टीकापुर घटनाका ४ जना  कारागारबाट रिहा

टीकापुर घटनाका ४ जना कारागारबाट रिहा

९८३ दिन अगाडि

|

३ असोज २०८०

सुदूरपश्चिमका राज्यमन्त्रीद्वय जिम्मेवारीविहीन हुँदा गुनासो

सुदूरपश्चिमका राज्यमन्त्रीद्वय जिम्मेवारीविहीन हुँदा गुनासो

९८३ दिन अगाडि

|

२ असोज २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई राज्यमन्त्रीहरू जिम्मेवारीविहीन भएका छन् । मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीले औपचारिक जिम्मेवारी नदिँदा यहाँका राज्यमन्त्रीद्वय गीता देवी माल र कैलाश चौधरी जिम्मेवारीविहीन देखिएका हुन् । नियुक्त भएको लामो समयसम्म पनि वन वातावरण तथा उद्योग पर्यटन राज्यमन्त्री माल र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री चौधरी कामविहीन बनेका हुन् । माल नेकपा माओवादी केन्द्रबाट तथा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् । राज्यमन्त्री मालले भनिन्, ‘मलाई हालसम्म कुनै औपचारिक तथा विषयगत जिम्मेवारी दिइएको छैन । जसले आफैलाई राम्रो फिलिङ भएको छैन । मन्त्रालयको क्षेत्र बृहत् भएकाले जिम्मेवारी बाँडफाँट गरिँदा हाम्रो काम परिणाममुखी हुन्थ्यो भन्ने हो । कार्यभार पनि कम हुन्थ्यो ।’ उनले आफ्नो जिम्मेवारीबारे कुरा पनि राखेको तर व्यवहारमा अझै नपाएको जिकिर गरिन् । नेकपा माओवादी केन्द्रकै रमेशसिंह धामीलाई वन वातावरण तथा उद्योग पर्यटन मन्त्री बनाइदा माललाई सोही मन्त्रालयको राज्यमन्त्री दिइएको हो । त्यस्तै, राज्यमन्त्री चौधरी पनि जिम्मेवारीविहीनको पीडाबाट गुज्रिरहेका छन् । जिम्मेवारी नपाउँदा अझैसम्म के काम गर्ने, के नगर्ने, आफ्नै अधिकार क्षेत्र कहाँसम्म हो ? भन्नेबारे अन्यौलता रहेको राज्यमन्त्री चौधरी बताउँछन् । उनले भने, ‘हुन त हामी एउटै पार्टी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हौ । तर खै ? कामको बाँडफाँट बुझ्न सकिरहेको छैन । जिम्मेवारी दिँदा समग्र मन्त्रालय तथा सरकारकै कामको प्रभावकारिता बढ्थ्यो भन्ने हो ।’ नागरिक उन्मुक्ति पार्टीकै रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाइँदा कैलाश चौधरीलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । राज्यमन्त्रीद्वय माल र चौधरीले जिम्मेवारीविहीन भएको दुखेसो सुनाइरहँदा उता मुख्यमन्त्री कमलबहादुर शाहले भने यसबारे आफूलाई जानकारी नआएको बताउँछन् । मुख्यमन्त्री शाहले यसबारे सम्बन्धित मन्त्रालयका मन्त्रीले नै उपयुक्त जिम्मेवारी दिई कार्यसम्पादन बढाउनुपर्नेमा जोड दिए । २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री शाहले नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, उनको सवारी दुर्घटना मृत्यु भयो । अहिले यो मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका शिवराज भट्ट छन् ।  नेकपा माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् ।  मुख्यमन्त्री शाहले २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउँदै सरकारलाई पूर्णता दिएका थिए । 

अग्रासन दिएर सकियो थारू पर्व अट्वारी

अग्रासन दिएर सकियो थारू पर्व अट्वारी

९८४ दिन अगाडि

|

१ असोज २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ सुर्मीका दुखीराम डंगौरा (७३) विगतको निरन्तरता दिदै खानेकुराको कोशेलीसहित आफ्नी विवाहित छोरी पार्वती चौधरीकहाँ ‘अग्रासन’ पुर्याएका छन् । पुस्तौँ–पुस्तादेखि चल्दै आएको संस्कारअनुसार डंगौराले अघिल्लो दिन पत्नी, छोरी तथा दिदी बहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै आइतबार अटवारी पर्वको निराहार व्रत बसेका थिए । आज सोमवार असोज १ गते खानेकुराको कोशेलीस्वरुप अग्रासन पुर्याएका हुन् ।  कैलारी–६ बेनौलीका सोमलाल डंगौरा थारु (५५)ले आफ्नी विवाहित बहिनीहरुलाई मायाको कोशेलीस्वरुप अग्रासन दिन पुगेका छन् ।  ‘दिदीबहिनीहरु अग्रासनको आशामा बसेका हुन्छन् । दिन नगई हुन्न’, दुखीरामले पुस्तौँदेखि चल्दै आएको रीतिअनुसार अग्रासन दिन जान लागेको बताए ।  थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको बताउँदै थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले पुरुषहरु महिलाहरुको दीर्घायूको कामना गर्दै व्रत बस्ने गरेको सुनाउँछन् । अग्रासनरुपी कोशेलीमा, अण्डि चामलको रोटी, गहुँको रोटी, तेलमा पकाइएको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित, विभिन्न तरकारी, फलफूललगायत हुन्छ । अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।  अटवारीबारे किम्वदन्ती कुनैबेला भेंवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किम्वदन्ती छ । सो किम्वदन्तीअनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो । अर्को किम्वदन्तीअनुसार एक समयमा द्रौपदीसहित पाँच पाण्डवहरु सुर्खेतको काँक्रेबिहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।  त्यसबेला भीम टावामा बडेमानको रोटी पकाइरहेका थिए । रोटी पकाउँदा पकाउँदै सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरुले पनि टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् ।  अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग गरेर फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउँछन् । भीमको सम्झनामा एउटा ठूलो रोटी नपल्टाई एका तर्फबाट मात्रै पकाउने चलन छ ।  मनाउने विधि र अग्रासनको महत्त्व सामान्यतया अट्वारी पर्व कृष्णजन्माष्टमी पर्व पछिको दोस्रो आइतबार पर्दछ । आइतबारभन्दा अघिल्लो राति (शनिबार) भिन्सरिया (दर) खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खान पाइन्न । यसरी सूर्य देउतालाई पनि अटवारीमा पूजा गरिन्छ । त्यसपछि, सोमबार बिहान फरहार गरिन्छ । तयारी परिकारबाट एक भाग अग्रासनको लागि निकालिन्छ । एक भाग व्रतालुहरूले ज्यूनार गर्छन्, जसलाई फरहार भनिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजनपछि अग्रासन दिन जाने चलन छ । पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ ३१ गते आइतबार र असोज १ गते सोमबार अट्वारी पर्व मनाएका छन् । यसैबीच सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सरकारले आइतबार अटवारी पर्वको सार्वजनिक विदासमेत दिएको थियो ।  

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

९८६ दिन अगाडि

|

३१ भदौ २०८०

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन थारु कल्याणकारिणी सभा (थाकस) हल, बानेश्वरमा शनिवार भदौ ३० गते सम्पन्न भएको छ । महाधिवेशनले बाराकी सुशीला चौधरीको अध्यक्षतामा हाललाई १४ सदस्यीय कार्यसमिति गठन गरेको छ ।                                                                                                                     नवनिर्वाचित अध्यक्ष सुशीला चौधरी जसको वरिष्ठ उपाध्यक्ष सुमन कुमारी चौधरी (उदयपुर) उपाध्यक्षद्वयमा धर्मेन्द्र कुमार चौधरी (सप्तरी) र नेहा पन्जियार (सर्लाही), महासचिव सुबोध कुमार चौधरी (सप्तरी), सचिवद्वय मायाकुमारी चौधरी (सप्तरी) र प्रदुमन चौधरी (सप्तरी) तथा कोषाध्यक्ष साजन चौधरी (कैलाली) चयन भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा सोभित चौधरी (बर्दिया), रुपेश राय थारु (महोत्तरी), कृति चौधरी (रौतहट), दिप्सन चौधरी (मकवानपुर), नवीन चौधरी (कैलाली) र निरन्जन चौधरी (सप्तरी) रहेका छन् । उता थाकसको केन्द्रीय पार्षदमा थाविसका संस्थापक अध्यक्ष संजय चौधरीलाई चयन गरिएको छ । 

बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

९८९ दिन अगाडि

|

२८ भदौ २०८०

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो ।  रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती छ । यहाँ विगतदेखि नै मेला लाग्ने गरेको छ । बुबाको मुख हेर्ने  दिन तथा आमाको मुख हेर्ने दिनमा श्रद्धालु आउने गरेको स्थानीय शम्भु यादवले बताए । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गरेको स्थानीय नथुनी यादवले बताए । बुबा, आमा नभएकाहरुले अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएका छन् ।  रामायण कालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी वाण लागि मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ । अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित छ । यस स्थानमा मन्दिर बनाइएको छ । यसको संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।  

पूर्व सभामुख नेम्वाङको हृदयघातबाट निधन 

पूर्व सभामुख नेम्वाङको हृदयघातबाट निधन 

९९१ दिन अगाडि

|

२६ भदौ २०८०

पूर्व सभामुख तथा एमाले उपाध्यक्ष  नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई मंगलवार राति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव  कृष्णप्रसाद काफलेले जानकारी दिए । उनी जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।  त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै  दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।  विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए। विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए ।  विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए । 

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

९९१ दिन अगाडि

|

२५ भदौ २०८०

भदौ २० गते डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश राजधानी सार्न सकिने सन्देशसहितको अभिव्यक्ति दिए । उनले भने, ‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुङ्ग्याउने पक्षमा छौँ । एक पटक संघीय सरकारसँग यहाँको सबै यथार्थ परिस्थितिबारेमा जानकारी गराउँछौँ । संघीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ । यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ ।’ मुख्यमन्त्रीले नै यस्तो धारणा सार्वजनिक गरेपछि ५ वर्षसम्म पनि वनको लफडा र कानुनी जटिलताले स्थायी राजधानीमा भौतिक संरचना निर्माण हुन नसकेको अवस्थाका बिच राजधानी नै सार्ने कि भन्नेखालको बहस पुनः तातेको छ । प्रदेश राजधानी गोदावरीमै राख्ने कि सार्ने भन्नेबारे बहस भइरहेको हो । मुख्यमन्त्री शाहले पनि राजधानी निर्माणमा धेरै ढिला भएकाले अब यसको निकास दिने प्रस्ट पारेका छन् । उनले भने, ‘५ वर्षसम्म राजधानी बनेन । अब उपयुक्त ठाउँमा राजधानी बनाउनु पर्ला नि ! प्रस्तावित ठाउँमा राजधानी के कति कारणले बनेन ? किन रोकियो ? अब के गर्नुपर्ला ? कसले बनाउन सकेन ? अथवा नेताले चाहेनन् कि, क्याबिनेटले सकेन कि ! बहस त चलाउनु प¥यो नि ।’ मुख्यमन्त्री शाहले राजधानी सार्ने नै आफ्नो पहिलो प्राथमिकता नरहेको पनि प्रस्ट पारे । ‘अब बन्छ भने बनाउने हो, प्रोसेसमा जानु प¥यो,’ उनले भने, ‘त्यहाँ बन्दैन भने जहाँ बन्छ, त्यहाँ त बनाउनु पर्ला नि ! त्यसको लागि प्रधानमन्त्रीसँग, राजनीतिक दललगायत सबै पक्षसँग छलफल सुरु गर्छु र यसै आर्थिक वर्षमा टुङ्ग्याउँछु ।’ मुख्यमन्त्री शाहले यस विषयमा हालसम्म औपचारिक रुपमा छलफल भने थालेका छैनन् ।   सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । दुई तिहाइ बहुमतले सो स्थानलाई स्थायी राजधानी घोषणा गरी १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो । गोदावरीमा राजधानी किन बनेन ? तत्कालीन समयमा प्रदेश सभाको सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर २ वटा रिट निवेदन दायर भयो । जसको अझैसम्म किनारा लागेको छैन । अधिवक्ता देवीकुमारी जोशी र मनिष कुमार श्रेष्ठसहितका ९ जनाले सामूहिक रुपमा रिट निवेदन दायर गरेका थिए । अदालतमा मुद्दा विचाराधीन रहेका कारण पनि भौतिक संरचना निर्माण लगायतका काम ओझेलमा परेको हो । त्यस्तै, प्रदेश सरकारले राजधानीका लागि चाहिने जग्गा भोगाधिकारका लागि केन्द्रीय वन मन्त्रालयमा फाइल पेस गरेको थियो । तर वन मन्त्रालयले भोगाधिकार नदिँदा पनि निर्माणको कार्य अगाडि नबढेको बताइएको छ । त्रिलोचन भट्ट नेतृत्वको तत्कालीन सरकारले राजधानी पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाउन केही आर्थिक वर्ष बजेटसमेत विनियोजन गरेको थियो । तर वनको लफडा र कानुनी जटिलताका कारण बजेट कार्यान्वयनमा गएन । आव २०७७/७८ का लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको लागि २ करोड ७४ लाख बजेट विनियोजन गरिएको थियो । त्यसअघि पनि आव २०७६/७७ मा २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उहिले विरोधी, अहिले नेतृत्व राजधानी निर्माणको प्रक्रिया वन मन्त्रालय र केही कानुनी उल्झनले मात्रै रोकिएको होइन । त्यस ताका प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसको कडा विरोधका कारणले पनि रोकिएको हो । अन्तर्राष्ट्रिय जैविक मार्ग मासेर राजधानी बनाउनु हुन्न भनेर कांग्रेसले कडा विरोध जनाएको थियो । त्यस ताका प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भनेका थिए, ‘अझै केही बिग्रिएको छैन । पुनर्विचार गर्दा राम्रो होला, वन मासेर राजधानी बनाउनु ठिक होइन । वातावरणीय दृष्टिले पनि चुरे भावर क्षेत्रसँग जोडिएको गोदावरी क्षेत्रको वन मासेर राजधानी बनाए केही समयमै कैलाली र कञ्चनपुर जिल्लालाई मरुभूमिकरण गर्नु हो ।’ त्यस्तै, कांग्रेसका अर्का सांसद भरतबहादुर खड्काले राजधानी तोक्न बनाइएको समिति नै असंवैधानिक रहेको बताउँदै राजधानी बनाउने निर्णयमा कांग्रेस नराम्ररी चुकेको अभिव्यक्ति दिँदै आएका थिए । उनले भनेका थिए, ‘तराईमा राजधानी बनाउनु भनेको पहाडी क्षेत्रलाई उपेक्षा गरिएको हो । सामरिक हिसाबले पनि पहाडमै राजधानी ठिक थियो । केही राजनीतिक अवस्था फेरबदल हुने बित्तिकै गोदावरीलाई राजधानी बनाउने सवाल र निर्णय नै उल्टिन्छ ।’ समयले कोल्टे फेरेको छ । हाल प्रदेश राजधानी निर्माणको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमाथि थपिएको हो । पूर्व सांसद खड्काले त्यतिबेला दिएको अभिव्यक्ति अनुसार हाल मुख्यमन्त्री शाहले कार्य अगाडि बढाउँछन् या पुरानो निर्णय कार्यान्वयनमा लैजान्छन्, त्यो हेर्न बाँकी छ ।