Above News Title

चेपाङ बस्तिमा चिसिंदा

सानोमा आमाले भन्ने गर्थिन्‐ ‘नाङ्लोमाथि भुल्लिएर पनि नबस्नु है माइला, नभए नाङ्लो जत्तिकै ठूलो खटिरा जिउमा उठ्न सक्छ ।’ 
चेपाङ बस्तिमा चिसिंदा

                                                                                                                                तस्विरः सर्जु चेपाङसँग लेखक

चितवनको पहाडी गाविस कोराकतिर सल्यानी मित्र रतनलाल केसीसँग मोटरसाइकलमा हुँइकियो ।

पुरानो पर्सा बजारबाट ४ किलोमिटर पूर्व वीरेन्द्रनगर बजारबाट उत्तरतर्फ कोराक गाविसको मध्यभाग किरनटार गाउँसम्म म कैयौँपटक गएको छुँ । रतन भने दोश्रो पटक गइरहेको थिए ।

‘किरनटारबाट ठकुरी भन्ज्याङसम्म बाटो राम्रो छ, मोटरसाइकल मजाले आउँछ’‐ हामीलाई सूचना दिनेले यस्तै भनेको थिए । 
किरनटारबाट ठुकरी भन्ज्याङ हिँडेर गए ४ घण्टा, हामीलाई पैदल जाने जाँगर चल्ने कुरै थिएन । त्यसैले, पर्याप्त पेट्रोलको जुगार गरेर हिँड्यो हामी भटभटेमा । तर किरनटारबाट थोरै उकालो उक्लिएपछि भटभटेको कान जति बतार्दा पनि माथि उक्लिन मानेन । हामीले बाइक किरनटार झार्यौं अनि चिनजानको शेरबहादुर तामाङको आँगनीमा राख्यौं ।

अब यात्रा कसरी अगाडि बढाउने भन्ने चिन्तामा रहेका हाम्रा लागि धन्न ठकुरी भन्ज्याङसम्म जाने मालबाहक गाडी किरनटारमा तम्तयार थियो । हामी चामलको बोरामा बोरालाई दुख्ने गरी बस्यौँ । ठाउँ ठाउँमा चामल झारियो, दुखाइ मेटिनाले चामललाई त सहज भयो होला । तर हाम्रो बसाइँ भने झन् झन् असहज हुँदै गयो । 

ठकुरी भन्ज्याङ पुग्नु अगावै एक ठाउँमा बाटोमा सखरखण्ड, पिँडालु, स्कुसको जरा विद्युतीय तराजुमा तौलिँदै थियो । तामाङ थरका व्यापारीले चेपाङ किसानबाट ती सामग्री खरिद गर्दै थिए । बदलामा नगद होइन, चामलको बोरा थमाउँदै थिए । किसानबाट ४० प्रतिशत मार्जिन राखेर तरकारी किनिरहेका तिनले चामल बिक्रीमा मार्जिन नराख्ने त कुरै थिएन । काइदा जाने फाइदा हुन्छ भनेको यही हो क्यारे । 

ठकुरी भन्ज्याङ पुग्न आधा घण्टा अगावै यहाँ चामल झार्नु छ, हिँडेर जानुस्, नभए झन् बेर हुन्छ भनेर गाडीले हामीलाई विदा दियो । गाविस भवननेर स्कूलका पियन हामीलाई लिन आउने कुरा थियो तर तिनी कतै देखा परेनन् । 

पियन नआए पनि गन्तव्यसम्म पुग्न हामी ढुक्क थियौ । किनकि हामीसँग गाडीमै चिनजान भएका १७ वर्षे युवा सर्जु चेपाङ थिए । ‘समर्पण’ उपनाम लेख्ने उनले हाम्रो गन्तव्य श्री राप्रावि ग्लाउथोकको स्कूल भवनसम्म पु¥याइ दिने भए ।

बाँदर लड्ने भीड 

ग्लाउथोक गाउँमा एउटा पनि पसल नभएको जानकारी पाएपछि हामीले ठकुरी भन्ज्याङको सानो घुम्तीमा केही सामान किन्यो । सामान पोको पारेपछि सर्जु भाइले भने‐ ‘अप्थ्यारो बाटोका कारण अब चाँइ गुल्टिदै जानु पर्छ है सरहरु । मन, मुटु दरो पार्नु होला ।’ 

