थारू समुदायबाट २ मन्त्री, भगवती दोरिइन्, अमनलाल पहिलो पटक क्याविनेटमा

थारू समुदायबाट २ मन्त्री, भगवती दोरिइन्, अमनलाल पहिलो पटक क्याविनेटमा

१३८० दिन अगाडि

|

३ माघ २०७९

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित

१३८० दिन अगाडि

|

३ माघ २०७९

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । कैलालीबाट समानुपातिक प्रदेशसभा सदस्य भएकी उनी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो । चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मंगलबार बिहानै बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो । स्मरण रहोस्, उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परे पनि उसले उम्मेदवारी नै दिएन । 

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा को को परे नयाँ अनुहार ?

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा को को परे नयाँ अनुहार ?

१३८१ दिन अगाडि

|

३ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्। सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन्। अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन्। यी हुन् प्रचण्ड सरकारका नयाँ मन्त्री रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पुस ११ गते नै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका हुन्। उनी चितवन-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। केही महिनाअघि मात्र पार्टी गठन गरेर राजनीतिमा आएका लामिछाने त्यसअघि टेलिभिजन प्रस्तोता थिए। केही वर्ष अमेरिका बसेर उतैको नागरिकता र पासपोर्ट लिएका लामिछाने अहिले नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा नगरेको विवादमा मुद्दा खेपिरहेका छन्। उनीविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ ११ देखि सुनुवाइ गर्नेछ। राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जा मन्त्री गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका लिङ्देन २०७४ मा पहिलो पटक सांसद बनेका थिए। यसपालि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर झापा-३ मा निर्वाचित भएका हुन्। उनले जितेका दुबै चुनावमा लिङ्देनलाई नेकपा (एमाले)ले साथ दिएको थियो। सांसद हुनुअघि उनी झापामा राप्रपाको राजनीति गर्थे। विद्यार्थीकालदेखि नै राप्रपाको राजनीतिमा लागेका लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भएका थिए। विमला पौडेल राई, परराष्ट्र मन्त्री नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।  यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की  सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्। २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्। त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्। २०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।   शिशिर खनाल, शिक्षा मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्। सुरूमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। खनाल 'टिच फर नेपाल'का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए। डोलप्रसाद अर्याल, श्रम मन्त्री  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी) राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए। अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए। ध्रुवबहादुर प्रधान, कानून मन्त्री  राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुन मन्त्री बनेका छन्। उनी पहिलो पटक सांसद भएको हुन्।  २०५३ सालमा प्रधान नेपाल प्रहरीका महानिरीक्षक बनेका थिए। २०५६ मा अवकाश भएपछि उनी राजनीतिमा आएका थिए। त्यसपछि लगातार चुनाव लड्दै आएका उनी यसपालि नवलपरासी पश्चिम-२ बाट निर्वाचित भएका हुन्।  सुदन किराती, पर्यटन मन्त्री पर्यटन मन्त्री बनेका किराती माओवादी केन्द्र सांसद हुन्। किरातीले भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन्। किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए। किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए।  अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी मोरङ-५ बाट निर्वाचित सांसद हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए।  हकी स्वाभावका यिनी थरुहट आन्दोलनका क्रममा थारु सांसद संघर्ष समितिका प्रवक्ता थिए ।  पदम गिरी, स्वास्थ्य मन्त्री स्वास्थ्य मन्त्री बनेका गिरी पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचित नेकपा (एमाले) का सांसद हुन्। उनी २०७४ मा पनि पर्वतबाटै सांसद चुनिएका थिए। २०४७ सालदेखि राजनीतिमा आवद्ध भएका गिरी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति भएका थिए।  हरि उप्रेती, रक्षा मन्त्री रक्षा मन्त्री बनेका उप्रेती सर्लाही-३ बाट निर्वाचित भएका एमाले हुन्। उनी २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा उनले टिकट पाएका थिएनन्। उनी अहिले एमाले केन्द्रीय सदस्य छन्।  २०३७ सालमा अनेरास्ववियूको राजनीति सुरू गरेका उनी २०४४ देखि सक्रिय राजनीतिमा छन्। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेती उनका भाइ हुन्।  राजेन्द्र राई, भूमि मन्त्री धनकुटाबाट निर्वाचित एमाले सांसद राईले गत पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए। अहिले उनले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। राई २०७४ सालमा पनि धनकुटाबाट निर्वाचित भएका थिए। २०७० मा उनले चुनाव हारेका थिए।  २०३५ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका राई २०५१ सालमा धनकुटाको जिविस उपसभापति भएका थिए।  अब्दुल खान, खानेपानी मन्त्री खानेपानी मन्त्री बनेका खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सुरूदेखि नै राउतको अभियानमा सक्रिय थिए।यसपालि उनी समानुपातिकतर्फ सांसद बनेका हुन्। बर्दियाका खान पार्टीमा प्रशिक्षक थिए। उनले पनि पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए।  तर खानेपानी मन्त्रीमा चित्त नबुझेपछि उनले मंगलबार भने शपथ लिएनन् । डा तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्।  ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्की मेडिकल काउन्सिलकी पूर्व सदस्य हुन्। कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्। उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्।  सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री पर्यटन राज्यमन्त्री बनेकी श्रीपाली २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी हुन्। २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन्। उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन्। २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन्। उनी अहिले समानुपातिक सांसद हुन्।  राजधानी बाहिर भएकाले उनले आज शपथ भने लिन पाइनन्।  दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री ऊर्जा  राज्यमन्त्री बनेका सिंह मकवानपुर-१ बाट निर्वाचित सांसद हुन्। उनले नेकपा (एमाले) को चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापा र कांग्रेसका डिना उपाध्यायलाई हराएका हुन्।  गत वैशाखको चुनावमा उनी हेटौंडा उपमहानगरको मेयरमा पराजित भएका थिए। मकवानपुरबाट पटक-पटक विभिन्न निर्वाचन लडेका उनी यसपालि पहिलो पटक विजयी भएका हुन्।  उनी ज्ञानेन्द्र शासनकालमा मकवानपुरको जिविस सभापति भएका थिए।  

