ठूला दलका शीर्ष नेताहरूबाट रेशम निर्दोष भएको स्वीकारोक्तिले न्यायको आशः रन्जिता

ठूला दलका शीर्ष नेताहरूबाट रेशम निर्दोष भएको स्वीकारोक्तिले न्यायको आशः रन्जिता

१३८८ दिन अगाडि

|

२५ पुष २०७९

के छ नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको  साझा सहमतिमा ?

के छ नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको  साझा सहमतिमा ?

१३९० दिन अगाडि

|

२४ पुष २०७९

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मोर्चावन्दीका लागि  १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । आइतबार भएको सहमतिमा दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय रहेका  छन् । साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ । जबकि जनमत पार्टीले यो मोर्चावन्दी अघि नै संघीय सरकारमा एक मन्त्री सहभागी गराइ सकेको छ । जनमत पार्टीले मधेस प्रदेशमा तथा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्य मन्त्रीको दावी गरिरहेका छन् । 

सुदूरपश्चिममा सरकार गठनः कांग्रेसले तोड्न सक्ला एमाले–माओवादी गठबन्धन ?

सुदूरपश्चिममा सरकार गठनः कांग्रेसले तोड्न सक्ला एमाले–माओवादी गठबन्धन ?

१३९० दिन अगाडि

|

२४ पुष २०७९

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनको लागि आह्वानको डेडलाइन घर्किँदै गएपछि दलहरूको बेचैनी चुलिएको छ ।  पुस १० गतेयता विकसित राजनीतिक घटनाक्रमपछि कुनै पनि गठबन्धनको स्पष्ट बहुमत देखिएको छैन । दलहरू आपसी छलफल, संवादमा व्यस्त रहनका साथै शक्ति केन्द्र धाउन थालेका छन् । यहाँका दलका नेताहरू संघीय राजधानी केन्द्रित समेत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार बनाउनमा आफूहरूको कसैलाई समर्थन नरहेको स्पष्ट पारेपछि बहुमतको जोड घटाउ गर्दै आएका माओवादी–एमाले नेतृत्वको गठबन्धन निराश बनेको छ । त्योभन्दा बढी नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरूलाई रिहाइसहित मुख्यमन्त्री पद नै दाबी गरेपछि उनीहरूलाई नराम्ररी झस्किएका छन् । उनीहरू नागरिक उन्मुक्तिलाई फकाउँदै आएका छन् । तर नागरिक उन्मुक्तिलाई अन्य पद दिएर आफ्नै नेतृत्वमा सरकार बनाउने उनीहरूको रणनीति छ । नागरिक उन्मुक्तिको हालसम्मको तटस्थ भूमिकाले माओवादीबाट धोखा पाएको कांग्रेसलाई ढाडस मिलेको छ । तर कांग्रेस पनि नागरिक उन्मुक्तिबाट पूर्ण विश्वस्त भने हुन सकेको छैन । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह भन्छन्, ‘हामी सबै दलसँग छलफल चलिरहेको छ । सबैबाट सकारात्मक जवाफ नै पाएका छौ । तर एमाले र माओवादी भन्दा हामी नागरिक उन्मुक्तिबाट धेरै विश्वस्त छौँ । उनीहरूको माग मुद्दाबारे हाम्रो दल स्पष्ट छ । सबैलाई थाहा छ । जुन कारण हामी सम्मिलित सत्ता समीकरण बनेको अवस्थामा नेतृत्व ठुलो कुरा होइन ।’ नागरिक उन्मुक्तिले सरकार बनाउनमा सहयोग गरेको अवस्थामा मुख्यमन्त्री दिन कांग्रेस तयार रहेको नेता शाहले आशय व्यक्त गरे । नेता शाह हाल काठमाडौँमै छन् । आफ्नो नेतृत्वमा सरकार गठनको दौडधुप गरिरहेको नेकपा माओवादीले पनि नागरिक उन्मुक्तिबाट सहयोगको अपेक्षा गर्दै आएको छ । मुख्यमन्त्रीको आकांक्षा व्यक्त गर्दै आएका माओवादी केन्द्रका सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट भन्छन्, ‘नागरिक उन्मुक्तिको माग र मुद्दाप्रति हाम्रो दल गम्भीर छ । अध्यक्ष कमरेडसँग उहाँहरूको संवाद पनि जारी छ । जुन कारण हाम्रो सहयोग रहनेमा दुई मत नहोला ।’ भट्ट पनि काठमाडौँमै छन् । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने आफूहरूको माग मुद्दा सम्बोधन नभएको अवस्थामा कुनै पनि गठबन्धनलाई आफूहरूले समर्थन नगर्ने बताउँदै आएका छन् । सम्भावित समीकरण ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा हालको माओवादी केन्द्र र एमाले नेतृत्वको सत्ता साझेदार दलहरूलाई पनि प्रदेश सरकार निर्माणमा आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिन्छ । केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपाको सिट सङ्ख्या जोड्दा यहाँ २२ मात्रै पुग्छ । नागरिक उन्मुक्ति पार्टीका ७ सिट जोड्दा २९ पुग्छ र सहज रूपमा बहुमत जुट्छ । अर्कोतिर, प्रदेशसभामा ठुलो दल रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्दैन । कांग्रेसका १९ र  नेकपा समाजवादीका ४ जोड्दा जम्मा २३ पुग्छ । नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्रै यो गठबन्धनमा सहज बहुमत पुग्ने देखिन्छ । जुन कारण एमाले वा माओवादी नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर गर्दै आएका छन् । सरकार गठनका के छ व्यवस्था ? बहुमतको सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक बनेपछि अल्पमतको सरकार बन्ने सम्भावना पनि प्रबल बन्दै गएको विश्लेषण गरिन थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बहुमतको सरकार नबनेको अवस्थामा प्रदेश प्रमुखले ठुलो दललाई अल्पमतको सरकार बनाउन आह्वान गर्न सकिने व्यवस्था रहेको बताउँछन् । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।  धारा १६८ कै उपधारा (३) अनुसार ३० भित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । यो अवस्थामा सबैभन्दा ठुलो दल कांग्रेसले अल्पमतको सरकार बनाउने बाटो खुल्ने उपाध्याय बताउँछन् । तर त्यसको लागि पनि नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था छ । सो धाराको उपधारा (७) को (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्न सकिने व्यवस्था रहेको छ ।

