थारू समुदायले किन भन्छ कालो संविधान ?

थारू समुदायले किन भन्छ कालो संविधान ?

३५८ दिन अगाडि

|

३ असोज २०८१

अनत्तर (अनन्त) ब्रत

अनत्तर (अनन्त) ब्रत

३६० दिन अगाडि

|

१ असोज २०८१

धेरै इतिहासकार र बिद्वानहरुमा थारुबारे विवाद देखिएको छ । कतिपयले थारुहरुलाई किरात मानेका छन् भने कसैले द्रविड मूलका मानेका छन् । कसैले किरात, कसैले द्रविड भनेपनि धेरै इतिहासकार र बिद्वानहरुले थारुहरुलाई अनार्य भएको बताउँछन् ।  डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोधकुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुहरुलाई बौद्ध मानेका छन् भने थारु लोकगीत बर्किमारलाई पुस्तकको रुप दिने दाङ्गका अशोक चौधरीले थारुहरुलाई हिन्दू भएको स्वीकार्छन् । युवा पुस्ताका कतिपय थारुहरु, थारुहरुको आदि पुरुष, ईश्वर। परमेश्वर गुर्बाबा हुन् र थारुहरुको आफ्नै धर्म छ भन्ने तर्क गर्दछन् । थारु कल्याणकारिणी सभाले बि.स.ं २०६५ मा थारुहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी थारुहरु बौद्ध रहेको घोषणा गरेको छ ।   एकातिर थारुहरुको हकअधिकारको लागि बोल्ने संगठन थाकसले थारुहरु बौद्ध भएको घोषणा गरेको छ भने अर्कोतिर थारुहरुको पूजास्थल, उनीहरुले मान्ने चाडपर्व, तरत्यौहार, ब्रत आदि हिन्दूसँग मेल खाने गरेको देखिएको छ । थारुहरुको थनवामा मरी, काली, घोटैलीदेखि पाँच पाण्डव समेतको पूजा गरिन्छ । धेरै समयसम्म सँगसँगैको बसाई, हिन्दूहरुसँग सम्पर्क, समन्वयले वा राज्यले हिन्दू धर्मलाई राज्यको धर्म बनाएको कारणले पनि थारुहरु प्रभावित भएको हुन सक्छन् । मिल्दोजुल्दो भएपनि यिनले मान्ने, पुजा गर्ने तौरतरीका भने आफ्नै किसिमको छ ।  कुरा जे होस्, थारुहरु बौद्ध हुन् या हिन्दू, आर्य हुन् या अनार्य, द्रबिड होऊन् या किरात, उनीहरुले मान्ने भगवान–भगवती, देवी देवता, चाडपर्व बढी हिन्दूहरुसँग मिल्दोजुल्दो देखिन्छ । यस्तै मिल्दोजुल्दो चाडपर्वमध्येको अनत्तर ब्रत (अनन्त ब्रत) पनि हो । यो ब्रत, कैलाली जिल्लाका पूर्बी क्षेत्रका थारुहरुमा ब्यापक स्थान पाएको छ । जहाँ गाउँका धेरै महिला, पुरुष, केटी, केटा सँगै बसी बडो हर्षोल्लासपूर्वक यो ब्रत मान्ने गर्दछन् । पहिले पहिले लोग्ने मानिसहरु मात्रै बस्ने यो ब्रतलाई आईमाई, केटीहरुको सहभागिताले झन रमाइलो बनाइदिएको छ ।  अनत्तर ब्रतको सार   हिन्दू धर्मग्रन्थ – भविष्य पुराण, ब्रम्ह पुराण) अनुसार द्वापर युगमा महाराज युधिष्ठिरले राजसूर्य यज्ञ गरेका थिए । त्यतिबेला यस्तो सुन्दर र मनोरम यज्ञ मण्डपको निर्माण गरिएको थियो कि त्यहाँ तलाउ र जमिन छुट्ट्याउन निकै गार्हो थियो । त्यही बिचमा एकदिन दुर्योधन कतैबाट घुम्दै त्यहाँ पुगे र तलाउलाई भुईं मानेर हिंड्दा लडे । त्यतिबेला हाँस्दै द्रौपदीले ‘अन्धाको छोरा अन्धा’ भनी खिल्ली उडाइन् । दुर्योधनको मुटुमा त्यो बचनबाण बिझ्यो । त्यसैको बदला लिन दुर्योधनले पाँच पाण्डवहरुलाई एक दिन हस्तिनापुरमा डाके र छल, कल र बलले जुवापासामा पराजित गरे । प्रतिज्ञा अनुसार पाण्डवहरु १२ बर्ष बनवास बसे । बनबास बस्ने क्रममा पाण्डवहरु निकै दुःख, कष्ट सहे । बनबासकै क्रममा श्रीकृष्ण पाण्डवहरुलाई भेट गर्न गए र भलाकुसारी गरे । युधिष्ठिरले सो अवधिमा धेरै दुःख–कष्ट सहनु परेको खबर सुनाए । उनले दुःख कसरी कम गर्न सकिन्छ भनी उपाय सोधे । श्रीकृष्णले पाँच भाई पाण्डवहरुलाई अनन्त भगवानको ब्रत बस्ने सल्लाह दिए र कथा सुनाए ।  ‘सत्य युगमा सुमन्त नामका एक मुनि थिए । उनको पत्नीको नाम दीक्षा थियो । उनीहरुको एक छोरी थिई, छोरीको नाम सुशीला थियो । सुशिला जवान नहुँदै दीक्षाको मृत्यु भयो र मुनिले कर्कशासँग दोश्रो बिबाह गरे । ठूली भएपछि ऋषिले छोरीको बिबाह कौडिन्य ऋषिसँग गरिदिए । बिदाईको बेलामा सुशीलाकी सौतेनी आमा कर्कशाले कौडिन्यलाई केहि ईट्टा र ढुङ्गाका टुक्राहरु पोको पारी दिए । ससुरालीले दिएको दाइजो भनी कौडिन्य ऋषि पत्नीसहित घर हिंडे । बाटोमा एक नदी थियो, त्यहाँ पुग्दा उनीहरु थाके र बिश्राम गर्न लागे । सुशीला, नदीको अर्को छेउमा सिंगारपटार गरेर केहि पुरुष, महिलाहरुलाई कुनै देवताको पूजा गरिरहेको दृश्य देखिन् र जिज्ञासा राखिन् । उनीहरुले अनन्त भगवानको पूजा गरिरहेको जानकारी गराए र अनन्त ब्रतको महत्व बताए । सुशीलाले उनीहरुसँगै अनन्त भगवानको पूजा गरिन् र चौध वटा गाँठा भएको अनन्त धागो हातमा बाँधिन् । त्यो भाद्र महिनाको शुक्ल चतुर्दशी थियो । घर पुग्दा उनलाई दिइएको ईट्टा ढुङ्गा हीरा–मोती भयो । ऐशआरामको जिन्दगी बित्न थाल्यो । केहि दिनपछि ऋषि कौडिन्यले सुशीलाको बायाँ हातमा बाँधेको पहेंलो रंगको धागो देखे । उनलाई लाग्यो, सुशीलाले आफूलाई बशमा राख्न टुनामुना गरेको धागो बाँधेकी छ । उनले सोधिहाले, तिमीले मलाई बशमा राख्न यो टुनामुना गरेकी छ्यो कि क्या हो ? सुशीलाले थाहा पाएको कुरा बताइन् । तर धनदौलतमा मस्त कौडिन्य, बशीकरण गर्नलाई बाँधिएको डोरो भनी चुँडेर आगोमा जलाइदिए । यसले भगवान अनन्त अपमानित भए र कौडिन्य केहि दिनमै गरिब हुँदै गए, कष्ट झेल्न थाले । कौडिन्य ऋषि, सुशीलासँग किन यति धेरै दुःख कष्ट आउन थाल्यो भनी कुरा गरे । सुशीलाले अनन्त भगवानको अनन्त डोरी जलाएकोले यस्तो भएको कुरा बताइन् । ऋषिले त्यसपछि पश्चाताप गर्दै भगवान अनन्तसँग क्षमा माग्नलाई भगवानको खोजीमा जंगल पसे । तर भगवानलाई फेला पार्न सकेनन् । धेरै दिनपछि उनी कमजोर भए, एक दिन भुईमा लडे । दर्शन नपाएपछि उनी प्राण त्याग गर्ने निर्णय गरे । त्यही बेला भगवान अनन्त प्रकट भए र भने ‘ऋषि, तिमीले जुन अनन्त धागोलाई आगोमा पोल्यो, यो उसैको फल हो, तिमी चौदह बर्ष यसको प्रायश्चित गर । कौडिन्यले त्यसै गरे र अन्तमा उनको अवस्थामा सुधार आयो । उनी फेरी सुखी जीवन जिउन थाले । त्यसैले हे पाण्डवहरु हो, तिमीहरु अनन्त भगवानको अनन्त ब्रत बस, यसले तिमीहरुको दुःख नष्ट हुन्छ भनी श्रीकृष्णले पाण्डवहरुलाई सल्लाह दिए । भगवान कृष्णको सल्लाह अनुसार पाँच पाण्डव, दौपदीसहित अनन्त भगवानको ब्रत बसे र कष्टबाट मुक्ति पाए । यसरी अनन्त ब्रतको शुरुवात भएको हो ।   यो ब्रत नेपालको मधेशी समुदायमा बस्ने गरेको कुरा लेखक सीताराम अग्रहरी बताउँछन् । यता कैलालीको पूर्वी क्षेत्रमा यो ब्रतले ब्यापक स्थान पाएको छ । गाउँका बालबालिका, युवायुवतीहरु यसमा अझ बढी रमाउने गरेका छन् । सगोलमा जमघट हुने र एकको अर्कासँग सम्बाद गर्नैपर्ने ब्रत भएकोले यसको प्रभाव अझ बढ्दैछ ।  ब्रतालुहरु यस दिनमा बिहान काम गरी दश, एघार बजेतिर नुहाई धुवाई गरी थालमा गोबर गणेश, चामल, हल्दी, कच्ची धागो या सेतो पातलो धागो, काँक्रा, फलफूल लिएर गाउँको कुनै एक घरमा जम्मा हुन्छन् । त्यहाँ कलशमा कुशको अनन्त भगवान स्थापित गरिएको हुन्छ र लोटामा कुशको औंठी र आँपको सानो पातसहितको हाँगा राखिएको हुन्छ । गोबरको कन्डा (सुकेको गुइँठा) को आगो एक ठाउँमा बालिएको हुन्छ र धूपी सल्ला, घिउको मिसावटसहितको धूप तयार गरी आगोमा धूप हाली, पानी चढाई पालैपालो पूजा गरिन्छ । ब्रतालुहरु जति चोटी दिसा–पिसाबका लागि बाहिर जान्छन्, त्यति नै पटक उनीहरु हातमुख धोई, अग्यारा (तयार पारिएको धूप चढाउँछन्) गर्छन् । कच्ची धागोको चौध सूत (लर) धागोको रस्सी बनाउँछन् र बिशेष प्रकारले चौध वटा गाँठो पारी अनत्तर (अनन्त) धागो बनाउँछन् र हल्दीमा पानी हाली रंगाउँछन् । सबैले आफ्नो अनन्त धागो (रक्षा सूत) र गोबर गणेशमा टीका टाला गरेर पालैपालो सबैको अनन्त धागोमा टीकाटाला गर्छन् । त्यसपछि पुरुषले दायाँ हातमा र स्त्रीले बाँया हातको पाखुरामा अनत्तर (अनन्त) धागो बाँध्छन् ।   हवनका लागि आँपका सुकेको दाउराले कुवा बनाउँछन् र एकजनाले सबैका तर्फबाट हवन कुवामा हवन सामाग्री हाल्दै सबैको दुःखदर्द नाश होस्, सबैको मनोकामना पुरा होस्, चिताएको फल प्राप्त होस् भनी पुजा गर्दछन् । अनि पालैपालो कलशमा राखेको लोटाको पानी, हातमा कुशको औंठी लगाई चलाउँछन् । जसलाई समुद्र मन्ठन गरेको भन्छन् । नजिकै बस्नेले लोटाको पानी चलाउने ब्यक्तिलाई ‘के माग्दैछौ भनी सोध्छन् ।’ उनले ‘अन, धन, बल, बुद्धि, पुत, परिवार, गौलक्ष्मी, बडे अनत्तर (अनन्त) के फल’ भनी जवाफ दिन्छन् । अथवा मनमा लागेको कुरा सबैसामु सुनाएर माग्छन् । यो क्षण बडो रमाइलो हुन्छ । यो प्रक्रिया सकिएपछि आफूले भगवानको प्रसादको रुपमा लगेको काँक्रो, फलफूल भगवान अनन्तलाई चढाउँछन्, प्रसादको रुपमा सबैलाई दिन्छन् र आफूले पनि ग्रहण गर्दछन् । यतिसम्म समुहमै बसेर सामुहिक रुपमा गर्दछन् ।  उता हरेकको घरमा पकाउनेले नुहाई धुवाई, सफासुग्घर भएर अन्दी धान (बिशेष प्रकारको धान) को चामलको रोटी पकाएको हुन्छ । सूर्यास्त हुनु अगावै उक्त तयार गरिएको रोटी, ब्रतालुले पूजा गरी, अग्राशन निकाली आफू सेवन गर्छन् । सूर्यास्त भएपछि खान मनाही हुन्छ । कसै कसैले पानीसम्म सेवन गर्छन् । बिहान नुहाई, धुवाई गरी पूजाआजा गरी घरमा लिपपोत गरिएको ठाउँमा बस्छन् । तयार भएको खाना– पकवान एक आफ्नो भाग र अर्को अनन्त भगवानको भाग अग्राशनको रुपमा अगाडि निकाल्छन् । खानलाई तयार गरेको हरेक कुरा अलिअलि धूपसँगै आगोमा चढाउँछन्, अग्राशनलाई अनन्त भगवानलाई चढाउँदै अलि पर सार्छन् र तीन देखि ५ गास खाएपछि हात धोई, हातमा बाँधिएको अनन्त सूत निकाल्छन् र गाईको दूधमा धुन्छन् र खाना खान्छन् । भगवानलाई भोग लगाइसकेको अग्राशन, बिहा भएका चेली–बेटीको घरमा दिन जान्छन् ।  यो ब्रतमा चौध सुत (लर) धागोको रस्सी तयार हुन्छ र रस्सीमा बिशेष प्रकारले चौध वटा गाँठो तयार गरिन्छ । यसमा यो अनन्त सूत धागोको ठूलो महत्व हुन्छ, यसलाई रक्षा सूत पनि भनिन्छ । भनिन्छ, ब्रतालुले यो ब्रत १४ बर्षसम्म बस्न अनिवार्य हुन्छ । ब्रत बस्दा भगवानले मनमा चिताएको फल, बरदान दिन्छन् भन्ने समुदायको मान्यता छ ।    