जसको जीवन फेरिदियो ढकियाले !

जसको जीवन फेरिदियो ढकियाले !

१३८२ दिन अगाडि

|

२ माघ २०७९

नारायण खड्का बिहीबार दिउँसो सुशीला चौधरीको घर पुग्दा उनी ढकिया बुन्दै थिइन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ८ बटवलपुर हो उनको घर। थारू समुदायका अधिकांश महिला ढकिया बुन्न सिपालु हुन्छन्। यो सीप प्रायः घरकै एक पुस्ताले अर्को पुस्तालाई सिकाउँदै जान्छन्। ३५ वर्षीया सुशीलालाई पनि उनकी आमाले सिकाएकी हुन्। उनी आमाले ढकिया बुनेको देख्दै हुर्किइन्। आमाले ढकियामा लत्ताकपडादेखि महत्वपूर्ण मानिने सामग्री, गरगहना राख्थिन्। कहीँकतै जान परे त्यसमै कोसेली राखेर लैजाने चलन अझै छ। थारू समुदायले घरायसी प्रयोजनमा ढकिया एकदमै धेरै प्रयोग गर्ने सुशीला बताउँछिन्।  'ढकिया हाम्रो समुदायको पहिचान नै हो भन्ने लाग्छ,' उनले भनिन्। कुनै बेला आफूलाई चाहिएअनुसार ढकिया बुन्ने सुशीला अचेल दिनहुँ बुन्छिन्। यसको कारण हो यो ढकिया आम्दानीको स्रोत बन्नु।  सुशीलाले बुनेका ढकिया अचेल उनको घरछिमेकमा मात्र होइन, विदेशमा पनि सजिन थालेका छन्। अझ ढकिया मात्र होइन, पेन-होल्डर, खानेकुरा बोक्ने हटकेस, पूजाडाली, ह्याट लगायत सामान पनि उनी बनाउँछिन्। यो काममा सुशीला एक्ली छैनन्। उनीजस्तै महिलाहरू घरको कामधन्दा सकेर फुर्सदमा यी सामान बुनाउँछन्। घरै बसीबसी काम गरेर उनीहरूले आम्दानीको बाटो भेटेका छन्। सुशीला त ठाउँठाउँमा यस्ता सामान बनाउने तालिम दिन पनि जान्छिन्। तुलसीपुर–१९ वडा कार्यालयले गत वर्ष माघमा सञ्चालन गरेको एकमहिने ढकिया बुन्ने तालिमको प्रशिक्षक सुशीला नै थिइन्। 'तालिम दिएवापत् दैनिक एक हजार रूपैयाँ पारिश्रमिक लिएँ,' उनले भनिन्। सुशीलाका तीन छोरी छन्। जेठी राप्ती बबई क्याम्पसमा स्नातक पढ्दै छिन्। माइली र कान्छी स्थानीय सरकारी स्कुलमा कक्षा ८ र ७ मा पढ्छन्। श्रीमान ट्र्याक्टर चलाउँछन्। छोरीहरूको पढाइ खर्च सुशीलाले यही कामबाट जोहो गर्दै आएकी छिन्। 'अब पहिले जस्तो श्रीमानको आश गरी बस्नु पर्दैन,' सुशीलाले खुसी हुँदै भनिन्, 'बरू श्रीमानसँग पैसा नहुँदा मसँग माग्नु हुन्छ।' ढकिया बुन्न थालेपछि पैसासँगै अवसर पनि कमाएकी छन् उनले। विभिन्न ठाउँ घुम्ने र देख्ने मौका जुर्न थालेको छ। पोहोर मंसिरमा उनी जीवनमै पहिलोपटक काठमाडौं गइन्। चार दिन संघीय राजधानी बस्दा बेग्लै अनुभव बटुल्न पाएको उनी बताउँछिन्। सुशीला २०७७ सालमा गठन भएको 'सूर्योदय महिला ढकिया उद्यमी समूह' की सदस्य हुन्। त्यही साल तुलसीपुर उपमहनगरपालिका कार्यालयले ढकिया बुन्ने निःशुल्क तालिम दिएको थियो। बीसदिने भनिए पनि कोरोना चर्को भएकाले १४ दिन मात्र भयो। बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी।बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी। समूहमा दस जना थिए, सबैले तालिम लिए। उनीहरूसँग परम्परागत रूपमा ढकिया बुन्ने सीप पहिल्यै थियो। तालिममा आकर्षक र व्यावसायिक कसरी बनाउने भनेर थप सिक्न पाए। ढकियासँगै अरू सामग्री पनि बनाउन सिके। समूहकी कोषाध्यक्ष ३६ वर्षीया पार्वती चौधरीले भनिन्, 'तालिमबाट हामीलाई सीपसँगै आत्मविश्वास बन्न सिकायो।' घरायसी प्रयोजनका लागि जस्तो भेट्यो त्यस्तै र थोरै कच्चा पदार्थले ढकिया बुन्दा हुन्थ्यो। व्यावसायिक बनाउन राम्रो र धेरै चाहियो। मुख्य कच्चा पदार्थ भनेको काँसको पात हो। राम्रो काँस बर्दियामा पाइन्छ। २५ देखि ३० वटासम्म पात भएको मुठोको सय रूपैयाँ पर्छ। खर भने दाङमै पाइन्छ। समूहलाई बर्दिया पुगेर काँस ल्याउन मुश्किल थियो। उनीहरूले तत्कालीन मेयर घनश्याम पाण्डेलाई आग्रह गरे। उनले घाँस लिन उपमहानगरपालिककै गाडी पठाइदिए। महिलाहरूले आपसमा रकम संकलन गरे र दुई-चार जना बर्दिया पुगे। दस हजार रूपैयाँको काँस किनेर ल्याए। उठाएको पैसाअनुसार समूहमा भागबन्डा गरे। त्यसपछि सुरू भयो घरै बसेर उद्यमी बन्ने यात्रा। सामानहरू रंगीन बनाउन सुरूमा धूलो रङलाई पानीमा हालेर तताइन्छ। मनतातो भएपछि काँसका पात हालेर झन्डै आधा घन्टा जति उमालिन्छ। रङ गाढा देखिएपछि निकालेर सुक्न दिइन्छ। अनि फलामको ठूलो सियोको मद्दतले ढकिया बुनिन्छ। सुशीला, पार्वती र अरू महिलाहरू यसैगरी ढकिया र अरू सामान बनाउँछन्। सामान बेच्न बजार खोज्न धेरै दुःख छैन। ग्रीन फाउन्डेसन नामक संस्थाले बिक्रीमा सहजीकरण गरिदिन्छ। यो संस्थाका केन्द्रीय अध्यक्ष तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे नै छन्। यो फाउन्डेसनले उनीहरूबाट सामान किन्छ। मागअनुसार विदेशमा निर्यात पनि गर्छ। गत साउनयता झन्डै दुई सय वटा सामान थाइल्यान्ड पठाइएको पाण्डेले जानकारी दिए। 'त्यहाँ हुने मेलाहरूमा प्रदर्शनीका लागि भनेर माग आएको थियो। हामीले समन्वय गरी पठाएका हौं,' उनले भने, 'चीन र अस्ट्रेलियाबाट पनि माग आएको छ। चाँडै पठाउँछौं।' यसबाहेक विभिन्न संघसंस्था, पालिकाहरू र तुलसीपुर उपमहानगरपालिकाले उपहारका लागि यी सामान लैजान्छन्। व्यक्तिहरू नै पनि उपहारकै लागि किन्न आउँछन्। ग्रीन फाउन्डेसनले उद्यमी महिलाहरूलाई देशका विभिन्न ठाउँमा हुने गोष्ठी, समारोह र प्रदर्शनीमा पनि सहभागी गराउँछ। खाने, बस्ने र यातायात खर्च संस्थाले बेहोर्ने भएकाले उनीहरूले बेचेका सामानको पैसा बचत हुन्छ। संस्थाले समूहलाई आर्थिक सहयोग पनि गर्छ। पोहोर कच्चा पदार्थ किन्न ३० हजार रूपैयाँ सहयोग गरेको समूहकी कोषाध्यक्ष पार्वतीले बताइन्। यो समूहको नेतृत्व ५१ वर्षीया शर्मा चौधरीले गरिरहेकी छन्। उनका अनुसार उनीहरूलाई यो कामबाट राम्रै आम्दानी भइरहेको छ। शर्माले बर्दियाबाट दुई हजार रूपैयाँको काँस ल्याएकी थिइन्। त्यसबाट बनाएका सामान बेचेर हालसम्म ४५ हजार कमाइसकिन्। केही सामान बनाउन पुग्ने काँस बाँकी नै छ। 'घर धन्दाको काम सकेर फुर्सदमा मात्र बुन्न पाइन्छ। त्यसैले धेरै समय लाग्छ,' शर्माले भनिन्, 'दिनभर सरासर बुन्न पाए त चाँडै सकिन्थ्यो। कमाइ पनि बढ्थ्यो।' समूहका महिलाले बनाएका पेन होल्डरदेखि ढकियासम्मको भाउ फरक छ; पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्म बेच्छन्। विशेष प्रकारको झुम्के ढकियाको आठ हजार रूपैयाँसम्म पर्छ। यसमा मेहनत पनि धरै नै लाग्छ। शर्माका अनुसार झुम्के ढकियाको बाहिरी भागमा सुतही (पानीमा पाइने जीव) को बाहिरी भाग राखेर सजाइएको हुन्छ। सुतही उनीहरू बबई नदीबाट खोजेर ल्याउँछन्। पानीमा उमालेर भित्रको मासु खान्छन् र बाहिरको खोल रंगाएर झुम्का बनाउँछन्। 'ढकिया बुन्न थालेदेखि श्रीमानसँग हात थाप्नु परेको छैन,' उनले भनिन्, 'उल्टै श्रीमानले माग्छन्।' यो समूहमा अहिले १५ जना छन्। समूहका सबै महिला छोराछोरीको पढाइ खर्चदेखि घरमा चाहिने सरसामान आफैं किन्न सक्ने भएको उनले बताइन्। उनीहरूको आत्मविश्वास पनि बढेको छ। देख्ने, सुन्ने र आफ्ना कुरा भन्ने अवसर पाएका छन्। समूहमा आवद्ध भएपछि नै शर्मा पनि पहिलोपटक काठमाडौं पुगेकी थिइन्। महिलाहरू स्वतन्त्र हुँदै गएको उनको अनुभव छ।  कोषाध्यक्ष पार्वतीले पनि पोहोर सामान बेचेर २७ हजार रूपैयाँ कमाइन्। यो वर्ष दुई पटक गरी झन्डै ४० हजार रूपैयाँ बराबरको सामान पठाइसकिन्। उनकी छोरी निजी कलेजमा कक्षा ११ मा र छोरा निजी स्कुलमा कक्षा १० मा पढ्दै छन्। श्रीमान अटोरिक्सा चलाउँछन्। उनले पनि श्रीमानलाई आवश्यक पर्दा आर्थिक सहयोग गर्छिन्। 'पछिल्लो समय त घर व्यवहार मैले नै चलाउँदै आएकी छु,' उनले भनिन्, 'सीप भएपछि आत्मविश्वास बढ्दो रहेछ। केटाकेटीले कहिले कापीकलम, कहिले खाजा किन्ने पैसा माग्छन्। आफ्नै कमाइ झिकेर दिन पाउँदा धेरै नै खुसी लाग्ने रहेछ। हाम्रो त जीवन नै फेरिएको छ।' फुर्सदको समय सदुपयोग गरेर कमाइ गर्न सफल भएकामा उनी मख्ख छिन्। २०७८ सालमा दंगीशरण गाउँपालिकाले आयोजना गरेको ढकिया बुन्ने दसदिने तालिममा उनी पनि प्रशिक्षक भएर गएकी थिइन्।  यस्ता तालिम वा प्रदर्शनीमा कसलाई पठाउने भन्ने कुरा समूहमा छलफल गरेर निधो गरिन्छ। छनोट गर्दा आलोपालो तरिका अपनाइने अध्यक्ष शर्माले बताइन्।  यो समूहको आफ्नै भवन पनि छ जुन उनीहरू आफैंले श्रमदान गरेर बनाएका हुन्। सरकारबाट पाँच लाख रूपैयाँ सहयोग समूहले पाएको थियो। सिमेन्ट ब्लकको गारो लगाएर जस्तापाताको छानो हालेको भवन ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको छ। यही भवनमा हरेक महिनाको २ गते नियमित बैठक हुन्छ। सबैले मासिक पाँच सय रूपैयाँ बचत गर्छन्। समूहका कसैलाई अप्ठ्यारो परे एक प्रतिशत ब्याजदरमा नगद सहयोग पनि पाउँछन्। सेतोपाटीबाट

