टीकापुर विद्रोहलाई अपराधीकरण गरियोः खगेन्द्र संग्रौला
२६४ दिन अगाडि
|
२३ कात्तिक २०८२
लेखक खगेन्द्र संग्रौलाले माओवादी जनयुद्धमा सबैभन्दा बढी थारु, दलित र मधेशी समुदायबाट बलिदान भएको बताउनु भएको छ ।
थारु नागरिक अभियानले कार्तिक २२ गते शिल्पी थियटर, काठमाडौमा आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ विषयक् संवादका क्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।
टीकापुर विद्रोह र जेनजी विद्रोहमा केही समानता देखिएको भन्दै उहाँले केही सञ्चारकर्मीले यसलाई अपराधीकरण गरेको आरोप लगाउनुभयो । “सनातनी शासकहरुको गोटीका रुपमा आफूलाई प्रयोग गर्ने सञ्चारकर्मीहरुले यी दुवै विद्रोहलाई अपराधीकरण गरेका छन् । सबैलाई एकै डालोमा हालेर विश्लेषण भइरहेको छ ।”
पहाडबाट झरेका पहाडियाहरुले सबभन्दा पुरानो आदिवासी थारुहरुलाई उनीहरुकै आँगनमा किलामा बाँधेर बधुँवा बनाएको इतिहास खोतल्दै लेखक सङ्ग्रौलाले टीकापुर घटनालाई पनि अपराधीकरण गरिएको बताउनुभयो । “थारु विद्रोहीहरुले सिंहदरबारका शासकहरुको अनुहार ती पहाडीहरुमा देखेका थिए र विद्रोह उठ्यो । यो आन्दोलन सिंहदरबार विरुद्धको थियो, तर यसलाई त्यस तरिकाले हेरिएन । अपराधीकरण गरियो,” उहाँले भन्नुभयो, “कुनै पनि विद्रोहमा हिंसा नभई परिवर्तन आएको इतिहास छैन । तर हिंसा राम्रो होइन ।”
३५ वर्ष यता दलका शासनले समाजमा जे जति फोहोर बनाएको थियो, त्यसविरुद्ध जेनजीको विस्फोट भएको उहाँको भनाइ यियो । अन्तरिम सकारले जनेजीले उठाएका माग र एजेन्डा पूरा गर्न नसक्ने पनि उहाँले बताउनुभयो । “यो सरकारसँग त्यस्तो सामथ्र्य छैन, त्यो क्षेत्रात्रिकार पनि छैन,” उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा न्यायप्रेमी र उत्पीडितहरुको ऐक्यबद्धता भएन भने फेरि पनि पुरानै ठालुहरुको शासन र अत्याचार बेहोर्नु पर्नेछ ।”
संवादका क्रममा अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, सुमना श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, डा महेन्द्र लावती, रिजन राना मगरले पनि थारु लगायत आदिवासी जनजातिहरुलाई शासकबाट अधिकार दिन बञ्चित गरिएको धारणा राखिएको थियो । कार्यक्रमको सहजीकरण थारु नागरिक अभियानकी संयोजक इन्दु थारुले गर्नु भएको थियो ।