थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

७०७ दिन अगाडि

|

५ मंसिर २०८१

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

७०८ दिन अगाडि

|

५ मंसिर २०८१

रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते भएको थारू कल्याणकारिणी सभाको २३औं  केन्द्रीय महाधिवेशनबाट प्रेमीलाल चौधरी थाकसको अध्यक्षमा चयन भएका छन् । उता, अध्यक्षकै अर्का आकांक्षी मिनराज चौधरीलाई महामन्त्रीमा चित्त बुझाउनु परेको छ । अध्यक्षकै अर्का आकांक्षी देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत गराइए पनि महिला उपाध्यक्षमा रुक्मिणी चौधरी नअटाए आफू कुनै पदमा नबस्ने भनेर उनी बाहिरिएका छन् । नभए ६ जना उपाध्यक्षमा एउटाको टुंगो लाग्ने थियो ।  यसरी उपाध्यक्ष, सहमहामन्त्री पनि टुंग्याउन बाँकी नै छ । २ महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी टुंग्याइए पनि रुक्मिणी चौधरीको नाम इन्ट्री भएपछि यो पदको पनि निर्णय हुन सकेन । उपाध्यक्षको ६ जनाको कोटामा उम्मेदवार नै १३ जना रहेको बताइएको छ ।  स्मरण रहोस्, यसअघि प्रेमीलाल महामन्त्री, मिनराज सहमहामन्त्री तथा देवी उपाध्यक्ष थिए । चूर्णबहादुर चौधरी कोषाध्यक्षमा दोहरिने सम्भावना छ । तर, चितवनका राजेन्द्र चौधरीले सोही पदमा दावी गरेकाले मिलाउन बाँकी नै छ । पहिलो बैठकले यी सबै पद टुंग्याउने भएको छ । अपवादको रुपमा एकाध जिल्लाबाहेक सबैजसो जिल्लाका केन्द्रीय सदस्य निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक सूचना जारी गरेको छैन ।  मंसिर ३ गते नेताहरु विजयकुमार गच्छदार, नरेन्द्रकुमार चौधरी, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, गोविन्द चौधरी, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरी, जनकराज चौधरी लगायतको उपस्थितिमा भैरहवाको एशियन बुद्ध होटलमा अध्यक्षको आकांक्षी सबैलाई नेताहरुले प्रस्ताव गरेको पद मान्ने अबेर राती शर्तनामा गराएका थिए ।  नेताहरुको निकै हस्तक्षेप भयो भनेर केन्द्रीय पार्षदहरु रुष्ट छन् । उनीहरुले नारावाजी पनि गरेका थिए । मंसिर ३ गते सम्पन्न भइसक्ने अधिवेशन एकदिन लम्बिएर पनि पूर्ण पदाधिकारी चयन गर्न असफल रह्यो ।  थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन मंसिर १ गते शनिवार भएको थियो  । यसअघिको अधिवेशन समुद्घाटन प्रधानमन्त्रीले गर्ने परम्परा बसालिए पनि कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । पूर्वमन्त्री भगवती चौधरीले आयोजकबाट अतिथिका लागि कुनै सरसल्लाह नगरिएको, यदि गरेको भए प्रम केपी ओलीलाई ल्याउन सकिने अवस्था रहेको थियो भन्ने जानकारी ढकियाखबरलाई दिइन् ।  समुद्घाटनमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले भनेका थिए, ‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’ तर यस अधिवेशनमा पनि थारु एक ढिक्का भएको सन्देश प्रवाह हुन सकेन ।  थाकसको कार्यसमितिले पूर्णता पाएपछि यसको भावी दिशा कस्तो हुने तय हुनेछ । यद्यपि हालका अध्यक्ष प्रेमीलाल चौधरी तथा महामन्त्री मिनराज चौधरीबीच अघिल्लो कार्यकालमा सैद्धान्तिक विषयमा ‘टसल’ रहेको थियो । जसले गर्दा बीचमा सहमहामन्त्रीलाई सचिवालय बैठकमा समेत बोलाउन छाडिएको थियो । यस्तो परिस्थितिमा थाकसको आगामी यात्रा पनि यसलाई जीवन्तता दिन कठिन हुने देखिन्छ । एक पार्षद भन्छन्, धनिराम चौधरीले २ अवधि कार्यकालको १० वर्ष आफू अद्र्धभूमिगत भएर थाकसलाई अन्ध्यारोको गर्तमा ढकेले । अबको कार्यसमितिले पनि अन्ध्यारोलाई चिर्न सक्नेमा सन्देह देखिन्छ । 

थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

७११ दिन अगाडि

|

२ मंसिर २०८१

थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन रुपन्देहीको भैरहवामा मंसिर १ गते शनिवार सम्पन्न भएको छ ।  कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे । उनले कार्यक्रममा थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति आफ्नो लागि पनि पीडादायी रहेको बताए । उनले अगाडि भने,‘थारुलगायत आदिवासी जनजातिहरु विरुद्ध हुने विभेद, असमानताको विपक्षमा छ यो सरकार । सबैलाई समान हैसियत दिने पक्षमा छ । थारु समुदाय आफै निर्णय प्रक्रियामा सहभागी हुन चाहन्छौं भन्ने मागको म सम्मान गर्दछु ।’ अर्थमन्त्री पौडेलले अर्को प्रसंगमा नेपालको स्वाधिनताको निम्ति थारु समुदायको धेरै ठूलो योगदान रहेको र त्यो इतिहासको स्वर्ण अक्षरमा लेखिने’ अभिव्यक्ति पनि दिए । त्यसअघि थाकसका महामन्त्री प्रेमीलाल चौधरीले स्वागत मन्तव्य दिदै थाकसको २३औं महाधिवेशनमा टीकापुर घटनाका कारण यसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति दुःखद रहेको बताएका थिए । थारुप्रति विभेद कायमै रहेको भन्दै उनले के थारुले पहिचान माग्नै नहुने हो ? भन्ने प्रश्न गरे । थाकसका सहमहामन्त्री मिनराज चौधरीले अध्यक्ष धनिराम चौधरीको मन्तव्य वाचन गरेर सुनाएका थिए । स्मरण रहोस्, कार्यक्रमको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा पनि अध्यक्ष धनिराम चौधरी अनुपस्थित थिए । काठमाडौं फर्किनुपर्ने हतारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल स्वागत मन्तव्यपछि कसैको कुरै नसुनी आफ्नो मात्रै अभिव्यक्ति राखेर हिँडेका थिए । उनी पछि मन्तव्यका लागि उभिएका नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले आफ्नो कुरा एक मिनेट भए पनि सुनेर जान आग्रह गरेका थिए ।  सहमहामन्त्री चौधरीले भने,‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’  आसन ग्रहणमै अधिकांश समय गएपछि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आफ्नो मन्तव्यको सुरुमै समयको ख्याल राख्न आयोजकहरुलाई अनुरोध गरेका थिए । उनले यही मञ्चमा रेशम चौधरी देखिनु अनि धनिराम चौधरी हराउनुपर्ने अवस्थाले देशमा कानुनी शासन छ भन्ने थारुलाई अनुभूति नभएको बताए । कार्यक्रममा मर्यादाक्रम नमिलेको भनेर आदिवासी जनजाति आयोग तथा थारु आयोगका माननीय सदस्यहरु मञ्चमा आसन ग्रहण गर्न गएनन् ।  पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रसेका नेता विजयकुमार गच्छदारले थारुका कुरा सरकारसमक्ष अरुले लगिदेला भनेर आशा गर्नुभन्दा आफ्नो कुरा आफैले बुलन्द गर्नुपर्ने बताए । पूर्वमन्त्री तथा एमाले नेत ृभगवती चौधरीले थारुहरुको शक्ति दिनप्रतिदिन क्षिण हुँदै गएकाले यसबारे गहन छलफल आवश्यक रहेको बताइन् । कार्यक्रममा खेलकूद मन्त्री तेजुलाल चौधरी, थाकसका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीलगायतले आआफ्नो मन्तव्य दिएका थिए । समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीलाई मन्तव्यका लागि बोलाइदा उनी हिँडिसकेका थिए । उता श्रोता छैनन् भनेर पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहित बोल्न रुचि देखाएनन् । कार्यक्रम थाकसका कावा अध्यक्ष देवीप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।  कार्यक्रममा हृदयनारायण चौधरीको पुस्तक थारु जातिको समय विमोचन गरिएको थियो । थाकस केन्द्रको मुखपत्र ‘थारु संस्कृति’ प्रकाशन गर्ने योजना यसपालि पनि कार्यान्वयन भएन । थाकस क्षेत्रीय समिति देउखुरीले थारु शब्दकोश लगायतको पुस्तकको स्टल राखेको थियो ।  मंसिर २ गते आज बन्दसत्र रहेको छ । मंसिर ३ गते नयाँ नेतृत्वको चयन गरी महाधिवेशन सकिनेछ । थाकसको केन्द्रीय अध्यक्षमा प्रेमीलाल चौधरी, मिनराज चौधरी, देवीप्रसाद चौधरी, रुक्मिणी चौधरी, वर्तमान अध्यक्ष धनिराम चौधरीलगायत आकांक्षी रहेका छन् । प्रेमीलाल चौधरीले पहिल्यै उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, घोषणापत्र सहित उम्मेदवारी मिनराज चौधरीले मात्र सार्वजनिक गरेका छन् । आधिकारिक उम्मेदवारको घोषणा भइ नसकेकाले पार्षदहरु नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने अलमलमा छन् । कार्यक्रम अघि र्यालीले भैरहवा नगर परिक्रमा गरेको थियो ।  

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

७१३ दिन अगाडि

|

२९ कात्तिक २०८१

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । कात्र्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।  यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं जेष्ठ नागरिक अधिकार केन्द्रीत विभिन्न पुस्तकका सर्जक प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र  बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान,  विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसंख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अंग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।  पुरस्कृत स्रष्टाहरुबारेः प्रा.डा. मुकेशकुमार चालिसेः वि.स.२०१३ सालमा ललितपुर जिल्ला हाल गोदावरी नगरपालिकाको चालीसे डाँडामा जन्मनुभएका स्रष्टा मुकेशकुमार चालिसेका नेपाली र अंग्रेजीमा गरि दर्जन बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये केही पुस्तक एमएस्सीमा पाठ्यपुस्तक समेत रहेको छ ।  प्राणीशास्त्र वैज्ञानिकको रुपमा सुपरिचित जीवविज्ञानका अनुसन्धाता चालिसे जनावरको व्यवहारमा विद्यावारिधी गर्ने पहिलो नेपाली हुनुहुन्छ जस्ले बाँदर प्रजाति अध्ययन तथा वन्यजन्तु संरक्षणमा विभिन्न पुस्तक लेख्नुभएको छ ।  रातो हाब्रे (पाण्डा), झारल, कस्तुरी र हिउचितुवामा अनुसन्धान गर्नुभएका चालिसेका बन्यजन्तु संरक्षण लगायत विज्ञान विषयमा पुस्तकहरु प्रकाशित छन् । चुरेको जैविक विविधता अनुसन्धानमा वन्यजन्तु विज्ञ र मिल्के जलजले गुँरास संरक्षण क्षेत्र स्थापनाका लागि अनुसन्धानमा वन्यजन्तु विज्ञका रुपमा कार्य गर्नुभएका चालिसेका विज्ञानका अतिरिक्त पाकाको रमाइलो र पिरलो, मानिला मान्छेका धामा, पाका मान्छेका कुरा, डाँडाका उज्याला जुन मैले छिचोलेका कुइनेटा गरि जेष्ठ नागरिकका सम्बन्धमा पनि पुस्तकहरु प्रकाशित छन् । प्रा.डा. ऋषिराम पोखरेलः विं स. २००० साउन २४ गते जन्मनुभएका काठमाण्डौ निवासी संस्कृत भाषाका प्रकाण्ड विद्वान प्रा.डा ऋषिराम पोखरेल वेदमा विधावारीधि गर्ने पहिलो नेपाली हुनुका साथै त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयको वेद विषयको पहिलो प्राध्यापक हुनुहुन्छ । पोखरेलको मनकामना लगायत ३ वटा पुस्तक संस्कृतमा प्रकाशित छ भने संस्कृतमा वेदानुशासनम र नेपालीमा वेदज्योति महाकाव्य प्रकाशोन्मुख अवस्थामा छ । यसैगरी शुक्लयजुर्वेदको नेपाली अनुवाद, मिमांसा परिभाषा रुपान्तर, युवा प्रति कविता संग्रह, धु्रव चरित्र खण्डकाव्य पोख्रेलका प्रकाशित कृतिहरु हुन ।   प्रा. डा. चुन्दा बज्राचार्यः २०१० साल माघ २३ गते काठमाण्डौमा जन्मनुभएकी इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा बज्राचार्य नेपाल भाषा (नेवारी) क्षेत्रका एक अग्रणी स्रष्टा बज्राचार्य विद्यालय तहदेखिनै नेपाल भाषा लिएर त्रिभुवन विश्वविद्यालयबाट नेपाल भाषामा विद्यावारीधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ निबन्धकार समालोचक अधिकारकर्मी हुनुका साथै आदिवासी जनजातीहरुको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुभएको छ । इतिहासको क्षेत्रमा अथक साधक, नेपाल भाषा र नेवारी संस्कृतिको उत्थान र विकासका लागि विभिन्नि विधामा अध्ययन अनुसन्धान गर्नुभएकी स्रष्टा बज्रचार्यका नेवारीमा मल्ल कालया छु संस्कृति, समालोचना च्वसुमुना, नेपाल भाषाया नाटक साहित्यया इतिहास, नेपाल मण्डल व नेवाः  र नेपाली भाषामा गरी १६ वटा अन्वेषण कृतिहरु प्रकाशित छन् ।  २०५७ असोज १३ गते जन्मनुभएकी लमही नगरपालिका ७ दाङ निवासी भूमिका थारुको कहियासम् अनागरिक? नामक थारु भाषामा कविता संग्रह प्रकाशित छ । मानवशास्त्र विभागमा स्नातकोत्तर अध्यनरत स्रष्टा थारु अधिकारका साथै साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरु प्रकाशित हुने गरेका छन् । विवेक ओझाः २०४८ जेठ २ गते अछामको दर्नामा जन्मनुभएका स्रष्टा विवेक ओझाका ऐठन उपन्यास, ऐलानी उपन्यास र एक पाइला आकाशमा गजल संग्रह प्रकाशित छन् । मानवतावादी, जीवनवादी दृष्टिकोणबाट युद्धको विरोध र शान्तिको पक्षमा कलम चलाउने स्रष्टा ओझा २०७९ सालमा मदन पुरस्कारबाट पृरस्कृत भइसक्नुभएको छ ।  लिला हाङ्मा सेलिङ्ग माबोः २०२८ वैशाख १२ गते पूर्वी लिम्वुवान याङरक ओयाम गाँउ पाँचथरमा जन्मनुभएकी सेलिङ्ग माबोले बेलायतको युनिर्भसिट अफ सरेबाट एमएस्सी गर्नुभएको छ । लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्नुभएकी स्रष्टा माबोको याक्थुंग लिम्बु भाषामा सेमाङ्गलक् नामक कविता संग्रह प्रकाशित छ । सामाजिक न्याय, पहिचान र मुन्धुममा कलम चलाउने माबोले लिम्बु भाषामा गीत समेत लेख्नुभएको छ र उहाँको रचना आठ कक्षामा लिम्बु भाषा पाठ्यक्रममा समावेश छ । उहाँका लाहुरेनी पिडा नामक नेपालीमा कविता संग्रह र मेमोवाएर अफ अ गोर्खा वाइफ ड्युरीङ लकडाउन नामक पुस्तक अंग्रेजीमा समेत प्रकाशित छ । बाबा बस्नेतः २०२२ साल चैत २७ गते सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्मनुभएकी स्रष्टा बाबा बस्नेतका धर्तीको सुसेली कवितासंग्रह, योद्धा पुर्णाङ्की नाटक, उन्यु फुलेपछि कथासंग्रह, रातकी रानी उपन्यास र सेतो फरिया खण्डकाव्य गरी १६ वटा कृति प्रकाशित छन् । स्रष्टा बस्नेत हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ ।   पदम राईः २०३२ साल चैत ३ गते रानीबास भोजपुरमा जन्मनुभएका स्रष्टा पदम राई बान्तावा भाषाका सुपरिचित हस्ताक्षर हुनुहुन्छ । भाषा विज्ञानमा स्नातकोत्तर गर्नुभएका स्रष्टा राइका बान्तावा भाषामा वुङ्वाखाआ बान्तावा यङ खुयुङ् कथा संग्रह, लादिप्मा कविता संग्रह लगायत ६ वटा कृतिहरु प्रकाशित छन् । बुङ्वाखा मासिकको सम्पादक समेत रहनुभएका स्रष्टा राईको सम्पादनमा पारुहाङओ पुक्दुङ्लि लगायत दुई दर्जन किताब प्रकाशित छन् । यसैगरी राईको संयोजन, सहलेखन र सम्पादित आधा दर्जन बान्तावा सामग्रीहरु पाठ्यक्रममा समेत समावेश छ ।  प्रकाश दर्नालः २०१४ जेठ २६ गते कालधारा काठमाण्डौ जन्मनुभएका प्रसिद्ध पुरातत्वविद स्रष्टा प्रकाश दर्नालका हाम्रो सांस्कृतिक धरोहरहरु, नेपाल मण्डलका सांस्कृतिक सम्पदाहरु नामक पुस्तक प्रकाशित छन् भने बौद्ध सांस्कृतिक सम्पदाहरु र हेरिटेज एण्ड आर्कियोलोजी (अंग्रेजी) पुस्तक प्रकाशोन्मुख (प्रेसमा) छ । नेपाल हेरिटेज सोसाइटीको महासचिव र नेपाल इतिहास संघको सदस्य समेत रहनुभएका स्रष्टा दर्नालका संस्कृति, सामाजिक न्यायका विषयमा नेपालीमा ६ दर्जन र अंग्रेजीमा दुई दर्जन बढी लेख रचनाहरु प्रकाशित छन् ।  विवश पोखरेलः २०१५ भदौ २५ गते जन्मनुभएका विराटनगर निवासी स्रष्टा  विवश पोखरेलका विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न हुनुहुन्छ । पोखरेलका समयविम्व कथा संग्रह, अनिधो रात र बत्तिका पुतलीहरु, निषिद्ध बस्तीमा कविता संग्रह, साढेको दाइँ निबन्ध संग्रह गरि ९ वटा कृति प्रकाशित छन् । पोखरेल हाल विराटनगर प्रज्ञा प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।    सत्यदेवी खड्काः २०२४ साल असार १० गते दैलेखमा जन्मनुभएकी स्रष्टा सत्यदेवी खड्काका नेपालका लोपोन्मुख समुदाय, राउटे जातीको संक्षिप्त परिचय, राउटे समुदायको हस्तकला, बोटे जातिको पहिचान, राउटे समुदायको अनौपचारिक अर्थतन्त्र गरि ८ वटा पुस्तकहरु प्रकाशित छन् । राउटे, कुसुण्डा, कुस्वाडिया, बोटे, नेटुवा, किंगडियन जातीको बारेमा प्रकाश पार्दै दर्जनौ लेख रचना र पुस्तक लेख्ने स्रष्टा खड्काले नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्नुभएको छ ।  गोपी सापकोटाः २०२९ भाद ६ गते जन्मनुभएका गैडाकोट नवलपुर निवासी (हाल बेलायत) स्रष्टा गोपी सापकोटाको एक अन्त्य एक शुरुवात कविता संग्रह, खरानी नाटक संग्रह, कमिलाको सपना बाल कथा संग्रह, काँचो कागज उपन्यास र अंग्रेजी कविता संग्रह अ सुसाइड नोट गरि १० वटा कृतिहरु प्रकाशित छन् । स्रष्टा सापकोटाले नेपाली राइटर्स इन इङ्लििस काठमाण्डौको सचिव भएर ८ वर्ष काम गरिसक्नुभएको छ ।  पुजा बहारः  २०४३ असोज १९ गते जन्मनुभएकी दुहबी सुुनसरी निवासी  स्रष्टा पुजा बहारको भोजपुरी भाषामा नेहिया के फुलवा र हिन्दीमा तीन वटा गरी ४ वटा कृति प्रकाशित छन् ।  स्रष्टा बहार नेपाल र भारतका विभिन्न पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।   विजेता कर्ण (चौधरी)ः २०३८ असोज २ गते जन्मनुभएकी जनकपुर धनुषा निवासी स्रष्टा विजेता कर्ण मैथिली भाषाको सुपरिचित हस्ताक्षर हुनुहुन्छ । पत्रकार कर्णका मैथिली भाषामा कर्फयु कथासंग्रह र धाराक विरुद्ध कविता संग्रह चुप्पी निशब्द एक पंक्ति कविता संग्रह प्रकाशित छ ।  भूमिका थारुः २०५७ असोज १३ गते जन्मनुभएकी लमही नगरपालिका ७ दाङ निवासी भूमिका थारुको कहियासम् अनागरिक? नामक थारु भाषामा कविता संग्रह प्रकाशित छ । मानवशास्त्र विभागमा स्नातकोत्तर अध्यनरत स्रष्टा थारु अधिकारका साथै साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरु प्रकाशित हुने गरेका छन् ।  

हरिबोधनी एकादशीमा नवलपुरको नारायणी नदी किनारमा   मेला

हरिबोधनी एकादशीमा नवलपुरको नारायणी नदी किनारमा मेला

७१६ दिन अगाडि

|

२७ कात्तिक २०८१

मणिराज महतो हरिबोधनी एकादशीको अवसरमा आजको दिनमा नवलपुरको नारायणी नदी किनार अधिकांश ठाउँमा ठुल्ठूला मेला लाग्ने गर्द्छ।  थारु समुदायको ऐतिहासिक बणकी एकादशी मेला सदियौ देखि नवलपुरको तिन स्थानमा लाग्दै आएको छ। १. गुनरही बजार, गोणार (गोडार) २. बुणीहा बजार, पिथोल (पिठौली) ३. प्रसौनी बजार, हर्राबास टार ।  एकादशी मेला थारुहरुको ठूलो पर्व हो। यस दिन ब्रतालुहरु गुनरही, बुढिया वा प्रसौनीमा लाग्ने एकादशी मेला घुम्ने गर्दछन्। यसै दिन आगामी बर्षमा कतिको बर्षा हुन्छ भन्ने अनुमान गर्ने गरेको थारु किंवदन्तीहरुमा पाइन्छ।  यस दिन ब्रतालुहरु गुनरही स्नान गरिसकेपछि शिरथान (देवचुली) को टुप्पोमा हेर्ने चलन छ। यदि शिरथानको टुप्पोमा आजको दिन बादल देखिएमा असार साउनमा बर्षा हुने र किसानहरु लाई फाइदा पुग्ने तर सफा आकाश देखिएमा खडेरी पर्ने जनविश्वास रहेको पाइन्छ। एकादशी ब्रत र मेला शिरथान कुमारवर्ती देवीको एउटा बिशेष धाम हो। यस दिनमा मेणरी नाच सहितको जात्रा प्रत्येक गाउँबाट निकालिने चलन परापूर्वकालदेखि चलिआएको मानिन्छ। मेणरी नाच देव देवीको नाच हो। यो नाच महाभारत कथासंग सम्बन्धित छ। स्थानीयवासीका अनुसार मेणरी नाचमा प्रयोग गरिने मादलहरुको समेत नाम देव देवीको नामले राखिएको पाइन्छ। प्रत्येक मादलको ताल एकसाथ मिल्नै पर्ने र निरन्तर ताल मिलिरहनुपर्ने यस नाचको बिशेषता रहेको छ।  यदि कथम्कदाचित कुनै मादलको ताल बिग्रियो भने मादल फुट्ने पनि गर्दो रहेछ। अति नै देवदेवीको शक्ति अड्कल गर्न सकिने नाच हो मेणरी नाच। आजकाल मेणरी नाच लोप हुने अवस्थामा  छ।  

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

७२२ दिन अगाडि

|

२१ कात्तिक २०८१

नेपाल बालसाहित्य समाजले बालसाहित्य लेखन र चित्राङ्कनतर्फको सर्वोत्कृष्ट कृति घोषणा गरेको छ । सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कार्तिक २० गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेपछि सो घोषणा गरिएको हो । घोषणाअनुसार २०७९ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा/इन्द्र चौधरी)  ले प्राप्त गरेको छ । ८ वर्ष माथिका लागि साङ्केनको खुल्दुली (चित्रकथा/सिर्जना राई) ले पाएको छ । यसैगरी, २०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नानी र चरी (बालकाव्य/कवि मित्रलाल पंज्ञानी) र ८ वर्ष माथिका लागि आमा (बालउपन्यास/उपन्यासकार हरि खनाल) ले प्राप्त गरेको छ। समाजका अनुसार चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार २०७८ का लागि बाघसँग जम्काभेट (चित्रपुस्तक/कलाकार कलाग्रज बि.) र २०७९ का लागि य:मरी (चित्रपुस्तक/कृषा ताम्राकार) लाई प्रदान गरिने घोषणा गरिएको छ ।  पुरस्कार प्रदान गरिने कार्यक्रम पछि घोषणा गरिने बताइएको छ ।  

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

७२७ दिन अगाडि

|

१५ कात्तिक २०८१

थारु साहित्य–संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तक्रिया भएको छ ।  कार्तिक १४ गते दाङदेउखुरी लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ । त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ । अब छिट्टै विधेयक पनि पारित गर्नेछौं ।’ अर्को प्रसंगमा उनले महिलाहरुलाई अवसर दिनमा कुनै दुई मत नरहेको तर उनीहरु आफै सक्रिय नरहेको आरोप लगाए ।  राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला र युवाहरुलाई पनि बरघर बनेर गाउँठाउँको  समाजसेवा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले अगाडि भनिन्, ‘तर, महिलाहरुलाई अवसर नै नदिने हुँदा पुरुषहरु उदार हुनुपर्छ । समाजसेवामा लाग्न प्रेरित गर्नुपर्छ । जनप्रतिनिधिमा ३३ प्रतिशत महिलालाई कोटा छुट्याएझैं बरघरमा पनि महिलालाई अगाडि ल्याउनै पर्छ ।’ बरघरसमेत रहेका अधिवक्ता हल्लुप्रसाद चौधरीले देउखुरी उपत्यकामा राजपुरबाहेक लमही, गढवा तथा राप्ती पालिकाले बरघर ऐन पारित गरिसकेको तर विधेयक बनाउन आलाटाल गरेकोमा जनप्रतिनिधिहरुको ध्यानकर्षण गराए । उनले दुई दशक स्थानीय निकायको चुनाव हुन नसकी कर्मचारीहरुको भरमा रहेको स्मरण गर्दै तर बरघर प्रणाली १० वर्षे द्वन्द्वमा समेत सक्रिय भई काममा अहोरात्र खटेको स्मरण गरे ।  थारु कल्याणकारिणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाशकुमार चौधरीले बरघरहरुले सरकारकै काममा सघाउने भएकाले उनीहरुको सेवासुविधा सरकारी स्तरबाटै तोकिनुपर्ने राइ व्यक्त गरे । समाजसेवामा मात्रै केन्द्रीत रहेकाले बरघरहरुलाई राजनीतिक प्रशिक्षण अत्यवश्यक रहेको उनको भनाई थियो ।  लमही–४, छुटकी घुम्नाका बरघर देवराज चौधरीले बरघर प्रणाली सक्रिय भएको ठाउँमा टोल विकास समिति गठन गर्न जरुरी नरहेको बताए । बरघरमार्फत् पालिकाले धेरै काम गर्न सक्ने अवस्था रहेको तर तालमेल नमिलेको उनको भनाई थियो ।  राष्ट्रिय भूमि आयोग, दाङकी पूर्व विज्ञ सदस्य लक्ष्मी चौधरीले बरघर ऐन पालिकामामात्रै नभई प्रदेश तथा संघीय ऐन बन्नुपर्ने जिकिर गरिन् । स्थानीय पाठ्यक्रममा बरघरको विषयबस्तुबारे पठनपाठनको व्यवस्थादेखि बजेट व्यवस्थापन गरी उनीहरुको लागि दीर्घकालीन योजना बन्नुपर्नेमा उनको जोड थियो । बर्दिया, कैलाली जिल्लामा महिला बरघर पनि रहेका तर दाङमा अझैसम्म महिला बरघर भएको सुन्न नपाएको बताउँदै उनले उनीहरुको अनुभव आदान प्रदानको लागि पनि अवलोकन भ्रमण, प्रशिक्षण जरुरी रहेको बताइन् ।  थारु साहित्य–संस्कृति प्रतिष्ठानले युएसआइडीको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता विषयक् ९ महिने कार्यक्रम थालेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले जानकारी  दिए । उनले दाङको लमही, बाँकेको राप्तीसोनारी तथा बर्दियाको बारबर्दियामा छोटो समयका लागि परियोजना लागु भए पनि बरघर प्रणालीको संरक्षणका लागि आफूहरु निरन्तर लागिरहने बताए । गुरुप्रसाद कुमाल बुलुबुल तथा यम चौधरीले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले गरेका थिए ।