थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

४५२ दिन अगाडि

|

३ असार २०८१

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

४७७ दिन अगाडि

|

१० जेठ २०८१

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् । गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलो भइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ । कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए । गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ । गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’ जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ । कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता रहेको बताए । भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न । टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’ थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो । योजना तर्जुमा नअटाएको ती विकास राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ । कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ । अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।  

कठरिया थारु भाषाको पठन पाठन सुरु

कठरिया थारु भाषाको पठन पाठन सुरु

४८० दिन अगाडि

|

७ जेठ २०८१

                                                                                                                                                                      तस्बिरः टिआर कठरिया कठरिया थारु समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कैलालीमा कक्षा सञ्चालन गरिएको छ ।  हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीका विभिन्न ठाउँमा १५ वटा कक्षा सञ्चालन भएको हो । एक महिनाका लागि सञ्चालन भएको उक्त कक्षामा कठरिया समुदायका देवनागरीमा लेख्न र पढ्नसक्ने २५ देखि ३० जना सहभागी रहेको जनाइएको छ ।  वैशाख पहिलो सातादेखि कक्षा सुरु भएको जनाउँदै हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले कठरिया समुदायका नेपाली सरासर पढ्न, लेख्न सक्ने, अन्य भाषा मिसाएर बोल्नेलाई एक महिना कक्षा सञ्चालनको व्यवस्था गरिएको जनाए । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी, गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, कैलारी, बर्दगोरिया गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास छ । कक्षा सञ्चालन उल्लेखित पालिका अन्तर्गत कठरिया समुदाय रहेको मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सीपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसामा भैरहेको छ । तीमध्ये शनिबार चर्रामा कक्षा समापन भएको र अन्य ठाउँमा समेत अन्तिम चरणमा पुगेको फिल्ड सुपरभाइजर कठरियाले बताए । कक्षा सञ्चालन गर्नुपूर्व सरोकारवालाहरुको बैठक, स्थलगत सर्वेक्षण, पाठ्यपुस्तक निर्माणलगायत दुईदिने शिक्षक तालिम आयोजना गरिएको थियो । 

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

४८६ दिन अगाडि

|

१ जेठ २०८१

राम अवतार चौधरी पर्यटन डिभिजन कार्यालय रुपन्देहीले कपिलबस्तुका थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम वैशाख ३१ बाट सुरु गरेको छ । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा सुरु भएको ५ दिने तालिम जेठ ४ गतेसम्म चल्नेछ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बरघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको बताउनुभयो । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको समेत थारुले उल्लेख गर्नुभयो।  थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको सशक्त नेतृत्व विकास हुन आवश्यक रहेको केन्द्रिय सदस्य थारुले जनाउनुभयो । बरघरले गाउँघरमा हुने गरेका स–साना घटना न्यूनीकरण गर्न सकारात्मक भूमिका निर्वाह गरेको उहाँले जनाउनुभयो । समुन्नत समाजमा सकारात्मक भूमिका खेल्ने बरघर प्रथालाई टोल विकास संस्थाले विस्थापित होइन, सशक्त बनाउनुका साथै पूर्णरुपमा कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ । यस्तै उद्घाठन सत्रमा थाकसकी केन्द्रिय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तित्व जोगाउने युवा पुस्ता गैरजिम्मेवार देखिएको बताउनुभयो । उहाँले पुर्खौली रीतिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको धारणा राख्नु भयो । थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिकास्तरीय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरू गर्ने योजना रहेको बताउनुभयो ।  पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम सकिएको तथा यो दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन भइरहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनक राज खनालले जानकारी दिनुभयो । तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, र बुद्धभूमि लगायत पालिकाका विभिन्न गाउँका ३ दर्जन बरघर तथा थारु समुदायका अगुवाहरूको सहभागिता रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले थारु बरघरको काम गर्ने शैलीबाट अरु समुदायले पनि सिक्नुपर्ने धारणा राखिन् । कार्यालयका लेखा अधिकृत बिनोद पौडेलले सबैलाई स्वागत गरेका थिए । तालिमका प्रशिक्षक डा कृष्णराज सर्वहारीले तालिमाको पहिलो र दोस्रो दिनमा थारु जातिको इतिहास, थारु बरघरले गर्नुपर्ने काम कर्तव्य र अधिकार, असल बरघरको गुण र भूमिका, थारु भाषा, कला, संस्कृतिको संरक्षण, थारुका परम्परागत प्रथा चलन र क्षमता विकास लगायतबारे विषयमा प्रशिक्षण दिए । 

भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

५०४ दिन अगाडि

|

१४ वैशाख २०८१

कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले भलमन्सा प्रणाली समाज सञ्चालनको अति लोकतान्त्रिक विधि भएकोले यसको संरक्षण र सम्बद्र्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन् । आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) र थाकस कैलारी गाउँपालिकाद्वारा बुधबार वैशाख १२ गते आयोजित एक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले उक्त प्रतिबद्धता गरेका हुन् ।  भलमन्सा अर्थात् थारु गाउँका बरघरहरुलाई सक्रिय र सशक्त बनाउन उनीहरुलाई आवश्यक पर्ने पुस्तक तयारीको लागि छलफल डाकिएको थियो । छलफलमा भलमन्सा प्रणाली के हो ? लोकतान्त्रिक भलमन्सा प्रणालीलाई जोगाउन किन आवश्यक छ ? यसलाई सक्रिय र सशक्त बनाउन लाहुर्निप, थाकस र पालिकाको भूमिका किन जरुरी छ ? उनीहरुका लागि कस्तो पुस्तकको आवश्यकता छ ? आदि बिषयमा छलफल भएको थियो ।  छलफलको अन्त्यमा पालिका अध्यक्ष चौधरीले लाहुर्निपले उठान गरेको राम्रो सवालको सम्बोधनमा स्थानीय सरकार पछि नहट्ने, नीतिगत निर्णय मात्रै होइन, पालिका तन मन धनले समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भलमन्साहरुलाई आवश्यक हुने पुस्तक प्रकाशनको लागि पालिकाको पूर्ण सहयोग रहने बताए ।  सहभागीहरुले पुस्तकमा भलमन्साका कार्यवधि, कर्तव्य, दायित्वसमेत उल्लेख हुनुपर्ने सल्लाह दिएका थिए । छलफलमा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता जोहारीलाल चौधरी र लाहुर्निपका संस्थापक सदस्य सर्जुप्रसाद चौधरीले बिषयबस्तुको उठान गरेका थिए भने लाहुर्निपका कैलाली सहजकर्ता दिलबहादुर चौधरीले छलफलको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रम थारु कल्याणकारिणी सभा कैलारीका सभापति अशोक चौधरीको सभापतित्वमा भएको थियो ।         

