हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

१४२२ दिन अगाडि

|

२० मंसिर २०७९

प्रतिनिधिसभा प्रत्यक्षमा खस-आर्यको वर्चस्व

प्रतिनिधिसभा प्रत्यक्षमा खस-आर्यको वर्चस्व

१४२४ दिन अगाडि

|

१९ मंसिर २०७९

गणेश राई  प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी सांसदमा खस–आर्य समुदायको वर्चस्व रहेको छ । जनसंख्यामा ४ प्रतिशत हिस्सा ओगटेको मुस्लिम समुदायको प्रतिनिधित्व भने शून्य छ । हिमाली भेगका शेर्पा जातिको पनि प्रतिनिधित्व हुन सकेको छैन । १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायबाट एक जना र अल्पसंख्यक हिमाली आदिवासीबाट एक जनाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन् । बिहीबारसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६४ सदस्य निर्वाचितमध्ये खस–आर्य ९४ जना (करिब ५७ प्रतिशत) छन् । मतपरिणाम आउन बाँकी निर्वाचन क्षेत्रबाट यो संख्या अझ बढ्ने सम्भावना छ । पाँच वर्षअघिको चुनावमा खस–आर्य समुदायका ८७ जनाले प्रत्यक्ष चुनाव जितेका थिए । निर्वाचितमध्ये जनजाति ४१ जना (२५ प्रतिशत) छन् । जनसंख्यामा जनजातिको हिस्सा भने ३५ प्रतिशत छ । जनजाति समुदायबाट जितेकामध्ये नेवार ९, मगर ५, राई ५, गुरुङ ५, तामाङ ४ र थारू ६ जना छन् । थकाली १ र अल्पसंख्यक आदिवासीबाट लामा एक जना निर्वाचित भएका छन् । ‘जनजातितर्फ विगतभन्दा केही प्रतिशत बढेको देखिन्छ तर जनसंख्याको अनुपातमा धेरै खाडल छ,’ मानवशास्त्री मुक्तासिंह लामाले भने, ‘जनसंख्याअनुकूल समानुपातिकमा थपिने हो भने यो संख्या ९६ पुग्नुपर्छ ।’ २०७४ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्षमा ३४ जना जनजाति निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ निर्वाचितमध्ये मधेसी २८ जना (१७ प्रतिशत) र दलित एक जना (०.६ प्रतिशत) छन् । खस–आर्य, मधेसी र जनजाति समुदायबाट ९ महिला (करिब ६ प्रतिशत) निर्वाचित भएका छन् । २०६८ को जनगणनाअनुसार क्षेत्री १६.६ प्रतिशत, पहाडी ब्राह्मण १२.२ प्रतिशत, मगर ७.१२ प्रतिशत, थारू ६.५६ प्रतिशत र तामाङ ५.८१ प्रतिशत छन् । ठूला संख्यामा रहेका १० जातजातिमा त्यसपछि क्रमशः नेवार, कामी, मुसलमान, यादव र राई पर्छन् । राजनीतिक विश्लेषक राजेन्द्र महर्जन जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायलाई बेवास्ता गर्ने परम्परालाई प्रमुख पार्टीले यसपालि पनि निरन्तरता दिएको टिप्पणी गरे । ‘जनजाति बाहुल्य क्षेत्रमा सम्बन्धित समुदायका प्रतिनिधि नउठाए हार बेहोर्नुपर्ने कारणले जनजाति उम्मेदवार उठाउनुपर्ने बाध्यता देखिएको हो,’ उनले भने, ‘जनजातिलाई टिकट दिइएन भने जित्न नसक्ने अवस्था छ । नत्र टिकट पार्टीभित्रका सत्तावालाले लिन्छन् ।’ चुनाव जित्ने जनजातिमध्ये कांग्रेसबाट ८ र एमालेबाट १२ जना छन् । माओवादी केन्द्रबाट ७ जना छन्, जसमध्ये एक जना अल्पसंख्यक समुदायका हुन् । एकीकृत समाजवादीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना जनजातिले जित हासिल गरेका छन् । राप्रपाबाट २ तथा नेपाल मजदुर पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र स्वतन्त्रबाट १–१ जना जनजाति निर्वाचित छन् । कांग्रेसबाट निर्वाचित जनजाति समुदायका प्रकाशमान सिंह, टेकबहादुर गुरुङ, तेजुलाल चौधरी, डिगबहादुर लिम्बू, धनराज गुरुङ र सीता गुरुङ संसद्मा पुरानै अनुहार हुन् । पूर्णबहादुर तामाङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा भने नयाँ हुन् । एमालेबाट निर्वाचित सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ, एलपी साँवा लिम्बू, भगवती चौधरी, लीलानाथ श्रेष्ठ र राजेन्द्रकुमार राई यसअघि पनि सांसद भइसकेका हुन् । मानवीर राई, प्रेमबहादुर महर्जन, मनबहादुर गुरुङ र तारा लामा तामाङ नयाँ अनुहार हुन् । माओवादीबाट वर्षमान पुन, रामकुमार राई, सुदन किराती, सूर्यमान दोङ तामाङ, हितबहादुर तामाङ, पूर्णबहादुर घर्तीमगर र छिरिङ डण्डुल लामा (भोटे) निर्वाचित भएका छन् । मेटमणि चौधरी, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र धनबहादुर बुढा एकीकृत समाजवादीबाट निर्वाचित जनजाति अनुहार हुन् । थरुहटलाई राजनीतिक मुद्दा बनाएर जन्मेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारू निर्वाचित भएका छन् । राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन र ध्रुवबहादुर प्रधानले चुनाव जितेका छन् । त्यस्तै, नेमकिपाबाट प्रेम सुवाल, रास्वपाबाट विराजभक्त श्रेष्ठ, जसपाबाट अशोककुमार राई र स्वतन्त्रबाट लालवीर चौधरी विजयी भएका छन् । अधिकारकर्मी गोविन्द छन्त्याल आन्दोलनको जोडबलले समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान आएकाले अबको संसद्मा अल्पसंख्यकको प्रतिनिधित्व नहुँदा पनि कानुन निर्माण हुन सक्नुपर्ने बताउँछन् । ‘निर्वाचित जनजाति सांसदले विगतका आन्दोलनविरुद्ध विषवमन होइन, समुदायप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने, ‘व्यवस्था परिवर्तनप्रति जवाफदेही हुनुपर्छ ।’ मधेसी २८ जना प्रतिनिधिसभामा मधेसीमूलबाट २८ जना निर्वाचित भएका छन् । यो कुल सिट संख्याको १७ प्रतिशत हो । तथ्यांकले कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या तराई मधेसमा रहेको देखाउँछ, त्यसमा १५ प्रतिशत मधेसी समुदायका छन् । ‘पहिलेभन्दा अहिले एक सिट घटेको देखिन्छ तर यसअघि मधेसको मुद्दा मुखरित गर्ने पार्टीहरू कमजोर भएको भनेर बुझ्न सकिन्छ,’ मानवशास्त्री लामाले भने, ‘मधेसकेन्द्रित दल कमजोर देखिएका बेला मूल प्रवाहका पार्टीबाट मधेसका मुद्दा सम्बोधन होला/नहोला भन्न सकिने अवस्था छैन ।’ मधेसमा जनमत पार्टी नयाँ शक्तिका रूपमा उदाएको छ । जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत डेढ दशकदेखि मधेस राजनीतिको केन्द्रमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराएर निर्वाचित भएका छन् । जसपाबाट पर्सामा प्रदीप यादव, बारामा रामसहायप्रसाद यादव, सप्तरीमा नवलकिशोर साह सुडी, सिरहा–२ मा राजकिशोर यादव र सिरहा–४ मा वीरेन्द्रप्रसाद महतोले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला, रामप्रकाश चौधरी र महन्थ ठाकुर निर्वाचित भएका छन् । कांग्रेसबाट रामकृष्ण यादव, अजयकुमार चौरसिया, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, विनोदकुमार चौधरी र महेन्द्र यादवले जितेका छन् । एमालेबाट जुलीकुमारी महतो (महासेठ), राजकुमार गुप्ता, ज्वालाकुमारी साह, लक्ष्मी महतो कोइरी, रामशंकर यादव, मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । दलित एक मात्र कुल जनसंख्याको १३ प्रतिशत हिस्सा रहेको दलित समुदायबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकजना मात्र विजयी भएका छन् । एमालेबाट रुपन्देही–१ मा छविलाल विश्वकर्माले जितेका हुन् । माओवादीले महेश्वरजंग गहतराज (अथक) र अन्जना विशंखेलाई उम्मेदवार बनाएको थियो, दुवै पराजित भए । कांग्रेसले त दलित उम्मेदवार नै उठाएन । ‘सबैभन्दा बढी प्राथमिकता नदिइने दलित समुदाय हो, जुन यो पटकको चुनावमा पनि देखियो,’ विश्लेषक राजेन्द्र महर्जनले भने, ‘काठमाडौंमा दलित महिला उम्मेदवारलाई आफ्नै गठबन्धनविरुद्ध उठाइयो । सबैभन्दा पिँधमा पारिएकालाई बेवास्ता गर्ने क्रम निरन्तर देखिन्छ ।’ दलित समुदायलाई भोट बैंकमात्र बनाउने र उनीहरू योग्य छैनन् भन्ने भाष्य स्थापित गर्नेतर्फ पार्टीहरू रहेको उनले बताए । ‘कुनै पार्टीको अध्यक्ष दलित भए मात्र दलित समुदायको उम्मेदवार प्राथमिकतामा पर्ला,’ उनले भने, ‘संविधानमा भएको समावेशी समानुपातिक संरचनाको कार्यान्वयनतर्फ ठूला दल र तिनका नेताले व्यवहारमा उतार्न प्रयास गरेनन् ।’ राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा मूलधारका दलले प्रत्यक्ष उम्मेदवारमा दलितको प्रतिनिधित्वमा कन्जुस्याइँ गरेकाले परिणाम न्यून भएको बताए । ‘दलहरूको परम्परागत मानसिकताले दलित नेता प्राथमिकतामा परेनन्,’ उनले भने, ‘लोकतन्त्र र संविधानको पालना गरेको महसुस भएको छैन ।’ पत्रकार जेबी विश्वकर्मा दलहरूमा उम्मेदवार बनाउनका निम्ति नेतृत्व निर्माण पद्धति र योजना नरहेकाले दलितलाई पछाडि पारिएको बताउँछन् । ‘सबै संघर्ष, आन्दोलनमा दलित अघि लगाएर जित्ने तर लोकतन्त्रमा दलित उम्मेदवार बनाउन हिचकिचाहट हुने गरेको छ,’ उनले भने, ‘दलित मनोविज्ञानमा महँगो खर्च हुने भएकाले टिकट पाएर पनि हतोत्साहित भएको स्थिति छ ।’ अल्पसंख्यक १, मुस्लिम शून्य सरकारले सूचीकृत गरेको ९८ अल्पसंख्यक समुदायबाट एक जना मात्र सांसद चुनिएका छन् । हुम्लाबाट छिरिङ डुन्डुल लामा निर्वाचित भएका हुन् । कुल जनसंख्याका ४ प्रतिशत हिस्सा ओगटेका मुस्लिम समुदायबाट प्रतिनिधिसभामा एक जना पनि चुनिएनन् । समानुपातिक प्रतिनिधित्वका आधारमा मुस्लिम ११ जना हुनुपर्ने मानवशास्त्री लामाले बताए । ‘संविधानतः समानुपातिक उम्मेदवार चयन गर्दा जनसंख्याका आधारमा दलित, अल्पसंख्यक आदिवासी जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक समुदायलाई प्राथमिकतामा पार्नुपर्ने देखिन्छ,’ उनले भने । कान्तिपुरबाट

‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी

‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी

१४२५ दिन अगाडि

|

१८ मंसिर २०७९

निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। शनिबार राति ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १२९१ मतको तथ्याङ्क मात्रै थप गरिएको छ।  हिजो राति १ करोड ४ लाख १८ हजार ८ सय ३४ सदर मत रहेको आयोगको वेवसाइटमा अहिले १ करोड चार लाख २० हजार १२५ मत राखिएको छ। जसमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तोकिएको थ्रेसहोल्ड पुरा नगर्ने देखिएको छ। आवश्यक हुने मतको संख्या बढ्दै जाने तर पाउने भोट भने त्यसको तुलनामा नआइरहेकाले पार्टी केही हजार मतको अन्तरले समानुपातिकमा सिट पाउन र राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुक्ने देखिएको छ। हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ। यस्तै प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात  मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ। जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ। यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ। कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ।  यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ।यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन्। ‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी सावित भएका छन् । बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ। सेतोपाटी 

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

१४२५ दिन अगाडि

|

१७ मंसिर २०७९

रुपक चौलागाईं ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सांसदहरूको जोडघटाउ सुरु भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १६२ क्षेत्रको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।  समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ। यो रिपोर्ट तयार पार्दासम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गणना सम्पन्न भइसकेको छ। मतगणना अन्तिम चरणमा पुग्दा दलहरूबाट छानिने समानुपातिकतर्फका सांसदहरूको सूचीबारे आम चासो बढेको छ। ०७४ को निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टीको बनेको नेकपा एमाले यो पटक पनि समानुपातिकतर्फ पहिलो दलको रुपमा दर्ज भएको छ। तर, प्रत्यक्षतर्फ भने एमालेलाई ठूलो क्षति पुगेको छ। ०७४ मा ८० सिट प्रत्यक्षतर्फ जितेको एमालेले अहिले ४४ सिटमा मात्र जित निकालेको छ। ५ वर्षअघिको निर्वाचनमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेर एमालेले समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो। यो पटक पनि समानुपातिकतर्फ पहिलो दल बन्दै एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरिसकेको छ। निर्वाचन आयोगका अनुसार अझै केही मत गणना गर्न बाँकी भएकाले यसमा अझै केही मत थप हुनेछ। संघीय संसदमा सबै दलले कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनपर्ने संवैधानिक व्यवस्था छ। अहिलेसम्मको अवस्थालाई हेर्दा नेकपा एमालेले कम्तीमा ३४ सिट समानुपातिकतर्फबाट पाउने देखिन्छ। राष्ट्रिय सभामा एमालेका अध्यक्षसहित १६ सांसद छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ जितेको छ। अब राष्ट्रिय सभाका समेत जोड्दा एमालेको कम्तीमा ९४ जना सांसद हुनेछन्। जसमध्ये एमालेबाट अहिले ९ जना महिला राष्ट्रिय सभामा छन्। प्रत्यक्षतर्फ ४ जना महिला सांसद चुनिइसकेका छन्।  संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत पुर्याउन एमालेलाई ३१ जना महिला सांसदहरु अनिवार्य चाहिन्छन्। राष्ट्रिय सभामा रहेका ९ र प्रतिनिधि सभाबाट निर्वाचित ४ गरी १३ जना अहिले महिला छन्।  अब एमालेलाई १८ जना महिला सांसद आवश्यक छन्, जुन समानुपातिकबाट पठाउनुपर्ने हुन्छ। र, निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्दसूचीअनुसार ती सांसद छान्नुपर्ने हुन्छ। प्रत्यक्षबाट निर्वाचित महिला सांसदहरु प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ज्वाला कुमारी साह (बारा–३), जुलीकुमारी महतो (धनुषा–३) गरी २ जना मधेशी समुदायका छन्।  विद्या भट्टराई (कास्की–३) खस आर्य समुदायबाट छिन् भने भगवती चौधरी (सुनसरी–३) थारु समुदायकी हुन्। समानुपातिकबाट छानिने महिला सांसदहरू अब एमालेबाट समानुपातिकका सांसदहरू छान्दा जातीय क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। विद्यमान व्यवस्था अनुसार प्रतिनिधि  सभामा आदिवासी जनजाति २८.७० प्रतिशत, खस आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी ५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ। तर यसरी छान्दा महिला उम्मेदवार प्राथमिकतामा पार्नुपर्छ। किनकि एमालेको ३३ प्रतिशत महिला संख्या पुगेको छैन। खसआर्य क्लस्टर अनुसार एमालेले प्रतिनिधित्व गराउने २४ जना हुन्। त्यसमा १ जना महिला (विद्या भट्टराई, कास्की–२) ले जितेकी छिन्। अन्य २३ जना पुरुष छन्। यो क्लस्टरमा महिला थप गर्ने सम्भावना कम छ।  आदिवासी जनजाति क्लस्टरबाट एमालेले २२ जना सांसद पुर्याउनुपर्छ। यो क्लस्टरमा प्रत्यक्षतर्फ ११ जना निर्वाचित भइसकेका छन्। अब ११ जना समानुपातिकतर्फबाट छान्नुपर्ने हुन्छ। यसरी पठाउँदा खस आर्य, आदिवासी जनजाति, दलित, थारु, मधेशी र मुस्लिम क्लस्टरबाट छान्न भने पाइनेछ। आदिवासी जनजाति क्लस्टरबाट प्रत्यक्षतर्फ कोही पनि महिला निर्वाचित भएका छैनन्। यसमा आवश्यक ११ जनामध्ये नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी निर्वाचित हुने सम्भावना ज्यादा छ। त्यहाँ अन्य क्षेत्रबाट समेत निर्वाचित गराउने महिला संख्या हेरेर पुरुष निर्वाचित गर्न सकिन्छ।  थारु क्लस्टरबाट चार सांसद चाहिनेमा प्रत्यक्षतर्फ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेकी छिन्। अब समानुपातिकको बन्दसूचीबाट आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी पर्नेछन्।  मधेशी क्लस्टरमा ६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्। जसमा २ महिला छन्।  दलित क्लस्टरमा प्रत्यक्षतर्फबाट १ जना मात्र निर्वाचित भएका छन्। विधान अनुसारको प्रतिशत पुर्याउनका लागि अब १० जना सांसद आवश्यक पर्छ। जसको पहिलो प्राथमिकतामा महिला पर्ने देखिन्छ। एमालेले बुझाएको बन्दसूची अनुसार महिलातर्फ रुक्मिणी राणा बराइली, हर्कमाया वि।क, इन्दिराकुमारी पन्थी, अन्जु प्रसाईं बर्देवा पहिलो प्राथमिकतामा पर्नेछन्। मुस्लिम क्लस्टरबाट रुही नाज, साविदा खातुन सिद्दिकी, सैहरा खातुन पहिलो प्राथमिकतामा पर्नेछन्।  यसपछि पनि ३३ प्रतिशत महिलाको संख्या नपुग्ने भएकाले ३ जना महिला आदीवासी जनजाति र दलित क्लस्टरबाट पुरा गरिनेछ।  त्यसरी नाम पठाउँदा शान्ति श्रेष्ठ, सरस्वती सुब्बा जनजातितर्फबाट पर्न सक्छन्। यस्तै, अन्जु नेपाली दलित महिला कोटाबाट समेटिन सक्छन्। समानुपातिकमा छानिने पुरुष सांसदहरू महिलाको ३३ प्रतिशत (१८ जना)कोटा पूरा भएपछि एमालेले समानुपातिकबाट पाउने ३४ जनामध्येमा अब १६ जना थप्न सक्नेछ। जुन सबै क्लस्टरबाट मिलाउन उसलाई छुट हुनेछ।  एमालेले बुझाएको बन्दसूची अनुसार पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरु सांसद बन्ने निश्चित छ।  खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकाल निर्वाचित हुने निश्चित छ। एमालेले बुझाएको समानुपातिक सूचीमा पन्तको नाम खस आर्यतर्फको पहिलो नम्बरमा र ढकालको नाम दोस्रो नम्बरमा छ। त्यस्तै, आदीवासी जनजाती तर्फबाट देवीप्रसाद भट्टचन र हेमराई राई निर्वाचित हुनेछन्। एमालेले बुझाएको बन्दसूची अनुसार यो क्लस्टरमा भट्टचन पहिलो र राई दोस्रो नम्बरमा छन्।  दलित क्लस्टरबाट पनि महिला पुगेसँगै अब पुरुष छान्न सकिनेछ। त्यसरी छान्दा दलित क्लस्टरबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध निर्वाचित हुनेछन्। विक पहिलो र दुसाध दोस्रो नम्बरको प्राथमिकतामा रहेका छन्।  मधेशी क्लस्टरबाट पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी निर्वाचित हुनेछन्। यो कोटाको पहिलो नम्बरमा यादव र राजवंशीको नाम छ। मुस्लिम क्लस्टरबाट सराज अहमत फारुकी र एजाज आलम चुनिनेछन्। फारुकी र आलम यो कोटामा क्रमशः पहिलो र दोस्रो नम्बरमा छन्। थारु क्लस्टरबाट सत्यनारायण चौधरी र जञ्जिरप्रसाद चौधरीको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा छ।  सबै क्लस्टरबाट त्यसपछि समानुपातिक सांसद छान्दा पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनपर्ने हुन्छ। पिछडिएको क्षेत्रबाट एमालेले ४ जना सांसदहरु बन्दसूचीमा समावेश गरेको छ। जसमध्येबाट हुम्लाका गोरखबहादुर बोगटी पुरुषतर्फ निर्वाचित हुनेछन् भने बझाङकी भागरथी कुमारी चन्द महिलातर्फबाट निर्वाचित हुनेछिन्।  अब बाँकी रहेका २ सांसद खस आर्यतर्फका महिलाको कोटाबाट छानिने संभावना छ। जसमा क्रमशः मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली पर्नेछन्। एमालेका प्रत्यक्ष निर्वाचित खसआर्य सांसदहरू (१) उदयपुर २– अम्बरबहादुर रायमाझी (२) गुल्मी २– गोकर्ण विष्ट (३) झापा २– देवराज घिमिरे (४) झापा ५– केपी शर्मा ओली (५) ताप्लेजुङ– योगेश भट्टराई (६) अर्घाखाँची– टोपबहादुर रायमाझी (७) प्युठान– सूर्य थापा (८) मकवानपुर २– महेश बर्ताैला  (९) पर्वत– पदम गिरी (१०) रुपन्देही ५– बासुदेव घिमिरे (११) कास्की २– विद्या भट्टराई (२२) बाँके १– सूर्यप्रसाद ढकाल  (१३) बैतडी– दामोदर भण्डारी  (१४) कपिलवस्तु १– बलराम अधिकारी (१५) कास्की ३– दामोदर पौडेल वैरागी  (१६) बारा १– अच्युतप्रसाद मैनाली (१७) सर्लाही ३– हरिप्रसाद उप्रेती (१८) काभ्रेपलाञ्चोक २– गोकुलप्रसाद बास्कोटा (१९) पाल्पा २– ठाकुर गैरे (२०) पाल्पा १– नारायणप्रसाद आचार्य (२१) मोरङ २– ऋषिकेश पोखरेल (२२) रुपन्देही २– विष्णु पौडेल  (२३) सुनसरी २– भीमप्रसाद आचार्य (२४) इलाम १– महेश बस्नेत  एमालेका प्रत्यक्ष निर्वाचित आदीवासी जनजाति सांसदहरू (१) काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ (२) ललितपुर २– प्रेमबहादुर महर्जन (३) लमजुङ १– पृथ्वीसुब्बा गुरुङ (४) सोलुखुम्बु– मानवीर राई  (५) झापा ४– लालप्रसाद साँवा लिम्बु  (६) धनकुटा– राजेन्द्रकुमार राई (७) कञ्चनपुर १– तारा लामा तामाङ (८) पाँचथर– वसन्तकुमार नेम्वाङ (९) कास्की १– मनबहादुर गुरुङ  (१०) सिरहा ३– लीलानाथ श्रेष्ठ (११) इलाम २– सुवासचन्द्र नेम्वाङ एमालेका प्रत्यक्ष निर्वाचित मधेशी सांसदहरू (१) पर्सा ३– राजकुमार गुप्ता (२) सिरहा १– रामशंकर यादव  (३) बारा ३– ज्वालाकुमारी साह  (४) धनुषा ३– जुलीकुमारी महतो (५) कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता (६) महोत्तरी १– लक्ष्मी महतो  (७) धनुषा ४– रघुवीर महासेठ एमालेका प्रत्यक्ष निर्वाचित थारु सांसद (१) सुनसरी ३– भगवती चौधरी एमालेका प्रत्यक्ष निर्वाचित दलित सांसद (१) रुपन्देही १– छविलाल विश्वकर्मा नेपालखबरबाट

रेशम चौधरीलाई फकाउन गठबन्धनका नेताको  कारागारमा लाइन

रेशम चौधरीलाई फकाउन गठबन्धनका नेताको  कारागारमा लाइन

१४२८ दिन अगाडि

|

१५ मंसिर २०७९

 नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन् । दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएको पनि स्रोतको दाबी छ । चौधरीसँगको कुराकानी नेताहरूले खुलासा गर्न नचाहे पनि सरकार बनाउन गठबन्धनलाई केही सिट अपुग हुने भएकाले उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरेको स्रोतको भनाइ छ । उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले भने सरकारमा जाने/नजानेबारे टुंगोमा नपुगेको बताइन् । ‘यसबारे केही निर्णय भएको छैन,’ उनले भनिन् । उन्मुक्ति पार्टीबाट कैलाली–१ मा श्रेष्ठ, कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वाचित भएका छन् । बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । रेशमका पिता उनले नागरिक उन्मुक्ति नै रोज्नेछन् । प्रदेशसभामा उन्मुक्तिले ७ सिट जितेको छ । ०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उनी जेलमै छन् । उनले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गरेका छन् । उनी ०७४ मा कैलाली–१ बाट निर्वाचित भए पनि सांसद पद निलम्बनमा रहेको थियो ।  कान्तिपुरबाट 

सुदूरपश्चिमका पूर्व उपसभामुख र सांसदहरुले अझै फिर्ता गरेनन् सरकारी सामान

सुदूरपश्चिमका पूर्व उपसभामुख र सांसदहरुले अझै फिर्ता गरेनन् सरकारी सामान

१४२८ दिन अगाडि

|

१५ मंसिर २०७९

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले अझैसम्म सुविधाबाफत पाएको सामान फिर्ता गर्नमा अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर उनी अझैसम्म सरकारी सामान फिर्ता नगरेकी हुन् । निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले निवाससँगै लिएको सरकारी सामान फिर्ता गर्नुको साटो घरमा लगेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानूनी व्यवस्था छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गत असोज २२ गते मनोनयन भएको थियो । सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको मानिन्छ । कार्यकाल सकिएको एक साताभित्र उनीहरुले लिएको सेवा सुविधा फिर्ता गर्न सचिवालयले अनुरोध गरेको थियो । तर उपसभामुख जोशीले पटक–पटक आग्रहलाई अटेरी गर्दै आएकी हुन् । सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार उपसभामुख जोशीले सरकारी निवासमा प्रयोग गरेको कुनै पनि सामान फिर्ता गरेकी छैनन् ।  उनले भने, ‘हामीले पटक–पटक फिर्ता गर्न आग्रह गरेका छौ । तर उहाँले हालसम्म फिर्ता गर्नुभएको छैन । उहाँले प्रयोग गरेको क्वाटरमा आधाभन्दा बढी सामान छैन । यसको मतलब उहाँले घर लगिसक्नु भएको छ ।‘ उनले सोफा सेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेन्ड पंखा, ग्यास चुल्हो, स्टिल ¥याक, मिक्चर, पलंग, ल्यापटप, मोबाइलदेखि सिरक डसना समेत फिर्ता नगरेकी हुन् । सामान फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि फिर्ता नगरेको सूचना अधिकारी जैशीको भनाइ छ । यी हुन् ल्यापटप मोह भएका निवर्तमान सांसदहरु सामान फिर्ता गर्नमा उपसभामुख जोशीले मात्रै अटेरी गरेकी छैनन् । यहाँका २१ जना निवर्तमान सांसदहरुले समेत सामान फिर्ता गर्नमा अटेरी गर्दै आएका हुन् । निवर्तमान सांसद अर्चना गहतराज, अमर साउँद, अम्बी कुमारी थापा, उमा कुमारी बादी, कुलवीर चौधरी, चुनकुमारी चौधरी, टेक बहादूर रैका, दिव्यश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल थापाले लिएको ल्यापटप फिर्ता गरेकी छैनन् । यस्तै, देवराज पाठक, पुर्णा जोशी, प्रेम प्रकाश भट्ट, बल बहादूर सोडारी, मना कुमारी साउँद, मान बहादूर सुनार, माया तामाङ बोहरा, शान्ति नेपाली, श्यामलाल राना थारु, सुशिला बुढाथोकीले ल्यापटक फिर्ता गरेका छैनन् ।  सार्वजनिक लेखा समितिकी पुर्व सभापति नन्दा बमले लिएको एक थान प्रिन्टर र ल्यापटम पनि फिर्ता नगरेको जैशीले बताएका छन् । त्यस्तै, उपसभामुख जोशीका स्वकीय सचिव हरिचन्द्र भटट्ले कार्यालय प्रायोजनको लागि भनेर लिएको ल्यापटप पनि नबुझाएको सचिवालयले जनाएको छ ।   

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

१४२८ दिन अगाडि

|

१४ मंसिर २०७९

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले कैलालीमा पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा गत पुसमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकिया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताए।  उनका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त  पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १(क) मा कैलाश चौधरी र क्षेत्र नं २(ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भए भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि  क्षेत्र नं २(ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित हुनुभएको छ ।  त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित भए भने प्रदेशसभातर्फ  क्षेत्र नं १(क) मा घनश्याम चौधरी र २(ख) मा खुसीराम चौधरी विजयी भए। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा एमाले को जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए ।  “अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ,” निर्वाचित सदस्य चौधरीले भने, “डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।” गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १(क)मा पल्टु राना र २(ख)मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याइन् । यहाँको निर्वाचन क्षेत्र नंं २ (क) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याइन् । रासस