गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

६३८ दिन अगाडि

|

१५ माघ २०८१

‘थारु भाषाके बाइपास करैले नै पाववै’

‘थारु भाषाके बाइपास करैले नै पाववै’

६४२ दिन अगाडि

|

११ माघ २०८१

मधेस प्रदेशको कामकाजको भाषामा थारु भाषालाई नसमेटिएपछि बिरोधको स्वर गुन्जिएको छ ।  यसै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका कदमहा चोकमा ‘थारु सुमदायमे बाजै वला थारु भाषाके बाइपास करैले नै पाववै’ लगायतको प्लेकार्डसहित कोणसभा गरिएको छ । माघ ११ गते शुक्रवार भएको सभामा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी लगायतले सम्बोधन गरेकी थिइन् ।  यसैबीच थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले यस कदमको विरोध गरेको छ । थाकसका महामन्त्री मिनराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेश प्रदेश सरकारद्वारा मधेश प्रदेश संसदमा २०८१ माघ ९ गते पेश गरिएको “प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” मा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषाको रुपमा व्यवस्था गरी प्रस्तुत गरेको विधेयकप्रति थाकसको घोर आपत्ति सहित गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छः मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकहरुको मातृभाषाको रुपमा रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा समावेश नगरिएको मधेश सरकारको विभेदपूर्ण कार्यले नेपालको संविधान, वीर शहिदहरुको बलिदानी, जनआन्दोलन, थरुहट, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिला लगायत परिवर्तनका लागि भएका सबै आन्दोलनबाट प्राप्त उपलब्धि, लोकतन्त्र एवं संघीयताको मूल मर्म भावना विपरित मधेस सरकारले वदनीयतपूर्ण तवरबाट ल्याएको विधेयकले थारु भाषा संस्कृतिमा निर्मम प्रहार गरेको छ । यसप्रति थाकस खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । ०.२३ प्रतिशतको मातृभाषीको रुपमा रहेको हिन्दी भाषा एवं ० प्रतिशत रहेको अंग्रेजी भाषालाई समेट्नु तर नेपालको आदि मानवको रुपमा रहेको आदिवासी थारु समुदाय लगायतको जनबोलीको रुपमा रहेको ४.१७ प्रतिशत थारु भाषालाई विधेयकमा कुनै स्थान नदिनु निकै निदनीय एवं खेदपूर्ण कार्य भनिएको छ ।  यो विधेयकले थारु भाषाभाषीहरुको उपहास गर्दै, मानव अधिकारसमेत हनन गरेको छ भने अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाति सम्बन्धमा संयुक्त राष्ट्र सघंको घोषणा पत्रको समेत उलङ्घन गरेको छ । मधेश प्रदेश सरकारले ल्याएको विधेयकमा तुरुन्त संशोधन गरी सरकारी कामकाजको रुपमा “थारु भाषा” समावेश गर्नको लागि मधेश सरकार र मधेश प्रदेश सभाका सांसदहरु संग जोडदार माग गरिएको छ । यसैबीच, चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रस्ताव गरेकी हुन् ।

