नेपालीको शव बाकसमा ल्याउँदा लुकेको आर्थिक पाटो

नेपालीको शव बाकसमा ल्याउँदा लुकेको आर्थिक पाटो

१०९३ दिन अगाडि

|

१५ कात्तिक २०८०

व्यापारीले भनेकै मूल्यमा कैलालीका किसान धान बिक्री गर्न बाध्य

व्यापारीले भनेकै मूल्यमा कैलालीका किसान धान बिक्री गर्न बाध्य

१०९४ दिन अगाडि

|

१४ कात्तिक २०८०

किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भनिन्, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो । धेरै घाटा भयो ।” हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन् । कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताइन् । “अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो”, उनले भनिन्, “नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।” संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उनले बताइन् । “किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ”, उनी भन्छन्, “हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ ।” सरकारले यस आव २०८०÷८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ । संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ । “निश्चित कोटा र ढिलो खरिद सुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ”, किसान दीपक चौधरी भन्छन्, “त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा ब्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।” रासस

जब एक पिताले ‘डिभोर्सी’ छोरीलाई ब्यान्ड बाजासहित स्वागत गरे...

जब एक पिताले ‘डिभोर्सी’ छोरीलाई ब्यान्ड बाजासहित स्वागत गरे...

१०९७ दिन अगाडि

|

११ कात्तिक २०८०

झारखण्डको राजधानी राँचीमा बस्ने प्रेम गुप्ता केही दिनअघि अचानक समाचारको विषय बनेका छन् । इँटाभट्टा चलाउने प्रेमका तस्बिर र भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भए । यसको कारण उनले आफ्नी छोरीको सम्बन्धविच्छेदको निर्णयलाई स्वागत गरेका थिए । प्रेम गुप्ताकी एक्ली छोरी साक्षी गुप्ताको केही महिनाअघि विवाह भएको थियो । तर केही कारणले विवाह सफल हुन सकेन र उनीहरूले सम्बन्ध तोड्ने निर्णय गरे । जब साक्षीले आफ्नो बुबालाई यो कुरा बताइन्, उनले छोरीको निर्णयलाई स्वागत मात्र गरेनन्, धूमधामका साथ उनलाई घर फर्काए। निर्णय लिनुअघि के सोचे ? राँचीको किशोरगञ्ज इलाकामा बस्ने प्रेम गुप्ताले केही दिनअघि आफ्नी छोरीलाई उनको पतिको घरबाट फिर्ता ल्याएका थिए । उनी जसरी घर छोडेर