जुडीसितोल हे सिरुवा पावन

जुडीसितोल हे सिरुवा पावन

५१६ दिन अगाडि

|

२ वैशाख २०८१

पृष्ठभूमिः बिक्रम सम्बत साल अनुसार वैसाख १ गते लया बछर (नयाँ वर्ष) सुरु हेछै । कोचिला थारु समुदायमे यीटा दिन बिषेश रुपसे मनछै । छोटना के मुडी मे पानी द्याके आशिर्वाद देछै, जनत बोडनाके गोडा मे पानी द्याके आशिर्वाद लेवेके चलन छै । नव विवाहित जोडी सिरमोर फुल जित लदी पोखरमे जल प्रवाह करछै । सिरुवाके बारेमे बहुते झनाके जानकारी नय हवे साकछै । सेहास सिरुवा के बिषयमे यीटा लेखमे जानकारी देवेलगिन प्रयास करनिस ।  सिरुवा पावन थारु समुदायके संस्कृति छेकै । बछरके अन्तिम चैत महिनामे बहरजत्रा पुजा करछै । ग्रामतीमे गोटे बछर भोगल रोगबियाद, दुखसांघ, पीडाकष्ट सवना बहिके जो हे लया बछर मे फरे यीना रोग, दुःख, पीडा घुमी नय आवियान कहिके डिहवारनी, ग्रामथान, संसारीमाय, मलङ, कुलदेवता, पाँचोदेवीके सुमरीके धामी तान्त्रिक विधिसे चलान करिके बही देछै । वेहा दिन से आपन कुलदेवता, ग्रामथान, डिहवारनी के तीन दिन धुपदिप से सांझवाती द्याके यीटा बछरके बिदाई हे लया बछरके स्वागत करेके चलन छै । बहरजत्रा पुजाके वाद सामुहिक रुपमे कुप, इनार, डगरबाट सफा करैक । वहिने चैतके रानल वैसाखमे ख्याके चलन छै । वैसाख १ गते कादमाटी से लेढीपेढीके भौजी, गोतिया, ननद संगे हँसिमजाक करिके मनवैक । वैसाख १ गते राजाके (थानके राजा, देशके राजा) घरमे जुडीसितोल मनावैक । तकरबाद वैसाख २ गते आम मलवैया आपन घरमे जुडीसितोल मनावैक । अखने वैसाख १ गते जुडीसितोल मनावेके चलन यलैस । जुडीसितोल मनावेके विधिः थारु समुदायमे कुलदेवता के बासस्थान के सिरापाट कहछै । सिरा के अर्थ शिरस्थ (मूल) पाट के अर्थ बास हेछै । कुलदेवता बासस्थान के भनसी घर या गहवर कहछै । कुलदेवताके भनसी घरके इसानकोण मे स्थापना करछै । थारु समुदाय मे कहवी छै ‘सिरा न पाट के गोड लाग टाट के’ कहेके मतलव आपन कुलदेवता के सफामन से पुकार करला से बहुतो बिघ्नबाधा आप्सेआप सामाधान हेल बहुतो प्रमाण छै । बछरके सुरुमे घरके शिरस्थ कुलदेवताके शुद्ध लज, फुलपती, धुपदिप अर्पण करिके आशिर्वाद लेछै । आपन आपन कुलके देवी देवता फरक फरक हवे साकछै ।  तकरबाद ग्रामथान मे स्थापित दरदेवता, धामी धमियेन, हातीबन्धा (गणेश जी), बघेसरी (भवानी जी), लक्ष्मीडारी, अघोरीनाथ, डिहडिहवारनी (बास्तु), संसारी के लजफुल ढारीके आशिर्वाद लेछै । यकरवाद ग्रामतिके बयोबृद्ध या गछदार, गुरुवा धामीके पइर (गोडा) मे जलफुल ढारीके आशिर्वाद लेछै । तव घरके बयोबृद्ध, मातापिता, ककाककी, ददाभौजी के गोडामे जलढारीके आशिर्वाद लेछै । वहिने आपन से छुमीनाके मुडीमे जल द्याके जुडीसितोल कहिके आशिर्वाद देछै । जुडीसितोल हे सिरुवा के अर्थः जुडी के अर्थ जुड (ठण्डा) सितोल के अर्थ सितल (शान्ति) हेछै । बैसाख मे गर्मी धमकल रहछै सेहास जुड (जुर) पानी से मन सितल (शान्ति) हेछै । सेहास बितल बछरके पिडासे दुखित हेल मन हे गर्मीसे तमसल मनके जुडावे लगिन सितल, जुड जल ढारीके कञ्चन शरीर रहोक कहिके आशिर्वाद देवेलेवे कारण जुडीसितोल कहछै ।   बहरजत्रा पुजाके बाद लया बछरमे रोगबियाद, हैजा, फौती, दुःख कष्ट नय भोगे परोक । सुख, शान्ति, निकेकुसले कञ्चन शरीर रहोक कहिके बछरके सुरुमे (सवसे पहिना) आपन कुलदेवताके सिरापाट, ग्रामथान, मातापिता, गुरुवा, धामीके सुरुमे जलफुल ढारकरिके सिरासे आशिर्वाद लेवेके कारणसे सिरुवा कहल गेलैस ।  राजधामी गुरुवा बैसाख १ गते पाँचोदेवती (पंचहायान) हांसपोसामे के पहिना पुजा करछै। तकरबाद इटहरीमे बैसाख २ गते उतर दिसर सिरामे कचना महादेवके जाग्राम पुजा किर्तन करछै । सिरा उतरमे बैसाख ३ गते इटहरीके कचना महादेवके पुजा करलके बाद भाठी दखिन दिसरके थानमे पुजा ढारते गेलके कारणसे सिरुवा कहछै । अखने बछरके सुरु बैसाख १ गते जुडीसितोल के सिरुवा पावन के रुपमे मान्यता पेलकैस । विहाके सिरमोर (फुल) बिसर्जनः नव विवाहित जोडीके सिरमोर (फुल) विवाह के वाद जतनसे सांठीके राखछै । सिरमोरसे झरल फुलनाके समटिके जतन करे परछै । तव बैसाख १ वा २ गते जित लदी या पोखर मे बिसर्जन करे परछै । फुल बिसर्जन के बाद विवाहित जोडी पानी मे हथरीके घुङघरी, झुना, माछ या कुन चिज पहिना पकडछि कि खाली हाथ रहछै, उटासे वकर छौडा कि छौडी बच्चाके जलम अनुमान जोखना कहिके जनबिश्वास छै । झुना भटेलासे छौंडी बच्चा, घुङघरी भेटलासे छौडा बच्चा हवेके प्रवल संभावना रहछै । तकरबाद जलकुमारीके धुपदिप हे फुलघोडा चढछै । जलकुमारी से सुखमय बैबाहिक जीवन हे सन्तान के कामना करछै ।  सिरापाट (कुलदेवता) मे अर्पण विधिः आपन आपन कुलदेवता के जुडीसितोल या सिरुवामे बिशेष करिके पवित्र मनसे गोचर बिन्ति करछै । कुलदेवताके आपन पाट (स्थान) मे आसन बान्हीके बैठे लगिन गोचर बिन्ति करछै । कुलदेवता फरक फरक हेछै । मुख्य रुपमे शिवपार्वती, गयाँ (गांगो), देवी भवानी (बघेसरी), काली, बामत, गहिल, लक्ष्मी (भण्डारनी), बिसहरा (नाग), मुलदुवारमे (प्रवेशद्वार) रक्षा करेलगिन देवीके बाहान सिंह दुनु काते रहछै सेहास सिंहदुवार अपभ्रमसमे सिदुवार बोलचालमे कहछै । बहारसे नकारात्मक शक्ति घर येङनमे प्रवेशमे रोक लगावे लगिन सिदुवारीमे नरसिंह, हलुमान ठाकुर, भैरव के स्थापना करल रहछै ।  हाथगोड धोवीके एकलोटा जल भोरिके, फुलपती, धुपदिप हे पान प्रसाद चढ्याके कल जोडिके कुलदेवतासे बिन्ति गोचर अनुरोध करछै, ‘हे कुलदेवता, हे पांचोदेवी, राजा राज छोडने राज नय भेटछै देवता पाट छोडने से पाट नय रहछै । सेहास आपन राजपाट समारीके स्थीर बरिके बैठ । हमर घरगैरना, बालगोपाल, सखासग्तउन के निके कुसले राखियान । हमे मलवैया छेकिन । येंठ खेछिन झुठ बोलछिन । घडीघडी अपराध करछीन । जे जानछुन वतन्या करछुन । जे जुरलु से चढनुस । जे नय जानछुन से नय चढनुस । अधना अज्ञानी जानीके हमर गलती क्षमा करिदिहेन । तोर शरणागत छुन दया कर, दया कर, दया कर ।’ कुल देवता कि जय, पाँचोदेवती कि जय । यतन्या बिन्ति करिके लोटाके जल ढारी देछै हे गोड लागछै ।                                                                                                 लेखक रामसागर चौधरी उपसंहारः सिरुवा थारु समुदायके सांस्कृतिक धरोहर छेकी । यकर महत्व हे फाईदाके बारेमे छलफल बहस चलना जरुरी छि । थारु समुदाय सिरुवा पावनके जीवन्त राखेलगिन हर प्रयतन करोक । सिरुवा पावनमे गुलगुलिया, पुव, करिबरी, चितकोव रोटी, खिर, सोहारी औठ रकमके पकवान के मजा लिहेन । लया बछर मे बिकृतिके रुपमे प्रवेश करल जाँड, दारू मे फजुल खर्च कम करिके झैझगडासे दुर रहिके आनन्दसे मनावम । कञ्चन शरीर हे प्रफुल मन बनोक सिरुवाके हार्दिक शुभकामना । इटहरी–१२, खनार, सुनसरी

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

५३० दिन अगाडि

|

१८ चैत २०८०

सबिना श्रेष्ठ संसारमा सबभन्दा धेरै भनिने शब्द हो – हेलो । अंग्रेजी जान्ने होस् वा नजान्ने, अधिकांशलाई 'हेलो' भन्न आउँछ। करिब करिब यो संसारभरकै मान्छेले जान्ने अभिवादनको शब्द हो। नेपालीहरू अभिवादन गर्नुपर्दा 'नमस्ते' वा 'नमस्कार' भन्छन्। थारू भाषामा 'गौर लागैचियै', 'जय गुरबाबा', 'राम राम' भनिन्छ। यसरी विभिन्न तरिकाले अभिवादन गरेपछि हाम्रो दिमागमा झट्टै अर्को प्रश्न आउँछ – तपाईंलाई कस्तो छ ? विशेषगरी, चितवनका थारूहरू 'तपाईंलाई कस्तो छ?' भनेर सोध्नुपर्दा 'डउले डउले' भन्छन्। यो उनीहरूको अभिवादन गर्ने शब्द पनि हो। एकअर्कालाई भेट्नेबित्तिकै सुरूमै उनीहरू यो शब्द भन्छन्। समग्र थारू समुदायले कस्तो छ भनेर खबर सोध्दा 'डउले डउले' भन्दैनन्। चितवनका थारूहरूले मात्र भन्ने यो शब्द प्रतिनिधिका रूपमा आए पनि समग्र थारू समुदायको कथा–व्यथा उस्तै हो। 'डउले डउले' शीर्षकमा नै पाटन दरबार स्क्वायरभित्र यति बेला मिक्सड–मिडिया प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा सबैभन्दा धेरै नयाँ–पुराना फोटा छन्। थारू समुदायले लगाउने र प्रयोग गर्ने सामग्री छन्। अनि 'लूप' मा चलिरहने एउटा भिडिओ छ। यी सबैले थारू समुदायको इतिहास, संस्कृति, जीवनपद्धति, ज्ञान, प्रतिरोध लगायत विषयबारे जानकारी दिन्छ। उनीहरूको समुदायमा के कति परिवर्तन भए र कति भएनन् भन्ने झलक दिन्छ।  'अहिलेसम्म थारूको इतिहास थारू आफैंले लेखेका छैनन्,' प्रदर्शनीमा संलग्न इन्दु थारूले भनिन्, 'हाम्रो हजुरबुबा, हजुरआमाहरूले लेख्न–पढ्न पाउनुभएन। जो पढ्न अनि लेख्न जान्थे, ती थारू समुदाय बाहिरका थिए। कि त विदेशी थिए। उनीहरू जति समय हाम्रोमा बसेर अध्ययन गरे पनि कति नै गर्न सक्छन् जस्तो लाग्छ।' यो प्रदर्शनी गर्दा पनि थारू इतिहास अनि उनीहरूको आवाज कसरी बन्ने भन्ने कुरामा आफूहरू सजग भएको उनले बताइन्। 'खास गरी हाम्रो इतिहासलाई कसरी देखाउने भन्ने विषयमा हाम्रा साथीहरूबीच धेरै बहस हुन्थ्यो। प्रदर्शनीका लागि फोटो छान्दा र त्यसलाई वर्णन गर्ने शब्द छान्दा हामी त्यतिकै सजग भएका थियौं,' उनले भनिन्। भनिन्छ, फोटो आफैंले हजारौं शब्द भन्छ। यो प्रदर्शनीमा २०६० सालदेखि हालै खिचिएका फोटा छन्, जसले थारूहरूको विगत र वर्तमानको चित्रण गर्छ। तिनले थारूहरूले बाँचेको जीवन, पहिरन, सामग्री, खानेकुरा लगायत वर्णन गर्छन्। पुराना फोटा हेर्नुभयो भने तपाईंले थारू महिलाहरूले सानादेखि ठूलासम्मले ब्लाउज, लेहेंगा लगायत पहिरन लगाएको देख्नुहुन्छ। अहिले यसरी पहिरन लगाउने चलन चाडपर्व र विशेष अवसरमा मात्र सीमित छ। त्यति बेला जुत्ताचप्पल लगाउने चलन पनि नआइसकेको देखिन्छ।  २०७० सालतिरको फोटो हेर्ने हो भने थारू गाउँका गाडामा काठको चक्का देखिन्छ। अहिले त्यसलाई टायरले विस्थापित गरिसकेको छ। उनीहरू भरपुर मात्रामा बाँसले बनाएका ढकिया, माटाका भाँडा प्रयोग गर्थे। अहिले छिटपुट प्रयोग गर्छन्। 