काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

११५६ दिन अगाडि

|

१३ भदौ २०८०

प्रधानमन्त्रीको दाबी : कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

प्रधानमन्त्रीको दाबी : कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

११५७ दिन अगाडि

|

१२ भदौ २०८०

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उनले बताए । प्रचण्डले अघि भने, ‘महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानुन बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्बाट गणतन्त्र दिवस २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु ।’ संक्रमणकालीन न्यायसम्पादन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले संसदमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरे ।  

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

११५७ दिन अगाडि

|

१२ भदौ २०८०

                                                                                                                                            तस्विरः लखन दहित पश्चिम नेपालको यात्रा पश्चात मलाई थारुको परिभाषा स्पष्ट भयो । उतातिर एउटा कहावत सुनिन्थ्यो, थारु गोरु भित्ता फोरु । यसो भन्नुको पछाडि कारण के भनेर खोजी गर्न सकिन्छ ।  मेरो अनुमानमा पहिलो मत त थारु मान्छे त हो तर गोरु जस्तै भन्ने हो । अर्थात् ज्ञान भएको मान्छे होइन । त्यो हो भने पूर्ववैदिक युगमा थारु जतिको ज्ञानी मान्छे तुलना गरेर अर्को हेरौं न । थारुसंग उही वेला गुर्बाबक् जल्मौती थियो, जसको आधारमा यो सृष्टिको व्याख्या गर्न सक्ने क्षमता राख्थे ।  जबकि आर्यहरु त वेद रचनापश्चात मात्र सृष्टिसम्बन्धि बुझाई ठोस बनाए । उनीहरु तर्कशील पनि भए । उपरोक्त सन्दर्भ उठानको आशय भूमिपुत्र थारुहरु आज सुकुम्बासी बने । महोत्तरीको भंगहा नगरपालिका– ४ थारु टोल बनरा नामले जानिने उक्त गाउँ अवस्थित जग्गा लगायत ४५ विघाको दुई कित्ता हाल सयौं कित्ताकाट भएको छ ।  मनमोहन अधिकारी प्रधानमन्त्री भएको वेला गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले सो कित्ताकाट गर्यो तर काँग्रेस तथा राप्रपाको संयुक्त सरकारले आयोग पुनर्गठन गर्दा आयोगका महोत्तरी जिल्ला अध्यक्षलगायत प्रशासनले सबै कित्ताहरु रहेको जग्गा वास्तविक सुकुम्बासी कायम भएका स्थानीय थारुलगायत दलितहरुको नाममा दर्ता नगरेर आफन्त, नातागोता तथा अन्जान जग्गाधनी कायम गरे । त्यसको सुइको समेत बनरा थारु टोलका बासिन्दालाई दिएनन् ।  हाल यो समस्या थप जटिल बन्यो । पूर्व वडाध्यक्षले जग्गाधनी पूर्जा प्राप्त व्यक्तिकै भोगचलन रहेको सिफारिश कार्यालयबाट उपलब्ध गराएर विचौलिया दलालहरुलाई खेल्ने ठाउँ दिए । कतिपय कित्ता विक्री भएर अन्य व्यक्तिहरुमा पुगिसकेको छ भने यो तीब्र गतिमा अगाडि बढेको देखिन्छ । यही समस्यालाई लिएर पीडितहरुको डेलिगेसन टोली काठमाण्डौ आइपुगेर ध्यानाकर्षण गराउन चाहेको छ । तर, मिडियाका मित्रहरु आएर छलफल त गर्छन्, त्यसको सत्य तथ्य बाहिर ल्याउन कञ्जुस्याई गर्दै आएक छन् । हुन सक्छ, उनीहरुको लागि यी समाचार बजार प्रबद्र्धन गर्न नसक्ला । समस्याको गहिराई खोजी गर्ने हो भने यो देशका थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा परेको कारणहरु पक्कै भेट्न सक्छौं । आखिर यो कहिलेसम्म ?

