कस्तो होला कर्ण बिनाको महाभारत ?

कस्तो होला कर्ण बिनाको महाभारत ?

१२१३ दिन अगाडि

|

११ जेठ २०८०

किन ओझेलमा छ दंगीशरण दरबार क्षेत्र सुकौरा ?

किन ओझेलमा छ दंगीशरण दरबार क्षेत्र सुकौरा ?

१२१५ दिन अगाडि

|

९ जेठ २०८०

९ जेठ, तुलसीपुर । तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ । तर त्यो पनि अलपत्र छ । नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन । निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ । उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुबो मरिसकेको छ । त्यही उद्यानमा दङ्गीशरण राजाको सालिक राखिएको छ । २५ लाख लगातमा त्यहाँ उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण भएको थियो । त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ । ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए । ‘पहिले–पहिले अलिअलि आउँथे’, उनले भने, ‘तर अहिले एक जना पनि आउँदैनन् ।’ दङ्गीशरण गाउँपालिका-३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो । चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ । त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए । त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए । सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ । सबैगरी अहिलेसम्म करिब छ-सात करोड बजेट चखौरामा गएको छ । तर सुकौरामा एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन । अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ । सुकौराकोटको इतिहास सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे । दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए । हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दङ्गीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ । पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ । खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् । विसं १९४२ मा दङ्गीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल रहेको जनाइएको छ । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन् । तर प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ ।  रासस

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

१२१५ दिन अगाडि

|

९ जेठ २०८०

लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।  नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने छन् । माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दीपेन्द्र पुनको नाम चर्चामा छ । यसपाली इन्द्रजीत चौधरीको नाम चर्चामा छैैन । लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

गणतन्त्र दिवसको दिन छुट्छन् त रेशम चौधरी ?

गणतन्त्र दिवसको दिन छुट्छन् त रेशम चौधरी ?

१२१६ दिन अगाडि

|

८ जेठ २०८०

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ । चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको हो । रेशमको कैद माफी मिनाहा गरी रिहाइका लागि प्रक्रिया अगाडि बढिसकेको छ । त्यसका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशम चौधरीले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन् । उक्त पत्रमा महान्यायाधिवक्ता कार्यालयले सोमबार जवाफ पठाएको छ।  स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयले मुद्दा अन्तिम भइसकेको जवाफ कारागारमार्फत रेशम चौधरीलाई पठाएको छ । महान्यायाधिवक्ता कार्यालयबाट प्राप्त भएको पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले बतायो । गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जानकारी दियो । स्रोतका अनुसार केपी ओली सरकारकै बेला महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीसम्बन्धी कुनै पनि मुद्दामा पुनरावेदन नगर्ने भन्ने निर्णय गरेका थिए । सरकारको तर्फबाट त्यतिबेलै मुद्दा अन्तिम भएको थियो । ’नेपाल सरकारको तर्फबाट मुद्दा अन्तिम भएको त दुई वर्षअघि नै हो,’ स्रोतले थप्यो, ’रेशम नै सर्वोच्च अदालत गएकाले त्यतिबेला माफी मिनाहाको प्रक्रिया अगाडि बढाउन मिलेन । अहिले रेशमको तर्फबाट दिइएको पुनरावेदनमा पनि अन्तिम फैसला भइसकेको छ ।’ कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेले रेशम चौधरीको हकमा विभागले केही निर्णय नगरेको बताए । ’विभागले गर्ने भनेको कैद कट्टा हो । ५० प्रतिशत कैद काटिसकेकालाई मात्र कैद कट्टाको सिफारिश गर्ने हो,’ उनले भने, ’आममाफीको कुरा गृह मन्त्रालयले गर्ने भएकाले हामीलाई थाहा हुँदैन ।’ आममाफीका लागि कैदीले सोझै पनि निवेदन दिन सक्ने उनले बताए । ’५० प्रतिशत कैद काटेको तथा कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारी समेतको सिफारिसमा राम्रो आचरण भएको, नकारात्मक सूचीमा नपरेकोलाई मात्र विभागले कैद मिनाहाका लागि सिफारिश गर्ने हो,’ उनले थपे, ’त्यसबाहेक माफी मिनाहाका लागि सिधै राष्ट्रपतिलाई सम्बोधन गरेर निवेदन दिने गरिन्छ ।’ यसका अलावा गृह मन्त्रालयबाट सिधै प्रस्ताव तयार भएर पनि निर्णय हुने भएकाले त्यस विषयमा आफूहरूलाई केही थाहा नहुने उनी बताउँछन् । माफी मिनाहा वा कैद कट्टाको विषयमा गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकबाट पारित गराएर राष्ट्रपति कार्यालयमा नामावली पठाउने गर्छ । त्यसपछि राष्ट्रपतिमार्फत कैद मिनाहा हुने गरेको छ । संविधानको मस्यौदा जारी भएपछि २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित ७ जनाको मृत्यु भएको थियो । त्यही घटनाको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो । उक्त फैसलालाई उच्च अदालत दिपायल हुँदै सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

