टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

३८९ दिन अगाडि

|

३ भदौ २०८१

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

३९० दिन अगाडि

|

२ भदौ २०८१

नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज काठमाडौं, बबरमहल, साफ फल्चामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको हो ।  अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका   उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमल निभाले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तर माथि उठाउन योगदान पुग्ने बताए ।  आयोजक संस्थामध्येका एक नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार राखे। आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिए । आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिएका थिए।

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

३९० दिन अगाडि

|

२ भदौ २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि अस्टिम्की पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बानेश्वर, बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटको हलमा आगामी भदौ १० गते सोमबारका दिन अस्टिम्की मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार भदौ १ गते बसेको बैठकले अस्टिम्की कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा तयारी मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  कार्यक्रमको उपसंयोजकमा न्यौछार समूहकी रिता चौधरी तथा सदस्य सचिवमा अन्जु चौधरी रहेकी छिन् । त्यस्तै,  राष्ट्रिय थारु कलाकार मञ्चको संयोजनमा सांस्कृतिक समिति, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरीको संयोजनमा प्रचारप्रसार समिति, अग्रासन महिला समुहको संयोजनमा पूजा तथा मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, फोहर व्यवस्थापन समिति, किरण चौधरीको संयोजनमा आर्थिक व्यवस्थापन समिति लगायत समिति गठन गरिएको छ ।   तयारी समितिको सल्लाहकारमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, डा कृष्णराज सर्वहारी, बलराम चौधरी, डा रामबहादुर चौधरी रहेका छन् । डा रामबहादुर चौधरीले अस्टिम्की विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा गुरही तयारी समितिकै संस्थाका सदस्यहरु रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका छन् । चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा २०७२ सालदेखि काठमाडौमा अस्टिम्की मनाउन थालिएको हो ।   

