पाँचौँ बाह्रखरी कथा प्रतियोगिता घोषणा, पहिलो हुनेलाई एक लाख पुरस्कार

पाँचौँ बाह्रखरी कथा प्रतियोगिता घोषणा, पहिलो हुनेलाई एक लाख पुरस्कार

११३७ दिन अगाडि

|

३१ भदौ २०८०

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

११३८ दिन अगाडि

|

३१ भदौ २०८०

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन थारु कल्याणकारिणी सभा (थाकस) हल, बानेश्वरमा शनिवार भदौ ३० गते सम्पन्न भएको छ । महाधिवेशनले बाराकी सुशीला चौधरीको अध्यक्षतामा हाललाई १४ सदस्यीय कार्यसमिति गठन गरेको छ ।                                                                                                                     नवनिर्वाचित अध्यक्ष सुशीला चौधरी जसको वरिष्ठ उपाध्यक्ष सुमन कुमारी चौधरी (उदयपुर) उपाध्यक्षद्वयमा धर्मेन्द्र कुमार चौधरी (सप्तरी) र नेहा पन्जियार (सर्लाही), महासचिव सुबोध कुमार चौधरी (सप्तरी), सचिवद्वय मायाकुमारी चौधरी (सप्तरी) र प्रदुमन चौधरी (सप्तरी) तथा कोषाध्यक्ष साजन चौधरी (कैलाली) चयन भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा सोभित चौधरी (बर्दिया), रुपेश राय थारु (महोत्तरी), कृति चौधरी (रौतहट), दिप्सन चौधरी (मकवानपुर), नवीन चौधरी (कैलाली) र निरन्जन चौधरी (सप्तरी) रहेका छन् । उता थाकसको केन्द्रीय पार्षदमा थाविसका संस्थापक अध्यक्ष संजय चौधरीलाई चयन गरिएको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

११३८ दिन अगाडि

|

३१ भदौ २०८०

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो । अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।  थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ ।  अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।  ऐतिहासिक पक्ष थारु समुदायमा रहँदै आएको प्रचलित किम्वदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ)मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो ।  अर्को किम्वदन्ती अनुसार एक समयमा द्रोपदीसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।  मनाउने विधि र अग्रसनको महत्त्व समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा)मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउँछ । आइतबार भन्दा अघिल्लो राति  (भिन्सरिया, डँटकट्टन (दर) खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि, सोमबार विहानै पूजापाठ अर्थात् ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ । उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।  

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम रकम उठाउँदै

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम रकम उठाउँदै

११३९ दिन अगाडि

|

३० भदौ २०८०

कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीलाई गत शनिबार (भदौ २३) अपरिचित नम्बरबाट फोन आउँछ । अभिवादनसँगै सो व्यक्तिले आफ्नो परिचय दिन्छ, आफू सुदूरपश्चिम सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको स्वकीय सचिव विकास ऐर हो भनेर । अनि निकै विनम्रतापूर्व भन्छ, ‘म तपाईंलाई चिन्छु, तपाईं मलाई चिन्नु हुन्न ! मन्त्रीज्यूको मलाई आदेश छ, एकदमै इमर्जेन्सी भयो । म बाहिर भएकोले व्यवस्थापन गर्न सकिरहेको छैन । उहाँलाई थोरै पैसा चाहिएको छ । पठाइदिनुस् न ! म पछि मन्त्रालयबाट मिलाइदिन्छु ।’ यति सुनेपछि त्रिलोकनाथ चौधरी नतमस्तक हुन्छन् । चिनेकै मान्छे, त्यो पनि मन्त्री यूले मागेपछि दिनलाई कर लाग्छ । उनले ६ हजार रुपैयाँ सो व्यक्तिले भनेअनुसारको ई–सेवा आईडीमार्फत पैसा पठाउँछन् । एकछिनपछि उनले आफ्नै सहकर्मी नगरपालिकाको कृषि शाखामा कार्यरत दिनेश कुमार चौधरीले पनि सोही व्यक्तिलाई सोही नम्बरमार्फत पैसा पठाएको खबर पाउँछन् । त्यसपछि दुवै जनाले खोजी नीति गर्छन् । अनि थाहा पाउँछन्, आफूहरू ठगिएको । दिनेश कुमार चौधरी भन्छन्, ‘मन्त्रीज्यूले मागेपछि दिइदिऊ लाग्यो । मैले पनि ईसेवामार्फत २ हजार रुपैयाँ पठाइ दिए ।’ दिनेश र त्रिलोकनाथ चौधरीले मिमसरा कुमारी महतराको नाममा ईसेवा आइडी ९८५११७३३१८ मा पठाएका हुन् । भजनी नगरपालिकामै कार्यरत वैभव चौधरीसँग पनि पैसा मागेको तर उनी जोगिएको बताइएको छ । यसरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नाममा रकम असुली गर्ने गिरोह नै सक्रिय भएको पाइएको छ । सो गिरोहले प्रदेशका विभिन्न स्थानीय तह अन्तरगतका कृषि शाखामा कार्यरत कर्मचारीहरूसँग पैसा मागिरहेको पाइएको हो । प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीको निजी सचिवालयका नाम उल्लेख गरेर रकम असुली रहेको पाइएको हो । कैलालीको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पनि सोही नम्बरबाट सोही मान्छेले फोन गरेर पैसा मागेको बताउँछन् । तर आफूले चिनैकै मन्त्री, त्यो पनि आफ्नै क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिबाटै सत्यतथ्य बुझ्नलाई राज्यमन्त्री कैलाश चौधरीलाई फोन गरेको सुनाउँछन् । आफूहरू कसैसँग पनि पैसा नमागेको राज्यमन्त्री चौधरीबाट सत्यता थाहा पाएपछि उनी पैसा पठाउन रोकिए । लालवीर भन्छन्, ‘म त दिनलाई तयार भइसकेको । अनि मन्त्रीज्यूलाई के त्यस्तो आपत् आइलाग्यो, भनेर सत्यता बुझ्न फोन गरे । र, ठगिनबाट जोगिए ।’ आफूसँग १० हजार रुपैयाँ मागेको बताउँदै लालवीर चौधरीले गाउँपालिकामै कार्यरत पशु सेवा अधिकृत नरबहादुर कार्कीसँग १५ हजार र कृषि शाखाकै चक्रप्रसाद भाटसँग ५ हजार रुपैयाँ मागेको जानकारी दिए । तर आफूहरू तीनै जना जोगिएको उनको भनाइ छ । कसैले आफूहरूलाई ठग्न खोजेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुरमा व्यक्तिको पहिचानसहित कारबाहीको लागि उजुरी दिएका छन् । भदौ २४ गते इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलाई नेपाल टेलिकमले उपलब्ध गराएको कल डिटेल अनुसार सो पोष्टपेड मोबाइल नम्बर ९८५११७३३१८ कालिकोट मुगराहारा समाला गाउँका अम्मरराज सिजुवालको नाममा दर्ता भएको खुलेको छ । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै पैसा माग्ने व्यक्तिले जिल्ला बाहिरबाट फोन गरेर पैसा मागेको बताए ।  आफूहरूको नामबाट कसैले पैसा मागिरहेको थाहा पाएपछि आफूहरूले सबै पक्षलाई सचेत रहन आग्रह गरेको राज्यमन्त्री कैलाश चौधरीले बताए । राज्यमन्त्री चौधरीले भने, ‘कसैले हाम्रो नाम वा सचिवालयको नाम प्रयोग गरेर असुली धन्दा मच्चाएको खबरले हामी दुःखी भएका छौँ । हामी जनताका सेवक हौ । जनताबाट १ पैसासम्म माग्ने हाम्रो नैतिकताले दिँदैन । हामी कल्पनासम्म गर्न सक्दैनौ । त्यसैले त्यस्तो ठगी धन्दाबारे जानकारी पाउने बित्तिकै सबैलाई सचेत रहन अपिल गरेका छौँ । साथै आवश्यक कारबाहीको लागि प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेका छौ ।’ 

