'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

११४२ दिन अगाडि

|

३१ जेठ २०८०

पितृसत्ता र आदिवासी जनजाति

पितृसत्ता र आदिवासी जनजाति

११४२ दिन अगाडि

|

३१ जेठ २०८०

 कैलाश राई आदिवासीहरूमा भएको ज्ञान, सीप अभ्यास गर्ने थलोको अभाव भएलगत्तै उनीहरूको सशक्तपन, स्वतन्त्रताजस्ता वैयक्तिक र सामूहिक अधिकार निष्प्रभावी हुँदै जान थाले ।    निजी र सार्वजनिक तवरमा पुरूष सत्ता र शक्तिले महिला (यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समेत)लाई अधीनमा राख्नु पितृसत्ता हो । सिद्धान्ततः पितृसत्ताको अवधारणा र आदिवासीय परम्परा एकसाथ रहँदैनन् । आदिवासीय दर्शन र मूल्यमान्यताले पुरूषतन्त्र र पुलिङ्गी शासन, शक्ति र संरचना कल्पना गरेको हुँदैन । उनीहरू लिङ्ग, उमेर, वर्गलगायतका  आधारमा विभेद र हेलाहोचो नगर्ने समानताको सामूहिक अवधारणाबाट निर्देशित हुन्छन् ।  त्यसैले संसारभरका आदिवासी समुदायमा पितृसत्ताको अस्तित्व हुँदैन भन्ने सैद्धान्तिक मान्यता रहिआएको छ । बरू अधिकांश आदिवासीहरू मातृसत्तात्मक शासकीय व्यवस्थाबाटै आएको दाबी गर्ने गर्छन् । कतिपय आदिवासीय समुदाय अहिले पनि मातृसत्तात्मक रहेका छन्, जस्तैः नेटिभ अमेरिकी आदिवासीहरू, भारतको मेघालयका आदिवासीहरू । सामाजिक-सांस्कृतिक र वैयक्तिक रूपमा ‘अरूहरू’माथि पुरूषको आधिपत्य आदिवासीय मौलिकता विपरीतको वैचारिकी हो । पितृसत्तात्मक चरित्रका आधुनिक राज्य व्यवस्थाहरूसँग पौठेजोरी खेल्दै आआफ्नो अस्तित्व र पहिचान जोगाउने कसरत गर्दागर्दै बाह्य समाजबाट क्रमशः आदिवासी समुदायभित्र पितृसत्ता छिर्दै छिर्दै गयो भन्ने उनीहरूको जिकिर हुने गरेको छ, जसलाई समकालीन आदिवासी जनजाति समाजमा पितृसत्तात्मक अभ्यास हुने गरेको छ भन्ने स्वीकारोक्ति मान्न सकिन्छ । आदिवासीहरू समुदायभित्रको बढ्दो पितृसत्तात्मक अभ्यासलाई एक औपनिवेशिक अवधारणा मान्ने गर्छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको प्रतिवेदनअनुसार “पितृसत्ता आदिवासीहरूका लागि आगन्तुक हो तर हिन्दु पितृसत्तासँग लामो समय अन्तरघुलनमा रहेका कारण केहीमा त्यसका प्रभाव धेरै र केहीमा कम देख्न सकिन्छ (एनआइडब्लुएफ सन् २००८: ५९) । ” त्यसैगरी पितृसत्तात्मक संरचना, सोच र व्यवहारलाई सैद्धान्तिक तथा नीतिगत रूपमा निस्तेज पार्ने महिलावादको अवधारणालाई पनि आदिवासी समुदायले अपनाउनु उचित नरहेको ठान्छन् । पितृसत्ता र महिलावादका अवधारणाहरू आदिवासीय सभ्यता, जीवनशैली र संस्कृतिभन्दा भिन्न धरातलमा आधारित भएकाले पनि त्यसबारे समुदायभित्र नगण्य छलफल तथा विमर्श हुने गरेको छ । नेपालका आदिवासी जनजाति समुदायको हकमा पनि यी कुराहरू लागू हुन्छन् । मातृसत्ताको अवशेष  नेपालका आदिवासी जनजातिहरूले आफूहरू मातृसत्तात्मक व्यवस्थाकै उपज भएको विश्वाससहित दाबी गर्दछन् । समकालीन