बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

११४५ दिन अगाडि

|

२४ भदौ २०८०

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

११४८ दिन अगाडि

|

२१ भदौ २०८०

सरला चौधरी थारू समुदायबाट काठमाडौंमा भव्यताका साथ भदौ २० गते अष्टिम्की टिउहार मनाइएको छ । “आपन संस्कृति आपन पहिचान इहि बचैना हमार अभियान” भन्ने मूल नारासहित अग्रासन थारू महिला समुहको मुल आयोजनामा विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा बुधबार कार्यक्रमको आयोजना गरिएको थियो । न्यौछार थारू महिला समूह, बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, निस्राउ गु्रप लगायत २ दर्जन बढी संघ संस्थाको सहआयोजनामा अष्टिम्की पर्व मनाइएको हो । कार्यक्रममा लेखक तथा अष्टिम्की विषयमा विद्यावारिधि गरेका डा. कृष्णराज सर्वहारीले अष्टिम्की पर्वको विविध महत्वबारे प्रष्टयाएका थिए । उनले अष्टिम्कीमा बनाइने चित्रकलाको बारेमा व्याख्या गर्दै अष्टिम्की पर्वको चित्रकलाले प्रकृति र थारू जातिको आत्मीय सम्बन्ध रहेको बताए । मूल रुपमा अष्टिम्कीमा कान्हाको पूजा गरिने भए पनि यसमा गाइने काव्यमा खेतीपातीको प्रसंग आएकाले थारूहरु भूमिपुत्र भएको विचार राखे ।  त्यसै गरी, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, काँग्रेसका केन्द्रिय सदस्य  डा. गोपाल दहितले थारू समुदायले आफ्नो भेषभूषा तथा संस्कृति वचाउनु पर्ने तथा थारू संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । डा दहितले थारू कला र संस्कृति संरक्षणमा सरकारले महत्व नदिएको र यसमा नेपाल सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।  कार्यकक्रमा, माननीय तेजुलाल चौधरी, माननीय अरुणकुमार चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, थाकसका सहमहामन्त्री मिनराज चौधरी,  अग्रासन थारू महिला समुहका सल्लाहकार शिवशक्ति चौधरी, थाकस उपत्यका समितिका अध्यक्ष सुमन चौधरी, गीता चौधरी, कुछत नारायण चौधरीले लगायतले आ–आफ्ना धारणा राखेका थिए । अग्रासन थारू महिला समुहकी उपाध्यक्ष किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गायक दोषहरण चौधरी तथा कलाकार अन्जु चौधरीले कार्यक्रम सहजीकरण गरेका थिए । प्रेमा चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा विभिन्न कलाकार तथा गायकहरुले नृत्य तथा गीतको प्रस्तुति दिएका थिए ।  अष्टिम्की पर्व विशेष गरी पश्चिम तराईका थारू समुदायमा धुमधामका साथ मनाउने गरिन्छ । परिवारमा खुसी र निरोगिताको कामना गर्दै थारू महिलाहरु वर्त बस्ने गर्दछन् । अष्टिम्कीको विशेष आर्कषण भनेको अष्टिम्की भित्तेचित्र हो, जुन पूजाका लागि घरको पिढीको उत्तरतिरको भित्तामा बनाइन्छ । तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको महटाँवा, बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन घर घरमा विस्तार हुन थालेको देखिन्छ ।  व्रत बेसेको दिन व्रतालुहरु साँझ सामूहिक रुपमा अष्टिम्की टिक्ने प्रचलन छ । टिक्ने काम सकेपछि कान्हालाई मनपर्ने अमिलो, काँक्रालगायत चढाउने तथा केरा, अम्बा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाउने प्रचलन छ ।  त्यसपछि बिहान दियो बाली फेरी टिक्न जाने र आफूले पूजा गरेका समानसहित नजिकैको नढी वा खोलामा सेलाउन जान्छन् । सेलाएर फर्के पछि हरियो सागपात र गेडागडीको परिकार बनाई फरहार गरिन्छ । फरहार गरिसकेपछि चेलीबेटीलाई कोशेलीस्वरुप अग्रासन दिएर अष्टिम्की पर्व सम्पन्न हुन्छ ।   

थारू समुदायमा अष्टिम्कीको महत्व 

थारू समुदायमा अष्टिम्कीको महत्व 

११४९ दिन अगाडि

|

२० भदौ २०८०

कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पुजिने उनी एक मात्र देउता हुन् । अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ । यसमा कान्हा महिमामात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ । सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ ।भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ । अष्टिम्की काव्यमा पनि सृष्टिको वर्णन पाइन्छ । पहिले टे सिरिजल जलडल ढरटि सिरिजे टे गइल हो कुस कइ डाभ । अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही विरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो । जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अष्टिम्कीमा चित्रित हुन्छ । थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अष्टिम्की काव्य तथा अष्टिम्की कलाको अन्य विशेषता वर्णन गरिन्छ । अष्टिम्की काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन वन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इसरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ । यहाँ कृष्णकी आमा जसलाई जासु ९यशोदा० भनिएको छ । उनले बिहानको खाना ९कलवा० बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जासुले बनाएको भोजनबारे त्यसको वर्णन छ । रोपाइँको बेला खेतमै खाजा खानु थारूहरूको दिनचर्या हो । ढकियामा खाना राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन् । जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुति सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अष्टिम्कीमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन् । यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू सुरूमा भेडा बाख्रा चराउन जान्छन् । अष्टिम्की काव्यमा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ । कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या ९युवती० हरू झन मोहित नहुने कुरै भएन । कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्– बसिया र सुननु हो सासु, सुनटि सुहावन रि बसिया बजुइया भैया कौन रूप बा । अर्थात्, ए सासु बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन् । श्रीमद्भागवतमा राधा केवल कृष्णको प्रेमिकाको रुपमा चित्रित छिन् । तर  अष्टिम्की काव्यमा राधालाई विवाहित देखाइएको छ । त्यसैले राधाले सासुसँग बाँसुरीको धुन सुनु सुनु लाग्ने रहेको धक नमानी भनेकी छिन् । अष्टिम्की कला कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अष्टिम्की कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिइएको हुन्छ । अष्टिम्की कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ । अष्टिम्की कला घरको बहरी ९पिढी० मा रहेको उत्तरपट्टिको भित्तामा बनाइन्छ । चित्र बनाउनुभन्दा पहिले मूल घेरा बनाइन्छ । केहीले मूल घेरालाई सर्प आकार दिएका हुन्छन् । मूल घेराभित्र तीन कोठा छुट्याइन्छ । यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई छ । ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, छाता ओढेको आदि हुन्छ । त्यसको दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ ।  बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएझै बन्दुक बोकेको पुरुषाकृति हुन्छ, जसलाई कौरवको प्रतिनिधित्व मानिन्छ । सोही लहरमा रहेकी महिला आकृति द्रौपदीको रहेको भनिन्छ । केहीले यो महिला आकृति कृष्णका सोह्र सय गोपिनीहरुको प्रतीक पनि भन्ने गरेका छन् । किनकि केही चित्रमा बीचको कोठामा पुरुषाकृति नभई महिला आकृति मात्रै पनि हुन्छ ।  सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा सबैभन्दा तल चारकुने आकारमा छुट्टै वनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ । कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अष्टिम्की काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ । अष्टिम्की चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ । सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे । त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतिकको रूपमा कमलको पात अष्टिम्की चित्रमा बनाइन्छ । बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अष्टिम्की कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ । हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ । बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइँदैन । बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाइ छ । लेखक छविलाल कोपिलाको विचारमा कृष्णको जीवनमा आधारित अष्टिम्कीमा खलपात्रको रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ । यीबाहेक डुङ्गा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अष्टिम्की कलामा देख्न पाइन्छ । डुङ्गा शयर प्रेमलाई उत्कर्षमा र्पुयाउने साधनको रूपमा मानिन्छ । अस्टिम् िकाव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरिका राधाले नै बताएकी छिन्  । तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन् । यसरी कान्हाले राधासंगको प्रेम बिटुल्याएका छन् । अष्टिम्की काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ता गुर्वावाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । अष्टिम्की चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ । कान्हाका पिता इसरु यही रैनी माछाको पिठ्युँमा चढेर हलोको लागि काठ काट्न गएका छन्  । इसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अष्टिम्की चित्रमा माछाले स्थान पाएको छ । त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाको बीचमा अपूर्ण मानव आकृति वनाइएको हुन्छ, जसलाई बासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ । राती भाले बासेपछि अष्टिम्की पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ले अरुकै बारीबाट चोरेर ल्याएको चिचिण्डो पूजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन् । आठौं सन्तानको रूपमा जन्मेका कृष्णलाई मामा कंसले पुनः मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म र्पुयाउन प्रयोग गरिएको भन्ने कथन पनि छ । अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि इसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन्  । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको विम्वको रूपमा हलो जोत्दै गरेको हलीले अष्टिम्की चित्रमा स्थान पाएको छ । समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ । अष्टिम्की काव्यमा भालेको सन्दर्भ समय सूचकको रूपमा आएको छ । भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल, उठो पुटा बार कान्हा बछरु न छोर अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।  अष्टिम्की चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ । काव्यमा काली नागको फुफकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधीमूलो गरी ठीक पारेको छ । मूल चित्रबाहेक अर्को छुट्की अष्टिम्की चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अष्टिम्की चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ । २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अष्टिम्की कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ । यसले यो चित्र बनाउने परम्परा घर घरमा छिर्न थालेको छ । अष्टिम्की अस्रैना निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरु बेलुकी अष्टिम्की चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको पूmल सिउँरेका हुन्छन् । त्यस्तै, निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् ।  ाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिट्टे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ । पूजा गर्दा युवतीहरुको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरुले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरु तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी  दिनुपर्छ । विहान नजिकको खोला, नदीमा अष्टिम्कीको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरु भेला हुन्छन् । उनीहरुको सामूहिक स्नानले राधा आफ्ना सखीहरुसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरुको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरु कान्हा जस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरु ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अष्टिम्की लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ । कान्हा पूजा कहिलेदेखि ? १४५० ईस्वीतिर भारतीय महाद्वीपमा कान्हा चरित्र चित्रण आरम्भ भएको मानिन्छ । पन्द्रौ शताव्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापक रूप लियो । त्यसैको  प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो । कालान्तरमा कान्हा पूजन राजदरबार, ठूल्ठूला सामन्तका हवेलीहरूमा सीमित रह्यो । थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूको घरमा हालसम्म यथावत छ (थारू, २०७०ः ६१) । प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अष्टिम्की काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् ।  माइजूसँग शारीरिक सम्बन्धको परिकल्पनासमेत गर्न सकिदैन । तर कुनै कुनै गाउँको काव्यमा राधा कान्हाको माइजु भएको तथा कंश वधपछि कान्हाले माइजूसमेतलाई विहे गरेको प्रसंग आउँछ । तर, विश्लेषणको क्रममा यस्तो प्रसंगलाई प्राथमिकता दिनु जरुरी छैन । संस्कृति भन्दैमा पुर्खाले यस्तै गाउँदै आए भनेर हवाला दिदै त्यसलाई बोकिरहनु उचित होइन । संस्कृतिमा विकृति देखिए यसलाई हटाउन सक्नु पर्छ ।  कृष्णगाथा सम्बन्धमा अष्टिम्की काव्य र श्रीमद्भागवतका महाकाव्यको तुलनात्मक अध्ययन हुनु जरुरी देखिन्छ । संशोधनसहित पुनःप्रकाशित  

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

११४९ दिन अगाडि

|

२० भदौ २०८०

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार शितल निवासमा सम्मानित भएका छन् । उनी थारु लेखक संघ, कैलालीका अध्यक्षसमेत हुन् । नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गर्ने क्रममा सो सम्मान दिइएको हो । देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ। प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन्। यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ सम्मानित भएका छन्।                                                                             सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।  

सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

११५१ दिन अगाडि

|

१८ भदौ २०८०

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा डा. कृष्णराज  सर्वहारीसहित १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । समाजले वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने भएको हो । प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । यसैगरी दाङका डा. कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान गरिनेछ । चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा. रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडांै), पवित्रादेवी चौलागाइँ मानवअधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखँँची)लाई प्रदान गर्ने निर्णय गरिएको शान्ति समाजका निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति एवं पुरस्कार छनोट समितिका सदस्य सुशील बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर) लाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत हुनेहरुमा सातजना महिला स्रष्टा हुनुहुन्छ भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी आठ भाषामा विशेष योगदान गरेका छन् ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा (कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरी रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।  

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

११५२ दिन अगाडि

|

१६ भदौ २०८०

डा. रामबहादुर चौधरी आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार प्राप्तिको पर्खाइमा रहेको परिश्रमी समुदाय हो– थारु । र, आजको सन्दर्भमा राजनीतिक रूपले विचलित भूमिपुत्र हो– थारु ।  कुनै बेला देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उभिएको जग्गाको कर उठाउने गरेको, जसको कारणले हजारौँ हजार बिगाहा बक्सिस पाएको जाति हो थारु । यातायातको साधन नभएको वेला राजा महाराजाहरूलाई माहुतेको रूपमा जंगली हात्ती कज्याइ उपहार दिएबापत तिरो (कर) छुट पाएको जाति हो थारु । ब्रिटिस साम्राज्य (इष्ट इण्डिया कम्पनी) विरुद्ध उभिई डटेर सामना गरेबापत हजारौँ बिगाहा जग्गा उपहार प्राप्त गर्न सफल जाति हो थारु । प्रजातन्त्र प्राप्तिको लागि तराईको योद्धा जाति हो थारु । साम्यवाद प्राप्तिको लागि प्राणको आहुति दिएको जाति हो थारु ।   पछिल्लो राजनीतिक परिवर्तन, विशेषतः दश वर्षे जनयुद्ध– थारुहरूले महसुस गरेको आफ्नो युद्ध । त्यसैले होला, कुनै बेला राज्यको नजरमा सबै थारु माओवादी । यति विघ्न माया गरेको त्यो युद्धको पछाडिको कारणहरूमध्ये एक थियो थारुहरूको संस्कृति ।  थारु जातिले भिख मागेर खाँदैन, उसले भिख माग्न जान्दैन । यो उसको लागि जेनेटिक गुणजस्तै हो । यो गुण उसको रगतमा बगेको कारणले उ भिख माग्दैन । यसैगरी, थारुहरूको रगतमा बग्ने अर्को गुण हो– साम्यवाद ।   थारुहरू माओवादतर्फ आकर्षित हुनुको मुख्य कारणहरू मध्येको एउटा कारण हो यो गुण, जुन गुण उसको रगतमा बगेको हुन्छ । जुन गुण उसको संस्कृति, चालचलन, रीतिरिवाज र समाजमा घुलित हुन्छ, जसरी पानीमा नुन । जो थारु समाजमा घुल्छ, उसको उसको संस्कृतिमा हराउँछ, उसको चालचलन रीतिरिवाजलाई बुझ्दछ र अन्तर आत्माले महसुस गर्दछ, उसैले नाङ्गो आँखाले हेर्न सक्दछ त्यो गुण ।  साम्यवादको पाठ पढाउने ती शिक्षकले र सांस्कृतिक लडाइ लड्ने ती योद्धाले थारुहरूभित्र लुकेर रहेको त्यो गुण नबुझ्दासम्म मार्क्सवाद, लेनिनवाद, माओवादका वाद पढेर माओवादी भएका थारु नेताहरू जसले आफ्नै  संस्कृतिमा साम्यवाद लुकेर बसेको छ भन्ने कुरा महसुस नगरेसम्म साम्यवादी गुणहरू र माओवादी शिक्षालाई जेनेटिक अर्थात् सांस्कृतिक बनाउन सकिँदैन ।  म कुनै मार्क्सवादको पुस्तक पढेको पढाकु व्यक्ति होइन । न माओवादको शिक्षाको लागि कुनै वन्दसत्र वा कक्षामा बसेको मान्छे । तर, सानैदेखि परिवारमा, समाजमा साम्यवाद हेर्दै, अँगाल्दै र महसुस गर्दै हुर्केको एक थारु हुँ ।  म त्यो परिवारमा हुर्केँ, जहाँ सहोदर दाइ–भाइ, भतिजको दसैँमा लगाउने पाइजामा, कमिज ‘जरावर’मार्फत प्राप्त हुन्थे ।  घरका सास–बुहारीहरूले प्राप्त गर्ने कपडामा ‘गोट्टी’ हालिन्थ्यो । त्यो समाजमा हुर्के, जहाँ केटाकेटीहरूले लगाएको लुगाको कलर हेरेरै यी एउटै घरका र ती अर्कै घरका भनेर ठम्याउन सकिन्थ्यो । वस्त्रमा न कुनै भेदभाव हुन्थ्यो, न कुनै असमानता ।  हामी एउटै भान्सामा खान्थ्यो । करिब ३५–४० जनाको परिवार । खेतमा काम गर्दा मैले खाने भात र हाम्रो कमैयाको छोराले खाने भातको स्वादमा कहिल्यै अन्तर भएन । उसले खाने खुर्सानीको चटनी उति नै पिरो हुन्थ्यो जति मेरो ।(२०५७ साउन २ अघि कमैया प्रथा थियो ।)  सालको पातमा लहरै राखेको ‘घँसल भात’ कमैयाको छोराको कुन, मेरो कुन भनेर भाउज्यूहरूले कहिल्यै छुट्याउनु भएन । माघमा ढोग–सलाम होस् या दसैँको टीका–नाताले जो ठुलो उसलाई ढोग्नु पर्दथ्यो, चाहे त्यो मालिक होस् या कमैया । मालिकले आफ्नै घरमा काम गर्ने कमैयालाई ढोग्नु यो कुनै चानचुने कुरा होइन । तँ सानो, म ठुलो दर्शनबाट चलेको रीतिरिवाज होइन यो । यो त साम्यवादको एउटा उत्कृष्ट संस्कृति हो, उदाहरण हो । यसैकारण कमैया प्रथा राम्रो थियो भन्न खोजेको चाहिँ कदापि होइन । त्यस प्रथामा समानताका अंश पनि नभएका होइनन्, थारु समाजमा चित्रण गर्न खोजिएको हो ।  घरको सदस्य थला परे, ‘गोंइ डाँगर’ (पशु) थला परे खेतको रोपाईं नसकिएला कि भनेर कुनै किसानलाई खासै चिन्ता हुँदैनथ्यो । किनकि एउटा घरकाले खेत रोपिसके अर्को घरकालाई सख्लहराको रूपमा सघाउने चलन थियो । यसमा न पैसा खोज्नुपर्ने, न ज्याला तिर्नुपर्ने । आफ्नो गाउँ छिमेककाले मात्र होइन, वल्लो पल्लो गाउँका नातेदारहरू आएर सघाउने चलन थियो थारु गाउँमा ।  बिहे भोज हुँदा कुन दिन गर्ने, कसको घरमा कुन कुन घरकाले सघाउने कार्यको बाँडफाँट बरघरमार्फत् हुन्थ्यो (अझै पनि हुन्छ) । सकेसम्म बिहे एउटै दिनमा हुन्थ्यो– एउटा गाउँमा । सघाउने चलन जिउँदै रहे पनि गाउँभरिका केटी–केटीहरूको एकै दिनमा बिहे गरिदिने चलन भने हराएर गएको छ ।  कृषिप्रधान देश सिँचाइ विना काम नचल्ने । बर्षेवाली लिनु अगावै कुला कुलेसा हेर्नैैपर्ने । महिनौँ दिनसम्म गाउँ गाउँबाट ‘डेसाहुर’ उठेर कर्णाली जस्ता ठुला नदीबाट पानी ल्याउनैपर्ने । काम गर्दा कसैलाई मर्का नपरोस् भनेर ‘नान्ढ’ हाल्नैपर्ने । साम्यवादको उदाहरण दिनुपर्दा यो भन्दा उत्कृष्ट उदाहरण अरु के नै होला र ?  आज थुप्रै नेताहरू धाक लगाउँछन् ‘कुलरिया, जमरा, रानी कुलो सिँचाई योजना मैले गर्दा आएको हो ।’ एक पटक ८०–९० वर्षे बूढा बाको सामुन्ने सोही कुरा भन्नुहोस् । जसले पचासौँ दश नङ्ग्रा त्यही सिँचाई व्यवस्थापनको लागि खियाएको थियो । जसले पथरैया, जमरा, रानी कुला हाम फालेर वारपार गरेको थियो । उसको अगाडि धाक लगाउनुस्, तपाईको जिब्रो लरबराउने छन् ।  गाउँघरका सडक, बाटो, पुल पुलेसा, ढुपौरा, संघ्वा कसरी बन्थे थारु गाउँमा ? त्यही साम्यवादको दर्शनले कार्य हुँदैनथ्यो र ? थारुहरूका बाहुली, अङ्ग अङ्गमा साम्यवाद थियो र अझै पनि मरिसकेको छैन । किनकि यो त उनीहरूको प्रवृत्ति हो, संस्कृति हो, जीवन हो ।  गाउँघरमा सामुदायिक विद्यालय बनाउन परोस् वा कुलामा बाँध, मर्दा पर्दा होस् वा कुनै भोज भतेर साम्यवादी हात स्वयंसेवी कर्मका लागि स्वतःस्फूर्त सलबलाउँछन् ।  यस्ता उदाहरणहरू थारु समाजमा कति छन् कति । त्यसैले, यहाँ भन्न खोजिएको हो, साम्यवाद थारुहरूको रग रगमा छ, जीनमा छ, रीतिरिवाजमा छ, संस्कृतिमा छ ।  माथि चर्चा गरिएको यी यावत विशेषता भएको कारणले थारुहरू माओवादतर्फ बढी आकर्षित भए । जसले यस्ता संस्कृति आत्मसात् गरेका थिए– झन् छिटो लामबद्ध भए । शिक्षित भन्दा कम शिक्षितले पहिले पाइला चाले । शिक्षित भन्दा अशिक्षित थारुहरू माओवादीका ढाल बने । किनकि माओवादीले उठाएका इस्युसँग रसायन मिल्यो, संस्कृति मिल्यो, चालचलन मिल्यो, समान व्यवहार मिल्यो, विचार मिल्यो, दर्शन मिल्यो ।  के कारणले विशेष समूह वा जाति वर्षौँसम्म कुनै विचारमा हिँडिरहन्छन् ? के कुराले उनीहरू सयौँ वर्षसम्म एउटै संस्कृतिमा रमाउँछन् ? साम्यवाद र थारुहरूको खानपिन, साम्यवाद र उनीहरूले सहयोग गर्ने तरिका, साम्यवाद र उनीहरूले अँगालेका सामाजिक कार्य, साम्यवाद र उनीहरूको संस्कृति धेरै हदसम्म मिल्दोजुल्दो हुँदाहुँदै राजनीतिक रूपले किन विचलित हुँदैछन् थारुहरू ? मूलधारका पार्टीपंक्तिको लागि गहिरा प्रश्न हुन् यी ।  विचार र बुझाइबीच तालमेल राम्रो भएन भने ‘वान’ माने ‘एउटा अण्डा’, टु माने ‘दुइटा अण्डा’, थ्री माने ‘तीनटा अण्डा’ बुझ्न सक्छ विद्यार्थीले । कतै थारुहरूले माओवादलाई यसरी नै त बुझेनन् ?