२२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्ःअध्ययन

२२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्ःअध्ययन

११८२ दिन अगाडि

|

१९ साउन २०८०

रास्वपाको केन्द्रीय विभागमा बस्न एमए पास हुनैपर्ने

रास्वपाको केन्द्रीय विभागमा बस्न एमए पास हुनैपर्ने

११८२ दिन अगाडि

|

१९ साउन २०८०

हालसम्म कुनै पनि दलले पार्टी पदाधिकारी बन्न विश्वविद्यालयको सर्टिफिकेटलाई आधार बनाएका छैनन् ।  राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) ले भने केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ ।  बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले बताए । प्रवक्ता ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।  त्यस्तै, प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।  पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।  यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको नेता ढकालले जानकारी दिए । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ ।

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

११८५ दिन अगाडि

|

१६ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टी बीचको छलफलपछि नाउपा सरकारमा जान सहमत भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’ यहाँ ४ वटा संसदीय समिति रहेको छ  भने उपसभामुखमा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् ।  त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि शपथ रोकिएको थियो । मन्त्रीको शपथको लागि रामेश्वर चौधरी र कैलाश चौधरी थारु पोशाकसहित  पुगिसकेका थिए ।

 प्राज्ञहरूको भेला सम्पन्नः १० बुँदे प्रज्ञा पोखरा घोषणा पत्र जारी 

 प्राज्ञहरूको भेला सम्पन्नः १० बुँदे प्रज्ञा पोखरा घोषणा पत्र जारी 

११८५ दिन अगाडि

|

१६ साउन २०८०

भाषा, साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको  निरूपण गर्ने उद्देश्यले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानहरु बीच एकदिवसीय अन्तरक्रिया पोखरामा सम्पन्न भएको  छ ।  भेलामा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान,गण्डकी प्रज्ञा(प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान  र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहभागिता रहेको थियो । भेलाले १० बुँदे प्रज्ञा पोखरा घोषणापत्र २०८०   जारी गरेको छ ।    प्रज्ञा पोखरा घोषणापत्र पूर्ण पाठ १. सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा रहेको प्राज्ञिक क्षेत्र (सांस्कृतिक सत्ता) को मर्यादालाई राजनीतिक तथा प्रशासनिक क्षेत्रले नजरअन्दाज गरेको देखिन्छ । सांस्कृतिक सत्ता नै सबै क्षेत्रको प्रमुख र आधारभूत अङ्ग हो । यसैले सांस्कृतिक क्षेत्रसँग जोडिएको प्राज्ञिक मर्यादासँग देशकै मर्यादा जोडिएको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ र प्राज्ञिक क्षेत्रलाई राज्यले हेर्ने अहिलेको दृष्टिकोण बदल्न आवश्यक छ । हाल प्रचलनमा रहेको गृह मन्त्रालयबाट जारी मर्यादाक्रम, (२०७६) मा प्रज्ञा–प्रतिष्‍ठानहरूका कुलपति तथा उपकुलपतिको मर्यादाक्रम प्रज्ञा–प्रतिष्ठान ऐन, नियमावली तथा अन्य प्रचलित कानुनअनुसार छैन भने प्राज्ञहरूको मर्यादाक्रम स्पष्ट छैन । त्यसैले प्राज्ञिक गरिमा कायम हुनेगरी मर्यादाक्रम निर्धारण गरिनुपर्छ । सबै तहका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम राज्यका अन्य निकायहरूको सोपान व्यवस्थाअनुसार कायम हुनुपर्दछ । २. हालसम्म पनि संस्कृति (भाषा, साहित्य, ललितकला, सङ्गीत नाट्य) नीति स्पष्ट छैन । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट स्थापित परिवर्तनको मर्मलाई आत्मसात् गरी संस्कृति नीति बनाउनुपर्ने । ३. देशको विविधता, मौलिकता र सामाजिक–राजनीतिक परिवर्तनको मर्म र सौन्दर्यलाई आत्मसात् गरी नेपालका सबै भाषा, संस्कृति, कला, सङ्गीत, दर्शन, रैथाने ज्ञान, सीपको सैद्धान्ती करण सहित तिनको संरक्षण, संवर्द्धन र विकासमा जोड दिँदै प्राज्ञिक निकायको पुनर्संरचनामा जोड दिने । ४. परिवर्तित सन्दर्भमा प्रदेश र स्थानीय तहमा पनि प्राज्ञिक संरचना (प्रतिष्ठान, समिति, परिषद् आदि) बनेका र बन्ने क्रममा छन् । संविधानले प्रदत्त गरेका अधिकारको उपयोग गर्दै प्रदेश तथा स्थानीय तहमा प्राज्ञिक संरचनाहरू बनाउनु स्वाभाविक र खुसीको कुरा पनि हो । प्रदेश र स्थानीय तहका प्राज्ञिक संरचनाहरूको संरचनात्मक ढाँचा, मर्यादाक्रम, सेवा, सुविधामा एकरूपता नहुँदा अनेक किसिमका जटिलता सिर्जना हुने देखिन्छ । त्यसैले, सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका सबै प्राज्ञिक संरचनाहरूका बिचमा एकरूपता कायम गराउन पहल गर्ने । ५. प्रज्ञा–प्रतिष्ठानहरुलाई प्राप्त बजेट अत्यन्तै न्यून र अपर्याप्त छ भने भौतिक संरचनाको अभाव रहेको छ । त्यसैले, अनुसन्धान, सिर्जना, प्रकाशन लगायतका प्राज्ञिक कार्य गर्नका लागि यथोचित बजेटको व्यवस्थाका साथै आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि सरकारले ध्यान दिनुपर्दछ । ६. स्रष्टाहरूको औषधी  उपचारका लागि राज्यले विशेष व्यवस्था गर्ने । स्रष्टाहरूको स्वास्थ्योपचारका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा अक्षयकोष निर्माणका लागि सम्बन्धित सरकारसमक्ष आग्रह गर्ने । ७. स्रष्टा परिचयपत्रलाई व्यवस्थित गर्दै एकरूपता कायम गर्ने । ८. केन्द्र, प्रदेश तथा स्थानीय तहका प्राज्ञिक निकाय बिचको सम्बन्ध सेतुका आधारहरू निर्माण गर्दै सहकार्य गर्ने । ९. संस्कृति, ललितकला, साहित्य, सङ्गीतसँग सम्बन्धित कच्चा पदार्थ∕सामग्री, कलाकृति, पुस्तकहरूको बिक्री, वितरणमा भन्सार तथा अन्य कानुनी प्रावधानका कारण विभिन्न किसिमका समस्या र झन्झट बेहोर्नु परेको छ । अनावश्यक प्रक्रियागत झन्झट हटाउनु पर्ने । १०. भाषा, साहित्य, ललितकला, नाट्य, सङ्गीत, दर्शन आदि क्षेत्रमा विद्यमान मौलिक तथा रैथाने ज्ञान परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने । यस्ता पाठ्यक्रमहरू निर्माण गर्दा विश्वविद्यालय तथा पाठ्यक्रम विकास केन्द्रहरूले प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वय गर्नुपर्ने ।  

