रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

९९५ दिन अगाडि

|

२४ माघ २०८०

यज्ञराज चौधरीले सुनाए दुःखका दिन : कमैया नेता  बने मुख्यमन्त्री, भएन कमैयाको पुनर्स्थापना

यज्ञराज चौधरीले सुनाए दुःखका दिन : कमैया नेता बने मुख्यमन्त्री, भएन कमैयाको पुनर्स्थापना

९९५ दिन अगाडि

|

२४ माघ २०८०

  पश्चिम तराईको थारु बस्तीमा २ दशक अगाडिसम्म हरेक माघ महिनाभरि कमैया र कमलरी बनाउने र बन्ने छिनोफानो हुन्थ्यो । एकातिर माघ पर्वको उल्लास हुन्थ्यो भने अर्कोतिर जमिनदारको घरमा बँधुवा मजदुरको रुपमा काम गर्ने मान्छे (कमैया)को टुङ्गो लगाइन्थ्यो । कमैया, कलमरी, बुक्रहीहरुको मोलमोलाइ पनि हुन्थ्यो । तिनै कुप्रथालाई घुँडा टेकाएर स्वतन्त्रताको बिजारोपण गर्नेमध्येका एक योद्धा हुन् कैलालीको गोदावरी नगरपालिका–५, गेटीका ६५ वर्षीय यज्ञराज चौधरी । कमैया प्रथा तोड्न आफूले लामो संघर्ष गरेको उनी सुनाउँछन् । विगत स्मरण गर्दै उनले भने, ‘माघमा एकातिर पर्वको उल्लास हुन्थ्यो । तर कमैयाको झुपडी माघको चिसोले होइन, पीडाले चिसिन्थ्यो । रुवाबासी चल्थ्यो । पशुसरह किनबेच गरिन्थ्यो । बढी रकम तिर्नेले छानी–छानी खरिद गर्थे ।’ दाङदेखि कञ्चनपुरसम्म कमैया प्रथाले जरो गाडेको थियो । जमिनदारलाई तिर्नुपर्ने सौकी (ऋण)का कारण थारु समुदायका बालबालिका कमलरी, गोठाला बस्थे । जवानीदेखि नमरुन्जेलसम्म कमैया र बुक्रही जीवन जिउँथे । उनीहरुको सौकी तिरेर स्वतन्त्र हुने अभिलाशामै पुस्तौँपुस्ता बित्थ्यो । तर सौकी घट्नुको साटो बर्सेनि बढ्थ्यो । यज्ञराजले भने, ‘हामीले आफैँबाट परिवर्तन सुरु गर्यौं। जमिनदारहरुको शोषण र अत्याचारविरुद्ध आन्दोलन छेड्यौँ । मुक्तिको आवाजलाई बुलन्द गर्यौं । राज्यलाई बाध्य बनायौँ र मुक्त भयौँ ।’ यज्ञराजले भने, ‘हामीले आफैँबाट परिवर्तन सुरु गर्यौं। जमिनदारहरुको शोषण र अत्याचारविरुद्ध आन्दोलन छेड्यौँ । मुक्तिको आवाजलाई बुलन्द गर्यौं । राज्यलाई बाध्य बनायौँ र मुक्त भयौँ ।’ २००४ सालतिर जमिनदारको अत्याचार, शोषण र दमन सहन नसकेपछि यज्ञराजको बुबा र बाजे दाङको पेरहन्नी भन्ने ठाउँबाट बसाइ सरेर कैलाली आए । तर बसाइ सरे पनि उनको परिवार कमैया प्रथाको चङ्गुलबाट मुक्त हुन सकेन । केही वर्ष जमिनदारको घरमा उनको बुबा टीकाराम डंगौरा र आमा धनिया कुमारी डंगौराले बुक्रही बन्नु प¥यो । केही वर्ष कमैया बनेको पारिश्रमिकले उनको बुबाले केही खेत जोडे । खेतीपाती गर्न थाले । तर १४÷१५ वर्षका यज्ञराज भने पारिवारिक ऋण चुक्ता गर्न जमिनदारको घरमा छेग्रहुवा (गोठालो) बने । ‘खडेरी परेको थियो । परिवारको खर्च जोहो गर्न बुबाले स्थानीय जमिनदार नवराज पन्तबाट ६ हजार ऋण लिनु भयो । त्यही ऋण तिर्न वार्षिक ६ सय रुपैयाँ तलबमा मैले गोठालो बस्नु पर्यो,’ बाल्यकाल स्मरण गर्दै उनले भने । गोठालो बसे पनि उनले घरको सबथोक काम गर्नुपर्थ्यो । तर जमिनदारका छोराहरुसँग केही पढाइका कुरा सिक्न पाउँदा उनी यतिसम्म सहेरै बसेको बताउँछन् । ‘बहुत अप्ठ्यारो थियो । आन्दोलनले गति लिन सकिरहेको थिएन । उता जमिनदारहरुले ज्यान मार्नेसम्मको धम्की दिन थाले । १९ कमैया र म लगायत केही अभियानकर्मीको त्यो आन्दोलन जीवन मरणको सवाल भयो’, यज्ञराज भन्छन् । २४० रुपैयाँ दण्ड बन्यो विद्रोहको बिउ एक दिनको कुरा हो, गोरु चराउँदै गर्दा उनको गोरु जङ्गलबाट निस्केर अर्का जमिनदार तथा पूर्व वनमन्त्री शिवराज पन्तको खेतमा पुगे । नोक्सानी केही नभए पनि जमिनदारका कमैयाहरुले उनको गोरु नियन्त्रणमा लिए । ७ वटा चौपाया चराउँदै आएका उनी प्रति चौपाया २० रुपैयाँका दरले १ सय ४० रुपैयाँ जरिवानामा परे । अर्को दिन पुनः ५ गोरुले खेतमै टेकेकै कारण उनी १ सय रुपैयाँ जरिवानामा परे । उनको हारगुहार न शिवराज पन्तले सुने, न त आफ्नै मालिक नवराज पन्तले । जरिवाना तिर्न अनुरोध गर्दा आफ्नै मालिकबाट निकै खप्की खाएको याद आज पनि यज्ञराजको दिमागमा ताजै छ । ‘गोरुको हेरचाह गर्न तँलाई राखेको छु । न कि पैसा तिर्नलाई’, मालिकले भनेको शब्द उनले स्मरण गरे । जरिवाना बापतको २ सय ४० रुपैयाँ उनको मालिकले तिर्न त तिरे । तर त्यो रुपैयाँ उनको पुरानो ऋणमै थपियो । त्यसपछि यज्ञराज माघ कुर्न थाले । गाउँकै बरघर जगतराम चौधरी जमानीमा बसेपछि गोठालोबाट मुक्त भएको र अन्य काम गरेर जमिनदारलाई ऋण चुक्ता गरेको उनी बताउँछन् । गोदावरी नगरपालिका–१, चैतन्यपुरका जमिनदार शिवराज पन्तको १ सय बिघा बढी जमिन थियो । उनको घरमा २०५४ पूर्व १९ घर कमैया परिवारका १ सय ४४ जना कोही कमलरी, कोही बुक्रही त कोही कमैया बसेका थिए । पूर्व वनमन्त्री समेत रहेका जमिनदार शिवराजले प्रति कमैयाको वर्षिक ज्याला ७ बोरा धान दिने गरेको यज्ञराज बताउँछन् । जमिनदारको घरमा कमाउन छोडेका यज्ञराजले केही आयआर्जनको कामसँगै पढाइ गर्दै आएका थिए । २०३३ सालमै एसएलसी गरेका उनको दिमागमा एउटा विचारले सदा जरो गाडेर बसेको थियो । ‘बिना नोक्सानी जरिवाना तिर्नुपरेको पीडा र जमिनदार शिवराजको हुकुमी जञ्जिरबाट १९ घर परिवारलाई कसरी मुक्त गराउने भन्ने विचार मेरो मनमा खेलिरहन्थ्यो । र अभियानमा जुट्न थालेँ’, उनले भने । उता, दाङमा ब्याक वार्ड सोसाइटी एजुकेसन (बेस)ले कमैया मुक्तिबारे सचेतना कार्यक्रम सुरु गरेको थियो । २०५२ सालमै बेसकै सक्रियतामै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमैयाहरुको प्रारम्भिक तथ्याङ्क लिइएको थियो । जसअनुसार ५ जिल्लामा ३६ हजार ५६० जना कमैया भेटिएको यज्ञराज सुनाउँछन् । सँगै कमैयाहरुको ऋण मिनाहा गरी कमैयाहरुलाई छुटकारा दिने जमिनदारहरुलाई सम्मान गर्ने गरी बेसले अभियान चलाएको यज्ञराज भन्छन् । छापामार शैलीमा प्रशिक्षण बेसमा आवद्ध भएर उनले कैलालीमा पनि सो अभियान सञ्चालन गरेका थिए । गेटीकै अर्का जमिनदार सिद्धराज पन्तलाई सम्मान गरी उनका कमैया बोटे चौधरीलाई मुक्त गराएको यज्ञराज चौधरी बताउँछन् । तर शिवराज पन्तलगायतका जमिनदारको अगाडि सो अभियान विफल भयो । तथापि यज्ञराजको नजर ती १९ जना कमैयामै कायम रह्यो । ‘विभिन्न गैरसरकारी संस्थाहरुले कमैया कन्सल्ट ग्रुप (केसीजी) गठन गरी सचेतनाका विभिन्न कार्यक्रम गर्न थाले । मेरो ध्यान भने उनै कमैयामा थियो । पछि ईकारस् संस्थाको सहयोगमा त्यही कमैया बस्तीमा प्रौढ शिक्षा सञ्चालन गरियो । २ वर्ष सहजकर्ता राखेर दिउँसो पढायौँ । म भने रातको समयमा कमैयाहरुलाई मुक्तिबारे प्रशिक्षण दिन्थेँ । कमैयाहरु धान, गहुँ काट्ने समयमा उनीहरुले खाना खाने बेला पारेर खेतमै गएर र खाली भएको समय प्रशिक्षण दिन्थेँ’, यज्ञराज भन्छन् । सट्टापट्टा विवाहलाई बनाए मुक्तिको हतियार शिवराज र उनका कमैयाहरुको मन जित्न रणनीतिक योजनासमेत यज्ञराजले बनाउँथे । कमैयाहरुका अगुवाको छोरासँग आफ्नो मामाको छोरीलाई र मामाको छोरासँग कमैयाको छोरीसँग सट्टापट्टा विवाह गरेर नातेदार कायम भएपछि कमैया र जमिनदारसँग नजिक भएको उनी बताउँछन् । २०५६ पुस २९ गते तत्कालीन सरकारले कृषि मजदुरहरुका लागि दैनिक ८ घण्टा काम बराबर ६० रुपैयाँ ज्याला तोकेको थियो । त्यो सरकारी निर्णय नै आफ्नो लागि बलियो अस्त्र बनेको उनको भनाइ छ । ‘माघ आएपछि एक जना कमैया परिवार (बुढाबुढी) को दैनिक ज्याला १ सय २० रुपैयाँ हुन्छ । १ सय २० रुपैयाँका दरले ज्याला नदिए कमैया बस्दैनौँ भन्न लगाएँ’, यज्ञराजले भने, ‘तर ज्याला पनि नबढाउने, कमैया पनि नराख्ने जमिनदारले जवाफ फर्काए । त्यही जमिनदारकै घरमा कोही कमैया एकदेखि दुई पुस्तासम्म बिताइसकेका थिए । जमिनदारले हिसाब किताब सुनाउँदा कमैयाले जमिनदारलाई ८० हजार रुपैयाँ सौकी (ऋण) र ६५ हजार बोरा खौरही (वर्ष नपुग्दै धानलगायत लिइएको खाद्यन्न) तिर्नुपर्ने देखियो ।’ पैसा तिर्न नसकेपछि त्यहाँका कमैयाहरु एक वर्षसम्म कमैया बस्नु परेको उनी सुनाउँछन् । १९ कमैयाको त्यो विद्रोह विभिन्न संघ–संस्थाको पहलमा २०५६ चैतमा परेको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने तयारी गरिएको थियो । कार्यक्रममा कमैया मुक्तिलाई नै प्राथमिकतामा राखिएको थियो । चैत १८ गते आफ्नै नेतृत्वमा गेटीको जङ्गलमा १९ कमैया र केही स्थानीयको सहभागितामा भेला गरेको यज्ञराज बताउँछन् । पछि सो भेलालाई जुलुसमा परिणत गर्दै ‘सौकी ऋण खारेज गर, कमैयालाई मुक्त गर’ नारा लगाउँदै तत्कालीन गेटा गाविसमा ज्याला सम्बन्धी निवेदन दर्ता गर्न खोजेको तर गाविस कार्यालयले दर्ता गर्न नमान्दा घेराउसमेत गरेको अनुभव यज्ञराजले सुनाउँछन् । गाविस कार्यालय घेराउ गर्दासम्म कमैया मुक्ति आन्दोलनले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमको ध्यान तानिसकेको थियो । कमैया मुद्दा राष्ट्रियकरण भइसकेको थियो । लगत्तै गाविस अध्यक्ष सन्तबहादुर कार्कीको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरियो । तर सो समितिले गति लिन नसक्दा कमैयाहरु अप्ठ्यारोमा परे । त्यस ताका आन्दोलन अगाडि बढाउन डिल्ली बहादुर चौधरीलाई परिचालन समिति संयोजक बनाइएको र आफू जिल्ला व्यवस्थापक भएर भूमिका निर्वाह गरेका उनी बताउँछन् । यज्ञराजले भने, ‘पछि जे होला–होला भनेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुग्यौँ । तत्कालीन प्रमुख जिल्ला अधिकारी ताना गौतमले हाम्रो ज्ञापनपत्र समेत बुझ्न इन्कार गरे । त्यसपछि हामीले धर्ना सुरु ग¥यौँ । बर्खा पनि सुरु भइसकेको थियो । हामी लगातार १४ दिन धर्नामा बस्यौँ । यहाँसँगै राजधानी काठमाडौँमा पनि आन्दोलन गर्न गयौँ ।’ कमैया आन्दोलन उत्कर्षमा पुगेपछि जमिनदारले १९ घरपरिवारका कमैयापरिवारलाई घरबाट निकाला गरे । उनीहरु घरबारविहीन भए । जमिनदारले बस्न नदिएपछि कमैयाहरु आफ्ना बालबालिका, सरसामान बोकेर आफ्नो घरमा शरण लिन आएको यज्ञराज सम्झिन्छन् । आफूले सबैको व्यवस्थापन गरेको उनको भनाइ छ । त्यसताका आफू स्थानीय सामुदायिक वन समूहको सचिव समेत रहेको बताउँदै उनले भने, ‘जमिनदारहरुले यज्ञराज नै तिमीहरु (कमैया)को नेता हो । उसैको घरमा जाऊ । उसैले खाना दिन्छ भनेर पठाएपछि कमैयाहरु मेरो घरमा आए । पछि मैले समूहमार्फत केही काम र खानाको बन्दोबस्त गरेँ ।’ तत्कालीन सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा ग¥यो । कमैयाहरु जमिनदारको जञ्जिरबाट मुक्त भए । तर उनीहरुलाई तत्कालै पुनर्स्थापनासहित गाँस, बास, कपासको समस्या भयो । फेरि पुनर्स्थापनाका लागि आन्दोलन गरेको अनुभव उनी सुनाउँछन् । कमैया नेता मुख्यमन्त्री बने, कमैयाको पुनर्स्थापना भएन कमैया मुक्ति भएको २३ वर्षभन्दा बढी भयो । हजारौँ मुक्तकमैया अझै पुनर्स्थापना हुन सकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आव २०७५÷२०७६ मा मुक्त कमैया, हलिया र कमलरीहरूको व्यवस्थापनकै लागि स्थापित जिल्ला भूमि सुधार कार्यालयहरू हटाएर मालपोत कार्यालयमा गाभ्दै व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेपछि स्पष्ट कानुन नहुँदा हालसम्म व्यवस्थापन हुन नसकेको हो । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्रै ३३ सयभन्दा बढी मुक्त कमैया, कमलरी पुनर्स्थापना हुन बाँकी छन् । तर त्यसताका कमैया आन्दोलन परिचालन समिति संयोजक बनेका कमैया नेता डिल्ली बहादुर चौधरी हाल लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री बनेका छन् । डिल्ली बहादुर चौधरीमात्रै होइन, कयौँ पूर्वकमैया र तिनका सन्तान सांसद मन्त्री, उपसभामुखसम्मको उच्च ओहोदामा पुगेका छन् । तर सँगै आन्दोलन हाँकेका र आन्दोलन गर्ने पूर्व कमैयाहरु झुपडीमै छन् । उनीहरुको बसोबासको अझै कुनै ठेगान छैन । तर कमैया आन्दोलनका शीर्ष नेता मुख्यमन्त्री बन्दा पनि कमैयाको उत्थानका लागि काम नगरेको देख्दा मन दुखेको यज्ञराज सुनाउँछन् । अस्ति भर्खरै मुख्यमन्त्री चौधरीसँग भेट भएको सुनाउँदै उनले भने, ‘मैले उहाँलाई सुदूरपश्चिममा नगरे पनि तपाई आफ्नो प्रदेशका कमैयाको पुनर्स्थापना र वृत्ति विकासको लागि केही गर्नोस् भनेँ । तर उहाँले बाहिर भनेजस्तो कुर्सीमा बसेर काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँको भनाइबाट हामी के आश गर्ने ? चिन्ता लाग्छ कमैयाहरुको ।’

देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

९९७ दिन अगाडि

|

२२ माघ २०८०

देशभरिका थारु साहित्यकार, बुद्धिजीवीहरु सुनसरीमा भेला हुने भएका छन् । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु साहित्यकार, बुद्धिजीवीहरु भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो। सम्मेलनमा थारु साहित्यकारबाहेक देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको संघीय सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा एक हजारदेखि १५ सयसम्म थारू समुदायको सहभागिता रहने तयारी आयोजक समितिका उपाध्यक्ष राजेश सरदारले वताए । सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा थारु महिला सशक्तिकरणको अभियन्तालाई सम्मान गर्ने कार्यक्रम छ । सम्मेलनमा थारू भाषाको मानकता, थारू समुदायको इतिहास, धर्म र संस्कृति, थारु साहित्यमा अनुवाद कार्य, सुनसरी, मोरङको थारु साहित्यको अवस्था, थारु सामूहिक भवनको औचित्य, थारूकेन्द्रित विकासका लागि जनप्रतिनिधिको बहस लगायतबारे  विज्ञसँग प्यानल छलफल हुने जनाइएको छ । माघ २५ गते बेलुका जिल्ला बाहिरका अतिथिहरुलाई स्वागत, २६ गते समुदघाटन र छलफल संचालन र २७ गते विभिन्न विधामा प्रस्तुत भएको विषय बस्तुमा छलफल गरी समापन तथा स्थानीय गाउँघर अवलोकन गराइने कार्यक्रम रहेको छ । सम्पूर्ण थारु समुदायलाई सम्मेलनमा उपस्थित भइ दिनका साथै आर्थिक सहयोग गरेर सम्मेलन सफल बनाई दिन आयोजकले आग्रह गरेका छन् ।  

कैलालीमा  आठजना थारू महिला चुनिए  गाउँको बरघर

कैलालीमा आठजना थारू महिला चुनिए गाउँको बरघर

१००० दिन अगाडि

|

१९ माघ २०८०

                                                                                                                                                                         तस्विरः अविनाश दहित अविनाश दहित कैलालीमा यस वर्ष हालसम्म आठ जना थारु महिला गाउँको बरघर अर्थात् भलमन्सा चुनिएका छन् । गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो । बरघर प्रथा थारु समुदायमा सदियोंदेखि प्रचलनमा छ । माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ । यसअघि, बरघर भएर पुरुषले मात्र काम गर्ने गरेका थिए ।  घोडाघोडी नगरपालिका –१२ कोटा गाउँमा इन्द्रा चौधरी, धनगढी उपमहानगरपालिका –१५ कनरी गाउँमा पहिलो पटक असरानी चौधरीले बरघरको जिम्मेवारी पाउनुभएको छ । यसअघि भएका भूरा खेल वा खोज्नीबोज्नीबाट दुवै गाउँमा पुरुषलाई नै बरघर छान्ने गरिन्थ्यो । दुवै गाउँमा पहिलो पटक महिलाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् ।  यसैगरी, कैलारी गाउँपालिका –४ मा पाँच जना महिलाले यसवर्ष बरघरको जिम्मेवारी पाएका छन् । सो वडामा गणेशकुमारी चौधरी, शिवकुमारी चौधरी, गौरी चौधरी, विनिता चौधरी र उजलीदेवी कामी बरघर बनेका छन् । धनगढी उपमहानगरपालिका –११ बासखेराका गाउँवासीले गीता चौधरीलाई यस वर्ष पनि बरघरको रुपमा निरन्तरता दिएका छन् । स्थानीय स्तरमा महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको यसअघि पनि बरघरको रुपमा काम गरिसक्नुभएकी कैलारी गाउँपालिका –४ कान्छीटोलकी बरघर गौरी चौधरीले बताउनुभयो ।  बरघरले गाउँघरमा विकास निर्माण, कुलापानीको जनश्रमदानको कामदेखि भोजभतेरमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसैगरी, गाउँघरमा भएको सामान्य झैझगडा मिलाउने काम पनि गर्दैआएका छन् । 

लमही नपाको महटावाँ÷बरघर ऐनबारे छलफल

लमही नपाको महटावाँ÷बरघर ऐनबारे छलफल

१०१० दिन अगाडि

|

९ माघ २०८०

दाङदेउखुरीको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐनबारे सोमबार छलफल भएको छ ।  थारु आयोगको आयोजनामा थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समितिको हल लमहीमा भएको कार्यक्रममा अधिवक्ता हल्लुप्रसाद चौधरीले ऐनबारे सहजीकरण गरेका थिए ।  कार्यक्रममा सहभागी लमही नगरअन्तर्गतका बरघरहरुले देउखुरी उपत्यकामा बरघरलाई ककनडार, अगह्वा भनिने हुँदा ऐनको नाममा पनि त्यही मौलिक शब्द राख्नुपर्ने जिकिर गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आउने साता बस्ने नगर परिषद्को बैठकबाट महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन पारित गरिने आश्वासन दिए । उनले पालिकाले थारु भाषामै पाठ्यक्रम बनाउने योजनामा रहेको पनि जानकारी दिए । सो अवसरमा बरघर प्रणालीबारे अनुसन्धानरत डा कृष्णराज सर्वहारीले सबैभन्दा पहिले बर्दियाको बारबर्दिया नगरपालिकाले बरघर ऐन पारित गरी राजपत्रमा समेत प्रकाशित गरिसकेकोको अवस्थामा अझै कार्यान्वयन हुन नसकेको बताए । उनले बरघर ऐन कार्यान्वयनको जटिलता फुकाउन पहिले ऐन पारित गरिसकेका पालिकाहरुसँग सहकार्य, समन्वय गरिनुपर्ने धारणा राखे ।  थारु आयोगका सदस्य सुबोधसिंह थारुले थारु समुदायको प्रथाजनित कानुन बरघर प्रणालीको संरक्षण गरिनुपर्ने बताए । उनले आयोगबाट आगामी वर्ष थारु युवावर्गलाई लक्षित गरी लमहीमा लोकसेवा आयोगको तयारी कक्षाका लागि पहल गर्ने बताए ।  थाकस देउखुरी क्षेत्रीय सचिव बालगोविन्द चौधरीले सञ्चालन गरेको कार्यक्रममा लमही नगरका ३ दर्जन बरघरहरुको सहभागिता थियो ।   

रहेनन् गायक योगेश वैद्य

रहेनन् गायक योगेश वैद्य

१०१३ दिन अगाडि

|

५ माघ २०८०

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो । ७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् ।  ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उनका थुप्रै गीत लोकप्रिय छन् l वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् । उनले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए। १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए।  करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका एक छोरा र दुई छोरी छन्। गायक तथा सङ्गीतकार योगेश वैद्यको शव शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा परिवार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । शवलाई उनका छोरा लोकस नन्दन वैद्यले दागबत्ती दिए । पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको शवलाई नेपाल सङ्गीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । सोही क्रममा विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

१०१४ दिन अगाडि

|

४ माघ २०८०

प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।  “अहिलेसम्म अधिकांश थारुको आफ्नो जमिन छैन, तिनको पनि आफ्नो जमिन, घर भए कति राम्रो हुन्थ्यो होला”, नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद चौधरीले सुनाइन्, “सम्झिँदा पनि आँसु आउँछ, सरकारले कमलरी प्रथा र मुक्तकमैया घोषणा गरे पनि कार्यान्वयन भएको छैन ।” कमलरी प्रथा अन्त्यका लागि भएको आन्दोलनमा दूधे बालक बोकेर धेरै पटक धाउँदा पनि  आजसम्म तिनका पक्षमा नतिजा नआउँदा उनलाई नमज्जा लाग्छ । उनको बाल्यकाल तथा जीवनको पढ्ने–लेख्ने–खेल्ने समय जमिनदारका घरमा काम गरेरै बित्यो । “म कमलरी भएर रहँदाको पीडा कसरी व्यक्त गरूँ, सम्झिँदा पनि मुटु फुट्लाजस्तो भएर आउँछ”,  नेत्री चौधरीले भनिन्, “अहिले पनि दाजुभाइ कमैया भएरै बसेका छन्, दिदीबहिनी कमलरी नै भएर बसेका छन्, दाङमा मात्र नभई देशभरका झन्डै ९५ प्रतिशत चौधरी कमैया–कमलरी भएरै बाँच्नुपर्ने अवस्था छ ।” सरकारले २०५७ साउन २ गते मुक्तकमैया घोषणा गरे पनि उनीहरूको अवस्थामा देखिने गरी परिवर्तन आउन सकेको छैन ।       लुम्बिनी प्रदेश, दाङ जिल्लामा २०२२ साल वैशाख १७ गते जन्मिएकी चौधरीका श्रीमान् पनि मुक्तकमैया हुन् तर उनीहरूको आफ्नो जग्गा छैन । “हाम्रो नाममा एक धुर पनि जमिन छैन, जमिनदारले बाजेकै पालामा २०१७ सालमा लालपुर्जा खोसेर लगेकामा  अहिलेसम्म फिर्ता आएको छैन”, उनले भनिन्,  “मुद्दा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ, न्याय पाउने आशामा छौँ, खै कहिले हाम्रो जमिनको कागजपत्र हाम्रो हातमा पर्छ, कुरिरहेका छौँ ।”      उनलाई पुर्खाकै पालामा गुमेको जमिन  फिर्ता आउने आशा भने छ । “जमिनदारले कागजपत्र खोसेर लगे,   हामीसँग अहिले कागज नभए पनि  त्यही घरमा बस्छौँ”, सांसद चौधरीले थपिन्, “आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि ।” दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई थारुका मुहारमा खुसी देख्न मन छ । “सांसद भएर मैले के गरेँ, आफैँलाई कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ, तर जुन अवस्थाबाट माथि उठेर आएँ, म असाध्यै हर्षित छु”, उनले हँसिलो मुद्रामा भनिन्, “जनता खुसी रहुन्, सबैले पढ्न पाऊन्, मुलुकको विकास होस्, थारुको पनि जमिन होस्, तिनका मुहारमा हाँसो छाओस् ।” नेत्री चौधरीलाई आफूले पढ्न नपाएकामा पीडा महसुस हुन्छ । उनी कमलरी हुँदा विद्यालय जान पाइनन्। “मैले पढ्न पाइन, गाउँमा मेरा ससुराले रात्रि स्कुल खोज्नुभएको थियो, पाँच कक्षासम्म त्यहीँ पढ्न पाएँ”, नेत्री चौधरीले थपिन्, “म सानैदेखि तत्कालीन कम्युनिस्ट पार्टीमा लागेँ, पछि एमालेले मलाई विश्वास गरेर यो अवसर दियो ।” रात्रि विद्यालयमा पढ्दादेखि  पञ्चायतविरुद्ध गीत गाएको सम्झँदा उनको मुटु अहिले पनि फुलेर आउँछ ।  पार्टीका टोल, गाउँ र  नगर कमिटीमा सङ्गठित हुँदै हाल अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य चौधरीलाई जीवनमा कल्पना नगरेको अवसर मिलेको अनुभव भए पनि  आफू २०३६ सालदेखि आबद्ध राजनीतिक दल माले हाल एमाले प्रतिपक्षमा हुँदा सोचेअनुरूप काम गर्न नसकेको खिन्नता छ  । “सांसद भएको एक वर्ष पूरा भइसक्यो तर एक वर्षमा जम्मा एउटा कानुन बन्यो, संविधानअनुकूलका कानुन बनाउनुपर्ने त धेरै छ तर सरकारले आवश्यक कानुन ल्याएन”, सांसद चौधरीले भनिन्, “प्रतिपक्षले त कानुन बनाउनुपर्छ भनेर भनिरहेको छ, हाम्रो आवाजलाई सरकारले सुनुवाइ गरेजस्तो लाग्दैन, यस विषयमा त सत्ता पक्षले बढी ध्यान दिनुपर्ने हुन्छ ।” समानुपातिक सांसद चौधरीलाई आफ्ना दङ्गालीका काम केही पनि गर्न नसकेको महसुस हुन्छ । “सांसद त भएँ, कतिले तैले के गरिस् त भन्छन्”, उनले भनिन्, “जनप्रतिनिधि भएपछि जनताको दुःख हेर्नुपर्ने हुन्छ तर केही गर्न सकेको छैन, विकासका काम गर्नुपर्ने धेरै आवश्यकता छ, एक पैसा बजेट परेको छैन, खानेपानी, पुल, स्कुल, स्वास्थका क्षेत्र कहीँ पनि पैसा परेको छैन, सम्झेर दुःख लाग्छ ।” नेत्री चौधरीलाई मुक्तकमैया–कमलरीले अहिले पनि पढ्न नपाएकामा पीडा हुन्छ । “म असाध्यै कठिन परिस्थितिबाट गुज्रिएर आएको हुँ, हाम्रो कुरा सुन्ने कोही थिएन, अहिले पनि थारुको पीडामा सुनुवाइ हुन सकेको छैन”, उनले भनिन्, “तिनको समस्या अहिले पनि ज्यूँका त्यूँ छ, कोही यसबारे बोल्दैनन्, थारुहरू जमिनविहीन अवस्थामा छन्, तिनले कहिले जमिन पाउलान्, कहिले सुखी होलान् ?” प्रतिनिधिसभा सदस्य चौधरीलाई थारुको जीवनस्तरमा सुधार ल्याउन मन छ, ती आफ्नै खुट्टामा उभिएको हेर्न मन छ ।  विकास निर्माणमा पनि अगुवा हुनाका साथै सामाजिक र राजनीतिक सङ्गठनमा रही लामो समयदेखि महिला अधिकारका बारेमा बहस–पैरवी गर्दै आउनुभएका सांसद चौधरीलाई देशमा रोजगारी नहुँदा र युवापुस्ता पलायन भएकामा पनि नरमाइलो लाग्छ । “देशका गाउँ ठाउँमा काम गर्ने वातावरण भएको भए आज युवाले यहीँ काम गर्न पाउने थिए” उनले भनिन्, “राज्यले देशमा उद्योगधन्दा खोलेर काम दिए त तिनलाई विदेश जानुपर्ने नै थिएन ।”