हामीले सर्जुका कुरा खासै गम्भीरतापूर्वक लिएका थिएनौँ । तर एकैछिनमा आइपुग्यो, उकाली ओराली । गुल्टिदै जाने बाँदर लड्ने भीड । न समाउने हाँगो, न टेक्ने ठाउँ । टेकेको माटो बुर्रर खस्छ । हामी दुई भाइ चार हात खुट्टा टेक्दै बाँदरझैं लिस्नो उक्लिन थाल्यौं । 

मलाई आफ्नै एकजोर कपडा र केही किताबको पोकाको झोला भारी भइरहेको थियो । रतन आफ्ना सामान पनि मेरो झोलामा कोचेर फुक्काफाल थिए । तर म भन्दा बढी अप्ठ्यारो ढंगले पहाडी बाटो छिचोल्दै थिए । सल्यानी रतन पहाडको उकालो ओरालोमा म दंगाली तराईको थारूभन्दा डरपोक देखिदै थिए ।

सर्जु भाइसंग सोध्दा चेपाङ भाषामा हाम्रो पुग्ने गन्तव्य ‘ग्लाउथोक’को अर्थ हुने रहेछ ‘कामेर ठोकेको ।’ पहाडको अजंग बाटो देखेर हामी साँच्चिकै कामिरहेका थियाँै । एक ठाउँमा बाटो यति नराम्रो थियो कि दुइ अंगुल जति टेक्न मिल्ने, पाखो खोपेर, समाउनलाई काठ ठोकेर बनाइएको जस्तो लाग्ने । हामी दुई भाईले लख काट्यौँ‐ कहीँ कामेर ठोक्दै गरेको यही ठाउँ त होइन ?, जसबाट ‘ग्लाउथोक’ नामकरण भएको छ ।

सर्जु चेपाङको कठिन जिन्दगी

हामी हिँडेको बाटो जति गाह्रो थियो, त्यो भन्दा पनि गाह्रो जिन्दगी हामीलाई बाटो देखाउने पथप्रदर्शक सर्जु समर्पण चेपाङ भाइको थियो । तिनले हामी सामु बिसाएको दुःखको भारी यस्तो थियो‐ 

‘जाँड खाएर आमासँग सधैँ झगडा गर्ने बाबा एकदिन झुण्डिएर मरे । २ वर्ष जति त आमाले दुःख गरेर पालिन् । त्यसपछि उनले पनि आफ्नो बाटो तताइन् अर्थात् पोइल हिँडिन् । त्यतिबेला म जम्मा ८ वर्षको थिएँ, भाइ ५ वर्षको । काकाको घरमा आश्रय लियौं । बाबा आमा नभएका हामी टुहुरालाई कल्ले पो माया गथ्र्यो र ? कयौँ दिन वनमा कन्दमुल मात्रै खाएर वनमै सुतेको छुँ ।’ 

उनी अगाडि भन्दै गए, ‘पढ्ने वातावरण भएन । त्यसैले, कक्षा २ सम्म मात्रै पढ्न सकें । गाउँकै एकजना दाइ नारायणगढ ग्यारेजमा काम गर्थे । उनकै पछि लागेर कलिला हातमा रिन्ची, पिलास समातेँ । मिस्त्री भएको छुँ अहिले । आफूले पढ्न नपाए पनि भाइलाई पढाउने ठूलो धोको थियो । तर ऊ पनि मेरै लाइनमा छिरिसक्यो । ग्लाउथोकमा मेरो आफ्नो घर छैन । बाको घर त स्याहार बिना उहिल्यै ढलिसक्यो । आज दिदी भिनाजुको गोठमा सुत्छुँ । नभए पाश्चर बाको घरमा सुत्नु पर्ला । आफ्नो घर नभए पनि आफूले दुःख गरेको गाउँ आउन मन लाग्दो रहेछ सर ।’ 

यसरी सर्जु भाइको व्यथा सुनेर हाम्रो यात्राको यति जाबो उकाली ओराली केही पनि होइन रहेछ भन्ने लाग्यो । कति महान रहेछ उनको गाउँको प्रेम । 

बीच बाटोमा हामीलाई लिन जाने पियन भेटिए । जो हेडसरको लागि ग्लाउथोकबाट २ घण्टा हिँडेर रिचार्ज किन्न ठकुरी भन्ज्याङ जाँदै थिए । उनीसंग उनको ६ बर्षे छोरा पनि थियो । 

