Above News Title

हुलाकी राजमार्ग निर्माण अलपत्र पार्ने ठेकेदारलाई सरकारबाटै ‘पाँचौं पटक पुरस्कार’ !

हुलाकी राजमार्ग निर्माण अलपत्र पार्ने ठेकेदारलाई सरकारबाटै ‘पाँचौं पटक पुरस्कार’ !

धनगढी : निर्माण व्यवसायीको चरम लापरवाहीले कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ ।

तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो । ६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर पाँच पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन नसकेको हो ।

यसरी ३० महिनामै सक्नुपर्ने काम ६५ महिना बितिसक्दा पनि निर्माण कम्पनीको लापरवाहीले पूरा हुन नसकेको हो । २०७३ फागुनमा निर्माण कम्पनी बाबाहंस सिद्धिकी शाही र शर्मा राजेन्द्र जेभीले हुलाकी राजमार्ग आयोजना कार्यालयसँग ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने गरी सम्झौता गरेका थिए । तर, सम्झौता भन्दा दोब्बर समयावधि गुज्रिँदा पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन ।

कसको म्याद कहिले–कहिले थपियो ?

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले चार पटकको म्याद सकिएर पाँचौं पटक म्याद थप भएको जनाए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिइएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंस सिद्धिकीले पाएको थियो ।

कैलाली सदरमुकाम धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जोड्ने उद्देश्यले कञ्चनपुरको डोकेबजारदेखि पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग कालोपत्रेका क्रममा कम्पनीले विभिन्न बहाना बनाउँदै अलमल गरिरहेका छन् ।

सूचना अधिकारी मडैका अनुसार डोकेबजारदेखि बेलौरीसम्म पहिलो खण्ड ०–२० किलोमिटर र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्डको ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएको थियो ।

हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीबीच २०७३ फागुन १ गतेदेखि २०७५ भदौ ३० गतेसम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको हो । तर, सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक २०७६ चैत ३० गतेसम्म म्याद थपियो । उक्त अवधिमा समेत काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ साउन ४ गतेसम्म, तेस्रो पटक २०७७ माघ २ गतेसम्म र चौथो पटक २०७८ चैत ३० गतेसम्म थपिएको हो ।

थपिएका चारै पटकको समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाँचौं पटक म्याद थपका लागि फाइल पेस गरेको थियो । तर पटकपटक म्याद थपका बाबजुद काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई नै पुरस्कृत गरेजसरी सरकारले पाँचौंं पटक म्याद थप गरेको छ ।

मन्त्रिपरिषदको निर्णयले ती निर्माण कम्पनीलाई २०८० असार मसान्तसम्मका लागि म्याद थप गरेको आयोजना कार्यालयका सूचना अधिकारी मडैले जानकारी दिए ।

अहिलेसम्म पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशतमात्रै प्रगति भएको जनाइएको छ । दोस्रो खण्डको बाबाहंस सिद्धिकी शाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएकोमा ३० महिनामा पनि काम गर्न नसकेपछि हाल पाँचौं पटक म्याद थप गरिएको छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना गुजारिसकेको छ ।

बाबाहंस सिद्धिकीशाहीले सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक २०७७ वैशाख १२ गतेसम्म, दोस्रो पटक २०७७ मंसिर ७ गतेसम्म, तेस्रो पटक २०७८ जेठ ७ गतेसम्म र चौथो पटक २०७८ माघ १ गतेसम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाँचौं पटक म्याद थप भएको हो । हाल उक्त खण्डको प्रगति ७५ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

पहुँचवाला ठेकेदार

कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशतमात्रै प्रगति भएको बताइएको छ । गत असारमा चार–चार पटकको म्याद थप गर्दा समेत समयमै काम गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनीविरुद्ध सूचना नै प्रकाशित गरेको थियो । तर शक्ति केन्द्र नजिकका ती ठेकेदारहरुको अगाडि आयोजना कार्यालय निरीह देखिएको छ ।

शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउद नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति एवं परशुराम नगरपालिकाका निर्वतमान मेयर हुन् । बाबाहंस सिद्धिकी शाहीका सञ्चालक दीपेन्द्र बहादुर शाही नेपाली कांग्रेस डोल्पा जिल्ला सभापति हुन् ।

हुलाकी सडक निर्माणमा चरम लापरवाही हुन थालेपछि बेलडाँडीका स्थानीयवासी समेत रहेका एमाले प्रचार प्रसार विभाग केन्द्रीय सदस्य रोशन खड्का नेतृत्वको टोलीले शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउदलाई भेटेर शीघ्र कालोपत्रे गर्न दबाब दिएका थिए । खड्काको टोलीसँग ठेकेदार साउदले वर्षा सकिए लगत्तै काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कञ्चनपुर र कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयको दैनिकीमा सहजता आउने छ । यो सडक निर्माणले कैलाली र कञ्चनपुरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् ।

स्थानीयलाई सास्ती

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनता वर्षौंदेखि कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका–९, रतनपुरका परमानन्द जोशीले दूरगामी योजना नहुँदा वर्षाका बेला डुबान, हिलाम्य र सुक्खायाममा धुलाम्मे सडकले स्थानीयलाई समस्या हुने गरेको बताए ।

बेलडाँडी गाउँपालिका–१, सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लापरवाहीले निर्माण कम्पनीले बेवास्ता गर्ने गरेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गर्दैन । काम नगरे पनि कारवाही कहिल्यै गरेको सुनिन्न’, उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’

पुनर्वास नगरपालिका–२ मोतीबस्तीका लालबहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासुस्ती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिँडडुल गर्न समस्या भएको दुखेसो सुनाए । निर्माण कम्पनीले सम्झौता गरेको ६५ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रिदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किँदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभेलिङ्ग थुपारेर अलपत्र पारेको छ ।

ठेकेदारका बहाना

बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोभिडका कारण काममा ढिलाइ भइरहेको बताए । भारतीय पक्षले सो क्षेत्रको १२ सय मिटरमा मात्रै अवरोध गरे पनि बाँकी १८ किलोमिटरमा अवरोध छैन ।

शर्माजेभी निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्यादभित्रै काम नसकिएको दाबी गरे । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक वर्ष काममा अवरोध गरिदिएको थियो । बेलडाँडी क्षेत्रको ४ सय मिटर सिंचाईको जमिन विवाद, कोभिडका कारण काम गर्न नसकेको उनको जिकिर छ ।

‘वर्षा रोकिए लगत्तै काम गर्छौं’, उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्नमात्रै बाँकी हो ।’ तर आयोजना कार्यालयले निर्माण कार्यमा हाल कुनै अवरोध नरहेको स्पष्ट पारेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कूल १ अर्ब १७ करोड लागत छ । सम्झौताको ५० प्रतिशतभन्दा बढी रकम भुक्तानी भइसकेको आयोजना कार्यालयले जनाएको छ । 

प्रकाशित:

१४०५ दिन अगाडि

|

९ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९