सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी

सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी

१४३५ दिन अगाडि

|

८ मंसिर २०७९

थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

१४३५ दिन अगाडि

|

७ मंसिर २०७९

                                                                                                    कैलाली–३ बाट निर्वाचित भएपछि गंगाराम चौधरी  तुफान न्यौपाने  निर्वाचनको प्रारम्भिक परिणाम आउने क्रममा कैलाली–३ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कृष्णकुमार चौधरीलाई ६ हजार ५ सय मतको फराकिलो अन्तरले हराउँदै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । कैलाली–३ मा यस पार्टीले क्लीन स्वीप गरेको छ । सोही पार्टीका  उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी (कैलाली–१), गठबन्धनका उम्मेदवारभन्दा अग्रस्थानमा छन् । उता बर्दिया–२ बाट रेशम चौधरीको बुवा लालबीर चौधरी विजय भएका छन् ।  डिल्लीबजार कारागारबाटै बर्दिया–२ मा उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी बदरपछि उक्त स्थानमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले  उम्मेदवारी दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी खारेज हुन सक्ने सम्भावना देखेर रेशमले बाबु लालवीरलाई स्वतन्त्रका रुपमा ‘ब्याकअप’ मा राखेका थिए । निर्वाचित भएपछि उनले उन्मुक्ति पार्टी नै रोज्नेछन् । उन्मुक्ति पार्टी समानुपातिकको मतगणना सकिँदासम्म तीन प्रतिशतको थ्रेसहोल्ड पनि पार गर्ने आशामा देखिन्छ। उनीहरूले आशा गरेजस्तो नतिजा आएन भने पनि यो दलले कैलाली र बर्दियाबाट ४ सांसद प्रतिनिधिसभा पठाउन सक्ने सम्भावना देखिएको छ ।   तत्कालीन राजपाबाट कैलाली–१ बाट रेशम चौधरीले जितेका थिए । जहाँ अहिले नागरिक उन्मुक्ति पार्टी एक्लैले ५ सिट जित्ने अवस्था देखिएको छ । थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी यो निर्वाचनले प्रतिनिधिसभामा मात्र नभएर सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने बताउँछन् । भन्छन्, ‘यो अवस्था कांग्रेस, एमाले, माओवादी जस्ता दलहरूकै कारण आएको हो । यहाँका थारूले आजसम्मको उत्पीडनका लागि प्रमुख दललाई सजाय दिएका हुन् ।’ काठमाडौंको संस्थापनसँग पश्चिम तराईका थारूको असन्तुष्टि २०७२ मा संविधान जारी हुनुपूर्व नै प्रकट भएको थियो । उन्मुक्ति पार्टी गठनको जरो पनि सात वर्षअघिको ‘टीकापुर घटना’ सम्म जोडिएको छ । २०७२ साउन अन्तिम सातादेखि नै संविधानमा प्रस्तावित प्रदेशहरूको सीमांकनप्रति असन्तुष्टि जनाउँदै पश्चिम तराईका थारूले आन्दोलन चर्काएका थिए । हिंसा भड्किएपछि कैलालीको टीकापुरमा ८ जना प्रहरी र एक नाबालकको ज्यान गयो । घटनाको योजनाकार र संलग्नताको अभियोगमा ५८ जनामाथि ज्यान मुद्दा चल्यो । भूमिगत रूपमै चुनाव लडेर रेशमले टीकापुर क्षेत्र पर्ने कैलाली–१ बाट चुनाव जिते । ज्यान मुद्दामा दोषी पाइएपछि उनको सांसद पद निलम्बनमा पर्‍यो । खासमा टीकापुर घटनापछि नै थरूहट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । २०६२र६३ पछि बढी मुखरित भएर १० वर्षमै उत्कर्षमा पुगेर सुस्ताएको करिब सात वर्षपछि थरूहट राजनीति गत वैशाखको स्थानीय तह निर्वाचनपछि एकाएक नयाँ रूपमा प्रकट भयो, जसलाई यही ४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनले नयाँ उचाइ दिएको छ । ‘टीकापुर घटनामा संलग्न भन्दै मुद्दा चलाइएकाहरू अदालत र कानुनको नजरमा दोषी देखिए । उनीहरूलाई जेल हालियो । तर, यहाँका रैथाने थारूका नजरमा उनीहरू दोषी थिएनन्,’ थारू नागरिक समाज कैलालीका संयोजक चौधरी भन्छन्, ‘माओवादी युद्धमा हजारौं मानिस मार्नेलाई उन्मुक्ति भयो, तर हाम्रो राजनीतिक आन्दोलनमा लागेकालाई फसाइयो भन्ने भावना यहाँ छ । हामी अब पनि अगाडि नसरेर कतिन्जेल यिनै पार्टीको गुलामी गर्ने भन्ने प्रश्नले सबैलाई जुरुक्कै उठायो ।’ संयोजक चौधरीले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जनतासँग मत माग्दा ‘हामीलाई यी पार्टीहरूले, सरकार र अदालतले न्याय दिएन, अब अन्तिम न्यायाधीश तपाईंहरू नै हो, तपाईंहरूबाटै न्याय होस्’ भनेर मागेको र त्यसबाट मतदाता प्रभावित भएको बताउँछन् । नागरिक उन्मुक्ति पार्टीले अहिले पाएको सफलताको आधार गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमै तयार पारेको थियो । गत वर्षको पुस १९ मा निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीले चार महिनापछिको निर्वाचनमा कैलालीको सबैभन्दा ठूलो दलका रूपमा आफूलाई स्थापित गराएको थियो । १३ पालिका रहेको कैलालीमा उन्मुक्ति पार्टीले चार पालिका प्रमुख टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका र तीन पालिकामा उपप्रमुख प्रमुख जितेकामध्ये टीकापुरबाहेक जितेको थियो । जिल्लाभर वडाध्यक्ष तथा वडा सदस्यसमेत गरी उन्मुक्ति पार्टीका ९९ जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यसलाई विस्तार गर्दै पार्टीले प्रतिनिधिसभामा आफ्नो सशक्त उपस्थिति बनाएको छ । मतगणना सुरु नभएकाले प्रदेशसभातर्फको तस्बिर अहिले स्पष्ट छैन । तर प्रतिनिधिसभाका सिट जितेका क्षेत्रमा पार्टीले प्रदेशसभातर्फ पनि जित निकाल्न सक्ने अनुमान गरिएको छ । समानुपातिकतर्फ प्रदेशसभाको थ्रेसहोल्ड प्रतिनिधिसभाको भन्दा आधा अर्थात् १.५ प्रतिशत मात्र छ । जसलाई नागरिक उन्मुक्ति पार्टीले कम्तीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पार गर्न सक्ने अवस्था देखिन्छ । प्रतिनिधिसभाका लागि कैलाली–५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारू ‘उत्पीडनमा पारिएका सबै समुदाय’ को पनि आवाज बुलन्द पार्ने आफ्नो पार्टीका सांसदहरूको प्रमुख कार्यभार हुने बताउँछन् । टीकापुर घटनामा संलग्न रहेको भन्दै उच्च अदालतले जन्मकैद सजाय तोकेकाले लक्ष्मणको उम्मेदवारीलाई निर्वाचन आयोगले बदर गरिदिएको थियो । ‘नेताले निर्वाचन जित्ने तर जनताको जीवनस्तरमा कुनै परिवर्तन नआउने निरन्तरको प्रक्रियालाई जनताले यो निर्वाचनमार्फत बदलेका छन् । आफूहरूलाई विकल्प प्राप्त भएका सबै क्षेत्रमा जनताले नयाँ र आसलाग्दा पार्टी र उम्मेदवारलाई जिताएका छन्,’ उनले भने, ‘त्यसैक्रममा पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीले जित पाएको छ । जनताको यो अपेक्षालाई मर्न नदिने दायित्व हाम्रो काँधमा आएको छ ।’ २०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएका थारू  चौथो ठूलो जातीय समूह हो । तर, राष्ट्रिय र क्षेत्रीय राजनीतिमा थारूको प्रतिनिधित्व जनसंख्याको यो अनुपातमा हुन सकेको छैन । जसलाई प्रतिनिधिसभा र प्रदेशसभामा हुने नागरिक उन्मुक्ति पार्टीको उपस्थितिले केही हदसम्म बदल्नेछ । ‘उपस्थितिमात्र आफैंमा ठूलो होइन, कत्तिको सशक्त भूमिका निर्वाह गर्न सक्छन् भन्नेमा नै उनीहरूको औचित्य स्थापित हुने हो,’ थारू नागरिक समाज कैलालीका अध्यक्ष चौधरी भन्छन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रेशम चौधरीलगायतको रिहाइको मागमा मात्र आफूलाई सीमित नराखी सामुदायिक हित र प्रतिनिधित्वका अन्य फराकिला विषयमा केन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् । राजनीतिक र प्रशासनिक निकायमा थारू प्रतिनिधित्वका लागि संविधानले छुट्टै क्लस्टरका रूपमा स्वीकार गरे पनि व्यावहारिक रूपमा त्यसको कार्यान्वयन बाँकी छ । लोकसेवा आयोगले गर्ने विज्ञापनमा आरक्षणका लागि थारूलाई मधेसीको कोटाभित्र राख्ने गरिएको छ । यस्ता अभ्यास बदल्न नागरिक उन्मुक्ति पार्टीका सांसदले भूमिका खेल्नुपर्ने चौधरीको सुझाव छ । मधेसमा स्थापित जसपा तथा लोसपाजस्ता पुराना दल यो निर्वाचनपछि खुम्चिएका छन् । पहाडमा पहिचानवादी समूहहरू राजनीतिक दलका रूपमा उदाउन सकेका छैनन् । यस्तो अवस्थामा पहिचानवादी राजनीति, सामाजिक न्याय र समावेशीकरणका मुद्दाको अगुवाइ गर्नुपर्ने जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीमा आएको उक्त पार्टीका संस्थापकमध्येका एक सुरेन्द्र चौधरी बताउँछन् । दाङ–१ मा उम्मेदवार रहेका चौधरी भन्छन्, ‘थारू मात्रै नभएर समग्र उत्पीडित समुदायको आवाज मुखरित गर्ने जिम्मेवारी आएको छ । उत्पीडनका साझा मुद्दाको अगुवाइका लागि सशक्त रूपमा उभिनेछौं ।’ कान्तिपुरबाट, नयाँ अपडेटसहित

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

१४३५ दिन अगाडि

|

७ मंसिर २०७९

स्थानीय चुनावमा कैलालीको ४ पालिकामा विजयको झण्डा गाडेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि तहल्का मच्चाइरहेको छ । कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले  ‘क्लीन स्वीप’ गरेको छ । कैलाली–१ मा पनि ‘क्लीन स्वीप’ गर्ने अवस्था छ, जहाँ रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी संघीय सांसदमा प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीभन्दा फराकिलो मतान्तरले अगाडि छिन् । उता, कैलालीकै छिमेकी जिल्ला बर्दिया–१ मा रेशम चौधरीको छाया उम्मेदवार लालवीर चौधरी २६,५२० मत ल्याई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमाओवादीका सुरेश पन्थलाई मात्र १३६ मतले पराजित गरेका हुन् ।  राजापुर बजार क्षेत्र रहेको बर्दिया–२  मा रेशम चौधरी आफै उम्मेदवार हुन चाहन्थे । उम्मेदवारीको घोषणालगत्तै माहोल उनको पक्षमा आएको थियो । त्यसैले, उनले नागरिक उन्मुक्ति पार्टीबाट सो क्षेत्रमा उम्मेदवारीसमेत दिएका थिए । तर प्राविधिक कारणवश उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । रेशम चौधरीले आफ्नो उम्मेदवारी धरमर हुन सक्ने आकलन गर्दै छायाँ उम्मेदवारको रुपमा आफ्नै पिता लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिलाएका थिए । लालवीर चौधरीले नल्का चुनाव चिन्ह पाए । यही नल्काले धक्का दिँदा एमाओवादीका सुरेश पन्थ थोरै मतले चिप्लिए । ‘राज्यले आफ्नो छोरालाई झुटा मुद्दामा फसाएको’ भन्दै छोरा रेशमको तस्बिर घाँटीमा झुण्ड्याई लालवीरले गाउँ गाउँ गई न्यायका लागि भोट मागे । यो क्षेत्र त्यसै पनि थारु बहुल क्षेत्र हो । त्यसैले, उनको त्यो चुनावी हत्कण्डाले जनताको मन छोयो । उनले पार्टीको चुनावचिह्न ढकिया नपाए पनि नल्का चिह्नले असर गर्न सकेन । १० वर्षे माओवादी जनयुद्धमा बर्दिया जिल्लाबाट सबैभन्दा बढीनागरिक वेपत्ता भएका छन् । ‘माओवादीले थारु समुदायलाई उपेक्षा गरेको र मुद्दा छाडेको’आरोप त छँदै थियो । थरुटह आन्दोलनका क्रममा ०७२ भदौ ७ मा ८ जना सुरक्षाकर्मी र १ नाबालकको ज्यान जानेगरी झडप हुँदा उक्त घटनामा संलग्न रहेको भन्दै दर्जनौँ थारुहरुलाई पक्राउ गरी ज्यानमुद्दा चलाइयो । सोही घटनाको योजनाकारको रुपमा अदालतले रेशम चौधरी र लक्ष्मण थारुसहित ७ दर्जन बढीलाई जन्मकैदको सजाय सुनाइयो ।  खास गरी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थारु समुदायका नेताले त्यो घटनालाई ‘राजनीतिक’भन्दै अघिल्लो स्थानीय र यसपालीको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि मुद्दा बनाए । यसमा नागरिक उन्मुक्तिले बलियो जनादेश पाइरहेको अवस्था छ ।  कुलोपानीका अगुवा लालवीर समाजसेवामा रुचि राख्ने कुलोपानीका अगुवा हुन् लालवीर चौधरी । कैलालीबाट बर्दिया चुनाव लड्न आएपछि उनलाई केहीले टुरिष्ट उम्मेदवार समेत भने । तर उनका बुवाका ६ भाइमध्ये ४ जना अझै पनि बर्दियामै छन् । लालवीरका बुवा हस्तराम थारुसहित दुई भाइ २०३६ सालतिर बर्दियाको तत्कालीन खैरीचन्दनपुर गाउँपालिकाको पखैपुर गाउँबाट कैलाली टीकापुर क्षेत्रको जगतपुरमा बसाइँ सरेका थिए ।  लालवीर गाउँको लिखनदरिया, बरघर भई सुरुदेखि गाउँको अगुवाइ गर्दै आएका थिए । रानी–जमरा–कुलरिया सिँचाइको पनि अगुवाइ गरेपछि कैलालीको टीकापुर तथा बर्दियाको राजापुर दुवै क्षेत्रमा उनी परिचित अनुहार हुन् । रानी–जमरा–कुलरिया सिँचाइ प्रणाली पूर्वी कैलालीस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सवैभन्दा ठूलो सिँचाइ प्रणाली हो । यस प्रणालीको पानीको स्रोत कर्णाली नदी (पश्चिमी भंगालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करिब १२० वर्षभन्दा अगाडि विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो । यस प्रणालीले कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी जम्मा करिव ११ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलव्ध गराउँदै आएको छ । यस सिँचाइ प्रणालीको व्यवस्थापन गर्न तीन वटा प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था छ । लालवीर चौधरी यही कुलापानीको चौधरी अर्थात् अगुवाको रुपमा करिब ३० वर्षदेखि कार्यरत छन् । गत वर्ष यही सिँचाइ जल उपभोक्ता संस्था मूल समितिको अध्यक्षको चुनावमा भने उनी हारेका थिए ।  लालवीर चौधरीका भाइ बालकुमार चौधरीका अनुसार राजनीतिमा लालवीरको खास रुचि थिएन । तर जब २०७२ भदौको टीकापुर घटनाका कारण प्रवासमा रहेका रेशम चौधरीले वारेसमार्फत् २०७४ सालको तत्कालीन राजपाबाट संघीय सांसदमा उम्मेदवारी दिए । एमालेले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा उठायो । यसअघि उनी कुनै राजनीतिक चुनावी प्रतिस्पर्धा गरेका थिएनन् ।  २०७४ मा रेशम चौधरीले विपक्षीभन्दा दोब्बर मत ल्याएर चुनाव जिते भने राजपाकै कृष्णबहादुर चौधरीले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा हराएका थिए । बुवा एमाले प्रवेश गरी प्रदेश सांसदमा​​उठेको रेशमलाई मन परेको थिएन । तर यसबीचमा कर्णालीमा धेरै पानी बग्यो । रेशमले पितालाई नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार समितिको संयोजकको मात्रै जिम्मेवारी दिएनन् । आफ्नो छायाँ उम्मेदवारसमेत बनाए । बुवाको प्रदेश सांसद बन्ने यस अघिको सपना भन्दा दोब्बर खुशी यसपाली संघीय सांसद बन्ने सपना साकार पारिदिए । लालवीर समाजसेवामा ‘वीर’ त छँदै थिए, अब  उनलाई राजनीतिमा पनि आफू ‘वीर’ रहेको साबित गर्नु छ । रातोपाटीबाट

कैलालीका २ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता

कैलालीका २ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता

१४३७ दिन अगाडि

|

५ मंसिर २०७९

धनगढी : पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १, र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको हो । निर्वाचन क्षेत्र नं. ४ मा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । भने निर्वाचन क्षेत्र नं. २ र ५ मा अझैसम्म मतगणना सुरु नभएको हो । निर्वाचन क्षेत्र नं. १ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले १५०२ मतगणना गर्दा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ६९१ मतसहित अग्र स्थानमा छिन् । रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले ४११ मतसहित पछ्याइरहेका छन् । यस्तै एमालेका तपेन्द्र रावलले १८३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले ८९ मत पाएका छन् । यस्तै कैलाली निर्वाचन क्षेत्र नं. ३ मा पनि नागरिक उन्मुक्तिले अग्रता बनाएको हो । १८१० गन्दा उन्मुक्तिका गंगाराम चौधरीले ६०१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो स्थानमा छन् । उनले २५० मत पाएका छन् । त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर १२७ मतसहित अग्र स्थानमा छन् ।  २ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन् ।   

जेलभित्रै मतदान गरेपछि रेशम चौधरीले भने, ‘युद्ध जिते जस्तै भइरहेको छ’

जेलभित्रै मतदान गरेपछि रेशम चौधरीले भने, ‘युद्ध जिते जस्तै भइरहेको छ’

१४३९ दिन अगाडि

|

४ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागारभित्रैबाट मतदान गरेका छन् । टीकापुर घटना अभियोगमा जेल जीवन बिताइरहेका रेशमले आइतबार बिहान त्यहाँ अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।   मतदान गरेपछि रेशमले भने, ‘जेलभित्र मतदान गर्न पाउँदा युद्ध जिते जस्तै भइरहेको छ ।’ डिल्लीबजार कारागारमा रहेका करिब ५ सय कैदीबन्दीले मतदान गरिएको बुझिएको छ ।  मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।  

धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट 

धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट 

१४३९ दिन अगाडि

|

४ मंसिर २०७९

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए । विस्फोटक पदार्थ पड्किएपछि मतदातामा त्रास उत्पन्न भएको छ ।