ठकुरी भन्ज्याङबाट ग्लाउथोकको ओरालो झर्न हामीलाई ठ्याम्मै दुई घण्टा लाग्यो । झमक्क साँझ परेको बेला हामी पुग्यौ । स्कूलका पियन छोरासहित झन् राती आए । छोरालाई दुःख दिन किन संगै लगेको भनेर सोध्दा पियनले हाँस्दै भने‐ ‘यसलाई कहाँ गाह्रो हुनु सर । बरु लाइट लिए पनि मलाई गाह्रो भयो । तर यो त खुर्रर पो आयो ।’

लीलबहादुर क्षेत्रीले ‘बसाइँ’ उपन्यासमा वर्णन गरेको रागे भीर जस्तो भीर बाटो चार पाउ टेक्दै थला परेर आएको हामीलाई अँध्यारोमा पनि खुर्रर दौडिएर आउने त्यो पियनको छोरालाई सलाम गर्न मन लाग्यो । 

ग्लाउथोक पुग्दा हामी भोकले आलस तालस थियौँ । तर खाना तयार पारिएको श्री राप्रावि ग्लाउथोकका विद्यालय व्वस्थापन समितिका अध्यक्ष दीपबहादुर चेपाङको घरमा खाना र दाल मात्रै तयार थियो । कुनै तरकारी पाकेको थिएन, भान्सा नै तरकारीविहीन भएपछि पाक्ने छाँट पनि थिएन । त्यसैले, थकाईलाई दूर गर्न हामीले दाललाई सितन बनायौँ र एलटी अर्थात् लोकल ट्वाँट सुरुप्प सुरुप्प पार्न थाल्यौँ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छोरी चमेली चेपाङले खानेकुरा टक्¥याउँदै थिइन् । उनको पढाइबारे जिज्ञासा राख्दा आमाले दुःखेसो पोखिन्‐ ‘यल्ले ५ कक्षा पढेर छोडेको ठ्याम्मै दुइ वर्ष पुग्यो सर ।’ 

‐अझै त सानै छिन् । किन छोडाएको त स्कूल ?

‐यहाँको स्कूल ५ सम्म मात्रै छ । यहाँबाट ६ कक्षा पढ्ने स्कूल कम्तीमा अढाइ घण्टा हिन्नुपर्छ । तेइ भएर नपठाको सर ।
यसरी चमेलीको पढ्ने मन हुँदाहुँदै पनि पढ्नबाट बञ्चित थिइन् बिचरी । छिमेकका अरु चमेलीको पनि अवस्था उस्तै थियो । पावर र सोर्सफोर्स हुनेले छात्रवृत्तिमा काठमाडौंसम्म पढ्न पठाउँदा रहेछन् । 

राती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेडसरले तरकारी खोजेर ल्याए, रातो भाले । पकाउन समय लागेन, खाना असाध्यै मीठो भयो । कुराकानीको बेलीबस्तिारमा समितिका अध्यक्षले उही आशा राखेर कुरा गरे‐ ‘सर त काठमाडौं बस्ने ठूलो मान्छे । यो चमेलीको उतै पढ्ने व्यवस्था मिलाइ दिनुप¥यो है । ठूलो कल्याण हुनेछ हामीलाई ।’

समितिका अध्यक्षलाई आश्वासन दिने मसंग कुनै पोको थिएन । बरु हेडसरले कुराकानी बिथोले । ट्वाँक भित्र छिरेपछि हेड सरले गफ लाउन थाले‐ ‘सरहरुले आज दुई घण्टा लगाएर झरेको ओरालो म त आधा घण्टामै छिचोल्छुँ नि ।’ ट्वाँकको मात्रा बढ्दै गएपछि उनले त्यो बाटो २५ मिनेट, २० मिनेटसम्म छिचोल्ने गरेको बताउन थाले । 
    
जाडोले लुगलुग

हाम्रो विस्तारा थियो स्कुलमा । तर विस्ताराको नाममा केही थिएन । शिशु कक्षाको लागि ल्याइएको एबीसिडी लेखिएको प्लास्टिकको म्याट ओच्छ्याइएको थियो । हेडसरले सानो बर्को ल्याए । सम्मान पाएको कामचलाउ च्यादर धन्न मैले बोकेको रहेछुँ  । 