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

१३९० दिन अगाडि

|

२४ पुष २०७९

मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ ।  मधेसी आयोगले मधेसमा रहेको जात जातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो क्लस्टरमा मुस्लिम र थारुलाई पनि मधेसी क्लस्टरमा राखिएको थियो । त्यसपछि मुस्लिम आयोग तथा थारु आयोगले ‘मुस्लिमहरू मधेसी होइनन्, उनीहरूको छुट्टै क्लस्टर र पहिचान रहेको’ भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरूले सो निर्णयको व्यापक विरोध गरे ।  मुस्लिम आयोगका अध्यक्ष अन्सारीको त्यसबेला अभिव्यक्ति थियो– नेपालको संविधान २०७२ जारी हुनु पहिले कठिन सङ्घर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिङ्गो समुदाय र लोकतन्त्र  माथिको प्रहार हो । मधेस एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेसमा मात्र होइन, काठमाडौँ  तरार्इ ,पहाड र हिमालमा बसोबास छ । त्यसैले  सबैलाई एउटै बाकसमा राख्ने कोसिस गर्नु गलत हो । मधेसी आयोगले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ ।’ ब्यापक विरोधपछि मधेसी आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई मङ्सिर २१ गते पत्र पठाएर मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाइएको जानकारी दिएको थियो ।  मधेसी आयोगको निर्णयपछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मुस्लिमको आफ्नो छुट्टै पहिचान र क्लस्टर रहे पनि अहिले कानुनको रूपमा विचाराधीन रहेको कारण मधेसी क्लस्टरमा नै रहेर सेवा सुविधा लिने प्रतिक्रिया दिएका थिए ।  तर मुस्लिमलाई मधेसी क्लस्टरबाट हटाएपछि मुस्लिम आयोगले पुनः गृह मन्त्रालयलाई पुस १९ मा पत्र लेखी मधेसीमै राख्न भनेको छ । सो पत्रको बेहोरा छ, ‘निजामती सेवा ऐन, २०४९ मा मधेसी समुदाय उल्लेख भएको छ । तत् समयको संवैधानिक व्यवस्था अनुसार नै मधेसमा बस्ने मुस्लिम समुदायलाई पनि मधेसीमा राखिएको छ । मधेसी व्यवस्थाअन्तर्गत नै मुस्लिम समेत भएको र सोही अनुसार नै मुस्लिम समुदायले लोकसेवामा प्रतिस्पर्धा गर्दै आएको छ । हालसम्म रही आएको यही निजामती सेवा ऐन, २०४९ को कानुनी व्यवस्थाअनुसार हाल मुस्लिम समुदायलाई मधेसी मुस्लिम भनी पहिलादेखि दिँदै आएको सिफारिस हाल नदिएकाले लोक सेवा आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुन परेको अवस्था देखिएकाले पहिलादेखि दिँदै आएको सिफारिसलाई निरन्तरता दिन गृह मन्त्रालय र संघीय मामिला प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने ।’ यसले मुस्लिम आयोगका कारण मुस्लिम कुन क्लस्टरमा बस्ने संकट देखिएको छ ।

थारू लेखक संघबाट थारू साहित्य पुरस्कारका लागि कृति आह्वान 

थारू लेखक संघबाट थारू साहित्य पुरस्कारका लागि कृति आह्वान 

१३९२ दिन अगाडि

|

२२ पुष २०७९

थारू लेखक संघ नेपालले ‘थारू साहित्य पुरस्कार २०७९’ का लागि कृति आह्वान गरेको छ । कार्यसमितिको हालै धनगढीमा बसेको बैठकले माघ २० देखि २२ गतेसम्म राप्ती सोनारीको सिढन्वामा  ७औं  राष्ट्रिय थारू साहित्य सम्मेलनको अवसरमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ ।  यसका लागि संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई आगामी माघ ५ गते भित्र आफूले लेखन तथा संकलन गरेको  कृति बायोडाटासहित मनोनय दर्ताका लागि अनुरोध गरेको छ । थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्मयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धानकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले  करिब ६ लाखको अक्षय कोष स्थापना गरेको छ ।  संघका अध्यक्ष जीत ट्रासनका अनुसार पुरस्कार रकमका लागि संस्थापक तथा आजीवन सदस्यता वापतको रकम तथा कार्यक्रम गरी जोगाइएको रकमले  अक्षय कोष स्थापना गरिएको हो । संघले प्रदान गर्ने पुरस्कार मूल्यांकन समितिको अन्तिम निर्णय नै सर्वमान्य हुने जनाएको छ । संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोषहरण चौधरीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो । यसपाली पुरस्कारको रकममा १० हजार बृद्धि गरी २५ हजार ५ रुपैया बनाएको छ । त्यसैगरी २०७७ चैत्र २१ र २२ गते सुर्खेतमा भएको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनमा आख्यानकार शेखर दहितलाई नगद ११ हजार १११ सहित पुरस्कृत गरिएको थियो ।

