दसैँका लागि घर सजाउँदै थारू समुदाय

दसैँका लागि घर सजाउँदै थारू समुदाय

९५४ दिन अगाडि

|

२ कात्तिक २०८०

युद्ध भूमिबाट नेपाल फर्किएपछि विद्यार्थीहरूले भने, बाँच्ने आस मरेको थियो

युद्ध भूमिबाट नेपाल फर्किएपछि विद्यार्थीहरूले भने, बाँच्ने आस मरेको थियो

९६० दिन अगाडि

|

२६ असोज २०८०

कृष्णसिंह धामी   सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दैनन् ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् । नेपाल सरकारले उद्धार उडानमार्फत उनीसँगै २५४ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।  इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ ।  ‘हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु’ उनले भनिन् ।   गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले ती मध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् ।  ‘हाम्रो छेउकै घर भत्किएका थियो । त्यसपछि हामी तीन दिन बङ्कर भित्र बस्यौ । आकाश पुरै कालो भएको थियो । सेकेन्ड सेकेन्डमा बम पड्किरहेको थियो । मसँगका साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई गुमाए । यो मेरो जीवनभरको लागि पीडादायी हुनेछ’ उनले भनिन् ।   उनीसँगै १८ जना साथीहरू सानो बङ्कर भित्र तीन दिनसम्म बसेका थिए । ‘एउटै बंकरमा १८ जना लुकेर बसेका थियौँ । बम आएपछि के गर्ने भनेर हामीलाई आईडिया नै थिएन,’ उनले त्यो बेलाको क्षण सम्झिदै भनिन्, ‘टेरेरिष्ट अट्याक भएपछि के गर्ने भन्ने अनुमान समेत गरेका थिएनौँ । तर पनि तीन दिनसम्म त्यही बङ्कर भित्र लुकेर बस्यौ ।’   शनिवार बिहान ६ः३० मा उनी योगा गर्दै थिइन् । अन्य साथीहरू सुतिरहेकै थिए । त्यही बेला अचानक एक सेकेन्डमा २०÷३० वटा मिसाइलहरू आयो । आकाश पुरै कालो भयो । जताततै बम पड्किएको आवाज मात्र आयो । एकाएक साइरन बज्न थाल्यो । साइरन बजेपछि के हुन्छ भनेर उनीहरू डराउन थाले ।  त्यत्तिकै उनीहरू बसेको भन्दा अर्को घर पूर्ण रूपमा ध्वस्त भयो । त्यसपछि उनीहरू झन् डराए । र बङ्कर भित्र लुक्न गए ।  ‘बङ्कर भित्र लुकेर बसेका थियौँ । बाहिर के भइरहेको छ देख्न त सकेनौँ । तर, फिल गर्‍यौ । घरी घरी हाम्रो बंकरमा नक गर्न आउँदा टेरेरिष्ट नै आयो कि भन्ने डर थियो । डरै डरमा तीन दिन बङ्कर भित्र बस्यौ । तीन दिनपछि खाना र पानी सबै सकियो । त्यसैमा पनि २४ घण्टामा एक पटक खाना खान पाएका थियौँ । त्यो बेला हामीहरू पुरै हेल्पलेस थियौँ’ उनले भनिन् । कैलालीका धनबहादुर चौधरी ह्वीलचेयरको सहायतामा छन् । उनलाई हिँड्न अझै समय लाग्नेछ । बङ्कर भित्र बसिरहेको बेला उनीमाथि आक्रमण हुन पुग्यो । र उनी घाइते भए । उपचारपछि निको भएर उनी उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका हुन् ।                                                                                                                           घाइते कैलालीका धनबहादुर चौधरी नेपाल पुगेसँगै उनले आफू भाग्यले बाचेको र नेपाल फर्किन पाएको बताए । ह्वीलचेयरको सहायतामा रहेका उनले मसिनो स्वरमा भने, ‘धन्नले बाचे’ ।  रेश्मा श्रेष्ठलाई समेत सकुशल नेपाल फर्किइन्छ जस्तो लागेको थिएन । शनिवारदेखि नेपाल नफर्किदासम्मको कहालीलाग्दो अवस्था उनको आँखामा अझै पनि झलझली आइरहन्छ । जसले गर्दा उनी अहिले पनि डराउँछिन् ।  इजरायलबाट काठमाडौँ ओर्लिने विक्तिकै उनले सबैभन्दा पहिला उनले आफ्नो दिदीलाई झ्याप्प अँगालो मारिन् । त्यसपछि मात्रै उनलाई अब आफूलाई केही हुँदैन भन्ने लाग्यो ।  उनले युद्ध कस्तो हुन्छ भन्ने कुरा प्रत्यक्ष देखेर भोगेर आएकी छिन् । गाजा सीमा नजिकैको कृषि फार्ममा काम गर्दै गर्दा उनले शनिवारदेखि नेपाल नफर्किँदासम्म युद्धको अवस्था देखिन् । जसले गर्दा उनलाई अब सकुशल नेपाल फर्किन पाइँदैन भन्ने लागेका थियो । तर, नेपाल सरकारले उद्धार गरिदियो । यसका लागि उनले नेपाल सरकारलाई धन्यवाद दिइन् । उनलाई यस्तो खालको आक्रमण हुन्छ भन्ने कल्पनामा समेत सोचेकी थिइन् ।  गाजा नजिकैको क्षेत्रमा थिए । बिहानको साढे ६ बजेतिरको समय थियो । त्यो बेला ड्याम्म आवाज आयो । त्यो बेला हामीले आक्रमण भएको होला भन्ने शंका समेत गरेका थिएनौँ । पछि भयावह अवस्था देखिएपछि हामी हतार हतारमा बङ्कर भित्र छिर्यौ । उनले भनिन् ।  रकेट आक्रमण हुदाँसम्म उनीसगै साथीहरू डराएका थिएनन् । तर, जब आतंकवादीहरु इजरायलतिर छिरेको भन्ने थाहा पाएपछि निकै डराए ।  ‘त्यसपछि त हामी हामी तीन दिन बंकरभित्रै बस्यौ । त्यही भित्र कति डराएका थियौँ । यो शब्दमा वर्णन गर्न सकिने अवस्था छैन’ उनले भनिन् ।  उनी आफूलाई निकै भाग्यमानी मान्छिन् । किनभने जहाँ १० जनाको नेपाली मारिए । त्यहाँ नै काम गर्दै आएकी थिइन् । तर, दुई महिना अगाडि मात्र उनी त्यो क्षेत्रबाट अर्को ठाउँमा सरेकी थिइन् । जसले गर्दा उनी उक्त आक्रमणबाट बच्न सफल भइन् ।  ‘उनी म चाही घटना घटेकै क्षेत्रमा थिए । तर, गडको मलाई बचाउने प्लान रहेछ, म दुई महिना अगाडि मात्रै सेफ क्षेत्रमा आएकी थिइन् । तर, जहाँ मैले पहिला काम गरेको थिए त्यो क्षेत्रमा ठुलो दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।  कालिकोटका हरिकृष्ण आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेर इजरायल पुगेका थिए । तर, अहिलेको परिस्थितिपछि उनी नेपाल फर्किएका छन् । उनीसँगै त्रिविका १०० जना विद्यार्थी र टिम लिडर फर्किएका हुन् ।  एक महिना अगाडि मात्रै उनी इजरायल पुगेका थिए । उनीहरू बर्डर क्षेत्रभन्दा २०० मिटरको दूरीमा मात्रै थिए । उनीहरू लेबनानको सीमा क्षेत्रमा थिए । जसले गर्दा उनलाई त्यति धेरै जोखिम थिएन । तर, डर भने निकै थियो ।  नेपाल फर्किएपछि उनी अब पुनः फर्किने नफर्किने समय परिस्थितिमा भर पर्ने बताउँछन् । यो निकै राम्रो अवसर भएको तर, अहिलेको परिस्थितिका कारण आफूहरू आउनुपरेको बताए ।  सिक्ने र कमाउने राम्रो अवसर भएको तर, त्यो हुन नसकेको उनको भनाई छ । अहिलेको अवस्थामा युद्धका कारण त्यहाँ भयावह अवस्था बनको उनको भनाई छ । तस्विर समेत रातोपाटीबाट

महिला पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

महिला पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

९६१ दिन अगाडि

|

२४ असोज २०८०

पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा आयोजना गरेको ३ दिने तालिमको समापनका क्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।  काउन्सिलले पहिलो चरणमा बाग्मती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो । विषय विज्ञ वरिष्ठ पत्रकार युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्वसँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरियता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताए।  मुलुकको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उहाँले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताए । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिष्कृत गर्दै लैजानुपर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताए ।  गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पत्रकारिताको स्वरूप र परिभाषा फेरिएको भन्दै समयको माग अनुसारको पत्रकारिता वर्तमान युगको आवश्यकता भएको बताए । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुसरण गर्न सके मात्रै पत्रकारिता पेसामा टिक्न सकिने भन्दै उहाँले काउन्सिलको ३ दिने तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए।   काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको पर्याप्त ज्ञानबिना अबको पत्रकारिता अघि बढ्न नसक्ने भन्दै काउन्सिलसहितका सरोकारवालाले प्रविधिमैत्री तालिम बढाउँदै लैजानुपर्ने उल्लेख गरे । हतारमा राम्रो काम गर्नुपर्ने पेसा भएकाले प्रविधिको सहायताले सघाउ पुग्ने उहाँको भनाइ थियो । ‘केही पत्रकारले आफूले जान्नुपर्ने कुरामा समेत ध्यान नदिएर अन्यत्र पेसा र सुविधामा बढी रुचि दिन्छौँ, यसले पनि समस्या ल्याउने गरेको छ’ अध्यक्ष बस्नेतले भने ।  काउन्सिलका सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी पौडेलले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पारिन् । मिडिया साक्षरता अहिलेको माग भएको उनको भनाइ थियो । तालिम समापनका क्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अब समाचारको कुनै डेटलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताए । उनले पत्रकारिताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताए ।  नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्य तथ्य र निष्पक्ष समाचार दिनुपर्ने बताए । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पत्रकारितालाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सिप आवश्यक हुने बताए।    तालिमका क्रममा विषयगत विज्ञहरु नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेवासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए ।

थारू समुदायलाई आरक्षणमा अलमल

थारू समुदायलाई आरक्षणमा अलमल

९६१ दिन अगाडि

|

२४ असोज २०८०

नवराज मैनाली  सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । तर, सरकारले कानुन संशोधन गरेर आरक्षणको नयाँ सिद्धान्त बनाउन नसक्दा लोकसेवा आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि खोल्नुपर्ने सबै विज्ञापन अवरुद्ध भएका हुन् ।  यो समस्या तत्काल समाधान हुने सम्भावना पनि देखिँदैन । सरकारी सेवा प्रवेशको तयारीमा रहेका हजारौँ सर्वसाधारण प्रभावित बनेका छन् । साथै, समयमै भर्ना र तालिम नहुँदा निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थामा पनि तालिम तथा जनशक्ति अभावको समस्या बढेको छ ।  हाल प्रधानन्यायाधीश रहेका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासले नौ महिनाभित्र संघीय निजामती ऐन ल्याउन र त्यसमा थारूका लागि छुट्टै आरक्षणको व्यवस्था गर्न भनेको थियो । साथै, आर्थिक वर्ष ०७९/८० मा थारू समुदायका लागि छुट्टै आरक्षण नभएकाले त्यसलाई समेत जोडेर ०८०/८१ मा भर्ना गर्न परमादेश थियो । निजामती मात्र नभई सबै निकायमा यो व्यवस्था लागू गर्न भनिएको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत निकायले विज्ञापनका लागि माग पठाए पनि सर्वाेच्च अदालतको फैसलाअनुसार नयाँ व्यवस्था नहुँदा लोकसेवा आयोगले भर्ना प्रक्रिया रोक्दै आएको छ । जबकि आयोगको वार्षिक कार्यतालिकामा साउन, भदौ र असोजमा धेरै विज्ञापनको सूचना प्रकाशन भइसक्नुपर्ने थियो । ‘विशेष कारणले यस वर्षका विज्ञापन रोकिएका छन्,’ लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईं भन्छिन्, ‘हामी सम्बन्धित निकायसँग छलफलमै छौँ ।’  कार्यतालिकामा नेपाली सेनाको अधिकृत क्याडेट तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेटको साउन–भदौमा र प्राविधिक अधिकृतको कात्तिकमा सूचना निकालिने उल्लेख छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक र सहायक निरीक्षकको साउनमै विज्ञापन प्रकाशन हुनुपर्नेमा अझै प्रकाशित भएको छैन । सशस्त्र प्रहरीको अधिकृत तहमा पनि भदौमै विज्ञापन हुनुपर्नेमा रोकिएको छ ।  संगठित संस्थानअन्तर्गत नेपाल आयल निगम, नेपाल धितोपत्र बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सांस्कृतिक संस्थान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विज्ञापन साउनमा हुने कार्यतालिकामा उल्लेख छ ।  त्यस्तै, भदौमै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोषको भर्ना हुनुपर्ने तोकिएकोमा प्रक्रिया अझै सुरु हुन सकेको छैन ।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत थारू क्लस्टरको विषयकै अन्योलले प्रहरीको भर्ना रोकिएको बताउँछन् । ‘यस वर्ष प्रहरीको भर्नाको प्रक्रिया सुरु हुन सकेको छैन,’ उनले भने, ‘यो विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ ।’  निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा र राष्ट्रिय मानव अधिकार आयोग सेवामा असोजको अन्तिम बुधबार राजपत्रांकित प्रथम श्रेणी, राजपत्रांकित द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको विज्ञापन गरिने उल्लेख छ । तर, मंगलबारसम्म यस विषयमा निर्णय हुन नसकेको लोकसेवा आयोग स्रोत बताउँछ । आयोगका अध्यक्ष माधव रेग्मी भन्छन्, ‘बुधबार यस विषयमा केही निर्णय आउँछ ।’  सर्वाेच्चमा रिट दायर गर्नेमध्ये एक प्रेमीलाल चौधरी सरकारले सर्वाेच्चको परमादेशअनुसार कानुनहरू संशोधन नगरेको बताउँछन् । ‘शिक्षा विधेयकमा केही कुरा समेटिएका छन्,’ उनले भने, ‘निजामती ऐन रोकिएको छ, जसकारण नयाँ भर्ना हुन सकेको छैन ।’ थारू समुदायको जनसंख्या ६.२ प्रतिशत भएकाले त्यही आधारमा छुट्टै आरक्षणको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।  संविधानमा टेकेर सर्वाेच्चको फैसला  सर्वाेच्चले संविधानको धारा १८ र ४२ मा टेकेर थारू समुदायलाई आदिवासी जनजातिभित्र नराखी स्वतन्त्र समुदायका रूपमा मान्यता दिई सोहीअनुसार आरक्षण दिन भनेको छ । हाल थारू समुदायले आदिवासी जनजाति समुदायका रूपमा आरक्षण पाउँदै आएका छन् । त्यसले गर्दा आदिवासी जनजातिका अन्य समुदाय हाबी हुने गरेको भन्दै थारू अगुवाले छुट्टै आरक्षण माग्दै आएका छन् ।  संविधानको धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’  धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था छ । १८ (३) मा भनिएको छ, ‘राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नेछैन । तर, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र/आर्थिक रूपले विपन्न खस–आर्यलगायत नागरिकको संरक्षण र सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिनेछैन ।’ यी दुई धारामा थारू समुदायलाई आदिवासी जनजातिमा नराखी स्वतन्त्र समुदायका रूपमा पहिचान दिएकाले सोही आधारमा उनीहरूलाई सरकारी निकायको भर्नामा पनि छुट्टै आरक्षण दिनुपर्ने व्याख्या सर्वाेच्चले गरेको हो ।  हालको निजामती सेवा ऐनको प्रावधानअनुसार कुल रिक्त पदमध्ये ४५ प्रतिशतमा समावेशी आरक्षणका आधारमा विज्ञापन हुन्छ । ४५ प्रतिशतमध्येबाट ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेसी, नौ प्रतिशत दलित, पाँच प्रतिशत अपांगता भएका व्यक्ति तथा चार प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याउने गरिएको छ । सर्वाेच्चको परमादेशपछि अब यो आरक्षणको समीकरण हेरफेर गर्नुपर्ने हुन्छ, जुन निकै जटिल र संवेदनशील विषय भएकाले सरकारले यसमा निर्णय गर्न सकेको छैन । सरकारले संघीय निजामती ऐन संसद्मा लैजाने निर्णय गरे पनि विवादका कारण अझै अघि बढाउन सकेको छैन । नयाँपत्रिकाबाट

बागमती प्रदेशसभाबाट कामकाजी भाषासम्बन्धी विधेयक पारित

बागमती प्रदेशसभाबाट कामकाजी भाषासम्बन्धी विधेयक पारित

९६३ दिन अगाडि

|

२३ असोज २०८०

बागमती प्रदेशसभा बैठकले सोमबार दुइवटा विधेयक सर्वसम्मतले पारित गरेको छ । जसमा सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको छ । प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ पेश गरेका थिए ।  सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गरिएको उक्त प्रस्तावको पक्षमा मत माग्दा सबै सांसदहरुले समर्थनसहित हुन्छ भनेका थिए । त्यसपछि विधेयक पारित भएको थियो । सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई प्रदेश राजपत्रमा प्रकाशित एएपछि ऐनको रुप लिनेछ । सो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको १८० दिनपछि मात्र लागु हुनेछ ।  उक्त ऐन कार्यान्वयन भएसंगै प्रदेशको सरकारी कामकाजमा नेपाल (नेवार) र तामाङ भाषाको प्रयोग गर्न सक्ने र राजपत्रसमेत सो भाषाहरुमा प्रकाशन गर्न सक्ने व्यवस्था रहेको छ । नेपाली भाषाबाहेक प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषाको संरक्षण, सम्वद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा सहज पहुँचलाई अभिवृद्धि गरी बहुजातीय र बहुभाषिक विविधतामा एकता कायम गर्न वाञ्छनीय भएकाले प्रदेश सरकारले उक्त ऐन निर्माण गरेको हो भनिएको छ ।  भाषासम्बन्धी विधेयक पास गर्ने बागमती पहिलो प्रदेश सभा भएको छ ।  

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

९६३ दिन अगाडि

|

२२ असोज २०८०

                                                                                                                                     तस्बिरः अभिमन्यु चौधरी अविनाश चौधरी कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । उनको बुबा बेजुलाल डङ्गौराले जोशीपुर बजारमा बिजुलीसम्बन्धी सानो पसल गरेर जेनतेन घरखर्च धान्नुका साथै छोरालाई प्राविधिक धारको शिक्षा कृषि पढाउने आँट गरे ।  सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा थिए उनी । पढाइ सकिएपछि आशिष् र उनको निकै मिल्नेसाथी जोशीपुर –५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो ।  यसैबिच, छोराको पढाइ र सपना पूरा गर्न बेजुलाललाई आर्थिक सङ्कट आइलाग्यो ।  डेढ दशकदेखि चलाउँदै आएको पसल बेचेर बेजुलाल आफ्नो श्रीमती मञ्जुदेवीलाई लिएर कामको खोजीमा भारतको बेङ्लोरतिर लागे । यता, आशिषलाई ठुलो अवसर प्राप्त भयो, ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत इजरायल गए ।   कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उडेका उनी अब कहिल्यै नफर्किने गरी बिदा भएक छन् । शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा परी उनको निधन भएको थियो । एक्लो छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल भएका छन् ।  “साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन,” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भने, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।” छोराको मृत्युको खबरपछि आशिषका आमाबुबा बेङगलोरबाट घर फर्किरहेको जनाइएको छ । यता, धनगढीमा विवाह गरेकी आशिषकी दिदी अमृता चौधरी भाइको मृत्युको खबरले भावविह्वल भएकी छिन् । भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताए । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उनले भने, “तर, एकाएक मृत्युको खबरले सबै योजना खरानी बन्यो ।” उनले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताए ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।   गोरखापत्रबाट  

इजरायल घटना नसेलाउँदै सिक्किममा १० नेपाली बेपत्ता

इजरायल घटना नसेलाउँदै सिक्किममा १० नेपाली बेपत्ता

९६३ दिन अगाडि

|

२२ असोज २०८०

इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् ।  ‘टिष्टामा आएको बाढीपछि उहाँहरु आफन्तसँग सम्पर्कविहीन हुनु भएको छ । सरकारबाट तदारुकताका साथ खोजी आवश्यक भयो,’ फियाकले भने ।  बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए ।  ‘दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको छ । उता सम्पर्क स्थापित भएको छैन । सिक्किमका मिडियामा हामीले खबर गरेका छौँ,’ पोखरेलले भने, ‘प्रहरीसँग सम्पर्क हुने अवस्था पनि छैन । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै सकेको छैन ।’  उता, माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बेपत्ता व्यक्तिहरुको खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।  घटना के भएको थियो ? बीबिसीका अनुसार असोज १६ गते मङ्गलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो । बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो । रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिट सम्मले जलसतह बढेको बताएका थिए । नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप जटिल बनेको बताइएको छ । सीडब्ल्यूसीका अनुसार अधिकारीहरूले केही सैन्य गाडी हिउँको लेदोमा डुबेको बताएका थिए । कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएका छन् ।  स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक रोकिएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् । त्यसमध्ये इलामका स्थानीय पनि रहेका छन् । तस्बिरः बिबिसी