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

११४२ दिन अगाडि

|

२७ भदौ २०८०

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ को ‘पाइलटिङ डेमोन्सट्रेसन’ आज भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट यो खोपको शुभारम्भ गर्ने भएको छ ।  हाललाई यो खोप १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका(२०६५ भाद्र ३०–२०६६ भाद्र २०) किशोरीहरुलाई लक्षित गरी दिइने जनाइएको छ । सातै प्रदेशका १–१ वटा अस्पतालबाट १४ वर्षका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्राको एचपीभी खोप दिन लागिएको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश एचपीभी खोपलाई विस्तार गर्दै १० –१४ वर्षसम्मका सबै किशोरीलाई यो खोप लगाइने उनको भनाइ छ । उनका अनुसार तोकिएका अस्पतालहरूबाट उपलब्ध गराइने एचपीभी खोपको पहिलो मात्रा लिनका लागि उमेर खुल्ने आधिकारिक प्रमाणपत्र/जन्मदर्ता/जन्म खुलाउने अन्य कागजात लिएर जानुपर्नेछ। त्यसैगरी दोस्रो मात्रा लिनका लागि खोपको पहिलो मात्रा लिएको खोप कार्ड साथमा लैजानुपर्नेछ । यो खोप कहाँ–कहाँ दिइँदै छ? - कोशी प्रदेशमा कोशी अस्पताल – विराटनगर - मधेश प्रदेशमा नारायणी अस्पताल – वीरगन्ज - वाग्मती प्रदेशमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल – थापाथली - गण्डकी प्रदेशमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान – पोखरा - लुम्बिनी प्रदेशमा भेरी अस्पताल - नेपालगन्ज - कर्णाली प्रदेशमा प्रदेश अस्पताल – विरेन्द्रनगर - सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल – डडेलधुरा सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने झनेको थियो । यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको भए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन । सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो ।नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेपनि अभियानकै रुपमा भने सरकारले यो पहिलोपटक सबैतिर विस्तारको सुरुआत गरेको हो । यही असार १९ बाट चीनबाट २० हजार मात्रा एचपीभी खोप खरिद गरी ल्याइएको थियो । अहिले दिन लागिएको खोपको नाम ‘सिकोलिन’हो ।यसले एचपीभी भाइरसको प्रजाति ‘१६’ र ‘१८’ को कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरणमा प्रभावकारी रहेको देखिएको छ । पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप के हो ? विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ‚ जबसम्म क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको हुँदैन । त्यसैले खोप र नियमित स्क्रिनिङ अपिरहार्य रहेको चिकित्सकहरूको सुझाव छ । मुख्यतः एचपीभी भाइरसको प्रकार ‘१६’ र ‘१८’ ले क्यान्सरको जोखिम बढाउँछन् । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ र यो खोप सुरक्षित र प्रभावकारी पनि पाइएको छ । क्लिनिकल अन्कोलोजिस्ट डा. रश्मी पुनले यो खोप पाठेघरको क्यान्सर रोक्न सक्ने माध्यम भएको बताउँदै भन्छिन्‚ ‘यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने देखिको छ । यो खोपले अरु यौनजन्य रोगहरुबाट पनि बचाउँछ ।किशोरी तथा महिलाहरुलाई यो खोप एकदम लाभदायिक छ।’ धनी राष्ट्रहरूमा एचपीभीविरुद्धको खोपको उपलब्धता, स्क्रिनिङ र उपचारको पहुँच भएकाले यी देशहरूमा मृत्युको दर कम रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यौन सम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । साथै १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ ।यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ ।विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् । खोप सीमित, पहिला आउनेलाई प्राथमिकता परिवार कल्याण महाशाखाले जनाएअनुसार यो खोप लगाउनुपर्ने १४ वर्ष उमेर समूहका किशोरी संख्या ३ लाख ५८ हजार ७५४ रहेका छन् भने १० देखि १४ वर्ष उमेर सख्यांका किशोरीहरु १६ लाख ८८ हजार ७६८ रहेका छन् । त्यसैगरी हाल खोप दिइने भनिएको ७ जिल्लामा १४ वर्ष उमेरका किशोरीहरु ४५ हजार ७ जना रहेका छन्‚ जसमा ९ हजार ५०५ जना जतिलाईमात्र खोपको दायरामा समेट्न सकिने अवस्था रहेको खोपा शाखाको प्रमुख डा. गौतम बताउँछन् । उनी भन्छन्‚ ‘हाल यो खोप कम परिमाणमा मात्र उपलब्ध भएकाले थुप्रै चुनौती छन् । जिल्लाको जनघनत्वको आधारमा भ्याक्सिन वितरण गरिएको छ तर खोप सीमित भएकाले ४–५ दिनसम्म दिने भनिएपनि पहिलो वा दोस्रो दिनमा नै खोप प्रयोग भइसक्ने सम्भावना छ ।’ उनले क्यान्सर स्क्रिनिङ कार्यत्रम पनि सरकारको प्राथमिकताको कार्यक्रम रहेकाले ३० वर्ष उमेरपछि हरेक महिलाले ५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने सुविधा सुझाए । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल सरकारले चाहेर पनि यो खोप धेरै मात्रामा ल्याउन नसकिएको बताउँछन् । भन्छन्‚ ‘विश्वमै यो खोपको माग जति छ‚ उपलब्धता त्यति नै कम छ । हालसम्म ३ वटा कम्पनीले मात्र यो उत्पादन गरिरहेका छन् ।त्यसैले अहिले जति छ‚ त्यति नै समतामूलक वितरण होस् भनेर यसरी खोप दिन लागिएको हो ।’ उनका अनुसार सरकार गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगबाट नियमित खोपमा समावेश गर्ने गरी पर्याप्त मात्रामा उपलब्ध गराउनका लागि निरन्तर सम्पर्कमा छ । डा. विवेक भन्छन्‚ ‘प्रपोजोल पेस गरिसकेका छौँ । ग्रिन सिग्नल पनि पाइसकेको अवस्था छ । स्वीकृतिको चरणमा जान्छ होला । सन् २०२४ सम्म यो खोप ल्याउने संकल्प हो ।’ खोप शाखाका अनुसार सन् २०२४ देखि एचपीभी खोप नियमित खोप सेवामा समावेश गरेर कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालयबाहिरका १० वर्षका बालिकाहरुलाई एचपीभी खोप प्रदान गरिनेछ । त्यसैगरी ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका बालिबालिकाहरूलाई एचपीभी खोप अभियानको रुपमा दिने बताइएको छ ।

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

११४२ दिन अगाडि

|

२७ भदौ २०८०

लखागिन थारु उत्थान मञ्च, सुर्खेतको दोस्रो साधारण सभा वीरेन्द्रनगरमा एक समारोहकाबीच भदौ २३ गते शनिवार सम्पन्न भएको छ । मञ्ले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्मको ३ लाख ७९ हजार ३८४ रुपैंयाको आय व्यय प्रस्तुत गरेको छ । साधारण सभा कार्यक्रममा अध्यक्ष मानबहादुर चौधरी पन्नाले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना तथा उपाध्यक्ष लोकबहादुर चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका ९ नं वडाका वडाध्यक्ष ऋषि गिरीले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारु जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारु उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारु समुदायमा राजनीतिक रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए ।   थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको उपचार गर्न यहाँका थारुहरुलाई अब लाटीकोइलीमा बन्दै गरेको स्वास्थ्य अस्पतालबाट निकट भविष्यमा व्यवस्था हुने कुराको जानकारी उनले गराए । आफू थारु समुदायमा हुर्केकोले थारु समुदायको समस्या बुझेका आफ्नो वडाबाट हुने जुनसुकै कुरामा सहयोग हुने पनि वडाध्यक्ष गिरीले प्रतिवद्धत व्यक्त गरे । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकताको संरक्षण गीत, चालचलन र परम्पराको संरक्षणको लागि लखागिनले काम गर्दै आएकोमा खुशी व्यक्त गरे । उनले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको तर यसका लागि थारु समुदाय आफैमा जागरुक हुनुपर्ने जिकिर गरे । लखागिन थारु उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारुले थारुहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारु समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  । कार्यक्रममा लखागिन थारु उत्थान मञ्चका संरक्षक सनिसरा दहितले थारु समुदायको अगुवाई गरी यस संस्थाले राम्रो उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति बेचुलाल चौधरी, वीरेन्द्रनगर नगरपालिका वडा नं २ का वडासदस्य रमेश चौधरी, थारु अगुवा मानबिर थारु, भागिराम थारुलगायतका वक्ताहरुले थारुहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।  

