‘कविर’को तकदिरः शिक्षा आर्जनमा छलाङ

‘कविर’को तकदिरः शिक्षा आर्जनमा छलाङ

१०४३ दिन अगाडि

|

४ पुष २०८०

थारू संस्कृति जगेर्नासँगै कमाई पनि

थारू संस्कृति जगेर्नासँगै कमाई पनि

१०४५ दिन अगाडि

|

३ पुष २०८०

अर्जुन शाह धनगढी — कैलालीको लम्कीकी विश्वमाया चौधरी १२ कक्षामा अध्ययनरत छिन् । यतिबेला उनी धनगढीमा आएर एक सातादेखि पाहुनालाई थारू परिकार पस्किन व्यस्त छिन् । समुदायको परम्परागत पहिरन र भेषभूषामा चिटिक्क सजिएकी विश्वमाया आफैंले पकाएका थारू परिकारको स्वाद आगन्तुकलाई चखाइरहेकी छन् । उनको चुलोमा घोंघीदेखि ढिक्रीसम्म पाकेको हुन्छ । माछाका अनेक परिकार छुट्ने त कुरै भएन । देख्दै खाउँखाउँ लाग्ने गरी उनले टेबुलमा सजाएका एक दर्जन परिकारले जोकोही ग्राहकको ध्यान खिचिहाल्छ । विश्वमाया जस्तै स्नातक तहमा अध्ययनरत लम्कीकै कुसुम चौधरीलाई पनि थारू परिकारको व्यापार गर्न भ्याइनभ्याई छ । उनको भान्सामा पनि थारू समुदायका अनेक परिकार तयार भएका छन् । परेवाको मासुदेखि जाँडसम्म, गँगटोको मासुदेखि झिँगे माछाका परिकारहरू । खानपिनका परिकारहरू मात्रै कहाँ हुन् र, थारू समुदायका आकर्षक पहिरनको बजारमा पनि किशोरीहरू खटिएका छन् । धनगढीस्थित मोतीचोक घर भएकी अञ्जु र करुणा आफैंले तयार गरेका थारू पहिरन र गरगहना बिक्री गर्न व्यस्त छन् । तीन हजारदेखि दस हजार रुपैयाँसम्म पर्ने थारू पहिरनका सेटहरू किनमेल गर्नेको पनि घुइँचो लागेको छ । धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सवको अवसर पारेर विश्वमायालगायत थारू समुदायका युवकयुवतीलाई आफ्ना परिकार र पोसाक तयार गर्ने र बिक्रीवितरण गरेर आम्दानीसमेत गर्ने मौका मिलेको हो । यतिबेला ४० जनाभन्दा बढी युवकयुवतीले थारू स्टल स्थापना गरेर अधिकांशले मौलिक खानाका परिकार र केहीले पहिरनको व्यापार गरेर आम्दानी गरिरहेका छन् । थारू समुदायका खानाका परिकार सबैतिर लोकप्रिय मानिन्छन् । यस समुदायमा ४० भन्दा बढी खानाका परिकार हुने धनगढीका राजकुमार चौधरी बताउँछन् । कुखुरा र खसीको मासुका थुप्रै परिकार, जाँड, अन्डीको रक्सी, मौवाको रक्सी, गंगटाको मासु, परेवा, बटै, मुसाको मासु, थारू आलु, आलुको चटनी, टिमुरको चटनी तयार गरेर बिक्री गरिरहेका छन् । ‘माछाका त धेरै परिकार छन्,’ विश्वमायाले भनिन्, ‘सिद्रा माछा, अनई माछा, झिँगा माछा, डेरुवा माछा, हिले माछा तयार गरेकी छु ।’ थारू समुदायमा माछाका परिकार निकै लोकप्रिय मानिन्छन् । ग्राहकको रोजाइ पनि माछाकै परिकार रहेको उनीहरूले बताए । ‘प्रतिप्लेट दुई सयबाट बिक्री सुरु हुन्छ,’ कुसुम चौधरीले भनिन्, ‘दैनिक दुई सयभन्दा बढी ग्राहकलाई हाम्रा परिकारको स्वाद चखाइरहेका छौं ।’ खानका परिकारहरूले आफ्नो समुदायको संस्कृति जगेर्ना हुनुका साथै आम्दानी पनि राम्रै भएको उनको भनाइ छ । थारू समुदायको मुख्य चाड माघी पनि नजिकिँदै छ । यो समुदायमा ढिक्रीको महिमा कम हुने कुरै भएन । ढिक्री थारू समुदायको विशेष परिकार मानिन्छ । चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर ढिक्री तयार गरिन्छ । बाफबाट पकाइने ढिक्री यस समुदायका विशेष समारोहमा अनिवार्य हुने धनगढीका जनम चौधरी बताउँछन् । ‘पर्व, विवाहलगायत शुभ कार्य तथा उत्सवमा ढिक्रीको पूजासमेत गर्ने चलन छ,’ जनमले भने । घोंगी थारू समुदायमा खानाको अर्को लोकप्रिय परिकार हो । खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा घोंगी पाइन्छ । ‘एक प्लेट घोंगी एक सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ कुसुमले भनिन् । यस्तै गँगटोको मासु यस समुदायको अर्को महत्त्वपूर्ण परिकार हो । गँगटोलाई फ्राई बनाएका छन् उनीहरूले । थारू समुदायमा पोसाकको पनि उत्तिकै महत्त्व छ । यो समुदायमा महिला र पुरुषको मौलिक पोसाक हुने भए पनि पुरुषको पोसाक भने झन्डै लोप हुने अवस्थामा पुगको छ । युवतीहरू भने विशेष कार्यक्रममा थारू पोसाकमै सजिएका देखिन्छन् । आकर्षक पनि देखिने भएकाले युवतीले आफ्नो परम्परागत पहिरनमा रुचि राखिरहेकै हुन् । प्रयोग गर्ने चलन घट्दै गएकाले उत्पादनमा पनि कमी आएको धनगढीका शेरबहादुर चौधरी बताउँछन् । ‘पुरुषहरू त पर्व विशेषमा मात्र मौलिक पहिरन लगाउँछन् । महिलाहरू अझ युवतीमा भने हाम्रो परम्परागत पहिरनको आकर्षण कायमै छ,’ शेरबहादुरले भने । थारू महिलाको मौलिक पहिरन चोली र लेहेंगा हो । यो सेतो वा रंगीचंगी हुन्छ । चोलीसँगै अघ्रहानलाई घाँटी हुँदै ढाडमा फुन्हाले बाँधिन्छ । थारू पहिरनमा पोसाकसँगै गरगहनाको पनि विशिष्टता छ । शिरमा मंगिमा, पाखुरामा वाक र टगिया अनि नाडीमा कक्नी लगाउने चलन थारू समुदायमा छ । थारू पोसाक र गरगहना तयार गर्दै आएकी मोतीचोककी दुर्गा चौधरीका अनुसार थारू गरगहना धेरै प्रकारका हुन्छन् । घाँटीमा सुटिया, गट्टिया माला, टौंक, हैकल, कन्सेरी र खुट्टामा चुर्ला, काँरा र पाउजु लगाउने चलन रहेको उनले बताइन् । ‘केही वर्षअघिसम्म पहिरन लोप हुने अवस्थामा पुगेको भए पनि अहिले फेरि थारू पहिरनको माग र व्यापार बढेको छ,’ दुर्गाले भनिन्, ‘पहिरन तयार गर्ने सीप पनि युवायुवतीहरूमा हराउँदै गएका बेला जाँगरिला केही तन्नेरीमा अहिले आएर आकर्षण बढ्नुले हाम्रो समुदायको खानपान र पहिरनको संस्कृतिको जगेर्नामा मद्दत पुग्नेछ ।’ कान्तिपुरबाट

छोरीको नजरमा पिता

छोरीको नजरमा पिता

१०४६ दिन अगाडि

|

२ पुष २०८०

विष्णुकुमारी चौधरी  कुरा २०५८ सालको हो । कक्षा ८ मा बर्दियाको जनकनगरस्थित श्री जानकी माविमा पढ्दा निकै हैरानी भोग्नुप¥यो । बुबा जनयुद्धको पक्षमा हुनुहुँदो रहेछ । सबै गाउँघरमा राज्यआतंक थियो । सेना र प्रहरी घरमा आउने र अनेक प्रश्न गर्ने गर्थे । यो आतंककारीको छोरी हो । त्यसैले आतंककारी गतिविधिमा संलग्न छ भन्ने उनीहरूको ठहर थियो । मलाई के थाहा र ! म त सानै थिएँ । अहिले पनि बोल्ने र लेख्ने सीप सिक्दै छु । बुबालाई भेट्न नचिनेका मान्छेहरू आइरहन्थे । कहिलेकाहीँ उनीहरू बुबालाई सानो कागजमा लेखिएको चिठी दिएको देख्थेँ । चिठी पो के भन्नु, सानो कागजको चिर्कटो । धेरैपटक त मैले नै बुबालाई बुझाएकी थिएँ । बुबा चिठी पढेर एकैछिन के–के सोच्नुहुन्थ्यो । अनि आमासँग कुरा गरेर बाहिर जानुहुन्थ्यो । सायद आमाले कति बुभm्नुहुन्थ्यो, थाहा भएन । आमालाई विश्वास थियो बुबा गलत काममा लाग्नुहुन्न । गाउँलेलाई दुःख सुखमा साथ दिने बुबाको बानी आमालाई राम्ररी थाहा थियो । त्यसैले आफूले सकेजति सहयोग नै गर्नुहुन्थ्यो । त्यतिबेला मेरो बालमस्तिष्कले के–के सोच्यो, थाहा भएन । उनीहरू अनेक तरिकाले उल्टासीधा प्रश्न गर्थे । क्रूर तवरले घोचपेच गर्थे । केही बोल्न लाग्यो भने मार्ने धम्की दिँदै मुख नै थुनिदिन्थे । बन्दुकसँग आएका फौजले सताइरहँदा मन नै विक्षिप्त हुन्थ्यो । पछि–पछि त उनीहरू रातमा पनि आउन थाले । परिवार त के पुरै गाउँ नै आतंकित थियो । उनीहरूले गरेका व्यवहारले गाउँमै बसी पढ्न सकिएला जस्तो लागेन । कुनै पनि समयमा केही बहाना गरी मारिदिन सक्छन् भन्ने ठहरमा पुगेँ । त्यसैले विद्यालयमा मलाई निकै माया गरी पढाउने गुरु महानन्द वाग्लेसँग घर छोडी जान लागेको कुरा बताएँ । मेरो कुरा सुनेर उहाँ निकै दुःखी हुनुभयो । जसरी पनि पढाइ छोड्नुहुन्न भन्ने सल्लाह थियो गुरुको । उहाँकै सल्लाह अनुसार पढाइ नछोड्ने बरु कतै अलि टाढा नचिन्ने ठाउँमा गई पढाइलाई निरन्तरता दिने टुंगो लाग्यो । निर्णय त भयो । कहाँ जाने भन्ने अझै पनि थाहा थिएन । पढाइका लागि विद्यालयका कागजात तयार थिएनन् । अन्त्यमा, नवलपरासीको डण्डा अभियोनमा रहनुभएका एक जना आफन्तको घरमा बसी पढाइ गर्ने र विद्यालयका कागजात गुरुले नै त्यहाँ पठाइदिने गरी म आफन्तसँग नवलपरासी पुगेँ । यतातिर बुबाले गर्ने कामको जिम्मेवारी पनि बढ्दै गएछ । एकातिर राज्यसत्ताले सञ्चालन गरेको क्रूर आतंक, अर्कातर्फ आत्म स्वाभिमानका लागि गरिएको संघर्ष । संघर्षको दायरा बढ्दै जाँदा दुवै पक्षका हजारौँ मानिसको ज्यान गएछ । जो कसैका लागि पनि मृत्यु पीडादायी त हुन्छ नै । सोच्दै नसोचेको र कल्पना नै नगरिएको मृत्युले अझ बढी मर्माहत बनाउँदो रहेछ । व्यक्तिको मात्र होइन, पुरै गाउँलेकै अभिभावक गुमाउनुको त्यो क्षणको सम्झनाले आज पनि निकै भाव विह्वल बनाउ सामाजिक काममा सरिक भएकै कारण २०५९ साल पुस १ गतेका दिन तत्कालीन शाही सेना र प्रहरीबाट गोला गाविसको गिदरपुरमा सुराकीको कारण उहाँ सहित ५ जना (लक्ष्मण थारू, खुशीराम थारू, पुष्प थारू, रमिला थारू) को हत्या भएछ । हुन त पाठकलाई आफ्नै बाबुको कुरा गर्दा पारिवारिक कुरा लेखेर गुनासो गरेको जस्तो पनि लाग्ला । तर पारिवारको साँघुरो घेराबाट मुक्त भई सामाजिक क्षेत्रमा गरेको योगदानलाई बाहिर ल्याउँदा उहाँमाथि न्याय नै होला भनी सहादत भएको २१आँै वर्ष पारी यो सानो स्मरण तयार गरेकी छु । सम्भव भएसम्म उहाँले व्यतीत गर्नुभएको जीवनलाई यहाँ सम्झने प्रयास गरेकी छु — जन्मिँदाको परिवेश दलबहादुर चौधरी, बाजे सन्तराम थारू र बज्यै महङगी थारूको कोखबाट २०२४ साल असार महिनाको ६ गते बर्दियाको तत्कालीन मनाउ गाउँ पञ्चायत (पछि गोला गाविस र अहिले गेरुवा गाउँपालिका–४) शान्तिपुर ढुकुनियामा निम्न मध्यम वर्गीय परिवारमा जन्मिनुभएको थियो । त्यतिबेलाको राजापुर ठूलै व्यापारिक केन्द्रको रूपमा परिचित थियो । खेती किसानी नै जीविकोपार्जनको आधार थियो । आफैँ खेती गर्न नसक्नेले कमैया राखी खेती गर्ने चलन थियो । पञ्चायती शासन । गाउँघरमा ठूलाबडा भन्ने नै पञ्चायतका दरिला खम्बा थिए । पञ्चायतको विरोध गर्नु त के चुइँक्क बोल्नसमेत पाइँदैन्थ्यो । विद्यार्थी जीवन दौँतरीका अनुसार उहाँको व्यवहार निकै सरल र सहयोगी थियो । सानै उमेरदेखि सहयोगी स्वभावका उहाँ अत्यन्त मिलनसार हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै सामाजिक काम गर्न रुचाउने र सामाजिक दायित्वबोध गर्ने उहाँको बानी थियो । अन्याय नसहने, सबैलाई सहयोग गर्ने स्वभावकै कारण किशोर अवस्थामै १२ वर्षसम्म गाउँको बडघर भई सामाजिक सेवामा योगदान पु¥याउनुभयो । घरमा हँुदा खेतीको काममा सघाउने र विद्यालयमा पनि लगनशील भई अध्ययन गर्नुहुन्थ्यो । साथीभाइसँग नाता लगाएर सम्बोधन गर्नुहुन्थ्यो । सरल र सहयोगी बानीका कारण उहाँको लोकप्रियता निकै नै बढेको थियो । गाउँमा केही काममा सल्लाह गर्नुपरेमा उहाँकै नाम अगाडि आउँथ्यो । बरघरमा छनौट समस्या आउँदा सबैलाई सहयोग गरेकै कारण गाउँमा निकै लोकप्रिय हुनुभयो । उहाँको चालचलन, बानीव्यवहार देखेर नै सबै गाउँलेहरूले सम्मानको व्यवहार गर्दथे । लोकप्रियताका कारण १२ वर्षसम्म गाउँको बडघर बनी सामाजिक काममा योगदान दिनुभएको थियो । आफू बरघर हुँदा सामुदायिक वनमा गरेको वृक्षरोपणको प्रयासबाट लगाइएका बिरुवाहरू आज पनि रूखको रूपमा देख्न सकिन्छ । पञ्चायतको विरोध पञ्चायत दिनदिनै निरंकुश बन्दै गइरहेको थियो । पञ्चहरू गाउँका सोझा सीधा मानिसलाई हेप्ने, कुट्ने गर्दथे । कसैका छोरीचेली राम्रा छन् भने उनीहरूको गिद्दे नजर परिहाल्थ्यो । यस्तो अन्याय हुँदा पनि चुपचाप सहेर बस्न उहाँको मनले मानेन । आफूजस्तै युवा साथीहरूको संगठन निर्माण गरी २०४६ सालमा अखिल नेपाल युवा संघमा आबद्ध हुनुभयो र संगठित रूपमै पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्षमा होमिनुभयो । बहुदलको आगमन र पार्टी काम संगठित रूपमा पञ्चायतविरुद्ध गरिएका आन्दोलनले व्यापकता पाउँदै गयो । एकातिर पञ्चायत आन्दोलनकारीलाई धरपकड गरी आफ्नो शासनकाल लम्ब्याउने कोसिसमा थियो भने अर्कातर्फ देशव्यापी रूपमा व्यवस्थाको विरोध गर्दै हजारौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका थिए । पर्चा छर्ने, पोस्टरिङ गर्ने क्रममा पुलिसले लखेटेको र काँडैकाँडा भएको बुट्यानमा बास बस्नुपरेको कुरा उहाँका दाँैतरी बेगहराज चौधरी सुनाउनुहुन्छ । बहुदली यव्यवस्थाको आगमनपछि त उहाँको जिम्मेवारी झन् फराकिलो हुँदै गयो । बहुदलीय व्यवस्था आएपछि भएको पहिलो स्थानीय निर्वाचनामा पार्टीको तर्फबाट उहाँले वार्ड अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको थियो तर मात्र १ मतको अन्तरले विजय हुनुभएन । २०४७ मा उहाँले गरेको कामको सम्मान गर्दै नेकपा(मसाल) ले सदस्यता प्रदान गरेको नजिकैबाट जान्नेहरू बताउँछन् ।                                                                                                                                  लेखिका विष्णुकुमारी चौधरी  पार्टी काम र भूमिगत जीवन समयको क्रमसँगै गरिब, निमुखा र उत्पीडनमा परेकालाई गरिबीका कारण र यसबाट मुक्तिका लागि गरिनुपर्ने संघर्षका कुरा सिकाउँदै हिँड्नु उहाँको कर्तव्य थियो । २०५४ सालमा थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्यको भूमिकामा रही काम गर्नुभयो । तत्कालीन पार्टी नेता ज्ञानप्रसाद चालिसे (आयाम), तिलकराम शर्मा (हिमाल), रामचरण चौधरी, तिलकसिह कार्कीलगायतका साथीहरूको संगतले पार्टी काममा हौसला थपेको थियो । यो अवस्थामा स्वतः गाउँका फटाहा र शोषकवर्गको स्वार्थमा ठेस पुग्थ्यो नै । त्यसैले उनीहरूले उहाँलाई देखी सहेनन् । उनीहरूको दमनले सीमा नाघ्यो । घरमा बस्ने वातावरण नै भएन । त्यसैले २०५९ साल भदौमा भूमिगत भई काम सुरु गर्नुभयो । जस्तोसुकै जटिलतामा पनि नहडबडाई काम गर्ने कार्यशैली रहेको कुरा अझै पनि दौँतरीहरू सुनाउँछन् । रातभरि काम गरी बिहान सुतिरहेको समयमा दुश्मन आइपुगे । बिस्तारामै करिब ८ बजे उहाँलगायत अन्य ४ जना योद्धाको विभत्स हत्या गरियो । आमाको सिन्दूर पुछियो र भाइबैनी टुहुरा भए । साथीभाइका लागि शक्ति गुम्यो र फुपूहरूको माइती रित्तियो । परिवारका लागि जमिन भासियो । गाउँले अभिभावक गुमायो अनि गरिबहरूले बलियो काँध गुमाए । उपसंहार सुन्दर सपना देखेर लामो संघर्षपछि देशमा लोकतन्त्र आएको पनि निकै वर्ष भइसक्यो । संविधानमा नै देश समाजवाद उन्मूख भनी परिभाषित गरिएको छ । शान्ति प्रक्रियाबाट लोकतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म आइपुग्दा आम नेपालीको अवस्था कस्तो छ, सोच्ने बेला भइसकेको छ । चारैतिरबाट लोकतान्त्रिक शक्तिमाथि प्रहार भइरहेको छ । युद्धमा घाइते भएका जिउँदा सहिदले अझै पनि शरीरभित्र गोली र छर्रा बोकेर हिँडिरहनु अनि भएको शक्ति पनि खण्डित र कमजोर हुँदै जानुले राम्रो कुराको संकेत गर्दैनन् । हामीहरू चुक्यौँ कि कतै, सोच्ने बेला भएको छ । नागरिकलाई दिइएका आश्वासन र वचनलाई पूर्ण पालन गर्न नसके सहिदको रगतले धिर्कार्ने छ । गरिबहरूको एकताबाट उठेको संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउन नसके भावी दिनमा हुन सक्ने वर्गीय संघर्षसमेत निराशामा परिणत हुनेछ । मिसन टुडेबाट

पुस १ मा ‘कु’ गर्दा  के भनेका थिए राजा महेन्द्रले ?

पुस १ मा ‘कु’ गर्दा के भनेका थिए राजा महेन्द्रले ?

१०४७ दिन अगाडि

|

१ पुष २०८०

आज पुस १ अर्थात् प्रथम जननिर्वाचित सरकारमाथि ‘कु’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन । नेपालका राजनीतिक दलहरूले नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आएका छन् ।   २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कु गरी नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए ।  पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला नेता प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरूलाई पक्राउ गरी सिंहदरबारमा तीन महिना र सुन्दरी जलको बन्दी गृहमा लामो समय थुनिएको थियो ।  बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो।  प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पञ्चायती शासन व्यवस्था लागू गर्ने महेन्द्रको उक्त कदमपछि मुलुकमा लामो समयसम्म निर्दलीय व्यवस्था कायम रह्यो। दलहरूमाथि प्रतिबन्ध लाग्यो। वाक स्वतन्त्रता हनन हुन पुग्यो। महेन्द्रको उक्त कदमले प्रजातन्त्रको घाँटी निमोठिएको भन्दै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरूले विरोध गरेका थिए । अहिलेका राजनीतिक दलहरूले पुस १ को कदमलाई जनअधिकार खोसिएका दिनका रूपमा सम्झिने गरेका छन्।      तत्कालीन राजा महेन्द्रले जारी गरेको शाही सम्बोधनको पूर्ण पाठ यस्तो थियो- आगे प्यारा प्रजा, गैह्र के यथोचित, जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरण पैदा गर्छन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप काङ्ग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई संविधानअनुसार शासन भार सुम्पी देशप्रतिको जिम्मेदारी हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै कुरा भएको थियो । त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय समयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिलाई समेत कर्तव्यबाट च्युत नहुने सङ्केत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ । प्रजातान्त्रिक पद्धतिअनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारका बीचमा भएको भ्रमात्मक वातावरण राम्रोसित सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर त्यसको ठिक उल्टो प्रजातान्त्रिक पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थ पूर्ति गर्न अधिकार प्रयोग गरियो । ऐन र कानुनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशका प्रशासनयन्त्र निष्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनकन भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तत्त्वहरूले धरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्‍याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको कार्यान्वयनबिना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरण मात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रका निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नहुने भएकाले देशको एकता, राष्ट्रियता र सार्वभौम बचाउन, देशमा अमन चयन कायम राख्न र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमा भएकाले उपर्युक्त वातावरण हटाई शान्ति सुरक्षा कायम राख्न र देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष अवस्थाको जरुरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद् दुवै सदनसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौँ । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौँ । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौँ – भाग २ का सबै धारा, भाग ३ का सबै धारा, भाग ४को धारा ११ बाहेक अरू सबै धारा, भाग ५को धारा ५५ बाहेकका सबै धारा, भाग ९को परिच्छेद ३ तथा धारा ७३ बाहेक र भाग १० का सबै धारा । यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, काम कर्तव्यबाट विचलित हुनु वा अलमलिनुपर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशवासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ । परराष्ट्र विषयमा हामीले दृढतापूर्वक आफ्नो तटस्थता अपनाई सबै मित्र राष्ट्रसँग मित्रताको नीति नै कायम राख्नेछौँ र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौँ । श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् जय नेपाल ।

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

१०५५ दिन अगाडि

|

२२ मंसिर २०८०

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ । यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।  थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।   

प्राविधिक सरकार, आचरणविहीन राजनीति

प्राविधिक सरकार, आचरणविहीन राजनीति

१०५६ दिन अगाडि

|

२२ मंसिर २०८०

संजीव सत्गैंया लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो, तर दलहरूमा यो कुनै पनि विषयमा चेतना नहुनु नै सायद आजको ठूलो विडम्बना हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणपश्चात् गत वर्ष जसरी निर्देशनको बाढी आएको थियो, सायद पहिले कहिल्यै थिएन। निर्देशन यसरी दिइएका थिए र मिडियामा यसरी रिपोर्टिङ गरिएका थिए, मानौँ अब देशले साँच्चिकै कोल्टे फेर्छ। जसैजसै मन्त्रिमण्डलमा सदस्य थपिँदै गए, निर्देशन पनि बढ्दै गए। गत वर्ष पुस १० मा तेस्रो पटक प्रधानमन्त्री हुँदा दाहाल निकै उत्साहित देखिन्थे। अघिल्ला दुई कार्यकालमा खासै केही गर्न नसकेको र अब सत्ता हातमा आए ‘केही त गर्ने नै गर्ने’ उनले बारम्बार भनी नै रहेका थिए। तेस्रो पटकको सत्तारोहणबाट दाहाल अति नै उत्साहित छन् भन्ने एकपछि अर्को निर्देशनबाटै प्रष्ट हुन्थ्यो। अहिले दाहालले तेस्रो कार्यकालको पहिलो वर्षगाँठ मनाउने तरखर गर्दैगर्दा उनको वर्ष दिनअघिको उत्साहमा चाहिँ चिन्ताका बाछिटा देखिन थालिएका छन्। न सुशासन र सेवा प्रवाहमा उल्लेखनीय सुधार, न जनसरोकारका साधारणभन्दा साधारण विषयकै सम्बोधन। दाहाल सरकार भने ती मुद्दा सम्बोधन गर्नुको साटो उल्टो बाटो हिँडिरहेको छ। यहाँसम्म कि आलोचनाका डरले सामाजिक सञ्जालको नियमन गर्न कस्सिएको सरकार टिकटक बन्द गरेरै सारा राष्ट्रिय र सामाजिक समस्या समाधान गर्न तम्सिएझैँ गरेको छ। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। सुशासन र सामाजिक मुद्दाबारे मुख्य सत्ता साझेदार कांग्रेसको आफ्नै सदाबहार नीति छ, अर्थात् कुनै नीति छैन। कांग्रेस अहिले नेतृत्व शून्यताको स्थितिमा मात्र छैन, विचारविहीन पनि छ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली निकै गजबको कटाक्षका लागि प्रख्यात छन् भने कैयौँ मुद्दामा सत्ता साझेदारकै भूमिकामा भएको छनक उनको पार्टीले दिइरहेको छ, यदाकदा सरकारलक्षित केही सामान्य आलोचनात्मक टिप्पणीबाहेक। एमालेको जुन रूपान्तरण अहिले नेकपा (ओली)मा भएको छ, त्यसले पनि प्रष्ट हुन्छ कि प्रमुख प्रतिपक्षी दल वैचारिक रूपमा कति भुत्ते छ। नेकपा (माओवादी केन्द्र)मा वैचारिक र सैद्धान्तिक विचलन आयो भनेर त उक्त दलका अध्यक्ष र नेताहरू भनिरहेका नै छन्, भलै त्यो दलगत र सार्वजनिक खपतका लागि किन नहोस्, तर त्यो पनि एक किसिमको स्वीकारोक्ति नै हो। यिनै कांग्रेस, एमाले र माओवादी केन्द्र भने वर्षौंदेखि सत्ताको धुरी वरिपरि घुमिरहेका छन्। भ्रष्टाचार अन्त्य गरी सुशासन दिने र सदाचार ल्याउने कुरा पनि यिनै गरिरहेका छन्, एकपछि अर्को निर्देशन पनि यिनै दिइरहेका छन्। वर्षौंदेखि बस् कुरा नै गरिरहेका छन्। कामचाहिँ कहाँ भइरहेको छ भन्ने न कसैले देख्न पाएको छ, न महसुस गर्न। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। संसदीय पद्धतिमा सरकार गठन प्राविधिक विषय हुन सक्ला– कुन ठूलो दल, कसको नेतृत्वमा सरकार बनाउने, कसले समर्थन गर्ने आदि इत्यादि– तर सरकार सञ्चालन नितान्त राजनीतिक प्रक्रिया हो, त्यसमा भने दल र नेताहरू केन्द्रित भएको कुनै आभास नै हुन सकेको छैन। सरकार सञ्चालक र राजनीतिक दलहरू पछिल्ला केही वर्षमा निकै प्राविधिक हुँदै गएका विभिन्न उदाहरण छन्– प्रधानमन्त्री स्वयं राजमार्ग आसपासका होटल अनुगमन गर्न जानु, मन्त्रीहरू आफैँ बिजुलीको खम्बा चढेर तार काट्नु, विमानस्थलको शौचालय सफा गर्नू, भाषणबाटै चेतावनी दिनु या कुनै मन्त्री ‘मेलम्चीको पानी काठमाडौँ ल्याउन’ मेलम्ची नै गइदिनु आदि।  जनताको संघर्षले देशमा बहुदलीय लोकतान्त्रिक व्यवस्था र त्यसपछि गणतन्त्र त आएको छ, तर राजनीतिक दल र नेताको अगुवाइमा भएका आन्दोलनहरूको प्रतिफल नै हो वर्तमान व्यवस्था, तर यी दल वा तिनका नेता कुनै पनि हिसाबले आजका दिनमा जनतासँग भावनात्मक रूपमा जोडिन सकेका छैनन्। दल र नेताहरूले बोल्ने भाषा र गर्ने भाषणसँग आजका दिनमा जनताले सामञ्जस्य नै बसाउन सकेका छैनन्। अर्को अर्थमा भन्ने हो भने नेता र दलका कुरा जनता बुझ्दैनन्। जनताका कुरा नेता सुन्दैनन्। लोकतन्त्र र सरकार सञ्चालन केबल प्राविधिक विषय मात्र नभएर निरन्तरको प्रक्रिया हुन्। जति जति लोकतान्त्रिक मूल्य–मान्यता प्राविधिक बन्दै जान्छन्, प्रक्रिया गौण हुँदै जान्छ। निरन्तरको प्रक्रिया र असल अभ्यासले लोकतन्त्र मजबुत बनाउँछ, तर प्राविधिक 'लफ्फेवाजी'ले जडता निम्त्याउँछ। लोकतान्त्रिक नै भने पनि जब मुलुकमा जडताले प्रश्रय पाउँछ, त्यसको प्रथम लाभार्थी सत्तामा रहेका दल र नेता हुन्छन्। त्यसै कारणले पनि सत्ताधारीहरू प्रक्रिया र अभ्यासभन्दा जडता चाहन्छन्, अनि प्राविधिक विषयमा जनतालाई अलमल्याइरहन्छन्। अहिले भइरहेको पनि त्यही हो। दुई दशकभन्दा केही अघिको सानो संस्मरण। डेरा नजिकैको चिया पसलमा म नियमित जाने गर्थें। केही चिनजानका मभन्दा उमेर खाएका दाइहरूका राजनीतिक गफ सुन्नु मेरो एक किसिमको दिनचर्या थियो। कुराकानीमा मेरो सक्रिय सहभागिता निकै न्यून हुन्थ्यो। प्रजातन्त्र आएको एक दशक पूरा हुने क्रममा थियो, तर मुलुकमा बेथितिले जरो गाड्न शुरू गर्नगर्न लागेको अवस्था थियो। एक दिन मैले कुनै प्रसंगमा भनी त हालेँ- "हाम्रा नेताहरूले खासमा केही गर्नै पर्दैन, अलिकति मात्र आफ्नो आचरणमा सुधार गर्ने हो भने धेरै कुरा आफैँ ठीक हुन्छ देशमा।" "ओहो, तिमी पनि राजनीतिक टिप्पणी गर्ने भइसक्यौ!" एक जना दाइले भन्नु भो। भन्न नहुने कुरा पो भनेँ कि भन्ने भइरह्यो मनमा। तैपनि असल श्रोताको भूमिका केही समय निभाई नै रहेँ। समय क्रममा ती दाइहरूसँगको भेटघाट पनि टुट्दै गयो।  तीमध्ये एक जना दाइसँग हालै अचानक भेट भो। नजिकैको ‘क्याफे’मा चिया खान बस्दाबस्दै दाइले भन्नुभयो, "कांग्रेस, एमाले, माओवादी सबै उस्तै हुन्।" "के भो र दाइ?" सोधेको मात्र थिएँ, अलि उत्तेजनामै पो आउनु भो, "सबै नेता आचरणविहीन भएर गए, न दलमा आचरण छ न नेतामा। समस्या व्यवस्थामा छैन, यिनीहरूको आचरणमा छ। जबसम्म नेताहरूले आचरण सुधार्दैनन्, तबसम्म राजनीति सुध्रिन्न, जबसम्म राजनीति सुध्रिन्न, तबसम्म देश उँभो लाग्न गाह्रो छ।" मैले पनि त्यस्तै केही कुरा भनेको थिएँ भनेर त सम्झना दिलाइनँ तर, एक पटक फेरि त्यही पुरानो कुरा सोच्न म पनि बाध्य भएँ। फरक के थियो भने मैले उति बेला नेताहरूका केही छिटपुट व्यवहारको सन्दर्भ कोट्याएको थिएँ, अहिले के महसुस भयो भने यो त सम्पूर्ण लोकतान्त्रिक आचरणको कुरा रह्यो। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। गत मंसिरमा जनताले चुनाव सम्पन्न गराए। यहाँ ‘जनता’ले भन्ने कुरामा जोड दिनु किन आवश्यक छ भने ‘चुनाव सरकारले सम्पन्न’ गरेको भन्ने गलत भाष्य बसालिएको छ। चुनाव गराउनु सरकारको न्यूनतम दायित्व हो र यसलाई सुसम्पन्न गर्ने सार्वभौम जनता हुन्। त्यस चुनावको प्रष्ट सन्देश के थियो भने ‘यो नयाँ संविधानअन्तर्गतको दोस्रो चुनाव हो र अब यसैगरी संविधान र लोकतन्त्रलाई क्रमशः संस्थागत गर्दै लैजानुपर्छ।’  विडम्बना, चुनावको नतिजाको एक महिनापछि नै दलहरूले संविधानका धाराहरूको यति प्राविधिक रूपमा अपव्याख्या गरेकी आजको सरकारको जग नै संवैधानिक मर्मको हिसाबले कमजोर छ। कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको माओवादी सरकार बनाउनेताका एमालेसँग हात मिलाउन पुग्यो। एमालेको समर्थनमा बनेको दाहाल सरकार भने कांग्रेसको विश्वासको मतको आधारमा अहिले चलिरहेको छ। के भइरहेको छ भने दल र नेताहरू यस्ता विकृत अभ्यास गलत हुन् भन्नुको साटो यस्तै अभ्यास प्रदेशहरूमा दोहोर्‍याउन उद्धत छन्।  त्यसमाथि आवधिक निर्वाचन भएको एक वर्ष पुग्दा नपुग्दै मध्यावधिको रहर पनि गरिरहेका छन्। राजनीतिक र संवैधानिक दुवै रूपमा अनुपयुक्त यस्तो विचारको स्रोत कहाँ होला/के होला? संविधान एक जीवन्त दस्ताबेज हो भन्ने रट लगाउँदा लगाउँदै दल र नेताहरू नै यसलाई गिजोलगाजोल गर्न तँछाडमछाड गर्दै छन्। दलहरूले सरकार र लोकतन्त्रलाई अभ्यास र आचरणको रूपमा विकास गर्न नसक्नुका उदाहरण हुन् यी सब। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। आम चुनावको एक वर्ष हुँदा नहुँदै, सारा दल ‘मिसन ८४’ भन्ने राग अलापेर बसेका छन्। आवधिक चुनाव लोकतन्त्रको विशिष्टता त पक्कै हो, तर दल र नेताहरूले लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव हो र सरकारपछि अर्को सरकार गठन हो भन्ने बुझ्नु र बुझाउन खोज्नुले लोकतन्त्रबारे उनीहरूको चेत र यसप्रतिको प्रतिबद्धता कति कमजोर रहेछ भन्ने देखाउँछ। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। हालैका दिनमा यसको छनक सडक र सामाजिक सञ्जालहरूमा नदेखिएका पनि होइनन्। संविधान नै उल्ट्याउने, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिने जुन क्रियाकलापहरू भइरहेका छन्, प्रधानमन्त्रीलगायत दलका नेताहरू त्यसमा पनि प्राविधिक जवाफ मात्र दिइरहेका छन्। प्रधानमन्त्रीको जवाफी कारबाही सुशासनको सुनिश्चितता, मजबुत सेवा प्रवाह, जनसरोकारका मुद्दा सम्बोधन गरेर हुन्छ वा फेरि कुनै नयाँ निर्देशन जारी गरेर ?     उकालोबाट लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्।  

सम्झनामा परशुनारायण

सम्झनामा परशुनारायण

१०५६ दिन अगाडि

|

२१ मंसिर २०८०

छविलाल गिरी  थारू कल्याणकारिणी सभाको सांगठनिक बिकासलाई उचाईमा पुर्याउन प्रमुख भुमिका खेल्ने, काठमाण्डौंको टुडिखेलमा सर्वप्रथम माघी महोत्सव मनाउन सुरुवात गर्ने तात्कालीन राजपरिषद स्थायी समितिका सभापति,  नेपाली इतिहासका एक अविस्मरणीय व्यक्तित्व स्वर्गिय परशुनारायण चौधरी आज मंसिर २१ गते ११ औं पुण्य तिथी हो । दाङदेउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले।  तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"।  अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"।  २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा तात्कालीन  राजा ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए। २०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा चौधरीको देहान्त भयो। आज ११ औं पुण्य तिथिको अवसरमा राष्ट्रवादी राजनेता स्व. परशुनारायण चौधरीमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।