अगुवाहरू सक्किने कि सच्चिने ?

अगुवाहरू सक्किने कि सच्चिने ?

३६३ दिन अगाडि

|

२९ भदौ २०८१

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा सक्किने कि सच्चिने भन्ने प्रश्न पहिचान आन्दोलसंग जोडिएर आएको बुझ्नुपर्छ । आधुनिक राज्यहरुको सिमारेखा कोरिए पश्चात संसारभरि नै पहिचान आन्दोलन संगठीत रुपमा शुरु भए । हालपर्यन्त विभिन्न भूक्षेत्रमा यसैको लागि संघर्ष चलिरहेको हामी पाउँदछौं । नेपाल यसबाट अछुतो छैन भनी बुझाउन पृथ्वीनारायण शाहको गोर्खा अधिराज्य विस्तार हुँदाको बखत चलेका विभिन्न युद्ध मध्ये लिम्बुवानका दश सरदारको विद्रोह एक महत्वपूर्ण तथ्य ठहर्छ । सो विद्रोह पश्चात पटक पटक संघर्षका पाइलाहरु चालिंदै आए तर परीणाम निकाल्न असफल रहीआएका छन् । अस्तित्व रक्षाको लागि साँस्कृतिक भूमी तथा जल र जंगल उपरको स्वामित्व समेत कायम राख्न सक्ने स्थिति बनेन । अर्थात् ऐतिहासिक पृष्ठभूमीको आधार जोगाउन सम्बन्धित समुदायलाई कठीन भयो र अन्ततः राज्य सम्भ्रान्तवर्गले परिभाषित गरेको नेपाली एकल राष्ट्रियता भित्र समाहित बन्दै एक थान नागरिकता प्रमाण पत्र बोक्न विवश बन्यौं ।  छलकपटपूर्ण तवरले गोर्खा अधिराज्यको विस्तार गरिए । पृथ्वी नारायण शाहका सेना शुरवीर थिए नै साथै त्यस बखतको चलाख तथा रणनीतिक सेना पनि हो । नेपाल उपर विजयी गरे पश्चात गोर्खाबाट हनुमानढोकामा  फूलपाति भित्र्याउने चलन चलाएको हो । त्यसबाट संदेश दिन सफल भए कि गोर्खाको हिन्दु संस्कृति यहाँको पनि हुन् । साथै दशैं अब विजया दश्मी (बडा दशैं) को रुपमा मनाउन घरघरमा शक्तिको पूजा गर्न सकौं । दुर्गा भवानीले हामी सबैको कल्याण गरुण ।  सीपको पूजा गर्ने स्थानमा अब शक्तिको पूजा हुन थाले पश्चात छलकपट तथा चाकरी   एक संस्कृति बन्यो । शासकवर्गमा निरन्तर कायम रहेको यो संस्कृति क्रमशः रैतिमा समेत देखिन थाले । उनीहरु पनि हैसियत अनुसार स्थानको खोजी गर्न लागे । अर्थात् विभिन्न हिन्दु जात समूह आफ्नो लेगेसी क्षत्रिय कुलसंग जोड्ने भए । पहिचानलाई शक्तिको श्रोतको रुपमा अंगिकार गर्ने तथा शक्ति प्राप्त गर्न संघर्ष गर्ने भए । दक्षिण एसियामा यी ठाडो वर्गिकरण शासन व्यवस्थाको विधान सावित हुँदै आए । राजनैतिक हिसावले शासक सम्भ्रान्त तथा रैती प्रजाको दर्जा मिलान गरे । विस्तारित नेपालमा राना थारु पछि मात्र थपिएका हुन । उनीहरुको भूगोल लखिमपुर÷खिरी तथा गोण्डा लगायतका कैलाली र कञ्चनपुर भारतमा रहेको थियो । लखनउ विद्रोह पश्चात नयाँ मुलुकको रुपमा बाँके, वर्दिया, कैलाली र  कञ्चनपुर विर्ताको रुपमा जंगवहादुर राणाले प्राप्त गर्दा राना थारु नेपालको सरहद भित्र परे । राजनीतिक शक्तिको आडमा यहाँ जंगवहादुर राणा महाराणा प्रतापका वंशज कहलिए । उनीहरु चितौडका राजवंश नेपाल भूमीसम्म फैलाए तर राना थारु जो आफूलाई इतिहासमा चितौडबाट लखेटिएको महाराणा प्रतापको सन्तान दावी गर्दा समेत नेपाल र भारतमा जनजातिको कोटा प्राप्त गर्न पहिचान खोजी गर्दैछ । यहि सत्य शासकवर्ग र शासित विच भिन्न हुने भएको छ । शक्तिले सत्ता प्राप्त गर्न सघाउने गर्छ । सायद माक्र्सले भनेको सत्ता वाहेक सबै चिज भ्रम रहेछ भन्ने तथ्य यथार्थमा बदलिएको भन्न सकिन्छ ।  खासगरी राष्ट्रिय मुक्ति क्रान्तिमा लामबन्द हुन प्रतिवद्ध पहिचान दावी गर्ने समूहको विवेकसंग सम्बन्धित छ यी सवाल । तसर्थ, स्पष्टसंग भन्नुपर्छ कि किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्व राष्ट्रिय मुक्ति क्रान्तिको जग हो । अभियान, संघर्ष तथा विद्रोहको कार्यदिशामा निरन्तर अगाडि बढ्ने राष्ट्रिय मुक्ति क्रान्ति उपरोक्त जगमा टिक्ने र विशेषतः अग्रदास्ताले नेतृत्व गर्ने भएकोले बल प्रयोगको सिद्धान्तलाई नकार्न सकिन्छ वा सकिन्न त्यो परिस्थितिले जन्माउने विषय हो । यहाँ हामी शान्तिपूर्ण विद्रोहको जग निर्माण गर्न विकल्प सहितको विद्रोह भन्दैआएका छौं ।   हामी उठान गरेको आन्दोलन एकिकृत तथा सशक्त बनाउनुपर्छ । गोर्खाली राज्यसत्ताको जग हलाउन समेत यीसब गर्न जरुरी छ । तर समस्या किटान गरे मात्र सही उपाय निक्र्यौल गर्न सकिने भएकोले राष्ट्रिय उत्पीडनको कारण पता लगाउने काम अनिवार्य रुपले सक्नुपर्छ । अर्थात् औपनिवेशिक चरित्रको राज्यप्रणालीको राजनीतिक खेलको नियम बदल्न सके मात्र राष्ट्रिय उत्पीडनको सवाल हल गर्न सकिनेछ ।  तसर्थ, राष्ट्रिय मुक्ति क्रान्ति यथार्थमा औपनिवेशिकता विरुद्धको संघर्ष पनि हो । यसखाले संघर्ष वहिष्करण र सीमान्तकृत राष्ट्रियताहरुले संसारभरि नै छेडेका छन् । नेपालको विशिष्टतामा यसखाले संघर्ष वहुआयामिक हुने विषय प्रवेश पाएको छ र यो नयाँ विचार साझा विचार, नयाँ योजना साझा योजना तथा नयाँ नेतृत्व साझा नेतृत्व मार्फत निर्देषित हुन जरुरी छ । त्यसको लागि पुरानो कार्यशैलीमा परिवर्तन आउनुपर्छ । साथै पुरानो मोडेलको संघर्ष समेत बदलिन जरुरी छ ।   राज्यको संरचना तथा लोकतन्त्रको पुनर्गठन सम्बन्धि व्यापक वहस चाहिएको छ । साँस्कृतिक सापेक्षतावादको जगमा एक ऐतिहासिक कन्भर्जेन्सको खोजी अबको लोकतन्त्र प्रतिको प्रतिबद्धता दर्साउँछ । त्यसैले वहुलराष्ट्रिय लोकतन्त्रले कन्भर्जेन्स  नयाँ मोडेलमा सघाउँछ । यहि बुझाईलाई सार्थक बनाउन प्रकृति र संस्कृतिको कन्भर्जेन्स खोजी गर्दै स्वदेशवादको प्रबद्र्धन गर्न सकिन्छ । साथै मानवकेन्द्रवाद ईन्कार गरी अलग ज्ञान प्रणाली सेट गर्न मद्दत पुग्छ । विशिष्ट समुदायको स्वपहिचान यिनै अलग अलग ज्ञान प्रणाली मार्फत अभिव्यक्त भएको हुन्छ भनी सत्य स्थापित गर्दा शक्ति उत्सर्जन हुनजान्छ र त्यही शक्तिको आडमा सत्ता दावी गर्न सकिन्छ ।  पहिचान आन्दोलनमा प्रतिबद्ध जनताहरु अब सच्चिने कसरी त ? पहिलो कुरो संरचनागत विभेदको एजेन्डामा पटक पटक संघर्ष गर्यौं । राज्यका अंग तथा तहहरुमा हाम्रा न्युन सहभागिताको कुरो उठायौं भने स्वायत्तता र आत्मनिर्णयको अधिकार पाउनुपर्छ भनी राजयसंग सम्झौता समेत गर्यौं । यीसब शासक सम्भ्रान्तका लागि सहमति निर्माणको विषय बने । त्यसंैले उनीहरु आन्दोलनकारीलाई स्वार्थ समूहको हैसियतमा व्यवहार गर्दै आए । हामीलाई के शक्ति केन्द्रहरु विश्वस गरे त ? जवाफमा हामी भन्न सक्छौं राजनीति गरेको पत्यार दिलाउन सकेनछौं । बरु ईल फिटेड डीलका लागि आन्दोलनकारीका नेतृत्व तयार भएको बुझाई बन्यो । त्यसले आन्दोलन शिथिल तथा विकेन्द्रित बन्यो । दोश्रो एजेन्सी निर्माणमा हाम्रो लगानी शुन्य रह्यो । त्यसको आभावमा विशाल समाभिरुपता (ग्रेटर कन्भर्जेन्स) योजनाबद्ध रुपमा अग्रसर बन्न सकेन । अन्ततः शासक सम्भ्रान्तकै वर्चश्व स्वीकार गर्नुपर्ने भएको भाष्य स्थापित गर्दै २०७२ साल पश्चात नेपालमा राजनीतिक समस्या समाधान भइसकेको र अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने जोड दिन थाले । यी भाष्यहरुको काउन्टर भाष्य आन्दोलनकारीसंग अब हुनैपर्छ । सवाल सच्चिनेसंग सम्बन्धित छ । विगतका अनुभवहरु हामीसंग प्रशस्तै छन् र हाम्रा समस्याहरु फगत कुनै नेतृत्वको अवसरवादी चरित्र अथवा प्रवृतिसंग मात्र सम्बन्धित नरही दार्शनीकिसंग सम्बन्धित छ भन्ने बुझाईमा स्पष्ट हुनुपर्छ । त्यसैले हरेक संघर्षको दर्शन हुनेहुँदा राष्ट्रिय मुक्ति क्रान्तिको दार्शनीकि बारे करिब १५ वर्ष देखि नेपालमा चिन्तन हुँदै आयो । हाल आधारभूत तहमा राष्ट्रिय मुक्ति क्रान्तिको दार्शनीकिलाई स्वदेशवाद मार्फत बुझाउने कोशिश हुँदैछ । थप विवेचना क्रमशः हुँदैजाने विश्वास गर्न सकिन्छ । यसलाई विस्तृत कार्ययोजना मार्फत कार्यान्वयनमा लग्नुपर्ने हो । यी विषयहरु आत्मसात गर्नसके अबको आन्दोलनमा सच्चिने विकल्पहरु छन् । आन्दोलनरत पक्ष यसका लागि तयार हुनुपर्छ । तसर्थ वहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न हामी माझ सच्चिनु पर्ने परिवेश वाध्यकारी छ ।  प्रश्न उठ्छ पहिला को सच्चिनुपर्ने ? अगुवा कि समर्थक ? अवश्यमेव सच्चिनुपर्ने विषय अगुवासंग सम्बन्धित छ । यदि कथित अगुवाहरु सच्चिएर आएन भने उनीहरु राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाउन असमर्थ हुनेछन् । अझ तिनीहरु आफैंले स्वयम्लाई भ्रममा राख्ने काम गरेको हुनेछ । भनिन्छ संसय में न राम मिला न रहिम । त्यस बखत समर्थकहरु साथ छोड्दा अन्ततः सक्किने पक्का छ । तसर्थ, अबको नेतृत्वको केन्द्रिकरण व्यक्तिको स्वेच्छाले नभएर जिम्मेवारी बोधले सम्भव बनाउनुपर्छ । तब मात्र सच्चिने विषयले प्राथमिकता पाउँछ । साथ साथ सक्किने विषयले चुनौती दिइरहने परिवेशको अन्त्य हुनेछ । (लेखक समान, नेपालका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिसंग आबद्ध हुनुहुन्छ । )

 ए टीकापुरः के छ तिम्रो सुर ? 

 ए टीकापुरः के छ तिम्रो सुर ? 

३७६ दिन अगाडि

|

१६ भदौ २०८१

थरुहट प्रदेशका लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा २०७२ भदौ ७ गते टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान गएपछि थरुहट आन्दोलन एकाएक मत्थर भयो। त्यो घटनाले बदनाम भएको छ, टीकापुर। टीकापुरमाथि लागेको कलंकको टीका बिस्तारै मेटिंदै त गएको छ, तर पूर्णतया सफा भएको छैन। राज्यले थारू समुदायमाथि कलंक थोपरिदिएको टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा पनि हुन्छ। आफूमाथि लागेको कलंकको टीका मेटाउन टीकापुरले २०७४ सालको संसदीय निर्वाचनमा रेशम चौधरीलाई अत्यधिक बहुमतले विजयी गराएको थियो, राष्ट्रिय जनता पार्टी (राजपा)को चुनाव चिह्न छातामा भोट हालेर। त्यति वेला फरार सूचीमा रहेका रेशम लुकिछिपी बसिरहेका थिए। यद्यपि टीकापुर घटनाको प्रमुख सूत्रधारका रूपमा आरोपित रेशमले जनप्रतिनिधिको हैसियतले काम गर्न पाएनन्। चुनाव जितेपछि जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे। जेलबाटै झिकाइए, २०७५ पुस १९ गते सिंहदरबारमा सांसदको फुली लगाउन। तर उनले संसद्को ढोकाबाट छिर्न पाएनन्। डिल्लीबजारस्थित कारागारको चारदिवारमै सांसदको लोगो लगाएर बसे। संसद्‌मा आफू निर्दोष हुनुको हुंकार ओकल्नु थियो रेशमलाई। त्यो सम्भव भएन। आफ्नो रिहाइका लागि आफू सांसद रहेको पार्टीले ठोस भूमिका नखेलेको आरोप लगाउँदै उनले जेलबाटै नयाँ पार्टी खोल्ने घोषणा गरे। आफू संरक्षक रहेर पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचन आयोगमा दर्ता गराए, २०७८ पुस १९ मा। नाउपाले २०७९ सालको स्थानीय चुनावमा कैलालीका चार स्थानीय तह जोशीपुर, जानकी, टीकापुर र भजनीमा विजयको झन्डा गाड्यो। मेयर र गाउँपालिका अध्यक्ष सहित ९९ जना जनप्रतिनिधि जितेको नाउपा उत्साहित भयो। अझ २०७९ सालकै प्रतिनिधि सभामा नाउपाले चार जना संघीय सांसद तथा प्रदेश सभामा १२ जना सांसदको प्रतिनिधित्व गरायो। यत्तिका जनप्रतिनिधि आफ्नो बलबुताले मात्र सम्भव भएको ठानेका रेशम दम्पतीमा अहम् पलायो। जबकि यो थरुहट आन्दोलनकै देन थियो। एक अर्थमा टीकापुर घटनामा सबै थारूलाई दोषी देखेर उनीहरूको घर-पसल जलाइएको आक्रोशबाट रूपान्तरित मत थियो। रञ्जिताले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पदको पगरी लगाएपछि अनेक दबाबबीच राष्ट्रपतिबाट आममाफी पाई रेशम २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रिहा भए। तर रेशम जेलबाट रिहा भए पनि समग्र टीकापुर खुशी भएन। किनकि टीकापुर घटनामा मुछिएका अरू राजबन्दीको रिहाइ हुन बाँकी नै थियो। त्यसपछि दशैंमा सबै राजबन्दी रिहा भए। तर जजसले आफूलाई अदालतमा उपस्थित गराएनन्, उनीहरूको मुद्दा मुल्तबीमा छ। २०८१ भदौ २ मा थारू कल्याणकारी सभा (थाकस)ले प्रेस विज्ञप्ति जारी गरी थाकसका अध्यक्ष धनिराम चौधरी लगायतको मुद्दा खारेज हुनुपर्ने माग गरेको छ। उता, राष्ट्रपतिबाट आममाफी पाएका रेशमविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले सर्वोच्चमा रिट हालेका छन्। टीकापुर घटनाको सम्रग मुद्दालाई राजनीतिक करार हुनुपर्ने अभियानमा लाग्नुको सट्टा रेशम भने आफ्नो मात्रै मुद्दा खारेज हुनुपर्ने दौडधूपमा छन्। टीकापुर आन्दोलनको सबैभन्दा दुर्बल पक्ष के रह्यो भने, यसलाई राजनीतिक होइन, आपराधिक घटनाको रूप दिइयो। चाँडै छुट्ने बहानामा रेशमले आफूमाथि प्रशासनबाट लगाइएको हत्याको अभियोग सकार्दै आममाफी स्विकारे। टीकापुर घटनालाई राजनीतिक मुद्दा करार गर्दै यसमा नाम मुछिएका सबैको मुद्दा किनारा लागेको निर्णय हुन नसक्नु दुर्भाग्य हो। यसैकारण आजीवन जन्मकैद पाएको व्यक्ति कुनै दलको अध्यक्ष त के, साधारण सदस्य समेत हुन योग्य हुँदैन भन्ने परिभाषित गर्दै निर्वाचन आयोगले रेशमलाई नाउपाको अध्यक्षका रूपमा मान्यता दिएन। उनी मात्र होइन, उनको संयोजकत्वमा भएको पार्टीको महाधिवेशनलाई नै मान्यता दिएन। अगुवा खेतीपातीमा थरुहट आन्दोलनका मियो हुन्, लक्ष्मण थारू। उनले माओवादी पार्टीबाट विद्रोह गरेर ‘थरुहट प्रदेश’ को मुद्दा यथावत् राख्न निकै दौडधूप गरे। भलै बीचमा विभिन्न पार्टीमा सामेल भए। तर टीकापुर घटनामा जिल्ला अदालतको फैसलाले जम्मा साढे तीन वर्षको सजाय काटेर रिहा भएपछि उनी पुनः थरुहट आन्दोलनको बीउ जोगाउनतिर लागिपरे। मेची-महाकाली यात्रा गरे। रिहा भएर शायद उनी चूपचाप बसेको भए उच्च अदालत, दिपायलले उनको मुद्दा उल्टाएर आजीवन कैदको फैसला सुनाउने नै थिएन। मुद्दाको छिनोफानो नभएको हुँदा २०७४ सालको चुनावमा रेशम र लक्ष्मण दुवैले भाग लिन पाए। तर २०७९ सालको चुनाव प्रतिकूल रह्यो। दुवैले चुनावमा भाग लिन पाएनन्। नाउपाले गति लिन थालेपछि जेल बाहिरै रहेका लक्ष्मण नाउपाकै ब्यानरमा थरुहट आन्दोलनको बीउ जोगाउन चाहन्थे। अब लक्ष्मण पुनः शक्तिमा आउन थाले भनेर जेलमा रहेका रेशमलाई छटपटी शुरू भयो। रेशम जेलबाट रिहा भएपछि लक्ष्मण पनि उनको साथमा केही समय त विभिन्न कार्यक्रममा गए। तर त्यो सहकार्य क्षणिक मात्र रह्यो। रेशमले पार्टी अध्यक्षपछिको वरिष्ठ नेताका रूपमा लक्ष्मणको जिम्मेवारी स्विकार्ने उदारता देखाउन सकेनन्। बरु लक्ष्मण पार्टीको साधारण सदस्यसमेत नरहेको कार्यकर्तामाझ बताउन थाले। यसले लक्ष्मणको मन कुँडियो। यसै पनि आजीवन कैद पाएको व्यक्तिले चुनावै लड्न नपाउने प्रावधानपछि ‘मिसन-८४’ पनि उनका लागि व्यर्थ भयो। अन्ततः उनी खेतीपातीमा लागे। अहिले बाराको सिमरामा सपरिवार जग्गा भाडामा लिएर खेती गरिरहेका लक्ष्मण सार्वजनिक कार्यक्रममा पनि कमै उपस्थित हुन्छन्। लक्ष्मण निष्क्रिय रहेपछि समग्र थरुहट आन्दोलन नै  सुतेको जस्तो देखिएको छ। थाकसको द्विविधा शुरूदेखि नै थारू समुदायको छाता संगठन थाकस थरुहट आन्दोलन सम्बन्धमा द्विविधामा रहेको देखिन्छ। धनिराम चौधरीको वर्तमान कार्यसमिति होस् या राजकुमार लेखी महामन्त्री रहेको आठ वर्षअघिको कार्यसमिति होस्, थारू समुदायलाई मधेशीको सूचीमा समाहित गरेपछि २०६५ फागुन १८ मा लक्ष्मण थारूले थरुहट संघर्ष समितिको ब्यानरमा थरुहट आन्दोलनको उद्घोष गरी अनिश्चितकालीन तराई बन्दको घोषणा गरे। थाकसका तत्कालीन महामन्त्री राजकुमार लेखीले ‘यो केही मुट्ठीभर थारूहरूको आन्दोलन’ रहेको र यसमा थाकसको समर्थन नरहेको अभिव्यक्ति दिएका थिए। तर जब चितवनको टाँडीमा थरुहट आन्दोलनको क्रममा फागुन २२ मा कमल चौधरी र विपिन जोशी मारिए, तब लेखीले हत्तपत्त आन्दोलनमा थाकसको पनि समर्थन रहेको जनाए। अझ दाङको लमहीस्थित लठ्ठहवामा थरुहट आन्दोलनका क्रममा रामप्रसाद चौधरी र प्रकाश चौधरीको फागुन ३० मा ज्यान गएपछि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकार २०६५ चैत १ मा ६ बुँदे सम्झौता गर्न बाध्य भयो। त्यस वेला आन्दोलनको उठान गर्ने लक्ष्मण थारूलाई बाइपास गर्दै सरकारसँगको सम्झौतामा राजकुमार लेखी र माओवादीका इन्द्रजीत थारू दौडिएका थिए। निकै पछि थाहा पाएर लक्ष्मण, गोपाल दहितको टोली पनि बालुवाटार पुगेको थियो। पहिलो चरणको थरुहट आन्दोलनमा लेखीको रवैया ठीक नरहेको अध्येता प्रेमप्रकाश चौधरीको विश्लेषण थाकसको मुखपत्र थारू संस्कृति (२०६९ माघ, अंक २३) मा छापिएपछि लेखीले त्यो अंक नै जफत गरे, बजारमा पठाएनन्। लक्ष्मण थारू रिहा भएपछि दोस्रो चरणको थरुहट आन्दोलन अघि बढ्यो, तर त्यसमा थाकसको संग्लनता भएन। थाकसका वर्तमान सहमहामन्त्री मिनराज चौधरी लक्ष्मण थारूले अगुवाइ गरेको थरुहट थारूवान संयुक्त संघर्ष समितिको आन्दोलनमा सक्रिय भएपछि थाकसले उनीसँग स्पष्टीकरण समेत लिएको थियो। थाकसको भनाइ थियो- संघर्ष समितिको संयोजक हामी छौं, अनि अरूले अगुवाइ गरेको अवैध आन्दोलनमा किन सहभागी हुने? थाकस केन्द्रले प्रत्येक भदौ ७ मा सामान्य विज्ञप्ति मात्रै निकालेर झारा टर्ने गरेको छ। उसले आफ्नो प्रत्येक जिल्ला समितिलाई भदौ ७ गतेको सम्झनामा कार्यक्रम गर्न त भनेको छ, (हेर्नुहोस् विज्ञप्ति) तर विद्रोह दिवस र कालो दिवस भन्दै लेखिएको विज्ञप्तिमा नै अलमल र द्विविधा देखिन्थ्यो । भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कर्फ्यूको समयमा पनि थारू समुदायको व्यक्तिका घर छानीछानी प्रशासनको जोडबलमा आगजनी गरिएको दिनलाई कालो दिवस भनेर मनाइनुपर्ने हो। यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो, थाकसले। कुन विद्रोहको दिन, कुन कालो दिन निर्क्योल गर्न नसक्ने नेतृत्वले समग्र आन्दोलनलाई नयाँ दिशामा लैजानेमा आशंका छ। टीकापुर मुद्दा लागेपछि अर्धभूमिगत भएका धनिराम चौधरीलाई थरुहट आन्दोलनकै अगुवाइ गरेकाले भागाभागको स्थिति रहेको भन्दै उनलाई दुई कार्यकाल थाकसको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइयो। तर उनले समग्र नेतृत्वका लागि माखो मारेनन्। आफूमाथि थप ‘चार्ज’ लाग्ने डरले आन्दोलनको कुनै खाका बनाएनन्, बनाउन लगाएनन्। समुदायको छाता संगठनको निदाएको भेषले समग्र थारू समुदायको नेतृत्व नै सेलाएको छ। उपलब्धि विनाको थारू आयोग धेरैले थरुहट आन्दोलनको ज्वारभाटाले थारू आयोग गठन भएकोलाई ठूलो उपलब्धि ठानेका छन्। तर सिफारिश मात्रै गर्ने अधिकार भएको आयोग ‘हात्तीको देखाउने दाँत’ मात्रका रूपमा अस्तित्वमा छ। उता, आदिवासी जनजाति क्लस्टरमा थारूले छुट्टै कोटामा लोक सेवा आयोगमा लड्न पाउने प्रावधानलाई पनि अर्को उपलब्धि ठानिएको छ। तर दु:खद के हो भने, यसलाई अहिलेसम्म कार्यान्वयनमा लगिएको छैन। संघीय मामिला तथा संसदीय व्यवस्थामन्त्री रहेको वेला अमनलाल मोदीले संघीय निजामती ऐन पारित गराउन, त्यसमा थारू क्लस्टर छुट्याउन निकै जोडबल गरेका थिए, तर सकेनन्। त्यसो त थाकसले सरकारबाट विभिन्न विज्ञापन छुट्याएकोमा यसमा थारू क्लस्टर नछुट्याएर विज्ञापन गरिएकाले रद्द गरिनुपर्ने भन्दै कैयौं पटक सर्वोच्च अदालतमा रिट हालेको छ। तर सर्वोच्चले अग्राधिकार दिए पनि निर्णय गरेको छैन। त्यस्तै, थारू छुट्टिएर गए भनेर अन्य आदिवासी जनजाति संगठनले साथ दिएका छैनन्। यसले पनि थरुहट आन्दोलनको उभारलाई असर गरेको तीतो यथार्थ हो। रेशम-रञ्जिताको बाझाबाझ  रेशम-रञ्जिता दम्पतीको व्यक्तिगत लोकप्रियताका कारण नाउपाले उपलब्धि पाएको गलत बुझाइले थरुहट आन्दोलनको बीउ सुक्नु अर्को कारण हो। थरुहट आन्दोलनका अन्य अगुवा योगेन्द्र चौधरी, डा. गोपाल दहित (हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य) आन्दोलनको ‘अ’ उच्चारण गरिरहेका छैनन्। उता, गंगा चौधरी एमालेबाट गत चुनावमा बागी उम्मेदवार भई गुमनाम छिन्। रुक्मिणी चौधरी थाकसको संगठन मन्त्री भई चलायमान हुन खोज्दै त छिन्, तर थाकस नै आन्दोलनको सवालमा मौन छ। थरुहट आन्दोलन उभारमा रहेकै कारण २०७० सालको संविधानसभादेखि अन्य चुनावमा थारू नेताहरूले टिकटमा राम्रै अवसर पाए। लुम्बिनी प्रदेशमा त थारू नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नै भए। सुदूरपश्चिममा पनि थारू नेतालाई मुख्यमन्त्री बन्ने अवसर आएको थियो, तर नाउपाको आन्तरिक घरझगडाका कारण गुम्यो। थरुहट आन्दोलन सेलायो भने अब इतिहासमा अर्को मुख्यमन्त्री थारू समुदायले पाउनेवाला छैन। टीकापुरले अझैसम्म दोहोर्‍याएर कुनै जनप्रतिनिधि जिताएको इतिहास छैन। अब अर्को चुनावमा त रेशमले उम्मेदवारी नै दिन पाउँदैनन्। रञ्जितासँग सामान्य राजनीतिक र अझ बढी पारिवारिक झमेलाले अर्को पार्टी गठन गर्ने सुरसारमा छन्, रेशम। यसरी ‘मिसन-८४’ मा नाउपा अब इतिहासको एउटा कालखण्डमा मात्र सीमित हुन बेर छैन। थरुहट आन्दोलनको बीउ नजोगाउने हो भने समग्रमा सुदूरपश्चिममा १८ प्रतिशत तथा लुम्बिनीमा १४ प्रतिशत जनसंख्या रहेको थारूले जातीय जनसंख्याको अनुपातमा निजामती सेवामा सहभागी हुने सुनिश्चितता हुँदैन। राज्यले थरुहट प्रदेश त दिएन, अब अधिकार पनि दिन कन्जुस्याइँ गर्दै छ भनेर थारू समुदायमा चस्को त पसेको छ, तर बृहत् थरुहट आन्दोलनको महसूस उनीहरूले गर्न सकिरहेका छैनन्। थरुहट प्रदेशको मुद्दालाई यथावत् राख्नुको सट्टा थरुहट आन्दोलन नै सेलाउनुको कारण खोज्न ढिलो भइसकेको छ। यही मंसिरको पहिलो साता भैरहवामा थाकसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ, यसले आन्दोलनको कुनै खाका ल्याउँछ/ल्याउँदैन, थरुहट आन्दोलनको बीउ जोगाउँछ/जोगाउँदैन त्यो चाहिं हेर्न बाँकी छ। गर्ने, नगर्ने थरुहट आन्दोलन  ए टीकापुरः के छ तिम्रो सुर ?  (थारू लेखक संघका अध्यक्ष सर्वहारीको गणेश चौधरी संगको सहकार्यमा थरुहट आन्दोलन: टीकापुर कथा (२०७३) पुस्तक प्रकाशित छ।) हिमाल खबर डटकमबाट (शीर्षक परिवर्तन गरिएको) थाकसले जारी गरेको विज्ञप्ति।