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

३९२ दिन अगाडि

|

३२ साउन २०८१

“राजाको ऐनभन्दा खोलाको चैन ठूलो” भन्ने उखानलाई हुम्लाका धामीहरूले सार्थक बनाएका छन् । यहाँ शदीयौंदेखि दैवी न्याय प्रणालीबाट फौजदारी र देवानी मुद्धाहरू छिनोफानो गर्ने गरेका छन् ।  सरकारले नागरिकलाई विभिन्न मानवीय यातना र असुरक्षाबाट सुरक्षा दिन आवश्यता अनुसारका विभिन्न निकायहरू गठन गर्ने गर्दछ । ती तत् तत् निकायहरूले समाजमा शान्ति, सुरक्षा, अमनचयन, पादर्शिता, जवाफदेहिता र भ्रष्टचारमुक्त समाज निर्माणमा सहयोग गर्दछन् । तर नेपालमा सरकारको दुरदृष्टिको अभाव भनौं कि अझै पनि केन्द्रीकृत नीतिको परिणाम भनौं राजधानी र मोफसलमा यस्तो भिन्नता ज्यादै गहिरो खाडलको रुपमा देखापरेको छ र रहेको छ पनि ।  हुम्ला मात्र नभएर कर्नाली प्रदेश जस्ता नेपालका विभिन्न मोफसलका क्षेत्रहरुमा जातिगत, भाषागत, संस्कारगत र अन्य प्रथाजन्य प्रचलनहरूले पनि दैनिक तथा सामाजिक रुपमा आइपर्ने ज्योतिषी, ग्रहदशा, विवाह, ब्रतबन्ध, मुद्धामामिला र अन्य कुराहरू गाउँठाउँका प्रशिद्ध देवताहरू “कालोसिल्तो, रामपाल, हंसपाल, बेताल, मस्टो, कैलास, महादेव, सर्की, ल्वासुर, हिल्छो, महाकाल, गुरा र मदानु” विभिन्न देवताका धामीहरूले छिनोफानो गर्ने गरिएको छ ।  ग्रामपालका रुपमा रहेका यी धामीहरूले विशेषतः झैझगडा, जारी, चोरी, जग्गा, अंश, ठगी र ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुबै प्रकारका मुद्धा छिन्ने काम आफ्नो देवकीय अदातलको इजलास “घरमाँडु (घर नजिकको देवताको थान) र वनमाँडु (टाढाको देवताको थान)” दुबै स्थानबाट छिनोफानो गर्ने गर्दछन् । यहाँ र यस्ता माँडुहरूबाट न्याय पाउनका लागि पीडितले पीडकलाई धेरैभन्दा धेरै नशियत र जरिवाना होस् भनेर दियो बालेर, पिँठ्युमा ढुङ्गा बोकी, मुखमा दुबो च्यापी, भुजपत्रको टोपी, काँडाको ओछ्यान, फेरेको गादो, मोसोको टिको लगाई रुदै कराउँदै कर जोड्दै धामीको अगाडि नतमस्तक भई प्रार्थना गर्नुपर्छ र गर्दछन् ।  हुम्ला कर्नालीको सामाजिक, सांस्कृतिक र प्राकृतिक जनजीवनमा मस्टोको स्तर, स्थान, रुप र व्यापकताको बारेमा गहन रुपमा खोजी गर्नु गराउनु पर्ने देखिन्छ तर यस्तो काम हुन नसक्दा मौलिक सम्पदाको मुहान अर्थात् खुलाविद्यालय आफैमा ओझेल परेको छ । खशजातिको विश्वव्यापी सांस्कृतिक र सामाजिक परिवेश तथा स्याङसुङ, ख्युङलुङ सभ्यता एवं मानस कैलासको प्रमुखद्वार, उत्तरदक्षिण राजमार्गको व्यापारिक थलो र सम्पन्न सामाजिक गढलाई छिचोल्दा मस्टो र मस्टोइतरका देवदेवीका धामीडाङग्री र पुजारीका अनेकौं क्रियाकलापहरुलाई नियाल्दा धामीप्रथा र लामाप्रथाको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । तापनि धामीप्रथा विशेष गरी न्यायिक क्षेत्रमा चर्चित छ भने लामाप्रथा उपचार पद्धतिका लागि प्रचलनमा रहेको छ । अझ बोन परम्परामा यस्तो प्रक्रिया कालो बोेन र सेतो बोनको परिभाषामा पाउन सक्छौं ।  