सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

१०७६ दिन अगाडि

|

२ मंसिर २०८०

छठपर्वको इतिहास

छठपर्वको इतिहास

१०७६ दिन अगाडि

|

२ मंसिर २०८०

सूर्यकुमार पण्डित छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ ।  यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।  यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।  कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।  छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् । तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ । पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो । आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् ।  दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते                   अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे ।  तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।   शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् ।  पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।। अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ :  ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम  ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः  ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।    धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ । सूर्यार्घस्तुति, सूर्यलाई अर्घः  अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।   सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् । पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।। सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् । प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।। नमः शिवाय शान्ताय सगणय दि हे तवे ।  रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।। एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते ।  अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।। रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल  पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ ।  उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ ।  तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् ।  तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।।  अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् ।  करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।। सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ । जगन्मातार्जगदात्री जगदा नन्दकारिणी ।  प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ  छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ ।  छठ पर्वको इतिहास सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ ।

संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

१०७७ दिन अगाडि

|

१ मंसिर २०८०

निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो । दलहरूबीच हार्दिकता हुन नसक्दा संसद्मा अन्तिम अवस्थामा पुगेका विधेयक पनि पारित हुन सकेनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तयारी अवस्थामा रहे पनि टुङ्गोमा पुगेनन् । कतिपय विश्लेषक यसलाई राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज मान्छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा सोशी चौधरी सदनमा थुप्रै विधेयक दर्ता भए पनि शीघ्र प्रक्रियामा अगाडि बढाउन नसक्नु कमजोरी भएको स्वीकार्छिन्। संसद् र सांसदले कानुन निर्माणलाई आफ्नो प्रमुख दायित्व बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक दल र शीर्षनेता पनि जिम्मेवार हुनुपर्ने बताइन् ।  “समितिका सभापति, सांसद, संसद् सचिवालय, कर्मचारी, दलका नेता, सम्बन्धित मन्त्रालय सबै आ–आफ्नो ठाउँमा क्रियाशील हुन सक्नुपर्छ”, सांसद चौधरीले भनिन्, “मुलुकलाई अगाडि बढाउन आवश्यक कानुन निर्माण हुन सकेन भने त संविधानमाथि नै प्रश्न उठ्न सक्छ, अहिलेको जस्तो घिसेपिटे तरिकाबाट हुँदैन ।” सरकारले संसद्लाई ‘बिजनेस’ दिएन भन्ने गरिए पनि सदनमा थुपै विधेयक छलफलका लागि तयार रहेको उल्लेख गर्दै उनले ‘मिनी संसद’का रूपमा रहेका संसदीय समितिले प्रभावकारीरूपमा काम गर्न नसक्दा पनि केही समस्या देखिएको बताइन् । “राजनीतिक दलहरूबीच सहमति भइसकेको विषयलाई छिटोछिटो समितिबाट टुङ्ग्याउँदै सदनमा पठाउने तथा पारित गर्नेतर्फ जानुपथ्र्यो”, सांसद चौधरीले भनिन्, “यतातर्फ ढिलाइ भइरहेको छ ।” संविधानको पालना गरेर तद्अनुसारको कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने सांसद चौधरीको मत छ । सदनलाई ‘बिजनेस’ दिने तथा जनजीविकाका सवाललाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ भन्दै उनले भनिन्, “संविधानले निर्दिष्ट गरेको मार्गमा सबै हिँड्नुपर्छ, कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनुहुँदैन, संसद्मा एकअर्काको आलोचनाभन्दा पनि विषयवस्तुलाई निष्कर्षमा लैजाने वहस हुनुपर्छ ।” संसदीय प्रक्रिया अत्यन्त औपचारिक रहेको उल्लेख गर्दै सांसद चौधरीले भनिन्, “संसदीय प्रक्रिया हेर्दा कहिलेकाहीँ त उकुसमुकुस नै लाग्छ, तर प्रक्रिया मान्दिन भन्न पाइँदैन ।” देश र जनताको पक्षमा अत्यावश्यक देखिएका कानुन ‘फास्ट ट्रयाक’बाट बने पनि हुन्थ्यो भन्ने आफूलाई लाग्दै आए पनि नेपालमा प्रचलनमा रहेको संसदीय प्रक्रिया झण्झटिलो रहेको उनले अनुभव सुनाइन् । “संसद् औपचारिक थलो त हो, तर कहिलेकाहीँ छिटोछिटो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, सचेतक चौधरीले भनिन् । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने विषय अहिलेको सार्वभौम संसद्को प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा तथा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन्। “अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक ऐन, कानुन निर्माणलाई प्राथमिकता दिनुपर्छ”, सांसद चौधरीले भनिन्, “शान्ति प्रक्रिया, सम्पत्ति शुद्धीकरणलगायत विषयसँग सम्बन्धित विधेयक कुनै दल र नेता विशेषको मात्र होइन, यो सिङ्गो नेपालसँग जोडिएको छ । राष्ट्रको सवाल आउँदा सबै जिम्मेवार भएर हल गर्नुपर्छ ।” विसं २०३५ मङ्सिर १२ गते कैलालीमा जन्मनुभएकी सांसद चौधरी २०५५ सालदेखि माओवादीमा आबद्ध भएकी थिइन् । जनयुद्धका क्रममा उनी २०५६ भदौदेखि २०५७ चैतसम्म जेल परिन् । चौधरी जनमुक्ति सेनाको बटालियन कमिस्नर तथा महिला विभाग प्रमुख रहेकी थियन् । उनी अन्तरिम व्यवस्थापिका सदस्यसमेत रहेकी थिइन् । सांसद चौधरीले लामो समयसम्म संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बन्न नसक्दा प्राप्त राजनीतिक उपलब्धि संस्थागत हुन नसकेको र संविधान नै अप्ठ्यारो अवस्थामा पुग्ने खतरा औँल्याउछिन् । “यो प्रमुख चुनौती नै हो, प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न दलीय स्वार्थभन्दा पनि संविधानअनुसारको कानुन निर्माण गरेर जानुको विकल्प छैन”, उनले भनिन् । कानुन निर्माणका क्रममा विषयवस्तु र प्रक्रियामा लैङ्गिक विभेद हुने गरेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै सांसद चौधरीले महिलाको राजनीतिक सहभागिताको पाटो भने कमजोर रहेको बताइन् । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको व्यवस्था बनाउन अहिले देखिएका कमी–कमजोरी सुधारेर जानुपर्नेमा जोड दिइन्। रासस 

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

१०८० दिन अगाडि

|

२७ कात्तिक २०८०

कुवेर गिरी नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ ।  तिहारमा बज्ने अधिकांश गीत नेपाली फिल्मकै हुने गर्छ । हुन त हरेक वर्ष तिहारलक्षित गीतसंगीत बजारमा नभित्रिने होइन । तर, तिहारमा बढी बज्ने गीतसंगीतमा नेपाली फिल्मका पुराना गीत नै पर्छन् । तिहारमा बढी बज्ने नेपाली फिल्मका यस्ता छन् ५ गीतः ‘तिहारै आयो लौ झिलिमिली’ ‘तिहारै आयो लौ झिलिमिली’ बोलको यो गीत गाउँदेखि सहरसम्म तिहार लाग्नु अगाडिदेखि नै बज्न थाल्छ । यसले मानिसलाई तिहार आएको आभासमेत दिन्छ । तिहारमा यो गीत बज्न थालेको झन्डै तीन दशक भयो । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा रहेको गीतमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । लोचन भट्टराई÷नूतन प्रधानको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री गौरी मल्लको अभिनय देख्न सकिन्छ ।  यो गीतको भिडियो तीन रात लगाएर खिचिएको निर्माण युनिटले बताएको छ । तिहारको माहोल तयार गरेर खिचिएको गीतमा कोरस कलाकारको समेत प्रयोग गरिएको छ । भिडियोका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । ‘अधरमा आज उनकै छ’ तिहारमा धेरै सुनिने गीतमध्ये ‘अधरमा आज उनकै छ’ बोलको गीत पनि हो । रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ ।  फिल्म ‘अन्याय’मा रहेको यो गीतमा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनार लगायतका कलाकारको अभिनय छ ।  गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । फिल्म ‘अन्याय’को निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।  दियो बाली साँझकोः सुपरहिट फिल्म ‘चिनो’को गीत हो दियो बाली साँझको । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यो गीतले हरेक तिहारमा रौनकता थप्ने गर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत यसमा छ ।  लक्ष्मीपूजाको महत्व बताउने यो गीतमा सुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । अभिनयमा स्थापित कलाकार सुनिल थापाले यो फिल्मबाट राते काइँलाको परिचय पाएका थिए । तुलसी घिमिरे निर्देशित फिल्मको गीतमा वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका थिए । ‘निधारमा लर्काएर सप्तरंगी टीका’ ‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीत पनि पहिलेदेखि अहिलेसम्म पनि प्राथमिकतामा पर्दै आएको लोकप्रिय गीत हो । फिल्म ‘विजय पराजय’मा समावेश यो गीतमा भाइटीकाको प्रसङ्गलाई देखाइएको छ ।  अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसी दाजुभाइ र अभिनेत्री रूपा राणा बहिनीको रुपमा यो गीतमा देखिएका छन् । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा स्वर हेम लताले दिएकी छन् । ‘विजय पराजय’ फिल्म राजेन्द्र शलभले निर्देशन गरेका हुन् । ‘हाँसेर बोल बैनी’ फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ ।  राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।  

