छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

१३७० दिन अगाडि

|

११ कात्तिक २०७९

फेरियो रानाथारूको तिहार मनाउने शैली

फेरियो रानाथारूको तिहार मनाउने शैली

१३७१ दिन अगाडि

|

१० कात्तिक २०७९

रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।  कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ । “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो ।” उनले भने–“गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ ।” उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए । “एक महिना अघिदेखि नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ ।” उनले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए।  यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले ।” उनले भने–“राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन, पूजा मात्रै गरिन्छ ।” बदलिदो परिवेश संगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन । पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए । “प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन ।” उनले भने–“पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै  मनाउन थालियो ।” उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए । रासस

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

१३७३ दिन अगाडि

|

८ कात्तिक २०७९

आर. मानन्धर देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड नै ‘म्ह–पूजा’ अर्थात् शरीर पूजा हो । यसमा घरभित्र परिवारका सबै सदस्यहरू लहरै बसी आ–आफ्ना शरीर पूजा गरेर मनाइन्छ । साथै, अद्भुत कुरा यो छ कि शरीर पूजा गर्ने दिनमा नै देशको नाममा स्थापित नेपाल सम्वत्को पात्रो पनि फेरिन्छ । त्यसैले यो दिन भव्य र दिव्य दुवै रहन्छ, घरभित्र पनि घरबाहिर पनि । म्ह–पूजा र मण्डलको महत्त्व म्ह–पूजा चाड त हो नै । साथै पूजा भनेपछि यसको आध्यात्मिक पक्ष पनि हुने नै भयो । त्यसमा पनि यस पूजामा हरेक सदस्यको अगाडि मण्डल बनाइन्छ । मण्डल भनेकै आध्यात्मिक प्रतीक हो । खास गरी तान्त्रिक अनुष्ठानमा यसको प्रयोग गरिन्छ । नेवारहरु शैव तन्त्र र बौद्ध तन्त्र दुवैबाट प्रभावित छन् । तन्त्रमा मण्डललाई विश्व ब्रह्माण्डको प्रतिरूपको रूपमा लिइन्छ । यसले समग्रता, सम्पूर्णता र सुसंगठित संरचनाको प्रतिनिधित्व गर्छ । विश्व ब्रह्माण्ड, आकाशगंगा, सौर्यमण्डल, पृथ्वी, हाम्रो शरीर सबै पूर्ण र अन्योन्याश्रित सुसंगठित संरचना हुन् । म्ह–पूजामा बनाइने मण्डलको प्रकार रजमण्डल (स्याण्ड मण्डला) हो । नेपाल भाषामा यसलाई ‘प्वताय्मन्दः’ भनिन्छ । यो मेहनतका साथ सुन्दर बनाइन्छ, पुजिन्छ र पूजा सकेपछि बढारिएर सोहरिन्छ, फालिन्छ । यसले सृष्टि, स्थिति र संहारलाई प्रतिनिधित्व गर्छ । अनित्यता र क्षणभंगुरतालाई बुझाउँछ । मण्डलहरू तन्त्रयानसँग बढी सम्बन्धित छन् । तन्त्रमा शरीरको महत्त्व धेरै छ । त्यसैले मानव शरीरलाई पनि मण्डल मानिन्छ । मण्डलको महत्त्व नेवार समुदायमा कति धेरै छ भन्ने कुरा आफ्नो देशलाई नै ‘नेपालमण्डल’ भन्नुबाट पनि प्रष्टिन्छ । अहिले जस्तो जथाभावी नभई, काठमाडौंका मानिसमा देशदेखि, मन्दिर, दरबार सबै निश्चित यन्त्राकारमा बनाउने प्रचलन छ । म्ह–पूजामा परिवारका सदस्यहरू लहरै बसी हरेकका अगाडि मण्डल बनाई त्यसको पूजा गरिन्छ । म्हपूजा मानव सशक्तिकरणको विधि हो । यसमा मानव देहलाई विश्व ब्रह्माण्ड मानिन्छ । फेरि विश्व ब्रह्माण्डको प्रतीक स्वरुप हरेक व्यक्तिको अगाडि मण्डल बनाइन्छ । मानव शरीरलाई विश्व ब्रह्माण्ड मानी पूजा गरिन्छ । फेरि आफ्नो अगाडिको मण्डललाई पनि पूजा गरिन्छ, जुन आफ्नै शरीर र विश्व ब्रह्माण्ड दुवैको प्रतीक हो । म्हपूजामा प्रयुक्त मुख्य सामग्री पनि शरीरकै प्रतीक हुन् । कोखा (काँचो धागोको माला) मानिसको शरीरको लम्बाइ (अग्लाइ) बराबर बनाइन्छ । त्यसको टुप्पोमा प्रयोग गरिने पाँच रङ्गको कपडालाई शैव मतअनुसार पञ्चतत्त्वको प्रतीक मान्छन् भने बौद्ध मतमा पञ्चबुद्धको प्रतीक मान्छन् । हाम्रो शरीर पञ्चतत्त्वबाट बनेको हुनाले म्हपूजामा पञ्चतत्त्वको प्रयोग धेरै किसिमबाट भइरहेको हुन्छ । त्यस्तै म्हपूजामा प्रयुक्त खेलुइताः (लामो बत्ती) ले मानिसको मुहारलाई बुझाउँछ । ‘खेलु’ भनेको अनुहारको बान्की हो र इताः भनेको बत्ती । यो एक जोडी बत्ती दुवै छेउबाट बालेर मण्डपको बीचमा चार दिशामा फर्काएर राखिन्छ । जब यो चारैतिरबाट बल्छ, मण्डप झलमल्ल बन्छ । यसले जीवन झलमल्ल होस् भन्ने बुझाउँछ । साथै जीवनको अनित्यता पनि बुझाउँछ– बल्दै, जल्दै सिद्धिँदै गरेको । म्हपूजाको प्रक्रियामा उच्चकोटीको सौन्दर्य, कलात्मकता र प्रतीकात्मकता