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

११४२ दिन अगाडि

|

२६ भदौ २०८०

साहित्यकार राजेन्द्र पराजुलीको भदौ २६ गते मंगलवार विहान निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् ।  उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् ।  अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए । के भन्छन् साहित्यकार ? उनको निधनवारे नयनराज पाण्डे भन्छन्, ‘लेखक न थियौ, कहिलेकाहीँ अनेक कुराले मन दुख्थ्यो होला । तर, मुस्कुराउन कहिल्यै छाडेनौ । संघर्ष सधैं गरिरह्यौ । तर,  सधैं उत्साहमै रह्यौ । केही नयाँ लेख्न थालेपछि बालकझैं फुर्कन्थ्यौ । एकपटक उहिल्यै भयानक सडक दुर्घटनाबाट बाँचेदेखि तिमी झनै जीवन्त भएका थियौ र जिन्दगीसित गुनासो गर्दैनथ्यौ । धेरै पाउने लोभै थिएन । थोरैमा मख्ख पर्ने बानी तिम्रो । कुण्ठा थिएन । घमण्ड छँदै थिएन । कतिपटक झगडा गरियो । तर, बोल्न कहिल्यै छाडेनौ । बाँच्नु त तिमीजस्तो पो बाँच्नु । तिम्रो अप्रत्याशित प्रस्थानले केही अत्यायो अवश्य । तर, तिम्रो ुबाँच्नुुसित मेरो सधैं ईष्या रहनेछ । अलबिदा त भन्दै भन्दिनँ । श्रद्धाञ्जलि झनै भन्दिनँ । भेट त फेरि पनि भैरहनेछ । तिम्रा अक्षरहरू मर्दैनन् नि त ।  बिहानभरि खुब रोएँ । अब रून्नँ । तिमी जाने बाटोमा मेरो आँसु हुने छैन दोस्त १’ त्यसैगरी उनको निधनवारे नारायण वाग्ले भन्छन्, ‘‘राजेन्द्र पराजुली सधैं संघर्षरत पत्रकार, जहिल्यै जुझारू लेखक। नयाँ कथा संग्रह ‘जन्तरमन्तर’ घोषणा गरेर हामी सबैलाई छक्याएर सधैंका लागि बिदा भएको पत्याउन मन छैन। धेरै लेख्ने धोको बाँकी राखेर त्यसरी हिंड्न कहाँ पाइन्छ, मित्र, हार्दिक सम्झना ।’ उता, महेशविक्रम शाह भन्छन्, ‘प्रिय मित्र, तिमी यसरी अचानक, अप्रत्याशित रुपमा हामीलाई गहिरो शोकमा डुबाउँदै सदाका लागि छुट्टिएर जानेछौ भन्ने कल्पनासम्म थिएन । सायद क्षणभङ्गुर जीवनको कटु सत्य यही हो । तिमीले छोडेर गएका कथाहरुबाट हामी तिमीलाई सदा सम्झिरहने छौँ । प्रिय कथाकार स्व। राजेन्द्र पराजुलीमा भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारमा गहिरो समवेदना ।’ उता प्रमोद प्रधान लेख्छन्, ‘भर्खर पशुपति आर्यघाटबाट घर आइपुगेको छु, प्रिय मित्र, साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको महाप्रस्थानको साक्षी बनेर । करिब ५ वर्ष एउटै कक्षका दुई बेग्लाबेग्लै टेबुलमा बसेर  आर्थिक समाचार सम्पादन गरेको याद आइरहेछ । जाने उमेर भएकै थिएन । मभन्दा ६ वर्ष कान्छो, नेपाली भाषा साहित्यमा कहिल्यै नबिर्सिने नाम । अश्रुपुरित नयनले हार्दिक श्रद्धाञ्जलि भन्दैछु ।’ उता डा विप्लव ढकाल लेख्छन्, ‘प्रिय राजेन्द्र, फेरि साँझ परेको छ । म विचारशून्य बनेको छु । रित्तो बनेको छु । तिमी धूवाँ बनेर भरखरै महाशून्यमा प्रस्थान गर्यौ । म आर्यघाटबाट भरखरै घरमा आइपुगेको छु । बाहिर झरी परिरहेको छ । म भित्रभित्रै निथ्रुक्क भिजिरहेको छु ।  प्रिय मित्र, कफीसपमा बसेर हामीले नेपाली वाङ्मयका बारेमा केही गम्भीर सहकार्य गर्ने योजनाहरू बनाएका थियौँ । म तिनलाई पूरा गर्ने कोसिस गर्नेछु । तिम्रो अमर आत्माले शान्ति प्राप्त गरोस् १ तिम्रो महाप्रस्थान सहज र सुखमय बनोस् ।  हार्दिक श्रद्धाञ्जली ।’