उन्नती चौधरी
=====
टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरे पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले निलम्वित सांसद रेशम चौधरी कारागारबाटै प्रतिनिधि सभा सदस्यमा पुनः उम्मेदवार बन्ने तयारीमा जुटेका छन्।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ। देशभर सबै दल र नेता तयारीमा जुट्न थालेका छन्। पश्चिम तराईमा भने निलम्वित सांसद रेशम चौधरी चर्चामा छन्।
२०७२ भदाै ७ मा भएको टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका छन्। उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। कारागारबाटै चुनावी तयारी थालेपछि उनी चर्चाको विषय बनेकाे हाे।
२०७४ सालको निर्वाचनमा उनी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। भूमिगत रुपमै चुनाव जितेका उनी यस पटक भने नागरिक उन्मुक्ति पार्टीमार्फत कारागारबाटै तयारीमा जुटेका हुन्।
उन्मुक्ति पार्टीको नेतृत्व चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले गरेकी छन्। अध्यक्ष श्रेष्ठसँगै नेता तथा कार्यकर्तालाई चौधरीले कारागारबाटै निर्देशन दिने गरेको एक नेताले बताए। “स्थानीय तहको निर्वाचनमा जित हासिल गरेपछि उत्साहित भएका छौं,” ति नेताले भने, “स्थानीय चुनाव पनि रेशमकै योजना अनुसार लडेका थियौं, अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि रेशमकै योजनामा तयारी गरिरहेका छौं।”
गत वैशाखकाे स्थानीय निर्वाचनमा कैलाली १, २ र ३ का पालिकाहरूमा उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। टीकापुर र भजनी नगरपालिकाको मेयर तथा जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्षमा जितेको छ। यो क्षेत्रका १४ वटा वडाध्यक्ष पनि उन्मुक्ति पार्टीले जितेको छ।
“कैलालीका १, २ र ३ नम्बर क्षेत्रमा उनमुक्ति पार्टीले ठूला दललाई चुनौति दिने देखिन्छ,” विश्लेषक दिलबहादुर चौधरी भन्छन्। टीकापुर घटनापछि यी क्षेत्रका बासिन्दा रेशम चौधरीप्रति सद्भाव राख्न थालेको उनको भनाइ छ।
पाँच वर्षअघि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मदवारलाई झन्डै २१ हजार मतान्तरले पराजित गर्दै चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए। उनले ३४ हजार ३४१ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट नेकपा (एमाले) उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मत प्राप्त गरेकी थिइन्।
चुनाव जिते पनि उनले संसद् भवनमा प्रवेश पाएनन्। २०७४ फागुन १४ गते अदालतमा आत्मसमर्पण गरे। जेलमै रहँदा २०७५ पुस १९ गते संसद्को शपथ त लिए र सांसदको लोगो लगाएर फेरि कारागार नै फर्किए।
टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको सजाय सुनायो। उनी उच्च अदालत गए। उच्च अदालतले दिपायलले पनि २०७७ पुस २ गते जिल्लाकै फैसला सदर गर्यो।
यस पटक भने कैलाली १ मा उनको ठाउँमा उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छन्। यसका लागि उनी केही समयदेखि निर्वाचन क्षेत्रमै खटिएकी छन्।
त्यस्तै, कैलाली २ मा अरुण चौधरी चर्चामा छन्। उनी कांग्रेस छोडेर असार २९ गते उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। कैलाली ५ बाट लक्ष्मण थारुलाई उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको तयारी छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक थारु असारमा मात्रै उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।
लक्ष्मणलाई पनि टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो। उनले पनि यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्। यतिवेला भने उनी भूमिगत भएर तयारीमा जुटिरहेका छन्।
उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कैलालीसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उम्मेदवारी दिने गरी तयारी भइरहेको बताए। स्थानीय चुनावले उत्साहित बनाएको बताउँदै पण्डित भन्छन्, “कैलालीको १, २, ३ र ४ मा हामी बलियो छौं, क्षेत्र नम्बर ५ मा भने अलि बढि नै मेहनत गर्नुपर्ने देखिन्छ।”
प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि उम्मेदवारी दिने उनी बताउँछन्। “प्रदेश सरकार बनाउने योजना सहित तयारीमा जुटेका छौं,” उनी भन्छन्, “हामीले प्रदेश सरकार बनाउने सम्भावना पनि देखिएको छ।”
सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ क्षेत्र छन्। जसमध्ये १० क्षेत्र कैलालीमा र ६ क्षेत्र कञ्चनपुरमा छन्। मतदाता पनि यी दुई जिल्लामै बढी भएकाले सामानुपातिक तर्फ पनि राम्रो सीट आउने उन्मुक्ति पार्टीको आँकलन छ।
बर्दियाबाट चुनाव लड्ने रेशमको तयारी
कैलाली १ बाट श्रीमतीलाई उम्मेदवार बनाएर आफू बर्दिया २ बाट उम्मेदवार बन्ने चौधरीको तयारी छ। २०७४ को निर्वाचनमा बर्दिया २ बाट नेकपा (माओवादी केन्द्र)का सन्तलाल थारु निर्वाचित भएका थिए।
उनले ५० हजार ५५५ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका थिए।
चौधरीसँगै टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका लक्ष्मण थारु कैलाली ५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। दुवै जनाले सर्वोच्च अदालत गुहारेका छन्।
यस्तो वेला के उनीहरू उम्मेदवार बन्न पाउँछन्? अधिवक्ता शंकर लिम्बू दुवै जना चुनाव लड्न पाउने बताउँछन्। “टीकापुर घटनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। सर्वोच्चबाट फैसला नभएसम्म उनीहरूलाई दोषी ठहर भएको मानिँदैन,” अधिवक्ता लिम्बू भन्छन्, “त्यसैले उनीहरू आम नागरिक झै चुनावमा भाग लिन पाउने कानूनी प्रावधान छ।”
via. himalkhabar.com
प्रकाशित:
१४५० दिन अगाडि
|
२६ साउन २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९