थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन रुपन्देहीको भैरहवामा मंसिर १ गते शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे । उनले कार्यक्रममा थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति आफ्नो लागि पनि पीडादायी रहेको बताए । उनले अगाडि भने,‘थारुलगायत आदिवासी जनजातिहरु विरुद्ध हुने विभेद, असमानताको विपक्षमा छ यो सरकार । सबैलाई समान हैसियत दिने पक्षमा छ । थारु समुदाय आफै निर्णय प्रक्रियामा सहभागी हुन चाहन्छौं भन्ने मागको म सम्मान गर्दछु ।’ अर्थमन्त्री पौडेलले अर्को प्रसंगमा नेपालको स्वाधिनताको निम्ति थारु समुदायको धेरै ठूलो योगदान रहेको र त्यो इतिहासको स्वर्ण अक्षरमा लेखिने’ अभिव्यक्ति पनि दिए ।

त्यसअघि थाकसका महामन्त्री प्रेमीलाल चौधरीले स्वागत मन्तव्य दिदै थाकसको २३औं महाधिवेशनमा टीकापुर घटनाका कारण यसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति दुःखद रहेको बताएका थिए । थारुप्रति विभेद कायमै रहेको भन्दै उनले के थारुले पहिचान माग्नै नहुने हो ? भन्ने प्रश्न गरे । थाकसका सहमहामन्त्री मिनराज चौधरीले अध्यक्ष धनिराम चौधरीको मन्तव्य वाचन गरेर सुनाएका थिए । स्मरण रहोस्, कार्यक्रमको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा पनि अध्यक्ष धनिराम चौधरी अनुपस्थित थिए ।

काठमाडौं फर्किनुपर्ने हतारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल स्वागत मन्तव्यपछि कसैको कुरै नसुनी आफ्नो मात्रै अभिव्यक्ति राखेर हिँडेका थिए । उनी पछि मन्तव्यका लागि उभिएका नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले आफ्नो कुरा एक मिनेट भए पनि सुनेर जान आग्रह गरेका थिए । सहमहामन्त्री चौधरीले भने,‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’

आसन ग्रहणमै अधिकांश समय गएपछि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आफ्नो मन्तव्यको सुरुमै समयको ख्याल राख्न आयोजकहरुलाई अनुरोध गरेका थिए । उनले यही मञ्चमा रेशम चौधरी देखिनु अनि धनिराम चौधरी हराउनुपर्ने अवस्थाले देशमा कानुनी शासन छ भन्ने थारुलाई अनुभूति नभएको बताए । कार्यक्रममा मर्यादाक्रम नमिलेको भनेर आदिवासी जनजाति आयोग तथा थारु आयोगका माननीय सदस्यहरु मञ्चमा आसन ग्रहण गर्न गएनन् ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रसेका नेता विजयकुमार गच्छदारले थारुका कुरा सरकारसमक्ष अरुले लगिदेला भनेर आशा गर्नुभन्दा आफ्नो कुरा आफैले बुलन्द गर्नुपर्ने बताए । पूर्वमन्त्री तथा एमाले नेत ृभगवती चौधरीले थारुहरुको शक्ति दिनप्रतिदिन क्षिण हुँदै गएकाले यसबारे गहन छलफल आवश्यक रहेको बताइन् ।
कार्यक्रममा खेलकूद मन्त्री तेजुलाल चौधरी, थाकसका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीलगायतले आआफ्नो मन्तव्य दिएका थिए । समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीलाई मन्तव्यका लागि बोलाइदा उनी हिँडिसकेका थिए । उता श्रोता छैनन् भनेर पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहित बोल्न रुचि देखाएनन् । कार्यक्रम थाकसका कावा अध्यक्ष देवीप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा हृदयनारायण चौधरीको पुस्तक थारु जातिको समय विमोचन गरिएको थियो । थाकस केन्द्रको मुखपत्र ‘थारु संस्कृति’ प्रकाशन गर्ने योजना यसपालि पनि कार्यान्वयन भएन । थाकस क्षेत्रीय समिति देउखुरीले थारु शब्दकोश लगायतको पुस्तकको स्टल राखेको थियो ।

मंसिर २ गते आज बन्दसत्र रहेको छ । मंसिर ३ गते नयाँ नेतृत्वको चयन गरी महाधिवेशन सकिनेछ । थाकसको केन्द्रीय अध्यक्षमा प्रेमीलाल चौधरी, मिनराज चौधरी, देवीप्रसाद चौधरी, रुक्मिणी चौधरी, वर्तमान अध्यक्ष धनिराम चौधरीलगायत आकांक्षी रहेका छन् । प्रेमीलाल चौधरीले पहिल्यै उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, घोषणापत्र सहित उम्मेदवारी मिनराज चौधरीले मात्र सार्वजनिक गरेका छन् । आधिकारिक उम्मेदवारको घोषणा भइ नसकेकाले पार्षदहरु नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने अलमलमा छन् ।
कार्यक्रम अघि र्यालीले भैरहवा नगर परिक्रमा गरेको थियो ।




प्रकाशित:
६६७ दिन अगाडि
|
२ मंसिर २०८१
१२ घण्टा अगाडि
|
२९ भदौ २०८३
१ दिन अगाडि
|
२८ भदौ २०८३
१४ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९