थारू जनजीवन : फुर्सदमा हस्तकलाका डेलुवादेखि बरेरुवासँग रमाउनेहरू

थारू जनजीवन : फुर्सदमा हस्तकलाका डेलुवादेखि बरेरुवासँग रमाउनेहरू

११५८ दिन अगाडि

|

११ भदौ २०८०

धनगढी । रोपाइँ सकिएको छ । खेतबारीमा धान बाली लहलहाउँदो छ । जता हेर्‍यो उतै हरियाली छ । मनमोहक छ ग्रामीण परिवेश अचेल । रोपाइँ सकिने बित्तिकै गाउँका बेरोजगार युवा भारत पलायन भएका छन् । बाँकी रहेकाहरू कोही बस्तुभाउको हेरचाहमा त कोही धानबालीमा उम्रिएका झार उखेल्ने काममा छन् । कामको चटारो कम भएकाले युवा फुर्सदिला छन् । यही फुर्सदिलो समयको सदुपयोगमा छन् कैलारी गाउँपालिका ६, बेनौलीका भोजराज चौधरी । पेसाले राजमिस्त्रीको काम गर्दै आएका उनी आजभोलि भने नजिकैको सुटैहिया नालामा हेल्का (माछा मार्ने उपकरण) र टापी (माछा मार्ने उपकरण)सहित भेटिन्छन् । फुर्सदको समयमा माछा मार्ने, सुकुटी बनाउने र साँझ बिहानको छाक टार्ने उनको दिनचर्या छ । उनी भन्छन्, ‘खाली बस्नुभन्दा केही गर्नु राम्रो । माछा मार्‍यो, साँझ बिहानको छाक टर्छ । समयको सदुपयोग पनि हुन्छ ।’ कैलारी गाउँपालिका वडा नंं. ८, टेंढीका भगवान् दास चौधरीको दिनचर्या पनि बरेरुवा र ढह्रिया झार्नमै व्यस्त छ । परम्परागत हस्तकलामा अति नै निपुण उनले पूरै नालाभरि बरेरुवा (माछा मार्ने ठूलो उपकरण) बनाएका छन् । र, खेतको गरामा ढह्रिया लगाउँछन् । उनी भन्छन्, ‘पहिलैदेखि माछा मार्ने सिप हो । जसबाट वर्षातभरि माछा खान पाइन्छ । दैनिक छाक मज्जाले टर्छ । बढी भएको बेला सुकाएर सिद्रा बनाउँछु ।’ रोपाइँ सकिएपछि गृहिणीहरु भने फुर्सदको समयमा ढकिया, डेलुवा बन्नमा व्यस्त छन् ।  बेनौलीकी रामराशी चौधरी डेलुवा, ढकिया बुन्नमा व्यस्त छिन् । उनी आफ्नी भतिजीको बिहेमा चाहिने डेलुवा बुन्न लागेकी छन् । ‘रोपाइँपछि हामी फुर्सदिलो हुन्छौँ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौँ,’ रामराशीले भनिन्, ‘घरमै हरचाली (फुर्सदको काम) गर्नु नै ठिक लाग्छ ।’ जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुँदैछ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नका लागि गरिन्छ । ग्रामीण भेगका तन्नेरीहरु कोही नयाँ प्रविधि उन्मुख छन् त कोही बिना काम आजभोलि भौतारिन्छन् । वयस्कदेखि बुढापाकाहरु भने पुर्ख्यौली ज्ञान, सिपको सदुपयोगमा छन् । यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौँदेखि प्रचलनमा रहेको ज्ञान र सिपको सदुपयोग गर्दै उनीहरू विभिन्न उपकरण बनाउन लागेका हुन् । उनीहरू चाडपर्वहरू नजिकिँदै गर्दा पर्वमा चाहिने वस्तुहरू जोहो गर्न लागेका हुन् । बेनौलीकै भिखु डंगौरा थारु आजभोलि हेल्का बुन्नमा व्यस्त छन् । उनी आजभोलि हेल्का बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उद्देश्यले हेल्का बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नुभन्दा घरमा बसेर हरचाली गर्नु नै ठिक हुने बताउँछन् । उमेरले ७९ कटाइसकेका भिखु भन्छन्, ‘पुुरानो ज्ञान, सिपको फाइदै फाइदा छ । तर आजभोलिका नयाँ पुस्तालाई पुरानो हस्तकला सँग सम्बन्धित ज्ञान सिपमा पटक्कै चासो छैन । हामीसँगै हाम्रो सिप पनि जाने भयो ।’ यतिबेला ग्रामीण बस्तीहरुमा हेल्का, ढह्रिया मात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा मार्ने प्रविधिका साथै खतिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, बस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायत बन्ने काम हुँदै आएको देख्न पाइन्छ । घरायसी प्रयोजनमा आउने ती सामान फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन् । जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताइन्छ । तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सिप विस्तारै लोप हुँदै गएका छन् । समय अनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन सक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सिप लोप हुँदै गएको थारु संस्कृतिविद् अशोक थारु बताउँछन् । विभिन्न दृष्टिकोणबाट वैज्ञानिक, किफायती रहेका ती सामग्री बनाउने ज्ञान र सिपमा व्यावसायिकता दिन सके संरक्षण गर्न सकिने संस्कृतिविद् थारु औंल्याउँछन् ।

कर्फ्युका बाबजुद पनि ८२ घरमा आगजनी...

कर्फ्युका बाबजुद पनि ८२ घरमा आगजनी...

११६१ दिन अगाडि

|

८ भदौ २०८०

धनगढी । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुरमा भएको त्रासदीपूर्ण घटना लगत्तै स्थानीय प्रशासनले टीकापुर क्षेत्रमा कर्फ्यु जारी गर्‍यो । संविधान लेखन चलिरहँदा थरुहट/थारूवान आन्दोलनकारी र प्रहरीबिच कैलालीको टीकापुरमा भएको झडप हिंसात्मक भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी र सेना परिचालन गरियो । त्यसको भोलिपल्ट अर्थात् भदौ ८ गते कर्फ्युकाबिच सेना र प्रहरीकै उपस्थितिमा थारू समुदायका घर, पसल, एफएम, कार्यालयमा आगजनी भयो । तर आगजनी संलग्नमाथि हालसम्म कुनै कारबाही भएको छैन । घटनाका पीडितसमेत रहेका जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले आगजनी भइसकेपछि आफूहरु इलाका प्रशासन कार्यालय टीकापुरमा किटानी जाहेरी दिन गएको बताउँछन् । तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत् जाहेरी दिन खोजेको, त्यो पनि दर्ता गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘२०७२ भदौ ७ र ८ गतेको आगजनीको घटना एकदमै संवेदनशील छ । हामी उक्त घटनामा संलग्न सबैलाई चिन्छौँ । तर, प्रहरीले अज्ञात समूहबाट आगजनी भएको ब्यहोरा उल्लेख गरेर जाहेरी दर्ता गर्न दबाब दिएको थियो । हामीले त्यसो गर्न मानेनौँ । त्यस बेलाको पीडा कसलाई सुनाउने ?’ आगजनीको घटनामा ३/४ थरीका व्यक्तिको संलग्नता रहेको बताउँदै उनले कोही योजनाकार, कोही सहयोगी तथा कोही प्रत्यक्ष गरी ३० जनाभन्दा बढी मानिस संलग्न रहेको सुनाउँछन् । तर राज्य नै अपराधी जोगाउन लागेपछि आफूहरु निरीह भएको उनको भनाइ छ । उनले अगाडि थपे, ‘हामीले सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको टोलीलाई बतायौँ । टोलीलाई प्रत्येक पीडितको घर–घरमा समेत मैले आफैँले लगेको छु । त्यस्तै, देवीराम शर्मा नेतृत्वको छानबिन समिति, संसदीय समितिलाई पनि मैले लगेको छु । यसका बाबजुद कुनै पनि समितिको प्रतिवेदन सार्वजनिक गरिँदैन भने हामीले कहाँ र कसरी न्याय पाउन सक्छौँ ?’ पीडित चौधरी हाल नागरिक उन्मुक्ति पार्टीका कैलाली जिल्ला अध्यक्ष पनि हुन् । नागरिक उन्मुक्ति पार्टी हाल प्रदेश र केन्द्र सरकारमा छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाइपछि सो पार्टी पनि टीकापुर घटनाका सम्बन्धमा मौनप्रायः बनेको छ । पौने ११ करोड क्षतिपूर्ति २०७४ असारमा सरकारले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत आगजनी पीडितहरुलाई क्षतिपूर्ति रकम दिएको थियो । त्यसबेला पीडितहरुलाई १० करोड ८३ लाख ४८ हजार ८ सय १६ रुपैयाँ वितरण गरिएको थियो । घटनामा सबैभन्दा बढी क्षति व्यहोरेका रेशमलाल चौधरीले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए । निरु ट्रेडर्सका सञ्चालक शिवनारायण चौधरीले एक करोड ५० लाख र प्रदीप चौधरीले १ करोड ३९ लाख क्षतिपूर्ति रकम बुझेका थिए । एक करोड रुपैयाँसम्म क्षति भएकालाई ८० प्रतिशत, १ करोडदेखि २ करोड रुपैयाँसम्म क्षति भएकालाई ७० प्रतिशत र २ करोडदेखि माथिकालाई ६० प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने मापदण्ड बनाइएको थियो । आगजनी पीडितको