'हामीले जोगाउनै नसकेको भनेको भौका भन्ने सामग्री हो। खरबाट बनाइने भौकामा आफ्ना लुगा, गरगहना तथा महत्त्वपूर्ण सामग्री राखेर घरमा झुन्ड्याइन्थ्यो। अहिले दराजले त्यसलाई विस्थापित गरिसक्यो। त्यो सीप हामीले जोगाउनै सकेनौं। अहिले फोटोमा मात्र सीमित छ,' इन्दुले भनिन्। नयाँ फोटामा हात्तीको रेखदेख गर्ने महिला माउतेहरू देख्न सकिन्छ। पुरूषहरूमा सीमित पेसामा आफूहरू पनि सक्षम छौं भनेर थारू महिलाहरूले प्रमाणित गर्दै लगेको देख्न सकिन्छ। थारू महिलाले आफ्ना शरीरका अंगमा बनाउने गोदना/टिका (ट्याटु) का फोटा पनि हालै खिचिएका धेरै छन्। थारू समुदायमा मृत्युपछि भगवानको घर जाँदा आफूसँगै लगिने कुराका रूपमा गोदनालाई लिइन्छ। त्यसमा कथाहरू पनि छन्। भगवानको घर कसरी जाने त? घोडा चढेर। उनीहरूले घोडा बनाए। जाँदाजाँदै बाटोमा भोक लाग्ला! चुह्लो अनि भाँडा बनाए। तरकारी काट्न हँसिया बनाए। आलु, भन्टा, लगायत खानेकुरा खोजे। बस्न डोरी अनि स्टुल बनाए। यस्तो कथासँगै गोदनामा मयुर, घोडा लगायत प्रकृतिसँग सम्बन्ध राख्ने कुराहरू पनि हुन्छन्। केही समययता इन्दु र उनका साथीहरूले पूर्वदेखि पश्चिमसम्मका थारू गोदनाको सीपबारे अध्ययन गरिरहेका छन्। त्यसक्रममा उनीहरूले थारू समुदायमा यो परम्परा लगभग लोप हुने स्थितिमा रहेको पत्ता लगाए। 'आफ्नो शरीरमा गोदना गर्छु भन्दै उनीहरूकहाँ मान्छेहरू नआएकै ३०–३५ वर्ष भइसकेछ। आधुनिक ट्याटु बनाउने र यस्ता मौलिक सीपलाई बेवास्ता गर्ने हो भने यो सीप हराउन धेरै समय लाग्दैन। हामीले त्यसलाई अभिलेख राख्ने प्रयास गर्दैछौं,' अनुसन्धाता पनि रहेकी इन्दुले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा थारूहट थारूवान आन्दोलनमा सहभागी भएका महिलाहरूको फोटा देख्न सकिन्छ। त्यतिबेला थारू पुरूष आन्दोलनकारीहरू बाटोमा देख्यो कि प्रहरीले समातेर लाने समय थियो। त्यही भएकाले थारू महिलाहरू आफ्नो मौलिक पहिरन लगाएर सडकमा आएका थिए। इन्दु आफैंले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन्। २०७२ सालमा संविधान बन्ने तयारी भइरहेका बेला थारूहरूले भूमि चाहियो र संविधानमा आफ्नो पनि स्थान हुनुपर्‍यो भनेर आन्दोलन गरका थिए। 'तर हाम्रो माग पूरा भएन,' इन्दुले भनिन्, 'हामीले भनेजस्तो थारूहट थारूवान प्रदेश पाएनौं। हामीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा प्रदेश हुनुपर्छ भन्यौं। तर कैलाली कञ्चनपुरलाई त्यही अखण्ड सुदूरपश्चिममा राखिदियो। थारूहरूलाई संघीयताले छुँदै छोएन। अझ सुदूरपश्चिमलाई त छुँदै छोएन। जे पुरानो संरचना थियो, त्यही नै भयो।' उनले अगाडि भनिन्, 'हामीले जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्यौं। त्यो भएन। आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्यौं। त्यो पनि भएन।' थारू भाषाका शब्दहरू खस समुदायले बिगारिदिएकोमा इन्दुलाई झनै चिन्ता छ। 'हामी बरघर भन्छौं। उनीहरू बडघर लेख्छन्। हामी माघ मनाउँछौं, उनीहरू माघी भनेर लेखिदिन्छन्। हाम्रा ठाउँहरूको नाम पनि निकै बिगारिएको छ। यो हाम्रो मौलिक शब्द माथिको आक्रमण नै हो,' उनले भनिन्। यो प्रदर्शनीमा गुरही चोकको एउटा फोटो छ। धनगढीमा बस्ने थारूहरूले यो चोकमा गुरही पर्व मनाउँछन्। करिब २० वर्षअघि यो चोकलाई थारूहरूले सिडिओसहितको उपस्थितिमा गुरही चोक नामाकरण गरे। तर गैरथारूहरूले यसलाई क्याम्पस चोक भन्नुपर्छ भनेर विरोध गरिरहेका छन्। 'हाम्रो थारू बस्तीमा आएर उनीहरू भानुको मूर्ति राख्छन् र भानु चोक भन्छन्। मोतीराम भट्टको मूर्ति राख्छन् र मोती चोक भन्छन्। जुन चोकलाई सरकारले नै गुरही चोक भनिसक्यो, त्यसबारे हामीले भने अहिलेसम्म लडाइँ लडिरहनुपरेको छ,' उनले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा 'मुक्तिक डगर' पत्रिकाका लेखहरू राखिएको छ। यो पत्रिका २०४९ सालमा इन्दुका बुबाले प्रकाशनमा ल्याएका थिए। वार्षिक रूपमा प्रकाशित हुने यो पत्रिका थारू भाषामा निस्किन्थ्यो। त्यसमा गीत, कविता, गजल अनि लेखहरूको संकलन हुन्थ्यो। २०५२ सालमा माओवादी युद्ध घोषणा भएपछि यस पत्रिकामाथि सरकारले अंकुश लगाउन खोज्यो। प्रहरीहरूले थारू घरमा छापा मार्न थाले र जसको घरमा यो पत्रिका छ; उनीहरूलाई समातेर लाने, धम्काउने र गिरफ्तार गरेर लान थाल्यो। सोही डरका कारण ज–जसको घरमा यो पत्रिका थियो, उनीहरूले त्यसलाई गाड्ने वा जलाउने गर्न थाले। 'मुक्तिक डगरमा आफ्नो अधिकारका लागि बोल्नुपर्छ, लड्नुपर्छ भन्ने खालका कुराहरू थिए। जमिनदारहरूको विरोध गर्ने, शासकहरूको विरोध गर्ने कुरा उनीहरूलाई पचेन। अनि सरकारले त्यसलाई नियन्त्रणमा लिन खोज्यो,' इन्दुले भनिन्, 'मेरो आमा, हजुरआमाले पनि प्रहरीले समात्छ भन्ने डरले हामीले पढ्नेबाहेक सबै किताब जलाउनुभयो कि माटोमुनि गाड्नुभयो।' यो प्रदर्शनीताका इन्दु र उनका साथीहरू थारू गाउँहरूमा यो पत्रिका खोज्दै हिँडेका थिए। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दांगसम्म पुग्दा पनि उनीहरूले फेला पार्न सकेनन्। काठमाडौंमा बसेर अध्ययन–अनुसन्धान गरिरहेका कृष्ण सर्वहारीको घरमा फेला परेपछि स्क्यान गरेर प्रदर्शनीमा राखिएको हो। पत्रिकामार्फत थारूहरूलाई जागरूक बनाउने इन्दुको बुबाको २०५९ सालमा गोली हानेर हत्या गरियो। त्यति बेलासम्म उनले मुक्तिक डगर पत्रिकाको ६ अंक प्रकाशन गर्न सफल भएका थिए। इन्दुले पछि २०७५ सालमा यो पत्रिकालाई पुनः निरन्तरता दिइन्। यही पत्रिकाको छेउमा इन्दुले थारू भाषामा लेखेको एउटा कविता छ, जसमार्फत यो साम्राज्य कसको हो भनेर आफूले प्रश्न उठाएको उनी बताउँछिन्। 'जुन साम्राज्यमा मेरी आमाले मलाई जन्म दिँदा एकदम पीडा भएपछि अय्या भनेर कराउँदा जोडले नकरा भनेर आदेश दिइन्छ, यो साम्राज्य कसको हो भनेर कवितामार्फत प्रश्न गरेको छु,' इन्दुले भनिन्, 'यसमा अलिकति गीतको कुरा पनि ल्याएको छु। हाम्रो आमाहरूलाई सजना, धमार, मागर लगायत थारू गीतहरू गाउन नदिएर खाली मनोरञ्जन (साली भाटु) को गीत मात्र गाउन लगाइयो। आफ्नो विरह, मुक्तिको गीत गाउन नदिने यो साम्राज्य कसको हो ?' उनले अगाडि भनिन्, 'हाम्री आमाहरूले आफ्नो आवाजलाई अलिकति घरको भित्ता माटोले लिप्ने बेला दबाउनुभयो। अलिकति खेतमा धान रोप्ने बेला औंलाले माटोमा थिचेर दबाउनुभयो। यसरी आफ्नो आवाज दबाउँदा दबाउँदै उहाँहरूको आवाज नै गुमनाम बनाइयो। आजका आमाहरूले वर्षौंदेखि दबाइएको आवाज नै हामीलाई हस्तान्तरण गर्नुहुन्छ कि नयाँ प्रतिरोधको आवाज हस्तान्तरण गर्नुहुन्छ भनेर मैले कवितामा प्रश्न गरेको छु।' थारू महिलालाई अरूले हेर्दा अलि प्रतिरोधी र स्वतन्त्र सोच्छन्। उनीहरूलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको छ भन्ने पनि धेरैलाई लाग्ला। तर आफूलाई भने आफ्नी आमा, हजुरआमा र जिजुआमा हेर्दा त्यस्तो कहिले नलागेको इन्दुले बताइन्। उनले एउटा उदाहरण पनि दिइन्, 'मेरो जिजुआमा बिहे गरेर आएको केही समयमा नै मेरो जिजुबुबा बित्नुभएछ। उहाँ बितेपछि मेरो जिजुआमाको बिहे उहाँको देवरसँग गराइदिए। त्यसरी बिहे गराइदिँदा त्यसलाई कसरी स्वतन्त्र भयो भन्ने? मेरी जिजुआमालाई देवरसँग बिहे गर्न मन छ कि छैन भनेर कसैले पनि सोधेन जस्तो लाग्छ।' 'थारू महिलाले खेतमा काम गरेको देख्यो, माछा मार्न गएको देख्यो वा बाहिर कतै नाचगान गरेको देख्यो भन्दैमा उनीहरू स्वतन्त्र छन् भन्न मिल्दैन। उनीहरूको जीवन संघर्ष कस्तो थियो भन्ने खालको बहस आउनुपर्छ जस्तो मलाई लाग्छ,' इन्दुले भनिन्, 'थारू महिलाको कथा र संघर्षबिना थारू इतिहास अधुरो छ।' राष्ट्रिय निकुञ्जको धारणा आएपछि कसरी थारूहरूको रैथाने पेसामा हस्तक्षेप भयो भन्ने कुरा पनि हामीले प्रदर्शनीबाट थाहा पाउन सक्छौं। थारूहरूको माछा मार्ने संस्कृतिमा कसरी राष्ट्रिय निकुञ्जले असर पुर्‍यायो भन्नेबारे प्रदर्शनीमा लेखिएको छ, 'राष्ट्रिय निकुञ्जहरूमा आदिवासीहरूलाई माछा मार्ने अनुमति छैन। थारू र अन्य आदिवासीहरूलाई थाहा छ कि पार्कमा प्रवेश गर्दा उनीहरू पक्राउ पर्ने खतरा छ। तैपनि उनीहरू माछा मार्न छाड्दैनन्। किनभने उनीहरूका लागि माछा मार्नु केवल पेसा होइन, अस्तित्वको सार हो।' यो प्रदर्शनी सफल बनाउन इन्दुसँगै वीरेन्द्र महत्तो, सञ्जीव चौधरी, लवकान्त चौधरी, अर्नभ चौधरी, मारिया बोसेरेट र टम रोबर्टसनले भूमिका खेलेका छन्। प्रदर्शनीमा 'लूप' मा चलिरहने भिडिओ लवकान्त चौधरीको हो। यो भिडिओले थारूहरूको गुरूवा (पुजारी) मार्फत गराइने धार्मिक अभ्यास, थारू भरियाको कथा, मुलुकी ऐनले थारूहरूलाई कसरी 'दास' बनाएको छ, राष्ट्रिय निकुञ्ज बनाए पनि विदेशी राजाहरू आएर पार्कमा शिकार गर्न गएको लगायत विषय समेटेको छ। यो प्रदर्शनीले पूर्वदेखि पश्चिमका थारूको कथा र सीप पनि देखाउने प्रयास गरेको छ। उनीहरूले भोग्दै आएको प्रतिरोध काठमाडौंलाई सुनाउने प्रयास गरेको छ। प्रदर्शनी हेर्दै गर्दा र उनीहरूको इतिहास बुझ्दै जाँदा तपाईंलाई लाग्न सक्छ, सधैं शोषण गर्ने शासक वर्गले थारूहरूलाई कहिले सोध्यो होला — डउले डउले। अर्थात्, 'तपाईंलाई कस्तो छ?'   प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।  सेतोपाटीबाट