 रेशम चौधरीको अबको बाटो कता ?

 रेशम चौधरीको अबको बाटो कता ?

११८८ दिन अगाडि

|

१३ साउन २०८०

अनिल यादव डिल्लीबजार सदरखोरभित्र कैद भएको करिब चार वर्ष भइसकेको थियो । एक दिन पक्कै न्याय पाउने आशासहित आफ्नो रिहाइको दिन कुरिरहेका थिए, रेशम चौधरी । जेलमा रिहा गर्ने आश्वासन लिएर उनलाई भेट्न आउने नेताहरूको कमी थिएन । तैपनि आश्वासनमै सीमित भइरहेको थियो उनकोे रिहाइ ।  यही कारण जेलभित्र निकै दुःखी थिए उनी । मिति ठ्याक्कै याद छैन उनलाई । एक दिन जेलभित्र खाना खाइरहेका वेला आफ्नो कोठामा एउटा मुसा दौडिरहेको देखे । दुःख परेका वेला साथी भेटेजस्तै भयो उनलाई । तत्काल मुसालाई पाल्ने निधो गरे । नाम राखे– सेरु । सारासँग विश्वास गुम्दै गएका वेला उनमा अर्को विश्वास जाग्यो– यही सेरुले एक दिन मलाई उन्मुक्ति दिन्छ ।  मुसासँग एक्लै गफिन्थे रेशम । जेलभित्र कैयौँपटक उनको हाँसो र रोदनको एक्लो साक्षी बन्यो, सेरु । पछिल्लो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सम्मुखमा हो, एक दिन सेरुलाई चाउचाउ र कोक खुवाइरहँदा रेशमले भनेका थिएँ, ‘सेरु, मेरा धेरै सांसद जिताइदिनु है ।’ ‘नभन्दै म जेलमा हुँदा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा चार र प्रदेश सभामा सात सिट जित्न सफल भयो,’ रेशम सम्झन्छन्, ‘जेलमा म सेरुसँग एक्लै बोल्थेँ, ठट्टा गर्थें । मनका कुरा खोल्थेँ । आज बाहिर निस्किएपछि त्यही कथा मैले मेरा सांसदहरूलाई सुनाएँ । सबै चकित भए । अहिले सबैजना सेरु हाम्रो पहिचान हो भन्छन् ।’  राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाट छुटेको आज ५० दिन नाघिसक्यो । अहिले उनको साथमा सेरु छैन । सेरु जेलभित्रै छुट्यो । अहिले त्यही सेरुलाई सबैभन्दा बढी मिस गरिरहेका छन्, रेशम । ‘दुःख परेको वेला भेटिएको मुसा थियो,’ रेशमले सम्झिए, ‘एकजना कैदीबन्दी मित्र देवेन्द्र भन्ने साथीले पनि उसलाई पाल्नमा सहयोग गरेका थिए । उनी पनि जेलमुक्त भइसके । त्यही मुसाका कारण मुक्ति पाएको विश्वास गर्थे । अहिले डिल्लीबजार जेलभित्र धेरै कैदीहरू त्यही मुसालाई आफ्नो गहना ठान्छन् । जेलभित्र उसैलाई भगवान् मान्छन् । त्यसैले मलाई बाहिर ल्याउन दिएनन् । मन गाँठो बनाएर मैले पनि सेरुलाई त्यहीँ छोडेर आएँ ।’ ‘अविश्वसनीय’ रिहाइ २०७२ मा राज्यको पुनर्संरचना हुने क्रममा सुदूरपश्चिममा प्रदेशको नामकरणलाई लिएर आन्दोलन चलिरहेको थियो । थारूहरू पहिचानसहितको थरुहट प्रदेशको माग राख्दै आन्दोलनमा थिए भने अर्कोतिर अखण्ड सुदूरपश्चिमको । त्यही क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना हुन पुग्यो । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको मृत्यु भयो ।  उक्त घटनाको मुख्य अभियुक्त बनाइए, रेशम । त्यसपछि देश छाडेर भाग्न बाध्य उनी राज्यको नजरमा ‘फरार अभियुक्त’ हुँदाहुँदै ०७४ को निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभाको उम्मेदवार बने । तत्कालीन राजपाबाट चुनाव लडेका उनलाई कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवामा लुकेरै बसेको अवस्थामा पनि कैलाली १ का मतदाताले ३४ हजार तीन सय ४१ मत दिएर चुनाव जिताए । तर, त्यसपछि यति ठूलो जनमत पाउँदापाउँदै पनि उनी संसद् छिर्न पाएनन्, डिल्लीबजारस्थित सदरखोरभित्र ‘कैदी सांसद’ बन्न बाध्य भए ।  रेशम अहिले भेटघाटमा व्यस्त छन् । जेलबाहिर निस्किएको ६१ दिनमा उनी मेचीदेखि महाकालीसम्मका ३८ जिल्ला पुगे । यसबीचमा उनले गीत रेकर्ड गर्नसमेत भ्याए । रेशम अहिले भेटघाटमा व्यस्त छन् । जेलबाहिर निस्किएको ६१ दिनमा उनी मेचीदेखि महाकालीसम्मका ३८ जिल्ला पुगे । यसबीचमा उनले गीत रेकर्ड गर्नसमेत भ्याए । जुन पार्टीबाट टिकट लिएर उनले चुनाव जिते, उसले पनि रिहाइका लागि पहल गरेको महसुस नभएपछि अन्ततः रेशमले जेलमा रहँदारहँदै श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ पार्टी खोले– नागरिक उन्मुक्ति पार्टी । राज्यबाट उत्पीडनमा परेका नागरिकहरूको उन्मुक्तिको लडाइँ अब आफैँ पार्टी खोलेर लड्ने निष्कर्षमा पुगे ।  यस बीचमा ठूला दलका शीर्ष नेताहरू पटक–पटक उनलाई जेलमा भेट्न नगएका होइनन् । तर, जो जान्थे रिहाइको आश्वासन मात्रै दिन्थे । ‘तपाईं निर्दोष हुनुहुन्छ, तपाईमाथि अन्याय भएको छ, तपाई छुट्नुपर्छ,’ सबै तत्काल रिहा गराउने आश्वासन दिएर जान्थे । तर, ०८० जेठ १५ सम्मको कुरा हो, उनी रिहा हुन सकेका थिएनन् । गणतन्त्र दिवसको केही दिनअघिको कुरा हो, टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशमलाई कैद सजाय माफी दिएर रिहाइ गर्ने खबर फैलियो । तर, त्यो खबर यसपटक पनि रेशमले पत्याएका थिएनन् । रिहाइ हुनु एक घन्टाअघिसम्म उनलाई आफू छुट्दै छु भन्ने विश्वास थिएन । कारण, पटक–पटक पाएको धोका । अझ त्यसमाथि छुट्ने दिन बिहान आममाफी पाउनेमा सुरुमा १८ जनाको मात्रै नामावली आयो । त्यसवेला उनीसँग नजिक रहेका सहायक जेलर आत्तिँदै उनीकहाँ आएका थिए । जेलको आँगनमा आएर उनले रेशमलाई भने, ‘समाचारमा तपाईंले आममाफी पाएको खबर आएकै छ, तर यहाँ तपाईंको नाम आएन । एकचोटि बुझ्नुस् न के रैछ ?’  जवाफमा रेशमले भने, ‘म के बुझौँ र भाइ, मैले फोन गर्न पाउँदिनँ । तपाईं आफैँ बुझ्नुस् ।’ त्यसपछि सहायक जेलरले राष्ट्रपति कार्यालयमा कार्यरत आफ्ना सहकर्मीसँग यसबारे बुझेपछि जवाफ आयो– ‘आममाफी भएको हो, पत्र आउँदै छ ।’लगत्तै त्यसको केही समयपछि गृह मन्त्रालयबाट कारागारमा रिहाइको पत्र आइपुग्यो ।  ‘तीन दिनका लागि भनेर जेल गएको मान्छे झन्डै साढे चार वर्ष बसिसकेको थिएँ,’ रेशम भन्छन्, ‘यो बीचमा पटक–पटक मैले मेरो रिहाइको हल्ला सुनिरहेकै थिएँ । सबै ठुल्ठूला नेता अब छुट्नुुहुन्छ भन्दै भेट्न आउँथे, तर छुटेको थिइनँ । त्यसैले एक न एक दिन छुट्छु भन्ने त थियो, तर त्यही दिन छुट्छु भन्नेमा विश्वास थिएन । छुट्नु अघिको रात पनि अरू दिन जस्तै बिन्दास तरिकाले नै सुतेँ । रिहाइको खबर सामान्य लाग्न थालिसकेको थियो । मान्छेले धेरै पीडा खेपेपछि विश्वास हराउने रहेछ ।’ २ जेठमा सर्वोच्च अदालतमा रेशमको मुद्दाको फैसला हुँदै थियो । अब त छोरा छुट्ला भनेर रेशमकी आमा सुल्फीदेवी कैलालीको जगतपुरबाट काठमाडौं आएकी थिइन् । साँझ फैसला आउनुअघिसम्म रिहाइ हुने फैसला आउला भनेर सर्वोच्च अदालतको गेटमा बसिरहेकी थिइन् । तर, फैसला अपेक्षा गरेभन्दा फरक आइदियो । उच्च अदालतले सुनाएको जन्मकैदकै फैसलालाई सर्वोच्चले सदर गर्‍यो ।  जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना, उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब रेशमको बाटो कुन हो ?’  आमालाई खबरले पिरोल्यो । आमा न गाउँ फर्किइन्, न रेशमलाई भेट्न जेलमै गइन् । ‘आमालाई साह्रै पीडा भएछ, सर्वोच्चको फैसलापछि मलाई भेट्न आउनुभएन,’ रेशमले भने, ‘आउन मनै लागेनछ । म छुट्ने दिन भने बिहान ६ बजे नै आइपुग्नुभएको थियो । भेट्नेबित्तिकै रुनुभयो, मेरो निधार छाम्नुभयो । मेरो रिहाइमा साह्रै खुसी हुनुहुन्थ्यो । मन्त्रीज्यू (श्रीमती रन्जिता श्रेष्ठ) आउन ढिला भयो, जेलमा मलाई बुझिलाने नै आमा पो हुनुभयो । मन्त्रीज्यू त जेलबाहिर गेटमा पो भेटिनुभयो ।’ अबको बाटो डिल्लीबजार कारागारमा रहँदा रेशमलाई भेट्न आउने नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको लर्को हुन्थ्यो । यतिसम्म कि कारागार प्रशासनले उनको नाममा छुट्टै रजिस्टर नै राखेको थियो । जेलभित्र पुग्दा रेशम सधैँ सुटबुटमा ठाँटिएर ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा व्यस्त भेटिन्थे । जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना, उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब उनको बाटो के हो ?’ जेलबाट सिधै मन्त्री क्वाटर पुगेका रेशमको अबको बाटो कता ? रेशम सर्टकर्टमा जवाफ दिन्छन्, ‘राजनीति नै हो । पार्टीलाई अघि बढाउने हो । पार्टीको कार्यदिशा र रणनीति बनाउने हो ।’ रेशमको रिहाइअघिसम्म उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको मूल एजेन्डा नै टीकापुर घटना र उनको रिहाइ थियो । तर, अब उनी रिहा भइसके । उनको पार्टीले बोक्ने मुख्य एजेन्डा के त रु ‘अबको एजेन्डा पहिचान स्थापना नै हो,’ रेशम भन्छन्, ‘म पहिचानको आन्दोलन गरेको मान्छे । पहिचानको आन्दोलन गर्दागर्दै जेल पुगेको मान्छे । त्यसैले स्वाभाविक रूपमा हाम्रो मुख्य एजेन्डा थरुहट प्रदेश नै हो । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता हाम्रो लक्ष्य हो ।’ रेशम साउनको दोस्रो साताबाट पार्टीको संगठन विस्तारमा होमिँदै छन् । ०८४ को चुनावमा पार्टीलाई राष्ट्रिय दल बनाउने उनको योजना छ । ‘जुन पार्टीसँग मुद्दा हुँदैन, उसले व्यक्ति हेरेर भोट दिन्छ । जोसँग मुद्दा हुन्छ, त्यहाँ नेताभन्दा पनि पार्टी हेरिन्छ,’ रेशम भन्छन्, ‘हाम्रो विजय भनेको उम्मेदवार होइन, मुद्दा हो । हामी मुद्दामा हिँडेको पार्टी भएका नाताले हामी ०८४ को चुनावमा राम्रो परिणाम ल्याउँछौँ भन्नेमा ढुक्क छौँ । मात्रै असल नेता र नेतृत्व छान्न चुक्नु हुँदैन भन्ने छ ।’ जेलबाहिरका ६१ दिन  रेशमलाई अहिले मान्छेहरू भेटघाट गरेरै फुर्सद छैन । जेलबाहिर निस्किएको ६१ दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३८ जिल्ला घुमे उनी । यसबीच उनले गीत रेकर्ड गर्नसमेत भ्याए । चार दिवारबाट बाहिर निस्किएको साढे पाँच वर्षपछि देशव्यापी यात्रामा निस्कँदा भेटिएका पात्र र दृश्यहरूले आश्चर्यमा छन् उनी । थुप्रै परिवर्तन महसुस गरेका छन् ।  त्यसो त परिवर्तन जेलबाट रिहा भएलगत्तै सुरु भयो । फरार सांसद भएका वेला उनी जेल भित्रिएका थिए । निस्कँदा मन्त्रीका श्रीमान् भए । जेलबाट रिहा भएपछि उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मन्त्री क्वार्टर लिएर गइन् । ‘हिजो मेरी श्रीमती काठमाडौंमा एउटा कोठा लिएर डेरामा बस्थिन्,’ रेशमले भने, ‘मन्त्री हुनु अघिल्लो रातसम्म डेराको एउटा कोठामा थिइन् उनी । अहिले मन्त्री भएपछि क्वार्टरमा छिन् । टीकापुर घटनाले मेरो घर, एफएम, गाडी सबै नष्ट गर्‍यो । त्यसैले म अहिले श्रीमतीको क्वार्टरमै बस्न बाध्य छु ।’ १५ जेठमा रिहा भएकै दिन काठमाडौंमा स्वागत ग्रहण गरेपछि उनी आफ्नो कार्यकर्तालाई धन्यवाद दिन टीकापुर हानिए । नेपालगन्ज एयरपोर्टमा ओर्लिनासाथ उनको स्वागतमा ठूला भिड जम्मा भएको थियो । बाजागाजासहित आएको त्यो भिडमा पाँच–६ जना वृद्धवृद्धाहरूको समूह थियो । जसमा एकजना १०३ वर्षका वृद्ध पनि थिए । लौरो टे्क्दै आएका ती वृद्धले रेशमलाई फूलको मालाले स्वागत गर्दै भने, ‘म सधैँ रेशम चौधरी भेट्न पाइन्छ कि पाइँदैन भनेर सोच्थेँ । मेरो भाग्य बलियो रहेछ, तिमीलाई यही जुनीमा देख्न पाएँ । अब ढकियामा भोट हाल्न पाउँछु कि पाउँदिन थाहा छैन । तर, चिन्ता नलिनू । मैले मेरो परिवारको सबैलाई सम्झाएको छु ।’ती वृद्धको भनाइले रेशम निःशब्द भए । ‘मेरो आँखामा अझै ती वृद्ध आइरहेका छन्,’ रेशम भन्छन्, ‘जताततै ९०–९५ वर्षका आमाबुबाहरू मलाई माला लगाउन आउनुभएको थियो । मलाई भेट्न आउने, सहानुभूति राख्ने, मलाई सम्झिने सबैको दैलोमा धन्यवाद भन्न पुगेको हुँ ।’ यस बीच सबै दलका शीर्ष नेताहरूले रेशमलाई भेट्न बोलाए । नेताहरू कैलाली पुगेर जसरी निर्दोष भन्थे, त्यही तरिकाले बधाई दिए । धरान उपमहागनरपालिकाका मेयर हर्क साम्पाङलाई भने आफैँ भेट्न पुगे रेशम । हर्कको कामबाट प्रभावित उनलाई श्रम गर्न आवश्यक औजार साबेल, गैँची उपहार दिए । जेलमा रहँदा कैदीहरू प्रायः तीन प्रकारका चरा मात्रै देख्छन्, भंगेरा, परेवा र टाढा उडिरहेको चिल । बाहिर निस्किएपछि रेशमले हजारौँ पक्षीको चिरबिराहट देख्न र सुन्न पाए । ‘कर्णालीको पानी खाएर हुर्किएको मान्छे अहिले त गाउँमा पनि मिनरल वाटर पिलाउन थालेछन्,’ ठट्यौली शैलीमा रेशम भन्छन्, ‘व्यापारीकी श्रीमतीले पनि गुछीको ब्याग बोकेको देखेँ । साँच्चै दुनियाँ धेरै परिवर्तन भइसकेछ ।’ न्याय मिल्यो त ? रेशमको रिहाइलाई लिएर बजारमा अनेक टीकाटिप्पणी भए । कतिपयले उनको आममाफीमाथि प्रश्न उठाए । कतिपयले स्वागत गरे । कतिपय भने उनले सजायमाफी पाएर रिहा हुँदा वास्तविक न्याय नमिलेको बताइरहेका छन् । ‘मैले कसरी न्याय पाएँ ? मैले त सहेको मात्रै छु नि,’ उनी भावुक सुनिए, ‘मेरो पीडा बुझिदिने कोही छैन । भदौ ७ गते टीकापुर घटना हुँदा सबैभन्दा बढी क्षति मेरै भयो । मेरो घर रहेन, रिसोर्ट रहेन, गाडी रहेन, एफएम रहेन, लत्ताकपडा रहेन । पुरातात्विक सामान रहेन । एउटा टिसर्ट र पाइन्टबाहेक अरू केही रहेन । आज निस्कँदा मसँग अझै बस्ने घर छैन । अदालतबाट स–सम्मान रिहा हुन्छु भन्ने अपेक्षा थियो तर आममाफी पाएर रिहा हुनुपर्‍यो ।’अझै पनि काठमाडौंका मान्छेहरूले हत्याराको ट्याग भिराइदिँदा उनको चित्त दुखेको छ । उनी भन्दै थिए, ‘मलाई अझै पनि हत्यारा भन्छन्, भाला रोप्यो भन्छन्, त्यही पनि सहनैपर्छ रु म त्यतिवेला मारिएको सानो बच्चाको नाममा टीकापुरमा सालिक बनाउँदै छु । म जेलबाट छुटेको भोलिपल्ट बच्चाको घरमा गएँ । परिवारसँग भलाकुसारी गरेँ । बच्चाको बाजे अहिले पनि भेट्न आइरहनुहुन्छ । घटनामा जसको बच्चा मरेको छ, उसको परिवारले रेशम निर्दोष भनिरहेको छ । तर, सहरमा बस्नेहरूचाहिँ मलाई हत्यारा भनिरहेका छन् । कहिलेकाहीँ त रिस उठ्छ, प्रतिकार गरौँ कि भन्ने लाग्छ । तर, आफैलाई अहँ हुँदैन भनेर नियन्त्रण गर्छु ।’ झन् नयाँबाट  

सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

११८८ दिन अगाडि

|

१३ साउन २०८०

कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषक आसरे राम बडायक सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनलाई डेढ लाख राशिको भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषकको सम्मान दिएको हो ।  यसैबीच, कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेलधुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाद दत्त अवस्थीलाई जनही ७५ हजार राशिको उत्कृष्ट पुरस्कारबाट सम्मानित गरियो । ती उत्कृष्ट किसानहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरेका हुन् । के गर्छन् बडायक ? कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय किसान आसरे राम बडायक ६ विगहामा धान, गहुँसहित उखु र आलु खेती गर्छन् । उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य शृङ्खला वृद्धि भई उनले मनग्ये आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ, त्यसको प्रतिफल नै मुनाफा हो ।’ विगत ८ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रूपमा उखु र आलु, तोरी र मसुरो खेती एक सँगै गर्दै आएका छन् । मिश्रित बालीमा लाभैलाभ बडायक कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो । उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर उनले तालिम पाए । जसबाट उनी निकै प्रभावित भए ।  मिश्रित बालीबारे उनले भने, ‘उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर चार्जमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’ सुरुवाती वर्षमा १ बिघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले हतोत्साहित भएनन् । दोस्रो वर्षमा भने उनको मेहनतले रङ्ग ल्यायो ।   बडायक इन्टरनेटको माध्यमबाट पनि प्राविधिक ज्ञानबारे सर्च गरिरहेका हुन्छन् । महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिम समेत लिइसकेको उनी बताउँछन्  । बडायक पछिल्लो समय उखु र थारू आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोगसमेत पाउँदै आएका छन् । गत वर्ष उनले डेढ बिघामा आलु र उखु, १४ कठ्ठामा तोरी र उखु तथा १ बिघामा उखु र मसुरो बाली रोपेका थिए । आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति बिघा डेढ सय क्विन्टलका दरले आलु फलाएका थिए । उखुमा पनि नयाँ प्रविधि उखु खेतीबाट पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ बिघामा उखु खेती गर्दै आएका उनी प्रति बिघा सरदर ११ सय क्विन्टल उत्पादन गर्छन् । उखु खेतीमा उनले बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी बर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिन्छ ।  उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति बिघामा २ क्विन्टल उखुको अँखला बीउ प्रयोग गर्छु । जबकि अन्य कृषक प्रति बिघामा ७० क्विन्टल बीउ प्रयोग गर्छन् ।’ धान खेतीमा छरुवा प्रविधि बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् । छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ ।  यसमा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरू आकर्षित भएका छन् । जसबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ । कृषि कार्यमा यान्त्रिकीकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनले वार्षिक वर्ष २० देखि २५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् ।

मनाङको त्यो टोपी खस्ने उकालो

मनाङको त्यो टोपी खस्ने उकालो

११८८ दिन अगाडि

|

१३ साउन २०८०

मोतीराम चौधरी ‘रत्न’ मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो ।  त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो । हामी काठमाडौँबाट सर्वेक्षणको यात्रामा थियौँ । काठमाडौँबाट गोर्खा, मनाङ, मुस्ताङ, जुम्ला हुँदै आफ्नो गृह जिल्ला कैलाली पुग्ने योजना थियो ।  काठमाडौँबाट नाइट बस चढी गोर्खातिर लागियो । मनकामना पुग्दा केबलकार चढ्नेहरू हुलका हुल देखिन्थे । केबलकारले मेरो पनि मन लोभ्यायो । एक मन त बसबाट ओर्लेर केबलकार चढी हाल भन्दै थियो।  तर, बसबाटै एक दुइटा फोटो खिचेर मन शान्त गरियो । अर्को यात्रामा आउँछु है भन्दै चित्त बुझाइयो । साँझतिर गोर्खा पुगियो ।  हामी गोर्खा पुगेर भाषा सर्वेक्षणको काम ठाँटी राखी गोर्खा दरबार घुम्नमा व्यस्त भयौँ । गोर्खा दरबारको शिल्पकला देखेर काठमा बुट्टा कुँद्ने कालीगढको कलालाई ‘वाह’ भन्न कर लाग्यो । दरबारबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला देखेर मनमुग्ध भइयो ।  संसारको पाँचै अग्लो हिमाल मनास्लु यही भेकमा पर्छ । यहाँबाट धवलागिरिदेखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै, घना जंगल तथा हरिया पहाड, हिमालदेखि कलकल गर्दै बग्ने नदीनाला, सम्म मैदान र फाँटहरू, शीतोष्ण हावापानी, शान्त वातावरण आदिले यहाँ आउने जो कोहीको पनि मन छुन्छ । गोर्खा र लमजुङको सिमानामा रहेको छ दूधपोखरी । यही पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङ जिल्लाको सिमाना छुट्याउँछ । नारद पोखरीबाट निकास भई गोर्खाको बीच भागबाट दरौदी नदी बगेको छ, जसलाई धर्मनदी पनि भनिन्छ । यसैको तिरैतिर गयौं हामी ।  बाटोमा लोभलाग्दो रूपमा फ्राई गरेर बेच्न राखेको माछा देख्दा भोक जाग्यो । बस रोकिने बित्तिकै माछाको स्वाद लिन बसबाट ओर्लियौ ।  भाषाको सर्वेक्षणको लागि नयाँ साँघु भन्ने ठाउँमा पुग्नुपर्ने थियो । लोकल बसमा चढ्यौ तर यात्रुको चापले बस खचाखच थियो । साँझ पर्दै थियो, सबैलाई जानै पर्ने थियो । कोचाकोचमा हामी जसोतसो गन्तव्यमा पुग्यौ । गोर्खाको बारपाक पुग्ने धोको चाहिँ यसपालि पूरा हुन सकेन । त्यो राती हामी पोखरामा साथी प्रकाश भट्टको डेरामा एक रात कटायौ । पोखराबाट एकाबिहानै बस चढेर मनाङतिर लाग्यौ । मनाङको नामको अर्थ खोज्दा मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ’ शब्दबाट अपभ्रंश भएर आएको पाइयो । तिब्वती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देउ भन्ने हुँदो रहेछ । अर्थात् विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायता बिना अति कष्टकर हिमाली जीवनशैली रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ ।  लामो बसको यात्रापछि बेशीशहर पुगियौ । त्यहाँबाट ठुलो बस मनाङ नजाँदो रहेछ । त्यसैले, धारापानीमा बस्ने एक जना दाइ क्षेत्रबहादुर गुरुङको सम्पर्कमा एउटा सानो गाडी हाम्रो प्रतीक्षामा घण्टौँ पर्खिरहेको थियो । हामी लगभग ३ बजे पुग्यो र नास्ता खाएजस्तो गरेर गाडीमा बस्यौ ।  पछाडि सामान लोड गरेको बोलेरो गाडीमा ड्राइभरलगायत हामी ७ जना थियौँ । सुरुमा यात्रा रमाइलो थियो । मर्स्याङ्दी नदीको तिरैतिर जाँदा विभिन्न छाँगाछहराबाट कलकल पानी बगेको देख्दा मनै खुसी हुन्थ्यो । एक ठाउँमा निकै आकर्षक छाँगा देखियो । त्यहाँ खाजा, नास्ता पनि पाइने भएकाले गाडी रोक्यौँ । अनि, झरनाको फोटो आआफ्नो मोबाइलमा कैद गर्न थाल्यौ ।  त्यहाँ इन्टरनेटको नेटवर्क राम्रो थियो । त्यसैले, कैलालीमा रहेकी आफ्नो जीवन संगिनीलाई भिडियो कलबाट त्यो मनोहर दृश्य देखाएर खुसीयाली साटेँ । लोभलाग्दो दृश्य देखेपछि अर्कोपल्ट त्यो ठाउँ म पनि जाने है भन्दै लाडिइन् । हुन्छ त भनियो । तर आफू नै यो ठाउँ पुनः आउने टुङ्गो छैन । मेरो मनको कुरा छेउमा बगिरहेको मर्स्याङ्दी नदीको सुसाईमै बिलायो ।  हामी फेरि यात्रा सुरु गर्‍यौँ । चिसो अलिअलि बढ्दै थियो । सुरुमा झ्यालतिर फोटो खिच्न बसेको एक जना साथी एकाएक डर मान्न थाले । उनले सँगै बसेको दिदीसँग सिट साटे । किनकि झ्यालबाट बाहिर हेर्दा मन सिरिङ्ग हुने मर्स्याङ्दीको गहिरो खोँच देखिन्थ्यो ।  अर्कोतिर बाटो एकदमै साँगुरो, अर्कोतिरबाट गाडी आयो कि गाडी ब्याक गरी साइड दिनुपर्ने । बीच बीचमा ड्राइभरले ठाउँ इंगित गर्दै यो ठाउँमा पहिरो आउँदा गाडीसमेत मर्स्याङ्दी नदीले निल्यो भनेर अझ डरका मात्रा बढाइरहेका थिए । त्यसैले, बाँचेर सकुशल गइन्छ कि यही मर्स्याङ्दी नदीमै जीवन विलीन हुन्छ जस्तो लाग्थ्यो । बल्ल तल्ल हामी राती ११ बजे धारापानी पुग्यौ । गुरुङ साथी त्यहाँ पर्खिरहेका थिए । चियाले स्वागत गरे । को कसरी, कहाँ कहाँ जाने भनेर उनले सबै बेलीबिस्तार लाए ।  हामीले सोचेका थियौ, अब त गन्तव्यमा पुगियो । तर, गुरुङ साथीको बेलीबिस्तारले थाहा भयो, हाम्रो यात्रा त अझै धेरै बाँकी पो रहेछ । हामी त भर्खर मनाङको अलिकति मात्र भित्र आएका रहेछौँ । फेरि अर्को गाडी खोज्नुपर्ने भयो । उहाँले धेरै गाडी रोक्नुभयो तर बेशीशहरबाट माथि आउने सबै गाडी भरिएको थियो । रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । अन्ततः गाडी नपाइएपछि त्यही बस्ने निर्णय भयो ।  मर्स्याङ्दी नदीको ढिकमै सानो घर थियो, बास बसेको ठाउँ । नदी सुसाएको कोठासम्मै आवाज आउँथ्यो । सिमसिमे पानी पर्न सुरु गरेको थियो। हामीले बाटोमा धेरै घर बगाएको दृश्य देखेका थियौ । त्यसैले, डरले मनमा चिसो पसेको थियो । तर, दिनभरिको थकानले निद्रादेवीको काखमा मस्तराम भयौँ ।  अर्को बिहान हामी ९ बजेतिर पो उठ्यौँ । उठ्दा नास्ता तयार भैसकेको थियो । नास्तापछि गाडी खोजियो तर कुनै गाडी पाइएन । अन्तिममा कुनै विकल्प नभएर हिँडेर जाने निर्णय गरियो । साथीले पनि २र३ घण्टा मात्र लाग्छ, रमाइलो पनि हुन्छ । हिँडेर जानुस् भनेर बाटोको नक्सा बनाइ दिएर बिदाइ गर्नुभयो ।  बाटोको लागि केही खानेकुरा, पानी बोकेर हामीले पैदलै यात्रा सुरु गर्‍यौँ । सुरुमा त रमाइलो भयो। बीच बीचमा फोटो खिच्दै, गफिँदै रमाइलो लागिरहेको थियो । तर लास्टै उकालोले हलुंगो झोला बिस्तारै गह्रौ हुन थाल्यो ।  बाटोमा आक्कल झुक्कल घर, पसल देखिन्थ्यो । लामो हिँडाइपछि एउटा सानो होटल देखियो । थकाई मार्न र नास्ता गर्न पस्यौँ । होटल मालिकलाई जाने ठाउँबारे सोध्यो । उनले त अझै २र३ घन्टा लाग्छ पो भने । हामीलाई अचम्म लाग्यो, जबकि हामी २ घन्टा हिँडेर यहाँसम्म आइपुगेका थियौँ ।  नास्तापछि तुरुन्तै यात्रा सुरु गर्‍यौँ । हिँडाईको स्पीड बढायौं । तर, झन् झन् उकालो बाटो पो आउन थाल्यो । उकालोमा आफ्नै झोला भारी भैरहेको थियो । म पुरै थाकिसकेको थिए । साथीहरू हिँडौँ हिँडौँ भन्दै अगाडि बढ्दै थिए ।  मेरो बोतलको पानी सकिन आँटेको थियो । त्यसैले, घाँटी मात्रै भिजाएर जोगाएर राखे । बाटो ठाह्रै उकालो मात्रै होइन, ठाउँ ठाउँमा निकै घुमाउरो पनि थियो ।  साथीहरू अगाडि बढे पनि म भने एकछिन थकाई  मार्न बसेँ ।   उकालोले न माथि चढ्न सकिन्छ, न तल झर्न । यहाँबाट अब घर फर्किन सकिन्छ कि सकिन्न । किन यस्तो ठाउँमा आइयो । मनमा निराशा छायो । मनमा नाना थरिका कुरा खेल्न थाल्यो । सुनसान साँगुरो बाटो, केही गरी लडियो भने साथीहरूले मेरो हाडखोर पनि भेट्ने छैनन् भन्ने विचार मनमा आउँदा पनि जिउ सिरिंग भयो । उता, साथीहरू माथिबाट आवाज दिइरहेका थिए । म बोल्न पनि सकिरहेको थिइनँ । अनायास आँखाबाट आँसु झर्न थाल्यो । भक्कानो छाडेर रुन मन लाग्यो । तर, लोग्ने मान्छे भएर रुन हुन्न भन्ने गीत सम्झिँदै मन बुझाएँ ।   म नहिँडेपछि साथीहरू माथिबाट फर्केर मलाई लिन आउनु भयो ।  पानीको बोतल अनि झोलाबाट केही खानेकुरा निकालेर दिनु भयो । अलिकति बल अनि ढाडस पाइयो । सँगै उकालो चढ्न लाग्यौ । केही छिनपछि हामी अलि समथर ठाउँमा पुग्यौ । थकाई मार्दै, निरन्तर हिँडाइ जारी राख्यौ ।  निकै लामो हिँडाइपछि बल्ल २र३ वटा घर देखियो । बाटोभरि मानिसहरूको नामोनिसान देखिएको थिएन । बल्ल एकजना अधबैँसे पुरुष भेट्यौ ।  हामीलाई देखेर उहाँ हामीकहाँ आउनु भयो ।   हजुरहरू कहाँबाट आउनु भयो रु यसरी हिँडेर त कोही आउँदैन भन्नु भयो ।  जंगलमा जंगली जनावर  हुन्छन् ।  डराउनु भएन रु भनी सोध्नु भयो ।   ती होटलेको प्रश्नले हामीलाई अहिले पो डर लागेर आयो । हामी थकान मार्न र चिया नास्ता गर्न उहाँको सानो पसलमा अडियौँ । चियासँगै गफिन थाल्यौँ ।  त्यहाँ ३र४ घर थियो । गाउँको सबैजना यार्सागुम्बा खोज्न गएका रहेछन् । हेरालु उनीमात्रै रहेछन् । उनको मात्रै ३०० अनि गाउँको ६०० गरी ९०० भेडा रहेछन् । २ जना भेडा चराउन गएका रहेछन् ।  मलाई अचम्म लाग्यो, ९०० भेडा चराउने २ जना मात्रै गोठाला रु  मलाई याद आयो, हाम्रो घरमा ६ वटा बाख्रा पाल्न ४ जनालाई मुस्किल थियो । उहाँहरूको मेहनतको कदर गर्नैपर्ने हो भन्दै हामीले धेरै बेरको सुस्ताई पछि पुनः यात्रा सुरु गर्‍यौँ ।  बाटोमा एक जना साथी पुरनबहादुर गुरुङको घर पर्थ्यो । करिब २ बजेतिर हामी उहाँको घर पुग्यौ । अरू साथीहरू त्यहाँ जम्मा भएका थिए । उहाँहरूसँग त्यहाँ बोलिने भाषाबारे कुरा गर्‍यौँ । खाना खाइसकेपछि हामीले तुरुन्तै बिदा लियौँ ।  उहाँहरूको भनाईअनुसार अझै २, ३ घन्टाकै उकालो हाम्रो गन्तव्य थियो । हिँड्नु सिवाय अरू कुनै विकल्प थिएन । ४ बजेपछि आक्कल झुक्कल गाडी आउन सुरु गर्‍यो तर यात्रुहरूले भरिभराउ त्यो दिन गाडी चढ्ने भाग्यमा थिएन । हिँड्दा हिँड्दै लखतरान भएका हामी लगभग बेलुकी ७ बजेतिर गन्तव्य स्थान चामे पुग्यौँ । गन्तव्य चामेले ज्यान चाम्रो बनाइसकेको थियो । तर, मनाङ जति दुर्गम थियो, त्यति नै सुन्दर पनि लाग्यो । ....... मलाई जहिले जहिले मनाङको याद आउँछ, त्यही उकालोले भयभित तुल्याउँछ । तारानाथ शर्माको घनघस्याको उकालो शायद यति गाह्रो थिएन होला ।