भेटिन्छ । म्ह–पूजाको दिन बनाइने मण्डल हरेक नेवारको घरमा फरक–फरक देख्न पाइन्छ । तर सबै मण्डल कुनै न कुनै यन्त्रको आकारमा नै हुन्छ । वास्तवमा अहिलेको समयमा घर घरमा बनाइने मण्डलका प्रकार संकलन गर्नु पनि जरूरी भइसकेको छ । अहिले मण्डलको लागि तयारी कागजको खाका प्रयोग हुने गरेकोले मण्डलका विविध मौलिक प्रकार बिर्सिइँदै गइरहेको छ । अझ, स्थायी किसिमका पटक पटक प्रयोग गर्न मिल्ने मण्डल पनि किन्न पाइने भएको छ । यसले सजिलो त बनाउँछ, तर म्हपूजाको सारलाई समेट्न सक्दैन । म्ह–पूजाको दिन नेपाल सम्वत्को नयाँ वर्ष सुरु हुने दिन पनि हो । नेपाल सम्वत् र म्ह–पूजाको सम्बन्ध के हो यसमा कुनै निक्र्यौलमा पुग्न सकिएको छैन । कसैले म्हपूजा र नेपाल सम्वतबीच अन्तरसम्बन्ध रहेको भन्छन् भने कसैले म्हपूजा पहिल्यैदेखि चलिआएको र यसै दिन दिनलाई विशेष शुभ दिन मानी नेपाल सम्वतको सुरुवात गरेको पनि भनिन्छ । अहिलेको व्यवहारको आधारमा साधारणतया बुझ्न सकिन्छ कि लक्ष्मी पूजाको दिन अर्थात् नेपाल सम्वत्को अन्तिम दिन बेलुका नेवारहरू वर्ष दिनको आर्थिक कारोबार बन्द गरी (अहिलेको भाषामा, आर्थिक वर्षको अन्त्यमा खाता बन्द गरी) वर्ष भरिको आम्दानीको निम्ति लक्ष्मीप्रति कृतज्ञता जनाउँछन् । आउँदो वर्षमा पनि लक्ष्मीको कृपा होस् भन्ने कामनाका साथ लक्ष्मीपूजा मनाउँछन् । त्यसको अर्को दिन हर्षउमंगका साथ नयाँ सुरुवातको लागि म्हपूजाद्वारा आफैंलाई सशक्तिकरण गर्दै नयाँ वर्षमा प्रवेश गर्छन् । शास्त्रमा शरीर पूजा माथि उल्लिखित कुराले पनि शरीर पूजाको आध्यात्मिक महत्त्व प्रष्ट खुल्दैन । आफ्नै शरीरलाई पूजा गर्नू भनेर शास्त्रमा कहाँ लेखिएको छ भन्ने प्रश्न रहन्छ । छ भने कुन धर्मको शास्त्र होला भन्ने प्रश्न उठ्छ । नेवारहरू मूलतः बुद्ध धर्म मान्ने र त्यसभित्र पनि वज्रयान मान्ने भएकोले त्यसैभित्र म्हपूजाको अर्थ खोज्नु आवश्यक छ । यसै क्रममा महासिद्ध भगवती लक्ष्मींकरा (ई. ७२९) प्रतिपादित ग्रन्थ ‘अद्वयसिद्धि’ ग्रन्थ अध्ययन गर्न पुग्छु । लक्ष्मींकरा काष्ठमण्डप स्थापना गर्ने महासिद्ध लीलावज्रकी गुरू हुन् । भगवती लक्ष्मींकराले आफ्नो ग्रन्थ अद्वयसिद्धिमा लेखेकी छिन्– न कष्टकल्पनां कुर्यात् नोपवासी न त क्रियाम् । त्रानं शैचं न चैवात्र ग्रामधर्मविवर्जनम् ।। न चापि वन्दयेछेवान् काष्ठपाषाणमृण्मयान् । पूजामस्यैव कायस्य कुर्यान्नित्यं समाहितः ।। पूजयेद्देवान् तेन देहस्थानतत्वभावनैः ।। अर्थात्, “शरीरलाई पीडा दिनु आवश्यक छैन, न त व्रत बस्नु, धार्मिक रीति मान्नु, गंगा स्नान गर्नु, पवित्र बन्नु वा समाजका कुनै नियम मान्नु नै आवश्यक छ । काठ, ढुंगा वा माटोबाट बनेका भगवान्का मूर्ति ढोग्नु पनि आवश्यक छैन । तर ध्यानपूर्वक आफ्नो शरीरलाई पूजा गर्नू जहाँ सबै भगवान्हरू बसेका छन् ।” भगवती लक्ष्मींकरा उडियानका राजा इन्द्रभूतिकी बहिनी हुन् । उडियानलाई अहिलेको भारतको उडिसा राज्यलाई मानिन्छ । भारत वर्षमा तन्त्रका ठूल्ठूला केन्द्रहरूमा बंगाल, कश्मीर, उडिसा र काठमाडौं पर्छन् र यिनीहरू बीच अन्योन्याश्रित सम्बन्ध थियो । बौद्ध धर्मलाई तिब्बतमा स्थापना गराउने पद्मसम्भव पनि उडियानमै जन्मेका थिए । इन्द्रभूति, लक्ष्मींकरा र लीलावज्र तीनै जना चौरासी महासिद्धमा पर्छन् । लक्ष्मींकराका चेला लीलावज्र भने साँखुमा जन्मेका थिए । उनी लिच्छवी राजा जयदेव द्वितीय (ई. ७१३ – ७३३) को समयका हुन् । उनी आफैले निर्माण गरेको काष्ठमण्डप नजिकै तरुमूल महाविहारमा बस्थे । यो महाविहार पहिला धेरै फैलेको थियो भने अहिले काठमाडौंको कुमारी घर नजिकै छ । लीलावज्र, काष्ठमण्डप र किंवदन्ती पहिले–पहिले पुरातत्वविद्हरू तत्काल उपलब्ध प्रमाणको आधारमा काष्ठमण्डपलाई बाह्रौं शताव्दीमा निर्माण भएको मान्थे । त्यस अनुसार आठौं शताव्दीका लीलावज्रले काष्ठमण्डप निर्माण गरेको कुरा किंवदन्ती मात्र ठहरिन्थ्यो । तर २०७२ सालको महाभूकम्पपछि भने त्यो तथ्य परिवर्तन भएको छ । भूकम्पपश्चात् काष्ठमण्डपको जगमा भेटिएका सामग्रीको नमूना बेलायत पठाई त्यहाँको प्रयोगशालामा सात महिनासम्म परीक्षण गर्ने कार्य भएको थियो । सो वैज्ञानिक अध्ययनबाट काष्ठमण्डपको संरचना सातौं शताब्दीतिर निर्माण भएको प्रमाणित भएको छ । लीलावज्रलगायत ती महासिद्धहरू तिनै समयका थिए । भूकम्पपछिको अध्ययनबाट प्राप्त अन्य तथ्यले पनि काठमाडौंमा प्रचलित किंवदन्तीलाई पुष्टि गरेका छन् । जस्तो कि, काष्ठमण्डप वृक्षदेवताले प्रदान गरेको अजंगको एउटै रूखको काठबाट बनेको भन्ने भनाइ छ । भनिन्छ, काष्ठमण्डप बनाएर पनि काठ नसकिएर नजिकै सिँल्यंसत्तल (सिंहसत्तल) बनाइयो । नेपाल भाषामा ‘सिँल्यं’को अर्थ हुन्छ ‘बचेको काठ’ । किंवदन्ती के छ भने अझै पनि काठ बाँकी रहन गएकोले बाँकी सबै काठ त्यहीं जमीनमुनि गाडिएको थियो । महाभूकम्पपछि गरिएको परीक्षणमा काष्ठमण्डप छेउको जमीनमुनि काठै रहेको प्रमाणित भएको छ । कलान्तरमा लीलावज्र भारतको विक्रमशीला महाविहारका प्रमुख आचार्य बने । तर जीवनको पछिल्लो भागमा भने उनी आफ्नो जन्मथलो फर्के । थप किंवदन्ती के छ भने उनी जीवनको अन्तिम कालमा तरुमूल महाविहारको उत्तरपूर्वी आगममा प्रवेश गरे र कहिल्यै निस्केनन् । त्यसपछि त्यो आगमको ढोका कहिल्यै खोलिएन र पूजा पनि बाहिरबाटै गरिने भयो । यसमा थप अचम्मका कुरा छन् । १९९० सालको भूकम्पपश्चात् तत्कालीन राणा शासकहरूले सो विहारको क्षेत्रमा दरबार बनाउने चाहे । त्यहाँ जग खन्ने काम भयो । तर त्यहाँ एउटा हड्डी र छाला मात्र भएको समाधिमा लीन साधुको शरीर भेटियो । दरबारबाट तुरुन्तै वज्राचार्यहरू बोलाएर देखाउँदा उनीहरूले समाधिरत सिद्ध लीलावज्र हुन सक्ने अनुमान गरे । अनि तत्कालै खनिएको स्थान पुर्न लगाई दरबार बनाउने योजना रद्द गरियो (राणा, २०११)। त्यसबेला तरुमूल महाविहार वसन्तपुरसम्म फैलिएको थियो । यसरी, किंवदन्तीको शहर मानिने काठमाडौंका धेरै किंवदन्तीहरू किंवदन्ती मात्र नभएको प्रमाणित भएका छन् । बज्रयानी रहस्यवादको प्रभाव काष्ठमण्डप जसबाट काठमाडौं शहरले आफ्नो नाम पायो, त्यो स्थापना गर्ने लीलावज्र आफ्ना गुरू भगवती लक्ष्मींकराबाट प्रभावित भएनन् भन्न सकिन्न । हुन त म्हपूजा द्वापर युगदेखि नै चलनचल्तीमा रहेको भन्ने भनाइ पनि नेवारका घर घरमा छ । यो यस्तै भन्न सकिने कुरा भएन । यदि म्हपूजा पुरानै चलन रहेछ भने शिष्य लीलावज्रले नै गुरू लक्ष्मींकरालाई प्रभाव पारेको पनि हुन सक्छ । कतिपय अवस्थामा शिष्यबाट गुरू प्रभावित हुने पनि गरेका छन् ।  शरीर पूजाको आधार खोज्दै जाँदा अन्य वज्रयानी ग्रन्थमा पनि ठाउँ ठाउँमा आफ्नो शरीरलाई वज्रसत्व, वज्रकाय सम्झी पूजा गर्नु उचित भएको कुरा उल्लेख छन् । आठौं शताव्दीकै सहजयानका अर्का प्रवर्तक महासिद्ध सरहपाद आफ्नो दोहाकोशमा आफ्नै शरीरभन्दा ठूलो पीठ वा तीर्थ नदेखेको बताउँछन्ः एहि सो सरस्वती प्रयाग, एहि सो गंगासागर । बाराणसी प्रयाग, एहि सो चन्द्रदिवाकर ।। क्षेत्र पीठ उपपीठ एहि, मै भ्रमेउ समस्थउ । देह सदृश तीर्थ, मै सुनेउ न देखेउ ।।      त्यस्तै, चर्यागीतमा लेखिएको छ, काया गया कृत काया महाबुद्ध काया सर्व तिर्थौ । अष्ट समुद्र विश्वकरुणे काया काय मेरूमण्डल ।। सहजयानको प्रभाव अन्य धर्ममा भारतीय उपमहाद्वीपमा सहजयानी दर्शनको गहिरो प्रभाव परेको थियो । बौद्ध धर्मभित्र मात्र नभई इस्लामको सूफी रहस्यवादी परम्परा र हिन्दू सन्त परम्परामा समेत सहजयानको प्रशस्तै प्रभाव परेको कुरा इतिहास र दर्शन शास्त्रका विद्वानहरू बताउँछन् । नाथ सम्प्रदायमा त सहजयानको प्रत्यक्ष प्रभाव नै प¥यो । भनिन्छ, लक्ष्मींकराले शरीरलाई दिएको महत्त्वबाटै प्रभावित भई मच्छेन्द्रनाथ र गोरखनाथले हठयोग प्रतिपादन गरेका हुन् । तन्त्रका अनुसन्धाता ललनप्रसाद सिंहले सहजयानलाई ‘वज्रयानी बौद्ध तान्त्रिक परम्पराको तर्कसम्मत् रहस्यवादी (गुह्य) विस्तार’ भनेका छन् (२०१०, पृ. ५४) । रहस्यवादीहरूका आफ्नै किसिमका विशेषताहरू छन् । ती विशेषताहरू हिन्दू, इस्लाम, सिख सबैमा समान रूपमा देख्न पाइन्छ । हिन्दूमा कबीर दास, मीरा बाई, रैदास आदि रहस्यवादी सन्तको लामो परम्परा नै त भने इस्लाममा लाल शाहवाज कलन्दरदेखि बुल्ले शाहसम्म थुप्रै सूफी सन्तहरू छन् । सिख धर्ममा गुरू नानक आफैं ठूला रहस्यदर्शी सन्त हुन् । विश्लेषण गर्ने हो भने काठमाडौंको धार्मिक रीतिमा रहस्यवादको छाप स्पष्ट देखिन्छ । हिन्दू, बौद्ध, इस्लामी रहस्यवादका साझा विशेषताहरू हुन्– गहिरो भक्ति; परम्पराप्रति विद्रोही स्वभाव; मानववाद, धार्मिक समन्वय र सहिष्णुता; अलौकिक चमत्कार; गीत, दोहा रचना गर्ने र गुरू–भक्ति । भक्ति र विद्रोही स्वभाव भक्ति र विद्रोह परस्पर विरोधी देखिन्छ । तर यहाँ भक्ति भनेको समर्पणभाव हो । रहस्यवादीहरू आफ्नो साधनामा पागलजस्तै एकोहोरिएर समर्पित हुने हुन्छन् । अनि उनीहरू धर्मको नाममा गरिने खोक्रो कर्मकाण्डप्रति विद्रोही स्वभावका हुन्छन् । सामाजिक बेथिति विरुद्ध पनि विद्रोह गर्दछन् । बुद्धले ब्राम्हण वा शूद्र जन्मले हुने होइन, कर्मले हुने हो भनेका छन् । तर विद्रोही सन्त कबीर त्यसभन्दा पनि पर गएर प्रखर व्यंग्य गर्छन्— ब्राहमन से गदहा भला, आन देब से कुत्ता मुलना से मुर्गा भला, सहर जगाबे सुत्ता यसको अर्थ हुन्छ, ब्राह्मणभन्दा गधा जाति (परिश्रम गरेर खान्छ) । पत्थरको देउताभन्दा कुकुर जाति (घरको रक्षा गर्छ) । मौलानाभन्दा भाले जाति, सबेरै सहरलाई जगाउँछ । रहस्यवादीका समर्पण र विद्रोह दुवै यति तीव्र हुन्छ कि पागलपनको हदसम्मै जान्छ । भगवती