मस्टो क्षेत्रिय र राष्ट्रिय भूगोललाई नाँघेर अन्तरराष्ट्रिय भूगोलमा समेत परिभाषित, परिचालित र परिलक्षित भएको कथ्य र तथ्यले कर्नाली प्रदेशका खण्डहर, जर्जर र उराठलाग्दा काख र पाखाहरु यस संस्कृतिको साक्षीका रुपमा रहेका छन् । जस्तै यहाँका गर्खा, पाखा, दरा, खोला, वीस, पट्टी, कोट, रजवार, गढी, पातीहाल्न, बीसुन, रजवार र सेराहरु यी अवयवहरुका लागि गरिमामयी स्थानहरु मान्न सकिन्छ । यी स्थानहरु सम्पन्न खश सम्पदाको खानी हुन् भने हाम्रो परिचालित लोकसंस्कृतिको आँखाको नानी समेत भएको मान्न मनाउन सकिन्छ र सक्छौं पनि । यसको खोजी र रोजी गरौं र गराऔं । हाम्रा सन्ततीलाई आफु र आफ्नोपनको बारेमा चिन्न र चिनाउनका लागि हातेमालो गरौं ।  यसैले पनि मस्टो नेपाली खस  जातिले कुलस्वामीको रुपमा ग्रहण गरी सत्व र रजो गुण, कालो बोन र सेतो बोन, धामीपन्थी र बोनपन्थी, माच्योंक्ती ल्हा र काट्रच्योक्ती ल्हा, सुर र असुर, काल र अकाल, शीर र पाउ, दुध र रगत, छाकाल र बास्हारा, योग र वियोगको समपुरक, परिपुरक र अर्थपुरक मान्दै अन्तिम आस्थाको केन्द्र च्छोमाफाम अर्थात मानसरोवर र च्छो लांका अर्थात लंकारी तालको अद्भुत शक्तिभित्रको प्रज्ज्वलित प्रवाह भएर शदियौंदेखि दैविक न्यायलयको एक निर्विकल्पको रुपमा माप्चाको काप्चाको रुपमा बगिरहेको छ । मस्टोको वरिपरी घुमेको दैवी न्यायको प्रचलन, संस्कार, रीतिथीति तथा वैकल्पिक न्याय प्रणााली र पद्धति हो यो । यो नै हुम्लीहरुको मात्र नभएर कर्नालीको आत्म शुद्धताको रक्तसञ्चार हो । न्यायको लागि सामाजिक सद्भाव र समन्वयकर्ता समेत हो । यसैले पनि मस्टो खशजाति र खश साम्राज्यको एक खोजी योग्य नीघि, विधि, रीति, थीति र स्थिति पनि त हो नि ?  कर्नाली क्षेत्रमा प्रचलिनमा आएको मस्टो संस्कृतिको इतिहासको लेखाजोखा गर्दा यसको समयरेखा सायद सात हजार वर्ष पुरानो देखिन आउँछ । यसैले पनि मोहनजोडादो र हरप्पा समाज र संस्कृतिसँग जोडिन पुग्छ । योसँगै भाषिक समुदायका रुपमा सप्तम् र केन्तुम् परिवारको वरिपरी घुमेर भारोपेली, आग्नेय, द्रवीड र भोटबर्मेली भाषा पनि एक आपसमा अन्तरघुलन हुन पुगेको छ । यसैले पनि नेपाली भाषाको माउथलो बनेको हो सिँजा क्षेत्र । जसले गर्दा नोपली भाषा आज राष्ट्र भाषाको रुपमा एकताको प्रतिक बनेको छ । यसका धेरै प्रकारका भेदउपभेद भए पनि एक सम्पन्न राष्ट्रिय रेखा नाँघेर अन्तरराष्ट्रिय भाषा बन्नु हामी नेपालीको लागि गौरबको विषय हो । अझै यसलाई सम्पन्न गर्न गराउनका लागि स्थानीयस्तरमा प्रचलनमा आएका अन्य राष्ट्रिय भाषाको विकास विस्तार गरी मातृभाषालाई पनि संरक्षण गर्नु पर्दछ ।  