पर्सिहवाको माघी

पर्सिहवाको माघी

१३८३ दिन अगाडि

|

३० पुष २०७९

सुरेन्द्र चौधरी  नजिकैको बाँसको घारीमा बस्ने चराहरुको चिर्विराहट शान्त भैसकेको थियो । गाउँका गोठमा बाँधिएका गाई, भैसी घाँस, पराल खाएर उग्राइरहेका थिए । जाँडरक्सीको रमझममा रमाउनेहरु बाहेक बेलुकीको खाना सबैले खाइसकेको थिए । केही घरबाट मादल र डफको सुमधुर आवाज आइरहेको थियो । यसको साथै सामूहिक धमार गीतको आवाज पनि गुन्जिन सुरु भैसकेको थियो–  डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।     (डफको आवाजले तँ मन भुलाउदैछस् अर्थात् मेरो अगि कचौराको रक्सी, वरिपरि छ तरकारी पिउँदा पिउँदै कहाँसम्म पिऊँ ? ...  माइलो पर्सिहवा भरखर गाई गोरु बाँधी, कोन्टी (कोठा) मा आएर केही नखाइ खाटमा पल्टिरहेको थियो । तर थाहा छैन खै कुन्नी किन डफको आवाज पनि आज उसलाई मन परिरहेको थिएन । नाच गर्न, गीत गाउनमा सौखिन थियो उ ।  डाँई सकाएर रातभरी धमार गाएर विताउने मान्छे । उसको सुरिलो स्वरले भरिएको धमारलगायत गीत सुन्न सबै लालयित हुन्थे र मन्त्रमुग्ध भएर सुन्ने गर्थे  ।  तर आज उ साँच्चिकै केही गम्भीर र उदास देखिन्छ । उसलाई थाहा छ, आज अहिले उसको मालिक बोलाउन आउँछ । अघिपछि उसको झुपडीतिर अनुहार पनि नदेखाउने, सधंैभरी मुन्टो बटारी हिंड्ने मालिक पक्कै पनि नक्कली चिनी हाली गुलियो कुरा लिई खोज्नी–बोज्नी (माघीको सरसल्लाह) गर्न बोलाउँछ ।  माइलो पर्सिहवा तीन चार दिनदेखि विचार गर्दैछ, आफ्नो मालिकको व्यवहार । सुर्ती खाँदा समेत हर्जा भयो भनेर गाली गर्ने उसको मालिक । कहिलेकाहीँ त थकाइ लाग्यो होला एकछिन बिसाउनुपर्छ भन्दैछ । आखिर पशु त होइनौं, तिमीहरु भन्दै तेल लाउन सुरु गरिसकेको थियो ।  हुन त पर्सिहवालाई पनि थाहा थियो, विगत वर्षजस्तै यसपालि माघीमा पनि कमाउन छाड्ने हो कि भन्ने डरले मालिक कालो नागको रुपमा देखा पर्दैछ । तर उ चाहेर पनि त केही हुनेवाला छैन । सांैकी (ऋण) र अघिपछि चाडपर्वमा लिएको अन्न, कपडा र पहिले उसको बुबाले गरेको ऋण उसलाई जेलमा बन्दीजस्तो बनाई सकेको थियो मालिकले ।  पर्सिहवाको ऋण भएकोले कमाउन छाड्दैन भन्नेमा ढुक्क थियो उसको मालिक । उसलाई थोरै डर थियो कि अरु कसैले ऋण तिरेर छुटाउन पनि सक्छ भन्ने । कमैया बनाउनको लागि आखिर यो समाजमा पशुजस्तै खरिद विक्री पनि त भएकै छ यो समाजमा ।  पर्सिहवा साँच्चिकै कति चिन्तित छ आज । यसपाली त उ जसरी पनि काम गर्न छाडेर अन्तै कतै मजदुरी भए पनि गर्ने अठोट लिएको छ । एकै छाक खाएर भए पनि स्वतन्त्र ढंगले काम गर्न पाइन्छ, मनमा लागेको कुरा बोल्न पाइन्छ भनेर सोच्दै छ उ । छोराहरु पनि ठूला भैसकेकोले उनीहरु पनि हेर्दाहेर्दै कमैया बनिसकेछन् । कान्छोलाई त आफ्ना हाडमासु घोटेर, छाक काटेर भएपनि पढाउनुपर्छ । केटा पनि तिखो दिमागको देखिन्छ । दश कक्षासम्म त चाँडो पढ्छ होला । ठूलो भयो भने त मालिकको छोराजस्तै हाकिम बन्ला र कम्तीमा बुढ्यौलीमा सहारा त देला । त्योभन्दा अझ ठूलो कुरा हाम्रो पुख्र्यौली पेशाजस्तै बनेको कमैयाबाट त छुटकारा त पाउला ।  यदि त्यसो भयो भने तिउरे बाहुनको घरमा भाँडा माझ्ने कमलरी छोरीको राम्रो घर खोजेर धुमधामसित विहे गर्दिनुपर्ला । सौंकी तिरियो भने अन्य भाईहरु पनि त छुटकारा पाउलान् । कमैया जीवनबाट मुक्ति दिएर उसको छोरा पुर्खाको इतिहास बदलेर जरुर नयाँ इतिहास रच्नेछ ।   पर्सिहवा आफ्नो कल्पनाको चिलगाडी (जहाज) उडाउँदै थियो । त्यही चिलगाडीमा बसेर उ आफ्ना अतीत र पुर्खाको इतिहासको वरपर सयर गर्न थाल्छ ।  त्यतिबेला बेला उ आफ्नो कान्छो छोरा जत्तिकै थियो होला । जबदेखि उ जानकार भयो, उ मालिकको बाख्रा चराउन थाल्यो । समयको वेगमा उ छेगरहवाबाट बढुवा हुदै बर्डहुवा र हलो जोत्ने कमैया बनेको थाहै पाएन । अब उसको होस खुलेको छ, मालिकको एउटा होशियार कमैया भैसकेको छ । दाई भाउजु दिनापुर गाउँ कमाउँथे भने काका उत्तर पूर्वको सिम्तालीको घरमा ।  जबसम्म उ जवान थियो । कमायो, खायो, मनमा कुनै सोंच फिकिर थिएन । जवानीसँगै विहे पनि भयो, पर्सिहान चिनरुप्नीसँग । माइला छोरा भएकोले विहेपछि उसको वास्तविक नाम हराएर माइला पर्सिहवा भएको थियो ।  बिहेपछि केटाकेटी पनि मकैको फुलौरा उठेसरी एकपछि अर्को हुँदै घर भरिए । आज चुरा छैन, ब्लाउज छैन, कैले टीका छैन, केटाकेटीको च्यातिएको, टालो लागेको कमीज, कमाई केही छैन । अब बल्ल उसलाई कमैया जीवनको वास्तविकता थाहा भएजस्तो लाग्यो ।  पर्सिहवाको विचार आफ्नो श्रम र आयमा गएर अड्किएको हुन्छ । काम त दिन रात गर्छ, अझ श्रीमती पनि मालिककै घर ओरगिन्या भएकी छे । तर कमाई आफ्नो खाने र लत्ता कपडामा पनि नपुग्ने । अब त कमाउदिनँ, यसपालि माघमा त जसरी भए पनि कमैया छाड्छु र अरु कामको खोजी गर्छु । गत साल पनि उ खोज्नी–बोज्नी गर्दा कमैया नगर्ने भनेर प्रस्ताव गरिसकेको थियो ।  तर अहँ आठ हजार रुपैयाँको सौकीले उसलाई छुटकारा दिएन । के गर्ने मन मारेर फेरि उही मालिककहाँ नै कमैया बस्न बाध्य हुन्छ । आफ्नो ऋणको बारेमा उ कहिल्यै चासो राखेको थिएन । मानौ यति धेरै ऋण कहाँबाट आयो । उ अचम्म मान्थ्यो । किनकि यति धेरै ऋण त उसले कहिल्यै लिएको थिएन । बूढो भएर लौरो समातिसकेको आफ्ना आमा बुबासंग सोधेपछि पो नयाँ रहस्य थाहा पायो ।  मालिककहाँ भएको यो ऋण त उसको बुबाको पालादेखि नभएर हजुरबा, जिजुबाजेको पालादेखिकै रहेछ । पर्सिहवाको बुवा दुखवा पनि त थाहा पाउने बेलादेखि मालिकको बाख्रा चराउने काम गथ्र्यो । उसको बुबा, बाजे पनि कमैया नै थिए । दुखवा आफ्नो बाबुको जेठो छोरा थियो । त्यतिबेला जम्मा तीन सय मात्र ऋण थियो । एकपटक मालिकले खेतमा उखु लगाउने जिम्मा कमैयाहरुलाई दिएको थियो । तर अपसोच उखु उम्रिएन । मालिकले कमैयाउपर दोष थुपा¥यो । उखु नरोपेर उनीहरुले खाए या आफ्ना नातागोतालाई बाँडे भनेर । त्यही उखुको मोल र जोताउने खर्च कुल मिलाएर बीस हजार रुपैया अब दुई कमैयाहरु मिलेर तिर्नुपर्ने भयो । यसरी दुखवाको तीन सयबाट दश हजार तीन सय रुपैया मालिकलाई तिर्नुपर्ने भयो ।  दुनियालाई थाहा थियो कि यो त सरासर अन्याय नै हो, अत्याचार हो, शोषण हो र गरिबको खुन पसिनाउपर गरिएको खेलवाड हो । तर सबै चुप रहे, दुखवालाई पनि मुखमा ताला लाउनुप¥यो । उसलाई थाहा थियो गाउँका अन्य मान्छे उसको पक्षमा बोल्ने कोही पनि छैन । किनभने सबैको मालिकदेखि डर छ । उसले मात्रै भनेर त मालिकको रौं पनि हल्लिदैन ।  त्यस बीचमा दुखवाको अर्को भाइ पनि कमाउने भैसकेको थियो । भाईलाई दश हजार रुपैया ऋणबाट आधा पाँच हजार रुपैया दुखवाको मालिकलाई तिरेर कमैया बनाउन लगेको थियो अर्को जिम्दारले ।                                                          अब माइला पर्सिहवाको मनमा केही साेंच र छटपटी परेजस्तो हुन्छ । उसको त खानदान नै कमैया थिए । पुर्खाको इतिहास कमैयाबाट सुरु भएको थियो । अब उ आफ्नो मात्र नभएर आफ्नो सन्तान र उनीहरुको भविष्य पनि अन्धकार देख्न थाल्छ । आफ्ना बुवा, हजुरबा, ऋणले गर्दा उसलाई रात दिन मालिकको खेतमा हाड छाला घोट्नुपर्छ । ऋणले उसको छोरा छोरी पनि त यस्तै कमैया बन्नुपर्ने हुन्छ ।  