दाङमा कुन पालिकाको कति बजेट ?

दाङमा कुन पालिकाको कति बजेट ?

११८१ दिन अगाडि

|

११ असार २०८०

एक लोटा पनिया पिवाइ डेउ, मोर हिरडा जुराइ

एक लोटा पनिया पिवाइ डेउ, मोर हिरडा जुराइ

११८४ दिन अगाडि

|

८ असार २०८०

धनगढी । असार ३ गते कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाका स्थानीय महिलाहरूले सोही वडास्थित बेनौलीकी करिब ७० बर्सिया समुन्द्रीदेवी थरूनीलाई ‘बन्दी’ बनाए । पुरुषको पोसाक लगाएका करिब ३ सय महिलाको समूहले समुन्द्री थरूनीलाई प्रचलनअनुसार बन्दी बनाएर गाउँ लगे । तर, गाउँमा लगेर व्यवहार भने पाहुनालाई झैँ स्वागत सत्कार गरे । मीठो मसिनो भोजन टक्र्याए । यो परिदृश्य हो, थारु जातिको गैया बेहर्ना (गाई, गोरु छेक्ने) प्रचलनको । लामो समयसम्म पनि पानी नपरेपछि बनकट्टा गाउँका महिलाहरू आफ्नो धोती, ब्लाउजमा होइन, पुरुषको सर्ट, पाइन्ट, सेतो धोतीको पहिरन, एक हातमा लठ्ठी, अर्को हातमा छाता लिई छिमेकी गाउँ बेनौलीमा गैया बेहर्ना पुगे । समुन्द्रीलाई बन्दी बनाएर लगेपछि बेनौली गाउँमा हल्लीखल्ली भयो । अर्को दिन गाउँका भलमन्सा काजीराम महतोको निर्देशनमा गाउँका चौकीदार सन्तुराम चौधरीले विहानै गाउँभरिका करिब अढाई सय महिलाको भेला गरे  । भेलाले समुन्द्रीलाई बन्धनमुक्त गराउन गैया बेहर्ना जाने निधो गर्‍यो । गीतमै सवाल जवाफ बेनौलीका महिलाहरूले पनि पुरुषको पहिरनमा बनकट्टा जान भन्दै सो गाउँको सिमाना झल्लारी नाला पुगे । बनकट्टाका टोली प्रमुखलाई आफूहरू आएको खबर पठाए । खबर पाएको केही समयमै बनकट्टाको टोलीले बेनौलीको टोलीलाई स्वागतसहित लिन गाउँको सिमाना पुगे । त्यसपछि बनकट्टाको टोलीले गीतिलयमा यसरी स्वागत गरेः सुनो सुनो बेनौलीक् छैलवा रेउ, सुनो रेउ मोरे बिन्ती । टोहार लग डगरा बहारल बा, टुहरे छैला नेँगबो ।। अर्थात् ए बेनौलीका केटाहरू, तिमीहरुलाई हिँडन् भनी बाटो बह्रारिएको छ । स्वागत गर्न गएको टोलीलाई पछ्याउँदै बेनौलीको टोली बनकट्टा गाउँका भलमन्सा पतिराम चौधरीको घर पुग्छ, जहाँ बेनौलीकी समुन्द्रीलाई बन्दी बनाइ राखिएको हुन्छ । भलमन्साको आँगनमा पुगेपछि बेनौलीको टोलीले सोधनी गर्छः सुनो सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोर बिन्ती । आपन गाउँक् भलमन्साक् संग भुललो, खबर नै पैलो ।। सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोरे बिन्ती । सटरंग गोडरी बिछाइ डेउ, हम्रे छैला बैठबी ।। एक लोटा पनिया पिवाइ डेउ, मोर हिरडा जुराइ ।। अर्थात् ए बनकट्टाका केटाहरू, आफ्नै गाउँको अगुवासँग भुल्यो, खबर पाएनौँ । सप्तरङ्गी गुन्द्री ओच्छ्याऊ, एक लोटा पानी पिलाऊ, हाम्रो हृदयलाई चिसो बनाऊ । त्यसको जवाफ बनकट्टाले गीतमै आँगन बह्रारिएको, सतरंगी गुन्द्री ओच्छ्याइएको भन्छ ।   फेरि बेनौलीको टोलीले आफूहरुका लागि पानी राख्न अनि हुक्का चिलम तयार गर्न गीतमै अर्जी गर्छ । अनि बनकट्टाले तिमीहरूका लागि पानी राखिएको अनि हुक्का चिलम तम्तयार पारेको गीतमै खबर दिन्छ ।  त्यतिकैमा बेनौलीले पुनः भन्छः सुनो सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोर बिन्ती पहिलेक डेहल पानी धर्ती सिँचैनु । डोसर डेहल पनिया हाँठ मुख ढोइनु,  टेसरे डेहल पनिया से मै हिरडा जुरैनु ।। अर्थात् ए बनकट्टाका केटाहरू, पहिले दिएको पानीले धर्ती सिँचे । दोस्रो पानीले हात, मुख धोएँ । तेस्रो पानीले हृदय शित्तल पारे । त्यसमा बनकट्टाको टोलीले सुनको अम्खोरामा गंगाको पानी दिदै हृदय थप शित्तल पार्न भन्छ । एवं प्रकार दुई पक्षबीच गीतकै माध्यमबाट सवाल जवाफ चल्छ । सवाल जवाफमै लडाइ हुन्छ । एवम् क्रमले एक पक्षको जीत हुन्छ, अर्को पक्षको हार । रात छर्लङ्ग बित्छ । विधिवत् रूपमा बिदाइ भई बेनौलीको टोली समुन्द्रीलाई लिई गाउँ फर्किन्छ । संयोगवश, सवाल जवाफ चलिरहँदा असार ४ गतेदेखि जोडले पानी पर्छ । दुवै पक्ष दङ्ग पर्दै खेतीपातीको तयारीमा लाग्छन् । प्रकृतिसँग पानीको याचना सुन्दा एकादेशको कथा झै लाग्ने तर प्रकृतिसँग पानीको याचना गर्दै गैया बेहर्ना प्रचलन आदिवासी थारुमा कायमै छ । जसको उदाहरण बनकट्टा र बेनौलीले दिएका छन् ।  पानी पार्नकै लागि कतिपय स्थानमा गैया बेहर्ना जाने समयको पूर्व सन्ध्यामा महिलाहरूले मध्यरातमा निर्वस्त्र भइ गोरु बनी जुवा नारेको र हलो जोत्ने गरेको पनि बताइन्छ । कोही हली, कोदालोले माटो सम्याएको पनि अभिनय गर्छन् । अर्को दिन महिलाहरू पुरुषको पोसाकमा गाउँ–गाउँ, तरकारी बारीहरू डुल्दै गैयाको खोजी गर्छन् । जसको पनि आफ्नै गीतिलयको विधि प्रक्रिया रहेको बताउँछन् बनकट्टाकी ५१ बर्सिया पार्वती चौधरी । गीति लयमा साथीहरुलाई भेला हुन आह्वान गर्ने, पुरुषको पहिरनमा सजिनेलगायत प्रस्तुतीकरण हुन्छ । गैया बेहर्ना जाने सुरुवाती भाका पार्वतीले यसरी गुनगुनाइन्-ः हाँक टे पारै गोरैचा रे, अल्ली गल्ली नेगे । हली निकरो गाउँके छयलओउ, चलो जाइ गाई पक्रे ।। घर घर कपरा मँगैनु, मै धोतिया पेहैनु । हली रे निकरो गाउँके छयलओउ, चलो रे गाई पक्रे ।। अर्थात्, गाई समात्नलाई चौकीदारले हाँक पार्‍यो । घर घरबाट लुगा माँगेर पहिराइयो । ए गाउँले केटाहरू, चाँडै आओ गाई समात्न । गैया बेह्रना जाने पक्षले वास्तविक गाई÷गोरु नसमाएर प्रतीकको रूपमा गाउँकै मोह्रिनिया (गीतबासमा निपूर्ण महिला), भल्मन्सा वा उनकी पत्नीलाई बन्दी बनाएर लैजाने प्रचलन रहिआएको छ । जसबाट पानी पर्ने र बालीनाली उब्जाउ हुने जनविश्वास थारु समुदायमा छ । गैरथारू महिलाहरूको पनि सहभागिता माथि चर्चा गरिएको गीति संवादमा थारु समुदायका महिला मात्रै सहभागी थिएनन्, त्यहाँ बसोबास गर्ने गैरथारू समुदायको पनि सहभागिता थियो । गैया बेहर्ना जाँदा आफूहरूलाई निकै रमाइलो भएको उनीहरूको भनाइ छ । बेनौलीकी धनादेवी साउदले थारु समुदायको संस्कृतिले आफूहरूलाई निकै उत्साहित बनाएको बताउँदै राम्रो संस्कृतिलाई सबैले जोगाउन पर्ने जिकिर गरिन् । महाभारतसँग जोडिएको ऐतिहासिक पक्ष गैया बेहर्ना प्रचलन थारु जातिका महिलामा मात्र प्रचलित एउटा लोक नाटक हो । थारु संस्कृतिविद् अशोक थारूका अनुसार गाउँको गल्ली, आँगन, बारी आदिमा प्रदर्शन गरिने हुँदा यसलाई आजको सडक नाटक जस्तो मानिन्छ ।  विशेष गरी बैशाख, जेठतिर समयमा पानी नपरी खेती लगाउन समस्या पर्ना थाल्यो भने खडेरीबाट मुक्ति पाउन वर्षात्को याचनास्वरुप यो प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिविद् थारु बताउँछन् । उनी यो प्रचलन महाभारतको विराट पर्वसँग जोडिएको बताउँछन् । उनका अनुसार महाभारतका एक पात्र भीमले वनवासको क्रममा विराट देशका बलशाली महामन्त्री किचकलाई द्रौपदीमाथि गरेको यौन दुर्व्यवहारको बदला लिन हत्या गर्छन् । त्यसपछि कौरव पक्षलाई पाण्डवहरू विराटको दरबारमा छन् भन्ने शङ्का लाग्छ ।  