पतिको घर पुगेकी थिइन्, त्यसरी नै छोरीलाई घर फर्किए । आफ्नी छोरीलाई यसरी घर फर्काउने निर्णय प्रेम गुप्ताको थियो। प्रेम गुप्ताले समाजलाई ध्यानमा राखेर यो निर्णय लिएको बताए । उनी भन्छन्, ‘छोरीको बिहे गर्न हामीले धेरै पैसा खर्च गर्‍यौँ । तर यो अवस्था थाहा पाएपछि प्रेम गुप्ताकी छोरी गलत हो भनेर समाजले भन्न नपरोस् । मेरो छोरी गलत होइन भने सम्मानपूर्वक घर किन नल्याउने भन्ने निर्णय गर्‍यौँ ।’ जब प्रेमले आफ्नो निर्णय सुनाउँदै थिए, साक्षी गुप्ता पनि त्यहाँ थिइन् । साक्षी गुप्ताले आफ्नो बुबालाई ब्यान्डसँग देखेको क्षणहरू साझा गरेकी छिन्। उनी भन्छिन्, ‘त्यो दिन पहिलो नवरात्रि थियो । लक्ष्मीलाई सोही दिन घर फर्काउने भन्नुभयो । बाजाको आवाज सुन्दा म सामान प्याक गर्दै थिएँ। बिहेको जन्ती जाँदैछ भन्ने लाग्यो । तर जब मैले बाहिर निस्केर देखे कि यो त मेरो बुबा हो, यो मेरो परिवार हो। म चकित भएको थिएँ।’ साक्षीले थप भनिन्, ‘बाहिर जानुअघि म विवाहको तस्बिर हेर्दै थिएँ । तस्बिर हेर्दा नराम्रो लाग्यो, मन दुख्यो । मैले छोड्नु अघि तिनीहरूलाई च्यातेँ। जब म बाहिर निस्के, बुबाले मेरो काँधमा हात राख्नुभयो । मैले उहाँको अनुहारमा मुस्कान देखेँ। यसले मलाई मेरो बुबा दुखी होइन, धेरै खुसी भएको महसुस गरायो। साक्षी भन्छिन् कि उनका बुबा महिलालाई लक्ष्मी मान्छन् र उनी मात्र होइन घरका सबै महिलाहरूलाई असाध्यै माया गर्छन्। उनी भन्छिन्, ‘मेरो बुबाले लिएको निर्णय हरेक बुबाले आफ्नी छोरीको लागि लिनुपर्ने निर्णय हो।’ भविष्यको लागि आशा साक्षी भन्छिन्, ‘बुवाले रुँदै बिदाइ गर्नुभयो तर हाँसेर लिन आउनुभयो। यो देखेर डिभोर्सको बोझ अलि कम भएको छ । आज जहिले पनि कतै जाँदा धेरै गर्व लाग्छ। मेरा आमाबुवाले मलाई पहिले जस्तै सामान्य जीवन दिनुभएको छ। त्यो सम्बन्धमा मेरो कुनै गल्ती थिएन। म विगतलाई भुल्न सक्दिनँ, तर त्यो पीडा धेरै कम हुनेछ।’ आफ्नो भावी जीवनको प्रश्नमा साक्षीले आर्थिक रूपमा आत्मनिर्भर बन्न काम गर्न चाहेको बताइन् । उनी भन्छिन्, ‘मैले फेसन डिजाइनिङमा स्नातक गरेकी छु । अब फेरि पढाइ सुरु गर्न लागेको छु । मेरो आफ्नै बुटीक खोल्ने एउटा सानो सपना छ। मलाई लुगामा धेरै रुचि छ। फेसबुक र इन्स्टाग्राममा म जस्ता धेरै महिलाहरूको म्यासेज आइरहेको छ । मैले धेरै महिलाहरूलाई बाटो देखाएको छु। आगामी दिनमा पनि निरन्तरता दिनेछु ।  यता प्रेम गुप्ता भन्छन्, ‘म जस्तै सबै अभिभावकले छोरीलाई साथ दिनुपर्छ । –बीबीसी हिन्दी सेवाबाट

थारु आयोगले भन्यो– मुक्त कम्लहरीहरुको मुद्दा खै सम्बोधन ?

थारु आयोगले भन्यो– मुक्त कम्लहरीहरुको मुद्दा खै सम्बोधन ?

१०९८ दिन अगाडि

|

१० कात्तिक २०८०

थारु आयोगले कम्लहरी मुक्तिको एक दशक बितिसक्दा पनि उनीहरुको आवश्यकता सम्बोधन हुन नसकेको भन्दै उनीहरुलाई व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । कम्लहरी प्रथा उन्मूलनको १० वर्ष बितिसक्दा पनि अधिकांशले परिचयपत्र पाउन नसकेको, अभिभावकविहीन कम्लहरी अलपत्र परेको, हिंसा पीडितहरुले न्याय पाउन नसकेको भन्दै थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको छ । ‘थारू समुदायमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी हटाई मर्यादित जीवन व्यतित गर्न सक्ने बनाउनु आवश्यक छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहले थारूमैत्री बजेटको अवधारणालाई आत्मसात गर्न आवश्यक छ ।’ आयोगले दुई साताअघि राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा अभिभावकविहीन कम्लहरीको तत्काल बसोबासको व्यवस्था हुनुपर्ने सिफारिस छ । आयोगको प्रतिवेदनमा भनिएको छ, ‘मुक्त कमैया पुनर्स्थापनाको बाँकी काम सम्पन्न गर्न तीनै तहका सरकारहरूको एकीकृत प्रयास हुन आवश्यक छ ।’ थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मुक्त कमैयाका कतिपय समस्या अझै सम्बोधन हुन नसकेको बताए । ‘सरकारको तर्फबाट हेर्दा कार्यक्रमहरु भयो, मुक्त कमैयाहरुको माग सम्बोधन भएको भन्ने देखिन्छ’ उनले भने, ‘तर स्वयं थारु समुदाय र उनीहरुका संघसंगठन यो कुरा मान्न तयार छैनन् । पुनर्स्थापनाका कतिपय काम अझै बाँकी देखिन्छन् ।’ आयोगले कम्लहरीको परिचय–पत्र वितरण गर्न अनि कम्लहरी समस्याबरे अपनत्व लिन पनि सरकारलाई सुझाव दिएको छ । आर्थिक अभावका कारण मुक्त कम्लहरीका सन्तानहरुले पढ्न नपाएको भन्दै उनीहरुलाई पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्न सुझाव दिएको छ । थारु आयोगले हत्या, वेपत्ता र यौन हिंसामा परेका कम्लहरीहरू एवम् तिनका परिवारहरूलाई न्याय दिलाउन अनि कम्लहरीहरुलाई सीपमूलक तालिम सहित रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । थारु आयोगले कानून संशोधन गरी सरकारसँग सम्पर्क गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई तोकिनुपर्ने माग गरेको छ । थारु आयोग ऐन, २०७४ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्पर्क मन्त्रालय तोकिएको छ । आयोगले थारु समुदायको विविध पक्षको अध्ययन, अनुसन्धानका लागि पर्याप्त बजेट व्यवस्था गर्न र बजेट परिचालनको अधिकार समेत आयोगलाई दिनुपर्ने माग गरेको छ । अझै पनि कमैया पुनर्स्थापनाको काम बाँकी रहेको, पाएको जमिन उपभोग  गर्न नपाएको, धितो राख्नका लागि जमिन फुकुवा नहुने लगायतका समस्या देखिएको भन्दै आयोगले यस्ता समस्यामा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । थारु आयोगका अध्यक्ष चौधरी मुक्त कमैयाहरुलाई पुनस्र्थापित गर्ने क्रममा दिइएको जग्गा चित्तबुझ्दो नभएको र कतिपय ठाँउमा त उनीहरु झनै समस्यामा परेको बताए । उनले भने, ‘बाढी, पहिरो र डुवानको जोखिममा परेको जग्गा बाँडिएको छ । पुनर्स्थापितहरुको जीवनयापन सहज होस् भनेर ध्यान दिनुपर्ने थियो । उनीहरुले अझै कठिनाइ भोग्नुपरेको छ ।’ थारु आयोगले ‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवा चरुवावारे सरकारले गरेको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न भनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७८ सालमा यसबारे अध्ययन गर्दै भूमिहीनको समस्या तत्काल सम्बोधन गर्न भनेको थियो । आयोगले थारु समुदायभित्रको गरिवी र अभाव घटाउन, मातृभाषाको पाठयक्रम निर्माण गर्न, थारु भाषालाई स्थानीय तहमा कामकाजी भाषा बनाउनका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ । थारु समुदायको बसोबास रहेका कतिपय ठाउँमा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट सुरक्षा चुनौती देखिएको भन्दै आयोगले समन्वय र सहकार्यका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘वन्यजन्तुको आक्रमणबाट आवश्यक सुरक्षाका लागि समन्वय तथा प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ विभिन्न निकायहरुमा समावेशिताका लागि छुट्टै थारु क्लष्टर कायम भइसकेको भन्दै आयोगले उनीहरुलाई मधेशी वा आदिवासी जनजाति क्लष्टरमा नगाभ्न पनि ध्यानाकर्षण गराएको छ । प्रतिवेदनमा भनिएको छ, ‘शताब्दियौंदेखि आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रुपमा पछाडि पारिएका थारू जस्तै अन्य समुदायहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि आरक्षणको औचित्यता अझै आवश्यक रहेको छ ।’ थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा नै प्रत्याभूत भएको थारु क्लष्टरको विषय निर्वाचन आयोग लगायतका निकायहरुले कार्यान्वयन गरेपछि रोजगार दिने निकायले कोटा छुट्याउने क्रममा सम्बोधन गर्न नखोजेको बताए । 

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

११०२ दिन अगाडि

|

६ कात्तिक २०८०

मानबहादुर चौधरी 'पन्ना' थारु जातिको बसोबास भएको कर्णालीको एक मात्र जिल्ला हो, सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्ग र जुम्लारोड हाइवेभन्दा दक्षिणतर्फ ३६ गाउँ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारु गाउँहरू रहेका छन् । दाङबाट बसाइँ सराइ गरेर आएकाले सुर्खेती थारुहरू दंगौरा हुन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतका दंगौरा थारुहरुको चाडपर्व मनाउनेमा एकरुपता देखिन्छ ।  थारु समुदायले डस्या अर्थात् दसैँ अन्य समुदाय भन्दा मौलिक र फरक तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय थारु समुदायमा दसैँ पर्वको मौलिकता हराउँदै आएको समुदायका अगुवाहरू बताउँछन् ।  घटस्थापनाको दिनलाई थारुले ‘जिउरा ढैना’ दिन भन्छन् । बिहान गरढुरिया (घरमुली) बिहानै नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर (डेहुरार) देउथानको प्रकाश कम लाग्ने छायामा मकैको जमरा राखिन्छ । जमरा राखिसकेपछि घरको जेठो छोराले नङ, कपाल, जुङ्गा, दारी केही पनि काट्न  मिल्दैन । यो पूर्खाप्रतिको सम्मान हो भन्ने गरिन्छ । दशैँको चौथो दिनसम्म खासै केही हुन्न । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृपूजा गर्दछन्, जसलाई सराढक दिन भन्छन् । थारुले सप्तमीको दिनबाट मात्र विशेष रूपमा दसैँ मनाउँछन् । त्यो दिनलाई ‘पैनस्टोपी ढोइना दिन’ भनिन्छ । यो दिन घरको पनि सरसफाइ गरिन्छ । त्यसैले, झोल झरैना दिन पनि भनिन्छ ।  अष्टमीमा पुर्खाहरूलाई पुज्ने जमरा, बाबरीसँगै ढिक्री  हो, जसलाई ढिक्रह्वक दिन भनिन्छ । चामलको पिठोको ढिक्री बफाएर ममजस्तै पकाइन्छ ।  नुहाइ धुवाइ गरेपछि महिलाहरूले कपाल समेत कोर्न मिल्दैन, सप्तमीको दिनदेखि अष्टमीको दिनसम्म । किनकि पितृको भागमा रौँ पर्न सक्छ भन्ने जनविश्वास छ । जसरी दसैँमा नयाँ लुगाको महत्व छ, त्यसैगरी थारु समुदायमा देवीदेवताहरूलाई दसैँमा नयाँ सिंगारपटार गरिन्छ । नयाँ लुगाको रूपमा धागोले तीन–तीन पटक फेरा गरेर बाँटिन्छ । उनीहरुले पूजा गर्ने सौँरा भनेको गणेश तथा घरकी मैयाँ भनेको पार्वती हो ।  पौवा, दाउरा भारी, रोटी, गोलाकारलगायत आकारमा देउतालाई चढाइने ढिक्री पाँच किसिमको हुन्छ, जसले आफ्नो पुर्खाहरूको त्यो बेलाको सामान प्रयोग र स्थितिलाई चित्रण गर्छ । त्यो दिन विशेष खालको मादल पनि बजाइन्छ ।  भरलाको पातमा ढिक्री बेरेर घरका ढोका, छानामा घुसाइन्छ । त्यो भनेको पितृहरू रातमा आएर खाना खान्छन् भन्ने जनविश्वास छ । मादल बजाएर देउतालाई ढिक्री चढाएपछि लगभग एक घण्टाजति केही खाइन्न । देवताहरू खाँदैछन्, उनीहरूले खाइसकेपछि मात्र प्रसादको रूपमा हामीले खानुपर्छ भन्ने भनाई छ ।  नवमीको दिनलाई ‘मुर्गी पुज्ना दिन’ अर्थात् मुर्गह्वा भनिन्छ । यो दिनमा पितृहरूलाई पिण्ड दिइन्छ । बिहान उठ्ने बित्तिकै सबैले नुहाई धुवाइ गर्ने, त्यसपछि घरमुलीले बाबरीको फुल, जमरा, सिरुको कुचो अनिवार्य चढाउँछन् ।  अघिल्लो दिन बली चढाएको भेडोरुपी कुभिण्डो र बेलको डाँठमा उनिएको ढिक्री पूर्वपट्टिको ढोकाको छानामाथि फालिन्छ । दहित थरका थारु बाहेकका थारूहरू नवमीका दिन पुर्खाहरूले गर्दै आएको चलनअनुसार बलि पनि चढाउने काम हुन्छ । बलिका रूपमा सबैजनाले भाले चढाउँछन् । अष्टमीको दिनमा बनाएको कुभिण्डोको भेडोलाई बिहानका पहिलो प्रहरमै देउताको थानमा रहेको तरबारले एकै पटकमा छिनाल्ने र रक्सी चढाउने गरिन्छ । महिलाले नुहाई धुवाइ गरी भान्सा लितपोत गरी भात, मासको तरकारी, कुखुराको मासु, माछाको तरकारी, मास, सिमी, कुभिण्डो पकाएर पूजाकोठामा लगेर राख्ने गरिन्छ । त्यसपछि पिट्टर बोलाउने गरिन्छ ।  