गुमराहमा सहिद गुम्रा थारू
१०४३ दिन अगाडि
|
६ साउन २०८०
सन्तोष दहित
चलनचल्तीको नाममा ट्राफिक चोक । घोराही उपमहानगरपालिकाले नामकरण गरेको नाम गुम्रा चोक । त्यही चोकमा फेरि उपमहानगरले घोडाको प्रतिमा राख्यो । घोडाको प्रतिमादेखि करिब सय मिटर पश्चिम–उत्तर कुनामा किसान नेता सहिद गुम्रा थारुको शालिक छ तर शालिकको नाम निशाना नै देखिन्न । गुम्रा थारुको शालिक मात्रै होइन घोडा राखेदेखि त गुम्रा चोक नै गुमराहमा परेको छ ।
गुम्रा थारु किसान आन्दोलनका योद्धा थिए। जुन योगदान गुम्राको छ, किसान आन्दोलनमा त्यसरी उनको सम्मान हुन नसकेको महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमको भनाइ छ । ‘गुम्रा थारु किसान सहिद मात्र नभई दाङको प्रथम सहिद हो’– गौतमले भने– ‘तर जुन हिसाबले उनको सम्मान हुनुपथ्र्यो, त्यो अझै पनि हुन सकेको छैन । एउटा कुनामा शालिक बनाएर गुम्रा थारुको सम्मान होला र रु’
को हुन् गुम्रा थारु ?
घोराही–३ बेलुवाका कालुराम थारूका माइला छोरा थिए गुम्रा थारू । १९८२ सालमा जन्मिनु भएका गुम्रा किसान संघको सदस्य भएर किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान योद्धा थिए। कम्युनिष्ट पार्टीका किसान नेता बयरबटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, मानबहादुर, फुलपाती, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋषि चौधरी, अशोक चौधरीलगायत नेताहरु सँगसँगै गाउँ–गाउँमा किसानहरुलाई संगठित बनाउने काम गरे । किसानको पक्षमा संघर्ष गर्दागर्दै गुम्रा थारु ३५ वर्षको उमेरमा सहिद भए । २०१७ साल साउन ६ गतेका दिन तत्कालीन सरकारको निर्देशनमा खेत जोत्दै गर्दा प्रहरीले गुम्रा थारुको हत्या गरेको थियो ।
कसरी भएको थियो घटना ?
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माका अनुसार दाङमा जमिन्दारविरुद्ध किसान आन्दोलन भएको थियो । किसान संघको अगुवाइमा झण्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो । सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबर्जस्त रूपमा किसानहरूले खेत जोत्न थाले । जमिन्दार र प्रहरीले रोक्न खोज्दा खोज्दै पनि खेतमा हलो जोतिरहेपछि प्रहरीले गुम्रा थारुमाथि गोली चलायो । जोत्दा जोत्दै गुम्रा थारुको खेतमै निधन भयो ।
६२ औं स्मृति दिवस
यसैबीच सहिद किसान नेता गुम्रा थारुको ६२ औं स्मृति दिवस दाङलगायत विभिन्न ठाउँमा आज मनाइएको छ । नेकपा एमाले दाङ र अखिल किसान महासंघले संयुक्त रूपमा सहिद थारुको स्मृति दिवसको अवसरमा अन्त क्र्रिया कार्यक्रम गरेको एमाले घोराही नगरका अध्यक्ष भुवन चौधरीले बताए ।
किसान महासंघले हरेक वर्ष साउन ६ गते गुम्रा थारुलाई सम्झने गरेको छ । नयाँ युगबोधबाट