हुम्ला कर्नाली प्रदेशको बहुचर्चीत चाडपर्वमध्ये साउने पूर्णिमा चाडपर्व मात्र हैन । यो त हुम्ला कर्नालीको एक सामाजिक न्यायलय हो । प्रत्येक वर्ष आउने १२ वटा पूर्णिमामध्ये वैशाख, साउन, कार्तिक र माघ पूर्णिमा हुम्ली लगायत कर्नाली समाजको एक न्यायिक इजलास पनि हो । यो अवधिमा देवीदेवताको पूजाआजा मात्र हुँदैन विभिन्न प्रकारका मुद्धाहरू छिनोफानो गर्ने एक महत्वपूर्ण दैविक न्यायलय पनि हो । यसका लागि विभिन्न प्रकारका विधिविधान, प्रक्रिया र चरणहरु पार गर्नु पर्दछ तैपनि सरकारी निकायभन्दा यहाँ छिटो छरिटो रुपमा न्यायिक सम्पादन हुने गरेको छ । यसैले पनि माँडुमा गरिने सम्पादन क्रियाकलापहरु सबैले सर्वस्विकार्य समेत मानिंदै आएको छ ।  साउने पूर्णिमा हुम्ला र हुम्लीका लागि मात्र नभएर कर्नालीका लागि एक अति महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो । यो न्यायिक इजलास पनि हो । सामाजिक अदातल पनि हो । समाजलाई सुरक्षित र शान्त बनाउने नेटवर्क पनि हो । गाउँघरको मेलमिलाप केन्द्र पनि हो । सबैले समान रुपमा सहभागीता गर्न गराउने पाउने बहस केन्द्र पनि हो ।  साउने पूर्णिमा वर्षभरीका १२ वटा पूर्णिमाभन्दा अति महत्वपूर्ण पर्व, समय र सन्दर्भ पनि हो । यसैले पनि साउन पूर्णिमाको अति धेरै महत्व, स्थान र सन्दर्भ रहेको छ । यो दिनमा हुम्ला कर्नालीभरी धेरैको न्यायिक कामको छिनोफानो हुने गरेको छ । न्याय पाउने गरेका छन् । मेलमिलाप हुने गरेको छ । सामाजिक सद्भाव कायम हुने गरेको छ । र त यो जिल्लाभरी नै मनाउने गरिन्छ । आधुनिक समयमा यस्ता राम्रा नराम्रा दुबैे कुराहरूको लेखाजोखा गर्दा यसले समाजको शान्ति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ यो पर्व के कसरी मनाइन्छ भन्दा पनि यसले सम्पादन गर्ने न्यायिक गरिएको छ । यसको बारेमा यहाँ जानकारी गर्ने गराउने प्रयास गरिएको छ ।  कर्नालीका धेरैजसो स्थानीयहरूको मानसिक तथा परम्पराजन्य विश्वास अनुसार अदालतमा त पहुँचवाला र मुखाले हरतरहले प्रमाण जम्मा गरी आफ्नो पक्षमा मुद्धा जित्ने प्रयास गदर्छन् । तर निमुमासोझा भने त्यसै रहन्छन् । यसैले पनि धामीहरु  र धामीप्रथा प्रति जनविश्वास धेरै र अगाध रहेको छ । त्यसैले पनि “देवपुरी हुम्लो, ब्रह्मपुरी जुम्ला” भन्ने उखानले पनि मान्यता पाउनुका साथै सार्थकता पाएको छ ।  मस्टो देवता प्राचीनकला, वैदिकयुगदेखि वर्तमानसम्म विभिन्न नाम, रुप र औतारमा औतारिएर आएको पूर्व प्राचिन देवता मानिन्छ । यसका बारेमा बेद, उपनिषद्, पुराण, संहिता, स्मृतिग्रन्थ र लोकांशहरु अनेकौं संख्यामा विभक्त भएको पाइए पनि मुख्यतः बाह्र भाइ मस्टो नौ दुर्गा भवानी भन्ने उक्तिले सर्वमान्यता पाएको छ । जस अनुसार मस्टो कुलस्वामी, मुलस्वामी, देवस्वामी, क्षेत्रस्वामी र वर्णस्वामी भएकैले देवाधिदेव महादेव कै विस्तारित र विस्थापित अंश र हंस मानिन्छ ।  यसरी प्राचिनदेखि अर्वाचिनसम्म पनि खश, मारुल्ले, कल्याल, रावत, राउटे, तमु, थर, थपाल्या, ब्याँसी र जाड सबै कर्नालीवासीहरुको जनजीवनमा मस्टोको अथाह अथाह व्यापकता र गहिराइका आयामहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले हुम्लामा “राजाको ऐनभन्दा खोलाको चैन ठूलो, मुखालाको राजा निमुखाको देउता, देवपुरी हुम्लो ब्रहम्पुरी जुम्लो, बाह्र भाइ मैठो घरबारीमा बइतो” जस्तो झर्रा लोकोक्तिले सामाजिक जनजीवनमा प्रभावकारी भूमिका खेलेको छ । यसैले पनि हुम्ला लगायत कर्नाली प्रदेशको सामाजिक न्याय सम्पादनको कार्यमा महत्वपूर्ण भूमिका रहेको छ, खेलेको छ र प्रयोग भएको छ ।  द्वापर र त्रेतायुगमा शास्त्रमा उल्लेख भएको यो हिमवत् खण्डको उत्तरी भाग हुम्ला दरा (हाल जिल्ला)मा राक्षसी प्रवृत्तिको बोलवाला भएकाले भगवान् श्रीशंकरलाई उनका भक्तहरूले प्रार्थना र स्तुति गर्दा श्रीशंकरजीले भन्नु भयो हे ! सेवकहरू तिमीहरू आफ्नो नित्यकर्म अनुसार चार पूर्णिमा र चार औंसीमा कर्नालीको बगरमा गई मेरो आराधना गर । म देवसभाबाट त्यस्ता खराव आत्म र दृष्कर्मीहरूलाई तह लगाउन “बाह्र भाई मस्टो र नवदुर्गा भवानी”लाई पठाउँछु भन्ने आज्ञा भए बमोजिम नै “देवपुरी हुम्ला” भएको हो भन्ने जनविश्वास रहेको छ । त्यो वेलादेखि नै यो क्षेत्रमा “दैवी न्याय प्रणाली” शुरु भएको हो भन्ने स्थानीय मान्यता पाइन्छ । यसमा अगाध विश्वास पनि भएको र रहेको देख्न, स्पर्श गर्न, छाम्न, अनुभव गर्न गराउन सकिन्छ ।  हुम्ला लगायत कर्नाली प्रदेकका गाउँघरहरुमा स्थापना गरिएका देवीदेवताहरू विष्णुगादीबाट इन्द्र, इ्न्द्रगाधीबाट देवताहरूको उत्पत्ति भएको हो । यिनीहरूले आफ्नो अवतार ढुङ्गा, माटो, पानी र पशुपन्छी सबैमा औतारिँदा पनि ‘सतभित्’ देखाउन नसकी आजित भएपछि अन्तिममा मानिसमा प्रतिस्थापन हुँदा सास फेर्ने र नफेर्ने सबैको उद्धार गर्न सकेकाले नै मानव समाजमा न्यायिक काममा हात बढेको सन्दर्भ विभिन्न धामीहरूको पडेली (लामो वृतान्त)बाट थाह हुन्छ ।  यसरी हुम्ला लगायत कर्नाली क्षेत्रभरी नै “मस्टो र मस्टोइतरका देवाताहरूलाई कुलस्वामी, मुलस्वामी, क्षेत्रस्वामी, जातस्वामी, न्यायस्वामी, भूमिस्वामी, कर्मस्वामी, धर्मस्वामी, मर्मस्वामी र देवास्वामी” मान्ने भएकाले पनि “गाथ गाथमा मस्टो, घरबारीका बस्तो, घर घरमा मस्टा, न्याय भोक्ती गद्दा” भन्ने लोकोक्ति प्रचलनमा आएको छ ।  यसरी भौगोलिक अक्षांस र देशान्तरका रेखा रेखाहरुका गतिशिल कम्पन कम्पन र धड्कन धड्कनमा मस्टोका गाथा छ, इतिहास छ, भूगोल छ, गणित छ, ज्योतिष छ, हर्षा छ, वर्षा छ, न्होरा छ, बोन छ, री छ, च्छो छ, ल्हा छ, हिन्दु छ, बुद्ध छ, तोन्बा छ, इन्दु छ, अग्नि छ, इन्द्र छ, मरुत् छ, सिन्ध छ, सतलज छ, काङतीेसे छ, गंगा छ, ब्रह्मापुत्र छ, मस्टो यी सबैको अधिपती हो । यो वनडालीमा छ, मनडालीमा छ, धनडालीमा छ, तनडालीमा छ र कर्मडालीमा पनि यसको जीवांसमा छ, त्यान्द्रो छ, मान्द्रो छ र छ यसको लहरो, पहरो र छहरो छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  बाह्र भाइ मस्टो नौ दुर्गा भवानी, सोह्रमाला, सोह्र पैकेला आदि गाथा, कथा र व्यथाको पैत्रिक, मातृक तथा भातृक नातागोता, इस्टमित्र, मीतमीतेरी अनेकौं पारिवारिक मण्डल, मण्डप तथा कुण्डल भए पनि दुधभोगी देवताको सम्बन्ध च्छोमाफाम अर्थात मानसरोवरसँग र रक्तभोगी देवताको सम्बन्ध च्छोलाका अर्थात लंकारी तालसँग रहेको छ । यसैले पनि न्याय र अन्यायको विभेदक रेखा हो मानसरोवर ताल र राक्षस तालको महिमा मान्न सकिन्छ । गरिमा पाउन सकिन्छ । अरुणिमा छाम्न सकिन्छ । पूर्णिमा देख्न सकिन्छ ।  