देउखुरी घुम्ना र लंगडी गाउँमा दोहिरिए पुरानै अगुवा, ककन्डार 

देउखुरी घुम्ना र लंगडी गाउँमा दोहिरिए पुरानै अगुवा, ककन्डार 

६४८ दिन अगाडि

|

६ माघ २०८१

                                                                  देउखुरी घुम्नाका अघारी काशीनाथ चौधरी तथा ककन्डार हल्लुप्रसाद चौधरीलाई टीकामाला लगाइदै । माघको अवसरमा छानिने थारु गाउँको अगुवा (बरघर, ककनडार, महटाँवा) मा प्रायः पुरानै अनुहार दोहरिन थालेका छन् ।  यसै क्रममा माघ ५ गते शनिवार दाङदेउखुरी, लमही नगरपालिका–४, बर्का घुम्ना, छुटकी घुम्ना तथा बुटहक्वा संयुक्त ३ गाउँको ककन्डारमा हल्लुप्रसाद चौधरी चुनिएका छन् ।  हल्लुप्रसाद गत वर्ष पनि ककन्डार चुनिएका थिए । त्यस्तै, अघारी काशीनाथ चौधरी, धनहेरवा मुकेश चौधरी तथा कुलोपानीका ठेकदार स्याने चौधरी पनि पुरानै जिम्मेवारीमा दोहरिएका छन् । ३ गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ । स्मरण रहोस्, छुटकी घुम्ना तथा बुटहक्वामा क्रमशः देवराज चौधरी तथा शरद चौधरी यसअघि नै टोल ककन्डार चुनिइसकेका छन् ।  धनहेरवा मुकेश चौधरीले गत वर्ष कृषि बाटो, ह्यूम पाइपलगायतमा २ लाख ५६ हजार ५८१ खर्च भएको तथा खातामा १० लाख ८१ हजार १ सय ९० रुपैया मौजदात रहेको जनाए । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघरले सिँचाई, पूजाआजामा मात्र सीमित नभई शिक्षालगायत अन्य विविध विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले बरघर समिति बनाई महिला, युवाहरुलाई पनि समावेश गर्न आग्रह गरे ।   कार्यक्रममा घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, पूर्व ककन्डार तिलकराम चौधरी, अर्जुन महराज चौधरी, लमही नगरपालिका–४ का वडासदस्य भोजराज चौधरी, स्थानीय रामचन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । बजेटबारे सहभागीले खासै प्रतिक्रिया नजनाई पास गरेका थिए ।  त्यस्तै, खोज्नी बोज्नी कार्यक्रमपछि विभिन्न खेलकुद प्रतियोगिता गराइएको थियो । यस क्रममा महिला फुटबलमा छुटकी घुम्नाको समूहले बर्का घुम्नाको समूहलाई ३–० ले पराजित गरेको थियो ।  उता लमही नगरपालिका–६, लंगडी गाउँमा कान्तु चौधरी पुनः गाउँको अगुवा तथा हरिप्रसाद चौधरी अघारी चुनिएका छन् । ३ लाख ३४ हजारमा सुवास चौधरीले कुलोपानी सिचाईको ठेक्का हात पारेका छन् । खोज्नी बोज्नी कार्यक्रमले कान्तु चौधरीको अगुवाईमा ११ सदस्यीय गाउँ सुधार समिति पनि बनाएको छ । जसमा सहायक अग्वा राधा पोख्रेल, धनहेरवामा सरिता चौधरी, लिखन्डरियामा शिवलाल पन्थी, सहायक लिखन्डरियामा होमनारायण चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा हरिप्रसाद चौधरी, रामबहादुर बस्नेत, जन्जीर बहादुर चौधरी, टुन्नी देवी चौधरी, शान्ति अधिकारी चौधरी, कृष्ण घिमिरे छानिएका छन् ।  गाउँको अगुवा कान्तु चौधरीले आफू लगातार ८ वर्षदेखि अगुवा रहेकोमा उत्तराधिकारीको रुपमा युवा होमनारायण चौधरीलाई अघि सारेका थिए । होमनारायणले यस वर्ष मुड नभएको भनी आनाकानी गरेपछि अगुवा पुरानै छानिएका थिए ।  घुम्ना गाउँ विशुद्ध थारु समुदायको बस्ती हो । खोज्नी बोज्नी कार्यक्रम थारु भाषामै सञ्चालन भए पनि माइन्यूट नेपाली भाषामा लेखिएको छ । लंगडी गाउँ मिश्रित बस्ती रहेकोमा खोज्नी बोज्नी कार्यक्रम थारु तथा नेपाली भाषामा सञ्चालन भएकोमा माइन्यूट नेपाली भाषामा लेखिएको थियो । विशुद्ध थारु समुदायको बस्तीको खोज्नी बोज्नी कार्यक्रमको मात्रै होइन, वर्षैभरि सञ्चालन हुने अन्य बैठकको माइन्यूट पनि नेपाली भाषामै लेखिदै आएको छ ।   

