थारू समुदायमा अष्टिम्कीको महत्व 

थारू समुदायमा अष्टिम्कीको महत्व 

७३७ दिन अगाडि

|

२० भदौ २०८०

मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

७४७ दिन अगाडि

|

१० भदौ २०८०

                                                                                                                         तस्विरः लेखकको फेसबुक वालबाट डा भक्त राई सामान्यतया मदिरा भन्नाले मादक पदार्थ (मात लाग्ने पेय पदार्थ) भन्ने बुझिन्छ । संसारमा मदिरा दुई प्रकारको हुन्छ । पहिलो प्रकारको मदिरा प्राकृतिक रूपमा मदिराको गुण भएको वस्तुहरु जस्को सेवनले मात लाग्छ जस्तैः सुर्ती, गाँजा, भाङ, धतुरो, च्याउ, मह, कदमको फल वा तेल, चिउरी, सुपारी, ताडीको रस, बिखुमा, फूलको रस, बास्ना आदि । र, अर्को प्रकारको मदिरा भनेको मानिसद्वारा निर्मित मादक पदार्थ । सन्सारमा मदिराको प्रारम्भ कहाँबाट र कसरी भयो भन्ने विषयमा फरक फरक धारणा पाइन्छन् । कसैले पूर्वीय संस्कृति र सभ्यताबाटै मदिराको प्रारम्भ भयो भन्ने दाबी गर्दै आएका छन् भने कसैले पास्चात्य संस्कृति र सभ्यताबाट सुरु भएको हो भन्ने विचार व्यक्त गर्दै आएका छन् । यसरी नै पूर्वमा पनि सर्वप्रथम आर्यहरुले मदिराको प्रारम्भ गरे कि अनार्यहरुले सुरु गरे भन्ने विषयमा स्पष्ट खोज अनुसन्धान हुन सकेको छैन । विभिन्न धार्मिक, दार्शनिक ग्रन्थहरुमध्ये किरातीहरुको मुन्दुमर मुन्धुम र आर्यहरुको वेदमा प्रशस्त मात्रामा मदिरा र यसको सेवनबारे चर्चा गरिएको पाइन्छ भने त्रिपिटक, कुरान, बाइबल आदि धार्मिक ग्रन्थमा भने मदिरालाई त्याज्य वस्तुका रूपमा अर्थात् यस्को सेवनलाई बहिष्कार गरिएको पाइन्छ । नेपालको सम्पूर्ण आदिवासी जनजातिहरुमा मदिराको प्रचलन पाइन्छ । किराती जातिको लगभग सबै समुदायमा मदिराको प्रयोग पाइन्छ । लाप्चा, मेचे, कोचे, राजवंशी, राना थारु आदि आदिवासी जातिले भने मदिरा र मांसको सेवन गरे पनि धार्मिक, सांस्कृतिक कार्यमा भने मदिरा र पशु हिंसालाई त्याग्दै आएका छन् । हिन्दु संस्कृत वाङमयहरु वेद, पुराण आदि ग्रन्थमा मदिरा र यसको सेवनबारे प्रशस्त मात्रमा चर्चा पाइन्छ । तर आर्यहरुले कहिलेदेखि सांस्कृतिक रूपमा मदिराको प्रचलन त्यागे भन्नेमा स्पष्ट विवरण पाइदैन । यस विषयमा त्यस्तो आधिकारिक खोज अन्वेषण हुन सकेको छैन ।  नेपालका आदिवासीहरुमध्ये किराती जातिमा कसरी मदिराको प्रारम्भ भयो भन्ने विषयमा पनि विभिन्न फरक फरक धारणा पाइन्छन् । एका थरीको मत के छन् भने किरातीहरुको आदिम पुर्खा पारुहाङ जहिले पनि बाहिर डुलिरहने । कहिले घरमा नबस्ने हुनाले उनकी श्रीमती सुम्निमाले मर्चाको आविष्कार गरेर मदिराको निर्माण गरी पारुहाङ्लाई सेवन गराएको र त्यसपछि मात्र उनी मदिराले मस्त भएर घरमा बस्न थाले । त्यसैले, मदिराको प्रारम्भ सुम्निमाले गरेकी हुन् भन्ने विचार राख्दै आएको पाइन्छ । अर्का थरीले भने प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले खाई नसकेको कन्दमुल तथा फलफूलहरु पातमा पोको पारेर ओडारमा छोडी राखेको र केही दिन पछि उक्त ओडारमा जाँदा आफूले छाडेको खाना चाख्दा बास्नादार तथा बेग्लै स्वादको भएको र त्यसको सेवन गर्दा हल्का मात लागेको हुँदा उक्त खानालाई मन पराएकोले त्यसरी नै गुम्साएर खान थालेको हुनाले त्यहीबाट मदिराको प्रारम्भ भएको भन्ने अभिमत राख्दै आएका छन् । यसरी नै अर्का थरीको विचार पनि झण्डै यही प्रकारको तर त्यो मत भने अलिक पछि कृषि युग प्रारम्भ भए पछिको पाइन्छ । यो मतअनुसार प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले लगेको खाना पातमा पोको पारेर बोक्ने क्रममा केही दिन पछि खाँदा बास्नादार तथा मात लाग्ने भएको र उक्त मात लाग्ने खाना स्वादिलो भएको हुँदा घरमा आएर पनि त्यसरी नै खानालाई पातमा पोको पारेर केही दिन गुम्साएर खाने गरेको र यसरी मदिरा परम्पराको प्रारम्भ भएको हो भन्ने विचार व्यक्त गर्दै आएको पाइन्छ ।  जाँड बन्ने प्रक्रियामा मर्चाको जरुरी पर्ने र मर्चा बनाउँदा विभिन्न प्रकारको झारपात (जडिबुटी) चाहिने भएको हुँदा यी भनाइसंग सहमत हुन सकिन्छ ।  जुनसुकै वस्तुको जाँड बनाउँदा पनि फर्मन्टेसनका लागि केही दिन पोको पारेर गुम्साएर  राख्नै पर्ने हुन्छ । त्यसैले, पछिल्लो यी भनाइमा निकै सत्यता पाइन्छ । नेपालका आदिवासी जनजातिहरुको परम्परागत संस्कृतिमा मदिराको प्रयोग अनिवार्य मानिन्छ । उनीहरुको हरेक सांस्कृतिक, धार्मिक क्रियाकलापमा मदिराको प्रयोग अनिवार्य मानिन्छ । आदिवासी जनजातिहरुले मूलतः खाना, खाजाको रूपमा, कोसेलीको रूपमा, प्रसादको रूपमा, आम्दानीको रूपमा, औषधिको रूपमा, आँट, जोश, तागतको लागि, शिर उभ्याउनीको लागि, क्षमा याचनाको लागि, अन्नको सदुपयोगको लागि, मनोरञ्जनको लागि, धार्मिक सांस्कृतिक कार्यमा प्रसादको रूपमा आदि कार्यमा प्रयोग गर्ने गर्दछन्।  संस्कृत वाङमयहरुमा खास गरेर ऋग्वेदमा मदिराबारे प्रशस्त मात्रमा चर्चा भएको पाइन्छ । हुन त कतिपयले वेदमा वर्णित पदार्थ मदिरा नभई औषधिजन्य पेय पदार्थ हो भन्ने विचार विचार राखेको पाइन्छ । तर त्यो गलत हो । किनभने वेदमा स्पष्टसङ्ग सोम रस (सोम लता, लहरा, जडिबुटी र फलफूलद्वारा बनाइएको मदिरा) सुरा) र अन्नबाट बनाइएको मदिरा) बारेमा बताइएको छ । ऋग्वेदको विशेष गरेर नवौं र दसौं मण्डलमा प्रशस्त मात्रामा मदिरालाई शक्तिको प्रतीक देवताको रूपमा चर्चा गरिएको छ । ऋग्वेदको नवौं मण्डल सूक्त १,६ मा यस्तो उल्लेख गरिएको छः पुनाति ते परिस्रुतं सोमं सूरस्य दुहिता । वारेण शश्वाता तना ।।६।।  अर्थात् हे सोमदेव, सूर्यपुत्रीले तिम्रो रसलाई सनातन र आवरणबाट बनाउँछिन ।  यसरी नै नवौं मण्डल सूक्त १, ८ मा यस्तो उल्लेख छः  तमीं हिनवन्त्यग्रुवो धमन्ति बाकुरं द्रुतिम । त्रिधातु वारणं मदु।।८।। अर्थात् तेजस्वी सोमरसलाई औंलाले निचोरेर रस निकाल्दछन् । यस्तो दुःख निवारक मधुर रसमा तीन शक्तिहरु रहेका हुन्छन् । यसरी नै ऋग्वेद ९, ६२, २२ मा यस्तो उल्लेख पाइन्छः एते सोमा असृक्षत गृणानाः श्रवसे महे। मदिन्तमस्य धारया ।।२२।। अर्थात् परम आनन्दले युक्त सोमरस स्तुति गानपछि हामीलाई असल शक्ति प्रदान गर्नका लागि धारो लागेर कलशमा खस्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने वेदमा मदिरा (सोम रस, सुरा) लाई शक्ति प्रदायक देवताको रूपमा, शक्तिनाशक उर्जाको रूपमा स्तुति गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने आर्यहरुले प्राचीन समयमा मदिराको प्रयोग अनिवार्य रूपमा गर्ने गर्दथे । आर्यहरु भारतीय उपमहाद्वीपमा आउनुपूर्व नै यस क्षेत्रमा किरातीहरुको संस्कृति र सभ्यताको प्रारम्भ र विकास भैसकेको हुनाले आर्यहरुले किरातीहरुबाटै मदिरा बनाउन सिके कि आफैले ल्याएको ज्ञान हो ? यस सम्बन्धमा अझैसम्म खोज अनुसन्धान हुन सकेको देखिदैन ।  उता इरान र यता चीनमा दशौ हजार वर्ष पहिले नै माटाको घ्याम्पोमा अङ्गुरको मादक पेय पदार्थ बनाइएको अवशेष पाइएको छ । वस्तुतः रैथाने आदिवासी जातिहरुले नै मदिराको प्रारम्भ गरेको कुरामा भने निकै विश्वस्त हुन सकिन्छ ।  मदिरा कति प्रकारको हुन्छ ? संसारमा मूलतः तीन तरिकाले तीन प्रकारको मदिरा उत्पादन गरिन्छ ।  १ वाइनरीबाट वाइन २ ब्रोअरीबाट बिअर र ३० डिस्टिलरीबाट रम, ह्वीस्की, भोड्का, ब्राण्डी, जिन, स्कच आदि ।  घरेलु परम्परागत मदिरा चाहिँ मूलतः दुई प्रकारको उत्पादन हुन्छ, ती हुन्ः  १ जाँड अर्थात् नरम प्रकारको मदिरा, यसअन्तर्गत भने विभिन्न थरीका जाँडहरु पर्दछन् । जस्तैः छनुवा, निगार, तोङ्बा, सरुवा, हुरेजाँड, भाती जाँड, सुमे जाँड, ओथारे छोक्रा आदि । २ रक्सी अर्थात् कडा प्रकारको मदिरा । यसअन्तर्गत एक पानेदेखि १२, १४ पानेसम्मका रक्सीहरु पर्दछन् । कसरी बन्छ मदिरा ? घरेलु मदिरा मुख्य तीनवटा सामग्री अन्न, फलफूल र कन्दमूलबाट बनाइन्छ । जुनसुकै वस्तुबाट मदिरा निर्माण गरे पनि अनिवार्य रूपमा मर्चा आवश्यकता पर्दछ । दूधबाट दही, सागबाट गुन्द्रुक, मुलाबाट सिन्की, भटमासबाट किनिमा बनेजस्तै फर्मेन्टेट प्रक्रियाबाट जाँड बन्ने गर्दछ । जाँडलाई वाष्पीकरण गरेर रक्सीको निर्माण गरिन्छ ।  वाइन कसरी बन्छ ? संसारभर वाइन पिउने प्रचलन पाइन्छ ।  वाइन अङ्गुरबाट बनाइन्छ । वाइन बनाउँदा पनि घरेलु मदिरा बनाउँदा जस्तै पहिले वाइनलाई राम्ररी पकाइन्छ अनि सेलाएपछि त्यसमा मर्चा हालिन्छ र सामग्री अनुसारको भाँडामा गुम्साएर राखिन्छ । केही दिनपछि उक्त सामग्री फर्मेन्टेट भएर तयार हुन्छ र त्यसलाई छानेर आवश्यक रङ र अल्कोहल थपेर बोट्लिङ  गरिन्छ । बियर कसरी बन्छ ? वाइन अङ्गुरबाट बनेजस्तै बियर जौबाट बन्ने गर्दछ । बियर बनाउदा सर्वप्रथम जौलाई माल्टिङ (टुक्राउने) गरिन्छ । र, त्यसमा पनि मर्चा  हालिन्छ र हावा नछिर्ने गरी सुममा प्याकिङ गरेर राखिन्छ । १०, १५ दिन पछि फर्मेन्टेड भैसक्छ । त्यसपछि किटाणुहरु मार्न र लामो समयसम्म राख्न नबिग्रोस् भन्नका लागि उमाल्ने काम (पास्चरिङ) गरिन्छ । त्यसपछि आवश्यक रङ, अल्कोहल र बास्ना हालेर बोट्लिङ गरिन्छ ।              यसरी हेर्दा के देखिन्छ भने प्राचीन समयदेखि नै संसारभर मदिराको प्रचलन पाइन्छ । संसारको जुनसुकै क्षेत्र, वर्ग र समुदायमा मदिराको प्रचलन भए पनि यसको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक भएको हुँदा यस्को सेवनमा सजग हुन जरुरी छ । 

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

७५३ दिन अगाडि

|

४ भदौ २०८०

थारू समुदायमा विभिन्न चाडपर्व छन् । अहिले माघ (माघी) लाई नयाँ वर्षको रुपमा मान्न थालिएको छ । नभए पहिले पुर्खाहरुले गुरहीलाई वर्षको पहिलो चाड मान्थे । यसबारे एउटा भनाई छ, ‘जट् बर्कि जट् बोक्सिन, जट् छोटकि जट् छिनार ।’बर्कि अर्थात् ठूली, यस मानेमा सबैभन्दा जेठो चाड गुरही । यसमा भूतप्रेत मन्साउने कार्य हुने भएकाले भूत, बोक्सीको प्रसंग आउँछ । अनि छोटकि अर्थात् कान्छी, सबैभन्दा पुछारको चाड ढुरहेरि अर्थात् होली । होलीमा रंग, अविर दल्दै  हा हू गर्ने परम्परा भएकाले यसलाई उरन्ठेउलो, लाज नभएको चाडको रुपमा लिइन्छ ।  यसरी आआफ्नै किसिमको तर्क यस पर्वबारे भेटिन्छ । यहाँ थारू समुदायको प्रमुख चाडमध्ये एक ‘गुरही’को चर्चा गरिन्छ । गुरहीको मौलिकता थारू समुदायको गुरही पर्वको दिन नै आम नेपालीको नागपञ्चमी पर्व पर्छ । त्यसैले ‘गुरही’ र ‘नागपञ्चमी’ एउटै हो कि भन्ने आम बुझाई छ । थारू समुदायकै कतिपयले गुरही अर्थात् नागपञ्चमी भनेर सामाजिक सञ्जालमा शुभकामनासमेत दिएको देखिन्छ । गुरही र नागपञ्चमी एक अर्काको पर्याय पर्व होइन ।  नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । यो अलग कुरा हो कि अरुको देखासिकीमा थारू समुदायमा पनि नागको तस्विर टाँसेर नागपञ्चमी पनि स्वीकारिन्छ । तर गुरहीमा सर्पको पूजा हुन्न, गाइने किराको पूजा हुन्छ । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै मौलिकता छ भने सर्प भगाउने मन्त्र पढिने नागपञ्चमीको आफ्नै । त्यसैले, गुरही र नागपञ्चमी एउटै हो भन्ने बुझाइ हटाउन, यी दुबै बीचको फरक मनन गर्न थारू समुदायले ढिलाइ गर्नुहुन्न ।  बरु अवधी समुदायको गुडिया पर्वसँग थारू समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारू समुदायले झैं कपडाको गुरही बनाएर पूजा गर्छन् ।  साहित्यकार छविलाल कोपिला ‘गुरही’लाई थारू समुदायको बाल पर्वको रुपमा चिनारी दिन उपर्युक्त ठान्दछन्  । हुन पनि हो, थारू बालिकाहरु सोह्र श्रृंगार गरेर थालमा गुरही र चना लिएर गल्लीको गौह्रि (चौराहा) मा गुरही अस्राउन जान्छन् । उता थारू बालकहरु सोंटा लिएर गुरही ठटाउन तम्तयार हुन्छन् । तर, मनोवैज्ञानिक रुपमा बुझ्दा यसले बालिकाको थालमा गुरही र चना थमाएर महिलालाई गहना गुडियामै, भातभान्सामै सीमित रहन तथा बालकको हातमा सोंटा थमाएर तिनलाई बलशाली हुनुपर्ने देखाउँछ । गुरही किराबाट ‘गुरही’ पर्व नामकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ ।  लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको जनविश्वास थारू समुदायमा छ । यस्तो छ ‘गुरही’को मिथक छविलाल कोपिलाको संकलनमा गुरही पर्वबारे एक मिथक रहेको छ । जसअनुसार धेरै वर्ष पहिले नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र अनेक रोग फैलियो, जसका कारण मान्छेहरुको अकालमै ज्यान जान थाल्यो । यसबारे स्वर्गलोकका देउताहरु पनि आश्चार्यचकित भए । देउताहरुले यसबारे यथार्थ बुझ्न एक बालिकालाई दूतको रूपमा पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने उनलाई देखी सहन्नथिन्, निकै दुःख दिन्थिन् । त्यसो त अपवादबाहेक नन्द भाउजूको सम्बन्ध अहिले पनि राम्रो मानिन्न । ती बालिका ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् । अरुलाई निकै माया गर्थिन् । उनी कपडाको गुडिया अर्थात् ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनलाई देखि नसहने उनको भाउजूले सधैँजसो गुरही लुकाइदिने, कहिले त फाल्दिने समेत गर्थिन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दिनथिन् ।  भाउजूको डरले ती बालिकाले कहिले डेहरी (भकारी) मुनि गुरही लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा लुकाउँदै पनि भाउजूले पत्तो लगाएर फालिदिन थालेपछि आजित भएर एकदिन आफ्नो खेलौनारुपी गुरही जस्तै किरा भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरिन् । नभन्दै उनले सोचेको जस्तो किरा उत्पन्न भए ।  गुरहीजस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थालेपछि उनी निकै खुशी भइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरही किराहरुले लामखुट्टेलगायत सुक्ष्म किराहरुलाई आहार गर्ने र मार्ने गर्न थाले । यसरी मानिस तथा बालीनालीको लागि हानीकारक किरा मारिन थालेपछि प्रकोप पनि कम भयो र रोगव्याधी पनि कम भयो । निरोगी हुन पाउँदा, बालीनाली सप्रिदा जनता खुशी भए ।  यसरी अकाल मृत्यु रोकियो । र, ती बालिका पुनः स्वर्गलोक जानुपर्ने भयो । उनी जाने भएपछि उनका सहेलीहरु निकै दुःखी भए । जान नदिने जिद्दी गरे । तर, उनको यात्रा रोकिएन । अन्तमा, विदाइको बेला गाउँका सबै बालबालिकाले उपहारस्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे चनालगायतका गेडागेडी खानेकुरा दिएर बाजागाजासहित विदाई गरे ।  माइतीको संझना घर छाडेर जाने महिलाहरुलाई माइतीको जे कुरा पनि प्यारो हुन्छ । उनीहरु घर छोडेर जाँदा बाल्यकालमा खेलेका गुडिया (गुरही) सम्झिन्छन् ।  आफूले डेहरीमुनि गुरही राखेको छु, त्यो राम्रोसंग स्याहारिदिन भनेर आमासंग आग्रह गर्छन्, जुन तलको गीतमा गुन्जिन्छ ः ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल  डेहरिक गोरटिर मोर गुरही ।  बालिकाहरु रुखमुनि खेल्नु सामान्य हो । इमलीको रुखमुनि बसेर गुरहीसँग खेलेको सम्झिन्छन् । दाङ बोले टिम्की, महदेवा बोले ढोल  अमलिक रुखवा टिर मोर गुरही । भनिन्छ, यो बालगीत, त्यही बालिकाले संझना गरेर गाएको हो, जसलाई स्वर्गलोकका देउताहरुले पृथ्वीलोकमा दूत बनाई मृत्युको कारण बुझ्न पठाएका थिए । तिनले नै गुरही किरा उत्पन्न गरिन् र गुरही मनाउने परम्परा बस्यो । ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल’ यस गीतको विश्लेषण पनि गर्न सकिन्छ । देउखुरी उपत्यकाको महदेवा नै यस्तो गाउँ हो, जहाँ थारू सुमदायको बर्का नाचको सुरुवात भयो । देउताहरुले नै महदेवाका एक थारू अगुवालाई वनमा नाच सिकाएका थिए । कालान्तरमा तिनले गाउँमा आएर नाच सिकाए । कतै गुरही किरा उत्पन्न गर्ने ती पौराणिक बालिका स्वर्गलोकबाट महदेवा गाउँमा आएकी त थिइनन् ? यो अर्को शोधखोजको विषय हो ।  गुरही मनाउने तरिका गुरही मनाउने तरिका गाउँअनुसार फरक फरक हुन्छ । यहाँ वर्णन गरिएको गुरही मनाउने तरिका खास गरी देउखुरी उपत्यकाको हो ।  ‘घुघरी भिजाउ रे, घुघरी । हे गाउँक् मनै, काल्ह गुरहिक लग गुरही भिजाऊ...’ । नागपञ्चमीको अघिल्लो बेलुकी गाउँको चौकीदारले यही भनेर ठूलो स्वरमा हाँक पार्छ । चौकीदारले हाँक पारे पनि, नपारे पनि गाउँलेले बेलुका कोंहरी (चना) भिजाउँछन् । चना खेती गर्नेले कुनै वर्ष राम्रो चना नफले ‘असौं टे गुरहि अस्राइ भरिक फेन चाना नैहुइल’ भनेर तिक्तता पोख्छन् ।  पञ्चमीको दिन बिहान घरको बाहिरी ढोकामाथि नाग टाँस्छन् । दिउँसो गाउँका सबैजसो घरका आमा दिदीहरुले बालिकाहरुका लागि गुरही बनाइदिन्छन् । उनीहरु गुरही बनाएको हेरेरै रमाउँछन् । बालिकाहरु आफै पनि गुरही बनाउने प्रयास गर्छन् । उता, बालकहरुका लागि बुवाहरुले रारा (काँस) को सोंटा (कोर्रा) बनाइदिन्छन् । सोंटा पनि रंगीन हुन्छ । सोंटा बनाउन फुर्सद नहुनेहरुले केराको पातको डाँठको सोंटा बनाउँछन् । यस्तो सोंटामा काजल भने लगाइ दिनुपर्छ ।  साँझ प्रत्येक घरमा सुख्खा चना पाक्छ । चना नहुनेले केराउ, बोडीलगायत गेडागुडी बनाउँछन् । यस्तो पकाइएको गेडागुडीलाई कोंहरी, घुघरी पनि भनिन्छ । साथसाथै, माछा, मासुलगायत अन्य परिकार पनि पाक्छ ।  यस अवसरमा बालबालिकाहरु नयाँ लुगा पाउँदा खुशी भएर रमाउँछन् । बालिकाहरु आफै गुरहीझैं सजिएका हुन्छन् । बेलुका दिन डुब्नेबेला गाउँको चौकीदारले पुनः हाँक पार्छ, ‘अरे, गाउँ भरिक मनै गुरही अस्राइ चोलो रे...।’ बालिकाहरु नुइयाँ (सानो ढकिया), टठिया (थाल)मा गुरही र कोंहरी लिएर तथा बालकहरु सोंटा लिएर गुरही अस्राउन (सेलाउन) निस्कन्छन् ।  भान्सेहरु ‘खाँज खुजली लैजा, रोग बिरोख लैजा, मिठ मिठ डैजा’ भन्दै घर भित्रबाट निस्किएर थाल र नाङ्लो ठटाउँदै बाटोसम्म गुरहीसंगै रोगव्याधी धपाउन जान्छन् ।  यता, गाउँको चौराहा, गौह्री (गाउँ भरिका गोरु राखिने स्थान) मा गाउँलेहरु जुट्छन् । गाउँको अगुवाले रटनजोटलगायत कुनै वनस्पतिको निशाना गाड्छ । गुरही विसर्जन गर्ने बालबालिकाहरुलाई अग्रपंक्तिमा उभ्याइन्छ । अगुवाले ‘लेउ, आब गुरही अस्रैना सुरु’ भनेपछि बालिकाहरुले थालमा ल्याएको गुरही, दुबो गाडिएको निशानामाथि फाल्छन् । बालकहरुले विसर्जन गरिएको गुरही सोंटाले ठटाउँदै ‘डे घुघरी सोंटा, खाइ मोर टोंटा’ फलाक्छन् । गुरही विसर्जनपछि प्रायः गाउँमा जहाँ बिसर्जन गरिएको हो, त्यहाँ त्यत्तिकै छाडिन्छ । तर, कुनै गाउँमा नदीमा लगेर पुनः विसर्जन गरिन्छ ।  गुरही विसर्जनपछि बालिकाहरु आमा, दिदीहरुको सहयोगमा माग्ने जति सबैलाई थोरै थोरै कोंहरी बाँड्छन् । कोंहरी लगायतको सामग्री प्रसादस्वरुप अलिकति घर लिएर आउँछन् । अनि, आफ्नो घरको छानामाथि, डेहरी (भकारी) माथि प्रसाद चढाउँछन् । यसो गर्दा भूतप्रेत नआउने, घर सुरक्षित रहने, धनचोरले अन्न नलाने विश्वास गरिन्छ ।  उता, बालकहरुले ठटाउन लगिएको सोंटा त्यो दिन लुकाएर राख्छन् । अर्को दिन बिहानै सोंटा ल्याएर बारीको थाँक्रोमा बाँध्छन् । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने, तरकारी राम्रो फल्ने विश्वास गरिन्छ ।  कुनै कुनै गाउँमा गुरही सेलाएकै राती किशोरहरुको समूहले प्रत्येक घरमा छिरेर घण्टा बजाउँदै अर्को गाउँको सिमानासम्म पुग्छन् । सिमानामा कुनै चिजको डाँठको टुक्राले चुरोट पिएको अभिनय गर्छन् । अनि, हाम्रो गाउँको रोग, खाँज खुजली (लुतो) अरु गाउँ सरेर जा भन्ने कामना गर्छन् । घर फर्किदा घण्टा बजाउन पाइन्न । नभए रोग आफ्नै गाउँ फर्किने भनाइ छ ।  त्यसो गरेको थाहा पाए अरु गाउँका किशोरहरु हाम्रो गाउँमा रोग सार्न आए भनेर लखेट्ने गर्छन् । यसले कहिलेकाहिँ दुर्घटना पनि निम्त्याउँछ । त्यसैले, यो चलन भने हराउँदै गएको छ ।   अन्तमा, थारू सुमदायलाई प्रकृतिपूजक मानिन्छ । यसरी गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थको रुपमा लिन सकिन्छ । कृषि विज्ञहरुका अनुसार गाइने किराले एक दिनमा एक सय भन्दा बढी लामखुट्टे खान सक्छ । यसरी इकोसिस्टम बचाउने किसानको साथी गुरही किराको पूजा गर्नु प्रकृतिपूजाको ठूलो उदाहरणको रुपमा लिन सकिन्छ । अर्को कुरा बालबालिकालाई केन्द्रमा राखेर, सानैदेखि स्वास्थ्यमा सचेत रहन, संस्कृति जोगाउन सन्देश प्रवाह गर्ने गुरही पर्वको अहम् भूमिका छ भन्दा अत्यु्क्ति नहोला । त्यसैले त गुरही मनाउने परम्परा गाउँबाट सहरमा छिर्दैछ । धनगढी सहरमा चोकको नाम गुरही चोक नामकरण भएको छ । सबैलाई गुरही पर्वको शुभकामना ।