शंकाकै आधारमा कौरबहरु सुशर्माको नेतृत्वमा विराटका गाईहरु अपहरण गर्न फौज पठाउँछन् । त्यसैबीच सुशर्माको नेतृत्वमा रहेको कौरव फौज र विराटपुत्र उत्तरकुमारको नेतृत्वमा रहेको फौजबीच भीषण लडाई हुन्छ ।  सुरुमा विराटको फौज हार्छ । पछि विराट पुत्र उत्तरकुमार युद्ध मैदान छोड्नै लाग्दा वृहन्नलाको छद्मभेषमा उत्तरकुमारको सारथी बनेका अर्जुनले फौजको आफै नेतृत्व गर्छन् र युद्ध जितेर अपहरित गाईको बथान फर्काएको किम्वदन्ती छ । तर, थारु जातिमा महाभारतमा वर्णित अख्यानलाई बेग्लै प्रयोजनका लागि बेग्लै किसिमले प्रदर्शन गरेका पनि संस्कृतिविद् थारूको विश्लेषण छ । गैया बेहर्नामा संलग्न थारु महिलाहरू विराटको दरबारमा एक वर्षे गुप्तवासमा बसेका बृहन्नला (तेस्रोलिंगी)रुपी अजुर्नभक्त वीरंगनाको रूपमा रहेको उनको विश्लेषण छ । थारु महिलाहरू पुरुषको पहिरनमा हुनुले विहन्नलाको प्रतीकको रूपमा रहेको पुष्टि गरेको संस्कृतिविद् थारु बताउँछन् । यसमा गाई लुट्ने, फलफूल, तरकारी लुट्नेदेखि बचाउ गरिने अन्य कार्यहरू बृहन्नलारुपी अर्जुनको साहसिक कार्यको अनुकरण रहेको पनि उनको भनाइ छ । गैया बेहर्ना प्रस्तुतीकरण वैशाख, जेठतिरको समयमा पानी नपरी लामो खडेरी परेमा थारु गाउँका महिलाहरू आपसमा सल्लाह गरी गैया बेहर्ना जान दिन तय गर्छन् । यसबेला उपस्थित महिलामध्ये कोही हली, कोही गोरु, कोही लोहार र एउटीले बाहुन्या (बाहुनी) भूमिकामा खट्छिन् ।  मध्यरातमा सबै महिला प्रायः निर्वस्त्र भएर महिलाहरूलाई नै जुवा नारेर उल्टो हलोले जोत्न थाल्छन् । लोहारले कोदालो, फाली, हँसियालगायत औजार उल्टोतिरबाट पिटेको अभिनय गर्छन् । गल्ली–गल्ली र आँगन–आँगनमा बाढी आएको ठानी कसैले बाँध बाँध्न थाल्छन् । गल्ली र आँगनमै खेतको आली बनाएको अभिनय गर्छन् । कुनै महिला गल्ली–गल्ली र घरका आँगनमा गएर ‘पानी डे कि, ढानी डे’ भन्दै अश्लील शब्दयुक्त सजना गाउँदै हिँड्छन् । यस अवसरमा गाइने सजना गीतमा बर्षात् र यौन एक अर्काका पूरक र प्रतीक मानिन्छ । साथै, बाहुन्यिाको भूमिका निर्वाह गर्ने महिला ब्रत बसेकी हुन्छिन् । उनी राती पानी परेको बेला ठूलो भ्यागुतो कराएको अनुकरण स्वरूप ‘गो गाँ, गो गाँ’ गर्दै कराउँछिन् (स्रोतः थारु लोकवार्ता तथा लोकजीवन पुस्तक) ।  रातभरीको त्यो क्रियाकलापपछि गैया बेहर्ना ती महिला बिहानदेखि पुरुष भेषमा गाउँलेहरूको फूलबारीका फलफूल तरकारी टिप्छन् र गाउँलेहरूका गाई गोरु अपहरण गरी ल्याएर बाँध्ने गर्छन् ।  त्यसरी ल्याएका गाई गोरुलाई पिठो खुवाइन्छ । टिपेर ल्याएका फलफूल, तरकारी र घर–घरबाट उठाएका दाल चामल लिएर गाउँ नजिकैको बगैँचामा गई सामूहिक भोजन गर्छन् । भोजन खानुअघि बाहुनी बनेकी महिलाले एउटा भ्यागुतो ल्याएर त्यसको पूजा गरी भ्यागुतोलाई दूध भात खान दिइन्छ । महिलाहरूको मात्रै सहभागिता रहने गैया बेहर्ना लोक नाटक प्रकृतिसँग पानी माग्ने जीवन्त संस्कारको रूपमा रहेको संस्कृतिविद्हरूको विश्लेषण छ । 