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

६५० दिन अगाडि

|

४ माघ २०८१

माघको अवसरमा छानिने थारु गाउँका अगुवा (बरघर, ककनडार, महटाँवा) धमाधम छानिन थालेका छन् । तर, बरघर चयन समावेशी देखिएको छैन ।  यसै क्रममा माघ ३ गते दाङदेउखुरी, लमही नगरपालिका–८, बिजलीपुर गाउँमा ७३ वर्षिय लहानु चौधरी पुनः महटाँवा छानिएका छन् । लगातार ४० वर्षदेखि महटाँवा रहेका उनी ४१औं पटक महटाँवा चुनिएका हुन् । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीसंग जोडिएका अन्य पदमा महिला, युवालगायतको समावेशी चयन हुन  सके गाउँको विकासमा टेवा मिल्ने बताए ।  कार्यक्रममा लमही नगरपालिका–८, का वडासदस्य गणेश चौधरी, जहरे खानेपानी संस्थाका अध्यक्ष शिवकुमार चौधरी, गहनलाल चौधरी, फुलपत चौधरी लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा गाउँलाई योगदान दिने गुरुवा, केसौका, मोह्रिन्या, पच्गिन्या लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मघौटा नृत्यका साथै बरघर छनोटपछि बरघरको तर्फबाट खानपीन पनि गराइएको थियो ।  वडासदस्य गणेश चौधरीका अनुसार महटाँवाको नाममा देउता रहेकाले अन्य व्यक्ति महटाँवा बन्न मन नगरेको बताए । बाबुलाई बुढ्यौलीले छोएपछि वडासदस्य चौधरी कार्यबाहक महटाँवाको रुपमा काम गर्दै आएका छन् ।  लमही नगरपालिका–८, धनपुरवा गाउँमा पनि सीता चौधरी पुनः ककनडार चुनिएकी छिन् । त्यहाँ प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार चुनिन्छन् । यस वर्ष पनि गाउँलेहरुले चिट्ठा हालेर जगतराम चौधरीलाई अगुवा छानीसकेका थिए । थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले प्रत्येक वर्ष अगुवा फेरिदा नयाँ जिम्मेवारी पाउनेलाई सिक्ने, अनुभव लिने समय नमिल्ने हुँदा सीता चौधरी लमही नगरअन्तर्गतको एक मात्र महिला ककनडार रहेकाले उनलाई दोह्र्याउन आग्रह गरेका थिए । जगतराम चौधरीले पनि महिला ककनडार पुनः जिम्मेवारी लिन चाहे छाड्न तयार रहेको अभिव्यक्ति दिएपछि सहमतिमा पुनः सीता चौधरी ककनडार छानिइन् ।  उता, लमही नगरपालिका–३, उत्तर मजगाउँमा पुनः छुनिलाल गाउँका प्रधान छानिएका छन् । उनी दुमदुम भवानीमा पूजापाठ हुने जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान पनि हुन् । उत्तर मजगाउँमा जगत चौधरीको ठेकदार टोलीले प्रति कट्ठा रु २५५ मा सिंचाई कुलो मर्मतको ठेक्का पायो । छपरगन्टि पालामा श्रीमान्, श्रीमती दुबै जागिरे रहेकाले गाउँको बरघर प्रणाली अन्तर्गतको कमबाट निश्कासन गरिदिन स्थानीय बालतारा आधारभूत विद्यालयका प्रअ राजकुमार चौधरीले लिखित निवेदन दिए पनि खोज्नी बोज्नीको ख्यालले त्यो निवेदन स्वीकृत गरेन । उनलाई थप कारण खुलाउन निम्त्याइए पनि बैठकमा सहभागी थिएनन् ।  लमही नगरपालिका–४, भैस्कोर्मा गाउँमा प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार छानिन्छन् । यस वर्षबाट त्यो परम्परा हट्ने विश्वास गरिए पनि पुनः चिट्ठा प्रणालीबाट ककनडार छानिएको छ । जसबाट लक्ष्मीराज चौधरी ककनडार भएका छन् । यसैगरी, लमही नगरपालिका–४, छुटकी घुम्ना गाउँको टोल ककनडारमा देवराज चौधरी तथा अघारीमा खुन्टुराम चौधरी दोहरिएका छन् । कार्यक्रममा ककनडारमा देवराज चौधरीले गत वर्ष गाउँको आम्दानी १ लाख ४३ हजार, खर्च ६९ हजार ४ सय तथा वचत ७४ हजार ४ सय रुपैया मौज्दात रहेको सुनाएका थिए । त्यहाँको मूल आम्दानी भाँडाकुँडा, कुर्सि, टेबल, टेण्ट भाडाको रहेको साथै छपरगन्टि पालामा काम गर्न नआएपछि जरिवाना, खारा रहेको छ ।  लमही–४, घुम्ना तथा लमही–६ लंगडीमा माघ ५ गते ककनडार चुनिने जानकारी बरघरद्वय हल्लुप्रसाद चौधरी तथा कान्तु चौधरीले जानकारी दिए । 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

६६० दिन अगाडि

|

२३ पुष २०८१

प्रत्येक वर्ष माघको अवसरमा चयन गरिने बरघर प्रणालीमा लामो समय कि एकैजसो व्यक्तिको हातमा छ, कि चिट्ठा प्रणालीबाट बरघर चुनिन थालेका छन् । यसरी चिट्ठा प्रणालीबाट बरघरमा महिला तथा युवा आउने गरेकोमा लामो समय पदमा टिक्न गाह्रो अवस्था रहेको अनुभव बाँडेका छन् । ढिलो गरी प्राप्त समाचारअनुसार बाँकेको कोहलपुरमा पुस १७ र १८ गते आयोजित ‘महिला तथा युवा बरघरहरुलाई प्रशिक्षण’ कार्यक्रममा तिनीहरुले आफ्नो अनुभव शेयर गरेका हुन्  । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रायः बरघरहरुले चिट्ठा प्रणालीबाट बरघर चयन दिगो समस्याको समाधान नभएको बताएका हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–७, मरघट्टीकी बरघर गीता चौधरी गएको वर्ष चिट्ठा प्रणालीबाट बरघर चुनिएकी हुन् । महिला बरघर हुने भएपछि पोथी बासेको सुहाउन्न भनेर केहीले खिसी गरेको तीतो अनुभव पनि छ उनीसंग । उनलाई फेरि बरघर बन्न मन त छ । तर, चिट्ठा प्रणालीबाट बरघर चुन्ने परम्परा बसिसकेकाले आफूले पुनः दावी गर्न सक्ने अवस्था नभएको उनको भनाई छ । कार्यक्रममा सहभागी उनले भनिन्, गाउँको नेतृत्व सबैले पाउनुपर्छ भन्ने बुझाइ छ । तर, मन नभएकोलाई चिट्ठा पर्दा बरघर नाम मात्रको पनि भएका छन् । दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले पनि उस्तै अनुभव सुनाइन् । चिट्ठा प्रणालीबाट उनको नाम बरघरमा निस्किएपछि दोह्र्याएर चिट्ठा हाल्न केहीले जोड दिएका थिए । कारण खेतीपाती नगर्ने उनको परिवार मजदुरी गर्छ । उनले कसरी समय देलिन् भन्ने धेरैको आंशका थियो । तर पुरुषभन्दा राम्ररी गाउँ चलाएको गाउँलेहरुको मूल्याङ्कन छ । उनले भनिन्, जिम्मेवारी लिएको पहिलो वर्ष त सिक्दै लाग्छ । समाजसेवामा बल्ल रुचि बढ्न थालेको हुन्छ, पद छोड्नु पर्ने अवस्था आइसक्छ । उनको गाउँमा प्रत्येक वर्ष माघ ३ गते बरघर चयन हुन्छ । उनले अगाडि भनिन्, चिट्ठा प्रणालीबाट बरघर चयन भए कुनै दुःखेसो छैन तर पुनः जिम्मेवारीका लागि आग्रह भए पछि हट्दिन । बाँके, राप्तीसोनारीकी युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा आफूजस्ता युवाहरु गाउँको नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । एक सहकारीमा आवद्ध बाँके, राप्तीसोनारीकी अर्की युवा टीका थारु महिला हक, अधिकारका लागि बलियो आवाज उठाउँछिन् । उनले आमाको नामबाट नागरिकता निकालेकी छिन् । उनले भनिन्, गाउँको नेतृत्व पुरुषले दयाले दिनुभन्दा महिलाहरुले अग्राधिकारको रुपमा दावी गर्न सक्नुपर्छ ।   आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा अनुसन्धानकर्मी शेखर दहितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका फिल्ड अधिकृतद्वय विमला चौधरी तथा निरन्जन चौधरीले महिलाहरु थारु गाउँको नेतृत्वमा आउन चाहना राखे पनि राम्रो समन्वय नभइरहेको बताएका थिए । मुक्तिपछि स्थापित नयाँ गाउँमा महिला बरघरहरु बढ्दै गए पनि पुराना गाउँमा परम्परागत ढंगकै नेतृत्व हावी रहेको बताइएको थियो । 

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

६६२ दिन अगाडि

|

२१ पुष २०८१

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको १५ औ साधारण सभा पुस २० गते समूहको कार्यालय परिसरमा सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय लमही, देउखुरीका प्रमुख महेन्द्रराज  वाग्लेले बिचमा अस्तित्व हराएको वन व्यवस्थापनलाई पुनस्थापन गरेकोमा समूह नेतृत्वको प्रशंसा गरे ।  डा कृष्णराज सर्वहारीले घुम्ना सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणमा केन्द्रित रहेर कथा, निवन्ध, कवितालगायत प्रतियोगिता गराउन तथा वनसंग संस्मरण जोडिएको विषयबस्तु समेटेर स्मारिका प्रकाशन गर्न सुझाए ।  कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसाल, लमही–४ का वडासदस्य भोजराज चौधरी, बुट्कह्वाका ककन्दार मुकेश चौधरी लगायतले शुभकामना दिएका थिए ।  घुम्ना सामुदायिक वनका अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा उनले बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना तथा कोषाध्यक्ष राजकुमार चौधरीले २०८१/२०८२ को आय ब्यय प्रस्तुत गरेका थिए । गत वर्ष १९ लाख ५ हजार १०५ रहेको तथा खर्च १६ लाख ६२ हजार ११० भई २ लाख ४२ हजार ९९५ मौजदात रहेको जानकारी दिइयो । होम स्टे, राप्तीमा डुंगा सवारी, गाउँलाई पर्यटकीय हब बनाउने लगायत योजना रहेको छ । सोही कार्यक्रममा दाङदेउखुरी, लमही–४, बरका घुम्ना, छुट्की घुम्ना, बुट्कह्वा गाउँको ककन्दार समितिकता तर्फबाट गाउँका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरूलाई सम्मान गरियो । जसमा थारू साहित्य, संस्कृतिमा संरक्षण पुर्याएको तथा विद्यावारिधि हासिल गरेकोमा डा कृष्णराज सर्वहारीलाई, धर्मलाई संरक्षण गर्ने गुरुवाद्वय सुवेदार चौधरी तथा तुलसीराम चौधरी, पूजारी रौइनी चौधरी, घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, गायिका वसन्ती चौधरी लगायत सम्मानित भए ।  साथै, सोही कार्यक्रममा महेन्द्र चौधरीको संयोजनमा महिलाहरूको ढकिया दौड, बालबालिकाहरूलाई चकलेट दौड र ब्यालुन फोर्ने, पुरूषहरूलाई घैटाफोर प्रतियोगिता गरी पुरस्कृत पनि गरियो । सभाको सहजीकरण सचिव सीता चौधरी तथा स्वागत उपाध्यक्ष शिव प्रसाद चौधरीले गरेका थिए ।   

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

६६३ दिन अगाडि

|

२० पुष २०८१

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ ।  बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए ।  सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’ राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’ सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’ गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् ।  युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए ।  अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’  आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए ।