चौधरीको हिसाब : प्रत्यक्षमा ८ सिट, समानुपातिकमा ९ लाख मत

१५३० दिन अगाडि

|

५ भदौ २०७९

लोकेन्द्र भट्ट स्थानीय निर्वाचनमा कैलालीका स्थानीय तहमा अप्रत्याशित नतिजा निकालेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आसन्न आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने ध्येयमा छ । पार्टीका प्रमुख नेता रेशम चौधरी आगामी मङ्सिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी राष्ट्रियस्तरको दल बन्नेमा विश्वस्त देखिन्छन् । ०७२ भदौमा भएको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका चौधरीले आसन्न निर्वाचनमा नाउपाले प्रत्यक्षमा ८ सिट जित्ने हिसाब सुनाए । प्रतिनिधिसभातर्फ कैलाली–१, २, ३, कञ्चनपुर– १, २, बर्दिया– १, २ र दाङ– १ मा नाउपाले चुनाव जित्ने रेशमको दाबी छ । बिहीबार अपराह्न डिल्लीबजार कारागारमा उनले आफ्नो तथ्यगत हिसाब–किताब देखाएर समानुपातिकमा नाउपाको करिब ९ लाख मत आउने दाबी गरे । यद्यपि ०७४ को आम निर्वाचन र ०७९ को स्थानीय चुनावको गणितले भने नाउपा कैलाली–१ मा मात्र अगाडि छ । चौधरीले आधार इलाका ठानेका जिल्लामा कैलाली, कञ्चनपुर, बर्दिया, दाङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, महोत्तरी, सुनसरी, मोरङ लगायत छन् । उक्त जिल्लाबाट समानुपातिकमा नाउपाले अप्रत्याशित मत बटुल्ने रेशम बताउँछन् । पछिल्लो समय एक संस्थाले गरेको सर्वेक्षणमा पनि नाउपालाई राष्ट्रिय पार्टी बन्न ७५ हजार मतका लागि मेहनत गर्नुपर्ने उल्लेख छ । उक्त संस्थाले नाउपाले २ लाख ७५ हजार मत पाउने प्रक्षेपण गरेको छ । तर, रेशम भने नाउपाको माहोल तीव्ररुपमा विस्तार भएको भन्दै करिब ९ लाख समानुपातिक मत आउने दाबी गर्छन् । ७ सिटमा गणित बिनाको हिसाब ०७४ को आम निर्वाचनपछि कैलाली–१ नाउपाको कब्जामा छ । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार रेशम चौधरी अत्यधिक मतान्तरले सो क्षेत्रबाट निर्वाचित भएका थिए । भूमिगत रुपमा चुनाव लडेका रेशमले वाम गठबन्धन र कांग्रेसको किल्लामा धावा बोलेका थिए । प्रतिस्पर्धीको भन्दा दोब्बर मतान्तरले उनी विजयी भए । चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा वाम गठबन्धनबाट एमाले उम्मेदवार मदन कुमारी शाहीले १३ हजार ४०६ मात्र पाएकी थिइन् । यस्तै  कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित भएकी थिइन् । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कैलाली–१ मा पर्ने सबै पालिका नाउपाले जित हात पारेको छ । यहाँ नाउपाका वडा अध्यक्षका उम्मेदवारले १७ हजार १९३ मत प्राप्त गरेका थिए । यस्तै कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, माओवादीले ६ हजार ९३० मत पाएका छन् । यस्तै राप्रपाले ३ हजार ५६१, जसपाले २३ सय २ र एसले २ हजार २३२ मत ल्याएको छ । यहाँ सत्ता गठबन्धनसँग २३ हजार १४२ मत छ । नाउपाभन्दा गठबन्धन ५ हजार ९४९ मतले अगाडि छ । यहाँबाट नाउपा अध्यक्ष रंजिता श्रेष्ठ चुनाव लड्ने तयारीमा छिन् । रंजिताका लागि कैलाली– १ को विकल्प नभएको रेशमले बताए । ०७४ मा कैलाली–२ बाट वाम गठबन्धका झपट रावल निर्वाचित भएका थिए । उनले २५ हजार १७५ मत ल्याउँदा कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत पाएका थिए । यस्तै, तत्कालीन राजपाका उम्मेदवार रामप्रसाद चौधरीले ५ हजार ९६७ मत पाएका थिए । यहाँ स्थानीय निर्वाचनमा १७ हजार ८३४ मत ल्याएर एमाले पहिलो शक्ति बनेको छ । यस्तै कांग्रेसको १३ हजार ८२०, माओवादी ८ हजार ७२४ मत छ भने नाउपाले ५ हजार २४३ मत ल्याएर तेस्रो स्थानमा रहँदा राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत छ । यहाँ पाँच दलीय गठबन्धनको मत २४ हजार ८५० छ । तर नाउपाले कैलाली–२ मा पनि चुनाव जित्ने निश्चित जस्तै रहेको रेशमको भनाइ छ । एमाले कैलालीका निवर्तमान अध्यक्ष रतन थापा र कांग्रेस नेता राठौर नाउपामा प्रवेश गर्ने तयारीपछि चुनाव जित्नेमा रेमश विश्वस्त देखिन्छन् । गत स्थानीय निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमालेले जिल्ला अध्यक्ष थापालाई कारबाही गरेको थियो भने कांग्रेसबाट टिकट नपाउने निश्चित भएपछि राठौर पनि नाउपातिर ढल्किएका छन् । नाउपाको पार्टी सदस्यता लिइसकेका थापा यही भदौ ८ वा ११ गते औपचारिक रुपमा सो पार्टीमा प्रवेश गर्ने बुझिएको छ । यसअघि पनि कांग्रेसबाट अरुण चौधरी, प्रदीप चौधरी लगायतका नेताहरू नाउपामा प्रवेश गरेका थिए । कैलाली–२ बाट अरुण उम्मेदवार बन्ने तयारीमा छन् । तर राठौर नाउपा प्रवेश गरेको अवस्थामा अरुण चौधरीले प्रतिनिधिसभामा टिकट पाउने सम्भावना न्युन छ । त्यस्तो अवस्था प्रतिनिधिसभामा राठौरलाई टिकट दिएर नाउपाले प्रदेशमा रतन थापा र अरुण चौधरीलाई उम्मेदवार बनाउने सम्भावना छ । कांग्रेस र एमालेका प्रभावशाली नेता नाउपामा छिर्ने भएपछि कैलाली–२ त्रिपक्षीय भिडन्त हुने परिस्थिति बन्दै गएको छ । ०७४ मा कैलाली–३  वाम गठबन्धनबाट माओवादीका उम्मेदवार गौरिशंकर चौधरी निर्वाचित भएका थिए । उनले २४ हजार ८७८ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । यहाँ तत्कालीन राजपाकी मिना चौधरीले ४ हजार ४४ मत ल्याएकी थिइन् । गत स्थानीय निर्वाचनमा यहाँ १९ हजार ९९२ मत ल्याएर कांग्रेस पहिलो दल बनेको छ । यस्तै, माओवादीको ११ हजार ७१६, एमालेको ११ हजार २५७ राप्रपाको ६ हजार ६९९ मत छ । नाउपाले ५ हजार २४७, जसपाले २ हजार ८५९, एकीकृत समाजवादीले १ हजार ९७८ मत पाएका छन् । कैलाली– ३ मा गठबन्धनसँग ३६ हजार ५५४ मत छ तर ५ हजारमात्र मत भएको नाउपाले थारु समुदायको बाहुल्यता भएको सो क्षेत्रमा चुनाव जित्ने दाबी गरेको छ । नाउपाले कञ्चनपुरमा पनि चुनाव जित्ने लक्ष्य राखेको छ । थारुहरुको बाहुल्यता भएको कञ्चनपुर–१ मा चुनाव जित्ने हिसाब रेशमको छ । ०७४ मा यहाँ वाम गठबन्धनबाट माओवादीकी विना मगर निर्वाचित भएकी थिइन् । उनले ३८ हजार ४६७ मत पाउँदा कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका थिए । स्थानीय निर्वाचनमा यहाँ एमालेले १८ हजार ७७३, कांग्रेसले १८ हजार ७३२, माओवादीले १५ हजार २८९, एकीकृत समाजवादीले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत पाएका थिए । यहाँ गठबन्धनसँग ३७ हजार ५३८ मत छ । कञ्चनपुर–१ मा कांग्रेस र एमालेका केही प्रभावशाली नेताहरुको सहयोगमा नाउपाले चुनाव जित्नेमा रेशम विश्वस्त छन् । गठबन्धनभित्रको असन्तुष्टि र एमालेको थारु मतमा खेलेर चुनाव जित्ने नाउपाको दाउ छ । यता कञ्चनपुर–२ मा पनि नाउपाले चुनाव जित्ने रणनीति बनाएको छ । ०७४ मा सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नरबहादुर धामी निर्वाचित भएका थिए । उनले ३३ हजार २२० मत पाउँदा कांग्रेसका एनपी साउदले २४ हजार ८९३ मत पाएका थिए । यहाँ स्थानीय निर्वाचनमा २२ हजार ३७९ मत प्राप्त गरी कांग्रेस पहिलो भएको छ । यस्तै एमालेको १८ हजार ८२८, माओवादीको १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको ४ हजार १६१ र राप्रपाको ३ हजार ९५३ मत छ । कञ्चनपुर–२ का स्थानीय तहमा नाउपाले उम्मेदवार उठाएको थिएन । थारुहरुको निर्णायक मत रहेको कञ्चनपुर–२ मा पछिल्लो समय माहोल बन्दै गएको नाउपाका नेताहरुको दाबी छ । नाउपा आगामी निर्वाचनमा बर्दियामा पनि ‘इन्ट्री’ मार्ने तयारीमा छ । नाउपाका मुख्य नेता रेशम जेलबाटै बर्दिया–२ मा उम्मेदवार बन्ने चर्चा छ । यद्यपि जन्मकैद सजाय भोगिरहेका रेशमले चुनाव लड्न पाउने–नपाउने टुङ्गो छैन । ०७४ मा बर्दिया–२ मा वाम गठबन्धनबाट माओवादीका सन्त कुमार थारु निर्वाचित भएका थिए । उनले ५० हजार ५५५ मत पाएका थिए भने कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत ल्याएका थिए । यो क्षेत्र अन्तर्गतको पालिकामा गत स्थानीय निर्वाचनमा भने ३८ हजार ३५२ मत प्राप्त गरी कांग्रेस पहिलो बनेको छ । यस्तै माओवादीले ३० हजार ७९८, एमालेले २३ हजार ३२०, राप्रपाले १५ सय २, एकीकृत समाजवादीले ७२८ र जसपाले २३४ मत पाएको छ । यहाँ गठबन्धनको भारी मत छ । यता बर्दिया–१ मा पनि चुनाव जित्ने रेशमको दाबी छ । यहाँ ०७४ को निर्वाचनमा कांग्रेसका सञ्जय गौतमले वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई पराजित गरेका थिए ।  सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा बामदेवले ४४ हजार ७६ मत पाएका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्र अन्तर्गतको पालिकामा एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादी २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपा २ हजार २३७, एकीकृत समाजवादीको १ हजार ६५२, लोसपाको १५६ मत आएको थियो । बर्दियामा जनमत पार्टीको ३ हजार ४८२ र नाउपाको २ हजार १०२ मत मात्र छ । ५ हजार ५८४ मतको आधारमा बर्दियाका दुवै क्षेत्रमा नाउपाले चुनाव जित्ने रेशमको दाबी अस्वाभाविक देखिन्छ । तर उनी दाङ–१ मा पनि चुनाव जित्ने दाबी गर्छन् । ०७४ मा सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी विजयी भएका थिए । उनले ३७ हजार ९०८ मत पाउँदा कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् । त्यो बेला यहाँ राष्ट्रिय जनमोर्चाले ३ हजार ७८४ मत पाएको थियो । स्थानीय निर्वाचनमा दाङ–१ मा कांग्रेस २९ हजार ७५७ मत ल्याएर पहिलो बनेको छ । यस्तै एमाले २७ हजार २५, माओवादीले १९ हजार २७६, राप्रपाले २ हजार ३५०, एकीकृत समाजवादीले २ हजार ३४१ र जसपाले ८०७ मत ल्याएको छ । यहाँ नाउपाले स्थानीय निर्वाचनमा उम्मेदवार उठाएको थिएन । यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले टिकट पाउँदा आफू जित्न सक्ने नाउपाको बुझाइ छ । उसले कांग्रेस र थारु समूदायभित्र खेलेर चुनाव जित्ने रणनीति बनाएको छ । नाउपाले दाङ–१ मा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीका बुबा राजेन्द्रप्रसाद चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । गठबन्धनबाट कांग्रेसका योगेन्द्रले टिकट नपाउँदा उनका बुबालाई नाउपाले टिकट दिँदा चुनाव जित्न सकिने रेशमको विश्लेषण छ । पछिल्लो समय कांग्रेससँग असन्तुष्ट पार्वती डिसी चौधरीसँग पनि नाउपाले सम्पर्क बढाएको छ । उनलाई समानुपातिकमा राखेर पार्टीमा भित्र्याउने नाउपाको रणनीति छ । यद्यपि पार्वतीसँग यस विषयमा ठोस कुराकानी भइनसकेको नाउपा स्रोत बनाउँछ । रेशमले रातोपाटीसँग भने, ‘अहिले हामीले अधिकारको मुद्दा उठाएर चुनाव जित्ने हो । हामी सिधा सिधै प्रत्यक्षतर्फ ८ सिट जित्छौं ।’रातोपाटीबाट

थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

१५३१ दिन अगाडि

|

३ भदौ २०७९

कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पूजिने उनी एक मात्र देउता हुन् ।  अस्टिम्कि अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ । यसमा कान्हा महिमामात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ । सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ । भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ । अस्टिम्कि काव्यमा पनि सृष्टिको वर्णन पाइन्छ ।      पहिले टे सिरिजल जलडल ढरटि     सिरिजे टे गइल हो कुस कइ डाभ ।  अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही विरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो ।  जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अस्टिम्किमा चित्रित हुन्छ । थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अस्टिम्कि काव्य तथा अस्टिम्कि कलाको अन्य विशेषता वर्णन गरिन्छ ।  अस्टिम्कि काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन वन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इसरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ ।  यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ । उनले बिहानको खाना (कलवा) बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जासुले बनाएको भोजनबारे त्यसको वर्णन छ । रोपाइँको बेला खेतमै खाजा खानु थारूहरूको दिनचर्या हो । ढकियामा खाना राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन् ।  जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुति सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अस्टिम्किमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन् ।  यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू सुरूमा भेडा बाख्रा चराउन जान्छन् । अस्टिम्कि काव्यमा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ ।  कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या (युवती) हरू झन मोहित नहुने कुरै भएन । कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्–  बसिया र सुननु हो सासु, सुनटि सुहावन रि बसिया बजुइया भैया कौन रूप बा । अर्थात्, ए सासु बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन् । श्रीमद्भागवतमा राधा केवल कृष्णको प्रेमिकाको रुपमा चित्रित छिन् । तर  अस्टिम्कि काव्यमा राधालाई विवाहित देखाइएको छ । त्यसैले राधाले सासुसँग बाँसुरीको धुन सुनु सुनु लाग्ने रहेको धक नमानी भनेकी छिन् ।  अस्टिम्कि कला कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अस्टिम्कि कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिइएको हुन्छ । अस्टिम्कि कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ । अस्टिम्कि कला घरको बहरी (पिढी) मा रहेको उत्तरपट्टिको भित्तामा बनाइन्छ । चित्र बनाउनुभन्दा पहिले मूल घेरा बनाइन्छ । केहीले मूल घेरालाई सर्प आकार दिएका हुन्छन् । मूल घेराभित्र तीन कोठा छुट्याइन्छ । यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई छ । ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, छाता ओढेको आदि हुन्छ । त्यसको दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ ।   बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएझै बन्दुक बोकेको पुरुषाकृति हुन्छ, जसलाई कौरवको प्रतिनिधित्व मानिन्छ । सोही लहरमा रहेकी महिला आकृति द्रौपदीको रहेको भनिन्छ । केहीले यो महिला आकृति कृष्णका सोह्र सय गोपिनीहरुको प्रतीक पनि भन्ने गरेका छन् । किनकि केही चित्रमा बीचको कोठामा पुरुषाकृति नभई महिला आकृति मात्रै पनि हुन्छ ।     सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा सबैभन्दा तल चारकुने आकारमा छुट्टै वनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ । कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अस्टिम्कि काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ । अस्टिम्कि चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ ।  सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे । त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतिकको रूपमा कमलको पात अस्टिम्कि चित्रमा बनाइन्छ । बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अस्टिम्कि कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ ।  हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ । बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइदैन । बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाई छ । लेखक छविलाल कोपिलाको विचारमा कृष्णको जीवनमा आधारित अस्टिम्किमा खलपात्रको रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ ।  