तर म कदापी अब यस्तो हुन दिने छैन । मेरा बाउ बाजेले जानेनन् । तर म पनि त्यस्तै गरुला र ? अहँ, म आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउँछु । यसपाली त कमैया छोड्छु  र अरु केही काम गर्छु । जब–जब माघी आउँछ उ यस्तै बर्बाराउँछ तर ऋण तिर्न असमर्थ हुन्छ ।  यस्तो भन्दै आएको कति वर्ष भैसक्यो । उसको कपाल पनि फुलेर सेतै भैसके र उसको जेठो र माइला छोरा जसलाई उसले कमैया नबनाई पढाउने सोच बनाएको थियो, उनीहरु पनि कमैया भैसकेका छन् । अब माइला पर्सिहवाको आशाको केन्द्रविन्दु कान्छो छोरा मात्र बाँकी छ । त्यसैले त उसलाई जसरी भएपनि पढाउन कस्सिएको छ र उसलाई ठूलो मान्छे बनाउने सपना बुनेको छ । अनि कमैयाको इतिहास मेटाउन चाहेको छ ।  ऽऽऽऽ     ऽऽऽऽ  ‘ए मझला पर्सिहवा..।’  पर्सिहवा आफ्नो मालिकले बोलाएको सुनेर उ विगतको कल्पनाबाट वर्तमानमा आइपुग्छ ।  के गर्दैछस्, कि सन्चो छैन ?  मालिकले खोज्नी–बोज्नी गर्न बोलाउन आइसकेको थियो ।  ‘हजुर केही पनि भको छैन । एकछिन पल्टेको, निदाएछ’ु भन्दै आफ्ना च्यातिएका लुंगी आढेर मालिकको पछिपछि लाग्छ ।   मालिकको अगेना वरिपरि सबै कमैया बसिराखेका छन् । माइला पर्सिहवा पनि एकातिर पिर्कामा बस्छ । ‘हेर माइला, सबै यस वर्ष पनि यही नै कमाउने भएका छन् । तिम्रो के विचार छ ?’ विस्तारै मालिकले कुरा सुरु गर्छ ।  ‘हजुर, इ बरस टे कमैना बिचार नै हो’ (यस वर्ष त मेरो कमाउने विचार छैन) ।  तल मुन्टो गरीकन डराइ–डराइ बोल्छ पर्सिहवा । मालिकको अनुहारमो कुनै चिन्ता र हैरानी देखिन्न, बरु एउटा कुटिल मुस्कान फैलिन्छ । किनभने उसलाई थाहा छ, पर्सिहवा कति वर्षदेखि खोज्नी–बोज्नीमा यही जवाफ दिन्छ । मालिकले पर्सिहवाको कमजोर नसा–नसा थाहा पाइसकेको हुन्छ ।  ‘कमाएनौ भने ठिकै छ, तिम्रो पहिलेको र यस वर्षको कुल मिलाएर बीस हजार ऋण भैसकेको छ । यति पैसा तिर र छोड कमाउन ।’  अब पर्सिहवाको मुन्टो माथि उठेन । के गरोस् विचारा, कमाउँदिन भनेर मात्र त भएन । वाध्यतावश उसलाई पनि कमाउछुँ भन्न कर लाग्छ । फेरि मालिकको उही मुस्कान देखिन्छ– ‘तिम्रो ऋण धेरै भैसकेको छ पर्सिहवा । यसपाली कान्छो छोरालाई पनि बाख्रा चराउन पठाइदेउ ।’ मालिकको त्यस्तो प्रस्तावले पर्सिहवा ‘हवस् हजुर’ भन्न ुसिवाय अरु केही विकल्प फेला पार्दैन ।  विचारा पर्सिहवा, कमैया जीवनबाट मुक्तिको लागि र आफ्नो छोरा छोरीलाई पढाउन यसपालि त ...भन्दाभन्दै आफ्ना कान्छो छोरालाई पनि कमैया बनाउने स्थितिमा आइपुग्छ । त्यसैले त उसलाई आफ्नो जिन्दगीबाट निरासा लाग्न थाल्छ ।  ऊ मनमनै सोच्छ– यस वर्ष पनि म हारेँ । के अब मेरो सन्ततिको जिन्दगी सधँै यसरी नै कमैया भएर वित्छ ? उ आफै प्रश्न गर्छ तर त्यसको जवाफ पाउन सक्दैन, न त कुनै उपाय नै ।  निरास भएर पर्सिहवा चार÷पाँच कचौरा रक्सी एक्कैचोटी स्वाट्ट पार्छ । एकछिन आफ्नो पारिवारिक दुःख चिन्ताबाट टाढिन्छ र क्षणिक रुपमा भए पनि रमाउन थाल्छ । त्यही रक्सीको नशामा आफ्ना पुरानो डफ बजाउँदै गुन्गुनाउन थाल्छ– डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।  रातोपाटीबाट                                                        खोनपुर, कैलाली                                                       हालः तुलसीपुर, दाङ                                                                                                                                           अनुवादः कृष्णराज सर्वहारी

 थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

 थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

१३८५ दिन अगाडि

|

२८ पुष २०७९

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए । उनले भने– “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्याउने छु ।”  थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । उनले भने, “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नुपर्छ ।” जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो । उनले भने, “यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए ।   थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र वेशभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।  थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवबाट थारु जाति र थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।  यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएका छन् । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएका हुन् ।  व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएका हुन् । उनले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गरे ।  आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उनले बताए । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराएका थिए । रासस

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

१३८५ दिन अगाडि

|

२८ पुष २०७९

माघ (माघी) को बारेमा धेरैले धेरै पटक लेखिसकेका छन्, धेरैले यसबारे थाहा पनि पाइसकेका छन् । माघलाई आ आफ्नो तरिकाले मनाउने जनसंख्या ठूलो छ ।  कहीँ यसलाई नयाँ बर्ष, कहीँ धार्मिक दिन, कहीँ पुण्य दिनको रुपमा मनाउने गर्दछन् । त्यस्तै माघ, तिला संक्राइत, खिचरा, खिचरी, मकर संक्रान्ति भनेर पनि मनाउँछन् ।  थारुहरु यसलाई नयाँ बर्ष, धार्मिक दिन, पुण्य दिवस, स्वतन्त्रता दिवसको रुपमा पनि मनाउँछन् ।  यसलाई किराँतहरु पनि येले सम्बत भनी नयाँ बर्षको रुपमा मान्छन् । पश्चिम पहाडमा पनि माघ महिनाभरी चेलीबेटीको घरमा कोसेली दिने चलन छ । यसरी हेर्दा अधिकांश नेपाली माघसँग जोडिएका छन् । तर पनि किन हो किन ? माघ ओझेलमा परेको देखिन्छ ।  माघसँग धेरै नेपाली जोडिए पनि जब विदाको सवाल आउँछ, सरकारमा रहेकाहरु आनाकानी गर्न थाल्छन् । विदा किन दिनु प¥यो भन्छन् ।  जबकि दसैं आउँदा एक हप्ता देशभरीका सरकारी कार्यालयमा विदा हुन्छ । विद्यालयहरुमा झन महिनै दिन विदा हुन्छ । त्यसरी विदा दिनुको अर्थ बाहिर काममा गएकाहरु, पढ्न गएका विद्यार्थीहरु पनि घर आएर दसैं मनाउन पाऊन् भन्ने हो ।  थारुहरुले मनाउने माघी पर्व आउँदा सरकार मात्रै होइन, गैरसरकार पनि टाउको दुखाउँछन्, संघ संस्था, प्राइवेट कम्पनीले पनि टाउको दुखाउँछन्, विदा दिन मान्दैनन् । जनताको भावना नबुझ्ने कस्तो सरकार ! सरकारले बुझ्दा गैरसरकार नबुझ्ने ! अर्थात गैरसरकारी संघ संस्थाले नबुझ्ने कस्तो अवस्था ?   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा कार्यरत रहँदा म २÷३ पटक घरपरिवारसँग माघी नमनाई काठमाडौं माघी मनाउन बाध्य भएको छु । माघ १ गते नै कार्यालयले काठमाडौं कार्यक्रममा बोलाउँदा मन साहै्र रोएको छ ।  