भाषा संरक्षणमा गुरुङ समुदाय

भाषा संरक्षणमा गुरुङ समुदाय

७५५ दिन अगाडि

|

२ भदौ २०८०

चितवन । विभिन्न जिल्लाबाट बसाइ सराइँ गरी यहाँ आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइ सराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।  भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले दुई हप्ते गुरुङ भाषा प्रशिक्षणको सुरूआत गरेको छ । पहिलो प्रयासमै ५० जनाले भाषा कक्षामा सहभागीता जनाएका छन् । सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी भएका छन् ।  जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो तर, आम तमू समुदायको लागि यस्तो कार्यक्रम भएको थिएन । केही महिना अघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालनभएको थियो । ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो । हाललाई आन्तरिक स्रोतसाधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनकी अध्यक्ष विमलादेवी गुरुङले बताइन् । “भाषा संरक्षणमा तमूहरू कति उत्साहित हुनुहुन्छ भन्ने बुझ्नका लागि पनि भाषा कक्षाले ठूलो सहयोग दिलाएको छ”, उनले भनिन्, “माग बढी नै भएको हुँदा आगामी दिनमा यसैलाई वार्षिक कार्ययोजना बनाएर काम गर्न सकिन्छ ।” गत साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा टाढा टाढाबाट पनि मानिसहरु आउने गरेको उनले सुनाइन् । लोकदोहोरी गायक कृष्ण गुरुङले भने, “ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु ।” उनी भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहेका छन् । भरतपुर महानगरपालिका–१०, शिखरचोककी ७४ वर्षीय शारदा गुरुङ पनि जीवनको उत्तराद्र्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिसर आउने गरेका छन् । सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्नेमा उनले जोड दिए । धादिङमा जन्मिएर चितवनमा हुर्किइएकी उनले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसकेका छन् । इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आएकी १६ वर्षीया अस्मिता गुरुङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहेकी छन् । आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उनले बताइन् । पन्ध्र दिनमा धेरै कुरा सिक्न नसके पनि भाषाबारे धेरथोर ज्ञान पाइने उनको भनाइ छ । उनले भनिन्, “यस्तो कार्यक्रम हरेक गुरुङ बस्तीमा लैजान सके सबैले अवसरको सदुपयोग गर्न सक्थे ।” भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरुङ बताउँछन् । तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरुङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरुङ तथा तमू सञ्चारकर्मी सङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङले भाषा कक्षामा प्रशिक्षण दिइरहेका छन् । तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सहआयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरुङ भाषा कक्षा प्रशिक्षण यही भदौ ३ गते सकिँदै छ । रासस

चलो रे हंसा ओहे देश...

चलो रे हंसा ओहे देश...

७८७ दिन अगाडि

|

२ साउन २०८०

सेवा भट्टराई  गीत सङ्गीतमा धनी छ, थारू समुदाय। शुभकार्यमा मागर, दशैंमा बर्कीमार र सखिया, माघीमा धमार र मघौटा। सन्दर्भ अनुसार बेग्लाबेग्लै गीतहरू यो समुदायमा पाइन्छन्। त्यति मात्र नभएर पूर्वदेखि पश्चिम तराईसम्म फैलिएको थारू समुदायमा ठाउँ पिच्छे फरक फरक गीत पनि पाइन्छन्। तिनैमध्ये केही विधा व्यवसायीकरणसँगै अझ लोकप्रिय बनिरहेका छन् भने केही विधा ओझेलमा छन्। थारू गीत गाएर नाम कमाएकी दाङकी बसन्ती चौधरीले यी सबै किसिमका गीत गाउने गरेकी छन्। उनीसँगको कुराकानीमा आधारित रहेर यहाँ थारू समुदायमा गाइने केही गीतको चर्चा गर्दै छु। नचाउने झुम्रा दशैं लगायत चाडबाड र अन्य रमाइलो अवसरमा गाइने गीत हो, झुम्रा। विगतमा झुम्रा नाच पुरूषले मात्र नाच्ने गर्थे। हुन त थारू समुदायमा महिला ननाच्ने होइनन्। समूहमा जम्मा भएर गाउँभरका केटीहरू सखिया र बर्कीमार जस्ता नाचमा रमाउने गर्छन्। तर, झुम्रा रमाउनका लागि नभई प्रदर्शनका लागि नाच्ने गरिन्छ। यसको अर्थ हो, थारू समुदायमा ‘उत्सव’ र ‘प्रदर्शन’ का नृत्यमा फरक छ। “सखिया वा बर्का नाचमा सबै साथीहरू सँगै नाच्दा कुनै समस्या हुँदैनथ्यो, तर झुम्रामा दुई जना मात्र नाच्ने हुँदा अभिभावकहरू पठाउन चाहँदैनथे,” बसन्ती भन्छिन्, “त्यसैले झुम्रा गीतमा पुरुषले नै महिलाका लुगा लगाएर सबैलाई मनोरञ्जन दिने प्रचलन रहेको थियो।” अचेल झुम्रा गीतमा सबै जना नाच्ने गर्छन्। थारू गीतको बजार बढ्दै जाँदा बसन्तीले थुप्रै झुम्रा गीत रेकर्ड गराएकी छन्, जुन चाडबाड र उत्सवमा बजाउने गरिन्छ। साथै, यात्रामा जाँदा गाडीमा पनि सुन्न पाइन्छ। आफ्नी हजुरआमाबाट प्रभावित भएर झुम्रा नाच्न थालेको बताउँछिन् बसन्ती। “मेरी आमाकी आमा आफ्नो जमानामा निकै अगाडि हुनुहुन्थ्यो। उहाँ चाहिं मादल बजाएर, हार्मोनियम बजाएर सबलाई नचाउनुहुन्थ्यो, तर अरू चाहिं केटा मात्रै नाचेको देख्थें। उहाँलाई नै सम्झिएर पछि मैले पनि झुम्रा नाच्न र गाउन थालें,” उनी भन्छिन्। अचेल थारू चलचित्र र महोत्सवमा समेत झुम्रा निकै लोकप्रिय भएको छ। यूट्युबमा पनि यसका भिडिओहरू पाइन्छन्। “झुम्रामा रङ्गीन दुनियाँ छ किनभने सबैलाई नचाउन र रमाइलो गर्न यो गीत गाउने गरिन्छ,” बसन्ती भन्छिन्। व्यावसायिक रूपमा उनले गाएको एउटा झुम्रा गीत यस्तो छः केटा लागि टे लागि कलक्टर भर रूपियाँ रूपनी बठनियाँ नहिँ छोरबु। केटी नचदी अँगनामे अँगिया सौंपिदेहबुँ   रूपवा रूपिया लेके सटबुँ। केटा बक्साभरि रुपैयाँ लागे पनि लागोस्, राम्री केटी छोड्दिनँ केटी आँगनमा आँग हल्लाएर नाचिदिन्छु तर रूप चाहिं रुपैयाँ लिएर मात्र साट्छु।