यस क्रममा मालुको पातको पाँचवटा टपरी बनाइएको हुन्छ । एउटा दुनामा जल, एउटामा रक्सी, पाँचवटा तरकारी हालेर भाग छुट्टयाइन्छ । खाना दिँदा कसैले उत्तरपट्टी दिन्छन् त कसैले दक्षिण । तर, पस्कदा देब्रे हातले दिनुपर्छ । प्रसाद दिइसकेपछि बान दिने भन्ने हुन्छ । त्यो भनेको शरीरको विभिन्न भागहरू चिरेर निकालिएको रगत हो । त्यो दिइसकेपछि बल्ल परिवारका सबै सदस्यले खाना खान्छन् ।  बिहानको खानापछि पूजा गरिएको सामग्री पात, टपरी तथा अन्य सबै फोहोर बढारेर २÷३ बजेतिर पुर्खाहरूको सम्मान गर्दै नाचगान गर्दै वर्षदिनको मेलामा रूपमा गाउँभरिका मान्छेहरू सँगै नजिकको घाट तथा खोलामा गएर पिण्ड सेलाउन (पिट्टर अस्रैना) जान्छन् । पिट्टर सेलाउन खोलामा जाँदा गाइने गीतको उदाहरण यस्तो छः मोर पिहा गइल उई पुरु पाटन हो... ए हो मोर लग लनही सेन्डुरा बेसार... रि सिल पटिय नक.. सिल सिल पटियक भाली भाली लोर सेन्डुर पहिरी धनि अङ्गना बहार हो.. ए हो सवटि बिरहन मरजी जा महिलाहरूले परम्परागत पहिरनमा सजिएर ढकियामा तरकारी, रक्सी लगेका हुन्छन् । महिलाले सामूहिक गीत गाउँदै ‘पिट्टर पुहैना’ कार्य गर्छन् । जसलाई अन्य समुदायले पितृ पुज्ने भन्छन् । खोलामा पिट्टर दिएको भाग सेलाएर रक्सी चढाउँछन् ।  ढकियामा लगेको खानपिन, रक्सी खोला किनारमै खान्छन् । त्यो दिन दुनामा खान मिल्दैन, मालुको पातमा खान दिइन्छ । खानपिन गरेर फेरि नाचगान गर्दै घरमा फर्किन्छन् ।  दशमीको दिन बिहान फेरि धुमधामका साथ पूजापाठ गरिन्छ । गाउँको साझा ठन्वा÷मरुवा मन्दिर जस्तै हो । गाउँका एक घरका एकजना एक बोटल रक्सी, जमरा, बाबरी लिएर ठन्वामा जान्छन् । त्यहाँ विशेष पूजाआजा गरिन्छ ।  घरमा पारिवारिक टीका सकेपछि गाउँका अगुवा बरघर तथा गुर्वा (धामी) को घरमा पनि एक बोटल रक्सी, जमरा, बाबरी लिएर सामूहिक रूपमा गाउँलेबाट टीका लगाइन्छ । अन्य समुदायले रातो टीका लगाउने भएपनि थारु समुदायले भने सेतो टीका मात्र प्रयोग गर्छन् । अब आएर भने रातो टीकाको पनि प्रयोग हुन थालेको छ । बरघरको आँगनमा टीका लगाउने क्रममा सखिया नाच घन्किरहेको हुन्छ हुन्छ । महिलाहरू बरघरको पत्नीलाई टीका लगाइदिन्छन् । टीकासँगै थारु समुदायको दसैँ सकिन्छ । हराउँदै दसैँको मौलिकता अन्य समुदायले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा लगाउने गर्दछन् तर थारूहरुको दसैँ दशमीकै दिन सकिन्छ । अहिले अन्य जातिको प्रभावमा यो पर्वको मौलिकतामा कमी आएको देखिन्छ । अहिले कतिपय थारूहरूले पहाडियालाई विवाह गरेका छन्, उनीहरूमा केही फरकपना आएको देखिन्छ । समाज पनि समावेशी बन्दै गएकाले अन्य समुदायको प्रभाव थारु समुदायमा आएकोे हो । विगतमा सबै समान खालको हैसियतमा थिए, सबैको साधारण तरिकाको जनजीवन थियो । प्रत्येक थारु गाउँमा संस्कृति थियो, नाचगान भैराख्थ्यो । सखिया नाच, हुर्डुङ्ग्वा नाच, छोक्रा नाच दसैँमा अपरिहार्य जस्तै मानिन्थ्यो, पहिला । अहिले कुनै कुनै गाउँमा मात्र भेटिन्छ । सुर्खेतमा विभिन्न संघसंस्थाको पहलमा केही गाउँमा थारु संस्कृति संरक्षणको प्रयास भइरहेको छ ।  पुर्खाहरूले पाउ, घुँडादेखि कान हुँदै शिरमा टीका लगाई आर्शिवाद दिने गर्थे । तर, अहिलेको पुस्ताले आर्शिवाद फलाक्न समेत जान्दैनन् । साथै, अहिले ठन्वामासमेत पूजाआजा गर्ने प्रचलनमा कमी आएको देखिन्छ ।  पित्तर सेलाउन जाँदा पहिला सबै एकजुट भएर जान्थे । अहिले ससानो समूह बनाई सुटुक्क आफ्नै तरिकाले जाने गरेका छन् । यसरी कविला परम्परामा हुर्केका थारूहरूमा पनि सामूहिकताको कमी हुन थालेको देखिन्छ ।’

