धनगढी । असार ३ गते कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाका स्थानीय महिलाहरूले सोही वडास्थित बेनौलीकी करिब ७० बर्सिया समुन्द्रीदेवी थरूनीलाई ‘बन्दी’ बनाए । पुरुषको पोसाक लगाएका करिब ३ सय महिलाको समूहले समुन्द्री थरूनीलाई प्रचलनअनुसार बन्दी बनाएर गाउँ लगे । तर, गाउँमा लगेर व्यवहार भने पाहुनालाई झैँ स्वागत सत्कार गरे । मीठो मसिनो भोजन टक्र्याए ।
यो परिदृश्य हो, थारु जातिको गैया बेहर्ना (गाई, गोरु छेक्ने) प्रचलनको । लामो समयसम्म पनि पानी नपरेपछि बनकट्टा गाउँका महिलाहरू आफ्नो धोती, ब्लाउजमा होइन, पुरुषको सर्ट, पाइन्ट, सेतो धोतीको पहिरन, एक हातमा लठ्ठी, अर्को हातमा छाता लिई छिमेकी गाउँ बेनौलीमा गैया बेहर्ना पुगे ।
समुन्द्रीलाई बन्दी बनाएर लगेपछि बेनौली गाउँमा हल्लीखल्ली भयो । अर्को दिन गाउँका भलमन्सा काजीराम महतोको निर्देशनमा गाउँका चौकीदार सन्तुराम चौधरीले विहानै गाउँभरिका करिब अढाई सय महिलाको भेला गरे । भेलाले समुन्द्रीलाई बन्धनमुक्त गराउन गैया बेहर्ना जाने निधो गर्यो ।
गीतमै सवाल जवाफ
बेनौलीका महिलाहरूले पनि पुरुषको पहिरनमा बनकट्टा जान भन्दै सो गाउँको सिमाना झल्लारी नाला पुगे । बनकट्टाका टोली प्रमुखलाई आफूहरू आएको खबर पठाए । खबर पाएको केही समयमै बनकट्टाको टोलीले बेनौलीको टोलीलाई स्वागतसहित लिन गाउँको सिमाना पुगे । त्यसपछि बनकट्टाको टोलीले गीतिलयमा यसरी स्वागत गरेः
सुनो सुनो बेनौलीक् छैलवा रेउ, सुनो रेउ मोरे बिन्ती ।
टोहार लग डगरा बहारल बा, टुहरे छैला नेँगबो ।।
अर्थात् ए बेनौलीका केटाहरू, तिमीहरुलाई हिँडन् भनी बाटो बह्रारिएको छ । स्वागत गर्न गएको टोलीलाई पछ्याउँदै बेनौलीको टोली बनकट्टा गाउँका भलमन्सा पतिराम चौधरीको घर पुग्छ, जहाँ बेनौलीकी समुन्द्रीलाई बन्दी बनाइ राखिएको हुन्छ ।
भलमन्साको आँगनमा पुगेपछि बेनौलीको टोलीले सोधनी गर्छः
सुनो सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोर बिन्ती ।
आपन गाउँक् भलमन्साक् संग भुललो, खबर नै पैलो ।।
सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोरे बिन्ती ।
सटरंग गोडरी बिछाइ डेउ, हम्रे छैला बैठबी ।।
एक लोटा पनिया पिवाइ डेउ, मोर हिरडा जुराइ ।।
अर्थात् ए बनकट्टाका केटाहरू, आफ्नै गाउँको अगुवासँग भुल्यो, खबर पाएनौँ । सप्तरङ्गी गुन्द्री ओच्छ्याऊ, एक लोटा पानी पिलाऊ, हाम्रो हृदयलाई चिसो बनाऊ । त्यसको जवाफ बनकट्टाले गीतमै आँगन बह्रारिएको, सतरंगी गुन्द्री ओच्छ्याइएको भन्छ ।
फेरि बेनौलीको टोलीले आफूहरुका लागि पानी राख्न अनि हुक्का चिलम तयार गर्न गीतमै अर्जी गर्छ । अनि बनकट्टाले तिमीहरूका लागि पानी राखिएको अनि हुक्का चिलम तम्तयार पारेको गीतमै खबर दिन्छ । त्यतिकैमा बेनौलीले पुनः भन्छः
सुनो सुनो बनकट्टाक् छैलवा रेउ, सुनो रे मोर बिन्ती
पहिलेक डेहल पानी धर्ती सिँचैनु ।
डोसर डेहल पनिया हाँठ मुख ढोइनु,
टेसरे डेहल पनिया से मै हिरडा जुरैनु ।।
अर्थात् ए बनकट्टाका केटाहरू, पहिले दिएको पानीले धर्ती सिँचे । दोस्रो पानीले हात, मुख धोएँ । तेस्रो पानीले हृदय शित्तल पारे । त्यसमा बनकट्टाको टोलीले सुनको अम्खोरामा गंगाको पानी दिदै हृदय थप शित्तल पार्न भन्छ ।
एवं प्रकार दुई पक्षबीच गीतकै माध्यमबाट सवाल जवाफ चल्छ । सवाल जवाफमै लडाइ हुन्छ । एवम् क्रमले एक पक्षको जीत हुन्छ, अर्को पक्षको हार । रात छर्लङ्ग बित्छ । विधिवत् रूपमा बिदाइ भई बेनौलीको टोली समुन्द्रीलाई लिई गाउँ फर्किन्छ ।
संयोगवश, सवाल जवाफ चलिरहँदा असार ४ गतेदेखि जोडले पानी पर्छ । दुवै पक्ष दङ्ग पर्दै खेतीपातीको तयारीमा लाग्छन् ।
प्रकृतिसँग पानीको याचना
सुन्दा एकादेशको कथा झै लाग्ने तर प्रकृतिसँग पानीको याचना गर्दै गैया बेहर्ना प्रचलन आदिवासी थारुमा कायमै छ । जसको उदाहरण बनकट्टा र बेनौलीले दिएका छन् ।
पानी पार्नकै लागि कतिपय स्थानमा गैया बेहर्ना जाने समयको पूर्व सन्ध्यामा महिलाहरूले मध्यरातमा निर्वस्त्र भइ गोरु बनी जुवा नारेको र हलो जोत्ने गरेको पनि बताइन्छ । कोही हली, कोदालोले माटो सम्याएको पनि अभिनय गर्छन् । अर्को दिन महिलाहरू पुरुषको पोसाकमा गाउँ–गाउँ, तरकारी बारीहरू डुल्दै गैयाको खोजी गर्छन् ।
जसको पनि आफ्नै गीतिलयको विधि प्रक्रिया रहेको बताउँछन् बनकट्टाकी ५१ बर्सिया पार्वती चौधरी । गीति लयमा साथीहरुलाई भेला हुन आह्वान गर्ने, पुरुषको पहिरनमा सजिनेलगायत प्रस्तुतीकरण हुन्छ । गैया बेहर्ना जाने सुरुवाती भाका पार्वतीले यसरी गुनगुनाइन्-ः
हाँक टे पारै गोरैचा रे, अल्ली गल्ली नेगे ।
हली निकरो गाउँके छयलओउ, चलो जाइ गाई पक्रे ।।
घर घर कपरा मँगैनु, मै धोतिया पेहैनु ।
हली रे निकरो गाउँके छयलओउ, चलो रे गाई पक्रे ।।
अर्थात्, गाई समात्नलाई चौकीदारले हाँक पार्यो । घर घरबाट लुगा माँगेर पहिराइयो । ए गाउँले केटाहरू, चाँडै आओ गाई समात्न । गैया बेह्रना जाने पक्षले वास्तविक गाई÷गोरु नसमाएर प्रतीकको रूपमा गाउँकै मोह्रिनिया (गीतबासमा निपूर्ण महिला), भल्मन्सा वा उनकी पत्नीलाई बन्दी बनाएर लैजाने प्रचलन रहिआएको छ । जसबाट पानी पर्ने र बालीनाली उब्जाउ हुने जनविश्वास थारु समुदायमा छ ।
गैरथारू महिलाहरूको पनि सहभागिता
माथि चर्चा गरिएको गीति संवादमा थारु समुदायका महिला मात्रै सहभागी थिएनन्, त्यहाँ बसोबास गर्ने गैरथारू समुदायको पनि सहभागिता थियो । गैया बेहर्ना जाँदा आफूहरूलाई निकै रमाइलो भएको उनीहरूको भनाइ छ । बेनौलीकी धनादेवी साउदले थारु समुदायको संस्कृतिले आफूहरूलाई निकै उत्साहित बनाएको बताउँदै राम्रो संस्कृतिलाई सबैले जोगाउन पर्ने जिकिर गरिन् ।
महाभारतसँग जोडिएको ऐतिहासिक पक्ष
गैया बेहर्ना प्रचलन थारु जातिका महिलामा मात्र प्रचलित एउटा लोक नाटक हो । थारु संस्कृतिविद् अशोक थारूका अनुसार गाउँको गल्ली, आँगन, बारी आदिमा प्रदर्शन गरिने हुँदा यसलाई आजको सडक नाटक जस्तो मानिन्छ ।
विशेष गरी बैशाख, जेठतिर समयमा पानी नपरी खेती लगाउन समस्या पर्ना थाल्यो भने खडेरीबाट मुक्ति पाउन वर्षात्को याचनास्वरुप यो प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिविद् थारु बताउँछन् ।
उनी यो प्रचलन महाभारतको विराट पर्वसँग जोडिएको बताउँछन् । उनका अनुसार महाभारतका एक पात्र भीमले वनवासको क्रममा विराट देशका बलशाली महामन्त्री किचकलाई द्रौपदीमाथि गरेको यौन दुर्व्यवहारको बदला लिन हत्या गर्छन् । त्यसपछि कौरव पक्षलाई पाण्डवहरू विराटको दरबारमा छन् भन्ने शङ्का लाग्छ ।
शंकाकै आधारमा कौरबहरु सुशर्माको नेतृत्वमा विराटका गाईहरु अपहरण गर्न फौज पठाउँछन् । त्यसैबीच सुशर्माको नेतृत्वमा रहेको कौरव फौज र विराटपुत्र उत्तरकुमारको नेतृत्वमा रहेको फौजबीच भीषण लडाई हुन्छ ।
सुरुमा विराटको फौज हार्छ । पछि विराट पुत्र उत्तरकुमार युद्ध मैदान छोड्नै लाग्दा वृहन्नलाको छद्मभेषमा उत्तरकुमारको सारथी बनेका अर्जुनले फौजको आफै नेतृत्व गर्छन् र युद्ध जितेर अपहरित गाईको बथान फर्काएको किम्वदन्ती छ ।
तर, थारु जातिमा महाभारतमा वर्णित अख्यानलाई बेग्लै प्रयोजनका लागि बेग्लै किसिमले प्रदर्शन गरेका पनि संस्कृतिविद् थारूको विश्लेषण छ । गैया बेहर्नामा संलग्न थारु महिलाहरू विराटको दरबारमा एक वर्षे गुप्तवासमा बसेका बृहन्नला (तेस्रोलिंगी)रुपी अजुर्नभक्त वीरंगनाको रूपमा रहेको उनको विश्लेषण छ । थारु महिलाहरू पुरुषको पहिरनमा हुनुले विहन्नलाको प्रतीकको रूपमा रहेको पुष्टि गरेको संस्कृतिविद् थारु बताउँछन् ।
यसमा गाई लुट्ने, फलफूल, तरकारी लुट्नेदेखि बचाउ गरिने अन्य कार्यहरू बृहन्नलारुपी अर्जुनको साहसिक कार्यको अनुकरण रहेको पनि उनको भनाइ छ ।
गैया बेहर्ना प्रस्तुतीकरण
वैशाख, जेठतिरको समयमा पानी नपरी लामो खडेरी परेमा थारु गाउँका महिलाहरू आपसमा सल्लाह गरी गैया बेहर्ना जान दिन तय गर्छन् । यसबेला उपस्थित महिलामध्ये कोही हली, कोही गोरु, कोही लोहार र एउटीले बाहुन्या (बाहुनी) भूमिकामा खट्छिन् ।
मध्यरातमा सबै महिला प्रायः निर्वस्त्र भएर महिलाहरूलाई नै जुवा नारेर उल्टो हलोले जोत्न थाल्छन् । लोहारले कोदालो, फाली, हँसियालगायत औजार उल्टोतिरबाट पिटेको अभिनय गर्छन् । गल्ली–गल्ली र आँगन–आँगनमा बाढी आएको ठानी कसैले बाँध बाँध्न थाल्छन् । गल्ली र आँगनमै खेतको आली बनाएको अभिनय गर्छन् ।
कुनै महिला गल्ली–गल्ली र घरका आँगनमा गएर ‘पानी डे कि, ढानी डे’ भन्दै अश्लील शब्दयुक्त सजना गाउँदै हिँड्छन् । यस अवसरमा गाइने सजना गीतमा बर्षात् र यौन एक अर्काका पूरक र प्रतीक मानिन्छ । साथै, बाहुन्यिाको भूमिका निर्वाह गर्ने महिला ब्रत बसेकी हुन्छिन् । उनी राती पानी परेको बेला ठूलो भ्यागुतो कराएको अनुकरण स्वरूप ‘गो गाँ, गो गाँ’ गर्दै कराउँछिन् (स्रोतः थारु लोकवार्ता तथा लोकजीवन पुस्तक) ।
रातभरीको त्यो क्रियाकलापपछि गैया बेहर्ना ती महिला बिहानदेखि पुरुष भेषमा गाउँलेहरूको फूलबारीका फलफूल तरकारी टिप्छन् र गाउँलेहरूका गाई गोरु अपहरण गरी ल्याएर बाँध्ने गर्छन् ।
त्यसरी ल्याएका गाई गोरुलाई पिठो खुवाइन्छ । टिपेर ल्याएका फलफूल, तरकारी र घर–घरबाट उठाएका दाल चामल लिएर गाउँ नजिकैको बगैँचामा गई सामूहिक भोजन गर्छन् । भोजन खानुअघि बाहुनी बनेकी महिलाले एउटा भ्यागुतो ल्याएर त्यसको पूजा गरी भ्यागुतोलाई दूध भात खान दिइन्छ ।
महिलाहरूको मात्रै सहभागिता रहने गैया बेहर्ना लोक नाटक प्रकृतिसँग पानी माग्ने जीवन्त संस्कारको रूपमा रहेको संस्कृतिविद्हरूको विश्लेषण छ ।
प्रकाशित:
१०७२ दिन अगाडि
|
८ असार २०८०
४ घण्टा अगाडि
|
१६ जेठ २०८३
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९