यीबाहेक डुङ्गा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अस्टिम्कि कलामा देख्न पाइन्छ । डुङ्गा शयर प्रेमलाई उत्कर्षमा पु¥याउने साधनको रूपमा मानिन्छ । अस्टिम्कि काव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरिका राधाले नै बताएकी छिन्  । तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन् । यसरी कान्हाले राधासंगको प्रेम बिटुल्याएका छन् ।      अस्टिम्कि काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ता गुर्वावाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । अस्टिम्कि चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ । कान्हाका पिता इसरु यही रैनी माछाको पिठ्युँमा चढेर हलोको लागि काठ काट्न गएका छन्  । इसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अस्टिम्कि चित्रमा माछाले स्थान पाएको छ । त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाको वीचमा अपूर्ण मानव आकृति वनाइएको हुन्छ, जसलाई बासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ । राती भाले बासेपछि अस्टिम्कि पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ले अरुकै बारीबाट चोरेर ल्याएको चिचिण्डो पूजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन् । आठौं सन्तानको रूपमा जन्मेका कृष्णलाई मामा कंसले पुनः मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म पु¥याउन प्रयोग गरिएको भन्ने कथन पनि छ ।      अस्टिम्कि काव्यमा सृष्टिको सिर्जनापछि इसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन्  । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको विम्वको रूपमा हलो जोत्दै गरेको हलीले अस्टिम्कि चित्रमा स्थान पाएको छ ।          समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अस्टिम्किमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ । अस्टिम्कि काव्यमा भालेको सन्दर्भ समय सूचकको रूपमा आएको छ ।  भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,  उठो पुटा बार कान्हा बछरु न छोर  अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।      अस्टिम्कि चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ । काव्यमा काली नागको फुफकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधीमूलो गरी ठीक पारेको छ ।  मूल चित्रबाहेक अर्को छुट्की अस्टिम्कि चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अस्टिम्कि चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ ।  २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अस्टिम्कि कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ । यसले यो चित्र बनाउने परम्परा घर घरमा छिर्न थालेको छ ।  अस्टिम्कि अस्रैना निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरु बेलुकी अस्टिम्कि चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको पूmल सिउँरेका हुन्छन् ।  त्यस्तै, निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् ।  ाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिट्टे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ ।  पूजा गर्दा युवतीहरुको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरुले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरु तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी  दिनुपर्छ । विहान नजिकको खोला, नदीमा अस्टिम्किको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरु भेला हुन्छन् । उनीहरुको सामूहिक स्नानले राधा आफ्ना सखीहरुसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरुको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरु कान्हा जस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरु ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अस्टिम्कि लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ । कान्हा पूजा कहिलेदेखि ? १४५० ईस्वीतिर भारतीय महाद्वीपमा कान्हा चरित्र चित्रण आरम्भ भएको मानिन्छ । पन्द्रौ शताव्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापक रूप लियो । त्यसैको  प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो । कालान्तरमा कान्हा पूजन राजदरबार, ठूल्ठूला सामन्तका हवेलीहरूमा सीमित रह्यो । थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूको घरमा हालसम्म यथावत् छ (थारू, २०७०ः ६१) । प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अस्टिम्कि काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् । यसरी कृष्णगाथा सम्बन्धमा अस्टिम्कि काव्य र श्रीमद्भागवतका महाकाव्यको तुलनात्मक अध्ययन हुनु जरुरी देखिन्छ ।      