बेहाल राज्यबाट केही आंशिक क्षतिपूर्ति पाए पनि आजसम्म पूर्ववत् अवस्थामा आउन नसकेको आगजनी पीडितहरुले बताएका छन् । घटनामा संलग्नहरुलाई कारबाही हुन त परै जावस्, आफ्नै अगाडि खुलेआम घुमेको देख्दा मन पोल्ने गरेको उनीहरुको दुःखेसो छ । टीकापुर नगरपालिका–१, कान्छीबजारका परशुराम चौधरीको पसलमा २०७२ भदौ ७ गतेकै साँझ आगजनी भएको थियो । उनी भन्छन्, ‘आगो लगाउने समूहका मान्छे चिन्छौँ तर कसले आवाज उठाउने ? केही बोल्दा फेरि केही हुने हो कि भन्ने डर छ ।’ छोराका किताब, कापीसँगै आठ वर्षदेखि चलाउँदै आएको पसल जलेको परशुरामकी पत्नी हिरादेवी बताउँछिन् । ‘प्रहरीकै आडमा ठूलो समूह आएर आगो लगाएको हो’, हिरादेवी भन्छिन्, ‘अनुगमन टोली आउँदा प्रहरीले घर–पसल जलेको घटनाबारे भन्नसमेत दिँदैनथे ।’ अब त केही न्याय पाइन्छ कि भनेर अचेल सबैको नजर नागरिक उन्मुक्ति पार्टीतर्फ सोझिएको छ । टीकापुर घटनाबाट राजनीतिक शक्ति आर्जन गरेर नागरिक उन्मुक्ति पार्टी प्रदेश र संघीय सरकारमा गए पनि आफूहरुले न्याय पाउन नसकेको उनी सुनाउँछिन् । अर्का आगजनी पीडित पवित्रा चौधरीको गुनासो पनि उस्तै छ । हिरादेवीसँगै उनी पनि तरकारी पसल सञ्चालन गर्दै आएकी छन् । पवित्राले भनिन्, ‘रञ्जितालाई जिताउँदा आफ्ना आवाज राज्यको उपल्लो तहसम्म पुग्ने र न्याय पाउने आश्वासन दिएका थिए । पसल बन्द गरेरै चुनाव प्रचारमा पनि लागियो । उनी अहिले मन्त्री भइन् । तर, उनीहरूकै परिवारलाई मात्र न्याय भएछ । बाँकीको अवस्था उस्तै छ ।’ उतिबेला कान्छी बजारमै होटल र तरकारी पसल थियो पवित्राको । ५ वर्ष लगाएर जोडेको त्यो सम्पत्ति क्षणमै खरानी भएको थियो । त्यसमाथि ऋणमा भर्खरै नयाँ घर बनाएका थिए । गरिखाने पसल नै जलेपछि आर्थिक स्थिति पूरै खस्कियो उनको । उनी भन्छिन्, ‘अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनौँ । कारोबार केही छैन । सरकारले २ वर्षपछि क्षतिपूर्ति त दियो तर क्षतिको ५० प्रतिशत पनि पाएनौँ ।’ टीकापुर–१ को कान्छी बजारका ममित्रा चौधरी र उनका पति कालुराम चौधरी मिलेर दुई वटा पसल सञ्चालन गरेका थिए । कालुराम तरकारी पसल र ममित्रा खाजा नास्ता पसल चलाउँथिन् ।  तर, प्रहरीकै सामुन्ने दुई वटै पसल क्षणभरमै खरानी भएको आफ्नै आँखाले देख्नुपरेको ममित्रा बताउँछिन् । उनी भन्छिन्, ‘५–७ लाख बराबरको सामान आँखा अगाडि नै खरानी हुँदासमेत केही गर्न सकेनौँ ।’ उनीहरुले मुस्किलले १ लाख क्षतिपूर्ति पाए । भदौ ८ गते सबैभन्दा बढी आगजनी फूलबारी एफएममा भएको थियो । त्यसपछि बढी क्षति निरू ट्रेडर्समा भएको थियो । घटनामै विश्राम कुश्मीको एग्रोभेट र नर्सरी पसल पनि जलाइयो । सुरक्षाकर्मीको हत्या गरेको आरोपमा उनलाई पनि पक्राउ गरियो । उनी करिब तीन वर्षपछि निर्दोष साबित भएर छुटे । थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएपछि थारू भएकै आधारमा थुप्रैलाई धरपकड गरिएको र कर्फ्यूको बिचमा छानीछानी थारू समुदायको घर–पसल तोडफोड गरिएको विश्रामको भनाइ छ । उनी भन्छन्, ‘हामीले कारबाहीको माग गर्दै निवेदन दियौँ । तर, कसैलाई पक्राउ गर्नु त परको कुरा, अहिलेसम्म अनुसन्धान नै भएको छैन । आगजनी र तोडफोडमा स्थानीयले बेहोरेको क्षतिको विवरणसम्म प्रहरीसँग छैन ।’ 

राज्यले ‘आपराधिक’ भनेको  टीकापुर घटनाको सम्झनामा बर्सेनि किन मनाइन्छ थरुहट विद्रोह दिवस ?

राज्यले ‘आपराधिक’ भनेको टीकापुर घटनाको सम्झनामा बर्सेनि किन मनाइन्छ थरुहट विद्रोह दिवस ?

११६२ दिन अगाडि

|

७ भदौ २०८०

धनगढी । मुलुककै बहुचर्चित टीकापुर घटना भएको आज आठौँ वर्ष । संविधान लेखन चलिरहँदा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा दोहोरो झडप भयो । सो क्रममा १ नाबालकसहित ८ प्रहरीको ज्यान गयो । कर्फ्यु जारी भयो । सेना परिचालन गरियो । भोलिपल्ट भदौ ८ गते कर्फ्युका बीच, सेना र प्रहरीकै उपस्थितिमा थारु समुदायका घर, पसल, एफएमलगायत ८३ बढी संरचनामाथि आगजनी भयो । थरुहट भूगोल मागको त्यो आन्दोलन र ‘टीकापुर घटना’ आज पनि सबैको मानसपटलमा आलो घाउजस्तै छ । संविधान लेखनकै क्रममा २०७२ ताका यहाँ दुई परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन उत्कर्षमा थियो । अखण्ड पक्षधरको माग मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाइनुपर्ने र थरुहट पक्षधरको माग थारु बाहुल क्षेत्रलाई थरुहट बनाइनुपर्ने थियो । अन्ततोगत्वा कैलाली र कञ्चनपुरसहितको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश कायम गरियो । तर टीकापुर घटनापछि कानुनी उल्झनमा जकडिएका थरुहट आन्दोलनकारीहरू राज्यबाट आफूहरूमाथि दमन र विभेद भएको भन्दै आज पनि उद्वेलित छन् । ‘अन्तिम विकल्प आन्दोलन, संघर्ष र विद्रोह’ विगतको निरन्तरता दिँदै आज पनि कैलालीको टीकापुरमा थारु कल्याणकारिणी सभा र थरुहट–थारुवान् राष्ट्रिय मोर्चाले टीकापुर विद्रोह दिवस मनाइरहेको छ । उनीहरूले थारु भूगोलसहितको थरुहट प्रदेशको माग र टीकापुर घटनाका राजबन्दीको रिहाइको माग गर्दै आइरहेका छन् । टीकापुर घटना सम्बन्धी सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठको बाछिटा आन्दोलनकारीमा नपरेको होइन । यद्यपि विद्रोह दिवसलाई अधिकार प्राप्तिको आन्दोलनको रूपमा मनाइरहेको आन्दोलनकारी बताउँछन् । थरुहट आन्दोलनकारी समेत रहेका कांग्रेस नेता रामजनम चौधरी भन्छन्, ‘हाम्रो आन्दोलन विशुद्ध राजनीतिक थियो । आधिकार प्राप्तिका लागि थियो । तर सर्वोच्च अदालतले पूर्ण रूपमा आपराधिक आन्दोलनको रूपमा व्याख्या गरेको देखिन्छ । सर्वोच्चको फैसला अन्तिम भएकाले अब त न्याय माग्ने एउटै विकल्प जनअदालत हो । त्यसैले अब हाम्रो मुद्दालाई संस्थागत गराउनु र जेलमा रहेका बाँकी राजबन्दीलाई रिहाइको पहल गराउनुमा हाम्रो ध्यान केन्द्रित रहन्छ ।’ टीकापुर घटनाका कारण थरुहट मुद्दा ओझेलमा परेको बताउँदै उनले संविधान संशोधन गरेर थरुहट प्रदेशको संरचना कोर्नुपर्ने र संविधान प्रदत्त अधिकारको लागि लाग्नुपर्नेमा जोड दिए । अर्का आन्दोलनकारी नेता तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण कुमार चौधरीले अदालतको फैसला पूर्णतया सामाजिक न्याय विपरीत रहेको दाबी गरे । सरकारलाई नै चुनौती दिँदै सर्वोच्चको फैसला आएको बताउँदै उनले अबको अन्तिम विकल्प आन्दोलन, संघर्ष र विद्रोह रहेको बताए । केही व्यक्तिको रिहाइ तथा उन्मुक्तिका लागि थरुहट आन्दोलन र मुद्दा ओझेलमा पारिएको उनको भनाइ थियो । त्यस्तै, सरकारले टीकापुर घटनापछि तराई–मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । सो आयोगले १४ महिनापछि २०७४ मङ्सिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले हालसम्म प्रतिवेदन गोप्य राखेको छ । सो आयोगको प्रतिवेदन सार्वजनिक नगरेर राज्यले अन्याय गरेको आन्दोलनकारीहरूको भनाइ छ । किन सार्वजनिक गरिएन प्रतिवेदन ? लामो जाँचबुझ तथा अध्ययनपछि तयार पारिएको लाल आयोगको ७०९ पृष्ठ लामो प्रतिवेदनमा टीकापुर घटनामा मुख्य दोष सरकारकै रहेको ठहर गरिएका कारण पनि राज्यले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको आन्दोलनकारीहरूको तर्क छ । घटना हुँदा सुरुमा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । पछि एमालेका केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइसकेका छन् । २०७२ साउनदेखि झण्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको प्रतिवेदनको निष्कर्ष छ । अधिकारका लागि भएका शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको प्रसङ्ग पनि प्रतिवेदनमा छ । जिम्मेवारी पूरा नगर्ने, प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने तथा आदेश पालना गर्ने तत्कालीन प्रहरी र स्थानीय प्रशासनका कर्मचारीमाथि अनुसन्धान र कारबाही गर्न पनि सिफारिस गरिएको छ । प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्नुको मुख्य दोष सरकारलाई देखाइएको छ । यहाँसम्मकी, टीकापुर घटनामा अढाई वर्षीय बालक टेकबहादुर साउदको आन्दोलनकारीको गोलीले नभई प्रहरीको गोलीले मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यस विषयमा केही सञ्चार माध्यमहरूमा गिरिशचन्द्र लालले प्रतिक्रिया दिँदै आएका छन् । को–को छन् कानुनी परिबन्दमा ? टीकापुर घटनामा २८ जनामाथि मुद्दा चलाइएको छ । जसमध्ये ३१ जना अझै फरार सूचीमा छन् । घटनापछि २७ जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागाले सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए । त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो । यस्तै, संगम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०/२० वर्ष कैद सजाय भएको थियो । हाल रेशम चौधरी राष्ट्रपतिमार्फत कैदमाफी पाइ जेलमुक्त भए पनि सोही कसुरमा उस्तै सजाय पाएका अन्य भने जेलमै छन् । तर सेना र प्रहरीको सघन उपस्थितिमा भदौ ८ गते थारु समुदायका घर, पसल, एफएमलगायत ८३ संरचनामाथि गरिएको आगजनिप्रति राज्य बेखबर छ । उक्त घटनाको दोषीमाथि कुनै कानुनी कारबाही भएन ।

ढकिया खबर डटकमको एक वर्ष र भदौ ७ को सेरोफेरो

ढकिया खबर डटकमको एक वर्ष र भदौ ७ को सेरोफेरो

११६२ दिन अगाडि

|

७ भदौ २०८०

ढकिया खबर डटकमको भदौ ७ गते आज एक वर्ष पुरा भएको छ । यस बीचमा यसले पाठकवर्गको मनग्गे माया पाएको छ । एक वर्षको यात्राको दौरान हामी उत्साहित छौं । भूइँमान्छेका आवाज पस्किदै आम पाठकसामु पुग्नु हाम्रो लक्ष्य हो । तर, खास गरी थारू सु्मदायका पाठकलाई लक्षित गरिएका सामग्री यस बीचमा बढी प्रकाशन भए ।  भदौ ७ थारू सु्मदायको पहिचानसँग जोडिएको दिन हो । आफ्नो आधिकारको लागि, थरुहट प्रदेशको लागि थारू सु्मदायले मुठ्ठी उचालेको दिन हो । तर, समय क्रममा यी मुठ्ठी कसिलो हुनु सट्टा खुकुलो हुँदै गएका छन् । टीकापुरमा भएको त्यस दिनको आन्दोलनबाट थारुहरु पनि आन्दोलन गर्न सक्छन् भनेर एउटा नजिर त स्थापना भयो तर आन्दोलनबाट तिनले के पाए त ? यक्ष प्रश्न यही हो ।  बरु टीकापुर आन्दोलनबारे न्यायालयको फैसलाको घाउ थारु समुदायलाई पुस्तौसम्म चहराइरहने स्थिति देखा परेको छ । अदालतको भाषामा टीकापुर आन्दोलनको क्रममा मा हत्यामा मुछिएका भनिएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते रिहा भएका छन् ।  सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ । नश्लवादीहरु सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भन्न थालेका छन्, जो बिलकुल निराधार हो । राष्ट्रपतिको आममाफी उल्टिदैन ।  जिल्ला र उच्चको फैसलालाई सर्वोच्चले जस्ताको तस्तै सदर गरेको छ । अनि पूर्ण पाठमा थप व्याख्या गरेको छ । जवर्जस्ती अपराधी करार गरेको छ । सर्वोच्चले लाल आयोगको पोका खोल्ने जाँगर गरेको छैन । जबकि यही बुधवार भदौ ६ गते पनि संसदमा सांसद तेजुलाल चौधरीले लाल आयोगको प्रतिवेदन खै सार्वजनिक ? भनेर प्रश्न उठाइरहेका छन् । रेशमले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा टीकापुर घटनामा जोडिएका बाँकीलाई कैद मिनाहा गराउने पीडित परिवारलाई आश्वासन दिएका छन् । तर, सर्वोच्चको पूर्णपाठले यसमा कालो बादल मदारिएको देखिएको छ । टीकापुर आन्दोलनको न्यायको लडाइँ अझै बर्षौ पर्खिनु पर्ने त होइन भन्ने दृष्य देखिदै छ । यसैले पनि न्यायका लागि निरन्तर खबरदारी जरुरी छ ।  टीकापुर घटनामा प्रहरीसँगै नाबालक टेकबहादुर साउदको पनि दुःखद निधन भएको थियो । यस वर्ष आजैका दिन टीकापुरमा उनको शालिक अनावरण भएको छ । देखिजान्नेलाई थाहा छ, बालक साउदको निधन आन्दोलनकारीबाट भएको थिएन । वास्तविकता खुल्ने डरले नै उनको पोस्टमार्टम पनि गरिएन ।  यस परिवेशमा टीकापुरले कहिले पाउने त न्याय ? टीकापुर घटनाका सम्पूर्ण राजवन्दीको कहिले हो त रिहाई ? कहिलेसम्म माग्ने थारू सुमदायले राज्यसँग दुहाई ? अब दुहाई होइन, संगठित आवाज उठाऔं । हातमा औजार हुनेहरुले औजार लिएर उठौं । मुखमा स्वर हुनेहरु आवाज लगाएर उठौं । ढकियाखबर त कलम लिएर हरदम भुइँमान्छेहरुका आवाजको लागि खडा छ ।