लक्ष्मींकराले त आफैंलाई ‘पगली राजकुमारी’ उपनाम नै दिएकी छन् । चित्रमा उनी नग्न देखिन्छिन् । हिन्दू परम्पराका मीरा बाईलाई पनि तत्कालीन समाजले बौलाही नै सम्झेको थियो । एउटी राजकुमारी बाटोमा भजन गाउँदै नाच्दै हिँड्नु समर्पण र विद्रोह दुवैको पराकाष्ठा हो । मीराका गुरू रैदास चमार थिए । रैदास जुत्ता सिलाउनमा यति तल्लीन रहन्थे कि मन्दिर वा गंगा जाने नै फुर्सद हुँदैनथ्यो । उनी जुत्ता सिलाउँदै भगवान्को भजन गाइरहन्थे । भनिन्छ, भगवान् पनि उनको छेउमै जुत्ता सिलाउँदै बसिरहन्थे । भक्तको अगाडि भगवान् यतिसम्म विवश हुन्छन् । वास्तवमा म्ह–पूजा गर्नु आफैंमा एउटा ठूलो धार्मिक विद्रोह हो । देउताहरुलाई मात्र पुजिने ठाउँमा आफैलाई भगवान् मानेर आफ्नो शरीरलाई पूजा गर्नु कम्तीको विद्रोह होइन । यो मानववादी दर्शनबाट निर्देशित रीति मानिसलाई आफैंभित्रको दिव्यतामा विश्वास जगाउने सशक्तीकरणको अभ्यास हो । साथै समर्पणभावले त्यो दिव्यतालाई अहंकाररहित बनाउँछ । सहिष्णुता र सम्प्रदायरहितता धार्मिक सहिष्णुता र समन्वय रहस्यवादीहरूको प्रमुख विशेषता रहेको छ । काठमाडौं धार्मिक समन्वयको लागि विश्वमै अनुपम नमूना हो । झोक्छेनका अँग्रेज गुरू कीथ दोम्यानका अनुसार नेपालको तान्त्रिक परिवेश काठमाडौंका रैथाने नेवारहरूको धार्मिक पन्थ वा सम्प्रदायरहित सिद्धहरूको प्रभावमा सिर्जना भएको हुन सक्ने कुरा आफ्नो पुस्तक मास्टर्स अफ महामुद्रामा बताउँछन् । काठमाडौंका धेरैजसो देवीदेवताहरू हिन्दू–बौद्ध दुवैले समान रूपमा मान्ने गरेको पनि उनले उल्लेख गरेका छन् । सहजयान पनि बौद्धको सँगसँगै नाथसम्प्रदायमा पनि उत्तिकै व्याप्त छ । नाथ सिद्धहरू पनि आफैं रहस्यवादी भएकोले हिन्दू वा बौद्ध भन्ने नै नछुट्टिने गरी दुवै धर्ममा उत्तिकै व्याप्त छ  । ‘अलख निरञ्जन’ गाउने गुरू गोरखनाथ त तत्कालीन समयका इस्लाम धर्मीले उत्तिकै श्रद्धाको साथ मान्थे । गुरू गोरखनाथको मन्दिर त काष्ठमण्डपभित्रै छ । मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंको पुरानो परम्परा हो । भारतमा कबीर दास, गुरू नानक हिन्दू र मुसलमान बीचको चरम द्वन्द्वको बेला समन्वय र सहिष्णुता प्रवद्र्धनमा लागेका थिए । इस्लाममा रहस्यवादी सूफी परम्पराले शुरुवातकै दिनबाट धार्मिक सहिष्णुता फैलाउने काम गरेको थियो । बाह्रौं शताब्दीका सूफी सन्त लाल शाहबाज कलन्दर सिन्ध प्रान्त (पाकिस्तान) का हिन्दूहरूका पनि उत्तिकै पूज्य हुन् । उनले धार्मिक सहिष्णुता फैलाउनको लागि गरिएका कार्यबाट प्रभावित भई सिन्धका हिन्दूहरूले उनलाई आफ्ना इष्ट देवता ‘झूलेलाल’को अवतारको रूपमा मान्छन् । उनको नाममा लेखिएका प्रख्यात भजनहरू ‘झूलेझूले लाल दम मस्त कलन्दर’, ‘दमादम मस्त कलन्दर’ वा ‘दम मस्त कलन्दर मस्त मस्त’ हिन्दू, मुस्लिम, सिख सबैले उत्तिकै भक्तिभावले गाउँछन् । रहस्यवादीहरुले धार्मिक कर्मले मानवलाई अहित हुने वा द्वन्द्व सिर्जना हुने अवस्था आउँदा धर्मभन्दा मानवताको पक्ष लिने गरेका छन् । मानव हितको लागि धार्मिक परम्पराभन्दा माथि उठ्न सक्नु उनीहरूको विशेषता नै हो । सन्त कबीर त हिन्दू वा मुस्लिम नै नछुट्टिने गरी बाँचे । त्यसै गरी सिख धर्मका गुरू नानक देवलाई तिब्बती बौद्धहरूले पद्मसम्भवको पुनर्जन्मको रूपमा मान्दछन् । उनीहरू उनलाई नानक लामा, गुरू गोम्पा महाराज भन्दछन् । गुरू नानक हिन्दू, मुस्लिम, बौद्ध सबैलाई मान्थे । उनी आफ्नो जीवनकालमा लद्दाख र तिब्बतका विभिन्न भागमा बौद्धहरू माझ धर्मदेशना गर्दै हिँडेका थिए । केही समय काठमाडौं पनि बसेका थिए । यी तथ्यहरुबाट प्रष्ट हुन्छ कि वास्तवमा धार्मिक युद्ध धर्मको कारण भएका होइनन् र छैनन् । जति पनि धार्मिक युद्ध भएका छन्, तिनको मूल कारण धार्मिक नभई आर्थिक र राजनीतिक शक्तिको प्राप्ति रहेको छ । आफ्नो निहित राजनीतिक स्वार्थपूर्तिको लागि शासकहरूले धर्मलाई प्रयोग गरेका थिए । गीत, दोहाका गायक विभिन्न धर्मका रहस्यवादीबीच अर्को समान विशेषता हो गीत, दोहा रचना गर्ने । सरहपादलाई त हिन्दी भाषाको पहिलो कविको रूपमा पनि लिइन्छ । उनले दोहाकोश, चर्यागीत आदि रचना गरेका छन् । तिब्बतमा उनका २१ कृति संकलित छन् । लीलावज्रले ‘सहजशून्य समाज साधना’ र ‘श्री सहज सिद्धि’ कृतिका साथै चर्यागीतहरू पनि रचना गरेका छन् । काठमाडौंको वज्रयानी समाजमा चर्यागीत गाउने र चर्यानृत्य गर्ने परम्परा नै छ । चर्यागीतका ताडपत्रहरू काठमाडौंमै भेटिएका थिए । उन्नाइसौं शताब्दीका बंगाली विद्वान हरप्रसाद शास्त्रीले काठमाडौंका अभिलेखालयबाट चर्यागीतका प्रतिहरूका ताडपत्रहरू फेला पारेका थिए । चर्या गीत भनेको समाधिको अवस्थामा स्वतः स्फूरित हुने गीत हो, जसमा रहस्यमयी सन्ध्या भाषामा गहिरा अध्यात्मिक अनुभव र दर्शन