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

१५३१ दिन अगाडि

|

३ भदौ २०७९

धनगढी  रोपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–८ पूर्व टेढीका गंगाराम चौधरी जाल बुन्नमा ब्यस्त छन् । पुख्र्यौली सीपमा आधारित हस्तकलाका सामग्री बनाउन औधी रुचि राख्ने उनी अचेल माछा मार्न प्रयोग गरिने जाल बुन्न ब्यस्त छन् । उनले भने, ‘मलाई जाल बुन्न खुब शौक लाग्छ । फुर्सद हुने बित्तिकै जाल बुन्न सुरु गरिहाल्छु । माछा मार्ने सबै सामग्री आफै तयार गर्न सक्छु । घर नजिकै कटैनी नदी रहेकोले पनि माछा मारेर खाने पनि मेरो रुचीकर काम हो ।’ गंगाराम आफ्नै हातले माछा मार्न प्रयोग हुने जाल मात्रै होइन, हेल्का, टापी, जबिया लगायत सामग्री पनि बुन्ने गरेका छन् । उता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी प्रेमकुमारी चौधरी फुर्सदको समय ढकिया बुन्नमा ब्यातित गर्छिन् । स्थानीय हमार बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी सहायक व्यवस्थापक समेत रहेकी उनी कार्यालयको कामबाट खाली हुने बित्तिकै ढकिया बुन्नमा लाग्छिन् । ‘ढकिया बुन्नु मेरो रुचिको कार्य हो । घरायसी प्रयोजनको लागि चाहिने ढकिया म आफै तयार गर्छु’, उनले सुनाइन् । आफ्नो कार्यालयमै ढकिया बुन्दै आएकी उनी विभिन्न पनुवादार (बुट्टादार) ढकिया बुन्दै आएको बताउँछिन् । यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तुु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौंदेखि प्रचलनमा रहेको ज्ञान, सीपको सदुपयोग गर्दै उनीहरु विभिन्न उपकरण बनाउन लागेका हुन् ।  यतिमात्रै होइन, दशैं, तिहार जस्ता चाडपर्वनजिकै गर्दा पर्वमाचाहिने वस्तुहरु जोहो गर्न पनि उनीहरु लागी परेका हुन् । बेनौलीकै स्थानीय विफनी थरुनी नजिकिदै गरेको अट्वारी, दशैं, दीपावलीलगायत पर्वमा चाहिने दुना, टपरी बुन्नव्यस्त छिन् । बेनौलीकै विपती थरुनी (६१) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीहरुको विवाहमा सगुनको रुपमा प्रदान गरिेने डेलुवा बुन्नमा उनी फुर्सदको सदुपयोग गर्छिन् । ‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौ’, अर्की गृहिणी वनस्पतिथारुले भनिन् । जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु  जातिमा प्रायःविवाह, औपचारिक कार्यक्रममा सजावट तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । जुन बुन्ने सीपसँगै दक्षता उत्तिकै जरुरी रहने बताइन्छ । बेनौलीकै सुझावन डंगौरा थारु (६६) आजभोलि ढह्रिया बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उदेश्यले ढह्रिया बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नु भन्दा त घरमा बसेर हरचाली गर्नु नै जाती भएको बताउँछन् । सुझावन भन्छन्–‘पुुरानो ज्ञान सीपको फाइदै फाइदा छ । ढह्रियामा दिनहुँ सजिलै माछा फस्ने हुनाले प्रत्येक दिनको खान्कीमा माछा नै हुन्छ हाम्रो । बढी भएको माछाको पक्ली (सिद्रा) बनाउँछौ,जुनचाड पर्वमा विशेष परिकारको रुपमा रहन्छ ।’ थारु जातिमा ढह्रिया बनाउने हस्तकला प्रविधि पुस्तौंदेखि चल्दै आएको मौलिक माछा मार्ने प्रविधि हो ।    ग्रामीण वस्तीहरुमा ढकिया, डेलुवा, ढह्रिया, जालमात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा पार्ने प्रविधिका साथै खटिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, वस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायतबुन्ने कामहुँदै आएको देख्न पाइन्छ । घरायसी प्रयोजनमा आउने ती वस्तु फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन्, जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै किफायती हुने बताइन्छ । तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सीप विस्तारै लोप हुँदै गएको छ । समयअनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सीप लोप हुँदै गएको थारु संस्कृतिविद अशोक थारु बताउँछन् । ती सामग्री बनाउने ज्ञान र सीप जोगाएर व्यावसायिक बनाउन सके संरक्षणका साथै आयआर्जन समेत गर्न सकिने संस्कृतिविद थारु औल्याउँछन् ।  