१२१९ दिन अगाडि

|

५ जेठ २०८०

                                                                       २०७२ भदौको दोस्रो साता कर्फ्युको समयमा टीकापुर बजारः फायल फोटो उमेश श्रेष्ठ प्रतिनिधि सभाको २०८० जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि अदालतले हाल लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको बताए। तर हाम्रो तथ्य जाँचमा प्रधानमन्त्रीको दावी भ्रामक देखियो। सर्वोच्च अदालतले सूचना आयोगलाई प्रतिवेदन सम्बन्धी निर्णय शीघ्र गर्न परमादेश दिएको र आयोगले २०७८ फागुन ५ गते ६० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन आदेश जारी गर्ने निर्णय गरेको तथ्य भेटिएको छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सरकारका मुख्य सचिवले सूचना आयोगसहितलाई प्रतिवादी बनाएर रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको भेटिएको छ। के हो विषय ? नयाँ संविधान जारी हुनु अघि र संविधान जारी भएपश्चात तराईका विभिन्न ठाँउमा मधेशकेन्द्रित दल तथा अन्य दलहरुले नेपाल सरकारसँग विभिन्न माग राखी आन्दोलन गरिरहेका थिए। आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिनको लागि भन्दै २०७४ साल मंसिर २८ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय छानबिन आयोग” गठन गरेको थियो। उक्त आयोगले अध्ययन र छानबिन गरी तयार पारेको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो। यो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। प्रतिनिधि सभामा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरका क्रममा सांसद शिशिर खनालले लाल आयोगको रिपोर्ट सार्वजनिक गर्छ कि गर्दैन? गर्छ भने कहिलेसम्म गर्छ भनेर प्रश्न सोधेका थिए। यसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘यो कुरा साँचो हो कि म दोस्रो पटक प्रधानमन्त्री हुँदा थारुहट आन्दोलन र मधेश आन्दोलनसँग सम्बन्धित विषयहरुमा छानबिन गरेर रिपोर्ट पेश गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो। र, त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्ने भित्र पर्छु म पनि। त्यो प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु तर त्यसलाई कुन रुपमा, कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी म यहाँहरुलाई गराउन चाहन्छु। र हामी अहिले पनि त्यो आयोग… सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर त्यसलाई खुला गरेपछि त्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ भन्ने मेरो मान्यता छ…. ‘ के हो तथ्य? हामीले यो विषयमा तथ्य जाँच गर्ने क्रममा दि काठमान्डु पोस्ट अङ्ग्रेजी दैनिकका पूर्व सम्पादक सञ्जीव सतगैँयाले गरेका ट्विट हेर्‍यौँ। उनको ट्विटमा सर्वोच्च अदालतले अक्टोबर २०१९ मा सर्वोच्च अदालतले सूचना आयोग र सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न वा गर्न नसकिने भए कारण दिन तीन महिनाको समय दिएको काठमान्डु पोस्टको समाचारको लिङ्क राखिएको छ।हामीले यही आधारमा सर्वोच्च अदालतको वेबसाइटमा आदेश खोज्ने क्रममा आदेश भेट्टायौँ- शशिधर पाण्डेयसहित चार जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै दायर गरेको रिट निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र सपना प्रधान मल्लको संयुक्त इजलासले २०७६ असोज ३० गते आदेश गरेको थियो। आदेशमा प्रधानमन्त्री दाहालले दावी गरे जस्तो सर्वोच्चबाट प्रतिवेदन सार्वजनिक गर्न रोक लगाएको नभई राष्ट्रिय सूचना आयोगलाई ‘कुन के प्रकृतिको हो दिन मिल्ने सूचना भए दिन मिल्ने निर्णय गर्नु तथा निबेदकले माग गरेको सूचना दिन नमिल्ने प्रकृतिको भए सोही बमोजिमको निर्णय गर्नु पर्नेमा हाल सम्म निर्णय नभई ढिलाई गरी राखेको अवस्थाले नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नु पर्ने देखिन आयो’ भनिएको छ। आदेशमा लेखिएको छ- ‘राष्ट्रिय सूचना आयोगका नाउँमा निज निवेदकले दिएको पुनरावेदनमा यो आदेश पाएका मितिले ३ महिना भित्र “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग”को प्रतिवेदन सम्बन्धी निर्णय सिघ्र गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ।’ सूचना आयोगले के निर्णय गर्‍यो ? सर्वोच्च अदालतको आदेशपछि सूचना आयोगले यस विषयमा के निर्णय गर्‍यो भनी हेर्ने क्रममा हामी राष्ट्रिय सूचना आयोगको आधिकारिक वेबसाइटमा गयौँ। त्यहाँ हामीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ भेट्टायौँ।उक्त प्रतिवेदनको पृष्ठ १३, बूँदा नम्बर ४.१.४ मा ‘प्रस्तुत प्रतिवेदन सार्वजनिक चासोको विषय रहेको र यस्ता प्रतिवेदन गोप्य राख्नु भन्दा सार्वजनिक गर्दा वा चासो राख्ने नागरिकलाई उपलब्ध गराउँदा पारदर्शी कायम हुने र कुनै घटनाका सम्बन्धमा छानवीन भएका विषय सबै नागरिकको पहुँचमा पुग्ने’ उल्लेख गर्दै लेखिएको छ, ‘तसर्थ सूचना मागकर्तालाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (३) को खण्ड (क) अनुसार तपसिलको सूचना ६० दिनभित्र उपलब्ध गराउनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा मिति २०७८।११।०५ मा आदेश जारी गरेको छ।’ अर्थात् राष्ट्रिय सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। उक्त पूर्ण पाठमा सर्वोच्चको आदेशपछि सूचना आयोगले गृह मन्त्रालयलाई लिखित जवाफ पठाउन आदेश भएको, गृह मन्त्रालयको जवाफपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसित लिखित जवाफ मागिएको र त्यसपछि आयोगले गरेको ठहर बारे विस्तृत उल्लेख छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सूचना आयोगको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रिय सूचना आयोग र उक्त प्रतिवेदन प्राप्त गर्न आयोगमा निवेदन दिनेहरु शशिधर पाण्डे , गीता कुमारी बरई , धर्मेन्द्र मुराउ, अवधेश प्रसाद कुर्मीलाई प्रतिवादी बनाई २०७८ चैत १६ गते रिट दायर गरेका थिए। न्यायाधीश कुमार रेग्मीको इजलासले चैत २० गते ‘कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश र अन्तरिम आदेश छलफल’ को आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। उक्त अल्पकालीन अन्तरिम आदेश के थियो भन्ने बारे सार्वजनिक रुपमा दस्तावेज उपलब्ध छैन। प्राप्त गर्ने प्रयास जारी छ। प्राप्त हुने बित्तिकै हामी यहाँ अपडेट गर्नेछौँ। यो रिटमा २०७९ साउन ३० गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठले पूर्ण सुनुवाईका निम्ति पेश गर्ने आदेश दिए पनि हालसम्म अन्तिम आदेश/फैसला भइसकेको छैन। यसबारे अनलाइनखबरले पनि ‘प्रधानमन्त्रीको दोहोरो रवैया : प्रतिवेदन गोप्य राख्न मुद्दा हाल्ने, सदनमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तथ्य जाँच दावी : सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन हाल प्रकाशित नगर्नू भन्ने फैसला गरेको छ।  सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको हो। दावीकर्ता : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथ्य : भ्रामक। सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने ‘फैसला’ गरेको छैन। उक्त प्रतिवेदन माग्दै राष्ट्रिय सूचना आयोगमा परेको निवेदनमा ३ महिना भित्र निर्णय गर्न सर्वोच्चले परमादेश दिएको हो। उक्त परमादेशपछि सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। प्रधानमन्त्रीले संसदमा दावी गरे जस्तो सूचना आयोगले त्यो विषयमा मुद्दा दिएको नभई सरकारकै मुख्य सचिवले सूचना आयोगलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन्। यो विषयमा प्रधानमन्त्रीले भने जस्तो सर्वोच्चले ‘फैसला’ गरिसकेको छैन, अल्पकालीन अन्तरिम आदेश दिएको मात्र हो। तसर्थ प्रधानमन्त्री दाहालले संसदमा गरेको दावी भ्रामक छ। नेपाल  फ्याक्ट चेक डट ओआरजीबाट विस्तृत हेर्नुहोस्ः  https://nepalfactcheck.org/2023/05/laal-aayog/?fbclid=IwAR0fZrFcUMS5tqnJTXRzWH72V1QgfhBvMJ-cGgdF3JXoZo8CRUQkC4pD8zs  