लोकतन्त्रको खेतीकिसानी चेहरा 

लोकतन्त्रको खेतीकिसानी चेहरा 

३८६ दिन अगाडि

|

६ भदौ २०८१

चन्द्रकिशोर कसैको आँखाबाट आँसु नझर्दै, किसानहरूको आत्महत्या वा स्वनिर्वासनबिना पनि के विवेकपूर्ण विकास सम्भव छैन ? महत्त्वपूर्ण कुरा हो खेतीकिसानीमा संलग्नहरूको भोगाइ सुन्नु र त्यसमा लुकेका सूचनालाई व्यापक क्यानभासमा हेर्नु । खेती गर्ने बेलामा पानी नपर्दा के भयो ? अल्प वर्षा वा अति वर्षाले किसानले के बेहोर्नुपर्‍यो ? सूचकांकले पानी राम्रै परेको मौसम बताइरहँदा बोरिङबाट सिँचाइ गरेर धान रोपाइँ गर्नुपर्ने नौबत किन आयो ? बोरिङले पटान गर्दा लागत खर्चको गुणा–भागले गृहस्थीको भाग्यफलमा कत्तिको परकम्प दियो ? खेतमा बाढीको पानी कसरी, कति र कस्तो आयो ? धान रोपाइँपछि उचित समयमा उचित पानी नहुँदा उत्पादनमा के असर पर्‍यो ? छेवैको नहरबाट परेको बेला पानी पाइयो कि ? यी छोटा छोटा प्रश्नले खेतीकिसानीमा संलग्नहरूको सपनामा पूर्णविराम लगाउँछ । उसो त यी प्रश्नहरूले सत्ता समीकरणको संख्या बलमा असर पुर्‍याउँदैन । सत्तावृत्तमा यस प्रकारका प्रश्न सुन्ने–बुझ्ने कुनै प्रभावकारी तन्त्र छैन पनि । के यो खेती प्रणालीमा अनियमितता–अनिश्चितता नयाँ हो ? तर यस्तो अवस्था पहिला थिएन । रहेको भए तराईले ‘अन्नको टोकरी’ को चिनारी कसरी पाउँथ्यो होला ? देहात नेपालको चक्रबिन्दु हो । देहातबाट सुरु हुने छोटो लहरबाट वा वर्तुल (घेरा) बाट ठूल्ठूला वर्तुल बनेर फैलिँदै चहुँओर पुग्छ । यही नै अर्थव्यवस्थाको आधार हुनुपर्ने हो । यहींबाट नै लोकतन्त्रको बाटो देखिनुपर्ने हो । किसान अन्न उब्जाउँछ तर मूल्य उसले निर्धारण गर्दैन, बिचौलियाले तय गर्छ । ठूलो माछाले सानो माछालाई चपाएर तन्दुरुस्त बन्ने क्रम छ । अनुत्पादकहरूको बिगबिगी बाक्लिएको छ । यता अनेकौं झञ्झावात सहेर डटेका किसानका लागि खेतीको तात्पर्य खेत बाँझो नरहोस् भन्ने हो । उता खेतीहर मजदुरका लागि खेतीको अर्थ र उद्देश्य भुखमाथि काबु पाउनु हो । एक प्रौढ किसानले रोचक अनुभव सुनाए । धान रोपाइँका बेला पनपियाई खाने बेला मजदुरसँग सोधे– ‘खेतीको पहिलो उद्देश्य के हो ?’ कसैले भने– ‘किनेर वा ऋण लिएर खानु नपरोस् ।’ केही बेरको गन्थनपछि निष्कर्ष निस्कियो– ‘खाद्यान्न निर्भरता र आम्दानी नै हो ।’ फेरि सोधियो– ‘यो दुइटै लक्ष्य पूरा हुँदै छ त ?’ सबैले एक स्वरमा भने– ‘त्यो त हुँदैन । कमसेकम एउटा त हुन्छ होला– खान पुगे त हुन्थ्यो, त्यो पनि वर्षभरि धान्दैन ।’ कुरा चल्दै जाँदा मजदुरहरूले स्विकारे कि यही कारण हो अबको नयाँ पुस्ता खेतीमा कमाउन चाहँदैन बरु हरियाणा पञ्जाबको खेत–आली चहार्छ । अत्यन्त अप्ठ्यारोपन सहन्छ, यताभन्दा चर्को घाम–चिसो सहन्छ तर आफ्नो थातथलोको खेतमा पसिना बगाउन चाहँदैन । जोसँग सञ्चित पैसा छ, जो ऋणको जोहो गर्न सक्छ, त्यस्ताहरू त प्लेन चढेर कमाउन जान्छन् । जोसँग आफ्नै वरिपरि बाह्रै महिना थेग्ने रोजगारी छैन, जो ऋण पनि जुटाउन सक्दैन, त्यस्तामध्येको ठूलो हिस्सा मजदुर भएर भारततिर जान्छन् । भारततिर कमाउन गएकाहरूले ज्यान गुमाउँदा वा अपांग हुँदा त्यहाँको मालिकको मर्जीमा क्षतिपूर्ति पाउँछन्, मर्नेहरूको त उतै सद्गति हुन्छ । यस्ता कुरा मिडिया वा कुनै शोधखोजमा समेत पर्दैन । गाउँघरमै रहनेहरू खेतीभन्दा बरु पूर्वाधार निर्माण, सीमावर्ती मूल्यान्तरको कारोबारमा भरिया वा अन्य उद्योग व्यापारमा खटिएका हुन्छन् । खेती–मजदुरीभन्दा उनीहरूले नै आकर्षक पारिश्रमिक पाउँछन् । खेतीमा आबद्ध साना किसान ती हुन्, जो खाद्यान्न उत्पादनका लागि आफू स्वयंको श्रम प्रबन्ध र संसाधनमाथि निर्भर रहन्छन्, यिनीहरूको पीडा आफ्नै छ । अहिलेको पारम्परिक खेती प्रणाली पूरै विस्थापित पनि भएको छैन । बदलावको आवरणमा जे आएको छ, त्यो हो हलोको साटो ट्र्याक्टर । किसानको बीजको मामिलामा आत्मनिर्भरता कम हुँदै गयो । उल्टै तिनीमाथि बीजको खर्चको बोझ थपिएको छ । रासायनिक खाद र विषादीको प्रयोग विकल्परहित मानियो । बहुबालीको ठाउँमा दुईतीन बालीको चलनले प्रश्रय पायो । मजदुरको अभावमा जेनतेन खेती गरियो । यो हो फेरिएको खेती व्याकरण । यसले न पेट पाल्न सकियो, न त विषान्न खाएर डस्न आइपुगेका अनेकथरीका रोगहरूबाट उन्मुक्ति हुने भइयो । गाउँघरमै रहनेहरू खेतीभन्दा बरु पूर्वाधार निर्माण, सीमावर्ती मूल्यान्तरको कारोबारमा भरिया वा अन्य उद्योग व्यापारमा खटिएका हुन्छन् । खेती–मजदुरीभन्दा उनीहरूले नै आकर्षक पारिश्रमिक पाउँछन् । खेतीमा आबद्ध साना किसान ती हुन्, जो खाद्यान्न उत्पादनका लागि आफू स्वयंको श्रम प्रबन्ध र संसाधनमाथि निर्भर रहन्छन्, यिनीहरूको पीडा आफ्नै छ । किसान–मजदुरमा अंकुरित आत्महत्या प्रवृत्ति, देहातबाट हुँदै गरेको भागदौड तथा सहरी क्षेत्रमा देहाती मजदुरको बाक्लिएको उपस्थितिले भत्किँदै गरेको ग्रामीण अर्थव्यवस्थातर्फ इसारा गर्छ तर यो सिंगो सत्य होइन । खेतीकिसानीमा संलग्नहरूको संघर्षलाई केवल बाँच्नका लागि गरिएको संघर्षमा अनुवाद गरिदिएर मौजुदा अर्थव्यवस्था र शासनतन्त्र आफ्ना लागि सहजतापूर्वक कैयौं समस्याको निदान गर्न पुग्छ । यो षड्यन्त्रलाई खेतीतन्त्र कोल्याप्स भयो भनेर भाष्य रच्नु भनेको सत्यतथ्यलाई च्यातेर प्रस्तुत गर्नु हो । लोकतन्त्रभित्र नागरिक बन्न नदिने व्यूह रचना हो यो । जनाकांक्षा र राजनीतिको आकांक्षा निःसन्देह आजको मितिमा एकअर्काको प्रतिकूल छ । दुइटैको दुनियाँ नै भिन्न छ । एकअर्काबीच आपसी सम्बन्ध र परस्पर निर्भरताको कुरा यहाँ परिलक्षित हुँदैन । एकअर्काको आकांक्षाको सम्मान र स्वस्थ विकासमूलक दृष्टिलाई अगाडि ल्याउने सोच र सपना वर्तमान राजनीतिक हालतमा पल्लवित र पुष्पित हुन सक्दैन । आजको सत्ता र शक्ति नागनाथको ठाउँमा सर्पनाथमा हस्तान्तरित भए पनि भुइँमान्छेहरू उत्साहित देखिँदैनन् । किनभने उनीहरूलाई थाहा भइसकेको छ, यी नागनाथ–सापनाथहरूलाई चलाउने केही ‘लाठीनाथ–डन्डानाथ’ हरूको वृत्त ऐजन–ऐजन नै रहँदै आएको हो । यहाँको समाज पुस्तैनी खेती गर्नेहरूको हो । सामाजिक बनोट, रीतिरिवाज, संस्कृति, परिधान, पशुपालन, पोखरी–नदी संरक्षण, वृक्षरोपण तथा जीवनका अनेक आयाम कृषिसँग जोडिएको छ । कृषि अर्थव्यवस्था यहाँको जीवनदायिनी रहेको छ । यहाँको पर्व, अनुष्ठान, मेला जात्रा, लोक साहित्य कृषिमाथि आधारित छ । यसैले यहाँको अर्थव्यवस्थालाई कृषिसँग गहन एवं सघनसँग गाँसेर बुझ्नुपर्छ । कृषिसँग आबद्ध एक ठूलो तप्कालाई यसबाट विलगावले कसको हितरक्षा गर्‍यो ? कृषि कर्मलाई पछौटेपन, कम लाभ वा घाटामा राख्दा दबाबमा बाहिरिएका जनशक्तिले कसको कारोबारलाई भरथेग गरिरहेको छ ? आजको आवश्यकता आफ्नै थातथलोमा आधारभूत सुविधाको उपलब्धता हो । समकालीन बहसमा यस्तो कुनै अवधारणा देखिँदैन, जसले यो संक्रमित खेती प्रणालीको विकल्प दिन सकोस्, जो प्रकृति र संस्कृतिमैत्री होस् । जे जहाँ आधुनिक कृषि व्यवस्था भनिएर कार्यान्वयनमा छ, त्यहाँ यसका विरुद्ध आक्रोश अलगअलग रूपमा घनीभूत हुँदै छ । देशज ज्ञानलाई तिरोहित गरेर ल्याइने योजना वास्तविक किसानलाई किनारामा धकेल्ने नै हुन्छ । यतिखेर तराईका सहरहरूमा पानीको संकट देखापर्दा ‘यो त क्रंक्रिटको अति प्रयोगले रिचार्ज गर्न नै दिएन’ भन्ने तर्कका छाल उठे । गाउँदेहातमा त अझै रिचार्ज हुने प्रशस्त ठाउँ छन्, त्यहाँ पानीको संकट कसरी आयो ? चित्तबुझ्दो जवाफ छैन । जलजीवी विज्ञहरू आआफ्ना निष्ठाका आधारमा जवाफ फुराउँछन् । आजभोलि प्रचुर मात्रामा भुजल दोहनको वकालत हुन थालेको छ । ‘इरिगेसन’ पम्पलाई भरपर्दो बताइँदै छ । भुजलको सतह झन् खस्किए के गर्ने ? झारफुकको कर्मकाण्डमा लिप्त हुनेहरू जवाफ दिन चाहँदैनन् । सुप्रसिद्ध गान्धीवादी अर्थशास्त्री जेसी कुमारप्पासँग भेट्न जब साठीको दशकमा भारतीय केन्द्रीय योजनामन्त्री आए र आफ्नो पञ्चवर्षीय योजनाको सफलताको विषयमा बताउन थाले । तब भनिन्छ, कुमारप्पाले खेतमा काम गर्दै गरेका एक मजदुरलाई नजिक बोलाए । तिनको छातीमा उभार लागेको हड्डीहरूतर्फ औंला देखाउँदै भने रे, ‘यो छातीमा उभार लिएको अस्थिपन्जरमाथि कति मासु चढ्यो ? यसकै आधारमा म योजनाहरूको सफलताको गणित बुझ्छु । नभए मलाई शुष्क तथ्यांकहरूमा कुनै भरोसा छैन । तथ्यांकलाई म प्रगतिको आधार मान्दिनँ ।’ ‘डेभलपमेन्ट विदाउट टिअर्स ।’ कसैको आँखाबाट आँसु नझर्दै, किसानहरूको आत्महत्या वा स्वनिर्वासनबिना के विवेकपूर्ण विकास सम्भव छैन ? महत्त्वपूर्ण कुरा हो खेतीकिसानीमा संलग्नहरूको भोगाइ सुन्ने र त्यसमा लुकेका सूचनालाई व्यापक क्यानभासमा हेर्ने । कोही किसान जब बताउँछन्, ‘जबदेखि खेतमा युरिया, डीएपी हाल्न थालें, सुरुमा उब्जनी देखेर हौसिएँ तर यो रासायनिक मल त मिटरब्याजी जस्तो हुँदो रहेछ, बर्सेनि मात्रा बढाउँदै जानुपर्ने । अब न त माटो साबिकको जस्तो रह्यो न पुरानो स्वाद नै । बित्थामा बित्यो यो रासायनिक खादको गोलचक्कर ।’ भारतको पञ्जाबमा पचासको दशकमा हरित क्रान्ति भयो, अधिकांश उब्जाउ भूमिमा सुनिश्चित सिँचाइ छ, उत्पादकता हासिल गर्‍यो तर पनि यो भारतीय प्रदेश किन किसानहरूको आत्महत्याको केन्द्र बन्यो ? हाम्रा खेत, किसान र कृषि श्रमिकका बारेमा यहींका परिप्रेक्ष्यमा लोकविमर्श चाहिएको छ । बयल र ऊँटका बीच समानस्तरमा हुने गरेको प्रतियोगिताको नतिजा हामी सबैलाई थाहा छ । सानो र अग्लो कदको बयललाई एकसाथ हलो वा गाडीमा जोत्ने चलन देहातमा पनि छैन । तर बयल र ऊँट, सानो र अग्लो कदको बयलको पहिचान त सही तरिकाले हुनुपर्‍यो । पहिचानको यो प्रक्रिया ठीक छैन भने नतिजामा परिवर्तन आउने कल्पना बेकार हो । कान्तिपुरबाट ।

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

३८९ दिन अगाडि

|

३ भदौ २०८१

                                                                                                                                                               तस्विर साभारः हिमाल खबर । किन टीकापुर थारू विद्रोह राजनीतिक ? अनि राजनीतिक विद्रोह हुँदासमेत किन दुनियाँको नजरमा अपराधी करार ? आज उपरोक्त सवाल गौण बने । बंगलादेशको तख्तापटक विद्रोहको जगमा भएर अहिले शेख हसिना वेगम भारतमा शरणार्थी बन्नु नेपालको सन्दर्भमा असान्दर्भिक हुन सक्ला तर गोर्खाली राज्यसत्ता सन् २०१५ को नयाँ विधानमार्फत् जोगिने सम्भावना क्षीण हुँदैछ । यो विधान जारी गर्दै गर्दा नेपालमा राज्यविहीन राष्ट्रहरु असोज तीन–कालो दिन भन्दै विरोध गरे । एक दशकको शासन अवधिमा यहाँका राज्यसम्भ्रान्तहरु विधान पुनर्विचार गर्ने ठाउँमा पुगेका छन् भन्ने हालको सरकारी मोर्चाको कथन उनीहरुको ७ बुँदे सम्झौताबाट बुझ्न सकिन्छ । टीकापुर थारू विद्रोह रोक्न कैलाली जिल्लालाई दुई भागमा विभाजन गरेर पनि सहज बनाउन सकिने अवस्था थिएन । त्यहाँ स्वार्थको टकराव छ भन्ने राज्यसम्भ्रान्तहरुको मनमष्तिष्कमा थियो नै । साथै, गोर्खाली राज्यसत्ता बलियो बनाउन खस मनोविज्ञानलाई समेट्नुपर्ने अनिवार्यता थियो । प्रष्टै छ कि सुविधाअनुसार यहाँका राज्यसम्भ्रान्तहरु आफ्नो नश्लको रक्षा गर्न पुग्दा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा एकल नश्लीय शासनले निरन्तरता पायो । त्यही शासन व्यवस्थाले नै राज्यविहीन राष्ट्रको लागि राष्ट्रिय मुक्ति क्रान्ति जन्माउने आधार प्रदान गर्यो ।  मौजुदा राज्यसत्ताको निरन्तरता हालको विधानमा नै आर्यखसको परिभाषा समावेश गरी राज्यसम्भ्रान्तले दिएको सिद्धान्ततः स्वीकार गर्नुपर्ने हुन्छ । साथै, गाईलाई राष्ट्रिय जनावरलगायत अन्य विभिन्न चिन्हहरुमार्फत् राज्यको औपनिवेशिक चरित्र निर्धारण गर्दा थारू मासिन्या मतवाली भएरै बाँच्नुपर्ने भयो । एक्काइशौं शताब्दीको राजनीतिमा र त्यसमा पनि जनयुद्धमा सहभागी भएर यी सब बदल्छु भनी जुर्मुराएका वगाल उपनिवेश स्वीकार गर्नुपर्ने कुनै कारण थिएन । यही मनोदशा तथा स्वस्फूर्तताको बलमा गोर्खाली राज्यसत्तासंग पैठेजोरी खेल्न तयार भए थारूहरु ।  किसान विद्रोहलगायत सबैजसो लोकतान्त्रिक आन्दोलनहरुमा भौतिक तथा नैतिक रुपमा नै संघर्षरत थारूहरु  दासत्वबाट मुक्तिको लागि कमैया प्रथा उन्मुलन गर्न पहलकदमी लिए । लोकतन्त्र पुनः स्थापना भएको दश वर्षपश्चात २०५७ साल साउन २ गते नेपाल सरकारले  कमैया प्रथा उन्मुलन घोषणा गर्दा मुहारमा खुशी थियो । तर, मष्तिष्कमा समस्याको बोझ लिई पूर्व मालिकको घरबाट निकालिए । उनीहरु लामो समय जंगल, स्कूल तथा त्यस्तै अन्य ठाउँमा शिविर बनाएर जीवन बिताउन विताए । यी र यसखाले पीडा यथार्थमा कमलहरी बसेका छोरीहरुको समेत रह्यो । यहाँ राज्य नश्लवादी भएको कारण पुस्तौं कमैया तथा कमलहरी राख्ने जमिन्दार÷किसानहरु तथा शहरिया मालिकहरु नाफामा  रहेको देखियो ।  मुक्त कमैयाहरु व्यवस्थित गरिनुपर्ने जिम्मेवारीबाट राज्य चुकेपश्चात उनीहरु आफ्नो रिस फेर्न माओवादी जनयुद्धमा सामेल भएका थिए । जनयुद्धमा लागेकाहरु बर्दियामा मात्रै सयौं वेपत्ता पारिए । तर सरकार वेपत्ता रहेका व्यक्ति तथा संक्रमणकालीन न्यायसम्बन्धि आयोग गठन गर्दासमेत काम अगाडि बढ्न नसकेको सत्य हो । परिणाम के रह्यो भने सन् २०१५ मा नयाँ विधान जारी गर्दा संक्रमणकाल लम्बियो । अहिले पनि संक्रमणकालको अवस्था कायम रहेको  हाम्रो देशको राजनीतिले पुष्टि गर्छ । टीकापुर थारू विद्रोह हुँदाको बखत कथित संविधानसभाका प्रमुख चार दलले १६ बुँदे सहमति गरेकोे थियो । ती १६ बुँदे सहमतिले १२ बुँदे दिल्ली सम्झौता विस्थापन हुन पुग्यो । यसको प्रभाव विधानको खेस्रामा देखिई सकेको कारण त्यसको विरोध हुनु राजनीतिक कर्म थियो भने राज्यद्वारा विभिन्न ठाउँमा थारूलाई प्रतिबन्धित गर्न खोज्नु नै टकरावको कारण बन्यो । तर, अखण्ड सुदूरपश्चिमसंगको दुश्मनी देखाएर थारूसंग यो राज्यले वेइमानी गर्यो । प्रतिरोध गर्दा २०७२ भदौ ७ गते टीकापुरमा राज्यसंग थारू समुदाय आमने सामने हुन पुगे । यसलाई गैरराजनीतिक तथा अपराधिक घटना भनी यहाँका राष्ट्रिय मिडियामार्फत् पटक पटक लेख्न र बोल्न लगाउनु शासकीय उन्माद थियो । अर्को अर्थमा यो विद्रोह स्थीर गोर्खाली राज्यसत्ता विरुद्ध भयो । त्यसैले सेनाको गस्ती बढाएर त्यस क्षेत्रमा राज्यले आतंकित बनाउने काम गरे । साथै कफ्र्यूको समयमा टीकापुर बजारका थारू व्यापारीहरुको पसल लुटपाट र आगजनी गर्ने काम गरेको थियो ।  थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । उपरोक्त यी यथार्थपरक विश्लेषणले थारू समुदायको संरचनागत पक्ष उजागर गर्न सकिन्छ तर एजेन्सी निर्माणको काममा कुनै योगदान दिन नसकेपश्चात थारूहरु उही प्रतिरोधका मनोविज्ञान बोकी माग र मुद्दामा संघर्ष केन्द्रित गर्नुपर्ने भएको छ । त्यसले थारू आन्दोलन जारी रहेको सन्देश दिन्छ । यस परिवेशमा थारू आन्दोलन पुनर्गठन गर्नुपर्ने विषय बहसमा आउनुपर्छ ।  एजेन्सीमार्फत् थारूको प्रतिरोधको मनोविज्ञानको सिमा पार गरी प्रोएक्टिभ भूमिका निर्वाह गर्न तयार हुनैपर्छ । यसले बदलिएको राजनीतिक पाराडाइमअनुसार सही भूमिकाका लागि योग्य बनाउँछ । यी अभियान निरन्तर चलाएर संघर्षमा जोड दिने कार्यदिशासंग जोड्न सक्नुपर्छ । टीकापुर थारू विद्रोह हुँदा पहिचान आन्दोलन आरक्षणकै वरिपरि घुमिरह्यो । स्वायत्तता तथा आत्मनिर्णयको अधिकार कुनै तयारी नै नगरी सडकमा उठाउने काम गरियो । फरक यति भयो कि थारू समुदाय सुदूरपश्चिम प्रदेश चाहेकै होइन भन्ने सन्देश दिनु थियो । तर थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । यही ठाउँमा थारू विद्रोहको मर्म उपर प्रहार भयो । यसको वाइप्रडक्टको रुपमा भदौ ७ को थारू विद्रोह हो भनी बुझाउँदा अतिशयोक्ति नहोला । कारण नागरिक उन्मुक्ति पार्टी खोलेर चुनावी प्रतिस्पर्धा गर्दासमेत एजेन्सी निर्माणमा योगदान गर्न सकेन । त्यसैले, हामी थारू विद्रोहको विषयमा वहस गर्दा कन्भर्जेन्सको दृष्टिकोणबाट आन्दोलनको पहल लिन चुकिरहेका छौं । पटक पटक संघर्षमा निराश हुने गरी प्रतिरोधको गोलचक्करमा फँसिरहने हो भने सम्बन्धित समाजको नेतृत्व  गर्न असान्दर्भिक हुँदै गएको भन्न सकिन्छ । थारू आन्दोलनकारी अब “ट्राइल एण्ड इरर” को निरन्तरता दिने पक्षमा छैनन् । उनीहरु अब किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्व खोजी गर्दै आन्दोलनमा सामेल हुन चाहेका छन् । गोर्खाली राज्यसत्तासंग टीकापुर थारू विद्रोहमार्फत् पैठेजोरी खेल्नुपर्ने कारणको मिमांशा हुनुपर्छ । साथै, स्वशासनको आकंक्षा उनीहरुको नैसर्गिक हक भएको कारण आत्मनिर्णयको अधिकार उपयोग गर्न नयाँ शासन व्यवस्थाप्रति आकर्षित हुँदैछन् । यस अर्थमा थारू आन्दोलन प्रतिरक्षाको घेरा तोडेर अब प्रोएक्टिभ हुन जरुरी छ । त्यसको लागि हो, एजेन्सी निर्माणको महत्वपूर्ण काम र राष्ट्रिय चेतनाको अनिवार्यता । जुन समुदायलाई बदल्ने कोशिश गरिआयौं, हामीले ती सम्बन्धित समुदायको विश्लेषण सही तवरले गर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न जीवितै छ । अझ ती सम्बन्धित समुदायले भोग्दै आएका समस्याहरुको राजनीतिक समाधान दिन कुन ज्ञान प्रणालीको सहारा लिंदै आयौं त ? उदार पूँजीवाद तथा मार्क्सवादको वैचारिकी अभ्यास गर्दा पनि राज्य व्यवस्था एकल नश्लीय कसरी बन्यो नेपालमा ? त्यसले नयाँ नेपालको अवधारणालाई कहाँ र कसरी अवरुद्ध बनायो ? अध्येता सीके लालको सोच पत्र नेपालीय हुनलाई पढे केही निश्चित निष्कर्ष थाहा लाग्न सक्छ । उक्त सोच पत्रमा उल्लेखित विषय नेपालको सन्दर्भमा विचारणीय छ र राष्ट्रियता दावीको विषय फगत आरक्षण प्राप्त गर्न हुँदै होइन भनेर बुझ्नुपर्छ ।  टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । ट्रयाक टु डिप्लोमेसीमा एक सिंगे गैंडा उपहार दिने परम्परा भएको देशमा नेपाली हुने आधार त स्थापित भइसक्यो, त्यसलाई आधात पुर्याउने काम पो गर्न भएन भन्ने मान्यता यद्यापि कायम छ । तर, पहिचानको वहस तर्कबाट नभएर भावनाबाट उत्पन्न हुने गर्छ भनि बुझाउन पो यहाँ कठीन छ (लाल, पृष्ठ ७) ।  अन्त्यमा, नेपाल वहुलराष्ट्रिय राज्य भएको तथ्य ढाकछोप गर्दैमा निराधार बन्दैन । यहाँ थारू तीमध्ये एक विशिष्ट राष्ट्र भएको बुझ्नुपर्छ । सोही आधारमा आत्मनिर्णयको अधिकारसहित स्वशासन हुनुपर्ने पक्षमा थारू समुदाय लगातार उभिई रह्यो । यो नेपालमा उठेको जातीय प्रश्नको समाधान पनि हो । थारू अब समस्याको समाधानकर्ताको रुपमा पहलकदमी लिन सक्नु पर्छ । राष्ट्रिय मुक्ति क्रान्ति त्यसको सशक्त साधन बन्न तयार छ ।  सारमा, टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । राज्य त लाल आयोग प्रतिवेदन लुकाएर भए पनि थारूलगायत तराई मधेशको अन्य विविध स्थानमा भएका आन्दोलनमा भएको ज्यादती ढाकछोप गर्नमै व्यस्त छ । राज्य सम्भ्रान्तको छलछामको पुरानै परम्परा कायम राख्न चाहन्छ ।  लेखक समान नेपालका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिसंग आबद्ध हुनुहुन्छ । 

