प्राविधिक सरकार, आचरणविहीन राजनीति

प्राविधिक सरकार, आचरणविहीन राजनीति

१०५५ दिन अगाडि

|

२२ मंसिर २०८०

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

१०६३ दिन अगाडि

|

१४ मंसिर २०८०

गणेशप्रसाद गुरागाईं संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन । बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।  ‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।  उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’ अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।  उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् । त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।  ‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।  सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।  क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ । यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्‍याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन । मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।  तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् । उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् । मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।  के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ । मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार – ‘जानामि धर्मं न च मे प्रवृत्ति– र्जानामि पापं न च मे निवृत्तिः । केनापि देवेन हृदिस्थितेन यथा नियुक्तोक्स्मि तथा करोमि ।। यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।  अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’ अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’ यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन । तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट

छठपर्वको इतिहास

छठपर्वको इतिहास

१०७६ दिन अगाडि

|

२ मंसिर २०८०

सूर्यकुमार पण्डित छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ ।  यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।  यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।  कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।  छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् । तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ । पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो । आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् ।  दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते                   अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे ।  तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।   शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् ।  पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।। अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ :  ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम  ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः  ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।    धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ । सूर्यार्घस्तुति, सूर्यलाई अर्घः  अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।   सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् । पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।। सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् । प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।। नमः शिवाय शान्ताय सगणय दि हे तवे ।  रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।। एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते ।  अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।। रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल  पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ ।  उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ ।  तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् ।  तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।।  अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् ।  करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।। सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ । जगन्मातार्जगदात्री जगदा नन्दकारिणी ।  प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ  छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ ।  छठ पर्वको इतिहास सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ ।

म हारें तर थाकस जित्नैपर्छ

म हारें तर थाकस जित्नैपर्छ

११२२ दिन अगाडि

|

१६ असोज २०८०

यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।  सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।  थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।  तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।  सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।  असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।  प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।  मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।  दुःखको कुरा  उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।  हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।  जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।  रमाइलो कुरा  निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।  गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।  एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।  अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।  थाकस जित्नै पर्छ चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।  चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।  थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।  मार्गदर्शक सिद्धान्त र मूलाधार  मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।  थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।  विशेष परिस्थितिमा थाकस आवश्यक  हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।  हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?  मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।  कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।   थाकसले गर्नुपर्ने काम  थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।  त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।  थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।  त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।  यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।  समापनमा, समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।  काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।  गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।  साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् । 

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

थारु संस्कृतिभित्र साम्यवादको अभ्यास

११५२ दिन अगाडि

|

१६ भदौ २०८०

डा. रामबहादुर चौधरी आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार प्राप्तिको पर्खाइमा रहेको परिश्रमी समुदाय हो– थारु । र, आजको सन्दर्भमा राजनीतिक रूपले विचलित भूमिपुत्र हो– थारु ।  कुनै बेला देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उभिएको जग्गाको कर उठाउने गरेको, जसको कारणले हजारौँ हजार बिगाहा बक्सिस पाएको जाति हो थारु । यातायातको साधन नभएको वेला राजा महाराजाहरूलाई माहुतेको रूपमा जंगली हात्ती कज्याइ उपहार दिएबापत तिरो (कर) छुट पाएको जाति हो थारु । ब्रिटिस साम्राज्य (इष्ट इण्डिया कम्पनी) विरुद्ध उभिई डटेर सामना गरेबापत हजारौँ बिगाहा जग्गा उपहार प्राप्त गर्न सफल जाति हो थारु । प्रजातन्त्र प्राप्तिको लागि तराईको योद्धा जाति हो थारु । साम्यवाद प्राप्तिको लागि प्राणको आहुति दिएको जाति हो थारु ।   पछिल्लो राजनीतिक परिवर्तन, विशेषतः दश वर्षे जनयुद्ध– थारुहरूले महसुस गरेको आफ्नो युद्ध । त्यसैले होला, कुनै बेला राज्यको नजरमा सबै थारु माओवादी । यति विघ्न माया गरेको त्यो युद्धको पछाडिको कारणहरूमध्ये एक थियो थारुहरूको संस्कृति ।  थारु जातिले भिख मागेर खाँदैन, उसले भिख माग्न जान्दैन । यो उसको लागि जेनेटिक गुणजस्तै हो । यो गुण उसको रगतमा बगेको कारणले उ भिख माग्दैन । यसैगरी, थारुहरूको रगतमा बग्ने अर्को गुण हो– साम्यवाद ।   थारुहरू माओवादतर्फ आकर्षित हुनुको मुख्य कारणहरू मध्येको एउटा कारण हो यो गुण, जुन गुण उसको रगतमा बगेको हुन्छ । जुन गुण उसको संस्कृति, चालचलन, रीतिरिवाज र समाजमा घुलित हुन्छ, जसरी पानीमा नुन । जो थारु समाजमा घुल्छ, उसको उसको संस्कृतिमा हराउँछ, उसको चालचलन रीतिरिवाजलाई बुझ्दछ र अन्तर आत्माले महसुस गर्दछ, उसैले नाङ्गो आँखाले हेर्न सक्दछ त्यो गुण ।  साम्यवादको पाठ पढाउने ती शिक्षकले र सांस्कृतिक लडाइ लड्ने ती योद्धाले थारुहरूभित्र लुकेर रहेको त्यो गुण नबुझ्दासम्म मार्क्सवाद, लेनिनवाद, माओवादका वाद पढेर माओवादी भएका थारु नेताहरू जसले आफ्नै  संस्कृतिमा साम्यवाद लुकेर बसेको छ भन्ने कुरा महसुस नगरेसम्म साम्यवादी गुणहरू र माओवादी शिक्षालाई जेनेटिक अर्थात् सांस्कृतिक बनाउन सकिँदैन ।  म कुनै मार्क्सवादको पुस्तक पढेको पढाकु व्यक्ति होइन । न माओवादको शिक्षाको लागि कुनै वन्दसत्र वा कक्षामा बसेको मान्छे । तर, सानैदेखि परिवारमा, समाजमा साम्यवाद हेर्दै, अँगाल्दै र महसुस गर्दै हुर्केको एक थारु हुँ ।  म त्यो परिवारमा हुर्केँ, जहाँ सहोदर दाइ–भाइ, भतिजको दसैँमा लगाउने पाइजामा, कमिज ‘जरावर’मार्फत प्राप्त हुन्थे ।  घरका सास–बुहारीहरूले प्राप्त गर्ने कपडामा ‘गोट्टी’ हालिन्थ्यो । त्यो समाजमा हुर्के, जहाँ केटाकेटीहरूले लगाएको लुगाको कलर हेरेरै यी एउटै घरका र ती अर्कै घरका भनेर ठम्याउन सकिन्थ्यो । वस्त्रमा न कुनै भेदभाव हुन्थ्यो, न कुनै असमानता ।  हामी एउटै भान्सामा खान्थ्यो । करिब ३५–४० जनाको परिवार । खेतमा काम गर्दा मैले खाने भात र हाम्रो कमैयाको छोराले खाने भातको स्वादमा कहिल्यै अन्तर भएन । उसले खाने खुर्सानीको चटनी उति नै पिरो हुन्थ्यो जति मेरो ।(२०५७ साउन २ अघि कमैया प्रथा थियो ।)  सालको पातमा लहरै राखेको ‘घँसल भात’ कमैयाको छोराको कुन, मेरो कुन भनेर भाउज्यूहरूले कहिल्यै छुट्याउनु भएन । माघमा ढोग–सलाम होस् या दसैँको टीका–नाताले जो ठुलो उसलाई ढोग्नु पर्दथ्यो, चाहे त्यो मालिक होस् या कमैया । मालिकले आफ्नै घरमा काम गर्ने कमैयालाई ढोग्नु यो कुनै चानचुने कुरा होइन । तँ सानो, म ठुलो दर्शनबाट चलेको रीतिरिवाज होइन यो । यो त साम्यवादको एउटा उत्कृष्ट संस्कृति हो, उदाहरण हो । यसैकारण कमैया प्रथा राम्रो थियो भन्न खोजेको चाहिँ कदापि होइन । त्यस प्रथामा समानताका अंश पनि नभएका होइनन्, थारु समाजमा चित्रण गर्न खोजिएको हो ।  घरको सदस्य थला परे, ‘गोंइ डाँगर’ (पशु) थला परे खेतको रोपाईं नसकिएला कि भनेर कुनै किसानलाई खासै चिन्ता हुँदैनथ्यो । किनकि एउटा घरकाले खेत रोपिसके अर्को घरकालाई सख्लहराको रूपमा सघाउने चलन थियो । यसमा न पैसा खोज्नुपर्ने, न ज्याला तिर्नुपर्ने । आफ्नो गाउँ छिमेककाले मात्र होइन, वल्लो पल्लो गाउँका नातेदारहरू आएर सघाउने चलन थियो थारु गाउँमा ।  बिहे भोज हुँदा कुन दिन गर्ने, कसको घरमा कुन कुन घरकाले सघाउने कार्यको बाँडफाँट बरघरमार्फत् हुन्थ्यो (अझै पनि हुन्छ) । सकेसम्म बिहे एउटै दिनमा हुन्थ्यो– एउटा गाउँमा । सघाउने चलन जिउँदै रहे पनि गाउँभरिका केटी–केटीहरूको एकै दिनमा बिहे गरिदिने चलन भने हराएर गएको छ ।  कृषिप्रधान देश सिँचाइ विना काम नचल्ने । बर्षेवाली लिनु अगावै कुला कुलेसा हेर्नैैपर्ने । महिनौँ दिनसम्म गाउँ गाउँबाट ‘डेसाहुर’ उठेर कर्णाली जस्ता ठुला नदीबाट पानी ल्याउनैपर्ने । काम गर्दा कसैलाई मर्का नपरोस् भनेर ‘नान्ढ’ हाल्नैपर्ने । साम्यवादको उदाहरण दिनुपर्दा यो भन्दा उत्कृष्ट उदाहरण अरु के नै होला र ?  आज थुप्रै नेताहरू धाक लगाउँछन् ‘कुलरिया, जमरा, रानी कुलो सिँचाई योजना मैले गर्दा आएको हो ।’ एक पटक ८०–९० वर्षे बूढा बाको सामुन्ने सोही कुरा भन्नुहोस् । जसले पचासौँ दश नङ्ग्रा त्यही सिँचाई व्यवस्थापनको लागि खियाएको थियो । जसले पथरैया, जमरा, रानी कुला हाम फालेर वारपार गरेको थियो । उसको अगाडि धाक लगाउनुस्, तपाईको जिब्रो लरबराउने छन् ।  गाउँघरका सडक, बाटो, पुल पुलेसा, ढुपौरा, संघ्वा कसरी बन्थे थारु गाउँमा ? त्यही साम्यवादको दर्शनले कार्य हुँदैनथ्यो र ? थारुहरूका बाहुली, अङ्ग अङ्गमा साम्यवाद थियो र अझै पनि मरिसकेको छैन । किनकि यो त उनीहरूको प्रवृत्ति हो, संस्कृति हो, जीवन हो ।  गाउँघरमा सामुदायिक विद्यालय बनाउन परोस् वा कुलामा बाँध, मर्दा पर्दा होस् वा कुनै भोज भतेर साम्यवादी हात स्वयंसेवी कर्मका लागि स्वतःस्फूर्त सलबलाउँछन् ।  यस्ता उदाहरणहरू थारु समाजमा कति छन् कति । त्यसैले, यहाँ भन्न खोजिएको हो, साम्यवाद थारुहरूको रग रगमा छ, जीनमा छ, रीतिरिवाजमा छ, संस्कृतिमा छ ।  माथि चर्चा गरिएको यी यावत विशेषता भएको कारणले थारुहरू माओवादतर्फ बढी आकर्षित भए । जसले यस्ता संस्कृति आत्मसात् गरेका थिए– झन् छिटो लामबद्ध भए । शिक्षित भन्दा कम शिक्षितले पहिले पाइला चाले । शिक्षित भन्दा अशिक्षित थारुहरू माओवादीका ढाल बने । किनकि माओवादीले उठाएका इस्युसँग रसायन मिल्यो, संस्कृति मिल्यो, चालचलन मिल्यो, समान व्यवहार मिल्यो, विचार मिल्यो, दर्शन मिल्यो ।  के कारणले विशेष समूह वा जाति वर्षौँसम्म कुनै विचारमा हिँडिरहन्छन् ? के कुराले उनीहरू सयौँ वर्षसम्म एउटै संस्कृतिमा रमाउँछन् ? साम्यवाद र थारुहरूको खानपिन, साम्यवाद र उनीहरूले सहयोग गर्ने तरिका, साम्यवाद र उनीहरूले अँगालेका सामाजिक कार्य, साम्यवाद र उनीहरूको संस्कृति धेरै हदसम्म मिल्दोजुल्दो हुँदाहुँदै राजनीतिक रूपले किन विचलित हुँदैछन् थारुहरू ? मूलधारका पार्टीपंक्तिको लागि गहिरा प्रश्न हुन् यी ।  विचार र बुझाइबीच तालमेल राम्रो भएन भने ‘वान’ माने ‘एउटा अण्डा’, टु माने ‘दुइटा अण्डा’, थ्री माने ‘तीनटा अण्डा’ बुझ्न सक्छ विद्यार्थीले । कतै थारुहरूले माओवादलाई यसरी नै त बुझेनन् ? 

इतिहास बनिसकेका प्रथाहरू

इतिहास बनिसकेका प्रथाहरू

११६३ दिन अगाडि

|

६ भदौ २०८०

भुवन देवकोटा केही साता अघि कैलाली जिल्लाको गोदावरी नगरपालिकाअन्तरगत रहेकामध्ये एउटा छाउगोठमा बसेकी महिलाले लेखेको अनुभूतिजन्य संंस्मरण पढेको थिएँ । नेपालको पूर्बी जिल्लामा जन्मिएकी ती चेलीले फेसबुकमार्फत प्रेमविवाह गरेर पश्चिमको जिल्ला कैलाली आएपछि उनले पनि रजश्वलाको समयमा छाउगोठमा बस्नुपर्छ परिवारका सदस्यले जानकारी गराए । माइती घरमा रहँदा छाउगोठका बारेमा समाचार र लेखमा मात्र पढेकी उनले अब आफू पनि छाउगोठमा बस्नुपर्छ भनेको सुनेपछिको मनोभाव ,परिवारका सदस्यको सोच र छाउ बस्दाको अवस्थालाई संस्मरणमा उल्लेख गरेकी छिन् । अझै पनि महिलामाथि यति ठूलो अन्याय ? यस्तो अन्यायलाई परंपरा र संस्कार जोगाउने नाउँमा उचित ठह¥याउने यही हो समाजको शिक्षा ? उक्त संस्मरणले मेरो मनमा दिग्मिग र आक्रोश दुबै एकसाथ पैदा गराए । पढ्दा त मेरो मनोदशा यसप्रकार भयो भने छाउ गोठमा बस्ने महिलाले कति धेरै दुख, यातना र त्रास बेहोर्नु पर्छ होला ? संझिदा पनि कहाली लागेर आउँछ । हो, यसैले त छाउ गोठमा बस्नु हुँदैन भनेर अभियान चलाइरहेका त्यस भेगका दिदी बहिनीको साहसलाई पनि उक्त संस्मरणमा उल्लेख गरिएको हुँदा मन केही उत्साहित भएको छ । यसैले यो लेखमार्फत छाउपडी प्रथा विरोधी सबै अभियानले सफलता पाउँदै जाउन् भन्ने शुभकामना दिन्छु । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पाँच हजारसम्म पुरस्कार दिने निर्णय भएको समाचार मैले केही वर्ष अघि पढेको थिएँ । अहिले पनि त्यो निर्णय लागु भइरहेको हुनुपर्छ । रजश्वला अर्थात महिनावारीलाई पश्चिमका केही जिल्लाहरुमा अलि बढी घृणा गरिने चलन अहिले पनि हट्न सकेको छैन । हुन त अरु ठाउँमा पनि कतिपय समुदायमा रजश्वलालाई बार्ने गरिन्छ । तर पनि पश्चिमका केही जिल्लाहरुमा तुलनात्मकरुपमा केही बढी मात्रामा छिछि गर्ने विषय गराइएको छ । खासगरी ती जिल्लाहरुमा रजश्वला भएका महिलाहरु छाउगोठमा बस्नुपर्ने चलन जस्तै बनिरहेको हामी सबैले सुन्दै,पढ्दै र कतिपयले देख्दै पनि आइरहेका छौं । महिनावरी भएको समयमा घरदेखि टाढा छाउगोठमा एक्लै बस्नुपर्ने बाध्यताका कारण सर्पले डसेर धेरैको मृत्यु भइसकेको छ । कतिपय बलात्कृत हुँदै आएका छन् । यी सबै अमानवीय घटनाले सचेत नागरिकहरुको मनले छाउपडीप्रथाको अन्तका लागि आवाज उठाउन थाले । शुरु शुरुमा छाउपडीप्रथाको अन्तका लागि उठाइएको आवाजलाई धेरैले धर्म विरोधी आवाज भनेर गाली गरे । महिला विरोधी आवाज भनेर छिछि गरे । यति मात्र होइन, स्वयं कतिपय महिलाहरुले समेत छाउपडी प्रथा अन्त हुनुपर्छ भनेर आवाज उठाउनेहरुका विरुद्ध कतिपय ठाउँमा जाइलाग्ने काम समेत भए । अन्धविश्वास र अचेतनाका कारण उनीहरुले छाउपडी प्रथा अन्त गर्नुपर्छ भन्ने आवाज उठाउनेहरुकै विरुद्धमा नारा जुलुस लागेको विडम्बनापूर्ण अवस्था पनि देख्नु परेकै थियो । हाम्रो मुलुकमा इतिहास भइसकेका विषय धेरै प्रथा छन् । जस्तै दास प्रथा , सती प्रथा ,कमाराकमारी प्रथा , कमैया कमलहरी प्रथा । अब ती प्रथा हाम्रो समाजमा दोहोरिएर आउन सक्दैनन् । कसैले राणा शासन फर्काउनुपर्छ भन्यो भने कस्तो सुनिएला ? अबका दिनमा कमैया कम्लरी प्रथा खारेज गर्नु उचित होइन भनेर कोही सडकमा नारा लगाउन आयो भने कस्तो देखिएला ? यसैगरी अबको परिवर्तित समय सन्दर्भमा राजतन्त्र कायम होला भनेर स्वतन्त्रता र शान्तिका पक्षधर कुनै पनि नेपालीले सोच्न समेत सक्दैनन् । इतिहास बनिसकेका यी लगायत युगविरोधी र मानवता विरोधी घटना र प्रथालाई दोहो¥याउने काम अब कसैबाट पनि संभव देखिदैन । अहिलेको समय,चेतना र मानवता विरोधी घटनाको रुपमा चिनिदै आएको छाउपडी प्रथालाई पनि इतिहासको विषय बनाउनकै लागि विगत लामो समयदेखि आवाज र अभियानको थालनी हुँदै आएको छ । यही सिलसिलालाई अघि बढाउँदै छाउपडी प्रथाको अन्त्य गर्नको लागि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले गरेको निर्णय सराहनीय र स्वागतयोग्य रहेको छ । यसको सिको अरु पालिकाहरुले पनि गरेको हुनुपर्छ भन्ने मेरो अनुरोध रहेको छ । वास्तवमा महिलाहरुका समस्यालाई महिलाहरुले भन्दा अरुले बुझ्न पक्कै सक्दैनन् । विडम्बना नै भन्नुपर्छ त्यस्ता समस्याहरुलाई हटाउनको लागि आह्वान गर्ने काम महिलाहरुबाट कमै हुने गरेको छ । उदाहरणका लागि रजश्वलाकै विषयलाई लिने हो भने कतिपय महिलाहरुले रजश्वलालाई बार्नुपर्छ । रजश्वला भएको समयमा अरुलाई छुनुहुँदैन भन्ने मान्यता राख्दै आएका हुन्छन् । उनीहरुले रजश्वलालाई छलफल र विचार विमर्शको विषय बनाउन धक मान्ने गर्छन् । शायद यसैकारणले हुनुपर्छ रजश्वलाका बारेमा धेरै महिलाहरुले खुलेर कुरा गर्न हिच्किचाउने गर्छन् । धक मान्ने गर्छन् र रजश्वला भनेको नराम्रो विषय हो भन्ने मान्यता पालिरहेका हुन्छन् । एउटा अनौठो विषय अर्काे पनि के छ भने महिलाका समस्यालाई हटाउनको लागि महिला पुरुष जसले पनि उठाएको भए पनि ती आवाजहरुलाई महिलाहरुले स्यावास भनेको सुन्न पाइदैन किन हाला ? नारी स्वतन्त्रताको कुरा गर्ने कतिपय नारी अगुवाहरु परंपरा जोगाउने नाउँमा रजश्वलालाई भन्न नहुने,छुवाछुत र लुकाउने विषयको रुपमा प्रस्तुत गर्ने काम गरिरहेका हुन्छन् । हिजोका दिनमा नबुझेर रजश्वलालाई छिछिको विषय बनाइयो । आजका दिनमा वास्तविकता बुझेका र बुझ्न लागेकाहरुले रजश्वलालाई तिरष्कारको रुपमा हैन, स्वागतको रुपमा ग्रहण गर्नु आवश्यक हुन्छ । सृष्टिको पहिलो बिहानको रुपमा रजश्वलालाई मान्यता दिने ठाउँमा घिनाउने वस्तुका रुपमा बुझ्नु भनेको सृष्टिको अपमान गर्नु हो । अब यस्तो बुझाइ मनभित्र पालेर रजश्वलालाई घृणा गर्ने अधिकार कसैलाई पनि छैन । रजश्वला नबार्ने हो भने अधर्मी र नास्तिक होइन्छ भन्ने कसैले पनि सोच पाल्नु बेठीक हुन्छ । अझ योभन्दा बेठीक त छाउपडीको पक्षमा वकालत गर्नु हुन्छ ।

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

११६५ दिन अगाडि

|

४ भदौ २०८०

थारू समुदायमा विभिन्न चाडपर्व छन् । अहिले माघ (माघी) लाई नयाँ वर्षको रुपमा मान्न थालिएको छ । नभए पहिले पुर्खाहरुले गुरहीलाई वर्षको पहिलो चाड मान्थे । यसबारे एउटा भनाई छ, ‘जट् बर्कि जट् बोक्सिन, जट् छोटकि जट् छिनार ।’बर्कि अर्थात् ठूली, यस मानेमा सबैभन्दा जेठो चाड गुरही । यसमा भूतप्रेत मन्साउने कार्य हुने भएकाले भूत, बोक्सीको प्रसंग आउँछ । अनि छोटकि अर्थात् कान्छी, सबैभन्दा पुछारको चाड ढुरहेरि अर्थात् होली । होलीमा रंग, अविर दल्दै  हा हू गर्ने परम्परा भएकाले यसलाई उरन्ठेउलो, लाज नभएको चाडको रुपमा लिइन्छ ।  यसरी आआफ्नै किसिमको तर्क यस पर्वबारे भेटिन्छ । यहाँ थारू समुदायको प्रमुख चाडमध्ये एक ‘गुरही’को चर्चा गरिन्छ । गुरहीको मौलिकता थारू समुदायको गुरही पर्वको दिन नै आम नेपालीको नागपञ्चमी पर्व पर्छ । त्यसैले ‘गुरही’ र ‘नागपञ्चमी’ एउटै हो कि भन्ने आम बुझाई छ । थारू समुदायकै कतिपयले गुरही अर्थात् नागपञ्चमी भनेर सामाजिक सञ्जालमा शुभकामनासमेत दिएको देखिन्छ । गुरही र नागपञ्चमी एक अर्काको पर्याय पर्व होइन ।  नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । यो अलग कुरा हो कि अरुको देखासिकीमा थारू समुदायमा पनि नागको तस्विर टाँसेर नागपञ्चमी पनि स्वीकारिन्छ । तर गुरहीमा सर्पको पूजा हुन्न, गाइने किराको पूजा हुन्छ । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै मौलिकता छ भने सर्प भगाउने मन्त्र पढिने नागपञ्चमीको आफ्नै । त्यसैले, गुरही र नागपञ्चमी एउटै हो भन्ने बुझाइ हटाउन, यी दुबै बीचको फरक मनन गर्न थारू समुदायले ढिलाइ गर्नुहुन्न ।  बरु अवधी समुदायको गुडिया पर्वसँग थारू समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारू समुदायले झैं कपडाको गुरही बनाएर पूजा गर्छन् ।  साहित्यकार छविलाल कोपिला ‘गुरही’लाई थारू समुदायको बाल पर्वको रुपमा चिनारी दिन उपर्युक्त ठान्दछन्  । हुन पनि हो, थारू बालिकाहरु सोह्र श्रृंगार गरेर थालमा गुरही र चना लिएर गल्लीको गौह्रि (चौराहा) मा गुरही अस्राउन जान्छन् । उता थारू बालकहरु सोंटा लिएर गुरही ठटाउन तम्तयार हुन्छन् । तर, मनोवैज्ञानिक रुपमा बुझ्दा यसले बालिकाको थालमा गुरही र चना थमाएर महिलालाई गहना गुडियामै, भातभान्सामै सीमित रहन तथा बालकको हातमा सोंटा थमाएर तिनलाई बलशाली हुनुपर्ने देखाउँछ । गुरही किराबाट ‘गुरही’ पर्व नामकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ ।  लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको जनविश्वास थारू समुदायमा छ । यस्तो छ ‘गुरही’को मिथक छविलाल कोपिलाको संकलनमा गुरही पर्वबारे एक मिथक रहेको छ । जसअनुसार धेरै वर्ष पहिले नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र अनेक रोग फैलियो, जसका कारण मान्छेहरुको अकालमै ज्यान जान थाल्यो । यसबारे स्वर्गलोकका देउताहरु पनि आश्चार्यचकित भए । देउताहरुले यसबारे यथार्थ बुझ्न एक बालिकालाई दूतको रूपमा पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने उनलाई देखी सहन्नथिन्, निकै दुःख दिन्थिन् । त्यसो त अपवादबाहेक नन्द भाउजूको सम्बन्ध अहिले पनि राम्रो मानिन्न । ती बालिका ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् । अरुलाई निकै माया गर्थिन् । उनी कपडाको गुडिया अर्थात् ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनलाई देखि नसहने उनको भाउजूले सधैँजसो गुरही लुकाइदिने, कहिले त फाल्दिने समेत गर्थिन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दिनथिन् ।  भाउजूको डरले ती बालिकाले कहिले डेहरी (भकारी) मुनि गुरही लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा लुकाउँदै पनि भाउजूले पत्तो लगाएर फालिदिन थालेपछि आजित भएर एकदिन आफ्नो खेलौनारुपी गुरही जस्तै किरा भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरिन् । नभन्दै उनले सोचेको जस्तो किरा उत्पन्न भए ।  गुरहीजस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थालेपछि उनी निकै खुशी भइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरही किराहरुले लामखुट्टेलगायत सुक्ष्म किराहरुलाई आहार गर्ने र मार्ने गर्न थाले । यसरी मानिस तथा बालीनालीको लागि हानीकारक किरा मारिन थालेपछि प्रकोप पनि कम भयो र रोगव्याधी पनि कम भयो । निरोगी हुन पाउँदा, बालीनाली सप्रिदा जनता खुशी भए ।  यसरी अकाल मृत्यु रोकियो । र, ती बालिका पुनः स्वर्गलोक जानुपर्ने भयो । उनी जाने भएपछि उनका सहेलीहरु निकै दुःखी भए । जान नदिने जिद्दी गरे । तर, उनको यात्रा रोकिएन । अन्तमा, विदाइको बेला गाउँका सबै बालबालिकाले उपहारस्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे चनालगायतका गेडागेडी खानेकुरा दिएर बाजागाजासहित विदाई गरे ।  माइतीको संझना घर छाडेर जाने महिलाहरुलाई माइतीको जे कुरा पनि प्यारो हुन्छ । उनीहरु घर छोडेर जाँदा बाल्यकालमा खेलेका गुडिया (गुरही) सम्झिन्छन् ।  आफूले डेहरीमुनि गुरही राखेको छु, त्यो राम्रोसंग स्याहारिदिन भनेर आमासंग आग्रह गर्छन्, जुन तलको गीतमा गुन्जिन्छ ः ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल  डेहरिक गोरटिर मोर गुरही ।  बालिकाहरु रुखमुनि खेल्नु सामान्य हो । इमलीको रुखमुनि बसेर गुरहीसँग खेलेको सम्झिन्छन् । दाङ बोले टिम्की, महदेवा बोले ढोल  अमलिक रुखवा टिर मोर गुरही । भनिन्छ, यो बालगीत, त्यही बालिकाले संझना गरेर गाएको हो, जसलाई स्वर्गलोकका देउताहरुले पृथ्वीलोकमा दूत बनाई मृत्युको कारण बुझ्न पठाएका थिए । तिनले नै गुरही किरा उत्पन्न गरिन् र गुरही मनाउने परम्परा बस्यो । ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल’ यस गीतको विश्लेषण पनि गर्न सकिन्छ । देउखुरी उपत्यकाको महदेवा नै यस्तो गाउँ हो, जहाँ थारू सुमदायको बर्का नाचको सुरुवात भयो । देउताहरुले नै महदेवाका एक थारू अगुवालाई वनमा नाच सिकाएका थिए । कालान्तरमा तिनले गाउँमा आएर नाच सिकाए । कतै गुरही किरा उत्पन्न गर्ने ती पौराणिक बालिका स्वर्गलोकबाट महदेवा गाउँमा आएकी त थिइनन् ? यो अर्को शोधखोजको विषय हो ।  गुरही मनाउने तरिका गुरही मनाउने तरिका गाउँअनुसार फरक फरक हुन्छ । यहाँ वर्णन गरिएको गुरही मनाउने तरिका खास गरी देउखुरी उपत्यकाको हो ।  ‘घुघरी भिजाउ रे, घुघरी । हे गाउँक् मनै, काल्ह गुरहिक लग गुरही भिजाऊ...’ । नागपञ्चमीको अघिल्लो बेलुकी गाउँको चौकीदारले यही भनेर ठूलो स्वरमा हाँक पार्छ । चौकीदारले हाँक पारे पनि, नपारे पनि गाउँलेले बेलुका कोंहरी (चना) भिजाउँछन् । चना खेती गर्नेले कुनै वर्ष राम्रो चना नफले ‘असौं टे गुरहि अस्राइ भरिक फेन चाना नैहुइल’ भनेर तिक्तता पोख्छन् ।  पञ्चमीको दिन बिहान घरको बाहिरी ढोकामाथि नाग टाँस्छन् । दिउँसो गाउँका सबैजसो घरका आमा दिदीहरुले बालिकाहरुका लागि गुरही बनाइदिन्छन् । उनीहरु गुरही बनाएको हेरेरै रमाउँछन् । बालिकाहरु आफै पनि गुरही बनाउने प्रयास गर्छन् । उता, बालकहरुका लागि बुवाहरुले रारा (काँस) को सोंटा (कोर्रा) बनाइदिन्छन् । सोंटा पनि रंगीन हुन्छ । सोंटा बनाउन फुर्सद नहुनेहरुले केराको पातको डाँठको सोंटा बनाउँछन् । यस्तो सोंटामा काजल भने लगाइ दिनुपर्छ ।  साँझ प्रत्येक घरमा सुख्खा चना पाक्छ । चना नहुनेले केराउ, बोडीलगायत गेडागुडी बनाउँछन् । यस्तो पकाइएको गेडागुडीलाई कोंहरी, घुघरी पनि भनिन्छ । साथसाथै, माछा, मासुलगायत अन्य परिकार पनि पाक्छ ।  यस अवसरमा बालबालिकाहरु नयाँ लुगा पाउँदा खुशी भएर रमाउँछन् । बालिकाहरु आफै गुरहीझैं सजिएका हुन्छन् । बेलुका दिन डुब्नेबेला गाउँको चौकीदारले पुनः हाँक पार्छ, ‘अरे, गाउँ भरिक मनै गुरही अस्राइ चोलो रे...।’ बालिकाहरु नुइयाँ (सानो ढकिया), टठिया (थाल)मा गुरही र कोंहरी लिएर तथा बालकहरु सोंटा लिएर गुरही अस्राउन (सेलाउन) निस्कन्छन् ।  भान्सेहरु ‘खाँज खुजली लैजा, रोग बिरोख लैजा, मिठ मिठ डैजा’ भन्दै घर भित्रबाट निस्किएर थाल र नाङ्लो ठटाउँदै बाटोसम्म गुरहीसंगै रोगव्याधी धपाउन जान्छन् ।  यता, गाउँको चौराहा, गौह्री (गाउँ भरिका गोरु राखिने स्थान) मा गाउँलेहरु जुट्छन् । गाउँको अगुवाले रटनजोटलगायत कुनै वनस्पतिको निशाना गाड्छ । गुरही विसर्जन गर्ने बालबालिकाहरुलाई अग्रपंक्तिमा उभ्याइन्छ । अगुवाले ‘लेउ, आब गुरही अस्रैना सुरु’ भनेपछि बालिकाहरुले थालमा ल्याएको गुरही, दुबो गाडिएको निशानामाथि फाल्छन् । बालकहरुले विसर्जन गरिएको गुरही सोंटाले ठटाउँदै ‘डे घुघरी सोंटा, खाइ मोर टोंटा’ फलाक्छन् । गुरही विसर्जनपछि प्रायः गाउँमा जहाँ बिसर्जन गरिएको हो, त्यहाँ त्यत्तिकै छाडिन्छ । तर, कुनै गाउँमा नदीमा लगेर पुनः विसर्जन गरिन्छ ।  गुरही विसर्जनपछि बालिकाहरु आमा, दिदीहरुको सहयोगमा माग्ने जति सबैलाई थोरै थोरै कोंहरी बाँड्छन् । कोंहरी लगायतको सामग्री प्रसादस्वरुप अलिकति घर लिएर आउँछन् । अनि, आफ्नो घरको छानामाथि, डेहरी (भकारी) माथि प्रसाद चढाउँछन् । यसो गर्दा भूतप्रेत नआउने, घर सुरक्षित रहने, धनचोरले अन्न नलाने विश्वास गरिन्छ ।  उता, बालकहरुले ठटाउन लगिएको सोंटा त्यो दिन लुकाएर राख्छन् । अर्को दिन बिहानै सोंटा ल्याएर बारीको थाँक्रोमा बाँध्छन् । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने, तरकारी राम्रो फल्ने विश्वास गरिन्छ ।  कुनै कुनै गाउँमा गुरही सेलाएकै राती किशोरहरुको समूहले प्रत्येक घरमा छिरेर घण्टा बजाउँदै अर्को गाउँको सिमानासम्म पुग्छन् । सिमानामा कुनै चिजको डाँठको टुक्राले चुरोट पिएको अभिनय गर्छन् । अनि, हाम्रो गाउँको रोग, खाँज खुजली (लुतो) अरु गाउँ सरेर जा भन्ने कामना गर्छन् । घर फर्किदा घण्टा बजाउन पाइन्न । नभए रोग आफ्नै गाउँ फर्किने भनाइ छ ।  त्यसो गरेको थाहा पाए अरु गाउँका किशोरहरु हाम्रो गाउँमा रोग सार्न आए भनेर लखेट्ने गर्छन् । यसले कहिलेकाहिँ दुर्घटना पनि निम्त्याउँछ । त्यसैले, यो चलन भने हराउँदै गएको छ ।   अन्तमा, थारू सुमदायलाई प्रकृतिपूजक मानिन्छ । यसरी गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थको रुपमा लिन सकिन्छ । कृषि विज्ञहरुका अनुसार गाइने किराले एक दिनमा एक सय भन्दा बढी लामखुट्टे खान सक्छ । यसरी इकोसिस्टम बचाउने किसानको साथी गुरही किराको पूजा गर्नु प्रकृतिपूजाको ठूलो उदाहरणको रुपमा लिन सकिन्छ । अर्को कुरा बालबालिकालाई केन्द्रमा राखेर, सानैदेखि स्वास्थ्यमा सचेत रहन, संस्कृति जोगाउन सन्देश प्रवाह गर्ने गुरही पर्वको अहम् भूमिका छ भन्दा अत्यु्क्ति नहोला । त्यसैले त गुरही मनाउने परम्परा गाउँबाट सहरमा छिर्दैछ । धनगढी सहरमा चोकको नाम गुरही चोक नामकरण भएको छ । सबैलाई गुरही पर्वको शुभकामना ।