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

११८५ दिन अगाडि

|

७ असार २०८०

थारू आयोगले थारू समुदायका लागि योगदान दिने ११ जनालाई थारू रत्न तथा थारू गौरवबाट सम्मान गरेको छ ।  बुधबार थारू आयोगले  औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । थारू रत्नले सम्मनित हुनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, थारू संस्कृतिविद्द्वय महेश चौधरी र भुलाई चौधरी तथा महिला सशक्तीकरणअन्तर्गत सुनसरीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् । त्यस्तै, थारू गौरव सम्मानअन्तर्गत पत्रकारिता विधामा डा कृष्णराज सर्वहारी, खेल विधामा जयरानी थारू, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, कमलरी अभियन्ता उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी ७ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान गरिएको थियो । कार्यक्रममा सम्मनित हुनेहरु डा राजन पाण्डे, भुलाई चौधरी, डा कृष्णराज सर्वहारी, उर्मिला चौधरी, राज कुश्मी तथा फरवार्ड माइक्रो फाइनान्सको तर्फबाट संघीय सांसद भगवती चौधरीले आआफ्नो मन्तव्य राखेका थिए ।  थारू आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा उमाशंकर प्रसाद चौधरीले २०७८ सालको जनगणनामा थारू जातिको जनसंख्या तथा भाषाबारे प्रस्तुति दिएका थिए । यस पालीको जनसंख्यामा राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा थारूको जनसंख्या प्रतिशत घटेको छ ।  राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा यसलाई सच्याउन थारू आयोगले यसअघि नै विज्ञप्ती जारी गरिसकेको छ ।    

नारायणपुरमा निःशुल्क सिकलसेल एनिमियाको शिविर, ४१ जनामा देखियो पोजिटिभ

नारायणपुरमा निःशुल्क सिकलसेल एनिमियाको शिविर, ४१ जनामा देखियो पोजिटिभ

११८९ दिन अगाडि

|

३ असार २०८०

दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निःशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो ।  शिविरको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले कुनै पनि रोगसँग खेलवाड गर्न नहुने कुरामा जोड दिएका थिए । सिकलसेल एनिमियाको बिषयमा स्थानीय सरकार गम्भीर रहेको भन्दै यस रोगको उपचार र निदानमा घोराही उपमहानगरपालिकालले आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गरेर सबै नागरिकहरुको चेकजाज गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सरकारले सिकलसेल एनियिमा विरामीलाई एकलाख सम्मको निः शुल्क उपचारको सहयोग गर्दै आएको र घोराही उपमहानगरपालिकाले सिकलसेल विरामीहरुलाई निःशुल्क रगत समेत सहयोग गर्दै आएको उनले बताए । साथै उनले शिविरमा सम्पूर्ण नागरिकहरुलाई ढुक्क भएर रगत चेकजाँच गराइ सिकलसेल एनिमिया रोगको पहिचान गर्न अनुरोध गरेका थिए । ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीले सिकलसेल एनिमियाको निःशुल्क शिविर गर्नुपूर्व सरोकारवालाहरुसंग बैठक, महिला स्वास्थ्य स्वंयसेविका र स्थानीय टोल अध्यक्ष, अगुवा, मटावा, धामी झाक्री र गुर्वाहरुसग सिकलसेल सम्बन्धि अभिमुखिकरण गरिएको बताउदै आजको शिविरमा नागरिकहरुको पनि उत्साहजनक उपस्थिति रहेको बताइन् । यो शिविरले यस क्षेत्रको नागरिकहरुको सिकलसेल एनिमिया रोगको बारेमा पहिचान गर्न सहयोग पुग्ने आफुले आशा र विश्वास लिएको बताइन् । साथै उनले रगत स्क्रिनिङबाट पोजेटिभ देखिएका नागरिकहरुलाई मनोसामाजिक परार्मश सहित उपचारमा सहयोग गर्ने योजना रहेको जानकारी दिइन् । ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामामा भएको  कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेत, स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवर, घोराही १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्मा, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी लगायतले शिविरको सफल्ताको शुभकामना व्यक्त गरेका थिए । नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रकी पार्वती बस्नेतले गरेकी थिइन् । ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ नारायणपुर क्षेत्रलाई लक्षित गरे आयोजना गरिएको सिकलसेल एनिमियाको निशुल्क शिविरमा स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । एकदिने शिविरमा ४ सय १२ जनाले रगत जाँच स्क्रिनिङ गराएको ग्रामिण महिला उत्थान केन्द्रले जनाएको छ । रगत स्क्रिनिङ गराएको मध्ये १० प्रतिशतमा पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयको अनुसार ४१ जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिनेमा ३७ जना महिला र ४ जना पुरुष रहेका छन् ।  

तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सम्पन्न,  १ सय ५ जनालाई सम्मान

तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सम्पन्न,  १ सय ५ जनालाई सम्मान

११९० दिन अगाडि

|

२ असार २०८०

थारू चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन गर्ने उद्देश्यसहित सुनसरीको झुम्कामा तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव विहीवार सम्पन्न भएको छ ।  थारू चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा भएको २ दिने महोत्सवमा थारू चलचित्र उद्योगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । सम्मान कार्यक्रमबाट रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।  यो महोत्सव तथा सम्मान कार्यक्रम पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारू समुदायको कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारू चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए ।  महोत्सवमा २०४७ सालमा निर्माण भएको पहिलो थारू चलचित्र ‘करम’सहित हालसम्म निर्माण भएका १ सय १५ वटा थारू फिल्म तथा ८० वटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।  

आदिवासी जनजाति महासंघले जाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सच्याउन गर्‍यो  माग

आदिवासी जनजाति महासंघले जाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सच्याउन गर्‍यो माग