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

३९२ दिन अगाडि

|

३२ साउन २०८१

“राजाको ऐनभन्दा खोलाको चैन ठूलो” भन्ने उखानलाई हुम्लाका धामीहरूले सार्थक बनाएका छन् । यहाँ शदीयौंदेखि दैवी न्याय प्रणालीबाट फौजदारी र देवानी मुद्धाहरू छिनोफानो गर्ने गरेका छन् ।  सरकारले नागरिकलाई विभिन्न मानवीय यातना र असुरक्षाबाट सुरक्षा दिन आवश्यता अनुसारका विभिन्न निकायहरू गठन गर्ने गर्दछ । ती तत् तत् निकायहरूले समाजमा शान्ति, सुरक्षा, अमनचयन, पादर्शिता, जवाफदेहिता र भ्रष्टचारमुक्त समाज निर्माणमा सहयोग गर्दछन् । तर नेपालमा सरकारको दुरदृष्टिको अभाव भनौं कि अझै पनि केन्द्रीकृत नीतिको परिणाम भनौं राजधानी र मोफसलमा यस्तो भिन्नता ज्यादै गहिरो खाडलको रुपमा देखापरेको छ र रहेको छ पनि ।  हुम्ला मात्र नभएर कर्नाली प्रदेश जस्ता नेपालका विभिन्न मोफसलका क्षेत्रहरुमा जातिगत, भाषागत, संस्कारगत र अन्य प्रथाजन्य प्रचलनहरूले पनि दैनिक तथा सामाजिक रुपमा आइपर्ने ज्योतिषी, ग्रहदशा, विवाह, ब्रतबन्ध, मुद्धामामिला र अन्य कुराहरू गाउँठाउँका प्रशिद्ध देवताहरू “कालोसिल्तो, रामपाल, हंसपाल, बेताल, मस्टो, कैलास, महादेव, सर्की, ल्वासुर, हिल्छो, महाकाल, गुरा र मदानु” विभिन्न देवताका धामीहरूले छिनोफानो गर्ने गरिएको छ ।  ग्रामपालका रुपमा रहेका यी धामीहरूले विशेषतः झैझगडा, जारी, चोरी, जग्गा, अंश, ठगी र ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुबै प्रकारका मुद्धा छिन्ने काम आफ्नो देवकीय अदातलको इजलास “घरमाँडु (घर नजिकको देवताको थान) र वनमाँडु (टाढाको देवताको थान)” दुबै स्थानबाट छिनोफानो गर्ने गर्दछन् । यहाँ र यस्ता माँडुहरूबाट न्याय पाउनका लागि पीडितले पीडकलाई धेरैभन्दा धेरै नशियत र जरिवाना होस् भनेर दियो बालेर, पिँठ्युमा ढुङ्गा बोकी, मुखमा दुबो च्यापी, भुजपत्रको टोपी, काँडाको ओछ्यान, फेरेको गादो, मोसोको टिको लगाई रुदै कराउँदै कर जोड्दै धामीको अगाडि नतमस्तक भई प्रार्थना गर्नुपर्छ र गर्दछन् ।  हुम्ला कर्नालीको सामाजिक, सांस्कृतिक र प्राकृतिक जनजीवनमा मस्टोको स्तर, स्थान, रुप र व्यापकताको बारेमा गहन रुपमा खोजी गर्नु गराउनु पर्ने देखिन्छ तर यस्तो काम हुन नसक्दा मौलिक सम्पदाको मुहान अर्थात् खुलाविद्यालय आफैमा ओझेल परेको छ । खशजातिको विश्वव्यापी सांस्कृतिक र सामाजिक परिवेश तथा स्याङसुङ, ख्युङलुङ सभ्यता एवं मानस कैलासको प्रमुखद्वार, उत्तरदक्षिण राजमार्गको व्यापारिक थलो र सम्पन्न सामाजिक गढलाई छिचोल्दा मस्टो र मस्टोइतरका देवदेवीका धामीडाङग्री र पुजारीका अनेकौं क्रियाकलापहरुलाई नियाल्दा धामीप्रथा र लामाप्रथाको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । तापनि धामीप्रथा विशेष गरी न्यायिक क्षेत्रमा चर्चित छ भने लामाप्रथा उपचार पद्धतिका लागि प्रचलनमा रहेको छ । अझ बोन परम्परामा यस्तो प्रक्रिया कालो बोेन र सेतो बोनको परिभाषामा पाउन सक्छौं ।  मस्टो क्षेत्रिय र राष्ट्रिय भूगोललाई नाँघेर अन्तरराष्ट्रिय भूगोलमा समेत परिभाषित, परिचालित र परिलक्षित भएको कथ्य र तथ्यले कर्नाली प्रदेशका खण्डहर, जर्जर र उराठलाग्दा काख र पाखाहरु यस संस्कृतिको साक्षीका रुपमा रहेका छन् । जस्तै यहाँका गर्खा, पाखा, दरा, खोला, वीस, पट्टी, कोट, रजवार, गढी, पातीहाल्न, बीसुन, रजवार र सेराहरु यी अवयवहरुका लागि गरिमामयी स्थानहरु मान्न सकिन्छ । यी स्थानहरु सम्पन्न खश सम्पदाको खानी हुन् भने हाम्रो परिचालित लोकसंस्कृतिको आँखाको नानी समेत भएको मान्न मनाउन सकिन्छ र सक्छौं पनि । यसको खोजी र रोजी गरौं र गराऔं । हाम्रा सन्ततीलाई आफु र आफ्नोपनको बारेमा चिन्न र चिनाउनका लागि हातेमालो गरौं ।  यसैले पनि मस्टो नेपाली खस  जातिले कुलस्वामीको रुपमा ग्रहण गरी सत्व र रजो गुण, कालो बोन र सेतो बोन, धामीपन्थी र बोनपन्थी, माच्योंक्ती ल्हा र काट्रच्योक्ती ल्हा, सुर र असुर, काल र अकाल, शीर र पाउ, दुध र रगत, छाकाल र बास्हारा, योग र वियोगको समपुरक, परिपुरक र अर्थपुरक मान्दै अन्तिम आस्थाको केन्द्र च्छोमाफाम अर्थात मानसरोवर र च्छो लांका अर्थात लंकारी तालको अद्भुत शक्तिभित्रको प्रज्ज्वलित प्रवाह भएर शदियौंदेखि दैविक न्यायलयको एक निर्विकल्पको रुपमा माप्चाको काप्चाको रुपमा बगिरहेको छ । मस्टोको वरिपरी घुमेको दैवी न्यायको प्रचलन, संस्कार, रीतिथीति तथा वैकल्पिक न्याय प्रणााली र पद्धति हो यो । यो नै हुम्लीहरुको मात्र नभएर कर्नालीको आत्म शुद्धताको रक्तसञ्चार हो । न्यायको लागि सामाजिक सद्भाव र समन्वयकर्ता समेत हो । यसैले पनि मस्टो खशजाति र खश साम्राज्यको एक खोजी योग्य नीघि, विधि, रीति, थीति र स्थिति पनि त हो नि ?  कर्नाली क्षेत्रमा प्रचलिनमा आएको मस्टो संस्कृतिको इतिहासको लेखाजोखा गर्दा यसको समयरेखा सायद सात हजार वर्ष पुरानो देखिन आउँछ । यसैले पनि मोहनजोडादो र हरप्पा समाज र संस्कृतिसँग जोडिन पुग्छ । योसँगै भाषिक समुदायका रुपमा सप्तम् र केन्तुम् परिवारको वरिपरी घुमेर भारोपेली, आग्नेय, द्रवीड र भोटबर्मेली भाषा पनि एक आपसमा अन्तरघुलन हुन पुगेको छ । यसैले पनि नेपाली भाषाको माउथलो बनेको हो सिँजा क्षेत्र । जसले गर्दा नोपली भाषा आज राष्ट्र भाषाको रुपमा एकताको प्रतिक बनेको छ । यसका धेरै प्रकारका भेदउपभेद भए पनि एक सम्पन्न राष्ट्रिय रेखा नाँघेर अन्तरराष्ट्रिय भाषा बन्नु हामी नेपालीको लागि गौरबको विषय हो । अझै यसलाई सम्पन्न गर्न गराउनका लागि स्थानीयस्तरमा प्रचलनमा आएका अन्य राष्ट्रिय भाषाको विकास विस्तार गरी मातृभाषालाई पनि संरक्षण गर्नु पर्दछ ।  हुम्ला कर्नाली प्रदेशको बहुचर्चीत चाडपर्वमध्ये साउने पूर्णिमा चाडपर्व मात्र हैन । यो त हुम्ला कर्नालीको एक सामाजिक न्यायलय हो । प्रत्येक वर्ष आउने १२ वटा पूर्णिमामध्ये वैशाख, साउन, कार्तिक र माघ पूर्णिमा हुम्ली लगायत कर्नाली समाजको एक न्यायिक इजलास पनि हो । यो अवधिमा देवीदेवताको पूजाआजा मात्र हुँदैन विभिन्न प्रकारका मुद्धाहरू छिनोफानो गर्ने एक महत्वपूर्ण दैविक न्यायलय पनि हो । यसका लागि विभिन्न प्रकारका विधिविधान, प्रक्रिया र चरणहरु पार गर्नु पर्दछ तैपनि सरकारी निकायभन्दा यहाँ छिटो छरिटो रुपमा न्यायिक सम्पादन हुने गरेको छ । यसैले पनि माँडुमा गरिने सम्पादन क्रियाकलापहरु सबैले सर्वस्विकार्य समेत मानिंदै आएको छ ।  साउने पूर्णिमा हुम्ला र हुम्लीका लागि मात्र नभएर कर्नालीका लागि एक अति महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो । यो न्यायिक इजलास पनि हो । सामाजिक अदातल पनि हो । समाजलाई सुरक्षित र शान्त बनाउने नेटवर्क पनि हो । गाउँघरको मेलमिलाप केन्द्र पनि हो । सबैले समान रुपमा सहभागीता गर्न गराउने पाउने बहस केन्द्र पनि हो ।  साउने पूर्णिमा वर्षभरीका १२ वटा पूर्णिमाभन्दा अति महत्वपूर्ण पर्व, समय र सन्दर्भ पनि हो । यसैले पनि साउन पूर्णिमाको अति धेरै महत्व, स्थान र सन्दर्भ रहेको छ । यो दिनमा हुम्ला कर्नालीभरी धेरैको न्यायिक कामको छिनोफानो हुने गरेको छ । न्याय पाउने गरेका छन् । मेलमिलाप हुने गरेको छ । सामाजिक सद्भाव कायम हुने गरेको छ । र त यो जिल्लाभरी नै मनाउने गरिन्छ । आधुनिक समयमा यस्ता राम्रा नराम्रा दुबैे कुराहरूको लेखाजोखा गर्दा यसले समाजको शान्ति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ यो पर्व के कसरी मनाइन्छ भन्दा पनि यसले सम्पादन गर्ने न्यायिक गरिएको छ । यसको बारेमा यहाँ जानकारी गर्ने गराउने प्रयास गरिएको छ ।  कर्नालीका धेरैजसो स्थानीयहरूको मानसिक तथा परम्पराजन्य विश्वास अनुसार अदालतमा त पहुँचवाला र मुखाले हरतरहले प्रमाण जम्मा गरी आफ्नो पक्षमा मुद्धा जित्ने प्रयास गदर्छन् । तर निमुमासोझा भने त्यसै रहन्छन् । यसैले पनि धामीहरु  र धामीप्रथा प्रति जनविश्वास धेरै र अगाध रहेको छ । त्यसैले पनि “देवपुरी हुम्लो, ब्रह्मपुरी जुम्ला” भन्ने उखानले पनि मान्यता पाउनुका साथै सार्थकता पाएको छ ।  मस्टो देवता प्राचीनकला, वैदिकयुगदेखि वर्तमानसम्म विभिन्न नाम, रुप र औतारमा औतारिएर आएको पूर्व प्राचिन देवता मानिन्छ । यसका बारेमा बेद, उपनिषद्, पुराण, संहिता, स्मृतिग्रन्थ र लोकांशहरु अनेकौं संख्यामा विभक्त भएको पाइए पनि मुख्यतः बाह्र भाइ मस्टो नौ दुर्गा भवानी भन्ने उक्तिले सर्वमान्यता पाएको छ । जस अनुसार मस्टो कुलस्वामी, मुलस्वामी, देवस्वामी, क्षेत्रस्वामी र वर्णस्वामी भएकैले देवाधिदेव महादेव कै विस्तारित र विस्थापित अंश र हंस मानिन्छ ।  यसरी प्राचिनदेखि अर्वाचिनसम्म पनि खश, मारुल्ले, कल्याल, रावत, राउटे, तमु, थर, थपाल्या, ब्याँसी र जाड सबै कर्नालीवासीहरुको जनजीवनमा मस्टोको अथाह अथाह व्यापकता र गहिराइका आयामहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले हुम्लामा “राजाको ऐनभन्दा खोलाको चैन ठूलो, मुखालाको राजा निमुखाको देउता, देवपुरी हुम्लो ब्रहम्पुरी जुम्लो, बाह्र भाइ मैठो घरबारीमा बइतो” जस्तो झर्रा लोकोक्तिले सामाजिक जनजीवनमा प्रभावकारी भूमिका खेलेको छ । यसैले पनि हुम्ला लगायत कर्नाली प्रदेशको सामाजिक न्याय सम्पादनको कार्यमा महत्वपूर्ण भूमिका रहेको छ, खेलेको छ र प्रयोग भएको छ ।  