लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

२७१ दिन अगाडि

|

३० मंसिर २०८१

गाउँ हाँक्छन् थारू बरघर महिला

गाउँ हाँक्छन् थारू बरघर महिला

२७५ दिन अगाडि

|

२६ मंसिर २०८१

                                      कैलालीको घोडाघोडी मन्दिरमा सम्पन्न लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सफल बनाउन खटिएका महिला भलमन्सा । चाँदनी आचार्य कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता बरघर अर्थात् भलमन्साको काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् । थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमनसाको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमनसा छन् । तीमध्ये छ जना महिला भलमनसा रहेका छन् । १७ सदस्यीय नगर भलमनसा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमनसा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।  थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमनसाले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमनसा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमनसा समितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ ।  केही वर्षयता महिलाले भलमनसाको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमनसा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमनसासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताउनुभयो । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ ।  भलमनसा सीतावीले भन्नुभयो, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमनसा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्‍याएका हुन् । घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमनसा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी हुनुहुन्छ । इन्द्रादेवी भलमनसा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै काम पर्‍यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमनसाले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।” घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमनसाका रूपमा राजकुमारी चौधरी हुनुहुन्छ । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमनसा भएर काम गर्न थालेको पाँच वर्ष भयो ।  उहाँ भलमनसा भएपछि गाउँमा चिराकी पनि महिला नै हुनुहन्छ । गाउँमा पुरुष भलमनसाले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उहाँलाई भलमनसामा गाउँलेले रुचाएको गीता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमनसा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गर्नुभएको छ ।”  गोरखापत्रबाट 

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

२७७ दिन अगाडि

|

२४ मंसिर २०८१

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १८ औ वार्षिककोत्सव  तथा छैठो अधिवेशनबाट अध्यक्षमा निम बहादुर थापा चयन भएका छन् ।  मंसिर २२ गते शनिवार मञ्चको कार्यालय रातोडाँडामा भएको अधिवेशनबाट उपाध्यक्ष योगमाया शाही, सचिव बाल मुकुन्द शर्मा आचार्य, सहसचिव प्रेम जिसी, कोषाध्यक्ष दीपा खत्री, सदस्यहरुमा शशिधर ज्ञवाली, शिवहरि चौधरी, राधेश्याम गुप्ता, रविलाल आचार्य, केडी शर्मा चयन भएका छन् । एक सदस्य थप गर्न बाँकी छ ।  उक्त कार्यक्रममा  नेपाली साहित्यमा योगदान गरेबापत मञ्चबाट स्थापित अक्षय कोषबाट विभिन्न स्रस्टाहरुलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र  कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माबाट प्रदान गरिएको थियो । सम्मानित हुने स्रष्टामा विणा रोका ठागुरामपति साहित्य सम्मान, देउखुरी कतार साहित्य सम्मान शिवराज पन्थी, पोख्रेल पद्य साहित्य सम्मान मकुश पन्थी, जगतभिमा साहित्य सम्मान प्रदीपराज श्रेष्ठ, होतविष्णु साहित्य सम्मान पदमप्रसाद शर्मा, पाठक कला सङ्गीत सम्मान चन्द्रकला शाह, खिमानन्दकेशरा साहित्य सम्मान नरेशजंग राणा, रामरुपनी साहित्य सम्मान दीपक कुमार यादव, केदाररत्न साहित्य सम्मान गणेश विषमलाई प्रदान गरियो । त्यस्तै, देउखुरी बालप्रतिभा पुरस्कार प्रेजिना रावत क्षेत्री, अनिता सुन्दास, पुष्पा वस्नेत, समीर केसीलाई प्रदान गरियो । यसैगरी, योगदानमा आधारित  अग्रज सम्मान राजेन्द्रप्रसाद चौधरी (शिक्षा क्षेत्र), बामदेव पौडेल (समाजसेवा र साहित्य) लाई दिइयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष डा टीकाराम उदासी, उत्तमकृष्ण मजगैया लगायतले शुधकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव केशव शर्मा घिमिरेले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दीपा खत्रीले प्रस्तुत गरेकी थिइन् । मञ्का अध्यक्ष हरि  पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राधा गौतमको स्वागत तथा सचिव केशव शर्माले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न स्रस्टाहरुले रचना वाचन गरेका थिए । कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष हरि पोखरेलले एकै व्यक्तिले लामो समय नेतृत्व गरे नयाँ नेतृत्व तयार नहुने हुँदा आफूले करिब डेढ दशकको मञ्चको नेतृत्वको भारी बिसाएको बताए । उनले संस्थाको अन्य गतिविधिमा भने आफूलाई दिइएको जिम्मेवारीबाट पछि नहट्ने बताए । नवनिर्वाचित अध्यक्ष थापाले यस अघिको नेतृत्वभन्दा अधिक काम गर्न कोशिश गर्ने, नभए त्यो भन्दा कम नहुने प्रतिवद्धता व्यक्त गरे ।   

‘हमार कहानी’ चलचित्रको शुभ मुहुर्त सम्पन्न

‘हमार कहानी’ चलचित्रको शुभ मुहुर्त सम्पन्न

२८३ दिन अगाडि

|

१८ मंसिर २०८१

निर्देशक अनुप चौधरीको थारु भाषाको चलचित्र ‘हमार कहानी’ को शुभ मुहुर्त मंसिर १७ गते लमही–३, उत्तर मजगाउँस्थित शिव मन्दिरमा सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले उक्त चलचित्रको शुभ मुहुर्त गरेका हुन् ।  सानबी फिल्म प्रोडक्सन धनगढीको पहिलो प्रस्तुति रहेको चलचित्रमा कृष्ण चौधरीको कथा पटकथा तथा शब्द, संगीत रहेको छ । कृष्ण चौधरीले थारु भाषाको टुटल जिन्गी, भौंरा लगायत ६ वटा चलचित्र निर्देशन गरेका छन् ।  ‘हमार कहानी’ चलचित्र उनका छोरा अनुप चौधरीले निर्देशन गर्दैछन् । निर्देशक अनुपको यो डेब्यू निर्देशन हो ।  शुभ मुहुर्तको अवसरमा प्राज्ञसभा सदस्य डा सर्वहारीले भने, ‘थारु समुदायका कथा उजागर गर्ने चलचित्र सशक्त माध्यम हो । विडम्वना राम्रा कथाबस्तुमा चलचित्र बन्न सकेको छैन । हमार कहानीले कोशेढुंगा पार गरोस् ।’ निर्देशक कृष्णले आफ्ना छोरा अनुपलाई निर्देशनको बागडोर सम्हाल्न लगाएर पुस्ता हस्तान्तरण गरेकोमा उनले खुशी व्यक्त गरे । यसका मुख्य कलाकारमा पुष्कर अवस्थी, राजेश अनुरागी, श्याम चौधरी, मोहन बोहरा, प्रिज्मा ठकुराठी, रहेका छन् । त्यस्तै, अन्य कलाकारमा छविलाल कोपिला, दुर्गा साउद, सुरेन्द्र संगम ‘डोट्याल बड्डो’ रहेका छन् । ‘हमार कहानी’ चलचित्रको छायांकन दाङदेउखुरीको लमही, घोराही, तुलसीपुरलगायत विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नृत्य निर्देशन अनमोल विसी, छायांकन राजेश अनुरागी, सहछायांकन तुफान, मेकअप सुमन शंकरको रहेको छ ।  चलचित्रमा थारु समुदायको सामाजिक कथाबस्तुका साथै बोक्सी प्रथाको समस्यालाई उजागर गरिएको निर्देशक अनुप चौधरीले बताए ।     

सम्झनामा परशुनारायण चौधरी

सम्झनामा परशुनारायण चौधरी

२८७ दिन अगाडि

|

१४ मंसिर २०८१

                                                             देउखुरीको गोबरडिहास्थित परशुनारायण चौधरीको खण्डहर बन्दै गएको भवन । तस्विरः एसएन दहित । खगेन्द्र गिरि ‘कोपिला’  मंसिर ११ गते नेपाली राजनीतिक इतिहासका एक अविस्मरणीय व्यक्तित्व श्री परशुनारायण चौधरीको ९८ औं जन्म जयन्ती थियो । देउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भइहाले। उनी सानै उमेरमा कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुने व्यक्ति पनि हुन्। २००९ सालमै २५ वर्षको उमेरमा उनी कांग्रेसको केन्द्रिय सदस्य भैसकेका थिए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले। तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्‍यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"। अन्ततः वीपीले आफ्ना भाइ गिरिजालाई कांग्रेसको महामन्त्री बनाएर आफ्नो उतराधिकारीको रुपमा @highlight गरेपछि आफूभन्दा जुनियर मान्छेलाई आफूभन्दा सिनियर बनाएको घटना नै परशुनारायण चौधरीले कांग्रेस छाड्ने turning point बन्न पुग्यो। उनलाई पञ्चायत प्रवेश गर्न अभिप्रेरित गर्ने मुख्य व्यक्ति पनि उनै युवाकालका साथी भरतमणि शर्मा नै हुन्। अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"। २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा श्री ५ ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए।२०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा श्री चौधरीको देहान्त भएको थियो।  