मुक्त कमलरीलाई हेरेन संघीय सरकारले, स्थानीय सरकारले मलहम लगाउँदै

मुक्त कमलरीलाई हेरेन संघीय सरकारले, स्थानीय सरकारले मलहम लगाउँदै

१५३५ दिन अगाडि

|

३० साउन २०७९

सोमबार मुक्त  कमलरी विकास मञ्च, दाङको आयोजनामा दुइ दर्जन मुक्त कमलरीहरु रिपोर्टस क्लबको कार्यकक्षमा बिहानै भेला भएका थिए । पत्रकारहरु समक्ष आफ्नो समस्याको पोको खोल्न आतुर थिए उनीहरु । तर पत्रकारहरु अपवादको रुपमा मात्र उपस्थित थिए ।  यसपालीको काठमाडौं बसाइँमा मुक्त  कमलरीहरु प्रधानमन्त्री शेरबहादुर देउवा तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सामु दुःखको भारी बिसाए । तर यो भारी कति पटक, कहिलेसम्म बिसाउनु पर्ने हो, उनीहरु अनभिज्ञ छन् । करिब एक दशकअघि २०७० जेठ २४ मा कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समिति र सरकारबीच १० बुँदे सम्झौता भएको थियो । सोहीअनुसार दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा व्याप्त कमलरी प्रथालाई अबैध भन्दै २०७० असार १३ मा सरकारले कमलरी मुक्त घोषणा गरेको थियो । २०७० असारमा कमलरी मुक्त घोषणा गरिए पनि मुक्त कमलरीका लागि शिक्षा निर्देशिका २०६८ मै जारी भएको थियो । सोहीअनुसार प्रावि तहमा १५ सय, मावि तहमा १८ सय, प्लस टु तहमा ५ हजार र स्नातक तहमा १० हजार छात्रावृत्तिको व्यवस्था गरिएको थियो । त्यस्तै छात्रावासमा बस्ने मुक्त कमलरीलाई खाना खर्चवापत ४ हजार रकमको व्यवस्था शिक्षा मन्त्रालयबाट गरिएको थियो । माथि चर्चा गरिएको छात्रावृत्ति तथा खाना खर्चवापतको रकम कोरोना कालपछि मुक्त कमलरीहरुले पाएका छैनन् । त्यसैले, पढाइ सुचारु गर्न हम्मे हम्मे छ । पत्रकार सम्मेलनमा मुक्त  कमलरी विकास मञ्चकी पूर्व अध्यक्ष तथा मुक्त कमलरीहरुको सहकारी सञ्जालकी संयोजक मन्जिता चौधरीले भनिन्, ‘प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रीसँग यसबारे कुरा गर्ने बताउनु भयो । उता शिक्षा मन्त्री पौडेलले स्नातक सम्मको छात्रबृत्ति युजीसीले हेर्ने भएकाले आफूहरुबीच मिसकम्युनिकेसन भएको तर छिटै समस्या समाधान गरिने आश्वासन दिनु भयो ।’  दाङदेउखुरीको लावाजुनी छात्रावास नर्तिमा ३६ जना मुक्त कमलरी छन् । त्यही बस्ने स्नातक अध्ययनरत आशा चौधरीले भनिन्,‘हाम्रो नाममा कुनै रकम निकासा नहुँदा छात्रावास व्यवस्थापनले छात्रावास छोड्न दवाव दिएको छ । परीक्षाको बेला टेन्सन लिनु पर्दा परीक्षा बिग्रिने चिन्ता हुन्छ ।’ धेरैले क्याम्पस व्यवस्थापनसँग छात्रबृत्ति आए दिने शर्तमा उधारोमा भर्ना भएका छन् ।  मन्जिता चौधरीका अनुसार  लावाजुनी छात्रावासमा ३६ जना बसे पनि १७ जनाको मात्रै खाना खर्चको व्यवस्थापन भएकाले कमलरीहरु एक छाक मात्रै खानुपर्ने अवस्था सिर्जना भएको छ । त्यो पनि स्थानीय पालिकाहरुले बेहोरका छन् । लावाजुनी छात्रावास रहेको क्षेत्रका वडाध्यक्ष नेपालु चौधरीले आफ्नो लमही नगरपालिका अन्तर्गतका ८ जना मुक्त कमलरी विद्यार्थीको ४ हजारको दरले खाना खर्च मासिक ३२ हजार बेहोर्ने आश्वासन दिएका छन् । आशा चौधरीको घर तुलसीपुर उपमहानगरपालिका–१७ हो । आफूले उपमहानगरपालिकाको उपमेयर स्यानी चौधरीसँग पटक पटक कुरा राखे पनि खाना व्यवस्थापनबारे कुनै आश्वासन पाउन नसकेको दुःखेसो पोखिन् । उनले भनिन्, साथीहरुले गाँस काटेर ख्वाइराखेका छन् । यसरी कति दिनसम्म चल्ला र ? कोरोना कालमा सरसापटी गरेर खाना ख्वाएको ३ लाख ऋण लागेको छ । लमही नगरपालिकाले त्यो पनि तिरिदिने आश्वासन दिएकोमा हालसम्म कार्यान्वयन नभएको तर आफूहरु आशावादी रहेको मन्जिता चौधरीले बताइन् ।  मुक्त कमलरीहरुले छात्राबृत्ति, होस्टल खर्च तथा मुक्त कमलरी परिचयपत्रको माग अघि सारेका छन् । दाङमा दुइ,  कैलालीमा दुइ र कन्चनपुरमा एकवटा छात्रावासमा गरी हाल १६६ जना मुक्त कमलरीहरु बसिरहेका छन् ।  मुक्त कमलरी विकास मञ्चका अनुसार हाल जम्मा मुक्त कमलरीको संख्या १२ हजार ७६९ रहेको छ । तर सरकारी तथ्याङ्कअनुसार मुक्त कमलरीको संख्या ९ हजार मात्रै छ । ३ हजार ७६९ मुक्त कमलरीहरु छुट रहेकोमा हालसम्म ४ हजार ९३४ जनाले मात्रै कमलरी परिचयपत्र पाएका छन् ।  मुक्त कमलरीहरु सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने कार्यक्रम रहे पनि भेट पाएनन् । सोमबार बेलुकी नै उनीहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई समस्या सुनाउन काठमाडौंबाट बुटवल फर्किएका छन् ।  

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

१५३८ दिन अगाडि

|

२७ साउन २०७९

काठमाडौँ, २७ साउन । नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०, महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी भए ।  कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी भए । छलफलमा उक्त सभाले सरकारसँग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित आजको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिए ।   

जेलबाटै रेशम चौधरीको चुनावी तयारी, उम्मेदवार बन्न पाउलान् ?

जेलबाटै रेशम चौधरीको चुनावी तयारी, उम्मेदवार बन्न पाउलान् ?