घरपरिवारसँगै बसेर आशीर्वाद लिनेदिने त्यो नयाँ वर्ष, अनिवार्य नुहाई धुवाई गरी पूजाआजा गरी आमाबुवालाई जल चढाई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने, रमाउने त्यो दिनमा घरपरिवार छोडी बाहिर जानु पर्दाको त्यो पीडा म अहिले पनि बिर्सन सकेको छैन ।  थारु कर्मचारीहरुलाई विदा दिनु प¥यो भनी धनगढीबाट इन्सेकको केन्द्रीय कार्यालय कलंकी, स्यूचाटारमा फ्याक्सबाट विदा माग्दा पनि विदा नमिलेको कुरा झल्झल्ती याद आउँछ ।   त्यसै गरी पुस अन्तिम दिन (जिता मार्ने) मा छोराछोरीलाई विद्यालय पठाउँदा गहभरी आँसु पारेर विद्यालय गएको देख्दा मेरो मन धेरै पटक रोएको छ ।  चाडपर्वप्रतिको माया, लगाव र यही सबै अनुभवका  कारण हामी निरन्तर विदाको आवाज उठाइरह्यौं । बिसं २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रको पालामा बर्दियाका गोपाल दहित विज्ञान तथा वातावरण सहायक मन्त्री हुँदा पहिलो चोटी माघ १ गते विदा भएको इतिहास छ । तर बिचका सरकारहरुले माघ १ गतेको विदालाई कटौटी गरे । निरन्तरताको प्रयासले पछिल्ला दिनमा माघ १ गते विदा दिने कार्य भैरहेको छ तर पुस मसान्तको विदा ओझेलमा परेको छ ।  थारुहरुको लागि माघ दसैं भन्दा कम होइन, यसमा थप विदाको आवश्यकता छ । माघ १ गते अहिले सरकारको नजरमा परेको छ, तर पुस अन्तिम दिनलाई सबैबाट बेवास्ता भैरहेको छ । जबकि पुस अन्तिम दिन पुरानो वर्षको विदाईको रुपमा जिता मार्ने, धार्मिक मेला लाग्ने, श्रद्धालुहरु नुहाउन मेलातिर लाग्ने, खानपानको जोहो गरिने, रातभरी ढमार गाइने दिनको रुपमा लिइन्छ । निकै चहलपहल हुने यो दिन थारुहरुको लागि अहम् महत्वको दिनको रुपमा मानिन्छ ।  कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो ।  तर सरकारले मात्रै होइन, विद्यालयले समेत पुस मसान्तलाई बेवास्ता गरेको देखिन्छ । पुस मसान्तको दिनमा विदा दिनुहुन्छ नाई सर भनी जानकारी माग्दा आदर्श मावि खर्गौली कैलालीका सहप्रधानाध्यापक ज्ञानसिंह चौधरी भन्नुहुन्छ, “यस अघि पुस मसान्तमा विदा दिने ग¥या थिएन, तर यो वर्ष जानकी गाउँपालिका कैलालीले पुस मसान्तदेखि माघ ८ गतेसम्म विदा दिने निर्णय गरिसकेको छ ।”  तसर्थ निचोडमा के भन्न सकिन्छ भने माघ पर्व थारुहरुको लागि धेरै महत्वका साथ लिइन्छ । माघमा बाहिर जानु पर्दा सबैलाई पीडा महसुस हुन्छ । १ दिने विदाका कारण बाहिर गएकाहरु घर माघ (माघी) मान्न आउन नपाउने अवस्था छ ।  विदाको सवालमा भन्ने हो भने केन्द्र सरकारले १ दिन सबैको लागि विदा दिनु राम्रो हो तर थरुहट÷थारुवान क्षेत्रको प्रदेश सरकारले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म विदा दिन आवश्यक देखिन्छ, ता कि बाहिर काम गर्न गएकाहरु, पढ्न गएकाहरु पनि आमाबाबु, घरपरिवारसँग माघ मनाउन सकून् ।  कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो ।  यो वर्ष पुस अन्तिमको दिन शनिवार परेको छ, विदा त्यसै पनि छ तर त्यसलाई संस्थागत गर्ने हो भने स्थानीय सरकारले पुस मसान्तदेखि यति गतेसम्म भनी निर्णय गर्नैपर्ने हो । त्यसैले आशा गरौं कि ढकिया सरकारले थारुहरुलाई माघ पर्व आएको अनुभूति दिलाओस् ।