सखिया नाचमा रमाउँदै थारू बस्ती

सखिया नाचमा रमाउँदै थारू बस्ती

११०४ दिन अगाडि

|

३ कात्तिक २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौली गाउँमा ३ सातासम्म सखिया नाचको पूर्वतयारी भयो । दसैँको सुरुवातपछि यो नाच औपचारिक प्रदर्शन सुरु गरिएको छ । बेलुकीपख तयारीको क्रममा बजाइने मादलको ताल र मञ्जिराको छन्कारले गाउँ गुञ्जायमान छ । निकासी (पूजापाठ) गरिएसँगै औपचारिक रुपमा सखिया नाच प्रदर्शन हुँदै आएको छ । बेनौलीका भलमन्सा काजीराम महतो भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला–संस्कृतिको दुष्टिकोणले पनि महत्त्वपूर्ण छ । जसको संरक्षण र प्रवर्द्धनका  लागि गाउँमा सखिया नाच गराइरहेका छौँ ।’ धनगढी उपमहानगरपालिका–१,६ भादा गाउँ एक महिना यता मादलले गुञ्जायमान छ । उसो त होम स्टे सञ्चालन हुँदै आएको भादामा अरु बेला पनि सखिया नाचिन्छ । होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले गाउँघरको माहोल उल्लासमय भएको जानकारी दिए । बेनौली र भादा गाउँमा मात्रै होइन, दसैँ आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ । सखिया नाचको प्रदर्शनले दसैँको उल्लास बढाएको हो । सामूहिक लोक नृत्यको रुपमा लिइने सखिया नाचका प्रत्येक पात्रको भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रिया आफ्नै प्रकृतिको छ । यद्यपि, पछिल्लो समय अनुकुुलता र प्रतिकुलतालाई मध्यनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाच दसैँको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ । लोक संस्कृतिविद् थारुका अनुसार दसैँको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ । सखिया के हो ? सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैँको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो । सखिया थारु लोकभागवत पुराण हो । दसैँमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ । डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र सखी र डानु री डाडा डरीउना री कहिले टोही मैं सामिरौं सरस्वती मैयाँ सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ पैंयाँमा कृष्ण र गोपिनीको रसलीला सो पुस्तकमा उल्लेख भएअनुसार दसैँको अवधिमा तथा सखिया नाचको बिच–बिचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्‍या (मदाल बजाउने युवा) एक अर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ । सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबिचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’ एनरी बाहाँस हो काटी कमवा सिटैबु कमवा सिटैबु मै पिन्जला बनैबुँ पिन्जला बनैबु मै सारी सुगा पलबु वचनक बिनल पिन्जला कबु रे जिनी टुट टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ । पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् । त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैँ नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भिड लाग्ने गरेको छ । यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभइ यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जुनकारण सखिया नाच व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।