१५४० दिन अगाडि

|

२६ साउन २०७९

उन्‍नती चौधरी ===== टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरे पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले निलम्वित सांसद रेशम चौधरी कारागारबाटै प्रतिनिधि सभा सदस्यमा पुनः उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ। देशभर सबै दल र नेता तयारीमा जुट्न थालेका छन्। पश्चिम तराईमा भने निलम्वित सांसद रेशम चौधरी चर्चामा छन्। २०७२ भदाै ७ मा भएको टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका छन्। उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। कारागारबाटै चुनावी तयारी थालेपछि उनी चर्चाको विषय बनेकाे हाे। २०७४ सालको निर्वाचनमा उनी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। भूमिगत रुपमै चुनाव जितेका उनी यस पटक भने नागरिक उन्मुक्ति पार्टीमार्फत कारागारबाटै तयारीमा जुटेका हुन्। उन्मुक्ति पार्टीको नेतृत्व चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले गरेकी छन्। अध्यक्ष श्रेष्ठसँगै नेता तथा कार्यकर्तालाई चौधरीले कारागारबाटै निर्देशन दिने गरेको एक नेताले बताए। “स्थानीय तहको निर्वाचनमा जित हासिल गरेपछि उत्साहित भएका छौं,” ति नेताले भने, “स्थानीय चुनाव पनि रेशमकै योजना अनुसार लडेका थियौं, अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि रेशमकै योजनामा तयारी गरिरहेका छौं।” गत वैशाखकाे स्थानीय निर्वाचनमा कैलाली १, २ र ३ का पालिकाहरूमा उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। टीकापुर र भजनी नगरपालिकाको मेयर तथा जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्षमा जितेको छ। यो क्षेत्रका १४ वटा वडाध्यक्ष पनि उन्मुक्ति पार्टीले जितेको छ। “कैलालीका १, २ र ३ नम्बर क्षेत्रमा उनमुक्ति पार्टीले ठूला दललाई चुनौति दिने देखिन्छ,” विश्लेषक दिलबहादुर चौधरी भन्छन्। टीकापुर घटनापछि यी क्षेत्रका बासिन्दा रेशम चौधरीप्रति सद्भाव राख्न थालेको उनको भनाइ छ। पाँच वर्षअघि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मदवारलाई झन्डै २१ हजार मतान्तरले पराजित गर्दै चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए। उनले ३४ हजार ३४१ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट नेकपा (एमाले) उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मत प्राप्त गरेकी थिइन्। चुनाव जिते पनि उनले संसद् भवनमा प्रवेश पाएनन्। २०७४ फागुन १४ गते अदालतमा आत्मसमर्पण गरे। जेलमै रहँदा २०७५ पुस १९ गते संसद्को शपथ त लिए र सांसदको लोगो लगाएर फेरि कारागार नै फर्किए। टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको सजाय सुनायो। उनी उच्च अदालत गए। उच्च अदालतले दिपायलले पनि २०७७ पुस २ गते जिल्लाकै फैसला सदर गर्यो। यस पटक भने कैलाली १ मा उनको ठाउँमा उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छन्। यसका लागि उनी केही समयदेखि निर्वाचन क्षेत्रमै खटिएकी छन्। त्यस्तै, कैलाली २ मा अरुण चौधरी चर्चामा छन्। उनी कांग्रेस छोडेर असार २९ गते उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। कैलाली ५ बाट लक्ष्मण थारुलाई उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको तयारी छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक थारु असारमा मात्रै उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। लक्ष्मणलाई पनि टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो। उनले पनि यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्। यतिवेला भने उनी भूमिगत भएर तयारीमा जुटिरहेका छन्। उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कैलालीसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उम्मेदवारी दिने गरी तयारी भइरहेको बताए। स्थानीय चुनावले उत्साहित बनाएको बताउँदै पण्डित भन्छन्, “कैलालीको १, २, ३ र ४ मा हामी बलियो छौं, क्षेत्र नम्बर ५ मा भने अलि बढि नै मेहनत गर्नुपर्ने देखिन्छ।” प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि उम्मेदवारी दिने उनी बताउँछन्। “प्रदेश सरकार बनाउने योजना सहित तयारीमा जुटेका छौं,” उनी भन्छन्, “हामीले प्रदेश सरकार बनाउने सम्भावना पनि देखिएको छ।” सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ क्षेत्र छन्। जसमध्ये १० क्षेत्र कैलालीमा र ६ क्षेत्र कञ्चनपुरमा छन्। मतदाता पनि यी दुई जिल्लामै बढी भएकाले सामानुपातिक तर्फ पनि राम्रो सीट आउने उन्मुक्ति पार्टीको आँकलन छ। बर्दियाबाट चुनाव लड्ने रेशमको तयारी कैलाली १ बाट श्रीमतीलाई उम्मेदवार बनाएर आफू बर्दिया २ बाट उम्मेदवार बन्ने चौधरीको तयारी छ। २०७४ को निर्वाचनमा बर्दिया २ बाट नेकपा (माओवादी केन्द्र)का सन्तलाल थारु निर्वाचित भएका थिए। उनले ५० हजार ५५५ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका थिए। चौधरीसँगै टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका लक्ष्मण थारु कैलाली ५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। दुवै जनाले सर्वोच्च अदालत गुहारेका छन्। यस्तो वेला के उनीहरू उम्मेदवार बन्न पाउँछन्? अधिवक्ता शंकर लिम्बू दुवै जना चुनाव लड्न पाउने बताउँछन्। “टीकापुर घटनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। सर्वोच्चबाट फैसला नभएसम्म उनीहरूलाई दोषी ठहर भएको मानिँदैन,” अधिवक्ता लिम्बू भन्छन्, “त्यसैले उनीहरू आम नागरिक झै चुनावमा भाग लिन पाउने कानूनी प्रावधान छ।” via. himalkhabar.com