रेशम चौधरीहरुलाई प्रक्रिया पूरा गरेर जेलमुक्त गर्छौँ : प्रधानमन्त्री

रेशम चौधरीहरुलाई प्रक्रिया पूरा गरेर जेलमुक्त गर्छौँ : प्रधानमन्त्री

१२२० दिन अगाडि

|

४ जेठ २०८०

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका छन्।  प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्यदोषी ठहरिएका चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका हुन्।  ‘रेशम चौधरीको विषयमा अध्यदेश ल्याएर छुटाउने प्रयास हामीले गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो फैसाला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो,’ प्रधानमन्त्रीले भने, ‘र, अहिले टुंगिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा निकै गम्भीर छ। मलाई विश्वास छ यसको छिटै एउटा टुंगोमा हामी पुग्ने छौँ।’ सर्वोच्च अदालतको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न नसकिएको पनि उनले बताएका छन्। ‘रेशमजीसहित थरुहट आन्दोलनपछि जेलमा रहेकाहरुलाई राजनीतिक बन्दीका रुपमा हामी रिहा गराउन तयार छौँ’, उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउँछ। रेशमजीहरुलाई उचित विकल्प खोजेर हामी रिहा गराउने कुरामा गम्भीर छौँ।’ डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आममाफी दिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दलबीच बुधबार छलफल भएको थियो। मंगलबारमात्रै सर्वाेच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो।  

सुर्खेतमा थारू नाच र मादल बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न  

सुर्खेतमा थारू नाच र मादल बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न  

१२२० दिन अगाडि

|

४ जेठ २०८०

थारू मादल बजाउने र नाच सिकाउने १० दिने प्रशिक्षणको कार्यक्रम वीरेन्द्रनगरमा जेठ १ मा सम्पन्न भएको छ ।  लखागिन थारू उत्थान मञ्च सुर्खेतको आयोजना र शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतको सहकार्यमा  प्रशिक्षण कार्यक्रम भएको थियो । प्रशिक्षण कार्यक्रममा मादल सिक्ने युवाहरुमा २० जना र नाच सिक्ने युवतीमा २० जना रहेका थिए ।  समापन कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक धनबहादुर विष्टले आयातित संस्कृति हिन्दी, विदेशी संस्कृतिले हाम्रो संस्कृति हराउँदै गइरहेको अवस्थामा थारू समुदायको संस्कृतिको मौलिक लोकबाजा तथा नाच सिकाउनु निकै सह्रानीय कार्य भएको बताए ।  उनले थारू युवा पुस्ताले सिकेका मादल बजाउने सिप र नाचलाई व्यवहारमा लागू गर्नुपर्ने सुझावसमेत दिए ।  लखागिन थारू उत्थान मञ्चका अध्यक्ष मान बहादुर चौधरी पन्नाले प्रशिक्षण कार्यक्रममा सखिया नाचका विभिन्न पैयाका ताल, हरेक मौसम र खुशीमा नाचिने छोक्रा मादल र नाच, मघौटा मादल र नाच, डङ्गहा मादल र नाच सिकाउने विधिबारे प्रशिक्षण दिइएको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका २ नं का वडा सदस्य तथा कार्यपालिकाका सदस्य सरिता चौधरीले मादल र नाच प्रशिक्षणले नयाँ पुस्तामा पुस्तान्तरण हुने कुराले आफू निकै खुशी भएको बताइन् ।  कार्यक्रममा  वीनपा वडा नं २ का अर्का वडासदस्य रमेश चौधरी, मादल बजाउने प्रशिक्षक नरबहादुर चौधरी, लखागिन उत्थान मञ्च सुर्खेतका संरक्षक सनिसरा महतम, समाजसेवी टेकबहादुर चौधरी लगायतका वक्ताहरुले थारू नृत्य र मादल प्रशिक्षणको लोप हुन लागेको कला संस्कृति जागृत हुने विश्वास व्यक्त गर्दै थारूहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए ।