बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

१०५९ दिन अगाडि

|

१९ मंसिर २०८०

कपाल काट्ने व्यावसायमा थारू युवाहरूको छलाङ

कपाल काट्ने व्यावसायमा थारू युवाहरूको छलाङ

१०५९ दिन अगाडि

|

१८ मंसिर २०८०

                                                                                      वसन्त चौधरीको सैलुन र वसन्तले कपाल काटेरै बनाएको घर सन्तोष दहित दाङको घोराही उपमहानगरपालिका-१७, गुलरिया गाउँका ११ जना युवा अहिले घोराही बजारका विभिन्न ठाउँमा सैलुन सञ्चालन गरेर मनग्ये आम्दानी लिइरहेका छन्। तीमध्ये एक हुन्, वसन्त चौधरी। उनले २०६४ सालदेखि घोराहीको तुलसीपुर चोकमा सैलुन व्यवसाय गर्दै आएका छन्। वसन्तले आफ्ना नियमित ग्राहक बनाएका छन्, जो अरू सैलुनमा जाँदै जाँदैनन्। सैलुन व्यवसायबाट उनले मासिक करीब एक लाख कमाउँदै आएका छन्। यो डेढ दशकको अवधिमा उनले दाह्रीकपाल काटेरै घरखर्च चलाए। भाइबहिनी र छोरालाई पढाए। जग्गाजमीन जोडेर घर समेत बनाए। घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नपाएका वसन्त कुनै वेला खाडी मुलुक छिर्ने योजनामा थिए। तर गाउँका एक दाइ पर्नेले उनलाई विदेश जानुभन्दा स्वदेशमै बसेर सैलुन खोल्न सुझाव दिएपछि गाउँकै दाइ धर्म चौधरीसँग कपाल काट्न सिकेर उनले घोराहीमा सैलुन सञ्चालनमा ल्याएका थिए। “आत्मनिर्भर भएसँगै छिमेकी गाउँका दुई दर्जनभन्दा बढी युवालाई यही सीप सिकाएर स्वरोजगार बनाएको छु,” उनी भन्छन्। अहिले पनि उनको सैलुनमा गाउँका दुई जनाले रोजगारी पाएका छन्। लगनशीलता, निरन्तरता र मेहनत गर्ने हो भने यो व्यवसायबाट थोरै लगानीमा मनग्ये आम्दानी हुने उनी बताउँछन्। यद्यपि यो पेशामा आउन जोकोही लाज मान्ने गरेको उनको अनुभव छ। घोराहीकै दीपशिखा चोकमा गुलरिया गाउँकै विपिन चौधरीको सैलुन छ। विपिनको दंगाली हेयर कटिङ सैलुनमा पनि उनी सहित छिमेकी गाउँका अरू दुई जना काम गर्छन्। काम भ्याइनभ्याइ हुन्छ। बजारमा १५० भन्दा बढी सैलुन छ। विपिनकै सैलुन वरपर अरू दुई वटा सैलुन पनि छन्। तर ग्राहकको रोजाइमा विपिन नै पर्छन्। भारतीय वा जिल्ला बाहिरका मानिसले सञ्‍चालन गरेका सैलुनमा स्थानीय जान रुचाउँदैनन्, बरु घन्टौं कुर्न नै किन नपरोस्। गुलरिया गाउँकै धर्म चौधरीको सैलुन पाठक चोकमा छ। उनले पनि घरखर्च निकालेर छोराछोरीलाई पढाई राम्रो बचत गर्दै आएका छन्। धर्मबाटै वसन्त र विपिनले कपाल काट्न सिकेका हुन्। धर्म पनि आफ्ना चेलाहरूको व्यवसाय चलेको देखेर खुशी छन्। “अरू गाउँका युवा खाडी मुलुकमा छन् तर हाम्रो गाउँका युवा स्वदेशमै बसेर आफ्नो व्यवसायमा रमाएको देख्दा खुशी लाग्छ। त्यो पनि आफूले सिकाएको सीप अँगालेको देखेर,” उनी भन्छन्। कपाल काट्न नाम दर्ता दाङको दंगीशरण गाउँपालिकामा एउटा सैलुन छ- निशान हेयर कटिङ। यहाँ दाह्रीकपाल काट्न दिनहुँ यति भीड लाग्छ कि झट्ट सुन्दा अपत्यारिलो लागे पनि कि फोन गरेर कि त सैलुनमै पुगेर नाम टिपाएपछि मात्रै पालो पाइन्छ, त्यो पनि दुईतीन दिनपछि। सैलुनका सञ्‍चालक शोभाकर चौधरी दिनहुँ भीड लाग्न थालेपछि ग्राहकको नाम दर्ता गराएर दाह्रीकपाल काट्न थालेको बताउँछन्। “गाउँघरका सबै चिनजानका छन्, सबैले पहिला मेरो काटिदिनुस् भन्छन्,” उनी भन्छन्, “मेरा लागि सबै ग्राहक भगवान् हुन्, सबै बराबर। कसैलाई काखापाखा नहोस् भनेर नाम दर्ता गराएर दाह्रीकपाल काट्दै आएको छु।” नाम टिपाउने व्यवस्था लागू भएपछि ग्राहकहरू पनि खुशी भएको शोभाकर बताउँछन्। ज्येष्ठ नागरिक र असहायलाई भने आएकै दिन सेवा दिएर पठाउने गरेको उनी बताउँछन्। “जसलाई दाह्रीकपाल काट्नु छ, उसले दुई दिनअघि नै नाम दर्ता गराउँछन्। सोही अनुसार आलोपालो कपाल काट्दै आएको छु,” उनी भन्छन्। शोभाकरको सैलुनमा कपाल काट्ने पालो आफूले दुई दिनपछिका लागि पाएको दंगीशरण गाउँपालिका-४ का पूर्व वडाध्यक्ष समेत रहेका नेपबहादुर कुँवर बताउँछन्। तुलसीपुर गएर कपाल कटाउन सकिने भए पनि शोभाकरले त्यहाँभन्दा राम्रो र सस्तो सेवा दिने गरेकाले पनि दुईतीन दिन पर्खेर यहीं कटाउने गरेको उनी बताउँछन्। स्थानीय कालुराम चौधरी पालिकामा एउटै सैलुन भएकाले पनि भीड लाग्ने गरेको बताउँछन्। उनका अनुसार दंगीशरणका करीब १० गाउँका मानिसको दाह्रीकपाल शोभाकर एक्लैले काट्दै आएका छन्। शोभाकरले गाउँमै सैलुन व्यवसायबाट मासिक ६० हजारभन्दा बढी कमाउँदै आएका छन्। उनले कपाल काटेको १०० र दाह्री काटेको ८० रुपैयाँ लिंदै आएका छन्, जुन तुलसीपुर बजारमा लाग्नेभन्दा कम शुल्क हो। हिमालखबरबाट ।

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

१०६१ दिन अगाडि

|

१७ मंसिर २०८०

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा पहिलो रानाथारू भाषा-साहित्य सम्मेलन हुने भएको छ । शनिवार १६ मङ्सिरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ । कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जनाए । विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवं एकरूपतामा जोड दिइने रानाले बताए । कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण प्रयास रहनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवं लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको  भवनको उदघाटन.  श्रष्टा सम्मानित

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवनको उदघाटन.  श्रष्टा सम्मानित

१०६१ दिन अगाडि

|

१७ मंसिर २०८०

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उदघाटन गरेका छन्  । दाङको लमहीमा मंसिर १६ गते शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहको अवसरमा भवन उदघाटन गरिएको हो । लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको छ। भवन बनाउनका लागि लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले २ लाख, राप्ती गाउँपालिकाले १ लाख ५० हजार र गढवा गाउँपालिकाले १ लाख २५ हजार रूपैयाँ अनुदान सहयोग गरेको मञ्चका अध्यक्ष हरि पोख्रेलले बताए । सोही अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी. शर्मालाई सम्मान गरिएको मञ्चका सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । यसैगरी ‘अग्रज स्रष्टा सम्मान’ बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैगरी शेषमणि शर्मा घिमिरे/कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष के.सी.(मा.वि. फल्कापुर) लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्म प्रसाद शर्मा राप्ती साहित्य परिषदका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरुले आफ्ना रचना वाचन पनि गरेका थिए । ५ लाख रुपैयाँ बराबरको १५ प्रकारका अक्षयकोष स्थापना भएको यस मञ्चका हालसम्म १७० आजीवन सदस्यहरु छन् । मञ्चले विभिन्न विधागत कार्यक्रमहरू समेटी संस्थाको वार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ जसमा रचना वाचन, कृति समीक्षा, सांगीतिक प्रस्तुति, भाषा, कला, साहित्य तथा संस्कृति विषयक अन्तरसंवाद, स्रष्टाको घर कार्यक्रम, साहित्यिक वनभोज तथा भ्रमण लगायतका कार्यक्रमहरु छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ २०६३ सालमा स्थापना भएको हो ।

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

१०६२ दिन अगाडि

|

१५ मंसिर २०८०

मित्थु थारू आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारू समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनी सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारू इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए। कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारू जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रूचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे। चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारू जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए। ‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारू जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ,’ मित्थुले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ। यतिबेला उनी बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारू समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्। उनी दुर्गाशरणको कथामा आधारित थारू समुदायका देवी मयारी, थारूका राजा दगीशरण, भेंवाँ, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्। मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारू संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए। मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारू संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाउँदै आएका छन्। थारू संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। रासस

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

१०६३ दिन अगाडि

|

१४ मंसिर २०८०

तनहुँको  आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।  उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।  समुन्द्र सतहदेखि करिब दुई हजार उचाइमा रहेको यस स्थानमा रैथाने अर्ग्यानिक रायो साग खेती गरिएको हो । उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आसिक गुरुङले जानकारी दिए । सागको प्रति मुठा रु ५० र गुन्द्रुकको प्रति मुठा रु एक सयमा बिक्री गर्ने गरिएको छ । उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन् ।  दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहेका लक्ष्मण गुरुङले बताए ।  आफूले यसवर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।  करिब १५ दिनको अवधिमा रु एक लाख बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए । किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्याउन सहजीकरण गर्दै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले किसानलाई बीउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा पालिकाले जिम्मा लिने प्रवन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले गुन्द्रुकको पनि उत्तिकै माग आउन थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।  स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरुप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रासस

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

१०६३ दिन अगाडि

|

१४ मंसिर २०८०

गणेशप्रसाद गुरागाईं संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन । बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।  ‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।  उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’ अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।  उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् । त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।  ‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।  सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।  क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ । यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्‍याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन । मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।  तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् । उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् । मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।  के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ । मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार – ‘जानामि धर्मं न च मे प्रवृत्ति– र्जानामि पापं न च मे निवृत्तिः । केनापि देवेन हृदिस्थितेन यथा नियुक्तोक्स्मि तथा करोमि ।। यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।  अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’ अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’ यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन । तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट