गण्डकी प्रदेशको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी

गण्डकी प्रदेशको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी

९४० दिन अगाडि

|

१६ कात्तिक २०८०

नेपालीको शव बाकसमा ल्याउँदा लुकेको आर्थिक पाटो

नेपालीको शव बाकसमा ल्याउँदा लुकेको आर्थिक पाटो

९४१ दिन अगाडि

|

१५ कात्तिक २०८०

कृष्णसिंह धामी गत सेप्टेम्बरमा एकजना नेपाली महिलाको रोमानियामा मृत्यु भयो । वैदेशिक रोजगारीको लागि त्यहाँ पुगेको केही महिनामै उनको मृत्यु भएको थियो । उनी जति रकम तिरेर रोमानिया पुगेकी थिइन्, त्यो भन्दा बढी खर्च उनको शव नेपाल ल्याउँदा भयो ।  उनको शव वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत् ल्याइएको थियो । श्रम स्वीकृति लिएर रोमानिया पुगेकीले उनको शव बोर्डले नै ल्याइदिएको थियो । त्यसका लागि बोर्डले साढे ६ हजार यूरो अर्थात् करिब ९ लाख भन्दा बढी खर्च बेहोरेको थियो ।  .... लमजुङका गमबहादुर गुरूङको असोज १७ गते दक्षिण कोरियामा निधन भयो । ईपीएसमार्फत् कोरिया पुगेका उनी ड्युटी गरेर आफ्नो कोठामा सुतेको अवस्थामै मृत फेला परेका थिए ।  त्यसअघि पनि ५ वर्ष कोरियामा काम गरेर फर्किएका उनी गत फागुनमा घर आएका थिए । त्यसपछि तीन महिना विदा सकेर गत वैशाखमा कोरिया पुगेका थिए । कोरिया गएको केही महिनामै सुतेको अवस्थामै बिते ।  मृत्युपछि उनको शव १० दिनमा नेपाल ल्याइएको थियो । त्यसका लागि बोर्ड सचिवालयले १ करोड २३ लाख कोरियन वन अर्थात् करिब १२ लाख नेपाली रूपैयाँ खर्च बेहोरेको थियो । उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनको घरसम्मको ढुवानी खर्चसमेत बोर्डले नै बेहोरेको थियो ।  त्यस्तै, नवलपरासीका अरूण कुमालको जापानमा मृत्यु हुँदा उनको शव नेपाल ल्याउँदा १५ लाख जति खर्च भएको थियो । त्यो पैसासमेत बोर्ड सचिवालयले कोषमार्फत् बेहोरेको थियो ।  यसरी हेर्दा विदेशमा नेपालीको मृत्यु हुँदा शव ल्याउँदा लाखौं रूपैयाँ बाहिरिने गरेको छ । नेपालीहरूले पठाएको रेमिट्यान्सको कुरा गरिरहँदा विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउँदा लाग्ने खर्चको भने चर्चा हुने गरेको छैन ।  त्यसमा पनि मलेसिया तथा खाडी मुलुकको तुलनामा अमेरिका, यूरोप लगायतका देशमा मृत्यु हुने नेपालीको शव ल्याउँदा निकै महँगो पर्ने गरेको देखिन्छ ।  बोर्ड सचिवालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷०८० मा १ हजार २०८ जना नेपालीको शव नेपाल ल्याइएको थियो । त्यसमा ३१२ शव ल्याउँदा बोर्डले २ करोड ६० लाख ७५ हजार रूपैयाँ विदेश पठाएको थियो ।  त्यस्तै, शव व्यवस्थापन (शव ढुवानी) का लागि २ करोड ८५ लाख ८० हजार रूपैयाँ खर्च गरेको थियो । बोर्डले मृत्युपश्चात ६५ करोड ५१ लाख ८० हजार रूपैयाँ आर्थिक सहायता प्रदान गरेको थियो ।  बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको क्रममा रहँदा मृत्यु भएको खण्डमा ७ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्दै आएको छ ।  बोर्डले शव नेपाल ल्याउँदा लाग्ने खर्च परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित देशमा रहेको राजदूतावासमार्फत् पठाउने गरेको छ ।  कसरी ल्याइन्छ शव ?  नेपालबाट विदेश गएका कति नेपालीको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन । किनभने कतिपयको मृत्यु भएपछि सम्बन्धित देशमा नै अन्तिम संस्कार गर्ने गरिएको छ ।  त्यसमा पनि सरकारको तथ्याङ्क देखिने भनेको श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मात्र हो । त्योबाहेक अन्य बाटोबाट गएर मृत्यु भएको खण्डमा उनीहरूको तथ्याङ्क सरकारसँग हुँदैन ।  त्यसरी श्रम स्वीकृति नलिई गएकाहरूको शव नेपाल ल्याउन सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासले समन्वय त गर्छ । तर, सरकारले नै शव ल्याउँदा लाग्ने खर्च भने बेहोर्दैन ।  बोर्डको सूचना अधिकारी तथा निर्देशक टिकाराम ढकालले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको हकमा शव ल्याउँदा लाग्ने खर्च बोर्डले नै बेहोर्दै आएको बताए । उनका अनुसार मलेसिया तथा खाडी मुलुकहरूमा बढीमा ५ लाख रूपैयाँ खर्च हुने गरेको छ । तर, यूरोप, अमेरिकामा मृत्यु भएका नेपालीको शव ल्याउँदा भने  त्यसको दोब्बरभन्दा बढी खर्च हुने गरेको छ ।  शव नेपाल ल्याउँदा लाग्ने खर्च सम्बन्धित देशले विभिन्न शीर्षकअनुसारै दूतावासलाई जानकारी गराउँछ । सोही आधारमा दूतावासले बोर्डलाई खर्चको चिठ्ठी पठाउँछ । र, बोर्डले कल्याणकारी कोषमार्फत् उक्त खर्च दाखिला गर्ने गरेको निर्देशक ढकालले बताए ।  कुन–कुन शीर्षकमा हुन्छ खर्च ?  बोर्डका अनुसार सम्बन्धित देशले हस्पिटल, कफिन बाकस, डेथ सर्टिफिकेट, भिसा क्लियरेन्सदेखि एप्लिकेशन प्रोसेस, ट्रान्सपोर्ट कस्ट, फरेन्सिक रिपोर्ट चार्ज, भागेको हकमा थप चार्ज तिर्नुपर्ने हुन्छ ।  त्यस्तै, शव जति दिन हस्पिटल तथा शवगृहमा राखियो, त्यति धेरै खर्च बढ्दै जान्छ । शव नेपाल ल्याउन लाग्ने सबै प्रक्रिया पुरा गरेर मात्र ल्याउन पाइन्छ । त्यसका लागि सबै खर्च नतिरेमा ल्याउन पाइँदैन ।  मलेसिया तथा खाडी मुलुकको हकमा शव नेपाल ल्याउन त्यति गाह्रो हुँदैन । तर, यूरोप लगायतका अन्य देशमा भने महँगोसँगै शव ल्याउन निकै गाह्रो हुने गरेको उनको भनाई छ ।  पहिलो दायित्व सम्बन्धित कम्पनीको   कुनै व्यक्तिको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित कम्पनीको हुन्छ । यदि कम्पनीले खर्च नबेहोरेको खण्डमा नेपाल सरकारले नै शवको खर्च बेहोर्ने गरेको निर्देशक ढकालले बताए ।  त्यसका लागि श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको हकमा कम्पनीलाई जिम्मेवार बनाउन सकिने अवस्था छ । तर, श्रम स्वीकृति लिएर गएपनि श्रमिक भागेर अर्को ठाउँमा गएको खण्डमा, भागेर लुकेर बसेको खण्डमा तथा अनडकुमेन्टेड भएको खण्डमा भने समस्या हुने गरेको उनको भनाई छ । ‘कम्पनीलाई रेस्पोन्सेबल बनाउन चाहिने आधार त हुनुपर्छ । यदि त्यस्तो नभएको खण्डमा श्रम स्वीकृति लिएर गएको श्रमिकको मृत्यु भयो भने नेपाल सरकारको दायित्व हुन्छ’ उनले भने ।  यूरोपमा मृत्युको डरलाग्दो अवस्था   यूरोप सपना धेरै नेपालीको हुन्छ । त्यसका लागि दसौं लाख रूपैयाँ खर्चसमेत गर्न पछि हट्दैनन् । घर खेत बेचेर हुन्छ वा ऋण निकालेर हुन्छ, जसरी पनि जाने भन्ने हुन्छ ।  एउटा सामान्य मुलुक जाने र त्यहाँबाट अर्को मुलुक जाने योजना उनीहरूको हुन्छ । जस्तो कि केही महिना अगाडि एकजना क्रोसिया पुगे । नेपालबाट क्रोसियाको श्रम स्वीकृति लिएका उनको गन्तव्य भनेको पोर्चुगल थियो । क्रोसिया पुगेपछि उनी त्यहाँबाट भागेर सर्बियाको जंगल हुँदै एक साता हिँडेर पोर्चुगल पुगे । यदि त्यो बीचको उनको मृत्यु भएको खण्डमा सरकारले नै सबै खर्च बेहोर्नुपर्ने हुन्थ्यो ।  प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) की प्रोग्राम अफिसर शान्ति सिंह भन्छिन्, ‘नेपालीको यूरोप सपनाले दसौं लाख खर्च गरेका हुन्छन् । अनि व्यक्तिगत श्रम स्वीकृति लिन्छन् । त्यसैले, मृत्यु भएको खण्डमा सम्बन्धित कम्पनी जिम्मेवार हुँदैनन् । उनीहरूको शव जसरी पनि ल्याउनुपर्ने हुन्छ । त्यसका लागि सरकारले १० देखि २० लाख रूपैयाँ खर्च बेहोर्नुपर्ने हुन्छ ।’   माल्टाको लागि श्रम स्वीकृति लिएर गएकाहरूको सपना पोर्चुगल तथा पोल्याण्ड हुन्छ । श्रम स्वीकृति लिँदा उनीहरूले कल्याणकारी कोषमा १ हजार ५०० देखि २ हजार ५०० रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । श्रमिकलाई भोलि कुनै समस्या परेमा सरकारले त्यही कोषबाट आर्थिक सहायता प्रदान गर्ने, शव झिकाउने जस्ता कार्य गर्दै आएको हो । रातोपाटीबाट  

साहित्यकार सुशील चौधरीले मनाए परिवारसँग दसैँ

साहित्यकार सुशील चौधरीले मनाए परिवारसँग दसैँ

९४६ दिन अगाडि

|

१० कात्तिक २०८०

                                                                                                                                         तस्विरः मानबहादुर चौधरी साहित्यकार सुशील चौधरीले आफ्नो पुर्ख्यौली गाउँ बर्दियाको मयुरबस्तीमा परिवारसँग दसैँ मनाएका छन् ।  २०७९ पुसको अन्तिम साताबाट ब्रेन ह्यामरेज भई थलिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आए पनि फलोअप पुगिरहेको छैन ।  प्रत्यक्ष भेटघाट तथा फोनमा कुराकानी गर्ने शुभेच्छुकहरुलाई उनले पुराना कुरा उप्काएर आफ्नो याददास्त बलियो रहेको  प्रमाण दिइरहेका छन् । तर, हिँड्डुल गर्न, लेखपढ गर्न, कम्प्युटर चलाउन उनलाई अझै पनि समस्या रहेको छ ।  उनले ढकियाखबरमार्फत् आफ्ना सबै शुभेच्छुकहरुलाई दसैँ, तिहार तथा छठको शुभकामना दिएका छन् । उनकी धर्मपत्नीले भनिन्, ‘उहाँको फलोअपका लागि यसै कार्तिक महिनामा काठमाडौं लानुपर्ने छ । तर, आर्थिक अभावले सकिरहेका छैनौं ।’ उनको नेपालगन्ज, काठमाडौं, रजहरलगायतको विभिन्न अस्पतालमा लामो समयसम्म उपचार भएको थियो । 

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

९५० दिन अगाडि

|

६ कात्तिक २०८०

मानबहादुर चौधरी 'पन्ना' थारु जातिको बसोबास भएको कर्णालीको एक मात्र जिल्ला हो, सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्ग र जुम्लारोड हाइवेभन्दा दक्षिणतर्फ ३६ गाउँ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारु गाउँहरू रहेका छन् । दाङबाट बसाइँ सराइ गरेर आएकाले सुर्खेती थारुहरू दंगौरा हुन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतका दंगौरा थारुहरुको चाडपर्व मनाउनेमा एकरुपता देखिन्छ ।  थारु समुदायले डस्या अर्थात् दसैँ अन्य समुदाय भन्दा मौलिक र फरक तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय थारु समुदायमा दसैँ पर्वको मौलिकता हराउँदै आएको समुदायका अगुवाहरू बताउँछन् ।  घटस्थापनाको दिनलाई थारुले ‘जिउरा ढैना’ दिन भन्छन् । बिहान गरढुरिया (घरमुली) बिहानै नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर (डेहुरार) देउथानको प्रकाश कम लाग्ने छायामा मकैको जमरा राखिन्छ । जमरा राखिसकेपछि घरको जेठो छोराले नङ, कपाल, जुङ्गा, दारी केही पनि काट्न  मिल्दैन । यो पूर्खाप्रतिको सम्मान हो भन्ने गरिन्छ । दशैँको चौथो दिनसम्म खासै केही हुन्न । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृपूजा गर्दछन्, जसलाई सराढक दिन भन्छन् । थारुले सप्तमीको दिनबाट मात्र विशेष रूपमा दसैँ मनाउँछन् । त्यो दिनलाई ‘पैनस्टोपी ढोइना दिन’ भनिन्छ । यो दिन घरको पनि सरसफाइ गरिन्छ । त्यसैले, झोल झरैना दिन पनि भनिन्छ ।  अष्टमीमा पुर्खाहरूलाई पुज्ने जमरा, बाबरीसँगै ढिक्री  हो, जसलाई ढिक्रह्वक दिन भनिन्छ । चामलको पिठोको ढिक्री बफाएर ममजस्तै पकाइन्छ ।  नुहाइ धुवाइ गरेपछि महिलाहरूले कपाल समेत कोर्न मिल्दैन, सप्तमीको दिनदेखि अष्टमीको दिनसम्म । किनकि पितृको भागमा रौँ पर्न सक्छ भन्ने जनविश्वास छ । जसरी दसैँमा नयाँ लुगाको महत्व छ, त्यसैगरी थारु समुदायमा देवीदेवताहरूलाई दसैँमा नयाँ सिंगारपटार गरिन्छ । नयाँ लुगाको रूपमा धागोले तीन–तीन पटक फेरा गरेर बाँटिन्छ । उनीहरुले पूजा गर्ने सौँरा भनेको गणेश तथा घरकी मैयाँ भनेको पार्वती हो ।  पौवा, दाउरा भारी, रोटी, गोलाकारलगायत आकारमा देउतालाई चढाइने ढिक्री पाँच किसिमको हुन्छ, जसले आफ्नो पुर्खाहरूको त्यो बेलाको सामान प्रयोग र स्थितिलाई चित्रण गर्छ । त्यो दिन विशेष खालको मादल पनि बजाइन्छ ।  भरलाको पातमा ढिक्री बेरेर घरका ढोका, छानामा घुसाइन्छ । त्यो भनेको पितृहरू रातमा आएर खाना खान्छन् भन्ने जनविश्वास छ । मादल बजाएर देउतालाई ढिक्री चढाएपछि लगभग एक घण्टाजति केही खाइन्न । देवताहरू खाँदैछन्, उनीहरूले खाइसकेपछि मात्र प्रसादको रूपमा हामीले खानुपर्छ भन्ने भनाई छ ।  नवमीको दिनलाई ‘मुर्गी पुज्ना दिन’ अर्थात् मुर्गह्वा भनिन्छ । यो दिनमा पितृहरूलाई पिण्ड दिइन्छ । बिहान उठ्ने बित्तिकै सबैले नुहाई धुवाइ गर्ने, त्यसपछि घरमुलीले बाबरीको फुल, जमरा, सिरुको कुचो अनिवार्य चढाउँछन् ।  अघिल्लो दिन बली चढाएको भेडोरुपी कुभिण्डो र बेलको डाँठमा उनिएको ढिक्री पूर्वपट्टिको ढोकाको छानामाथि फालिन्छ । दहित थरका थारु बाहेकका थारूहरू नवमीका दिन पुर्खाहरूले गर्दै आएको चलनअनुसार बलि पनि चढाउने काम हुन्छ । बलिका रूपमा सबैजनाले भाले चढाउँछन् । अष्टमीको दिनमा बनाएको कुभिण्डोको भेडोलाई बिहानका पहिलो प्रहरमै देउताको थानमा रहेको तरबारले एकै पटकमा छिनाल्ने र रक्सी चढाउने गरिन्छ । महिलाले नुहाई धुवाइ गरी भान्सा लितपोत गरी भात, मासको तरकारी, कुखुराको मासु, माछाको तरकारी, मास, सिमी, कुभिण्डो पकाएर पूजाकोठामा लगेर राख्ने गरिन्छ । त्यसपछि पिट्टर बोलाउने गरिन्छ ।  यस क्रममा मालुको पातको पाँचवटा टपरी बनाइएको हुन्छ । एउटा दुनामा जल, एउटामा रक्सी, पाँचवटा तरकारी हालेर भाग छुट्टयाइन्छ । खाना दिँदा कसैले उत्तरपट्टी दिन्छन् त कसैले दक्षिण । तर, पस्कदा देब्रे हातले दिनुपर्छ । प्रसाद दिइसकेपछि बान दिने भन्ने हुन्छ । त्यो भनेको शरीरको विभिन्न भागहरू चिरेर निकालिएको रगत हो । त्यो दिइसकेपछि बल्ल परिवारका सबै सदस्यले खाना खान्छन् ।  बिहानको खानापछि पूजा गरिएको सामग्री पात, टपरी तथा अन्य सबै फोहोर बढारेर २÷३ बजेतिर पुर्खाहरूको सम्मान गर्दै नाचगान गर्दै वर्षदिनको मेलामा रूपमा गाउँभरिका मान्छेहरू सँगै नजिकको घाट तथा खोलामा गएर पिण्ड सेलाउन (पिट्टर अस्रैना) जान्छन् । पिट्टर सेलाउन खोलामा जाँदा गाइने गीतको उदाहरण यस्तो छः मोर पिहा गइल उई पुरु पाटन हो... ए हो मोर लग लनही सेन्डुरा बेसार... रि सिल पटिय नक.. सिल सिल पटियक भाली भाली लोर सेन्डुर पहिरी धनि अङ्गना बहार हो.. ए हो सवटि बिरहन मरजी जा महिलाहरूले परम्परागत पहिरनमा सजिएर ढकियामा तरकारी, रक्सी लगेका हुन्छन् । महिलाले सामूहिक गीत गाउँदै ‘पिट्टर पुहैना’ कार्य गर्छन् । जसलाई अन्य समुदायले पितृ पुज्ने भन्छन् । खोलामा पिट्टर दिएको भाग सेलाएर रक्सी चढाउँछन् ।  ढकियामा लगेको खानपिन, रक्सी खोला किनारमै खान्छन् । त्यो दिन दुनामा खान मिल्दैन, मालुको पातमा खान दिइन्छ । खानपिन गरेर फेरि नाचगान गर्दै घरमा फर्किन्छन् ।  दशमीको दिन बिहान फेरि धुमधामका साथ पूजापाठ गरिन्छ । गाउँको साझा ठन्वा÷मरुवा मन्दिर जस्तै हो । गाउँका एक घरका एकजना एक बोटल रक्सी, जमरा, बाबरी लिएर ठन्वामा जान्छन् । त्यहाँ विशेष पूजाआजा गरिन्छ ।  घरमा पारिवारिक टीका सकेपछि गाउँका अगुवा बरघर तथा गुर्वा (धामी) को घरमा पनि एक बोटल रक्सी, जमरा, बाबरी लिएर सामूहिक रूपमा गाउँलेबाट टीका लगाइन्छ । अन्य समुदायले रातो टीका लगाउने भएपनि थारु समुदायले भने सेतो टीका मात्र प्रयोग गर्छन् । अब आएर भने रातो टीकाको पनि प्रयोग हुन थालेको छ । बरघरको आँगनमा टीका लगाउने क्रममा सखिया नाच घन्किरहेको हुन्छ हुन्छ । महिलाहरू बरघरको पत्नीलाई टीका लगाइदिन्छन् । टीकासँगै थारु समुदायको दसैँ सकिन्छ । हराउँदै दसैँको मौलिकता अन्य समुदायले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा लगाउने गर्दछन् तर थारूहरुको दसैँ दशमीकै दिन सकिन्छ । अहिले अन्य जातिको प्रभावमा यो पर्वको मौलिकतामा कमी आएको देखिन्छ । अहिले कतिपय थारूहरूले पहाडियालाई विवाह गरेका छन्, उनीहरूमा केही फरकपना आएको देखिन्छ । समाज पनि समावेशी बन्दै गएकाले अन्य समुदायको प्रभाव थारु समुदायमा आएकोे हो । विगतमा सबै समान खालको हैसियतमा थिए, सबैको साधारण तरिकाको जनजीवन थियो । प्रत्येक थारु गाउँमा संस्कृति थियो, नाचगान भैराख्थ्यो । सखिया नाच, हुर्डुङ्ग्वा नाच, छोक्रा नाच दसैँमा अपरिहार्य जस्तै मानिन्थ्यो, पहिला । अहिले कुनै कुनै गाउँमा मात्र भेटिन्छ । सुर्खेतमा विभिन्न संघसंस्थाको पहलमा केही गाउँमा थारु संस्कृति संरक्षणको प्रयास भइरहेको छ ।  पुर्खाहरूले पाउ, घुँडादेखि कान हुँदै शिरमा टीका लगाई आर्शिवाद दिने गर्थे । तर, अहिलेको पुस्ताले आर्शिवाद फलाक्न समेत जान्दैनन् । साथै, अहिले ठन्वामासमेत पूजाआजा गर्ने प्रचलनमा कमी आएको देखिन्छ ।  पित्तर सेलाउन जाँदा पहिला सबै एकजुट भएर जान्थे । अहिले ससानो समूह बनाई सुटुक्क आफ्नै तरिकाले जाने गरेका छन् । यसरी कविला परम्परामा हुर्केका थारूहरूमा पनि सामूहिकताको कमी हुन थालेको देखिन्छ ।’

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

९५१ दिन अगाडि

|

५ कात्तिक २०८०

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।  आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्त्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो । ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । राज्य सञ्चालकले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरूमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानदेखि भीड लाग्ने गर्छ ।   यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दछ ।  आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।  देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् । महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती

गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती

९५२ दिन अगाडि

|

४ कात्तिक २०८०

गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालकसहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।  उनका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’ उनले भने, ‘पहिले हिँडाएर लगिन्थ्यो । आजभोलि सुविधा आयो, गाडीबाट पठाइन्छ ।’  ८ बजेको साइटमा डोली पठाइएको उनले बताए । गाडीमा चण्डीस्थानको पुजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीलाई समेत पठाइएको छ । फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् ।  दरौंदीको ठुलो वनबाट सङ्कलन गरेर बिहानै गोरखा दरबार पुर्‍याइन्छ । ‘काठमाडौँ पठाउने फूलपाती बिहानै ल्याउँछन् । गोरखा दरबारको दसैँघरमा भित्र्याउने फूलपाती चाहिँ दिउँसो ३ बजेतिर ल्याउनु हुन्छ,’ उनले भने, ‘त्यसलाई विशेष पूजाआजाका साथ दसैँघरमा भित्र्याउँछौँ ।’ हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

सखिया नाचमा रमाउँदै थारू बस्ती

सखिया नाचमा रमाउँदै थारू बस्ती

९५२ दिन अगाडि

|

३ कात्तिक २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौली गाउँमा ३ सातासम्म सखिया नाचको पूर्वतयारी भयो । दसैँको सुरुवातपछि यो नाच औपचारिक प्रदर्शन सुरु गरिएको छ । बेलुकीपख तयारीको क्रममा बजाइने मादलको ताल र मञ्जिराको छन्कारले गाउँ गुञ्जायमान छ । निकासी (पूजापाठ) गरिएसँगै औपचारिक रुपमा सखिया नाच प्रदर्शन हुँदै आएको छ । बेनौलीका भलमन्सा काजीराम महतो भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला–संस्कृतिको दुष्टिकोणले पनि महत्त्वपूर्ण छ । जसको संरक्षण र प्रवर्द्धनका  लागि गाउँमा सखिया नाच गराइरहेका छौँ ।’ धनगढी उपमहानगरपालिका–१,६ भादा गाउँ एक महिना यता मादलले गुञ्जायमान छ । उसो त होम स्टे सञ्चालन हुँदै आएको भादामा अरु बेला पनि सखिया नाचिन्छ । होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले गाउँघरको माहोल उल्लासमय भएको जानकारी दिए । बेनौली र भादा गाउँमा मात्रै होइन, दसैँ आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ । सखिया नाचको प्रदर्शनले दसैँको उल्लास बढाएको हो । सामूहिक लोक नृत्यको रुपमा लिइने सखिया नाचका प्रत्येक पात्रको भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रिया आफ्नै प्रकृतिको छ । यद्यपि, पछिल्लो समय अनुकुुलता र प्रतिकुलतालाई मध्यनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाच दसैँको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ । लोक संस्कृतिविद् थारुका अनुसार दसैँको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ । सखिया के हो ? सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैँको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो । सखिया थारु लोकभागवत पुराण हो । दसैँमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ । डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र सखी र डानु री डाडा डरीउना री कहिले टोही मैं सामिरौं सरस्वती मैयाँ सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ पैंयाँमा कृष्ण र गोपिनीको रसलीला सो पुस्तकमा उल्लेख भएअनुसार दसैँको अवधिमा तथा सखिया नाचको बिच–बिचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्‍या (मदाल बजाउने युवा) एक अर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ । सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबिचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’ एनरी बाहाँस हो काटी कमवा सिटैबु कमवा सिटैबु मै पिन्जला बनैबुँ पिन्जला बनैबु मै सारी सुगा पलबु वचनक बिनल पिन्जला कबु रे जिनी टुट टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ । पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् । त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैँ नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भिड लाग्ने गरेको छ । यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभइ यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जुनकारण सखिया नाच व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।