‘मैले मन्त्री माग्नु भन्दापनि पार्टी नेतृत्वले सोच्दै होलाः’ सांसद अमनलाल मोदी

‘मैले मन्त्री माग्नु भन्दापनि पार्टी नेतृत्वले सोच्दै होलाः’ सांसद अमनलाल मोदी

१३९४ दिन अगाडि

|

२० पुष २०७९

माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मधेसी तथा थारू समुदायबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जित्ने माओवादीका एक्ला सांसद हुन् । उनी यसपाली मोरङ–४ बाट विजयी भए । एक पटक समानुपातिक र दुई पटक प्रत्यक्ष निर्वाचित भएका मोदी २०७० साल, २०७४ साल र २०७९ सालको निर्वाचनमा गरी ३ पटक प्रतिनिधि सभा सदस्य भएका छन् । मन्त्री बन्ने प्रवल दाबेदारका रुपमा छन् उनी । खरो, प्रष्टवक्ता रहेका सांसद मोदीले अवको ५ बर्ष परिणाम दिने गरी काम गर्ने बताएका छन् । प्रस्तुत छ, समसामयिक विषयमा शम्भु दंगालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश : तेश्रो पटक संसदको यात्रा गर्दा कस्तो अनुभव गर्नुभएको छ ?  प्रत्येक पटक संसदमा आउने प्रक्रियालाई फरक फरक तरिकाले हेरिरहेको छु । २०७० को संविधानसभामा समानुपातिकमा आउँदा त्यतिखेर भर्खरको युवा थिएँ, त्यतिबेलाको संसद यात्रा अलि फरक थियो । त्यतिबेला यो देशबाट उत्पीडित वर्ग, समुदाय, किसान मजदुर, मधेसी, थारू, मुस्लिम, आदिबासी जनजाति, महिला, उत्पीडनमा परेका खस आर्य जोे बर्षौदेखि अन्यायमा परेका थिए । ती अन्यायमा परेकाहरुलाई संविधानमा न्याय दिनुपर्छ भन्ने मेरो एजेण्डा संविधान सभाका बेला थियो ।  दोश्रो पटक विराटनगर जस्तो ठाउँबाट त्यहाँका जनताले जिताए । दोश्रो कार्यकालमा जनताका लागि विकास कसरी गर्ने, मेरो निर्वाचित क्षेत्रमा देखिएका समस्यालाई कसरी संसदमा पुर्‍याउने भन्नेमा केन्द्रीत रहें । त्यो पटक पनि मेरा नयाँ एजेण्डा नै थिए ।  यो तेश्रो पटक मैले अझै नयाँ एजेण्डाहरु देखेको छु । संसदमा जति पटक आएको छु, नयाँ एजेण्डाहरु नै लिएर आएको छु । पहिला संविधान सभामा निर्वाचित भएका बेला एकै प्रबृत्तिका साथीहरु हुनुहुन्थ्यो, अहिले नयाँ नयाँ प्रबृत्ति र पात्रहरु आउनु भएको छ । उहाँहरुसँग पहिले सहयात्रा छैन, यो पटक पेचिलो ढंगले संसदको यात्रा अघि बढ्न सक्ने महसुस भइरहेको छ ।  जनताको भोट पाउन पैसाले पनि हुँदैन, मन जित्ने कुरा हो । अझ मध्यम, उच्च र शहरिया वर्ग माओवादीप्रति नकारात्मक देखिए । खर्चको हिसाबले, राजनीतिक हिसावले प्रत्यक्ष तर्फको चुनाव लडेर जित्न कत्तिको गाह्रो हुँदो रहेछ ?   पहिलो कुरा माओवादी पार्टी कुनै समयमा जनयुद्धबाट आएको पार्टी हो । जनताले अपार विश्वास गरेर २०६४ सालमा धेरै मत दिएको पार्टी हो । हाम्रै कालखण्डमा कैयौँ कुरा गर्न नदिइएपछि हामीप्रति आशावादी भएका जनतामा निराशा छायो ।   जनताको भोट पाउन पैसाले पनि हुँदैन, मन जित्ने कुरा हो । अझ मध्यम, उच्च र शहरिया वर्ग माओवादीप्रति नकारात्मक देखिए । त्यो मनोविज्ञान किन भयो भने राज्यका जति संरचना छन्, सामाजिक संरचनाहरु सबै एमाले, काँग्रेसको होल्डमा छन् । चाहे टोल संगठन होस्, चाहे सहकारी होस्, चाहे वन समिति होस्, चाहे स्कुल व्यवस्थापन समिति होस्, चाहे निजामतितिर होस् । बोर्डिङ स्कुलको मालिकदेखि स्वास्थ्य क्षेत्रका मालिक अनि एनजिओ, आइएनजिओ यी सबैको संरचना एमाले र काँग्रेसको पकडमा छ ।   हाम्रो यस्तो कुनै संरचना छैन, त्यो अवस्थामा हामी चुनाव लड्नुपर्ने अवस्था छ । न्यायालय, संवैधानिक आयोगमा उहाँहरुको प्रभाव छ, यस्तो अवस्थामा चुनाव लड्नुपर्दा हामीलाई त्यसैपनि कठिन हुन्छ । माओवादीको कठिन आन्दोलनका कारण परिवर्तन भएको, नयाँ संविधान जारी भएको कुरा हामीले जनतामा पुर्‍याउन सकिरहेका छैनौँ ।  यद्यपि म शहरिया जनमतबाट विराटनगरबाट निर्वाचित भएको छु । माओवादीका बारेमा सिर्जना गरेका केही भ्रमहरु चिर्न सफल भएको छु ।  