११९३ दिन अगाडि

|

३१ जेठ २०८०

 राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी गलत तथ्यांक सच्याउन नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटामा भेटेर राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को जाती, भाषा र धर्म सम्बन्धी तथ्यांक गलत भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति संघ, संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्याङ्क सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रुपमा नछुट्टाउनसमेत आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘कानुनी व्यवस्था के छ, त्यस बारेमा पनि म बुझ्छु । यसको विषयमा मलाई पनि जानकारी छैन । तथ्यांक कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु’, प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै जनजाति महासंघका महासचिव दिवस राईले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु । यसबारेमा सत्य, तथ्य बुझेर सच्याउन लगाउँछु ।’ जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ । यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् । यसअघि आदिवासी जनजाति आयोगले समेत तथ्यांक विभागलाई तथ्यांक सच्याउन आग्रह गरेको भएपनि कार्यालयले बेवास्ता गरेको थियो।

थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

११९३ दिन अगाडि

|

३१ जेठ २०८०

थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो ।  बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताए । “आयोगले केन्द्रमा बसेर थारूको बाहुल्यता रहेको तराई क्षेत्रका समुदायका समस्या पहिचान गर्न कठिनाइ भएको छ । ऐनको प्रावधानबमोजिम आयोगको कार्यालय आवश्यकतानुसार प्रदेशस्तरमा समेत स्थापना गर्न सकिने व्यवस्था रहे पनि विस्तार हुनसकेको छैन”, अध्यक्ष चौधरीले भने ।  अध्यक्ष चौधरीले थारूको थर सूचीकरण कार्य, ऐतिहासिक सम्पदाको अध्ययन, महिला कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै थारूको अवस्था कस्तो छ ? भन्ने तथ्याङ्क सरकारसँग नरहेको जानकारी दिए । बैठकमा आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगको क्षेत्राधिकार, आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न कार्यक्रम तथा उपलब्धि, वैशाख मसान्तसम्मका कार्यक्रमको समीक्षा, आव २०८०र८१ को कार्यक्रम खर्च, चुनौती र समाधानका उपाय प्रस्तुत गरेका थिए।  आव २०७९/८० को वैशाख मसान्तसम्म आयोगका कुल स्वीकृत १४ वटा कार्यक्रममध्ये १३ वटा कार्यक्रमका बजेट रोक्का हुँदा सम्पन्न हुनसकेको छैन । सम्पन्न भएको एक कार्यक्रममध्ये थारू समुदायको इतिहासको अध्ययन हो । जुन त्रिभुवन विश्वविद्यालय इतिहास विभागसँग सम्झौता गरी सम्पन्न भएकामा अन्तिम प्रतिवेदन भने आउन बाँकी रहेको छ । आयोगका सदस्य शान्ति मोदीले अधिकार नदिई तलबभत्ता खुवाउनका लागि स्थापित गरिएको आयोगको औचित्यता नरहेको टिप्पणी गरे । “सरकारको साक्षीका रूपमा मात्र यो आयोग रहेको छ । थारू समुदायको हितको संरक्षण गर्ने आयोगको ऐनमा अनुसन्धान गर्ने व्यवस्था रहेको छैन । गरेका सिफारिस कार्यान्वयन भएको छैन । आयोग सरकारप्रति उदासिन रहेको छ”, उनले भने । छुट्टै प्रकारको संस्कृति, सम्पदा, हस्तकलालगायतका थारू समुदायका उत्पादनको संरक्षण गर्न आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ । आयोगका सदस्यले पछाडि परेका समुदायको उत्थानमा हुँदै गएको सकारात्मकताप्रति सन्तुष्टि रहेता पनि कानुनी व्यवस्था कार्यान्वयन नहुँदा असन्तुष्टि रहेको, अधिकारमा विस्तार थारूको मौलिक पहिचानाको प्रवर्द्धन, हरेक क्षेत्रमा समान अवसर र सहभागिता गराउनुपर्ने विषय उठान गरेका थिए । बैठकमा समितिका सदस्यले पीडित थारूको पहिचान हुन नसकेको, संवैधानिक व्यवस्था कार्यान्वयन प्रभावकारी नभएको, थारू समुदायलाई शिक्षामा पहुँच विस्तार गर्नुपर्ने, अन्तर्राष्ट्रियस्तरसम्म पहिचान पाउनका लागि थारूबाट उत्पादित सामान, कला संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने, सीपलाई प्रवर्द्धन गर्नुपर्नेलगायतका विषयमाथि छलफल भएको थियो  । रासस