यसैले त यी र यहाँको राम्रो र नराम्रो, कालो र सेतो, न्याय र अन्याय, सुर र असुर, दुध र रगत, धन र ऋणको सन्तुलन काङरिन्पोच्छेले गर्ने हुनाले प्राक्धार्मिक शक्ति समाहित र विमोहित हुने केन्द्र नै कैलास पर्वत हो । यो भूस्वर्गको एक अनुपम, अनौठो र अलौकिक प्रतिबिम्ब हो । जसको चार दिशामा सतलज, ब्रह्रमापुत्र, सिन्धु र गंगा जस्ता विशालकाय जलाशयको उदगमस्थल मानिएको छ । त्यस्तै सूर्यमणि, पित्तमणि, ताम्रमणि र नीलमणि समेतले सुनमा सुगन्ध थपेर अनौठो आयाम थपेको छ । यहि भूस्वर्गको काखमा स्थापीत हजारौं वर्ष पुरानो र उन्नत स्याङसुङ सभ्यताको चिनारी ख्युङलुङको राजकीय र भोटको आत्मीय धर्म बोनको प्रतीक पुलिक अर्थात् सीमाला बनेको छ ।  यही भूभागमा अवस्थित विश्वको रहस्मय पर्वत, अत्युच्चत्तम आस्थाको महान सागर काङरिन्पोच्छे, काङतिसे, कैलास, कविलास, माउन्ट कैलास नै हिन्दु, बौद्ध, जैन र बोन चार धर्मको समेत अलौकिक शक्ति र भक्तिको स्रोत मानिन्छ । यी सबैको आदि स्रोत भएकोले आर्य, अनार्य, द्रवीड, हुण, तार्तार, तमु, राउटे, जाड र ब्याँसी आदि जातिका त देवाधिदेव महादेवकै अनेकौं रुपहरुमध्ये रुद्र मरुत् मारुद् महाइष्टाय मस्त मस्टो भएको लौकिक कथ्य र शास्त्रीय तथ्य हाम्रा अगाडि दैनिक न्यायको साक्षी सत्य बनेको साक्षी छ ।  यो खस जातिसँग प्रवाह भएको साकारभित्रको निराकार देवता हो । मस्टो अनेकौं सान्दिर्भक, शाब्दिक र र प्रासांगिक नाममा आएका माथि उल्लेखित शब्दहरु जस्तैः मरुत्, मस्टपा, मस्टो, मैठो, मस्त, माइथो, महाइस्टाय आदिको संश्लेषित तथा विश्लेषित रुपमा व्युत्पत्तिमुलक नाम भएको भए पनि यसको सर्वव्यापकता, सर्वशुलभता र सर्वमान्यता नै कर्नाली प्रदेशको सांस्कृतिक गरिमा हो, महिमा हो र अरुणिमा पनि हो ।  यसैले मस्टो कर्नालीको व्यक्ति, ध्वाङ, दग्डा, बाडा, पट्टी, गाउँ, मौजा, दरा, खोला, थपालो, प्रगन्ना, गर्खा, गढी, रजवार, सेरा, कोट, दुर्ग, विषय, थर्पु, रजस्थल, मण्डल र मण्डप आदि स्थाननामको सानो ठूलो भूभागिय वृत्तको आवृत्तीभित्रका डिग्री, गे्रड र रेडियनका सांस्कृतिक, सामाजिक, प्रशासनिक, पुरातात्विक, मानवशास्त्रीय तथा समाजस्त्रीय क्षेत्रमा नाम, काम र राम सबै व्यक्ति, जाति, स्थान र प्राकृतिक विशेषताहरुसँग सम्बन्धित छन् ।  मस्टो हुम्लाको मात्र नभएर कर्नाली प्रदेशकै प्रशिद्ध देवताको नाम हो । यो देवता यहाँको सामाजिक जनजीवनमा देवास्वामी, कुलस्वामी र क्षेत्रस्वामीको पदग्रहण गरेर बसेकाले नै यसका अनेकौं नाम र काम छन् । वेद, उपनिषद्, पुराण, संहिता, स्मृति, यात्रा वृतान्त र सनदपत्र आदि विभिन्न ऐतिहासिक प्रमाणको सन्दुसलाई खोलेर चिहाउँदा मस्टो संख्यात्मक गणना कतै १२, कतै २१, कतै ३६, कतै ४९, कतै ७२, कतै ८४, कतै १०० र कतै १२१ र कतै १८१ देखिए पनि मुल संख्या भने १२लाई आधार मानेर मस्टो पारिवारिक धरातललाई खोजी गर्न आवश्यक देखिन्छ । अनि मात्र मस्टो र मस्टोइतरका देवदेवीहरुको नौला नौला कथ्यहरु र तथ्यहरु पmेला पर्ने छन् तर कसले खोजी गरिदिने यो एक प्रश्नवाचक कुरा रहेको छ ।  यस्तै हुम्ला लगायत कर्नालीका सयौं गाउँहरूमा बसोबास गर्ने धेरै मानिसहरूलाई तपाई अदालतमा नगएर किन ? देवताको माँडुमा जानुहुन्छ भन्ने जिज्ञासामा राख्दा अदालतको लामो प्रक्रिया, झन्झटिलो, पैंशाको दोहन, स्थलगत अध्ययनको कमी, शक्ति र सत्ताको कुरा मान्ने र निष्पक्ष नहुने जस्ता कुराहरूबाट आजित भएका प्रशंगहरू जोडिन आउँछन् । किनकी पढेलेखेकाहरू अनेकौं तरिकाले प्रमाण जुटाएर अड्डा (अदालत) जान्छन् । यसको विकल्पमा यो न्यायिक पद्धतिले स्थान पाएको देखिन्छ । स्थानीय माँडुहरुमा दैनिक रुपमा सामाजिक तथा सांस्कृतिक रुपमा मुद्धाको छिनोफानो हुने गरेको छ । यसका लागि धेरै पद्धतिबाट फाष्टट्रयाक, सम्मोहन, जादुटुनामुना र स्थानीय भैभलादमीको बयानका आधारमा मुद्धा छिनोफानो गर्ने गरिन्छ । कतिपय सन्दर्भमा खोलाको चैन (रीतिथीति) असान्दर्भिक हुँदा हुँदै पनि शिक्षाको कमी, सांस्कृतिक सन्दर्भ, पुरातन मान्यता र अगाध विश्वासको कारणले यस्तो भएको हो । तर यो रिक्ततालाई सरकारी मानो खाएकाहरूले स्थानीयतालाई ध्यान दिएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नु गराउनु पर्ने भए पनि यस्तो हुन नसक्नु राजाको काम कहिले जाला घाम जस्तै भएको छ ।  केही दशक अघि बरगाउँ निवासी लोप्चाङ्ग लामा र बुराउँसे निवासी गुरक्याप लामाको जारी मुद्धामा छिप्राको ल्वासुर देवताको धामीले ८० हजारमा छिनोफानो गर्दा दुवै पक्ष राजीखु्शी साथ दिनलिन तयार भएको घटना “कर्मचारी मिलन केन्द्र हुम्लाको मुखपत्र हुम्ला संगम”मा उल्लेख भएको प्रतिनिधि लिखत पनि हो । तापनि यस्ता घटनाहरू दैनिक सयौंका संख्यामा छिनोफानो हुने गरेका छन् । यिनीहरूलाई लिखत गरिएको भए हालसम्म हजारौं लाखौं पुग्ने देखिन्छ ।  हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । र त एकदशीदेखि पूर्णिमा र औसीसम्म विभिन्न प्रकारका पुजाआजा र उपसना गर्ने गराउने चलन रहेको छ । यसबाट शारीरिक तथा आत्म शुद्धता होस् र बनोस् भन्ने मान्यता रहेको छ । यस्ता धेरै प्रकारका संस्कारहरु प्रचलनमा आएका छन् र ल्याइएका छन् । यो प्रक्रियाबाट स्थानीयस्तरमा दैनिक सयौंको संख्यामा मुद्धाको छिनोफानो हुने गरेको छ । यस्ता विभिन्न उदाहरणहरुको लेखाजोखा गर्ने हो भने सयौं हजारौं पुस्तकहरु तयार हुनेछन् । यो न्यायिक पद्धति प्रथाजन्य कानुनको अब्बल नमुना मान्न सकिन्छ ।  यति हुँदा हुँदै पनि यसका केही राम्रा र नराम्रा पक्षहरु पनि रहेका छन् । पछिल्लो समयमा विज्ञान प्रविधिको विकास र विस्तारसँगै यस्ता पुरातन कुराहरु लोप हुँदै जान थालेका छन् ।  email: karnarokaya994@gmail.com हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ ।

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

३९७ दिन अगाडि

|

२७ साउन २०८१

प्रत्येक महिनाको अन्तिम शनिवार कीर्तिपुरमा आयोजना हुने ठुम्रार साहित्यिक बखेरीको १००औं भाग साउन २६ गते प्रज्ञा भवनको देवकोटा कक्षमा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘हमार संस्कृत्ति, हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औं भागमा ‘थारू कवितामा महिला हस्ताक्षर’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरियो ।  उक्त कार्यपत्रमा भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे । यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनु भएको थियोे । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे । कार्यपत्र थारु कवियत्रीहरुले के विषयमा लेख्दैछन् भन्दा पनि कार्यपत्र तथ्याङ्मा अल्झिएको धेरैको टिप्पणी थियो । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे । प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत आयोजकका रूपमा रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रुपले कविहरुको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरु प्नि उम्दा भएको उहाँको भनाई थियो । संघीयताको कार्यान्वयनको क्रममा थारु समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नु भयो, मैले पनि टीकापुरबारे लेख, कविता लेखेर थारु समुदायप्रति सद्भाव जताएको छु ।  कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे । उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे । सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, प्रकृति पूजा, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहनु भएका तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष तथा ठुम्रार साहित्यिक बखेरीका संयोजक डा कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे । कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

चितवनमा थारु लेखक संघ गठन 

चितवनमा थारु लेखक संघ गठन 

३९७ दिन अगाडि

|

२७ साउन २०८१

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारु लेखकहरुको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारु लेखक संघ चितवन गठन भएको छ ।  संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यहरुमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ । थारु भाषा, संस्कृति र पहिचानका लागि थारु लेखक जन्माउन र अगाडि बढाउनका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताए।  कचहेरीमा विभिन्न व्यक्तित्वहरुले विभिन्न विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । साहित्यकार मनोज चौधरीले आख्यानमा थारु समाजबारे, लक्ष्मण प्रसाद चौधरीले थारु भाषा र पाठ्यक्रमबारे, भाजुराम महतो र डा संजय महतोले नामको राजनीति र थारु समुदायमा यसको प्रभावबारे, कारी महतोले थारु भाषाको मानकीकरण अभियानबारे, संजय चौधरीले सिमान्तकृत समुदाय र सामाजिक न्यायबारे, भजुमनराम महतोले थारु जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । कचहेरीको उदघाटन सत्रमा खैरहनी नपा वडा नं ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, थाकस पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कचहेरी थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।  २०७३ वैशाखमा दाङमा डा कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ गठन भएको थियो ।

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

३९७ दिन अगाडि

|

२७ साउन २०८१

लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा साउन २६ गते शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसको अध्यक्षमा मान बहादुर चौधरी पन्ना, उपाध्यक्षमा सुमित्रा चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यहरुमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी, कलावती चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।  साधारण सभामा संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०८०÷०८१ अषाढ मसान्तसम्मको १ लाख ७१ हजार ९७७  रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ ।  साधारण सभामा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन सचिव जित बहादुर चौधरीले प्रस्तुत गरेका थिए ।  अध्यक्ष पन्नाले आगामी दिनमा संस्थालाई अझै सशक्त रुपमा बढाउन नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताउँदै थारू भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यतालाई संरक्षण गर्न युवा पुस्ता, पुराना पुस्तालाई जोड्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम गर्ने र थारू समुदायमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने योजना बनाएर अगाडि बढ्ने बताए । कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले  सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारू उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारू समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशबाट संस्कृति मन्त्रायलयबाट भाषा तथा साहित्य विधामा क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) बाट पुरस्कृत भएका सुर्खेतका स्रष्टा पन्नाले सुर्खेती थारूको गौरब बढाएकोमा बधाई दिदै आगामी दिनमा अझै सशक्त रुपमा कलम चलोस् भन्ने शुभकामना दिए ।   कार्यक्रममा थारू कल्याणकारिणी सभाका पूर्व केन्द्रीय पार्षद टेक बहादुर चौधरीले थारू समुदायमा संस्कृतिको अथाह भण्डार भएकोले पहिचान बचाउनुपर्ने र सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले सुर्खेतमा रहेका सबै थारू संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । लखागिन थारू उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारूले थारूहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारू समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  ।  कार्यक्रममा लखागिन थारू उत्थान मञ्चका सल्हाकार कालुराम दहितले थारू समुदायको अगुवाई गरी यस संस्थाले उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । साथै, पुराना थारू लोकगीत, माँगर, सजना, मैना जस्ता भाकाका गीतहरुलाई जोगाउनुपर्ने आवश्यकता आंैल्याए । कार्यक्रममा थारू अगुवा समाजसेवी विष्णु चौधरी, मानविर थारू, शेरबहादुर थारू लगायतका वक्ताहरुले थारूहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।