यसअघिको तपाईंको संसदीय यात्राको अनुभवमा एउटा सांसदको रुपमा के गर्न सकिँदो रहेछ ? के गर्न नसकिने रहेछ ?    सांसद भएपछि जनताका धेरै ससाना समस्यामा पनि जोडिनुपर्ने हुन्छ । जस्तो कोही मान्छे अस्पताल लानुपर्ने भयो, भर्नादेखि डिस्चार्जको बेला त्यहाँ केही छुट गर्नुपर्ने भयो । त्यसका लागि सिधै सांसदको खोजी हुन्छ ।  कोही व्यक्ति अन्यायमा पर्‍यो, जिल्ला प्रहरी कार्यालय वा प्रहरी चौकीमा सांसद नै खोज्ने कार्य हुन्छ । अरु समस्यामा पनि जनताले सांसद खोज्नुहुन्छ । म सकेसम्म जनताका सबै समस्यामा जोडिन प्रयत्नरत छु । कोरोना महामारी लगायतका कारण पछिल्लो २ वर्षमा भने जनताका लागि सोेचेअनुसार काम गर्न सकिएन ।  माओवादी केन्द्रमा मधेसी तथा थारू समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसदको रुपमा हुनुहुन्छ । पार्टीमा तपाईंको भूमिकालाई पार्टीले कसरी मूल्याङ्कन गरेको छ ?  पार्टीले राम्रो सोचेका कारण नै मलाई पटक पटक उम्मेदवार बनाएको छ म पटक पटक सांसद भएको छु । पार्टीमा म भन्दा धेरै सिनियर कमरेडहरु हुनुहुन्छ, जनयुद्धमा सँगै नेतृत्व गरेका कमाण्डरहरु हुनुहुन्छ । म भन्दा माथिल्लो पदमा रहेका व्यक्तित्वहरुले अझैसम्म पनि राजकीय पद पाउनुभएको छैन  । यद्यपि मलाई जिम्मेवारी दिइएको छ, पार्टीले मेरो भूमिकालाई मूल्याङ्कन गरिरहेको छ ।  माओवादी आन्दोलनलाई स्थापित गरेर जाने एउटा सुनौलो अवसर अहिले आएको छ । यसबेला सिधै जनतासँग जोडिने कुरा, जनताका मुद्धा अगाडि बढाउने कुरा, विकास, जनजीविका, न्यायको कुरालगायत माओवादीको गिरेको साखलाई कसरी उठाउने चिन्तन हुनुपर्छ । तर तपाईंको खास मूल्याङ्कन भए जस्तो लागेन । जबकि अघिल्लो संसदको कार्यकालमै मन्त्रीको दावेदार हुनुहुन्थ्यो । यो कार्यकालमा तपाईंले कुनै मन्त्रालय सम्हाल्नेबारे कुराकानी भएको छ ?  जो निर्वाचित भएर सांसदको रुपमा संसदमा आइपुग्छन्, स्वतः सबै मन्त्रीका दावेदार हुन् । त्यस बारेमा बनाउने वा नबनाउने कुरा पार्टीको हो ।  पार्टीमा अध्यक्षसँग यसबारे कुराकानी भएको होला नि ?  पार्टीले को नेता सक्षम छ चिन्ने कुरा भइहाल्छ । अहिले मेरो एउटा मिसन छ, चाहे मन्त्रीको रुपमा सरकारमा होस् या सामान्य सांसद भएर होस्, हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड हुनुहुन्छ, उहाँको प्रधानमन्त्रीको कार्यकाललाई कसरी सफल बनाउने, माओवादी आन्दोलनलाई उठाउनका लागि सहयोगीको भूमिका खेल्ने एउटा मेरो संकल्प छ ।  तर समुदाय, क्षेत्रको भेगीय हिसाबले पनि पार्टीको सद्भाव त होला नि मन्त्री बनाउने ।     पक्कै पनि, यसो हेर्दै गर्दा तपाई भनेकै कुरा हो जस्तो पनि लाग्छ । यो कुरा मैले भन्नु भन्दापनि पार्टी नेतृत्वले सोच्दै होला । किनभने पार्टी नेतृत्वबाट नै सबै कुरा निर्धारण हुन्छ ।  म फेरि पनि भन्छु कि माओवादी आन्दोलनमा एउटा संकट छ, माओवादीको बारेमा जुन भ्रमको खेती भइरहेको छ, जुन भ्रम समाजमा फैलाइएको छ, त्यो भ्रमलाई कसरी चिर्ने भन्नेमा लाग्नुपर्ने भएको छ । हाम्रो श्रद्धेय पार्टी अध्यक्ष अहिले प्रधानमन्त्री हुनुभएको छ । उहाँको पार्टीमा नेतृत्व र प्रधानमन्त्री कार्यकाललाई कसरी सफल बनाउने भन्ने कुरामा चाहे सरकारमा बसेर होस्, चाहे संसदमा बसेर होस्, त्यसका लागि काम गर्न दृढ छु ।  माओवादी आन्दोलनलाई स्थापित गरेर जाने एउटा सुनौलो अवसर अहिले आएको छ । यसबेला सिधै जनतासँग जोडिने कुरा, जनताका मुद्धा अगाडि बढाउने कुरा, विकास, जनजीविका, न्यायको कुरालगायत माओवादीको गिरेको साखलाई कसरी उठाउने चिन्तन हुनुपर्छ । अघिल्लो पटकको ३७ सिटबाट १८ सिटमा झरेका छौँ । माओवादी आन्दोलनलाई कसरी पुनर्जागरण गर्ने, यो देशमा माओवादी पार्टीलाई वाहवाही कसरी दिलाउने भन्ने कार्यका लागि प्रतिबद्ध भएर लागेको छु ।  