‘ल, अरु ओढ्ने जुगार लाग्यो भने लिएर आउँछु’ यति भनेर हेडसर हिँडे । बिस्ताराको जुगार गरेर हेडसर आउलान् भन्ने आशै आशामा जाडोले पुरै ज्यान लुगलुग गर्न थाल्यो तर अँह उनी आएनन् । 

राती जाडोको मात्रा जसरी बढ्दै गयो, रतनको सिग्रेटको मात्रा पनि उसै गरी बढ्दै गयो । पछि हामीले नाम मात्रको म्याट ओढे जस्तो ग¥यौँ । र, कुक्रुक्क परेर जसोतसो सन् २०१६ जनवरी १ को त्यो रातको चिसो ठिहीलाई जितेरै छोड्यौँ ।

बिहान आएर मुसुमुसु हाँस्दै हेडसरले सोधे‐ ‘रात बसाइँ कस्तो भो सरहरु ? जाडो त भयो होला नि है ?’
उनीसंग झगडा गरेर केही फाइदा थिएन । उनले प्रश्नसँगै उत्तर पनि दिइ सकेका थिए । अग्रीम जानकारी गराउँदा हुन् त हामीले स्लीपिङ ब्याग बोक्ने कष्ट गर्ने थियौं  । रातीको जाडोले अघाएका हामी बिहान हेडसरले पठाइदिएको खाजा पनि खान सकेनौ ।

चेपाङ भाषाको पुस्तकबारे छलफल

चेपाङ भाषाको कक्षा १ को किताबबारे छलफल गर्ने सिलसिलामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बिहानै ७ बजे डाकिएको थियो । ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले २०७२ बैशाखबाट लागु हुने गरी चेपाङ भाषाको कक्षा १ को पुस्तक तयार पारेको थियो । 

उक्त पुस्तक लेखन समूहको संयोजन मैले गरेको थिएँ । त्यसैले, किताबको पठनपाठनबारे छलफल चलाउन संस्थाले मलाई किताब लागु भएको स्कूल ग्लाउथोकको दैलो कुल्चिन पठाएको थियो । 

सवा आठ बजेसम्म एक दुईजना बाहेक समितिका सबै सदस्य आइपुगेका थिए । तर धेरैका खुट्टामा जुत्ता चप्पल थिएन । केही महिला पदाधिकारी सामान्य ब्लाउजमा थिए । कठै यिनले कसरी सहँदा हुन्, पहाडका जाडो । अव भने काँडा उम्रिएर यिनका जिउको लुगा अगाडि हाम्रो रातको जाडो त के जाडो झँै लाग्न थाल्यो । 

प्रकृतिको लीला पुसको तुँवालोलाई चिर्दै धन्न बिहानै घाम झुल्किएको थियो । गाउँलेहरु हँसिलो मुहारमा आरआरएनले आफूहरुको चेपाङ भाषामा किताब बनाइ दिएको भनेर धन्यवाद दिए । अरु कक्षाको किताब पनि तयार पारिदिन आग्रह गरे । तर आरआरएन चितवनका प्रमुख रतनलाल केसीले यो वर्ष कार्यक्रम सकिएकाले थप सहयोग गर्न नसकिने भन्दै निराश बनाइ दिए । 

छुट्टिनु अघि हामीले कार्यक्रममा उपस्थित चेपाङ दाजुभाई, दिदीबहिनीहरुसंग उनीहरुकै भाषामा गीत सुनाउन फर्मायस ग¥यौ । सबैले आफूहरुलाई गीत गाउन नआउने लजाउँदै बताए । धन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप चेपाङले गीत गाएर अनिकालको बीऊ जोगाए । 

२०७१ सालमा चेपाङको कक्षा १ को किताब तयार पार्ने क्रममा चितवनको कोराक गाविसमा चेपाङ भाषाको लोककथा, लोकगीत भन्न जान्ने पुर्खा खोज्दा हत्तुहैरान भइयो । एकजनाले गीत, कथा सुन्ने भए रक्सी ख्वाउन भने । रक्सी ख्वाउनु कुन ठूलो कुरा थियो र ? तर एक बोटल रित्याएपछि गललल्ल हाँस्दै भने, ‘सर मलाई त गीत, कथा क्यै नि आउन्न है । रक्सी खान हजुरलाई ढाँटेको पो ।’ यसरी एकजना पनि गीत, कथा भन्न सक्ने स्थिति नरहेपछि चेपाङ भाषाको बीऊ जोगिने छाँट अब मैले देखेको छैन । 

ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडा, उत्तर वाङसिलिङ (लोथर गाविसको एक गाउँ), पश्चिम ठकुरी भन्ज्याङ अनि दक्षिण जिम्लिङ गाउँ पर्छ । जिम्लिङ नेपोलियन चेपाङको गाउँ हो, जो प्रेस चौतारी केन्द्रिय कार्यालय बागबजार, काठमाडौमा कार्यरत छन् । उनलाई मैले एकदिन भने‐ ‘म त तिम्रो गाउँ पुगेर आएँ नि ।’ मेरा कुरा भुइमा खस्न नपाउँदै उनले टप्लक्कै भने‐ ‘ह्या, मलाई त आफनो गाउँ जान नि झयाउ लाग्छ । मनै लाग्दैन भन्या ।’ 

हो पहाडको उकाली, ओराली सम्झिँदा राजधानीको रंगीनमा हराएको ठिटोलाई कसरी आफ्नो गाउँ प्यारो लाग्दो हो र ? आफ्नो गाउँको मन जित्न नसक्नेले संसारै जित्ने नेपोलियन नाउँ किन राखेको पो होलान् भन्ने पनि लाग्यो । यिनी भन्दा त कहाँ हो कहाँ, सर्जु समर्पण चेपाङ जस्ता युवा छन्, जो गाउँमा आफ्नो घर नभए पनि गाउँ सम्झेर आइरहन्छन् । सबैले गाउँ बिर्सिन थाल्ने हो भने सहर अझै कंक्रिट बन्दै जाने निश्चित छ ।

बिहान खाना खाइबरी ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडो ओर्लिदै फर्किने योजना तय भयो । किनकि ठकुरी भन्ज्याङको ओरालो २ घण्टामा पार गर्ने हामीलाई उही बाटोबाट फर्किदा आज उकालो उक्लिन ४ घण्टा लाग्ने पक्का थियो । हामीले मोटरसाइकल छाडिराखेको पसलेलाई महेन्द्र राजमार्गसम्म मोटरसाइकल ल्याइ दिन अनुरोध गर्यौं र ल्याङलिङ डाँडोको पदचिन्ह पछ्यायौं । 

चेपाङ राजमार्गमा

गाडी पाइने ठाउँ बस्ती ब्रुम्तीसम्म पुग्न आज पनि हिँडेर ठ्याक्कै २ घण्टा लाग्यो । गाडी कुर्न अर्को दुई घण्टा । सामान ओसार्ने लोभले यता चल्ने गाडीमा सिट रखिदो रहेनछ । 

सानोमा आमाले भन्ने गर्थिन्‐ ‘नाङ्लोमाथि भुल्लिएर पनि नबस्नु है माइला, नभए नाङ्लो जत्तिकै ठूलो खटिरा जिउमा उठ्न सक्छ ।’ 

आमाको वचनको बेवास्ता गर्दै ब्रुम्तीबाट भण्डारासम्म नाङ्लोमाथि बसेर यात्रा गरियो । चेपाङ राजमार्ग नाउँ जुराइएको यो निर्माणाधीन बाटो भण्डाराबाट मलेखु पुग्दो रहेछ । 

चेपाङ राजमार्ग त एकदिन बन्ला नै । तर राजमार्गबाट ५÷६ घण्टा ठाडै उक्लिने चेपाङ बस्तीका कैयौ गोरेटो बाटो भने कहिले बन्ने हुन् कुन्नि । चेपाङ बालबालिकाले आफ्नै आँगनमा हाइस्कूल कहिले पढ्न पाउने हुन् कुन्नि । मनभरि यस्तै कुरा खेलाउँदै महेन्द्र राजमार्ग छोइयो । 
...
यो यात्राको ७ वर्ष पुगेको छ । थाहा छनै, सर्जु चेपाङ अहिले कुन हालतमा छन् । चेपाङ राजमार्गको अवस्था कस्तो छ ? स्थानीय निकायमा चेपाङ पुस्तक लागुको अवस्था के छ ? संजोग जुरेमा ग्लाउथोकको यात्रा फेरि नि गर्न मन छ । 

 


 

प्रकाशित:

१३०४ दिन अगाडि

|

१९ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९