० ‘सजना’ जोगाउने प्रयास बसन्ती आफ्ना समुदायका गीत जोगाउने काममा पनि सक्रिय छिन्। अहिले उनी सङ्गीत उत्सव ‘इकोज् इन द भ्याली’ को सहयोगमा अरू सङ्गीतकारहरू सिम्मा राई र हिसी डोल्मा शेर्पासँग मिलेर सजना भाका जोगाउन लागिपरेकी छन्। बसन्तीका अनुसार माघको सरस्वती पूजादेखि भदौको हरेरी पूजासम्म गाइने गीत हो( सजना भाका। “यो गीत पानी नपरेको वेला पानी पार्न गाइन्छ वा बैरागिएकी महिलाले आफ्नो माइती याद गर्दै श्रीमान्, नन्द, आदिलाई सुनाउन पनि यो गीत गाउँछन्,” बसन्ती भन्छिन्। सजना भाका जोगाउने क्रममा बसन्तीले सिम्मा र हिसीलाई थारू गीत जान्ने निर्मलासँग भेट गराएकी थिइन्। निर्मलासँग मिलेर यी तीन जनाले सजना भाका सिकेर रेकर्ड गराए जुन अहिले यूट्युबमा उपलब्ध छ। साथै, तीनै जनाले गत चैतमा काठमाडौंमा भएको ‘इकोज् इन द भ्याली’ उत्सवमा पनि यो गीत गाएका थिएः अरी मछरी मरन हम्रे गइलि ना  री मरली राप्ती लदिया अरी अंगरीमे काटि अंगरकटवा ढिकवा बैठल रोइबुँ भौजी मोरे लेलिन टपिया ना री ननदी लेलिन हेलका भौजी मरलिन रैनी मछरिया ननदी झिंगा झोकलिन। हामी माछा मार्न राप्ती नदीमा गयौं औंलामा अंगरकटुवा कीराले टोक्यो, नदीतिरमा बसेर रोएँ। भाउजूले टपिया ९एक खालको भाँडा० लिइन्, नन्दले हेलका ९एक खालको भाँडा० लिइन् भाउजूले रैनी माछा मारिन्, नन्दले झिंगा माछा छोपिन्। नदीमा माछा मार्न जाने थारू महिलाको दैनिकी यो गीतमा वर्णन गरिएको छ। यस्ता केही गीतले नयाँ श्रोता पाउन थाले पनि थारू समुदायका रीतिरिवाजमा प्रयोग गरिने र ‘विशेष’ अवसरमा मात्र सुनिने गीत भने समुदायमै सीमित भएको पाइन्छ। ओझेलमा गम्भीर गीत थारू सङ्गीत परम्परामा मनोरञ्जन मात्र छैन, जीवनका गूढ रहस्य बोकेका भजन पनि छन्। त्यस्तै एउटा भजन बसन्तीले पनि गाएकी छन्। कोही कसैको मृत्यु भएपछि उसको घरमा गएर गाइने यो भजनले दक्षिणएशियामा लोकप्रिय निर्गुण दर्शनको सार खिचेको छ। चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे हंसा हो हंसा कउने बने लेहतो बसेरा भूलिगयो टु मायाके बखेरा हंसा हो चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे आधा पापि किनारे लागे आधा पार्थिव मझेढार हो चलो रे हंसा ओहे देश जहाँ सट्गुरू बालम बसे। बसन्तीले सुनाएको यो भजनको अर्थ यस्तो छ( जसको श्रीमान् वा श्रीमती बितिसक्यो, आधा गयो भने आधा घरमै छ, उसलाई कसरी खुशी पार्नेरु आधा शरीर यहाँ छ, आधा त गइसक्यो। हाम्रो पार्थिव शरीर पापी त हो। एक दिन यहाँ छ, अर्को दिन त गइजान्छ नि। जन्मेपछि मरण अवश्य छ।’                                                                                                                                        गायिका बसन्ती चौधरी “थारू संस्कृतिका भजन एकदमै मन छुने छन्। उजाडिएको जिन्दगीलाई हामी त्यही गीत(सङ्गीतको माध्यमबाट जगाउन सक्छौं,” बसन्ती भन्छिन्। बसन्तीले भने जस्तै यो गीतले पार्थिव शरीरलाई पापी एवं नाशवान् र आत्मालाई अमर एवं पापबाट मुक्त मानेको छ। गीतमा संसारलाई मायाजाल, झमेला भनिएको छ भने मृत्युलाई मुक्ति। यो पापी संसारबाट छुटकारा पाएर ‘हंस’ दैवी शक्तितर्फ जानुमै खुशी छ। गीतमा ‘निर्गुण’ भन्ने शब्दको प्रयोग गरिएको त छैन, तर शरीर र आत्मालाई अलग रूपमा बुझ्ने दक्षिणएशियाको निर्गुण परम्पराको भाव बोकेको छ। यो परम्परामा मृत्युलाई अन्त्यभन्दा पनि परिवर्तनको प्रक्रियाका रूपमा लिइन्छ, जहाँ आत्माले पापी संसारबाट मुक्ति पाउँछ र आध्यात्मिक यात्रामा जान्छ। दक्षिण एशियाका हिन्दू समुदायमा निर्गुण परम्पराको लामो इतिहास छ। सांसारिक गतिविधिलाई ‘झमेला’ वा ‘दुःख’ मान्ने, संसारलाई ‘पापी’ र ‘मोहमायायुक्त’ मान्ने, सांसारिक दुःखबाट मुक्ति खोज्ने, शरीरलाई क्षणिक र आत्मालाई अमर मान्ने, यो परम्पराका केही विशेषता हुन्। पूर्वीय दर्शनमा महाभारतको भागवद् गीतादेखि लिएर बुद्धको दर्शनसम्ममा यो अवधारणाका जराहरू पाइन्छन्। नेपालमा भानुभक्तको रामायणमा लगायत विभिन्न रचनामा यी अवधारणा उल्लेख गरिएका छन्। ‘निर्गुण’ भन्ने शब्द प्रयोग नगरे पनि यस्तो बृहत् दर्शनलाई यो गीतले सटीक ढङ्गले समेटेको छ। सङ्गीत मनोरञ्जन मात्र नभई मानव जीवनका विविध पक्ष दर्शाउने माध्यम पनि हो र यो भावनाको गहिराइमा पुग्न सक्छ भन्ने उदाहरण पनि हो यो गीत। आत्माको अमरता सांसारिक जीवनको क्षणभङ्गुरता, जीवन र मृत्युको चक्रबाट मुक्तिको इच्छा र अलौकिक, दैवी शक्तिसँग एकाकार हुने चाहना यो गीतमा व्यक्त गरिएको छ। थारू भाषाका थुप्रै मनोरञ्जनात्मक विधाको व्यवसायीकरण र प्रचारप्रसार भइरहँदा यस्ता दर्शन बोकेका गीत भने समुदायमा मात्र सीमित छन्। “कसैको मृत्यु भएको छ भने हामी त्यो घरमा पालैपालो सुत्न जान्छौं। त्यति वेला यस्ता गीत गाएर परिवारका मानिसलाई सान्त्वना दिन्छौं,” बसन्ती भन्छिन्, “यो गीतलाई मराठी भजन भनिन्छ र यो थारू गीत अहिलेसम्म कसैले रेकर्ड गरेको मलाई थाहा छैन।” यस्ता गीतको ‘गम्भीर’ विषय र समुदायमा विशेष प्रयोजनका कारणले यो सन्दर्भ बाहिर यी गीत लोकप्रिय हुन नसक्लान् कि भन्ने एउटा पूर्वधारणा हुन सक्छ। तर, छिमेकी देश भारतमा भने यस्ता दर्शन बोकेका गीतले चलचित्रमा र शास्त्रीय सङ्गीतमा ठाउँ पाएको पाइन्छ। त्यसैले यी प्राचीन दर्शन पनि नयाँ पुस्तामाझ पुगिरहेका छन्। कबिरले रचेको मानिने गीत ‘उड जाएगा हंस अकेला’ नेटफ्लिक्समा प्रदर्शनमा आएको चलचित्र कलामा समावेश गर्नु यस्तो अभ्यासको पछिल्लो उदाहरण हो। जग दर्शनका मेला उड जायेगा हंस अकेला। बसन्तीको गीतले यस्ता गीत नेपालमा पनि छन् भन्ने उदाहरण दिन्छ। विडम्बना प्रचारप्रसारको अभावमा ती ओझेलमा परिरहेका छन्। थारू समुदायमा आफ्नो भाषाका गीतको बजार विकास भइरहेको छ। त्यो त्यस्तो आधुनिक बजारमा धेरैजसो मनोरञ्जनात्मक विधा, लय र शब्द पुगे पनि जीवन दर्शन बोकेका गीतले ठाउँ पाइरहेका छैनन्। हिमालखबरबाट  

कुसुन्डा भाषा संरक्षणका एक्ला अभियन्ता

कुसुन्डा भाषा संरक्षणका एक्ला अभियन्ता

७८८ दिन अगाडि

|

१ साउन २०८०

शिखर मोहन  २०७८ सालको जनगणनाअनुसार नेपालमा सबैभन्दा कम बोलिने भाषाको सूचीमा कुसुन्डा रहेको छ । तथ्याङ्कअनुसार २३ जना वक्ता भनिए पनि कुसुन्डा भाषा लगभग लोप भएको भाषा हो । किनकि अहिले मातृभाषाका रूपमा दोहोरो संवाद गर्न सक्ने वक्ताहरू नै छैनन् ।  पछिल्लो समय भाषा प्रशिक्षण लिएर २० जना वक्ता तयार भए पनि उनीहरूका लागि कुसुन्डा भाषा दोस्रो भाषा हो । यद्यपि जनगणना २०६८ अनुसार देशभर कुसुन्डाहरूको सङ्ख्या २७३ थियो । तर, उक्त समय ज्ञानीमैया कुसुन्डा एक मात्र मातृभाषा वक्ताका रूपमा थिइन् ।  २०७६ माघ ११ गते ज्ञानीमैयाको देहान्त भएपछि कुसुन्डा भाषा लोप भयो भनियो तर पछि भाषावीद् प्राडा माधव पोखरेलले उनीभन्दा प्रखर कुसुन्डा वक्ता रोल्पाकी कमला खत्री र दाङका प्रेमबहादुर शाही पनि हुन् भनेका थिए ।  कुसुन्डा जातिलाई सबैभन्दा पहिले चिनाउने व्यक्ति हड्सन हुन् भन्छन् प्राडा माधव पोखरेल । त्यस्तै अस्ट्रियाका मानवशास्त्री राइन्हार्टले कुसुन्डा जाति र भाषाबारे सबैभन्दा पहिले झस्काउने सूचना दिएको पोखरेल बताउँछन् । त्यसपछि मात्र यो भाषाको अध्ययन अनुसन्धान सुरु भएको देखिन्छ ।  कुसुन्डा भाषा लोप हुनबाट बचाउन लागिपरेका एक व्यक्ति हुन्– दाङदेउखुरीका अध्येता उदय आले । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण आले २०७० देखि निरन्तर यो भाषा संरक्षण, संवद्र्धनमा लागेका छन् ।  यसरी सुरु भयो कुसुन्डाबारे अध्ययन  त्रिचन्द्र क्याम्पसमा अङ्ग्रेजी साहित्य अध्ययन सकेर आले गृहजिल्ला दाङ फर्किएर लमहीमा बसे । त्यहाँ उनले पार्ट टाइम पढाउँदै स्थानीय पत्रिका ‘देउखुरी साप्ताहिक’ मा काम सुरु गरे । पछि सो पत्रिकामा उनी सम्पादक पनि भए । एकदिन ज्ञानी मैया सेनका छोरा प्रेमबहादुरले उनलाई भेटेर आफ्नो समुदायको समाचार प्रकाशन गर्न अनुरोध गरे ।  प्रेमबहादुरले आफूहरू अल्पसङ्ख्यक भएको, आफ्नी आमा मात्र सो भाषाको वक्ता भएको र यो भाषासम्बन्धी कार्यक्रम हुँदा देउखुरी साप्ताहिकलगायतका पत्रिकालाई समाचार दिँदा पनि प्रकाशन नगरेको गुनासो आलेलाई सुनाए ।  यसपछि आलेले कुसुन्डा भाषा संस्कृतिसम्बन्धी समाचार देउखुरी साप्ताहिकमा प्रकाशित गरे । त्यो समाचारले राष्ट्रिय तहसम्म महत्त्व पायो । त्यसपछि जिल्लाका अन्य पत्रिकाहरूले पनि त्यस्ता समाचारलाई प्राथमिकता दिन थाले । अनि आले कुसुन्डा भाषाको अनुसन्धानका लागि गाउँ पसे ।  लमहीमा एक जना मात्र वक्ता ज्ञानीमैया सेन छन् भन्ने आलेले थाहा पाएपछि उनलाई भेट्न गए । ज्ञानीमैयाँसँग सम्पर्क गरेर कुसुन्डा भाषाको अध्ययन अगाडि बढाए ।  “उहाँसँग सम्पर्क गरेर शब्द सङ्कलन गरेँ । त्यस क्रममा केही पुराना शब्द पनि सम्झनुभयो,” आले भन्छन्, “ती शब्दलाई कुसुन्डा– अङ्ग्रेजी र नेपाली तीनवटा भाषामा ‘कुसुन्डा जाति र शब्दकोश’ तयार पारेँ ।” आलेको यो पुस्तक विसं २०७४ मा प्रकाशित भयो । कुसुन्डा भाषामा प्रशिक्षण  यो कृति प्रकाशनको केही समयपछि भाषा आयोगले लोपोन्मुख भाषाहरू बचाउन केही कार्यक्रमहरू तय गर्यो । सन् २०१९ मा कुसुन्डा, कुलुङ र ब्राह्मु, तीन भाषाको भाषा पुस्तान्तरण कक्षा सञ्चालन गर्ने तयारी भयो ।  यसै क्रममा भाषा आयोगले कुसुन्डा भाषाका लागि केही गर्न सकिन्छ कि भनेर आलेलाई छलफलका लागि बोलायो ।  “तात्कालीन भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थी सरले लोपोन्मुख भाषा जसरी पनि जोगाउनुपर्छ । यसमा तपाईंले अध्ययन पनि गरेको, समुदायलाई पनि चिनेको हुँदा सजिलो पनि हुन्छ, प्रतिफल पनि आउँछ भन्नुभयो,” आलेले भने, “अनि पहिलो चरणको कक्षा ज्ञानीमैयाको घरमै गरेँ ।” नयाँ भाषा सञ्चालन गर्न केही कठिनाइ भए तर त्यस भाषाकी प्रमुख वक्ता ज्ञानीमैया सेनको सहयोग पाएपछि आलेलाई निकै राहत भयो ।  पहिलो चरणमा उनले २० जना विद्यार्थी भेला गरेर भाषा कक्षा सञ्चालन गरे । ती २० जनामध्ये १७ जना कुसुन्डा समुदायकै थिए । तर कुसुन्डा विद्यार्थीलाई पनि यो भाषाका शब्दहरू थाहा थिएन । उनीहरूलाई सुरुदेखि नै सिकाउनुपर्ने अवस्था थियो भन्छन् उनी ।  पहिलो चरणमा भाषा आयोगले ९० घण्टाको पाठ्यभारको कोर्स तयार पारेको थियो । त्यो ९० घण्टाको पहिलो चरणमा शब्द परिचयलाई आधार बनाएर अध्यापन सुरु गरे । सो अनुसार आलेले करिब ३०० शब्द र तिनका अर्थहरूबारे विद्यार्थीलाई सिकाए ।  ज्ञानीमैयाको घरमा डेढ घण्टा पढाउँथे आले । अध्ययनपछि विद्यार्थीहरू ज्ञानीमैयासँग सो भाषामा छलफल गर्थे । यो निकै उपलब्धिमूलक भएको आले बताउँछन् । तर २०७६ माघ ११ गते ज्ञानीमैयाको देहान्त भयो अनि अन्तक्रिया तुहियो ।  त्यसपछि भाषा प्रशिक्षणको दोस्रो चरण सुरु हुँदा नहुँदै कोरोना महामारी फैलियो । समूहमा उपस्थित हुन नमिल्ने भएपछि रोकियो । कोरोना केही मत्थर भएपछि महेन्द्र मावि धर्ना दाङमा आलेले दोस्रो र तेस्रो चरणको भाषा कक्षा सञ्चालन गरे । त्यहाँ आवासीय रूपमा कक्षा सञ्चालन भयो । चौथो चरणको कक्षा २०७९ चैतमा समाप्त भएको छ ।  चार चरणसम्म भाषा सिकेपछि विद्यार्थी यो भाषामा सामान्य संवाद गर्न सक्ने भएका छन् । “ती विद्यार्थीमध्ये ५ जना विद्यार्थी धेरै राम्रा छन्,” आले भन्छन्, “यिनीहरूले आफ्नो परिचय आफ्नै भाषामा दिन सक्ने, सामान्य कुराकानी गर्न सक्ने, प्रश्न गर्न र जवाफ फर्काउन सक्ने भइसकेका छन् ।” यी पाँच जनामा तीन जना कुसुन्डा समुदायका र २ जना गैरकुसुन्डा छन् ।  हिमा कुसुन्डा पनि आलेले पढाएका विद्यार्थीभित्र पर्छिन् । “हिमाले हजुरबाबाट सिकेका दुईवटा शब्द थिए, बाँकी मैले नै प्रशिक्षण दिएको हुँ,” आलेले भने,  “अहिले उनी बोल्न सक्ने भएकी छन् ।” उनीहरूको प्रस्तुति र भाषिक सिकाइप्रति उनी सन्तुष्ट छन् । शून्य अवस्थाबाट भाषा सिक्न सुरु भएका विद्यार्थीले यतिको उपलब्धि गर्नु निकै महत्त्वपूर्ण कार्य भएको आले बताउँछन् ।  व्यक्तिगत प्रयास आलेले गेमेहाक (वन राजा) पुस्तक प्रकाशित गरेका छन् । यो कृति कुसुन्डा जातिको एथ्नोग्राफीसँग सम्बन्धित छ । यसभित्र कुसुन्डा समुदायको भाषाको अहिलेसम्म भएका कामहरू, भाषा प्रशिक्षण, उपलब्धि, अहिलेसम्म स्वदेशी, विदेशीले  के विषयमा कस्तो अध्ययन गरे भन्ने सूचना यसमा छ ।    ‘कुसुन्डाको चित्रकथा’ आलेले तयार पारेको अर्को पुस्तक हो । यसभित्र कुसुन्डा समुदायको चित्रहरू समेटिएको छ । त्यसको चिनारी कुसुन्डा, अङ्ग्रेजी र नेपाली तीनै भाषामा छ । कुसुन्डाबारे आलेको सोजाक (नमस्ते) भन्ने अर्को पुस्तक हो । यो कुसुन्डा र नेपाली भाषामा प्रकाशित छ । यसमा कुसुन्डा भाषा सिक्न केही शब्द र वाक्यहरू पनि छन् ।  आलेले ‘द अन टोल्ड टेल अफ कुसुन्डा’ वृत्तचित्र पनि निर्माण गर्दैछन् ।  २५ मिनेटको सो कथामा उनले पढाएका विद्यार्थीहरूसँगको संवाद पनि समेटेका छन् ।  भाषा आयोगले उनले लेखेका दुईवटा पाठ्यपुस्तक प्रकाशन गरेको छ । आलेको ‘कुसुन्डा गिपन’ (कुसुन्डा भाषा) पुस्तक भाषा आयोगले पाठ्यसामग्रीका रूपमा प्रयोग गरेको हो । यो पुस्तकमा कुसुन्डाहरूको पृष्ठभूमिमा रचिएका कथा, कविता, निबन्धहरू नेपाली अनुवादसहित राखिएका छन् । यो पुस्तक उनले कुसुन्डा भाषाका विद्यार्थीलाई भाषिक अभ्यासका लागि तयार गरेका हुन् ।  शब्दकोश निर्माण  आलेले ज्ञानीमैयालाई कुसुन्डा भाषाको स्रोतका रूपमा लिएर अध्ययन गरेका । “स्रोत व्यक्ति त ज्ञानीमैया नै हो,” उनले भने, “अन्य सन्दर्भ स्रोतहरू पनि जुटाएर शब्द सङ्कलन गरी उहाँसँग रुजु गर्ने काम गरेँ ।” यो शब्दकोश प्रकाशनका लागि सरकार र स्थानीय निकायसँग सहयोगको अपेक्षा पनि उनले राखेका थिए तर मिलेन । अनि उनले व्यक्तिगत खर्चमा नै प्रकाशन गरे । पुस्तक राम्ररी बिक्री भयो । आफ्नो प्रकाशन खर्च र लगानी उठेको उनी बताउँछन् ।  यसमा कुसुन्डा भाषाको अन्तर्राष्ट्रिय फोनेटिक अल्फाबेट (आईपीए) चार्ट पनि आलेले निर्माण गरेका छन् । त्यसका लागि ध्वनि पनि ज्ञानीमैयासँगै लिएका हुन् । यसले यो भाषाको उच्चारण व्यवस्थाबारे राम्रो ज्ञान दिन्छ ।  ज्ञानीमैया र कमला दुई जना दिदी बहिनी हुन् तर यी दुईको भाषामा केही भिन्नता भएको आले बताउँछन् । त्यही भएर कमलाले बोल्ने कुसुन्डा भाषालाई भाषिका हो भन्छन् उनी । “कतिपय उच्चारण फरक छ, कतिपय शब्द नै फरक छ,” उनी भन्छन्, “ज्ञानीमैया दाङ बस्नुहुन्थ्यो, कमला रोल्पा, त्यसैले भाषामा फरक आयो ।” आलेले यी दुई वक्ताको छुट्टाछुट्टै नाममा अध्ययन गरेका छन् ।  शब्द तहका केही मातृभाषी वक्ता  आमाको काखबाट कुसुन्डा भाषा सिकेकी भनेकी ज्ञानी मैया मात्र थिइन् भन्छन् आले । पछि भारतबाट कमला खत्री आइन् । अहिले यो भाषा बुझ्न सक्ने एकजना मात्र वक्ता कमला (५० वर्ष) हुन् । रोल्पाकी उनी अहिले दाङ बस्छिन् ।  त्यस्तै, प्रेमबहादुर शाही घोराही–१८, दाङमै बस्छन् । शाहीले ४०÷५० शब्द र सीमित वाक्यहरू भन्न सक्छन् । उनी अर्धवक्ता हुन् । त्यस्तै देउखुरी सिक्टाका गोविन्द सिंह ठकुरीलाई पनि ४०÷५० वटा शब्दहरूको मात्र जानकारी छ ।  यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा गुञ्जबहादुर शाहीले पनि २५÷३० वटा शब्द भन्न सक्छन् बताउँछन् आले ।  यीबाहेक मातृभाषा कक्षामा सहभागी भएकाहरूमध्ये कतिपयले हजारभन्दा बढी शब्द जानेका छन् । आलेका अनुसार यति शब्द जान्नु भनेको त एकदमै बोल्न सक्ने हुनु हो, उनीहरूलाई व्याकरण पनि थाहा छ ।  कुसुन्डाको सङ्ख्या कुसुन्डाहरूको तथ्याङ्कगत हिसाबले हेर्दा जनगणना २०६८ मा २७३ जना भनिएको थियो । कुसुन्दाहरुको आधिकारिक संस्थाका प्रतिनिधिसँग आले प्रत्येक कुसुन्डाका घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्दा कुसुण्डाको सङ्ख्या १६२ जना मात्र फेला पार्न सके ।  जनगणना २०६८ मा कुसुन्डा मातृभाषी वक्ता २८ जना देखाइएकोमा २०७८ मा २३ जना भनेर तथ्याङ्कमा छ । तर, आलेका अनुसार १० वर्ष पहिले २ जना वक्ता रहेकोमा अहिले भने एकजना मात्र वक्ता रहेका छन् । अहिले चार वर्ष भाषा सिकेका विद्यार्थीलाई मातृभाषी वक्ता मान्न सकिँदैन भन्छन् आले । कुसुन्डा भए पनि उनीहरूले दोस्रो भाषाका रूपमा यो भाषा सिकेका हुन् । त्यसैले, तथ्याङ्क विभागले यसलाई सेकेन्ड लेङ्ग्वेजमा राख्नुपर्ने धारणा आलेको छ ।  “दोस्रो भाषा जानेकोमा १७ जना कुसुन्डा, तीन जना गैरकुसुन्डा मैले पढाएका विद्यार्थी, एक दुई जना अर्धवक्ताले पनि जान्दछन् अनि म जान्दछु,” आले भन्छन्, “२५÷२६ जनाले सेकेन्ड लेङ्ग्वेजका रूपमा कुसुन्डा भाषा बोल्छन् ।” त्यसैले, अहिलेको तथ्याङ्क विश्वासिलो नभएको आलेको भनाई छ ।  कुसुन्डा बसोबास क्षेत्र  आलेले अध्ययन गर्दा कुसुन्डाको मूल थलो गुल्मीको बल्कोटलाई थम्याए । किनकि ज्ञानीमैया सेनले पनि यसै ठाउँलाई नै मूल थलो मानेकी थिइन् । यहीँबाट एउटा समूह पश्चिमतिर गएको आले बताउँछन् । त्यो समूह अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेतसम्म पुगेकाले यी जिल्लामा कुसुन्डाको उपस्थिति अझै छ ।  गुल्मीबाट पूर्वतिर आउने समूह पाल्पा, स्याङ्जा, कास्की, लमजुङ, गोरखा र तनहुँसम्म कुसुन्डा पुगेका छन् । “अहिले बसाइँका हिसाबले तनहुँमा राजा मामाको एक घर छ, उनी पनि अर्धवक्ता हुन् । उनमा पनि त्यस्तै ४०÷५० वटा शब्दको ज्ञान छ,” आले भन्छन्, “राजा मामाका एक जना छोरी छिन्, उनले पनि केही शब्द जानेकी छिन् ।”  त्यस्तै, गोरखाको तेह्रकिलोमा चेतनारायण कुसुन्डा, उनकी श्रीमती र दुई जना छोरा छन् । उनीहरूले बुवाआमासँगै कुसुन्डा भाषा सिकेका हुन् तर उनीहरूसँग भाषिक ज्ञान त्यति धेरै छैन ।  आलेका अनुसार कुसुन्डाको मात्र होइन, राउटेको क्षेत्र भनेको जुम्लादेखि प्युठानसम्म हो, दाङदेखि फर्किहाल्छन्, त्यहाँबाट पार गर्दैनन् । चेपाङ पनि त्रिशूली तर्दैनन् । त्यस्तै कुसुन्डा पनि तनहुँदेखि पूर्व र सुर्खेतभन्दा पश्चिम जाँदैनन्, यो यिनीहरूको टेरिटोरी हो । लोप भयो कुसुण्डा संस्कृति  कुसुन्डा संस्कृति लोप भइसकेको छ । किनभने यिनमा जङ्गलमा रहँदा बस्दाका संस्कृति अहिले छैन । “वनजङ्गलमै हुर्किएकी ज्ञानीमैया सेन जीवित रहँदासम्म केही अवशेषहरू थिए, अनुभवहरू थिए,” आले भन्छन्, “उहाँले विभिन्न चाडपर्व मनाउँदा त्यो तरिकाहरू अपनाउनुहुन्थ्यो ।” अब जङ्गलमा बसेका प्रेमबहादुर शाही मात्र छन्, उनीबाहेक घुमन्ते जीवन विताउने अरू नभएको बताउँछन् आले ।  यो समुदायका धेरैले अन्तरजातीय विवाह गरेका छन् । कुसुन्डा केटाहरूले अरू समुदायका केटीहरूसँग र केटीहरूले पनि अन्य समुदायका केटाहरूसँग विवाह गरेपछि अधिकांश मौलिक संस्कृति लोप भएको अवस्था छ ।   कुसुन्डा समुदायमा शाही, सेन र खान मुख्य गरी तीनवटा थर छन् । शाहीको सेनका छोराछोरीसँग बिहेवारी चल्छ । अहिले भाषा सिकेका केही केटीहरू छन् । यिनीहरूमा विवाह हुन सक्यो भने अझै केही समय भाषा संस्कृति अस्तित्वमा रहन सक्छ । तर एकअर्कामा मेल खाने किसिमको वरवधु नहुन सक्छन् । यसले पनि समस्या सिर्जना भएको छ ।  भाषा संरक्षणको उपाय यो भाषाको संरक्षणका लागि भाषा प्रशिक्षण दिँदै वक्ता सङ्ख्या बढाउन सकिन्छ । तर, यसलाई कसरी निरन्तरता दिने भन्ने मुख्य चुनौती छ ।  कुसुन्डाहरू दाङदेउखुरी, प्युठान, सुर्खेतलगायत ६÷७ जिल्लामा छरिएर रहेका छन् । कुनै पनि ठाउँमा यो समुदायको चार पाँचवटा भन्दा बढी घर भएको बस्ती छैन । यसले गर्दा जानेको भाषा पनि आपसमा संवाद गर्न पाउँदैनन् । भाषा भनेको अन्तक्र्रिया हो, बोलिदिने र सुनिदिने वक्ता चाहिन्छ । यो अवस्थामा जसले सिक्यो, उसमै सीमित भएको अवस्था अहिले छ ।  भाषा आयोगले लोपोन्मुख हुन लागेका कुसुन्डालगायत तिलुङ, ब्राह्मु, दुरा, भाषाबारे केही कार्य गरेको छ तर यो सीमित समयका लागि मात्र हो । यो भाषिक सिकाइका समयमा निकै जानेको जस्तो हुने तर केही ग्याप हुँदा सबै बिर्सने स्थिति छ । सधैँ अभ्यास गर्ने वातावरण छैन । यसलाई दैनिक जीवनमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ ।  “कुसुन्डाहरूको बसाइँ फरक फरक ठाउँमा भएको हुनाले उनीहरू एकै ठाउँमा नबसेसम्म यो भाषा जोगाउन गाह्रो छ,” आले भन्छन्, “यसका लागि कुसुन्डाको एकीकृत बस्ती निर्माण गर्नु आवश्यक छ ।”  कुसुन्डाको १६२ जना भनेको ३०÷४० घरपरिवार हुन् । कुसुन्डा बस्ती बनाउन राज्यका लागि त्यति ठुलो समस्या होइन । यो समुदायका कसैको अझै आफ्नो घर जग्गा नभएकाले ऐलानी जग्गामा बस्दै आएका छन् । त्यसैले, सङ्ख्या अलि बढी भएको दाङकै कुनै ठाउँमा एकीकृत बस्ती निर्माण गर्नुपर्ने धारणा आलेको छ ।  “४० परिवारलाई एक एकवटा घर र पाँच पाँच कट्ठा जमिन आफ्नो भाषा संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्नु भनेर दिइनुपर्छ,” आले भन्छन्, “यसका लागि कुसुन्डा समुदायले पनि एकीकृत हुने चाहना राख्नुपर्छ । सरकारले यी सबैलाई एकै ठाउँमा राखिदिए उनीहरूको आपसी सम्बन्ध, भाषिक तथा सांस्कृतिक अपनत्व वृद्धि हुने, आफ्ना पुर्खाहरूको खोजी कार्यमा संलग्न हुन सक्छन् ।’ 

'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

८२१ दिन अगाडि

|

३१ जेठ २०८०

उजिर मगर नेपाली समाज निर्माणको हरेक ऐतिहासिक कालखण्डमा मगर समुदायको योगदान भेटिन्छ । आफ्नो रैथाने वंश, परम्परा, थर र गोत्रहरूको पहिचानसहित स्थापित समुदायमध्ये मगर अग्रपंक्तिमा आउँछ । आफ्नै थातथलो, संस्कृति, भाषा, भेषभुषा र परम्परामा रमेको मगर समुदायलाई राज्यले उपेक्षा गरिरहेकै छ । कूल जनसंख्याको तेस्रो ठूलो संख्या ओगटेको मगर समुदायभित्र थुप्रै थर, उप–थरहरू छन् । चौबीसे राज्यमध्ये धेरै राज्यका राजाहरू मगर थिए । कालान्तरमा ‘नेपाल एकीकरण’का नाममा ती राज्य विलय भए । ‘सिंजा इतिहासको डोरेटो’ मोहनबहादुर मल्लले मगर राजाहरूबारे भनेका छन्– ‘आम्दानी व्यापारबाटै थियो, जुन व्यापार हुने ठाउँ सिंजा थियो । भोट, भारत र पहाड तीन क्षेत्रलाई पायक पर्ने क्षेत्र सिंजा नगरदेखि पूर्वतिर भेरी नदीको शीरभन्दा राम्रो ठाउँ अर्को थिएन । सायद यसै नदी दुई सिंजा राजको सिमाना मानिएको हुनुपर्छ । भेरी नदी पूर्वका देशहरूमा सबैजसो मगर राजाहरू थिए ।’ यतिखेर मगर समुदायको सघन रस्तीबस्ती र भूगोलका नामकरणहरूले पनि मल्लको दाबीलाई थप पुष्टि गर्छ । मगरहरू ऊन, सुन र कपासमा बढी आकर्षित थिए । रुकुम, रोल्पा, बागलुङमा अहिलेसम्म भेडाको ऊन, अल्लो, भाङ्गो (गाँजा)को रेसाबाट उत्पादित कपडा लगाउने चलन कायम छ । उल्लेखित सन्दर्भ इतिहासका सिंहावलोकन भए । पृथ्वी नारायण शाहको ‘आधुनिक नेपाल’ निर्माणका क्रममा होस् वा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा मगर समुदायको धेरै रगत पसिना बगेको तथ्यहरू खुला छन् । मगरहरूको मुख्य थरमध्ये पर्छ पुन । पुन मगरहरूको ‘ब्रान्डेड’ थर हो । त्यही ब्रान्डेड थरलाई मगर समुदायभन्दा बाहिर राखेर तथ्याङ्क सार्वजनिक गरिनु गम्भीर षड्यन्त्रबाहेक अर्को केही होइन । पछिल्लो पटक मगर समुदायमा राज्यबाट विभाजनकारी व्यवहार गरेपछि समुदायबीच नै मनमुटाव शुरू भएको छ । राष्ट्रिय जनगणना–२०७८ को जातिगत तथ्याङ्क सार्वजनिक गरिएपछि मगर समुदायबीच द्वन्द्व सृजना भएको हो । कूल जनसंख्यामध्ये २० लाख १३ हजार ४ सय ९८ जना अर्थात् ६ दशमलव ९ प्रतिशत मगर समुदायको संख्या देखाइएको छ । तर, परापूर्वदेखि  मगर समुदायले मान्दै आएको मुख्य थरमध्ये पुन मगरलाई छुट्टै जातिको दर्जा दिएको छ । ९ हजार ८ सय २७ जना अर्थात् ० दशमलव  ०३ प्रतिशतमा पुन जाति रहेको भनि तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोझा, इमान्दार हुनु मगर समुदायको स्वभाव हो । त्यही इमान्दारितालाई कमजोरीको आधार बनाएर राज्यसत्ताबाट मगरहरू सधैं ओझेलमा पारिए । मगरहरूको मुख्य थरमध्ये पर्छ पुन । यहाँ सिधा भाषामा भन्दा पुन थर मगरहरूको ‘ब्रान्ड’ हो । अहिले त्यही ब्रान्डेड पुन थरलाई मगर समुदायभन्दा बाहिर राखेर तथ्याङ्क सार्वजनिक गरिनु गम्भीर षड्यन्त्रबाहेक अर्को केही होइन । मगर समुदाय देशको कुनाकाप्चादेखि विश्वका धेरै देशमा रोजगारीका सिलसिलामा पुगेर बसोबास गरेका छन् । प्रथम र दोस्रो विश्व युद्धदेखि अहिलेसम्म हेर्दा बेलायती, भारतीय सेनाको इतिहासमा मगर समुदायको  छुट्टै पहिचान छ । केही अभियानकर्ताहरूले पुन मगर होइन भन्ने अभियान सञ्चालन गरेकै भरमा तथ्याङ्क विभागले एकाएक नयाँ जाति उदय गराउनु नियतमा खोटबाहेक अरू होइन । मानवशास्त्रीय, सामाजशास्त्रीय अध्ययनबाट पुन मगर समुदायको एक थरबाहेक अरू प्रमाणीकरण हुन सक्दैन । जहाँ पुन मगरहरूको सघन बस्ती छ, उनीहरू मगर भएकोमा शिर ठाडो बनाएका छन् । कामकाजी, भर्तीका लागि पुन पद लिएकाले पुन मगर होइनन् भने अभियान थाल्नु र तथ्याङ्क विभागले त्यसलाई स्वीकृति दिनु ‘फुटाउ र राज’ सिद्धान्तमा आधारित षड्यन्त्र मात्रै हो । पुन को हुन् ?  भन्ने सन्दर्भमा मेजर एच.आर.के गिव्सको सन् १९४४ मा प्रकाशित ‘दी गोर्खा सोल्जर’ नामक पुस्तकमा मगर समुदायको थरलाई सात थरमा विभाजन गरेका छन् । गिव्सले भनेका छन्– ‘आले, बुढा वा बुढाथोकी, घर्ती, पुन, राना, रोका र थापा । यी सबै थरहरू सामाजिक हैसियतमा समान छन् र यिनीहरूको बीचमा अन्तरजातीय विवाह पनि सामान्य हुन्छ ।’ त्यसैगरी योगीनरहरिनाथ र कृष्णबहादुर गुरुङ सम्पादक रही २०२० सालमा प्रकाशित ‘श्रीगुरुङ मगर वंशवाली’ पृष्ठः २९ पुन मगरबारे प्रस्टै पारिएको छ– ‘निसी भुजीका महाराजिक वंशज मगर राजाहरूका सन्तान उमरा नरबहादुर पुन प्रभूति रजौटाहरू अद्यापि छन् ।’ यता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐनले समेत पुनलाई अर्को आदिवासी जनजाति भनेर चिन्दैन । तथ्याङ्क विभागले मुलुकको तेस्रो ठूलो जनसंख्या मगर समुदायलाई विभाजन गरेर केही स्वार्थी, अवसरवादीहरूको चित्त बुझाउँदा उसले सार्वजनिक गरिएका तथ्याङ्कको आधारमाथि शंका गर्ने कैयन ठाउँ दिएको छ । मगर समुदायको अक्षम ‘लिडर’ जनसंख्याको अनुपातमा राज्यको पहुँचमा मगर समुदाय नपुगेको यथार्थ हो । अशिक्षित, बेरोजगारी, सोझोपन कोही छ भने त्यो मगर समुदायमै छ । यसको फाइदा राज्यले त लियो नै । कतिपय सन्दर्भमा मगर समुदायबाटै षड्यन्त्र गर्ने काम भएका छन् । राज्यको सञ्जालभित्रै रहेका आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा मगर समुदायकै नेतृत्व छ । ती नेतृत्वले मगर समुदायमा पुन थरको माग के हो ? भनेर राज्यलाई कहिल्यै जानकारी गराएनन् । उनीहरूबारे वैज्ञानिक अध्ययन गराउन पनि चाहेन । जुन उनीहरूको त्यो नालायकीपन हो । अहिलेको कार्यशैली हेर्दा मगर समुदायको संघ/संगठनको नेतृत्वमा आएका ‘अक्षम लिडर’का हुललाई ‘रिफाइन’ गर्नै पर्छ । राष्ट्रिय जनगणना–२०७८को जातिगत तथ्याङ्क सार्वजनिक भइरहँदा शासक वर्ग मगर समुदायलाई विभाजन गरेर फाइदा उठाउने रणनीतिमा सफल देखियो । यसको बेजोड प्रतिवाद गर्न सक्ने मगर संघले समेत केही गर्न सकेन । मूलधारका राजनीति दलहरूकै संरचना र हाराहारी रहेर देश, विदेशमा संगठनात्मक संरचना खडा गरेको मगर संघ विज्ञप्ति प्रकाशित गर्नुबाहेक केही गर्न सकेन । पुनहरू यस कारण मगर हुन भन्ने मानवशास्त्रीय अध्ययन गराउने सामर्थ्य मगर संघले राख्छ । तर ‘अक्षम लिडरसीप’का कारण अध्ययन गराउँदैन, गराएन । मगर लिडरहरूको अक्षमको फाइदा ‘पुन जाति’ अभियन्ताहरूले उठाए । त्यसैलाई आधार मानेर तथ्याङ्क विभागबाट राज्यले ‘मगर फुटाउ र राज गर’ भन्ने सिद्धान्त कार्यान्वयन गरायो । ‘नयाँ जात भनेर स्थापित गरेपछि राज्यबाट सेवा, सुविधा पाइन्छ’ भन्ने हेतुले मगरभित्रका केही अवसरवादीहरू अभियानमा लागेको देखिन्छ । ‘पुन’ मगर होइन भन्नेहरू पहिचान विरोधीका मतियार मात्रै हुन । हरियो घाँसमा लुकेको हर्‍यौं (हरियो सर्प) जस्तै हुन उनीहरू । पुन जात बनाएर मगरबाटै मगर वंश नास बनाउने पात्रहरूप्रति मगर समुदायले बेलैमा सोच्नुपर्छ । एउटै संगठनमा गोलबद्ध भएको समुदाय हो मगर । जीवन्त मगर संगठन र चलयमान जातिमा केही स्वार्थी समूहको प्रवेश भएको इतिहास छ । ऐतिहासिक, वैज्ञानिक, मानवशास्त्रीय, समाजशास्त्रीय कुनैबाट तथ्य नहुने विषयलाई जबर्जस्त लागू गराउने कुचेष्टा बारम्बार भएका छन् । ५० को दशमा दशैं बहिष्कारको नारा लिइयो । मगर बुद्धमार्गी भनेर अभियानै चलाइयो । मगरको लिपी भनेर स्थापित गराउने अझै पनि कोसिस भइराखेको छ । जसलाई भाषाशास्त्रीहरू मगर भाषाको लिपी भनेर पुष्टि गर्न सक्दैनन् । मगर समुदायभित्र बेलाबेला देखिने यस्ता प्रवृत्ति नै समुदाय विकासको बाधक बन्न पुगेको छ । समुदायमा देखिने अज्ञानता, सोझोपनबाट फाइदा लिने अवसरवादीहरूविरुद्ध समुदाय निर्मम हुनै पर्छ । अहिलेको कार्यशैली हेर्दा समुदायको संघ/संगठन नेतृत्वमा आएका ‘अक्षम लिडर’का हुललाई ‘रिफाइन’ गर्नै पर्छ । जसका लागि सबै क्षेत्रमा रहेका मगर व्यक्ति, व्यक्तित्वहरूले आत्म समीक्षाका साथ समुदायप्रति उत्तरदायी, जवाफदेही सक्षम नेतृत्व निर्माणको अभियान आजैबाट थालनी गर्न जरुरी छ । लोकान्तरबाट