भाइटीकाको साइत १० :५१ बजे उत्तम 

भाइटीकाको साइत १० :५१ बजे उत्तम 

१०८३ दिन अगाडि

|

२५ कात्तिक २०८०

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज  बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।    भाइटीका कात्तिक २९ गते १० :५१ बजे उत्तम  कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए  । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

१०८८ दिन अगाडि

|

२० कात्तिक २०८०

माया श्रेष्ठ  जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति ११ः ४७ मा गएको भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । साथै, राजधानीका ठूला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम संक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा संक्रामकजन्य रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रुपमा बस्न बाध्य छन् । आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट संक्रमकजन्य रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ । प्रभावित क्षेत्रमा खाना, पानी, किट्जन्य रोग, हावाबाट सर्ने संक्रमणजन्य रोगले सताउन सक्ने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन सुनाउँछन् ।  जाजरकोट, रुकुममा यसअघि देखिएका संक्रमजन्य रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको उनको भनाइ छ ।   भूकम्प प्रभावित क्षेत्रमा संक्रामकजन्य सरुवा रोग फैलिने सम्भावना उच्च रहेकाले सरुवारोगसम्बन्धी स्वास्थ्य संयन्त्र बनाइ काम गर्नु पर्नेमा उनको जोड छ ।    प्रभावित क्षेत्रमा यी रोगले सताउन सक्छ  भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उपचार र गाँस, बास, कपासको तत्काल आवश्यक पर्छ । त्यस समयमा घरबाहिर धेरै मानिस सामूहिक बस्नुपर्ने बाध्यतामा पर्छन् ।   सामूहिक रुपमा बस्दा शुद्ध पानी र खानेकुरामा शुद्धता भएन भने हैजा, झाडापाखला, फूड पोइजनिङ र किटजन्य रोगले समस्या उत्पन्न हुन सक्ने सरुवारोग विषेशज्ञ डा पुनले सुनाए ।   यस अवस्थामा सामूहिक रुपमा बाहिर बस्दा बाहिरै शौच गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा एकजना व्यक्तिलाई हैजा लागेको खण्डमा अन्यमा चाँडै फैलिने सम्भावना हुने उनले बताए । उनले भने, ‘जाजरकोटमा अघिपछि पनि बेला बेलामा हैजा, पखालाको प्रकोप फैलिएको समाचार आउने गरेको छ । अहिले बाध्यतावश धेरैजना घर बाहिर बस्न बाध्य हुनहुुन्छ । यस समयमा ख्याल नगरेमा संक्रामकजन्य रोगले नसताउला भन्न सकिन्न ।’ अन्य किट्जन्य रोग  नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रबटाइफस देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । सामूहिक रुपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको संक्रमणको जोखिम रहन्छ ।  बाहिर बस्दा माइट भन्ने किराले टोक्ने सम्भावना बढी हुने भएकाले मानिस बिरामी पर्न सक्ने डा पुनले बताए ।  ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७६ जिल्लामा डेंगु संक्रमण पुुष्टि भएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम लगायतका स्थानमा डेंगुको संक्रमण न्यून वा हाल शुन्य अवस्थामा पुगेपनि राजधानीदेखि प्रभावित क्षेत्रमा मानिसहरू धमाधम जिल्ला गइरहेकाले संक्रमणको अर्को खतरा हुन सक्ने डा पुनको भनाई छ ।  यस याममा मौसमी फ्लूको संक्रमण देखिएको छ । अर्थात् रुघाखोकी लक्षण भएका बिरामी धमाधम पुष्टि भइरहेका छन् । फ्लू भाइरलले विगतमा जाजरकोटमा प्रकोपको रुप लिएको थियो ।  भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आतव जावत गर्नेको संख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने सम्भावना रहेको डा पुनको जिकिर छ । मौसमी फ्लू मुखको छिटा, सिँगान, कफ र सरसफाईको अभावमा संक्रमण हुने सम्भावना हुन्छ । यस विषम परिस्थितिमा आकस्मिक उपचार, गाँस, बास र कपासलाई जसरी महत्वका साथ लिएका छौँ, सोहीअनुसार स्वास्थ्य तथा सरसफाईलाई पनि प्राथमिकतामा पार्नुको विकल्प नभएको डा पुनको सुझाव छ । भूकम्पको सुरुवाती समयमा आकस्मिक उपचार भएपनि भूकम्पपछि फैलिन सक्ने रोगको प्रकोपलाई ध्यान राख्न उनको जोड छ ।  कसैमा पखाला, ज्वरो लगायतका समस्या देखिएमा आइसोलेट गरी उपचारको व्यवस्था गरेर प्रभावित क्षेत्रमा तत्काल फैलिन नदिने संयन्त्र बनाइ अघि बढेमा संक्रामकजन्य रोग फैलिनबाट जोगिन सकिने उनको भनाइ छ । 

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

१०८९ दिन अगाडि

|

१९ कात्तिक २०८०

                                                                                                                  राष्ट्रपति पुरस्कार ग्रहण गर्दै जित सर । कैलालीको धनगढी नपा–१४, फूलवारी, सी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीलाई हालै एक सहृदयीले सूचनाको लिंक पठाइ दिए । त्यो सूचना थियो, पीपी प्रसाई फाउण्डेशनले यस वर्ष (२०८०) को दसौं राष्ट्रिय पीपी प्रसाई शिक्षक पुरस्कारका लागि सातै प्रदेशका एक एक जना उत्कृष्ट शिक्षकको लागि आह्वान ।  सूचना पुर्याउनेकै करवलले उनले फारम भरे । अन्ततः सुदूरपश्चिम प्रदेशबाट जितबहादुर चौधरी र उनको विद्यालय उत्कृष्ट ठहरियो ।  उनी भन्छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ५० हजार नगदसहित सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शिक्षक भनी पुरस्कृत भएको क्षण मेरो जीवनकै उत्कृष्ट दिन हो ।’  प्राथमिक तह पढ्दादेखि नै उनको बुबाको सपना थियो, उनलाई एक कुशल र असल शिक्षक बनाउनु । आज आएर आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन् । उनको घरको आर्थिक स्थिति कमजोर थियो । किनकि उनको पारिवारिक पृष्ठभूमि कमैया थियो । २०५८ सालमा एसएलसी गरे । त्यसपछि ट्यूशन गर्दै ऐच्छिक नेपाली विषयमा एमएड सकाए ।  पढ्दै पढाउँदै शिक्षक बन्नकै लागि सुरु सुरुमा त बिना तलब शिक्षण गरे । पछि नाम मात्रको ज्यादै न्यून पारिश्रमिक पाए । असल शिक्षक बन्ने धुन सवार भएर भारतको गोरखपुरमा समेत गएर ‘प्राथमिक शिक्षा वर्ग’ भन्ने तालिम लिए । २०७१ साल साउन २४ गते मावि तहको स्थायी शिक्षकमा नाम निस्केको दिन उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइण्ट’ ठान्छन् । उनको दरवन्दी कैलालीको तात्कालीन निगाले गाविसस्थित शिव मावि, तीनतलामा भयो । डोटीको सिमाना पहाडी क्षेत्रको दुर्गममा स्कूल भएकाले एक वर्ष पछि घरपायक सरुवाको लागि प्रयास गरे । तर, सरुवा हुनै ४ वर्ष लाग्यो । अनि फेरियो सर्वाेदय माविको काँचुली २०७५ सालमा घरपायक सर्वाेदय माविमा आएपछि उनलाई स्कूलको अवस्था देख्दा रुन मन लाग्यो ।  एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयको रुपमा चित्रित थियो । त्यसैले, विद्यालय छेउमै घर भएकाले पनि व्यस्त हुलाकी सडक पार गरेर छोराछोरीलाई टाढाको विद्यालयमा भर्ना गर्थे ।  विद्यालयमा धारा थियो, पानी थिएन । शौचालय थियो, प्रयोग गर्न सक्ने अवस्था थिएन ।  अनि त जित सरलाई झोंक चल्यो । भन्छन्, ‘घरबाटै बाल्टिन ल्याएर आफै शौचालय सफा गरें । रङ्रोगन गरी शौचालय चिटिक्क पारें । खानेपानीको व्यवस्था गरें ।’  सुरुमा उनलाई उडाइयो पनि, नयाँ जोगीले धेरै खरानी घस्छ । हेरौं, यो हेडमास्टरले कति दिन विद्यार्थीको गुहु सोहोर्छ ।  जित सरको एक्ली छोरी छिन्, नाम राखेका छन् क्रान्ति । समाजमा क्रान्ति ल्याउन कम्मर कसेका जित सरले पढ्ने उमेर भैसकेकी छोरी क्रान्तिलाई आफू पढाउने स्कूलमै बालकक्षामा भर्ना गरे । अनि आफ्नो कुरा काट्ने सारा अभिभावकको मुखमा बुजो लाइदिए ।  हेडमास्टरले त आफ्नो सन्तान यही पढाउँदै छ भने हामी भने टाढाको स्कूलमा छोराछोरी किन पठाउने ? यो मास्टरले अब पक्कै स्कूल सपार्छ है । अभिभावकको मनमा यस्तो विचार मनमा पसेपछि स्कूल गुल्जार हुँदै गयो ।  सुविधा शून्य भएको विद्यालय आज पक्की भवन, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, बालउद्यान छ । शैक्षिक सामग्रीद्वारा सुसम्पन्न छ । अनि, सरस्वती मावि सुदूरपश्चिम प्रदेशकै पहिलो प्रविधिमैत्री विद्यालयको रुपमा परिचित छ । आधुनिक, शैक्षिक विधि र प्रविधि स्मार्ट बोर्ड प्रोजेक्टर, साउण्ड सिस्टमले सुसज्जित छ ।  जित सर आउनु पहिले मुस्किलले २ सय विद्यार्थी रहेकोमा अहिले विद्यार्थी संख्या ५ सय नाघेको छ । एसईईमा शून्य नतिजा ल्याउने, विद्यार्थीहरू नहुने विद्यालयको रुपमा चित्रित यो विद्यालय आज धनगढी क्षेत्रकै राम्रो विद्यालयको रूपमा गनिएको छ । त्यस्तै, जित सरले वित्तीय ज्ञान तथा बानीको विकास गर्न सर्वोदय विद्यार्थी बैंक स्थापना गरी मासिक रुपमा बचत गर्ने नयाँ संस्कार बसाल्ने जमर्को गरेका छन् ।  एउटा ठुटोसम्म नरहेको विद्यालयमा जित सरको आफ्नै खर्चमा वृक्षारोपण तथा पुष्परोपण कार्यको थालनी गरिएको छ । ‘हाम्रो विद्यालयलाई हामी नमूना बनाउँछौ’ भन्ने अभियानसहित  पढाई स्तरोन्नति संगसंगै हरितमय वातावरण बनाइएको छ ।  श्रमप्रति सम्मान गर्ने बानीको विकास गर्न फुर्सदको समयमा आयआर्जन गर्ने खालको गृहकार्य दिने परम्परा जित सरले बसालेका छन् । जस्तै आफ्नो घरमा आवश्यकताभन्दा बढी भएका फलफूल, सागपात आदि स्थानीय बजारमा बिक्री वितरण गर्न प्रोत्साहित गर्छन् ।  त्यस्तै, विद्यालयको केही जग्गा छुट्याएर त्यसमा मौसमी तरकारी खेती गर्न लगाई विद्यार्थीमा पौरखी भावना विकास गरी तिनीहरूलाई जीवन निर्वाहमुखी बनाउने प्रयत्न गरेका छन् ।  कक्षा ९ का विद्यार्थीलाई पाककलाअन्तर्गत थारू परिकार ढिक्री, चटनी बनाई स्कूलमै टिफिन टायममा बेचबिखन गर्न लगाउँछन् । स्थानीय सीप तथा संस्कृतिको उन्नयन प्रवद्र्धनका लागि विद्यार्थीलाई दुना, टपरी बनाउने प्रशिक्षण दिइएको छ । यसो गर्दा तिनमा अर्थोपार्जन गर्ने सिपको विकाससँगै स्वाबलम्बी भावनाको विकास भएको प्रअ चौधरीको बुझाइ छ ।  कक्षाकोठामा आवश्यक पर्ने डस्टर आदि शैक्षिक सामग्री पनि विद्यार्थीहरूलाई खेर जाने कपडाहरूको प्रयोग गरी बनाएर ल्याउने संस्कारको विकास गरिएको छ । प्रअ चौधरीको विचारमा स्कूलको थोरै रकम जोगिनु पनि समग्रमा विद्यार्थीहरुकै रकम जोगिनु हो । जित सरले विद्यालयको चौर, कक्षाकोठा तथा शौचालयको सरसफाई सँगसँगै समय समयमा स्थानीय मन्दिर, चोक, चौतारीको सरसफाई अभियान चलाएका छन् ।  अहिलेका केटाकेटीको जन्मदिन निकै खर्चिलो हुँदै गएको छ । तर, जित सरले विद्यालयका विद्यार्थीको जन्मदिनको अवसरमा विद्यालयका लागि विद्यार्थीबाट पुस्तकालय निर्माण भनेर विद्यार्थी जन्मोत्सव पुस्तकालय निर्माणलाई अघि बढाएका छन् । प्रअ चौधरी भन्छन्, ‘यहाँका विद्यार्थीहरू जीवनमा जुनसुकै क्षेत्रमा सफल होऊन् । यही उद्धेश्यका साथ नयाँ नयाँ अभ्यासहरूको थालनी गरेको छु ।’                                                                                                                   विद्यालय परिसरमा छोरीसँग जित सर । साहित्यमय विद्यालय प्रअ जितबहादुर चौधरी आफूलाई नेपाली साहित्यको विद्यार्थी मान्छन् । एउटा थारु र अर्को नेपाली भाषामा गरी उनका दुइवटा कविता संग्रह पनि प्रकाशित भएका छन् । उनको साहित्यिक नाम हो, जित ‘ट्रासन’ । थारु भाषामा ‘ट्रासन’को अर्थ हुन्छ, मादलको ताल । हाल थारू लेखक संघ नेपाल, कैलालीको अध्यक्षसमेत रहेका उनी आफ्नो नामजस्तै विद्यालयलाई साहित्य र संगीतमय बनाउनमा लागी परेका छन् ।  भाषा, साहित्य तथा संस्कृतिको उत्थानका लागि विद्यालयमा नियमित साहित्यवाचन कार्यक्रम सञ्चालन गरेका छन् । साहित्यकारहरूको वृत्ति विकास तथा सम्मान गर्न अक्षयकोष निर्माणमा सहयोग गरेका छन् ।  शिक्षण पद्धतिलाई रोचक बनाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्रीको प्रयोग गर्छन् । पावर प्वाइन्टमार्फत् पढाउँछन् । उनी जब कुनै नविन ज्ञान, सिप र अनुभव आर्जन गर्छन्, तब आफ्ना सहकर्मी शिक्षकहरूलाई सोको बारेमा बताउन आतुर हुन्छन् । विभिन्न तालिम लिएर आएका सहकर्मी शिक्षकहरूबाट ज्ञान, सिप र अनुभव शेयर गर्न अनुरोध गर्छन् ।  आफ्नो क्षेत्रमा जानकार शिक्षाविद्, प्रशिक्षक, व्यवस्थापक, साहित्यकार, गाउँका बरघर, लोकसाहित्य लगायतका जानकारहरुको अनुभव सुनाउनका लागि समय समयमा विद्यालयमा अतिथि शिक्षकको रुपमा आमन्त्रण गर्छन् । स्कूल सुधार्न अन्य विद्यालयका प्रअ, शिक्षक तथा विव्यसका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्छन् ।  जित सरबाट अन्य शिक्षकले सिक्नुपर्ने पाठ जित सर विद्यालयको समयभन्दा हरेक दिन कम्तीमा १५ मिनेट अगावै पुग्छन् । पाठयोजना बनाएर मात्रै कक्षाकोठामा छिर्छन् । विद्यालय र विद्यार्थीका लागि अतिरिक्त समय दिएवापत कुनै लाभ लिदैंनन् । सार्वजनिक विदामा समेत स्वेच्छिक रुपमा विद्यालयको समग्र विकासका लागि खटिन्छन् । विद्यालयमा कार्यरत आयाको पारिश्रमिक भत्ता आफ्नै तलब भत्ताबाट बेहोरेका छन् ।  विद्यालय व्यवस्थापन समिति, शिक्षकका छोराछोरीहरूलाई आफ्नै विद्यालयमा पठनपाठन गर्ने गराउने कामको थालनीको सुरुवात जित सरले आफ्नै छोरीबाट गरेका छन् । उनकी छोरी अहिले कक्षा ४ मा पढ्छिन् । उनको चाहना छ, छोरीले यहीबाट एसईई गरोस् । शिक्षक मासिक (कार्तिक अंक) बाट ,