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

२८८ दिन अगाडि

|

१३ मंसिर २०८१

छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८१ को मूल निर्णायक समूहका संयोजक साहित्यकार समालोचक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू साहित्यकार डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो । यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक  हुनुहुन्छ  । त्यस्तै मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहनुभएको छ । यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८१’ यही मंसिर १६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ । डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणका लागि गत भदौ ३१ गते कथा आह्वान गरिएकोमा देश÷विदेशबाट ९३७ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५२ वटा कथा छनोट गरी प्रा।डा। पाण्डेको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि उपलब्ध गराएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।  

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

२९६ दिन अगाडि

|

५ मंसिर २०८१

थारू कल्याणकारिणी सभा सामाजिक संस्था हो भन्नेहरु प्रशस्तै छन् । प्रश्न उठ्छः एउटा सामाजिक संस्था आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मानिएको महाधिवेशन एकताको सन्देश बाँड्ने नाममा के कारण होला कि आफ्नो स्वायत्तता गुमाउने अवस्थाबाट गुज्रियो । भैरहवामा यही मंसिर पहिलो साता भएको थाकसको २३औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको बिचबाट निर्णय नभई स्टार होटलका कोठाबाट भएको दिन देख्नु पर्यो ।  स्टार होटलका कोठाबाट भएको निर्णयलाई थारू एकताको सन्देश भन्ने मत स्वीकार गर्ने हो भने तीन सयभन्दा अधिक प्रतिनिधिहरु र २६ जिल्लाका सभापतिहरुले आफ्नो आफ्नो जिल्लाका थारूलाई हामी खुशी बाँड्न आयौं भनेर ढुक्क हुँदै भन्न सक्छन् त ? अहं उहाँहरु सक्नुहुन्न । किनकि उहाँहरु नङ्गा नाच हेरेर फर्किनुभएको छ । बन्धक बनेको पीडा अनि थोपरेका निर्णयको भारी बोकी आगामी तीन वर्ष गुजार्न विवश बनेका छन् ।  परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ? अर्थात् आन्तरिक लोकतन्त्रको अभ्यासलाई बन्ध्याकरण गर्न पछि नपर्ने अगुवाहरु यस संस्थामा आउने राजनीतिक दवाव झेल्नु पर्दा कुन हिम्मतले साथ समर्थन देलान् ? म दावा गर्छु कि तदर्थवादको शिकार थारू कल्याणकारिणी सभा यस पटक पनि भयो ।  परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ? थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन मंसिर ५ गते सम्पन्न भएको घोषणा भयो । सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यो प्रक्रियामा निर्वाचन समिति पनि सहज महसुस गरेको र निर्वाचनका सबै प्रक्रिया पुरा गरी आएको कारण निर्वाचित सबैलाई उत्तरोत्तर प्रगतिको कामनासहित सफल कार्यकालको लागि हार्दिक शुभेच्छा छ । थारू कल्याणकारिणी सभाले करिब आठ दशकभित्र २३ वटा महाधिवेशन सम्पन्न गर्नु परिपक्वताको ठूलो आश गर्नु अनुचित होइन । तर खासमा यो महाधिवेशनको समीक्षा हुने दिन ऐतिहासिक रुपमा सफल भएको घोषणा हुनेछ । देख्नेमें लगता है साला बाँस जैसा मगर अन्दर से है खोख्ला भने जस्तै आवरणमा एकताको सन्देश भट्याए पनि आन्तरिक रुपमा यसले स्वायत्तता गुमाएको छ र प्रतिरोधी क्षमतामा ह्रास आएको देख्न सकिन्छ ।   एकताको सन्देश दिन २३औं महाधिवेशनको आग्रह तय भएको जनाउ उदघाटन सत्रमा पूर्व अध्यक्ष नरेन्द्र चौधरी र विशेष अतिथि विजय गच्छदारको थियो । एकताको सन्देश भनेको उनीहरुको लागि केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित हुनुपर्ने तर्क गरियो । यही आदर्शलाई व्यवहारमा उतार्न उनीहरु ३० घण्टा निरन्तर दवावको भूमिका बनाइ रहे । यसले थाकस सम्बन्धमा उनीहरुको नियत प्रष्ट बुझिन्थ्यो । थारू आन्दोलनलाई उनीहरु करियर निर्माणको साधन बनाउन एकमत थिए र अन्ततः सोही लक्ष्य प्राप्त गर्न महाधिवेशन बन्धक बनेको यो प्रथम पटक पक्कै थिएन । प्रत्यक्ष हस्तक्षेप देख्न २३औं महाधिवेशन प्रयोग भयो र नवनिर्वाचित अध्यक्षलाई समेत चौवन्नी सदस्यता लिन बाध्य बनाइयो । त्यसैले भन्न सक्छौं कि पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका थारू एकै हौं र नीतिगत रुपमा अमुक पार्टीका बधुँवा मजदुर–कमैयाहरु । व्यक्तिगत रुपमा भन्नु पर्दा म यसपटक मिनराज चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्ष निर्वाचित हुनुपर्ने मिसनमा थिएँ । अरु विद्यार्थी कालमा रहेका साथीहरु शैलेन्द्र चौधरी तथा रमेश चौधरीसमेत यो मिसनलाई आत्मसात गर्न थालेका कारण जिल्लावासी उत्साहित थिए । जिल्ला सभापतिहरु पनि विमर्श गर्दै थिए र त्यसमा महत्वपूर्ण भूमिका चितवन तथा वर्दियाका सभापतिहरु खेल्दै हुनुहुन्थ्यो ।  अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला । यसका बावजूद अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला । मंगलबारको दिन थियो र संकट मोचनका लागि विजय दाइले जे निर्णय दिनुहुन्छ मान्छौं पनि  भन्ने अनि मेरो मतमा सहमति चाहिन्छ भन्ने दवाव पनि बढाइ राख्ने कामले असहज परिस्थिति भोग्न बाध्य उनले अन्ततः एउटा निर्णय सुनाए । अध्यक्षका तीन दावेदार देवीप्रसाद चौधरी, प्रेमीलाल चौधरी र मिनराज चौधरीमध्य अध्यक्ष प्रेमीलाल चौधरी, वरिष्ठ उपाध्यक्ष देवीप्रसाद चौधरी तथा महामन्त्री मिनराज चौधरी ।  गच्छदार प्रस्तावको अनुमोदन थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, नेपाली काँगे्रसका नेताहरु उमाकान्त चौधरी, तेजुलाल चौधरी, पद्म नारायण चौधरी, रामजनम चौधरी, डा गोपाल दहित, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, जनकराज चौधरी तथा किशोर सिंह राठौर सम्मले गरेको बुझियो । तर यसको जस अपजस लिन तयार भएका विजय गच्छदार भविष्यमा थारू कल्याणकारिणी सभामा फस्टाएको तदर्थवाद अन्त्यका खातिर जिम्मेवारी बोक्ने कि न बोक्ने ? थारू कल्याणकारिणी सभालाई आफ्नो नेता छान्ने स्वायत्तता उपर धावा बोल्दा ऐयासमेत भन्न नपाएका केन्द्रीय पार्षदहरुको संरक्षण विजय दाइको निर्णय अनुमोदन गर्ने अन्य व्यक्तित्वहरु गर्न तयार हुने कि हुने ? के यी सबका लागि भविष्यमा जयनेपाल दाइ भन्दै उनीहरुका घरदैलोमा चाकरी बजाउनु पर्ने भयो त ? सवाल विचारणीय छ ।  आफूलाई कलाकार, पत्रकार, साहित्यकार, संगीतकार, खेलाडी तथा समाजसेवी भनी चिनारी दिएर रेशम चौधरीले समेत तीन पृष्ठमा उल्लेख भएका ६ बुँदामा समेटिएका पत्र बाँडे । आफ्नो भूमिका देखाउन उनले केही नीतिगत विषय उठाउन जरुरी ठानी त्यो पत्र हात हातमा बाँडेका होलान् । तर, अपेक्षा गरेको प्रतिक्रिया प्राप्त गर्न नसक्दा उनी फर्किए । यो महाधिवेशनमा उपस्थित सहभागीहरु माझ बाँडिएका उनका सन्देश महत्वहीन ठहर भए पनि थाकस राजनीतिक छाँयाबाट टाढा रहनुपर्ने उनका सुझाव धेरैका लागि भजाउने वस्तु हुन पुग्यो । यसलाई सक्नेले भजाउलान् र नसक्नेले चुप बस्लान् अर्को २४औं महाधिवेशन कुर्दै । जवाफदेहिताको कसिमा सबै अयोग्य देखिएपछि आफ्नो कमजोरी ढाक्ने र अरुलाई खुइल्याउने त हो । परिस्थितिले थारू कल्याणकारिणी सभालाई प्रतिस्पर्धात्मक बनाउन रोकी राखे, जसले परिणाम दिने किसिमको योजनाबाट विमुख रह्यो ।  धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन ।  अब विस्तारै थारू सुमदायको माघ मनाउने चटारो देखा पर्ने होला । एकताको सन्देश प्राप्त गर्न माघ कुर्नुपर्ने त होइन होला । तर, धेरै आशावादी नबनौं, कारण यिनीहरुसंग एकताको सन्देश सुनाउने न त शब्द छन्, न हिम्मत । जुन जगमा उनीहरु एकता स्थापित गर्न खोजे, त्यो पाखण्ड ठहर हुँदैछ । धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन ।  तर्क जेसुकै गरुन् तर परिणाम निकाल्न सकिएन भने त्यो तर्क गफाडीको गफ मात्र बुझिन्छ । भनिन्छ “गफाडीके गाईर में गाछ जन्मल त कहैछै हम छहाइरे में चियै ।” अर्थात् एकता सन्देशको नयाँ आधार तय भएन भने नवनिर्वाचित केन्द्रीय कार्यसमिति स्वार्थीहरुको झुण्ड बन्ने खतरा यथावत छ । निर्णयकर्ता तथा त्यसलाई अनुमोदन गर्ने स्वनामधारीहरु गाँठो कसेका हुन् कि फुकाएका हुन् ? जवाफ उहाँहरुसंग मागिने छैन, बरु कार्यसमितिका अध्यक्षलगायत सदस्यहरुको कार्यशैलीमार्फत् प्राप्त गर्न चाहन्छन् । भविष्यमा पुरानै नियती दोहरिने सम्भावना बलियो देख्छु म, कारण एकतापश्चात संघर्षको यात्रा शुरु हुनुपर्ने हो । यहाँ संघर्षसंग भयभित हुने र संघर्षको काउण्टर मोडेल थाहा नपाएका समाजसुधारक संस्थाको नेतृत्व हात पारेपछि पुग्यो त । बाँकी भोट बैंक भएर त बस्ने हुन् ।  भजनमण्डली एकताको गीत गाउनुहोला तर मेरो पक्षधरता कायम रहनेछ । तटस्थ बस्ने मेरो राजनीतिक कर्म होइन । थारू कल्याणकारिणी सभामा राजनीतिको छाँया परेकै ह । यहाँ स्वायत्तता कमजोर बनाएपछि निर्णय प्रक्रिया अब कसरी छिटो छिटो सम्भव छ ? सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी नारामा सीमित रहे हालै देखा परेको अविश्वास थप संकट ल्याउने हुन्छ, जसलाई आत्मआलोचना मार्फत् कम गर्न विजय दाइ लगायतका स्वनामधारीहरुले पहल लिनुपर्ने थियो ।  अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ? यो सत्य हो कि विजय दाइहरुको शक्ति र सम्बन्धको अगाडि हाम्रो केही जोड चलेन । तर फेरि पनि हामी सम्मान खोज्दै हिँड्नेभन्दा पनि परिणाम खोजी गर्ने भएकाले साधन अर्को चयन गर्न सक्छौं । यही थारू कल्याणकारिणी सभा सबै समस्याको हल हिजो पनि मानिएको होइन र भविष्यमा पनि त्यस्तो बुझाई हुनेछैन ।  अन्त्यमा, थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, विजय दादा लगायत सबैको गच्छेअनुसार सम्मान हुनुपर्छ । सम्बन्धित ठाउँमा उहाँहरु सम्मानयोग्य हो र जीवनका उतार चढाव पार गर्दै अनुभव बटुल्नु भएकै छ । ती अनुभव र शक्ति–सम्बन्धलाई उचित प्रयोग गरे थारू कल्याणकारिणी सभालाई कुनै हानी नभएको स्वीकार्न सकिन्छ । यहाँ बन्धक बनाउनैपर्ने अवस्था कसरी र कसले सिर्जना गर्यो ? सवाल यो हो । डिगनिटी र सामाजिक न्यायका खातिर लडेको बताउनेहरु आफ्नो स्वायत्तता गुमाउदै गर्दा किन आवाज दिएनन् भन्ने हो । नङ्गा नाच देखाएर एकताको सन्देश कसरी जन जनमा पुर्याउन सकिन्छ भन्ने नैतिक प्रश्न छ । अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ? यसरी झोले त बनाए बनाए, साथै गुनासो गर्ने ठाउँ पनि बाँकी राखेनन् ।