द्वापर र त्रेतायुगमा शास्त्रमा उल्लेख भएको यो हिमवत् खण्डको उत्तरी भाग हुम्ला दरा (हाल जिल्ला)मा राक्षसी प्रवृत्तिको बोलवाला भएकाले भगवान् श्रीशंकरलाई उनका भक्तहरूले प्रार्थना र स्तुति गर्दा श्रीशंकरजीले भन्नु भयो हे ! सेवकहरू तिमीहरू आफ्नो नित्यकर्म अनुसार चार पूर्णिमा र चार औंसीमा कर्नालीको बगरमा गई मेरो आराधना गर । म देवसभाबाट त्यस्ता खराव आत्म र दृष्कर्मीहरूलाई तह लगाउन “बाह्र भाई मस्टो र नवदुर्गा भवानी”लाई पठाउँछु भन्ने आज्ञा भए बमोजिम नै “देवपुरी हुम्ला” भएको हो भन्ने जनविश्वास रहेको छ । त्यो वेलादेखि नै यो क्षेत्रमा “दैवी न्याय प्रणाली” शुरु भएको हो भन्ने स्थानीय मान्यता पाइन्छ । यसमा अगाध विश्वास पनि भएको र रहेको देख्न, स्पर्श गर्न, छाम्न, अनुभव गर्न गराउन सकिन्छ ।  हुम्ला लगायत कर्नाली प्रदेकका गाउँघरहरुमा स्थापना गरिएका देवीदेवताहरू विष्णुगादीबाट इन्द्र, इ्न्द्रगाधीबाट देवताहरूको उत्पत्ति भएको हो । यिनीहरूले आफ्नो अवतार ढुङ्गा, माटो, पानी र पशुपन्छी सबैमा औतारिँदा पनि ‘सतभित्’ देखाउन नसकी आजित भएपछि अन्तिममा मानिसमा प्रतिस्थापन हुँदा सास फेर्ने र नफेर्ने सबैको उद्धार गर्न सकेकाले नै मानव समाजमा न्यायिक काममा हात बढेको सन्दर्भ विभिन्न धामीहरूको पडेली (लामो वृतान्त)बाट थाह हुन्छ ।  यसरी हुम्ला लगायत कर्नाली क्षेत्रभरी नै “मस्टो र मस्टोइतरका देवाताहरूलाई कुलस्वामी, मुलस्वामी, क्षेत्रस्वामी, जातस्वामी, न्यायस्वामी, भूमिस्वामी, कर्मस्वामी, धर्मस्वामी, मर्मस्वामी र देवास्वामी” मान्ने भएकाले पनि “गाथ गाथमा मस्टो, घरबारीका बस्तो, घर घरमा मस्टा, न्याय भोक्ती गद्दा” भन्ने लोकोक्ति प्रचलनमा आएको छ ।  यसरी भौगोलिक अक्षांस र देशान्तरका रेखा रेखाहरुका गतिशिल कम्पन कम्पन र धड्कन धड्कनमा मस्टोका गाथा छ, इतिहास छ, भूगोल छ, गणित छ, ज्योतिष छ, हर्षा छ, वर्षा छ, न्होरा छ, बोन छ, री छ, च्छो छ, ल्हा छ, हिन्दु छ, बुद्ध छ, तोन्बा छ, इन्दु छ, अग्नि छ, इन्द्र छ, मरुत् छ, सिन्ध छ, सतलज छ, काङतीेसे छ, गंगा छ, ब्रह्मापुत्र छ, मस्टो यी सबैको अधिपती हो । यो वनडालीमा छ, मनडालीमा छ, धनडालीमा छ, तनडालीमा छ र कर्मडालीमा पनि यसको जीवांसमा छ, त्यान्द्रो छ, मान्द्रो छ र छ यसको लहरो, पहरो र छहरो छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  बाह्र भाइ मस्टो नौ दुर्गा भवानी, सोह्रमाला, सोह्र पैकेला आदि गाथा, कथा र व्यथाको पैत्रिक, मातृक तथा भातृक नातागोता, इस्टमित्र, मीतमीतेरी अनेकौं पारिवारिक मण्डल, मण्डप तथा कुण्डल भए पनि दुधभोगी देवताको सम्बन्ध च्छोमाफाम अर्थात मानसरोवरसँग र रक्तभोगी देवताको सम्बन्ध च्छोलाका अर्थात लंकारी तालसँग रहेको छ । यसैले पनि न्याय र अन्यायको विभेदक रेखा हो मानसरोवर ताल र राक्षस तालको महिमा मान्न सकिन्छ । गरिमा पाउन सकिन्छ । अरुणिमा छाम्न सकिन्छ । पूर्णिमा देख्न सकिन्छ ।  यसैले त यी र यहाँको राम्रो र नराम्रो, कालो र सेतो, न्याय र अन्याय, सुर र असुर, दुध र रगत, धन र ऋणको सन्तुलन काङरिन्पोच्छेले गर्ने हुनाले प्राक्धार्मिक शक्ति समाहित र विमोहित हुने केन्द्र नै कैलास पर्वत हो । यो भूस्वर्गको एक अनुपम, अनौठो र अलौकिक प्रतिबिम्ब हो । जसको चार दिशामा सतलज, ब्रह्रमापुत्र, सिन्धु र गंगा जस्ता विशालकाय जलाशयको उदगमस्थल मानिएको छ । त्यस्तै सूर्यमणि, पित्तमणि, ताम्रमणि र नीलमणि समेतले सुनमा सुगन्ध थपेर अनौठो आयाम थपेको छ । यहि भूस्वर्गको काखमा स्थापीत हजारौं वर्ष पुरानो र उन्नत स्याङसुङ सभ्यताको चिनारी ख्युङलुङको राजकीय र भोटको आत्मीय धर्म बोनको प्रतीक पुलिक अर्थात् सीमाला बनेको छ ।  यही भूभागमा अवस्थित विश्वको रहस्मय पर्वत, अत्युच्चत्तम आस्थाको महान सागर काङरिन्पोच्छे, काङतिसे, कैलास, कविलास, माउन्ट कैलास नै हिन्दु, बौद्ध, जैन र बोन चार धर्मको समेत अलौकिक शक्ति र भक्तिको स्रोत मानिन्छ । यी सबैको आदि स्रोत भएकोले आर्य, अनार्य, द्रवीड, हुण, तार्तार, तमु, राउटे, जाड र ब्याँसी आदि जातिका त देवाधिदेव महादेवकै अनेकौं रुपहरुमध्ये रुद्र मरुत् मारुद् महाइष्टाय मस्त मस्टो भएको लौकिक कथ्य र शास्त्रीय तथ्य हाम्रा अगाडि दैनिक न्यायको साक्षी सत्य बनेको साक्षी छ ।  यो खस जातिसँग प्रवाह भएको साकारभित्रको निराकार देवता हो । मस्टो अनेकौं सान्दिर्भक, शाब्दिक र र प्रासांगिक नाममा आएका माथि उल्लेखित शब्दहरु जस्तैः मरुत्, मस्टपा, मस्टो, मैठो, मस्त, माइथो, महाइस्टाय आदिको संश्लेषित तथा विश्लेषित रुपमा व्युत्पत्तिमुलक नाम भएको भए पनि यसको सर्वव्यापकता, सर्वशुलभता र सर्वमान्यता नै कर्नाली प्रदेशको सांस्कृतिक गरिमा हो, महिमा हो र अरुणिमा पनि हो ।  यसैले मस्टो कर्नालीको व्यक्ति, ध्वाङ, दग्डा, बाडा, पट्टी, गाउँ, मौजा, दरा, खोला, थपालो, प्रगन्ना, गर्खा, गढी, रजवार, सेरा, कोट, दुर्ग, विषय, थर्पु, रजस्थल, मण्डल र मण्डप आदि स्थाननामको सानो ठूलो भूभागिय वृत्तको आवृत्तीभित्रका डिग्री, गे्रड र रेडियनका सांस्कृतिक, सामाजिक, प्रशासनिक, पुरातात्विक, मानवशास्त्रीय तथा समाजस्त्रीय क्षेत्रमा नाम, काम र राम सबै व्यक्ति, जाति, स्थान र प्राकृतिक विशेषताहरुसँग सम्बन्धित छन् ।  मस्टो हुम्लाको मात्र नभएर कर्नाली प्रदेशकै प्रशिद्ध देवताको नाम हो । यो देवता यहाँको सामाजिक जनजीवनमा देवास्वामी, कुलस्वामी र क्षेत्रस्वामीको पदग्रहण गरेर बसेकाले नै यसका अनेकौं नाम र काम छन् । वेद, उपनिषद्, पुराण, संहिता, स्मृति, यात्रा वृतान्त र सनदपत्र आदि विभिन्न ऐतिहासिक प्रमाणको सन्दुसलाई खोलेर चिहाउँदा मस्टो संख्यात्मक गणना कतै १२, कतै २१, कतै ३६, कतै ४९, कतै ७२, कतै ८४, कतै १०० र कतै १२१ र कतै १८१ देखिए पनि मुल संख्या भने १२लाई आधार मानेर मस्टो पारिवारिक धरातललाई खोजी गर्न आवश्यक देखिन्छ । अनि मात्र मस्टो र मस्टोइतरका देवदेवीहरुको नौला नौला कथ्यहरु र तथ्यहरु पmेला पर्ने छन् तर कसले खोजी गरिदिने यो एक प्रश्नवाचक कुरा रहेको छ ।  यस्तै हुम्ला लगायत कर्नालीका सयौं गाउँहरूमा बसोबास गर्ने धेरै मानिसहरूलाई तपाई अदालतमा नगएर किन ? देवताको माँडुमा जानुहुन्छ भन्ने जिज्ञासामा राख्दा अदालतको लामो प्रक्रिया, झन्झटिलो, पैंशाको दोहन, स्थलगत अध्ययनको कमी, शक्ति र सत्ताको कुरा मान्ने र निष्पक्ष नहुने जस्ता कुराहरूबाट आजित भएका प्रशंगहरू जोडिन आउँछन् । किनकी पढेलेखेकाहरू अनेकौं तरिकाले प्रमाण जुटाएर अड्डा (अदालत) जान्छन् । यसको विकल्पमा यो न्यायिक पद्धतिले स्थान पाएको देखिन्छ । स्थानीय माँडुहरुमा दैनिक रुपमा सामाजिक तथा सांस्कृतिक रुपमा मुद्धाको छिनोफानो हुने गरेको छ । यसका लागि धेरै पद्धतिबाट फाष्टट्रयाक, सम्मोहन, जादुटुनामुना र स्थानीय भैभलादमीको बयानका आधारमा मुद्धा छिनोफानो गर्ने गरिन्छ । कतिपय सन्दर्भमा खोलाको चैन (रीतिथीति) असान्दर्भिक हुँदा हुँदै पनि शिक्षाको कमी, सांस्कृतिक सन्दर्भ, पुरातन मान्यता र अगाध विश्वासको कारणले यस्तो भएको हो । तर यो रिक्ततालाई सरकारी मानो खाएकाहरूले स्थानीयतालाई ध्यान दिएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नु गराउनु पर्ने भए पनि यस्तो हुन नसक्नु राजाको काम कहिले जाला घाम जस्तै भएको छ ।  केही दशक अघि बरगाउँ निवासी लोप्चाङ्ग लामा र बुराउँसे निवासी गुरक्याप लामाको जारी मुद्धामा छिप्राको ल्वासुर देवताको धामीले ८० हजारमा छिनोफानो गर्दा दुवै पक्ष राजीखु्शी साथ दिनलिन तयार भएको घटना “कर्मचारी मिलन केन्द्र हुम्लाको मुखपत्र हुम्ला संगम”मा उल्लेख भएको प्रतिनिधि लिखत पनि हो । तापनि यस्ता घटनाहरू दैनिक सयौंका संख्यामा छिनोफानो हुने गरेका छन् । यिनीहरूलाई लिखत गरिएको भए हालसम्म हजारौं लाखौं पुग्ने देखिन्छ ।  हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । र त एकदशीदेखि पूर्णिमा र औसीसम्म विभिन्न प्रकारका पुजाआजा र उपसना गर्ने गराउने चलन रहेको छ । यसबाट शारीरिक तथा आत्म शुद्धता होस् र बनोस् भन्ने मान्यता रहेको छ । यस्ता धेरै प्रकारका संस्कारहरु प्रचलनमा आएका छन् र ल्याइएका छन् । यो प्रक्रियाबाट स्थानीयस्तरमा दैनिक सयौंको संख्यामा मुद्धाको छिनोफानो हुने गरेको छ । यस्ता विभिन्न उदाहरणहरुको लेखाजोखा गर्ने हो भने सयौं हजारौं पुस्तकहरु तयार हुनेछन् । यो न्यायिक पद्धति प्रथाजन्य कानुनको अब्बल नमुना मान्न सकिन्छ ।  यति हुँदा हुँदै पनि यसका केही राम्रा र नराम्रा पक्षहरु पनि रहेका छन् । पछिल्लो समयमा विज्ञान प्रविधिको विकास र विस्तारसँगै यस्ता पुरातन कुराहरु लोप हुँदै जान थालेका छन् ।  email: karnarokaya994@gmail.com हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ ।