कहिलेदेखि  सुरु भयो भित्तेचित्र ?

कहिलेदेखि  सुरु भयो भित्तेचित्र ?

१२९० दिन अगाडि

|

२० फागुन २०७९

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

१२९० दिन अगाडि

|

२० फागुन २०७९

थारू नायक, निर्देशक तथा निर्माता परशुराम चौधरीको निधन भएको छ ।  गायक राजु चौधरीका अनुसार स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा पोर्चुगलमा हृदयघातबाट शुक्रवार मृत्यु भएको हो ।  उनले थारु फिल्म ‘बौछार’ को निर्माण, निर्देशन पनि गरेका थिए । जीवन एक लडिया फिल्मको पनि उनी निर्माता थिए । उनी अभिनित अन्य चलचित्रमा ई कैसिन नाता, बुह्रान, कमैया, तागतलगायत रहेका छन् । नायक संगत थारु भन्छन्, ‘मलाई उहाँले नै फिल्म क्षेत्रमा ल्याउनु भएको हो । खास गरी थारु चलचित्र जगतमा उहाँको निधनले अपूरणिय क्षति भएको छ ।  अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी सन् २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् । उनकी जेठी पत्नी र एक छोरी काठमाडौंमा छन् भने कान्छी पत्नी र दुई छोरी पोर्चुगलमै छन् । पारिवारिक स्रोतका अनुसार उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ ।

लक्ष्मी चौधरीका दुई कविता

लक्ष्मी चौधरीका दुई कविता

१२९२ दिन अगाडि

|

१९ फागुन २०७९

१. हे महादेव                      लक्ष्मी चौधरी मेरो पनि मन छ तिम्रो पनि ! मेरो पनि दुख्छ तिम्रो पनि मलाई पनि दया माया छ तिमलाई पनि म मा पनि रिस दाहा छ तिमीमा पनि मलाई पनि जीवन जिउनु छ तिमलाई पनि मनुष्य हौं समस्याले तिमलाइ पनि घेरेको छ मलाई पनि कसलाई दोष लगाउने जे छ त्यसमा खुशी हुन बाहेक केही उपाय छ र ? म पनि तिम्रो तिमी पनि मेरो हैन र ? महादेव । =====                                                                                                                                कवियत्री लक्ष्मी चौधरी २. एक पात्र हुँ  जसलाइ सृष्टि कर्ता अनि ममताको खानीको स्वरुप दिइन्छ जसलाई पुज्ने पनि गरिन्छ अनि कहिले कुट्ने पनि गरिन्छ । हो, त्यही पात्र भित्रको म एक पात्र हुँ । जीवन जिउन म मा पनि केहि आधार अनि आफ्नै शैली छ । कोमल हृदयमा आफ्नै चाहना अनि इच्छा छ तर म छोरी हो श्रीमती हो बुहारी हो आमा हो सासू हो , हो, त्यही संयन्त्र भित्रको म एक पात्र हुँ । अरुलाइ खुसी बनाउन आफ्नो खुशीलाई बलि चढाउने जीवनको दौडानमा आफू हारी अरुलाइ जिताउने हो त्यही मनकारी भित्रको म एक पात्र हुँ ।                             राप्तीसोनारी, बाँके

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

१२९४ दिन अगाडि

|

१६ फागुन २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णयले ‘भूइँचालो’ गएको बताएका छन् । सांस्कृतिक संस्थानले तीनवटै प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यदेखि प्राज्ञसभा सदस्यसम्मलाई मंगलबार संयुक्त रुपमा गरेको शुभकामना तथा बधाई कार्यक्रममा कुलपति राईले उक्त जिकिर गरेका हुन् । कुलपति राईले अगाडि भने, ‘देशमा भ्रष्टाचारका अनेक तौरतरिका छन् । त्यो मध्ये एक प्राज्ञिक भ्रष्टाचार पनि हो । प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर हामीले प्राज्ञिक भ्रष्टाचार न्यून गर्ने कामको थालनी गरेका छौं ।’ नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।  नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर राम्रो कामको सुरुवात गरेकोमा टिमको प्रशंसा गरे ।  ‘अहिले त कुनै मन्त्रीलाई कार्यक्रममा बोलाइए फूलमालाको लागि पनि पैसा उठाउने गरेको सुनेको छु । कुनै ठाउँमा नियुक्तिका लागि लाख होइन, करोड माग्ने गरेको सुनेको छु । यसरी त कसरी रोकिन्छ र भ्रष्टाचार ?’ मन्त्री किरातीले भने, ‘हामीले गुडाउने प्रत्येक थोपा तेलमा सहिदको रगत बगेको छ ।’ त्यसैले, आफूले भ्रष्टाचार हुन नदिने उनले प्रण गरे ।  आफू मन्त्री भएको ४५ दिन पुगेको बताउँदै उनले भने, ‘१ सय दिनका लागि हनिमुन टायम कुर्ने समय हामीलाई छैन ।’ आफ्नो मन्त्रालय मातहतका पदाधिकारीलाई निर्धक्क भएर काम गर्न उनले आग्रह गरे । कुलपति राईले आफ्नो तालुकदार मन्त्रालयको मन्त्रीले घुस नखाने प्रण गरेकाले आफूलाई काम जाँगर आएको बताए । उनले भने,‘सांस्कृतिक संस्थानका जिएम अशोक प्यासी राईले अढाई वर्षमा ७ मन्त्री झेलेछन् । तर म धेरै मन्त्री झेल्न सक्तिन । यदि सुदन किराती मन्त्रीको जिम्मेवारीबाट हटे कुलपतिबाट राजीनामा दिन सक्छु ।’ उनले आफू प्राज्ञिक काम गर्न आएकाले जागिर जोगाउने रहर नभएको पनि जिकिर गरे ।   सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छालीले आफूहरुको विधा काम नदेखिने विधा भएकाले हाललाई पेश्की बधाई लिने, बाँकी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले सांस्कृतिक संस्थानले तीनै प्रज्ञाका पदाधिकारीलाई एकै स्थानमा भेला गरेर आइसब्रेक गरेकोमा धन्यवाद दिए ।  संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले एउटा विभागमा जम्मा १०÷१२ लाख रकमले काम गर्न नसकिने भएकाले रकम बृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । ‘सानो रकमले थोरै काम हुन्छ, जुन देखिन्न, ’ शर्माले भनिन्, ‘तीनवटै प्रज्ञा प्रतिष्ठान मिलेर ‘डुप्लिकेशन’ नगरी कार्य गर्ने प्रतिबद्धता गरौं । यसबाट सबै सफल भइन्छ ।’ सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले भने, ‘सांस्कृतिक संस्थानको काम पनि तीनवटै प्रज्ञा प्रतिष्ठानसँग मिल्दोजुल्दो छ । त्यसैले, ‘डुप्लिकेशन’ नगरी काम गरौं । योजना बनाउन सँगै बसौं ।’ कार्यक्रममा ‘डुप्लिकेशन’ नगरी काम गर्ने चर्चा भए पनि सांस्कृतिक संस्थानले नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम गरे लगत्तै मंगलबारै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा उपस्थित तीनै कुलपति तथा मन्त्री किरातीले पनि पहिलो कार्यक्रममा सबै बोलिसकेकाले आफूहरुसँग बोल्ने नयाँ कुरा नभएको जिकिर गरे ।   

ख्याक र कंकाल

ख्याक र कंकाल

१२९९ दिन अगाडि

|

१२ फागुन २०७९

मल्ल के. सुन्दर  क्षेत्रपाटीको जुद्धोदय पब्लिक हाइस्कुलको कम्पाउन्डसँगै पूर्वमा उत्तरतिर लाग्ने एउटा सानो बाटो थियो । दुवैतिर खुला खेत, किनारामा नीलकाँडाका झाडीले ढाकेको, सुनसान, खासै चहलपहल नभएको, बटुवाका दिसा–पिसाबले रछ्यानसरह बनेको दुर्गन्धित ठाउँ । त्यस ठाउँको नाम थियो— चलचा गल्ली ! ‘...गएको रात त्यसै गल्लीमा घम्साघम्सी परेको रहेछ । एकले अर्कोलाई पछार्ने, लछार्ने, घिसार्ने ! निकै लामो समयसम्म भिडन्त पर्‍यो । निष्पट्ट अँध्यारो, केही देखिन्न । तर, बाटोमा एक जना अगाडि बढ्न खोज्ने, अर्कोले बाटो छेकेर पाइला चाल्नै नदिने । दुवै जना आ–आफ्ना पाखुरा सुर्कंदै प्रतिद्वन्द्वीलाई माटो चखाउने सुरमा थिए । ठेलमठेल, पेलमपेलमा निकै समय बित्यो । भाले बास्यो, झिसमिसे हुनै लाग्दा एकले अर्कोलाई पछार्‍यो । मिर्मिरे उज्यालोमा दुवैले एकअर्काको जीउडालको खाका देखे, अनुहार देखे । दुवैले दुवैलाई चिने । भिडन्तमा पछारिने त ख्याक पो रहेछ । आखिर हार मानेर ख्याक त्यहाँबाट सुइँकुच्चा ठोक्यो । ख्याकसँग जुध्ने मान्छे बल्ल आफ्नो बाटो लाग्यो ।’ सहरभरि चर्चा भयो— गएको राति चलचा गल्लीमा ख्याकलाई पछार्ने अरू कोही थिएन, चाक्सीबारी निवासी हीराकाजी थियो । हीराकाजी अर्थात् गणेशमान सिंह ! तीसको दशकसम्म पनि यस्ता लोकचर्चाहरू यत्रतत्र सुनिन्थे । एकाबिहानै पँधेरोमा पानी थाप्दाथाप्दै होस् वा चिया गफ होस् वा टोलछिमेकीको बसीबियाँलो होस् ख्याक, भूतप्रेत, किचकन्या सम्बन्धित विभिन्न चटपटे विवरणहरू प्रस्तुत हुन्थे : नरदेवीतिरको एउटा घर किनेर त्यहाँ सुत्न गएका घरधनीलाई बिहानीपख कसैले कोठाको ओछ्यानबाटै घिसारेर छिँडीमा ल्याइ पछार्‍यो । प्रत्येक रात दोहोरिने एकैखाले घटना सहरभरि चर्चित थियो । मानिसहरू भन्थे— घरमा ख्याकको बास भएकैले यसो भएको हो । पाटनको च्यासलको एउटा गल्लीमा साँझ अबेर एक्लै हिँडेको मान्छेलाई अचानक कसैले गालामा चड्काइदिन्थ्यो । वरपर हेर्दा कतै कोही फेला पर्दैनथ्यो । स्थानीय भन्थे— त्यहाँ ख्याकको रजाइँ चल्थ्यो । काठमाडौं म्हैपी डाँडामुनिको खेतमा एकाबिहानै खनजोत गरिरहेका एक जना तगडा ज्यापू यताउति लड्दै–भिड्दै, कहिले आफैँ पछारिँदै, कहिले कसैमाथि जाइलागिरहेजस्तो हात–खुट्टा चलाउँदै असिनपसिन अवस्थामा भेटिए । उनको जीउभरि हिलो माटो थियो । धेरै बेरपछि उनी शान्त भए । उनी साह्रै थकित देखिन्थे । मानिसहरूले सोधे— के भएको थियो ? ज्यापूले ख्याकसँग जुधिरहेको विवरण सुनाउन थाले । यद्यपि, त्यहाँ कसैले पनि ख्याक देखेका थिएनन् । जनजिब्रोमा रहेको अर्को एउटा कथा यस्तो छ । भक्तपुरको भित्री बस्तीको एउटा घरमा जोकोही पस्ने साहस गर्दैनथे । त्यस घरमा पुगेर राति सुत्ने कुरा कल्पनै गर्न सकिन्नथ्यो । तर, एक जना सुरो मान्छे रक्सीको मातमा त्यसै घरमा सुत्न पुगे । मात्तिएकाले सुरुमा उनले केही थाहा पाएनन्, सुतेको सुत्यै भए । बिहानीपख बुइँगलको एउटा कुनाबाट कसैले ‘थाप, थाप, थाप !’ भन्दै कराएको सुने । पटकपटक कराउन थालेपछि उनले अलिअलि मातको सुरमा, अलिअलि थाहा पाएको धूनमा लवेदाको फेर तानेर थापे । अचम्म के भने उनको लवेदामा असर्फीहरू झरे । ती असर्फी सोरसार पारेर उनी त्यहाँबाट टाप कसे । त्यसपछि उनी भक्तपुरकै सम्पन्न मान्छे बने ! ती असर्फी ख्याकले फालेको रहेछ । बाटोमा हिँड्दाहिँड्दै छोपिन आउने लँपंख्याः, जीउभरि भुत्ला नै भुत्ला भएको धापलांख्याः, कतै जाँदा खुट्टामा गुल्टिन आउने भकुंग्वाराख्याः, औंलामा आगो सल्काएर हिँड्ने मिप्वाःख्याः आदि उपत्यकाका लोकजीवनमा चर्चा हुने ख्याक हुन् । एउटा अति चर्चित लोकश्रुतिका अनुसार देवादिदेव महादेव र महामाया स्वरूपा पार्वतीबीच कुरैकुरामा भनाभन भएछ । रिसको झोंकमा एकले अर्कोलाई घुर्क्याउँदै स्त्रीबिना पनि सन्तानोत्पत्ति सम्भव छ भनेर दाबी गरेछन् । पार्वतीले पनि पुरुषसँगको संसर्गबिनै बच्चा जन्माउने घुर्की लगाइन् । नभन्दै दुवैले एक्लाएक्लै प्रयत्नमा बच्चाहरू जन्माए । महादेवले पार्वतीको सहभागिताबिना सृष्टि गरेको शिशु रगत, मासु, छाला नभएको केवल कंकालको आकृतिमा देखियो । पार्वतीको तर्फबाट महादेवको सहभागिताबिना जन्माइएको नवजात हाडखोर नै नभएको मासुको डल्लो मात्र भयो । मासुको डल्लोको रूपमा जन्मिएको त्यही बच्चा नै कालान्तरमा ख्याकका रूपमा चिनियो । यस लोकश्रुतिलाई दार्शनिक पक्षले विश्लेषण गर्नेहरूले प्रकृति र पुरुषका प्रतीकका रूपमा व्याख्या गर्छन् अनि भन्छन्— जीवन स्त्री र पुरुषको सह–अस्तित्वबिना सम्भव छैन । ख्याक र कंकाल तिनै जीवन दर्शनको साकार प्रस्तुतिभन्दा अरू केही होइन । त्यसैले उपत्यकाभित्र सबैजसो शक्तिपीठका मन्दिरमा ख्याक र कंकालका आकृति अनिवार्य रूपमा दायाँ–बायाँ अंकित गरिन्छ । हिन्दु पुराण र मिथमा भने ख्याकलाई कुवेरसँग जोडेर चर्चा गरिएको पाइन्छ । रामायणको कथा सन्दर्भमा विश्रवाका पुत्रका रूपमा कुवेरको उल्लेख छ । कुवेर, रावण, कुम्भकर्ण र विभीषण दाजुभाइ हुन् । रावणले सत्ताच्युत गरेपछि उत्तर हिमालको कैलाश पर्वतसँगैको गन्धमादन पर्वतको अलकापुरीमा अधिपति भएर बसे, कुवेर । यक्षराज, किन्नरराज पनि भनिने कुवेर लोकपाल/दिक्पालका रूपमा पनि चिनिन्छन् । देवगणको सम्पत्तिका अधिकारी कुवेरका रक्षकहरूका रूपमा ख्याकको भूमिका उल्लेख गरिएको छ । यस अर्थमा ख्याक यक्ष हुन्, किन्नर हुन् । सम्भवतः यिनै मिथकले कुवेर र ख्याकलाई नेवार समुदायको ढुकुटीसम्म ल्याइपुर्‍याएको होला । तिहारमा पुजिने नेवार समुदायकी लक्ष्मी फरक हुन्छिन् । कमलको फूलमाथि नभई कछुवालाई आफ्नै वाहन बनाइएको तथा दायाँ हातमा ज्वलान्हायकँ र देब्रे हातमा सिन्हःमू (महिला शृंगारका विशेष साधनहरू) समाएकी लक्ष्मी अनि त्यसको एकछेउमा कुवेर तथा सेवार्थ भावमा समर्पित धनको थैली बोकेको ख्याक अनिवार्य रूपमा हुन्छ । धान्यपूर्णिमाको दिन धन्सारमा नयाँ अन्न भित्र्याएर पूजा गरिने योमरी पुन्हीको पर्वमा नयाँ चामलको पिठोबाट बनाइएको केवल योमरी रोटी मात्रै हुन्न । त्यसमा लक्ष्मी, कुवेरका साथै चामलको पिठोले बनाइएका ख्याकहरू पनि हुन्छन् । अनि ती सबको विधिपूर्वक प्राण प्रतिष्ठासहित ढुकुटीभित्र चार दिनसम्म पूजा आराधना गरिन्छ । ख्याकसँग नेवार लोकसंस्कृतिको गठिलो सम्बन्धको अर्को दृष्टान्त हो— नेवार कन्या केटीको बाह्रा कर्मकाण्ड । नेवार परिवारमा छोरीले बाल्यकाल पार गर्दै यौवनावस्थामा प्रवेश गर्न लागेको उमेरमा रजस्वला हुनुअगावै एउटा कर्मकाण्ड सम्पन्न गरिन्छ । बाह्र दिनसम्म पुरुषहरूबाट अलग्गै गोप्य कोठाभित्र रीतिपूर्वक कन्या केटीलाई राखिने यस संस्कार मूलतः यौवनावस्थामा जिज्ञासा जाग्ने यौनभाव र अन्य जीवन व्यवहारका सम्बन्धमा प्रशिक्षित गराउने विधि हो । बाह्र दिनको त्यो बसाइमा परिवारजनका महिला सदस्यका अतिरिक्त कन्या केटीका सहपाठी पनि कोठाभित्रका गतिविधिमा सहभागी हुन्छन् । नाचगान, खेल तथा रमाइलो पनि त्यत्तिकै गरिन्छ । तर, त्यस कोठाभित्र पस्न योग्य महिला परिवार सदस्यका अतिरिक्त अर्को एउटा पात्र पनि हुन्छ— त्यो हो ख्याक ! कोठाको खोपाभित्र कपास वा कपडाबाट आकार दिइएको एउटा मूर्ति प्रतिस्थापन गरिन्छ । त्यसको अगाडि श्रद्धापूर्वक दिनहुँ दियो बालिन्छ । बाह्रा बसेकी बालिकालाई केही खुवाउनुपूर्व त्यस मूर्तिमा चढाइन्छ । तीन दिनसम्म नुन–तेल बारिन्छ, चौथो दिन त्यसै मूर्तिको आराधना गरेर नुन–तेल फुकुवा गरिन्छ । भनिन्छ, बाह्रामा राखिएका कन्यामाथि आउन सक्ने अफ्ठ्यारा तथा संकटबाट बचाउन ख्याकलाई रक्षकका रूपमा राखिएको हो । ख्याकलाई रक्षकको विशेष स्थान दिइने यो प्रचलन नेवार समाजमा अद्यापि छ । तर, आज कंक्रिटका भौतिक संरचनाको जंगल बन्दै गएको उपत्यकाभित्र ख्याकहरू श्रुति र स्मृतिमा पनि रहेनन्, केवल विस्मृतिका कथनका सीमित छन् ।

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात   !

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात !

१३०० दिन अगाडि

|

१० फागुन २०७९

धीरेन्द्र प्रेमर्षि कुरा गरौँ प्रज्ञा-प्रतिष्ठानहरूमा भएका नियुक्तिहरूको।  यसपालि छानिएका प्राज्ञहरूबारे पनि नाँनाभाँति टिप्पणीहरू आइरहेका छन्— "एकै समुदायका धेरै परे... नामै नसुनिएकाहरू परे... प्रज्ञा-प्रतिष्ठान पार्टीको भर्तीकेन्द्र बन्यो... आदि-इत्यादि।" तर यसमा 'हाय-तौबा' मच्चाउनुपर्ने त्यस्तो के कारण छ, मैले बुझ्न सकिन। राजनीतिक पार्टीहरूले आफ्नो विचार तथा दर्शन अनुरूपको साहित्य-कला-संस्कृति निर्माण तथा प्रवर्धन गर्न खोज्ने हुन्। यसका लागि आफू अनुकूलका व्यक्ति त्यस्ता निकायमा पुर्‍याउनु स्वाभाविक कुरा हो। राष्ट्रियताको सर्वव्यापी र सर्वस्वीकार्य आधार तथा मापदण्ड तयार भई नसकेको परिप्रेक्ष्यमा यस परिपाटीलाई अन्यथा भन्नै मिल्दैन। प्राज्ञ-परिषद् साधक-सर्जकहरूको शास्त्रार्थ गर्ने थलो होइन, उन्नत सिर्जना र साधनाका निम्ति वातावरण बनाउने र सोको समुचित व्यवस्थापन गर्ने समूह हो। तसर्थ प्राज्ञहरू साहित्यिक/सांस्कृतिक/साङ्गीतिक/रङ्गमञ्चीय/कलाकारीय दृष्टिले स्वयम् कहलिएका व्यक्ति हुनुपर्छ भन्ने छैन, विधागत रूपले आधारभूत बुझाइ र प्रतिबद्धता भएका व्यवस्थापकीय कौशलयुक्त व्यक्ति भए पुग्छ। प्रज्ञाहरूमा गएका व्यक्तिहरूलाई यदि मैले चिन्दिन भने यो स्वयम् मेरो अज्ञानता वा अल्पज्ञता हो, उनीहरूको कमजोरी होइन। मूलधारका सञ्चार, समारोह, सङ्घ-संस्थाहरूद्वारा आलोकित व्यक्तिहरू मात्र अब्बल र अरू दोयम हुन् भन्ने मानसिकताबाट हामी मुक्त हुनु बढी जरूरी छ। जिम्मेवारीमा जो पुगेका छन् तिनीहरूप्रति हामीले आशापूर्ण औत्सुक्य राख्नुपर्छ, पूर्वाग्रही नैराश्यले नयाँ सम्भावनाको ढोका थुन्ने काम मात्र गर्दछ। फलानो समुदायका धेरै परे भन्ने रोइलो देखिए पनि समुचित समावेशिता हुन नसकेको दिशामा कसैको दृष्टि गएको देखिएन। यदि सम्यक भावबाट हामीले  क्रियाकलाप र समीक्षा गर्‍यौँ भने भविष्यमा यो स्वतः अनुकूलनमा आउँदै जाने प्रक्रिया हो। हालका लागि के मात्र भन्न सकिन्छ भने जसरी पहिले एकै समुदायका सुयोग्य व्यक्तिहरू अधिसङ्ख्य रहने गर्थे त्यसैगरी अहिले अर्को कुनै समुदायको  सुयोग्य नै व्यक्तिहरू अपेक्षाकृत बढी सङ्ख्यामा आएका छन्।  विगतमा अनेकौँ व्यक्तिलाई प्रज्ञा-प्रतिष्ठानका नियुक्तिहरूको निरन्तर आलोचना गरिरहेको देखिन्थ्यो। तर सोही प्रक्रियाबाट आफू प्रज्ञामा पुगेपछि तिनले हाम्रा कवि लक्ष्मण गाम्नागेको 'सिंहदरबार पसेपछि देशै झलल' कवितांश झैँ सबै राम्रैराम्रो भन्ने खालको अभिव्यक्ति दिन थाल्थे। तर आफू नपर्दैमा बाँकी सबै वाहियात भए भन्नु जस्तो अनर्गल केही हुँदैन।  म पनि आकांक्षी थिएँ। युवापन बाँकी रहँदैमा विशेष केही गर्न सकिन्छ भन्ने खालको अलि हतार पनि थियो। तर म परिन। यसो भन्दैमा बाँकी सबै काम नलाग्ने भन्ने हुँदैन। ... अहिले जो-जो आएका छन्, अधिकांश राम्रा आएका छन्। बाँकी भविष्यले देखाइहाल्छ- उनीहरू कस्ता छन्। बरू समग्रमा प्रज्ञाको उन्नयन चाहनेले अहिले गएकै साथीहरूका माध्यमबाट आफ्ना रचनात्मक सोचहरूलाई पनि कार्यान्वयन गराई योगदान दिन अग्रसर हुनुपर्छ।  म तीनवटै प्रज्ञा-प्रतिष्ठानका सम्पूर्ण प्राज्ञ-पदाधिकारीहरूलाई अनेकानेक बधाई तथा उल्लेख्य कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।  

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

१३०० दिन अगाडि

|

१० फागुन २०७९

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी माली एवं बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा बुढानीलकण्ठको एक कोठामा आ आफ्ना परम्परागत जातिगत लुगा र गहना बोकेर आइसकेका थिए । एउटा पोकामा हाकु पटासी र तायो थियो भने अर्को पोकामा  थियो आङ्ग्रे र हारी । त्यही बेला दुबैको फोन तारन्तार बजिरहेको थियो । फोन गर्नेहरुले सोधिरहेका थिए दिदी हामी कहाँ आउने ? दुबै जनाले जवाफ दिइरहेका थिए,  ‘बुढानीलकण्ठ मन्दिरको  चौतारा ।’ –त्यहाँ पनि चौतार छ र ? –छ छ । यसरी कवि कलाकारहरु जम्मा भइरहेका थिए । सन्दर्भ थियो फागुन ९ को अन्तर्राष्ट्रिय मातृभाषा दिवस । रातोघर फाउण्डेसनले यही अवसर पारेर नेपालका बिविध भाषाका कविहरुलाई कविता वाचनका लागि निम्तो दिइसकेको थियो । बुढानीलकण्ठ मन्दिर परिसर पुगेपछि  कवि कलाकारहरुलाई जम्मा गरी त्यो भन्दा माथि तौलुङ चौतारा लानु थियो । एक बजे जम्मा भएर तौलुङ पुग्दा डेढ बजिसकेको थियो । त्यहाँ पुग्दा स्थानीय कलाकारहरु आफ्नो परम्परागत भेषमा बाहिर चौतारामा माइक सिस्टमसहित तुङ्ना बजाएर स्वागत गरिरहेको थिए । अगाडि तामाङ्ग सांस्कृतिक परम्परा अनुसार फूल फलफुल, पानी भरेको माटोको घैला छयुमी बालेर राखिएको थियो । अतिथि एक समूहले कवि कलाकारहरुलाई टोटलाको फूल निधारमा टाँसेर खादा ओढाएर स्वागत गरिरहेका थिए भने अर्को समूह टुङ्ना र डम्फु बजाएर स्वागत धून बजाइरहेका थिए । न्यानो घाम, सरसरी हावा चलेको रमणीय प्राकृतिक वातावरणमा एकछिन स्वागत कार्यक्रम सकिसकेपछि माथि हलमा कविता वाचनको औपचारिक कार्यकम शुरु भयो । काठमाडौं उपत्यकाको उत्तरी भेग बुढानीलकण्ठ नगरपालिका–१ स्थित तौलुंग चौतारा र स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रम सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामाको व्यवस्थापन तथा स्थानीय जनताको सहभागितामा भएको थियो । उक्त कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, कवि अनिता लामा र फुल कुमार बम्जनले तामाङ भाषामा कविता वाचन गरे । कविता वाचनपछि विभिन्न भाषाका सांस्कतिक गायन, वाद्यवादन, नृत्य समेत प्रस्तुत भएको थियो । त्यस्तै, इन्द्रमान महर्जन, प्रशान्त डंगोल र लक्ष्मी माली, स्नेह सायमीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आरएम डंगोलले खस नेपाली भाषामा कविता वाचन गरे । अनौपचारिक रुपमा संचालन गरिएको  कार्यक्रममा  वडाध्यक्ष सुरेन्द्र लामाले स्वागत गरे ।