यो देशमा परिवर्तन माओवादीले ल्याएको हो । यही परिवर्तनबाट आज मजदुर, किसान, महिला, जनजातिले न्याय पाएका छन् । यी कुराहरुलाई संस्थागत गर्ने सुनौलो अवसर आएको छ । यो माओवादी पार्टीलाई पुनर्जागरण गर्ने अवसर हो । माओवादीलाई ठूलो पार्टी बनाएर जाने अवसर हामी जस्ता युवा पुस्तामा छ । मन्त्री गौंण कुरा हो । अहिले माओवादीमा युवा पुस्तालाई पार्टीको नेतृत्वका लागि तयार पार्नुपर्‍यो भन्ने कुरा आइरहेको छ । तर एउटा पुरानो पुस्ता नै पटक पटक मन्त्री हुन जाने प्रचलन पनि छ, यस बारेमा तपाईंको धारणा के हो ?  पटक पटक चुनाव जित्नुहुन्छ, पटक पटक मन्त्री बन्नुहुन्छ, यो स्वभाविक पनि हो । आफ्नो क्षेत्रबाट निर्वाचित भएको सांसद मन्त्री बनोस् भन्ने त्यहाँका जनताको पनि चाहना हुन्छ, यो पनि स्वभाविक हो । धेरै पटक मन्त्री बन्नेहरुसँग मेरो कुनै वैरभाव छैन । जो मन्त्री भएपनि उहाँहरुले कुशलतापूर्वक काम गरे हुन्छ । माओवादीले उठाएको आन्दोलन, देश र जनताको हितमा रहेर काम होस् भन्ने मात्रै मेरो चाहना हो ।  संसदको भूमिकामा अवको ५ वर्ष कसरी प्रस्तुत हुने सोचाईमा हुनुहुन्छ ?  अघिल्लो कार्यकालजस्तै विकास र समृद्धिका एजेण्डा पनि छन् । यो कार्यकालमा मैले खासमा ३ वटा एजेण्डाहरु लिएर आएको छु ।  पहिलो कुरा म किसानको छोरा भएको कारणले आजपनि किसानले न्याय नपाएको अनुभव छ । भनेजति मल, सिँचाई पुगेको छैन । उत्पादन भएको सामग्री बेच्न बजार पाएका छैनन् । उनीहरुको कुरा संसदमा उठाउँछु । दोश्रो भनेको मजदुरका समस्या । नेपालका मजदुरहरु ठूलो अन्यायमा परेका छन् । ती मजदुरहरुको हकहितको आवाज उठाउँछु ।  तेश्रो कुरा नेपालका बेरोजगार युवाहरु लाखौं लाखको संख्यामा विदेशमा गएका छन् । प्रत्येक दिन लाश भएर फर्किरहेका छन् । ४० देखि ५० डिग्री तापक्रममा काम गरिरहेका छन् । यी मुद्धाहरुलाई राष्ट्रिय मुद्धा बनाएर संसदमा बोल्ने मेरो योजना छ । अरु विषय र मुद्धा जनजीविका, विकास निर्माणका कुरा, राष्ट्रियताको कुरामा मैले आवाज उठाउने यो कुरा त निरन्तर नै छ । आफूलाई एक अब्बल सांसदको रुपमा कुरा स्थापित गर्नेछु ।  युवा पुस्तालाई अगाडि बढाउने कुरामा माओवादी केन्द्रले पनि अरु पार्टीजस्तै कञ्जुस्याँई गर्छ, किन होला ?  मलाई त्यस्तो लाग्दैन, अब पार्टीले त्यस्तो गर्छ भन्ने । नेतृत्वको विकास भनेको युवा पुस्ता हो । यसको अर्थ फेरि नेतृत्वलाई विस्थापन गर्ने भन्ने हैन, विकास गर्ने हो । हाम्रो श्रद्धेय अध्यक्ष बूढो हुनुहोला, हाम्रा धेरै नेताहरु बूढा होलान् । भोलि माओवादी पार्टीबाट प्रधानमन्त्री बन्नु पर्ला । कोही न कोही त त्यसका लागि नेतृत्व विकास गर्नुपर्ला नि । मााओवादी सधैँ यही अवस्थामा रहँदैन, फेरि उभार भएर आउँछ नै ।   अहिले त प्रचण्ड नेतृत्वको माओवादीलाई कसैले हराउन नसक्ने रहेछ भन्ने भइरहेको छ । शहरिया जनमत पनि माओवादीप्रति आकर्षित भइरहेको छ ।  माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने चौथो अवसर पाएको छ । विगतमा माओवादीले सोचेअनुसार काम गर्न सकेन । यो पटक कसरी काम गर्नुपर्ने देख्नुहुन्छ ? मैले यसअघि पनि भनें कि यो पटक मेरो ध्येय भनेको, मेरो अर्जुनदृष्टि भनेको दायाँबायाँ नगरी माओवादीको गिर्दो साखलाई अझैमाथि उठाएर लैजाने, यसको नेतृत्व गरिरहनु भएका पार्टीका श्रद्धेय अध्यक्षलाई कसरी सफल पर्ने भन्नेमा केन्द्रीत रहेको छु ।  हाम्रा सबै एजेण्डाहरुलाई सफल पार्नका लागि अहिले एउटा मौका छ । यो देशलाई सफल बनाउने दायित्व हाम्रो काँधमा आएको छ । मेरो तर्फबाट त्यो दायित्व पूरा गर्नु छ । यो पटक माओवादी केन्द्रका सबै नेता, कार्यकर्ता, जनतापनि सबै मिलेर यो पटक हाम्रो नेतृत्वलाई कसरी सफल पार्ने भन्ने अभियानमा जुट्नु छ ।  रातोपाटीबाट   

चेपाङ बस्तिमा चिसिंदा

चेपाङ बस्तिमा चिसिंदा

१३९४ दिन अगाडि

|

१९ पुष २०७९

                                                                                                                                तस्विरः सर्जु चेपाङसँग लेखक चितवनको पहाडी गाविस कोराकतिर सल्यानी मित्र रतनलाल केसीसँग मोटरसाइकलमा हुँइकियो । पुरानो पर्सा बजारबाट ४ किलोमिटर पूर्व वीरेन्द्रनगर बजारबाट उत्तरतर्फ कोराक गाविसको मध्यभाग किरनटार गाउँसम्म म कैयौँपटक गएको छुँ । रतन भने दोश्रो पटक गइरहेको थिए । ‘किरनटारबाट ठकुरी भन्ज्याङसम्म बाटो राम्रो छ, मोटरसाइकल मजाले आउँछ’‐ हामीलाई सूचना दिनेले यस्तै भनेको थिए ।  किरनटारबाट ठुकरी भन्ज्याङ हिँडेर गए ४ घण्टा, हामीलाई पैदल जाने जाँगर चल्ने कुरै थिएन । त्यसैले, पर्याप्त पेट्रोलको जुगार गरेर हिँड्यो हामी भटभटेमा । तर किरनटारबाट थोरै उकालो उक्लिएपछि भटभटेको कान जति बतार्दा पनि माथि उक्लिन मानेन । हामीले बाइक किरनटार झार्यौं अनि चिनजानको शेरबहादुर तामाङको आँगनीमा राख्यौं । अब यात्रा कसरी अगाडि बढाउने भन्ने चिन्तामा रहेका हाम्रा लागि धन्न ठकुरी भन्ज्याङसम्म जाने मालबाहक गाडी किरनटारमा तम्तयार थियो । हामी चामलको बोरामा बोरालाई दुख्ने गरी बस्यौँ । ठाउँ ठाउँमा चामल झारियो, दुखाइ मेटिनाले चामललाई त सहज भयो होला । तर हाम्रो बसाइँ भने झन् झन् असहज हुँदै गयो ।  ठकुरी भन्ज्याङ पुग्नु अगावै एक ठाउँमा बाटोमा सखरखण्ड, पिँडालु, स्कुसको जरा विद्युतीय तराजुमा तौलिँदै थियो । तामाङ थरका व्यापारीले चेपाङ किसानबाट ती सामग्री खरिद गर्दै थिए । बदलामा नगद होइन, चामलको बोरा थमाउँदै थिए । किसानबाट ४० प्रतिशत मार्जिन राखेर तरकारी किनिरहेका तिनले चामल बिक्रीमा मार्जिन नराख्ने त कुरै थिएन । काइदा जाने फाइदा हुन्छ भनेको यही हो क्यारे ।  ठकुरी भन्ज्याङ पुग्न आधा घण्टा अगावै यहाँ चामल झार्नु छ, हिँडेर जानुस्, नभए झन् बेर हुन्छ भनेर गाडीले हामीलाई विदा दियो । गाविस भवननेर स्कूलका पियन हामीलाई लिन आउने कुरा थियो तर तिनी कतै देखा परेनन् ।  पियन नआए पनि गन्तव्यसम्म पुग्न हामी ढुक्क थियौ । किनकि हामीसँग गाडीमै चिनजान भएका १७ वर्षे युवा सर्जु चेपाङ थिए । ‘समर्पण’ उपनाम लेख्ने उनले हाम्रो गन्तव्य श्री राप्रावि ग्लाउथोकको स्कूल भवनसम्म पु¥याइ दिने भए । बाँदर लड्ने भीड  ग्लाउथोक गाउँमा एउटा पनि पसल नभएको जानकारी पाएपछि हामीले ठकुरी भन्ज्याङको सानो घुम्तीमा केही सामान किन्यो । सामान पोको पारेपछि सर्जु भाइले भने‐ ‘अप्थ्यारो बाटोका कारण अब चाँइ गुल्टिदै जानु पर्छ है सरहरु । मन, मुटु दरो पार्नु होला ।’  हामीले सर्जुका कुरा खासै गम्भीरतापूर्वक लिएका थिएनौँ । तर एकैछिनमा आइपुग्यो, उकाली ओराली । गुल्टिदै जाने बाँदर लड्ने भीड । न समाउने हाँगो, न टेक्ने ठाउँ । टेकेको माटो बुर्रर खस्छ । हामी दुई भाइ चार हात खुट्टा टेक्दै बाँदरझैं लिस्नो उक्लिन थाल्यौं ।  मलाई आफ्नै एकजोर कपडा र केही किताबको पोकाको झोला भारी भइरहेको थियो । रतन आफ्ना सामान पनि मेरो झोलामा कोचेर फुक्काफाल थिए । तर म भन्दा बढी अप्ठ्यारो ढंगले पहाडी बाटो छिचोल्दै थिए । सल्यानी रतन पहाडको उकालो ओरालोमा म दंगाली तराईको थारूभन्दा डरपोक देखिदै थिए । सर्जु भाइसंग सोध्दा चेपाङ भाषामा हाम्रो पुग्ने गन्तव्य ‘ग्लाउथोक’को अर्थ हुने रहेछ ‘कामेर ठोकेको ।’ पहाडको अजंग बाटो देखेर हामी साँच्चिकै कामिरहेका थियाँै । एक ठाउँमा बाटो यति नराम्रो थियो कि दुइ अंगुल जति टेक्न मिल्ने, पाखो खोपेर, समाउनलाई काठ ठोकेर बनाइएको जस्तो लाग्ने । हामी दुई भाईले लख काट्यौँ‐ कहीँ कामेर ठोक्दै गरेको यही ठाउँ त होइन ?, जसबाट ‘ग्लाउथोक’ नामकरण भएको छ । सर्जु चेपाङको कठिन जिन्दगी हामी हिँडेको बाटो जति गाह्रो थियो, त्यो भन्दा पनि गाह्रो जिन्दगी हामीलाई बाटो देखाउने पथप्रदर्शक सर्जु समर्पण चेपाङ भाइको थियो । तिनले हामी सामु बिसाएको दुःखको भारी यस्तो थियो‐  ‘जाँड खाएर आमासँग सधैँ झगडा गर्ने बाबा एकदिन झुण्डिएर मरे । २ वर्ष जति त आमाले दुःख गरेर पालिन् । त्यसपछि उनले पनि आफ्नो बाटो तताइन् अर्थात् पोइल हिँडिन् । त्यतिबेला म जम्मा ८ वर्षको थिएँ, भाइ ५ वर्षको । काकाको घरमा आश्रय लियौं । बाबा आमा नभएका हामी टुहुरालाई कल्ले पो माया गथ्र्यो र ? कयौँ दिन वनमा कन्दमुल मात्रै खाएर वनमै सुतेको छुँ ।’  उनी अगाडि भन्दै गए, ‘पढ्ने वातावरण भएन । त्यसैले, कक्षा २ सम्म मात्रै पढ्न सकें । गाउँकै एकजना दाइ नारायणगढ ग्यारेजमा काम गर्थे । उनकै पछि लागेर कलिला हातमा रिन्ची, पिलास समातेँ । मिस्त्री भएको छुँ अहिले । आफूले पढ्न नपाए पनि भाइलाई पढाउने ठूलो धोको थियो । तर ऊ पनि मेरै लाइनमा छिरिसक्यो । ग्लाउथोकमा मेरो आफ्नो घर छैन । बाको घर त स्याहार बिना उहिल्यै ढलिसक्यो । आज दिदी भिनाजुको गोठमा सुत्छुँ । नभए पाश्चर बाको घरमा सुत्नु पर्ला । आफ्नो घर नभए पनि आफूले दुःख गरेको गाउँ आउन मन लाग्दो रहेछ सर ।’  यसरी सर्जु भाइको व्यथा सुनेर हाम्रो यात्राको यति जाबो उकाली ओराली केही पनि होइन रहेछ भन्ने लाग्यो । कति महान रहेछ उनको गाउँको प्रेम ।  बीच बाटोमा हामीलाई लिन जाने पियन भेटिए । जो हेडसरको लागि ग्लाउथोकबाट २ घण्टा हिँडेर रिचार्ज किन्न ठकुरी भन्ज्याङ जाँदै थिए । उनीसंग उनको ६ बर्षे छोरा पनि थियो ।  ठकुरी भन्ज्याङबाट ग्लाउथोकको ओरालो झर्न हामीलाई ठ्याम्मै दुई घण्टा लाग्यो । झमक्क साँझ परेको बेला हामी पुग्यौ । स्कूलका पियन छोरासहित झन् राती आए । छोरालाई दुःख दिन किन संगै लगेको भनेर सोध्दा पियनले हाँस्दै भने‐ ‘यसलाई कहाँ गाह्रो हुनु सर । बरु लाइट लिए पनि मलाई गाह्रो भयो । तर यो त खुर्रर पो आयो ।’ लीलबहादुर क्षेत्रीले ‘बसाइँ’ उपन्यासमा वर्णन गरेको रागे भीर जस्तो भीर बाटो चार पाउ टेक्दै थला परेर आएको हामीलाई अँध्यारोमा पनि खुर्रर दौडिएर आउने त्यो पियनको छोरालाई सलाम गर्न मन लाग्यो ।  ग्लाउथोक पुग्दा हामी भोकले आलस तालस थियौँ । तर खाना तयार पारिएको श्री राप्रावि ग्लाउथोकका विद्यालय व्वस्थापन समितिका अध्यक्ष दीपबहादुर चेपाङको घरमा खाना र दाल मात्रै तयार थियो । कुनै तरकारी पाकेको थिएन, भान्सा नै तरकारीविहीन भएपछि पाक्ने छाँट पनि थिएन । त्यसैले, थकाईलाई दूर गर्न हामीले दाललाई सितन बनायौँ र एलटी अर्थात् लोकल ट्वाँट सुरुप्प सुरुप्प पार्न थाल्यौँ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छोरी चमेली चेपाङले खानेकुरा टक्¥याउँदै थिइन् । उनको पढाइबारे जिज्ञासा राख्दा आमाले दुःखेसो पोखिन्‐ ‘यल्ले ५ कक्षा पढेर छोडेको ठ्याम्मै दुइ वर्ष पुग्यो सर ।’  ‐अझै त सानै छिन् । किन छोडाएको त स्कूल ? ‐यहाँको स्कूल ५ सम्म मात्रै छ । यहाँबाट ६ कक्षा पढ्ने स्कूल कम्तीमा अढाइ घण्टा हिन्नुपर्छ । तेइ भएर नपठाको सर । यसरी चमेलीको पढ्ने मन हुँदाहुँदै पनि पढ्नबाट बञ्चित थिइन् बिचरी । छिमेकका अरु चमेलीको पनि अवस्था उस्तै थियो । पावर र सोर्सफोर्स हुनेले छात्रवृत्तिमा काठमाडौंसम्म पढ्न पठाउँदा रहेछन् ।  राती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेडसरले तरकारी खोजेर ल्याए, रातो भाले । पकाउन समय लागेन, खाना असाध्यै मीठो भयो । कुराकानीको बेलीबस्तिारमा समितिका अध्यक्षले उही आशा राखेर कुरा गरे‐ ‘सर त काठमाडौं बस्ने ठूलो मान्छे । यो चमेलीको उतै पढ्ने व्यवस्था मिलाइ दिनुप¥यो है । ठूलो कल्याण हुनेछ हामीलाई ।’ समितिका अध्यक्षलाई आश्वासन दिने मसंग कुनै पोको थिएन । बरु हेडसरले कुराकानी बिथोले । ट्वाँक भित्र छिरेपछि हेड सरले गफ लाउन थाले‐ ‘सरहरुले आज दुई घण्टा लगाएर झरेको ओरालो म त आधा घण्टामै छिचोल्छुँ नि ।’ ट्वाँकको मात्रा बढ्दै गएपछि उनले त्यो बाटो २५ मिनेट, २० मिनेटसम्म छिचोल्ने गरेको बताउन थाले ।       जाडोले लुगलुग हाम्रो विस्तारा थियो स्कुलमा । तर विस्ताराको नाममा केही थिएन । शिशु कक्षाको लागि ल्याइएको एबीसिडी लेखिएको प्लास्टिकको म्याट ओच्छ्याइएको थियो । हेडसरले सानो बर्को ल्याए । सम्मान पाएको कामचलाउ च्यादर धन्न मैले बोकेको रहेछुँ  ।  ‘ल, अरु ओढ्ने जुगार लाग्यो भने लिएर आउँछु’ यति भनेर हेडसर हिँडे । बिस्ताराको जुगार गरेर हेडसर आउलान् भन्ने आशै आशामा जाडोले पुरै ज्यान लुगलुग गर्न थाल्यो तर अँह उनी आएनन् ।  राती जाडोको मात्रा जसरी बढ्दै गयो, रतनको सिग्रेटको मात्रा पनि उसै गरी बढ्दै गयो । पछि हामीले नाम मात्रको म्याट ओढे जस्तो ग¥यौँ । र, कुक्रुक्क परेर जसोतसो सन् २०१६ जनवरी १ को त्यो रातको चिसो ठिहीलाई जितेरै छोड्यौँ । बिहान आएर मुसुमुसु हाँस्दै हेडसरले सोधे‐ ‘रात बसाइँ कस्तो भो सरहरु ? जाडो त भयो होला नि है ?’ उनीसंग झगडा गरेर केही फाइदा थिएन । उनले प्रश्नसँगै उत्तर पनि दिइ सकेका थिए । अग्रीम जानकारी गराउँदा हुन् त हामीले स्लीपिङ ब्याग बोक्ने कष्ट गर्ने थियौं  । रातीको जाडोले अघाएका हामी बिहान हेडसरले पठाइदिएको खाजा पनि खान सकेनौ । चेपाङ भाषाको पुस्तकबारे छलफल चेपाङ भाषाको कक्षा १ को किताबबारे छलफल गर्ने सिलसिलामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बिहानै ७ बजे डाकिएको थियो । ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले २०७२ बैशाखबाट लागु हुने गरी चेपाङ भाषाको कक्षा १ को पुस्तक तयार पारेको थियो ।  उक्त पुस्तक लेखन समूहको संयोजन मैले गरेको थिएँ । त्यसैले, किताबको पठनपाठनबारे छलफल चलाउन संस्थाले मलाई किताब लागु भएको स्कूल ग्लाउथोकको दैलो कुल्चिन पठाएको थियो ।  सवा आठ बजेसम्म एक दुईजना बाहेक समितिका सबै सदस्य आइपुगेका थिए । तर धेरैका खुट्टामा जुत्ता चप्पल थिएन । केही महिला पदाधिकारी सामान्य ब्लाउजमा थिए । कठै यिनले कसरी सहँदा हुन्, पहाडका जाडो । अव भने काँडा उम्रिएर यिनका जिउको लुगा अगाडि हाम्रो रातको जाडो त के जाडो झँै लाग्न थाल्यो ।  प्रकृतिको लीला पुसको तुँवालोलाई चिर्दै धन्न बिहानै घाम झुल्किएको थियो । गाउँलेहरु हँसिलो मुहारमा आरआरएनले आफूहरुको चेपाङ भाषामा किताब बनाइ दिएको भनेर धन्यवाद दिए । अरु कक्षाको किताब पनि तयार पारिदिन आग्रह गरे । तर आरआरएन चितवनका प्रमुख रतनलाल केसीले यो वर्ष कार्यक्रम सकिएकाले थप सहयोग गर्न नसकिने भन्दै निराश बनाइ दिए ।  छुट्टिनु अघि हामीले कार्यक्रममा उपस्थित चेपाङ दाजुभाई, दिदीबहिनीहरुसंग उनीहरुकै भाषामा गीत सुनाउन फर्मायस ग¥यौ । सबैले आफूहरुलाई गीत गाउन नआउने लजाउँदै बताए । धन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप चेपाङले गीत गाएर अनिकालको बीऊ जोगाए ।  २०७१ सालमा चेपाङको कक्षा १ को किताब तयार पार्ने क्रममा चितवनको कोराक गाविसमा चेपाङ भाषाको लोककथा, लोकगीत भन्न जान्ने पुर्खा खोज्दा हत्तुहैरान भइयो । एकजनाले गीत, कथा सुन्ने भए रक्सी ख्वाउन भने । रक्सी ख्वाउनु कुन ठूलो कुरा थियो र ? तर एक बोटल रित्याएपछि गललल्ल हाँस्दै भने, ‘सर मलाई त गीत, कथा क्यै नि आउन्न है । रक्सी खान हजुरलाई ढाँटेको पो ।’ यसरी एकजना पनि गीत, कथा भन्न सक्ने स्थिति नरहेपछि चेपाङ भाषाको बीऊ जोगिने छाँट अब मैले देखेको छैन ।  ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडा, उत्तर वाङसिलिङ (लोथर गाविसको एक गाउँ), पश्चिम ठकुरी भन्ज्याङ अनि दक्षिण जिम्लिङ गाउँ पर्छ । जिम्लिङ नेपोलियन चेपाङको गाउँ हो, जो प्रेस चौतारी केन्द्रिय कार्यालय बागबजार, काठमाडौमा कार्यरत छन् । उनलाई मैले एकदिन भने‐ ‘म त तिम्रो गाउँ पुगेर आएँ नि ।’ मेरा कुरा भुइमा खस्न नपाउँदै उनले टप्लक्कै भने‐ ‘ह्या, मलाई त आफनो गाउँ जान नि झयाउ लाग्छ । मनै लाग्दैन भन्या ।’  हो पहाडको उकाली, ओराली सम्झिँदा राजधानीको रंगीनमा हराएको ठिटोलाई कसरी आफ्नो गाउँ प्यारो लाग्दो हो र ? आफ्नो गाउँको मन जित्न नसक्नेले संसारै जित्ने नेपोलियन नाउँ किन राखेको पो होलान् भन्ने पनि लाग्यो । यिनी भन्दा त कहाँ हो कहाँ, सर्जु समर्पण चेपाङ जस्ता युवा छन्, जो गाउँमा आफ्नो घर नभए पनि गाउँ सम्झेर आइरहन्छन् । सबैले गाउँ बिर्सिन थाल्ने हो भने सहर अझै कंक्रिट बन्दै जाने निश्चित छ । बिहान खाना खाइबरी ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडो ओर्लिदै फर्किने योजना तय भयो । किनकि ठकुरी भन्ज्याङको ओरालो २ घण्टामा पार गर्ने हामीलाई उही बाटोबाट फर्किदा आज उकालो उक्लिन ४ घण्टा लाग्ने पक्का थियो । हामीले मोटरसाइकल छाडिराखेको पसलेलाई महेन्द्र राजमार्गसम्म मोटरसाइकल ल्याइ दिन अनुरोध गर्यौं र ल्याङलिङ डाँडोको पदचिन्ह पछ्यायौं ।  चेपाङ राजमार्गमा गाडी पाइने ठाउँ बस्ती ब्रुम्तीसम्म पुग्न आज पनि हिँडेर ठ्याक्कै २ घण्टा लाग्यो । गाडी कुर्न अर्को दुई घण्टा । सामान ओसार्ने लोभले यता चल्ने गाडीमा सिट रखिदो रहेनछ ।  सानोमा आमाले भन्ने गर्थिन्‐ ‘नाङ्लोमाथि भुल्लिएर पनि नबस्नु है माइला, नभए नाङ्लो जत्तिकै ठूलो खटिरा जिउमा उठ्न सक्छ ।’  आमाको वचनको बेवास्ता गर्दै ब्रुम्तीबाट भण्डारासम्म नाङ्लोमाथि बसेर यात्रा गरियो । चेपाङ राजमार्ग नाउँ जुराइएको यो निर्माणाधीन बाटो भण्डाराबाट मलेखु पुग्दो रहेछ ।  चेपाङ राजमार्ग त एकदिन बन्ला नै । तर राजमार्गबाट ५÷६ घण्टा ठाडै उक्लिने चेपाङ बस्तीका कैयौ गोरेटो बाटो भने कहिले बन्ने हुन् कुन्नि । चेपाङ बालबालिकाले आफ्नै आँगनमा हाइस्कूल कहिले पढ्न पाउने हुन् कुन्नि । मनभरि यस्तै कुरा खेलाउँदै महेन्द्र राजमार्ग छोइयो ।  ... यो यात्राको ७ वर्ष पुगेको छ । थाहा छनै, सर्जु चेपाङ अहिले कुन हालतमा छन् । चेपाङ राजमार्गको अवस्था कस्तो छ ? स्थानीय निकायमा चेपाङ पुस्तक लागुको अवस्था के छ ? संजोग जुरेमा ग्लाउथोकको यात्रा फेरि नि गर्न मन छ ।