वर्णन गरिएका हुन्छन् । इस्लाममा सन्त–कविको परम्परा रूमीदेखि बुल्ले शाहसम्म निरन्तर चल्यो । बुल्ले शाहको ‘बुल्ला की जाना मैं कौन’ अझै त्यतिकै लोकप्रिय छ, जसमा आफू कुनै धर्म, जातिमा नबाँधिएको बताएका छन् । त्यस्तै हिन्दीमा कबीर, रैदास, मीरा आदि सन्त–कविहरूले निरन्तर भक्ति र विद्रोहका गीत गाए । कबीरका कतिपय कविता जापानको जेन बौद्ध दर्शनका ‘कोआन’सँग मिल्दाजुल्दा छन् । बौद्ध गुरूहरूमा आध्यात्मिक सन्देशको लागि दोहा रच्ने चलन त विपश्यनाका गुरू सत्यनारायण गोयन्कासम्मै निरन्तर छ । उनका दोहा पनि सम्प्रदाय र कर्मकाण्डविरुद्ध शुद्ध अध्यात्मको पक्षमा छन् । उनले लेखे - धरम न हिंदू बौद्ध है, सिक्ख न मुसलिम जैन । धरम चित्त की शुद्धता, धरम शांति सुख चैन ।। रहस्यवादीहरूको अर्को एउटा साझा विशेषता भनेको अलौकिक शक्तिसम्पन्न हुनु हो । काठमाडौंका महासिद्ध लीलावज्र, सूरतवज्र, शाश्वतवज्र, मञ्जूवज्रले गरेका अलौकिक चमत्कारका कथा काठमाडौंका मूलवासीहरू सुन्दै सुनाउँदै थाक्दैनन् । यस्तै अनेकन चमत्कार कबीर, मीरा, रैदास, नानक सबैको जीवनमा भएका छन् । म्हपूजाको विगत, वर्तमान र भविष्य म्हपूजाको प्रारम्भबारे धेरै कथनहरु छन् । एउटा कथनअनुसार दशौं शताव्दीमा विशालनगरमा भएको भयानक आगलागीमा धेरै नागरिकको ज्यान गएको थियो । नेपालको प्रशासनिक केन्द्र दशौं शताव्दीसम्म विशालनगर थियो भन्ने कुरा त इतिहास प्रमाणित छ । भनिन्छ, सो दुर्घटनाबाट ज्यान जोगिएका आम नागरिकले आफूलाई भाग्यमानी ठानेर म्हपूजा सुरु गरेका थिए । नेवारहरुमा कुनै ठूलो दुर्घटना तर्दा सगुन दिने चलनै छ । बुझाउन सकेमा, विश्वलाई नै त्रसित बनाएको कोभिड–१९ को प्रकोप अन्त्य भएको सन्दर्भमा विश्वको लागि नै यो वर्ष म्हपूजा विशेष सान्दर्भिक हुन जान्छ । हुन त नेवार जातिमा म्हपूजा हजारौं वर्षअघि देखिको परम्परा हो भनिन्छ । म्हपूजा विशालनगरको आगलागीभन्दा पहिल्यैदेखि मनाउँदै आएको परम्परा हुन सक्छ । आगलागीपछि म्हपूजा अझ विशेष महत्त्वका साथ मनाए कि ? यसै हिसाबले नेवारमा सीमित म्हपूजालाई महामारीको त्रासबाट मुक्त भएको खुशियालीमा यस वर्षबाट सबै नेपालीले मनाउने र विश्व समुदायलाई पनि परिचित गराउने हो कि ? माथिको लामो छलफलबाट म्हपूजा कुनै निश्चित धर्म सम्प्रदायको नभई मानववादमा आधारित रहस्यवादसित सम्बन्धित भएको देखिन्छ । रहस्यवाद हरेक धर्मभित्र छ । त्यसैले पनि होला नेपालभित्र र बाहिर नेवार संगठनहरुले आयोजना गर्ने म्हपूजामा गैरनेवार र गैरनेपाली पनि निःसंकोच रुचिपूर्वक सहभागी भएका छन् । तिनमा इसाई र इस्लामधर्मी पनि छन्, वा धर्मै नमान्ने भौतिकवादी पनि छन् । केही वर्षअघि जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री (लालबाबु राउत) र बीरगञ्जमा पगरी लगाएका (अमृतधारी) सिख व्यक्ति मज्जाले म्हपूजामा सहभागी भएका तस्बीरले राम्रै चर्चा पाएका थिए । यसबाहेक पाश्चात्य जगत्मा नेपाली समुदायले मनाउने सामूहिक म्हपूजामा गैरनेवार र विदेशीको उपस्थिति पनि उल्लेख्य छ । यस हिसाबले म्हपूजाको नेवार समुदायबाहिर विस्तार भइ नै सकेको छ । यसैलाई राज्यस्तर र जनस्तरबाट अझ तीव्रता दिँदै जान सकिन्छ । तर सावधानी अपनाउनु पर्ने पक्ष पनि उत्तिकै छ । प्रसारसँगै ‘म्हपूजा’को मौलिकता फितलो नहोस् र यसको नाममा अपभ्रंश गर्ने कार्य नहुन दिन विशेष सावधानी अपनाउनु पर्छ । अहिले नै पनि कति मिडियाले यसलाई आत्मपूजा, देहपूजा, ब्रह्मपूजा भन्ने गरेका छन् । व्यक्तिवाचक संज्ञाको अनुवाद गर्नु अनर्थक कार्य हो । म्हपूजा मात्र होइन, यससँग सम्बद्ध कोखा, खेलुइताः आदि शव्द पनि शुद्धसित ग्रहण गराउनु पर्छ । अनुवादले मौलिक अर्थ र भाव वहन गर्न पनि सक्दैन । प्रसारको नाममा विस्तार त हुने तर सँगसँगै विकृत हुँदै गयो भने अनादर र अर्थको अनर्थ हुन जान्छ । सन्दर्भ ग्रन्थः ​ Dowman, Keith (1995). Masters of Mahamudra. Albany: State Univeristy of New York Press. Rana Rinpoche, Acharya Mahayogi Sridhar. (2011). The Four Pillars of the Vajrayana of the Kathmandu Valley, Crazy Cloud Vol. 1, pp 55-64. Singh, Khuswant & Chopra Ashok (2011). Agnostic Khuswant: There Is No God. Haryana: Hay House India Singh, Lalan Prasad (2010). Buddhist Tantra: A Philosophical Reflection and Religious Investigation. New Delhi: Concept Publishing Company.वज्राचार्य, यज्ञमान पति (२०६७). नेपालका प्राचीन वज्राचार्य लीलावज्र. काठमाडौंः विरिञ्चि मोती स्मृति गुह्यतारा कोष । लेखक मानन्धरले पाँच वर्ष थेरवादी श्रामणेर भई थाइल्याण्डमा बुद्ध धर्मको अध्ययन गरेका थिए । नेपालीमा उनको दर्शनसम्बन्धी पुस्तक ‘क्षितिजको स्पर्श’ प्रकाशित छ ।

सङ्कटमा मादल व्यवसाय

सङ्कटमा मादल व्यवसाय

१३८१ दिन अगाडि

|

३१ असोज २०७९

बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका​ थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । उनी भन्छन्, “मलाई पाँचा/सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।” पहिले बाह्रौँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उनको भनाइ छ । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउछन् । “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उनले भने, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।” दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उनले भने । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए। पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए । “चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भने, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।” नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउछन् । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ । “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उनले भने, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”  गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए । उनले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताए । उनी भन्छन्, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइ नभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।” रासस

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

१४०० दिन अगाडि

|

१२ असोज २०७९

भैरहवाः फरक लैङ्गिक पहिचान भएका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि संघर्ष गर्दै आइरहेको नील हिरा समाजले स्थानीय स्तरका विभिन्न राजनीतिक दलहरुबीच एकदिने कार्यशाला गोष्ठी  मंगलबार भैरहवामा  सम्पन्न गरेको छ ।              कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै  सुमन नेपालले तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहेको कारण तेस्रोलिङ्गीहरु राज्यको हरेक निकायबाट अपहेलित र अवसरबाट बञ्चित हुनुपरेको बताए ।  त्यस्तै समाजका मनिला न्यौपानेले  नेपालको संविधानको विभिन्न धारामा नागरिकता सम्बन्धि हक, समानताको हक, सामाजिक न्याय लगायतका हक अधिकार समावेश गरिएतापनि फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु ती हक अधिकारबाट बञ्चित एवं अपहेलित हुनुपरेको गुनासो गरिन्।                 कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय तुलाराम घर्ती तथा दिपा विकले नेपाली समाजमा तेस्रोलिङ्गी र दलितलाई गर्ने व्यवहार फरक नरहेको दाबी गरे । तिनले हिन्दू धर्मले नै समाजमा जातीय एवं लैङ्गिक भेदभाव बीजारोपण गरेको ठोकुवा गरे । राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले नश्लीय मनोविज्ञान बोकेको नेपाली समाजले कुकुर र गाईलाई सम्मान दिएको तर मानिसलाई भेदभाव गरी समाजबाट टाढा राखेको आरोप लगाए ।                  

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

१४०२ दिन अगाडि

|

१० असोज २०७९

नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन शनिबार   बुटवलमा सम्पन्न भएको छ ।  कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरु राना मगरले मगर महिला संघले संघको बिधान अनुसार पूर्ण संरचना अनुरुप सातै वटा प्रदेशमा र प्रदेश भित्रका ५३ वटा जिल्लाहरु साथै देशबिदेशमा समेत संगठन विस्तार गरिरहेको जनाइन् ।  मगर महिलाहरुको हक अधिकार स्थापित गर्दै राज्यको हरेक निकायमा मगर महिलालाई जनसंख्याको आधारमा अर्थपूर्ण समानुपातिक प्रतिनिधित्व गराउनका लागि नेपाल मगर महिला संघको स्थापना भएको जानकारी गराउँदै अध्यक्ष रानाले मगर समुदायको भाषा, संस्कार, संस्कृति र परम्परागत मूल्यमान्यतालाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै जानुपर्ने जिकीर गरिन् ।         आदिवासी जनजाति युवा संघका केन्द्रीय सचिव राधिका श्रीसले क्या लखन थापा मगरलाई २०७२ को संविधानले प्रथम शहिद घोषणा गरिसक्दा पनि कुनै एक राजनीतिक दलका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत भइसकेका व्यक्तिले सार्वजनिक रुपमै लखन थापा प्रथम शहिद होइनन् भनिरहँदा समेत मगरहरुले सोही व्यक्ति विशेषको जयजयकार गर्नु मुर्खता रहेको टिप्पणी गरिन् ।  कार्यक्रममा प्रदेश समितिले सम्पन्न आसन्न स्थानीय निर्वाचनबाट राज्यको विभिन्न तहमा निर्वाचित भएका प्रदेशभित्रका मगर महिला नेतृहरुलाई सल ओढाएर कदर(पत्र  प्रदान गरी सम्मान गरिएको थियो । स्मरण रहोस्, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन अधिवेशनमा अध्यक्ष पदको लागि केशरी तरामु मगर र स्मृति रोका मगरको उम्मेदवारी रहेको थियो । चुनावी प्रक्रियाबाट जाँदा जम्मा खसेको ३३ मतमध्ये स्मृति रोका मगरलाई १५ र केशरी तरामु मगरलाई १८ मत खसेको थियो । तरामु जम्मा ३ मतको अन्तरले विजयी भइन् ।        

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

१४०४ दिन अगाडि

|

८ असोज २०७९

                                                                               हालै काठमाडौंमा मुक्त कमलरीहरुबाट गरिएको पत्रकार सम्मेलन म  तिम्रै यादको कमारो हुँ सायद र  तिमी  मेरो सम्झनाकी कमलरी  -कल्प–ग्रन्थ, (३०६) फेसबुकमा पोस्ट गरिएको यो कविता पढेर बेचैन भएँ । कमलरी शब्दलाई यसरी फेन्टासाइज गरी कवितामा प्रयोग गरेको देखेर मलाई विश्वास भइरहेको थिएन कि यसका लेखक मैले मनमनै उच्च सम्मान गर्ने व्यक्तिमध्येका एक हुन् । कमलरी शब्द थारू भाषाको कम्लहरियाबाट आएको हो । पहाडी समुदायका मानिसहरूले कम्लहरिया भन्न नजानेर हो या उच्चारण गर्न गाह्रो मानेर हो, कम्लहरियालाई कमलरी बनाइदिए । २०७० सालको कमलरी मुक्ति आन्दोलनपश्चात् कमलरी शब्द अझै आम बन्न गएको हो ।  कम्लहरिया भनेको जमिनदारको घरमा काम गर्न राखेको थारू समुदायको अति विपन्न परिवारकी केटी मान्छे हो । खान–लाउन अभाव हुने परिवारले आफ्ना साना छोरीहरूलाई जमिनदारको घरमा काम गर्नका लागि कमलरी बस्न पठाउँथे । कतिपयले त ६–७ वर्षका छोरीहरूलाई पनि काममा लगाउनुपर्ने बाध्यता हुन्थ्यो । जमिनदारले कमलरीलाई उनको घर जाने अनुमति नदिएसम्म घर जान पाउँदिनथिन् । धेरैजसो कमलरीहरू आफ्नो आमाबुबाभन्दा टाढा राखिन्थे । कैंयौं त गाउँबाट सहर पुर्‍याइन्थे ।  मलाई सम्झना छ, हाम्रो गोटियार घरको नातामा मेरी फुपू पर्नेलाई हाम्रै गाउँको एक पढेलेखेका जागिरे व्यक्तिले कमलरी लगाइदिने भनी सहर लगे । ती जागिरे व्यक्तिले गाउँका थुप्रै केटीलाई थुप्रै हाकिमहरूकहाँ कमलरी राखिदिने गरेका थिए । मेरी कमलरी फुपू धेरै वर्षसम्म घर आउन पाइनन् । गाउँ छाडेर जाँदा उनलाई नेपाली बोल्न आउँदैनथ्यो । गाउँ फर्किंदा उनले थारू बिर्सिसकेकी थिइन् । कमलरी बस्नेहरू प्रायः साना बच्चीहरू हुन्थे । ती बच्चीहरूका सबै आधारभूत अधिकार अस्वीकृत थिए । तिनले मालिक–मालिक्नीले अह्राएको सबै काम गर्नुपथ्र्यो । कलिला नानीहरूको ज्यानले धान्नै नसक्ने श्रममा लगाइन्थ्यो । काममा जोताएर पनि पेटभरि खान पाउँदैनथे । राम्रो लगाउन दिइँदैनथ्यो । घरको सबैभन्दा गन्दा भागको भुइँमा सुताइन्थ्यो । अह्राएको काम पूरा नगरे निर्दयी पारामा पिटिन्थ्यो । कमलरीहरूलाई मालिकहरूले आफ्नो सम्पत्ति ठान्दथे ।  एकपटक कमलरी भइसकेपछि अधिकांश कमलरीहरू मालिकको ट्र्यापबाट उम्किन असम्भवजस्तै थियो । बाध्यताले छोरीलाई कमलरी बनाएबापत तिनका आमाबुबाले थोरै अन्न पाउँथे । पछि पैसाको कारोबार बढ्न थालेपछि केही पैसा पाउन थाले । कमलरीहरूले गर्ने श्रमको तुलनामा तिनको आमाबुबालाई दिइने पारिश्रमिक अत्यन्तै न्यून हुने गथ्र्यो । कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधीमुलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई एवंरीतले पुस्तौँसम्म ।  यसरी कमलरी राख्नु एउटा प्रथाकै रूपमा अगाडि बढ्यो । तर हेक्का रहोस्, छोरीलाई कमलरी बनाउनु छोरीलाई बेच्नु कदापि होइन । पेट पाल्नका लागि विवश आमाबुबाले आफ्ना छोरीलाई जमिनदारको घरायसी काम गर्न लगाएको मात्रै हो । तर, बसिखानेहरूले मरिमरी काम गर्दासमेत खान नपुग्नेहरूका छोरीहरूलाई कमलरी राख्नु र ती कमलरीमाथि जस्तोसुकै अपराध गर्नुलाई आफ्नो अधिकारजस्तो सोच्न थाले । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीहरू निरीह थिए । बोल्न सक्दैनथे । सम्भवतः कमलरीहरूलाई थाहा हुँदो हो कि न्यायका लागि जाने कुनै ठाउँ छैन । कमलरीहरूलाई थाहा थियो कि बर्बरता बर्साउनेहरू आफैँ न्यायकर्ताको कुर्सीमा रहन्छन् । या त थाहा थियो कि कमलरीहरूका अपराधीहरू न्याय दिनेहरूका नातेदार हुन् ।  २०७३ सालतिर हो, म बर्दियाको खैरीचन्दनपुर गाउँ गएको । त्यहाँ जानुको विशेष कारण थियो, माओवादी आन्दोलनमा सहिद भएकी जुग्गन चौधरी जुनाबारे अध्ययन गर्न । २०५७ जेठ ७ गते खैरीचन्दनपुरका जमिनदार युवराज उपाध्यायलाई जनकारबाही गर्न जाँदा जमिनदारकै गोली लागेर जुनाले सहादत प्राप्त गरिन् । जमिनदारका बारेमा मैले गाउँका थुप्रै मानिसहरूसँग कुरा गरेँ । तिनको कुरा सुनेर जमिनदारको क्रूरता हरर मुभीका डरलाग्दा पात्रभन्दा बढी डरलाग्दो भएको अनुमान जोकोहीले लगाउन सक्थ्यो ।  कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधिमूलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाँचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई, एवम् रीतले पुस्तौँसम्म ।  गाउँमा सबैभन्दा ठूलो घर अर्थात् ठूलो महल हुनु जमिनदारका लागि पहिलो सर्तजस्तै हो । हिलोमा कहिल्यै धान नरोपे पनि सयौँ बिघाका मालिक हुन्थे जमिनदार । युवराज उपाध्यायमा पनि त्यही सर्त लागू हुन्थ्यो । युवराजले सयौँ कमैया कमलरी राखेका थिए । खेतमा काम गर्ने छुट्टै, गाईभैंसी चराउने छुट्टै, गोठको गोबर उठाउने छुट्टै, भाँडा माझ्ने छुट्टै गरी सबै कामका लागि छुट्टाछुट्टै कामदार हुन्थे । मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ (मालिक धेरै बदमास थियो । त्यसैले मर्ने वेला किरा मरेर मर्‍यो ।) युवराजले आफ्नो घरनजिक एउटा गोलघर बनाएको थियो । त्यो गोलघर कमैयाहरूलाई पिट्नका लागि थियो । कमैयाहरूले केही गल्ती नगरे पनि जमिनदारको हात चिलायो भने पनि उसले पिट्ने गथ्र्यो । मनोरञ्जन लिनका लागि पनि उसले जोकोही कमैयालाई जुनसुकै समयमा पिट्न सक्थ्यो ।  मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ गाउँको कुनै पनि महिलासँग ऊ सुत्न (बलात्कार गर्न) सक्थ्यो । कसैले उसको प्रतिरोध गर्दैनथ्यो । किनभने सबैलाई थाहा थियो कि कसैले उसको प्रतिरोध गरे उसले कुटाइ खानुपथ्र्यो, कि त मर्न पथ्र्यो । बिहेको पहिलो रात आफ्नी श्रीमती जमिनदारकोमा पठाउनुपथ्र्यो । त्यसो नगरे बेहुलामाथि निर्घात कुटपिट हुन्थ्यो र बेहुली बलात्कृत हुनुपथ्र्यो । युवराजको बलात्कारबाट कोही कमलरी गर्भवती भएउसले गर्भवती कमलरीको विवाह आफ्नो कमैयासँग गराइदिन्थ्यो ।  युवराजजस्ता अत्याचारी जमिनदारहरू थारू गाउँगाउँमा थिए । कैलालीको उज्लीसेम्रा गाउँको जमिनदार देशराज, लालपुर गाउँको जमिनदार गुरुंग युवराजभन्दा कुनै मानेमा कम थिएनन् ।  मेरी हजुरआमा भन्नुहुन्छ, उहाँ नौ–१० वर्षको उमेरमा लालपुरको गुरुंग मालिककोमा धान रोप्न जानुहुन्थ्यो । धान रोपेबापत मालिकले केही पैसा दिन्थ्यो । कसैको पनि पारिश्रमिक निर्धारण गरिएको थिएन । उसले केटी मान्छेको छाती कति ठूलो छ भन्ने हेरेर पारिश्रमिक दिने गथ्र्यो । मेरी हजुरआमाले थोरै पैसा पाउनुहुन्थ्यो । उहाँभन्दा अलि बढी उमेरका केटीहरूलाई मालिकले धेरै पैसा दिन्थ्यो ।  कति कमलरीलाई मालिकहरूले बलात्कार गरे, त्यसपश्चात् हत्या । यसको तथ्यांक पाउन असम्भव छ । किनभने हत्यालाई आत्महत्या गरेको भनी देखाउन कमलरीको लासलाई झुन्ड्याइन्छ । त्यसको वास्तविक छानबिनसमेत हुँदैन । यसको सबुत सरकारले दिँदैन । किनभने सरकारी अधिकारीले त आत्महत्या भनी लेखिसक्यो । यसबारे अध्ययन गर्न चाहनेहरूले पूर्वकमलरी र तिनका परिवारलाई भेटे काफी हुन्छ ।  बासगढी नगरपालिका–२ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी बर्दियाकै दुर्गा भण्डारीको घरमा २०७५ जेठ २९ गते झुन्डिएको अवस्थामा भेटिइन् । मुक्त कमलरीहरूले बलात्कारपश्चात् हत्या गरी झुन्ड्याएको आरोप लगाए । उक्त केसको चित्तबुझ्दो छानबिन नै भएन । कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कमलरी राख्नु दासत्व हो । दासत्वमा यौन आघात समावेश हुन्छ । र, त्यो संस्थागत हुन्छ । अर्थात् यौन दुराचार, बलात्कारजस्ता जघन्य अपराध कानुनी रूपमै संरक्षित हुन्छन् । खासगरी हाम्रो जस्तो देशमा, जहाँ पावर, पद, पैसा हुनेहरूलाई कानुनले छुँदैन ।  छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेपछि कैयौँ परिवारले आफ्ना छोरीहरूलाई पढाइदिन र बदलामा छोरीले घरको काम सघाइदिने भन्ने सर्तमा मालिककहाँ कमलरी राख्न थाले । म नौ–दश वर्षको हुँदो हुँ सायद, यस्तै सर्तमा मेरी आमाले मलाई उनको चिनजानको एक व्यक्तिको घरमा राख्नुभयो । स्कुल टाइमबाहेकको अन्य सबै समय साँझ र बिहान मैले उनको घरको सबै काम गर्नुपथ्र्यो । उनको घर सफा गर्ने, कपडा धुने, भाँडा धुने सबै सबै । मलाई होमवर्क गर्ने समय पनि मिल्दैनथ्यो । स्कुल पुग्न पनि मलाई सधैँजसो ढिलो हुन थालेको थियो । म कमलरी थिइनँ । मलाई त केवल आफ्नो पढाइ अगाडि बढाउन सजिलो होस् भनेर मेरी आमाले चिनजानको परिवारकोमा राख्नुभएको थियो ।  मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! १९५४ मा नेपालमा मलेरिया उन्मूलन कार्यक्रमको सुरुवात भएपछि सरकारी योजनामै पश्चिम तराईमा सरकारले पुनर्वासको योजना ल्यायो । त्यसपछि पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र भयो । सामन्ती प्रवृत्तिका पहाडियाहरूले थारूहरूको जग्गा कब्जा गरे । ती थारूहरूलाई तिनकै खेतमा कमैया बनाएर जोताए । तिनकै छोरीहरूलाई कमलरी बस्न बाध्य बनाए ।  जमिनदारहरूले जे चाह्यो त्यही गर्न पाउँथे । थारूहरूमाथि जस्तोसुकै अत्याचार गर्न पनि उनीहरूलाई छुट थियो । देशमा कुनै कानुन थिएन । जमिनदारको बोली नै सबैभन्दा बलियो कानुन थियो । जमिनदार थारू गाउँका राजा थिए । जमिनदार अर्थात् राजा अर्थात् कानुन, पर्यायवाची थिए । कानुनको कार्यान्वयन गराउने प्रहरी चौकी, अड्डा अदालत, प्रशासन सबै जमिनदारको पहुँचमा थिए ।  २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । कमैया मुक्तिको संघर्षको लामो समयपश्चात् सरकारले २०५७ साउन २ गते कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो । तर, तिनको उचित व्यवस्थापनलाई बेवास्ता ग¥यो । सरकारी बेवास्ताका कारण कमैयाका छोरीहरू फेरि पनि कमलरी नै रहे ।  सधैँ थिचोमिचो र बर्बरता भोगेका कमलरीहरू आखिर मालिकको महलबाट निस्किए र सुरु गरे काठमाडौंको सडकमा नारा लगाउन । २०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । कन्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङबाट १२ हजार कमलरीको उद्धार गरियो । उद्धार गरिएका कमलरीहरूका शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिने भन्यो तर लिएन । कैयौँ थारू छोरीहरू फेरि कमलरी बस्न बाध्य पारिए ।  कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कुमार नगरकोटीले यस्तो आपत्तिजनक रूपमा गरिएको कमलरी शब्दको प्रयोगले मलाई चकित मात्र पारेन, अनैकौँ प्रश्नहरू पनि खडा गर्‍यो । यति लापरबाहीपूर्वक कमलरी शब्दको प्रयोग कसैले कसरी गर्न सक्छ ? चाहे ऊ नाम चलेको कवि नै किन नहोस् । कमलरी शब्दको गलत प्रयोग गर्ने छुट कसैलाई छैन । कमलरीलाई भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन ।  कमलरीहरूको यथार्थ अनुभवहरू साहित्यमा समेटिएकै छैनन् । तर, जहाँ समेटियो, त्यहाँ एक थारू महिलाको कमलरी जीवनको अनुभव र एक पहाडिया पुरुष लेखकका शब्द तनावले भरिपूर्ण छ । पुरुष लेखकको कोरा कल्पनामा कमलरीका कथालाई बेच्ने प्राथमिकता सस्तो रूपमा झल्किन्छ । थारू छोरीमाथिको अत्याचारलाई चुनौती दिन दासत्वलाई प्रयोग नगरी त्यसको संरक्षणका लागि प्रयोग गरिएजस्तो । हो, शारीरिक रूपमा कसैलाई कमलरी बनाउनु अवैधानिक छ । यद्यपि कुनै न कुनै रूपमा, कवितामै सही, भावनामै सही, कल्पनामै सही, पुरुष कवि महिलालाई कमलरी बनाउन लागिपरेको छ । हो, कसैको कल्पनालाई वर्जित गर्न सकिँदैन । कुनै पनि कविले कमलरी शब्दको आनन्द बडो रोमाञ्चक तबरले गर्न सक्ला । तर, यो पनि नभुलौँ कि उहिले जमिनका मालिकबाट मुक्ति पाउन प्रतिरोध गरिएको थियो । अब कलमका मालिकबाट मुक्ति पाउन प्रतिरोध गर्नबाट कसैले रोक्न सक्नेछैन ।  कमलरीहरूको पीडा र अतुलनीय अनुभव जिउँदै छन् । कमलरीको कथा कसरी व्यक्त गर्ने, कमलरी जीवनको चित्रण कसरी गर्ने, लिखित शब्दले कस्तो किसिमको भावनात्मक आक्रमण गर्छ ? विद्वान्हरूले यी प्रश्नहरूको अन्वेषण गर्न समय लिनैपर्छ । कवि र साहित्यकारले साहित्य लेख्ने नाममा विषयलाई रोमान्टिसाइज नगरौँ । कोही छोरी मान्छे कसैको सम्झनामा पनि कमलरी बन्न नपरोस् । झन् नयाँबाट