आदिवासी जनजाति समुदायहरूमा मातृसत्ताको विशेषताहरू पनि छिटफुट रूपमा भेटिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट उत्पादित राज्यद्वारा सूचीकृत आदिवासी जनजातिहरूमध्ये धेरैजसोको जातिशास्त्रीय विवरणिकाहरूमा उपलब्ध सङ्क्षिप्त जानकारीले निजी वृत्तमा महिलाको भूमिका सशक्त भएको देखाउँछ । उनीहरू घरपरिवार सञ्चालनको प्रमुख भूमिकामा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक तथा वैयक्तिक पक्षहरूमा केही हदसम्म स्वतन्त्रता उपभोग गरिरहेका छन् । उदाहरणका लागि दोलखा र सिन्धुपाल्चोकका थामी/थाङ्मीहरूमा आमाको थर क्रमशः छोरीहरूमा सर्दै जाने परम्परागत अभ्यास (कानूनी बाधाको बाबजुद) अद्यापि छ । थामीहरूमा रहेको यो अभ्यासलाई सुक्ष्म अध्ययन गर्ने हो भने मातृसत्तात्मक समाजबारे केही थाहा पाउन सकिएला भन्ने आशा गर्न सकिन्छ । लोककृष्ण भट्टराईको पुस्तकमा चिनियाँ यात्री ह्वेन साङले पनि काश्मीर अफगानिस्तान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुर आसपासका डाँडा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व. पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन्” (भट्टराई, २०५५)भन्ने वाक्यांश छ । यी उल्लिखित स्थानहरू आदिवासी जनजातिका रूपमा सूचीकृत तामाङहरूको पुर्ख्यौली थातथलोका क्षेत्र हुन् । बिहेपश्चात तामाङ महिलाको थर परिवर्तन नहुने, उसको अस्थी (हाड, जसलाई थर मानिन्छ) माइतीमै रहने (योञ्जन-तामाङ, २०७३) परम्परा छ । यसलाई तामाङ महिलाको अस्तित्व बंशजको रूपमा रहने चलनको उदाहरणका रूपमा लिन सकिन्छ । नारदमुनि थुलुङ (२०४२) ले उल्लेख गरेका छन्, “…किराँत कहलिएका मनुका भाइ इयमका दुईपत्नी थिए । एउटी बसु, एउटी साध्या । बसुपट्टिका आठ भाइ भए, जसलाई आठ बसु भनिन्छ । साध्यापट्टिका तीन भाइ भए जसलाई तीनसाध्य कहिन्छ । ती पुत्रहरूलाई साध्य र बसु भन्नाको कारण उसबेला पितृसत्ताको भन्दा मातृसत्ताको महत्त्व थियो भन्ने बुझिन्छ । आमाको नामबाट बोलाउने चलन थियो (पृ. २०३)।” उनले त्यसबेला मातृसत्ता मात्रै थियो भनेर किटान गरेका छैनन् ।  त्यस आधारमा किराँती समुदाय कुनै समय लैङ्गिक समान व्यवस्थामा चल्ने गर्थ्यो भन्न सकिन्छ । त्यसो त मानव सभ्यताको सुरुवातमा कविलाई र घुमन्ते अवस्थामा महिलालाई प्रमुख मानिन्थ्यो, वंश आमाको नाताबाट चल्थ्यो । बसोबासको स्थायित्व, परिवार, निजी सम्पत्तिको थालनीसँगै पिताको वर्चश्व स्थापित गरिँदै लगियो र बलियो पितृसत्तात्मक सामाजिक व्यवस्था खडा भयो भन्ने गरिन्छ । त्यसो हो भने मातृसत्ताबाट समाजलाई पितृसत्तामा सार्ने उपक्रममा आदिवासी जनजातिहरू तुलनात्मक रूपमा पछिल्लो समयावधिमा बाध्यताले सामेल हुँदै गएको भन्न सकिन्छ । समुदायका विभिन्न निजी तथा सार्वजनिक स्तरका सामाजिक, धार्मिक, सांस्कृतिक तथा सामुदायिक क्रियाकलापहरूमा महिलाको उल्लेख्य र हस्तक्षेपकारी सहभागिता हुने गर्छ । अझै पनि मातृसत्ताका केही अवेशषहरू बचाइराखेका भुटान, थाइल्याण्ड, भारतको मेघालय र नेपालकै आदिवासी जनजातिहरूमा पारिवारिक वृत्तमा महिलाको बलियो भूमिका हुनु त्यसैको सङ्केत मान्न सकिन्छ । तर, यदि नेपालका आदिवासी जनजातिहरू मातृसत्तात्मक थिए भन्ने हो भने कसरी र कहिलेबाट उनीहरू पितृसत्तातर्फ ढालिए भन्ने प्रश्नकेन्द्रित सुक्ष्म अध्ययनको अभाव खड्किरहेकै छ । मातृसत्ताको केही खुद्रा मसिना र नाजुक अवस्थामा रहेका अभ्यासहरूमै सन्तोष मान्नु पनि न्यायोचित ठहरिदैन । न मातृसत्ता न पितृसत्ता ! पितृसत्ताको अवधारणा आदिवासीय चिन्तन र ज्ञानबाट उत्पन्न भएको होइन भन्दाभन्दै पनि आदिवासी जनजातिहरू त्यस्तो अवधारणागत अभ्यासको जञ्जालमा फसिसकेका छन् । एकातिर बाहिरी समाजसँगको अन्तरक्रिया र राज्य व्यवस्थाअनुकूल ढालिन सकेवापत कमाएको पितृसत्तात्मक ढर्राको सामाजिक पुँजीकै आधारमा पुरूषहरूको स्थान उच्च हुँदै गयो । पुरूषहरू समुदाय र आधुनिक राज्य व्यवस्था एवं मिश्रित समाजबीचको सेतु बने । आदिवासी समुदाय क्रमशः अरू समाज र व्यवस्थाहरूसँग घुलमेल हुँदै त्यसैको अङ्ग बन्दै जानेक्रममा महिलाको सशक्त भूमिका रहने परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासहरू मासिदै गए । आदिवासीय समुदायको जीविकोपार्जनको आधार र स्रोत राज्य व्यवस्थाले सरकारी तथा निजी स्वामित्वमा ढाल्दै लग्यो । नेपालका विभिन्न भूभागमा राष्ट्रिय निकुञ्ज, ठुल्ठुला जलविद्युत परियोजना, राज्यद्वारा अवधारणाकृत सामुदायिक वन, आधुनिक विकासका परियोजनाहरूले आदिवासीय जीविकाका आधार- जल, जमिन, जङ्गल खोस्दै लग्यो । आदिवासीहरूमा भएको ज्ञान, सीप अभ्यास गर्ने थलोको अभाव भएलगत्तै उनीहरूको सशक्तपन, स्वतन्त्रताजस्ता वैयक्तिक र सामूहिक अधिकार निष्प्रभावी हुँदै जान थाले । त्यही क्रममा एकातिर, आदिवासी जनजातिहरू आफ्नो अस्तित्व, मौलिक पहिचान र स्वायत्तता र स्वशासनको लागि राज्यसँग लड्दालड्दै पुरूष सत्ता र पुरूष वर्चश्व अनुकूलित बन्दै गए । अर्कोतिर घर-परिवारमा आमा र समुदायमा महिलाको ज्ञान, सीप र शक्तिशाली भूमिका क्षय हुँदै गयो । मातृसत्तात्मक इतिहासको स्वघोषित गौरव गर्दै अघोषित रूपमा पितृसत्तात्मक व्यवस्थाको अनुकरणतर्फ समुदाय लम्कियो । उमेर, लिङ्ग, वर्गको हिसाबले विभेद वा असमान अभ्यास नहुने कुरा समुदायका लागि इतिहास बन्दै जान थाल्यो । सामूहिक विशेषताले बाँधिएको भए पनि समकालीन आदिवासी जनजाति समुदाय आफै विविध र विषम छ । उनीहरूभित्रको लैङ्गिक शक्ति सम्बन्धहरू पनि उत्तिकै विविध अवस्था र स्तरका छन् । यद्यपि निजी र सार्वजनिक वृत्तमा उनीहरूका लैङ्गिक शक्ति सम्बन्धहरू समान छैनन् । महिलालाई निमित्तका रूपमा राखी पुरूषबाट पुरूषमै वंश कायम रहँदै गएको इतिहास गाढा छ । वंशजको गुणगान र गाथाहरूलाई ‘पिता पूर्खा’को पौरख र साहसको रूपमा पुस्तान्तरण गरिदै ल्याइएको छ । वैवाहिक तथा पारिवारिक संस्था र वंशजको अधिकार पुरूषमै निहित छ । सम्पत्तिको पहिलो र प्रमुख हकदार पुरूष नै रहँदै आएका छन् । घर सञ्चालनको अधिकांश वा पूरापूर दायित्व महिलाले निर्वाह गरेपनि घरमूली वा मालिक भने पुरूष नै मानिन्छन् ।  लिङ्गका आधारमा असमान सोच र व्यवहारहरू उत्तिकै बलिया छन् । मातृसत्ताका अवशेषहरू छुट्दै, मासिदै दुर्लभ हुन थालेका छन् । आधुनिक शासकीय संरचनाअन्तगर्तका पितृसत्तात्मक अभ्यास बाक्लिदै र पुस्तान्तरण हुँदै गइरहेको छ, तैपनि आदिवासी जनजाति समुदायले उनीहरू पितृसत्तात्मक होइनन् भन्ने नै जिकिर गर्ने गर्छन् । नेपालका आदिवासीमध्ये पछिल्लो समयसम्म घुमन्ते जनजीवनमै रहँदै आएका राउटेहरूले अन्य आदिवासी जनजातिहरूको दाँजोमा हिन्दु दर्शन र राज्यसत्तासँग कमै अन्तरक्रिया गर्ने गरेका छन् । उनीहरूको समुदायमा महिला-पुरूष दुबैको सल्लाह र सहमतिमा सरसामान किनबेच गर्ने, आवश्यक निर्णयहरू लिने गरे पनि महिलालाई जङ्गलमा दाउरा लिन जान, काठका भाडाकुँडा बनाउन र बाहिरफेर कामकाजमा पठाउने गर्दैनन् र ठाउँ सर्नुपर्ने भएमा नयाँ ठाउँको वस्तुस्थिति, पायकपन बुझ्न पुरूष नै जाने गर्छन् । त्यस्तै उनीहरूलाई समुदायबाहिरका मानिसहरूसँग भेटघाट र संवाद गर्न दिइँदैन (एनआइडब्लुएफ सन् २०१८) । कारण जे जस्तो भए पनि राउटे महिलाहरूमाथिको त्यस्तो निषेध लैङ्गिक भूमिकाका हिसाबले विभेदकारी पितृसत्तात्मक अभ्यास हो । म हुर्केको किराँत राई समुदायको कुनै पनि संस्कारअन्तर्गत मुन्धुम गरिँदा ‘पिता पुर्खा’ भन्ने शब्द अत्यधिक प्रयोगमा ल्याइन्छ । यद्यपि, मुन्धुमले पुर्खाको अर्थ पुरूष महिला दुबै हुन् भन्ने गर्छ । तैपनि पुर्खाको अगाडि आउने ‘पिता’ शब्द पुलिङ्गी वर्चश्वकै प्रतीक हो । त्यस्तैगरी मृत्यु भएपछि ‘पितृकोमा बास होस्’ भन्ने गरिन्छ । यो शब्द पिताबाटै आएको हो । जुन किराँतीहरूले भन्ने गरेको पुर्खाको अवधारणासँग बाझिन्छ, किनकि आफ्ना पुर्खाहरूबाट आशिष माग्दा ‘सुम्निमा पारूहाङ (किरात राईहरूको देवी देउता)ले बल प्रदान गरून्’ भन्ने चलन अझै पनि छ । यहाँ पिता होइन माता अर्थात् सुम्निमाको शक्ति अग्रणी मानिने कोणबाट केलाउँदा समकालीन परिवशेमा मुन्धुमको नेपाली रूपान्तरणले ल्याएको समस्याका रूपमा यसलाई बुझ्न सकिने ठाउँ छ । आदिवासी समुदायमा स्वशासन, न्याय र सुरक्षा कायम राख्ने प्रथाजनित/परम्परागत संस्था र न्याय प्रणालीहरू समतामूलक र समावेशी हुन्थे भन्ने गरिन्छ । धिमालको माझीवाराङ, माझीको मझेसाबा, थकालीको तेह्र मुखिया, थारूको बडघर, ह्योल्मोको ह्युल्ठिम लगायतका परम्परागत संस्थाहरूको गठन र नेतृत्व चयन प्रक्रिया समावेशी थिए (लाहुर्निप, सन् २०१५) । ती संस्थाका नेतृत्वमा समुदायले रुचाएको जोसुकैलाई चुनेपछि निर्विरोध चयन भएको मानिन्थ्यो । त्यस अर्थमा भेलाले महिला, युवा जसलाई पनि चुन्न सक्थ्यो तर त्यसरी कति महिला चुनिए ? भन्ने कुरा अनुत्तरित छ । यस्ता संस्थाको समावेशी चयन प्रक्रिया पनि नेपाल एकीकरणसँगसँगै क्रमभंग भयो । जस्तैः एकीकरणका बखत माझीको मझेसाबामा जो जो नेतृत्वमा थिए उनैका छोरामा स्वतः नेतृत्व सर्दै जाने चलन बसालियो (माझी, सन् २०१५, पृ. ७३-१०४) । त्यसपश्चात् नेतृत्वमा महिला आउने ढोका बन्द भयो र उनीहरू सहयोगी भूमिकामै सीमित पारिए । नेपालका आदिवासी जनजातिहरूले मातृसत्तात्मक समुदायको दाबी गरे पनि अहिले उनीहरूले अभ्यास गरिरहेको व्यवस्था पूर्ण रूपमा पितृसत्तात्मक नै हो । आन्दोलन र सङ्गठनको पितृसत्तात्मक चरित्र आदिवासी जनजातिहरूले २०४६ सालपछि नेपाली राज्य व्यवस्थासँग लड्नका लागि खडा गरेका सङ्गठन र आन्दोलनको खाका पितृसत्तात्मक धरातलबाटै उठेका छन् । आदिवासीय परम्परागत संस्थाको सट्टामा आधुनिक राज्य सत्ताकै ढाँचाअनुरूपका सङ्गठनहरूमार्फत् आन्दोलन थाली विस्तार गरिएको छ ।  त्यसका दुईवटा पक्ष छन्- पहिलो, त्यसबेला समुदायलाई आफ्नो अस्तित्व र मौलिक पहिचान पुनस्थापनाका निमित्त सचेत बनाएर राज्य संरचनाविरूद्ध एकढिक्का भएर उभिनु अत्यावश्यक थियो । फलतः शासन व्यवस्थाले उनीहरूको मौलिक पहिचान, दर्शन, ज्ञान, भाषा-संस्कृति, थातथलोलगायतका कुराहरू मास्दै लगेकाले ती सवालहरूमा उनीहरू केन्द्रित भए ।  दोस्रो, समुदाय पितृसत्तात्मक व्यवस्थामा चल्न अभ्यस्त भइसकेकाले त्यस्ता सङ्घर्षहरूमा स्वतः पुरूषहरूको अग्रसरता र विचारको प्रभुत्व रहन गयो ।  समुदायका महिलाहरूको सवालसहितको संलग्नता र उनीहरूमाथि हुने वा भएका शोषण-विभेद र त्यसको प्रभावहरू अदृश्य भए । आदिवासी जनजाति समुदायभित्र जे जति पितृसत्ताका चरित्र र अभ्यासहरू छन्, तिनको कारक हिन्दु वर्णाश्रम अनुरूपको ब्राह्मणवादी पितृसत्तात्मक शासन व्यवस्थालाई ठान्ने गरेका छन्, जुन गलत होइन तर त्यही कुरालाई आधार मान्दै समुदायभित्रका लैङ्गिक विभेद/हिंसा, समुदायका महिलाहरूमाथि बहुरूप र तहमा भइरहेको विभेद र अन्यायलाई महत्त्व नदिनु त्यही पितृसत्तात्मक व्यवस्थालाई बलियो पार्नु हो । जनजाति आन्दोलन र उनीहरूका निमित्त खोलिएका संस्था/सङ्गठनहरूले त्यही गर्दै आइरहेका छन् । २०४७ सालमा स्थापित आदिवासी जनजातिहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घ स्थापनाकालदेखि निरन्तर आन्दोलनमा छ । आन्दोलन बलियो बनाउनकै खातिर सङ्गठन विस्तार गरिए । सवालहरू पहिचान गरिए । जनजाति महासङ्घदेखि देशविदेशसम्म बिस्तारित जातीय सङ्गठनहरूमा महिला सहभागिता र महिला नेतृत्व उत्पादन कार्यलाई गम्भीरताका साथ लिइएन । सवालहरूलाई लैङ्गिक कोणबाट उठाइएन । आदिवासी जनजाति समुदायभित्रको अन्तरसम्बद्ध- खासगरी महिलाका सवालहरूमा जनजाति आन्दोलनको बेवास्ता, असमझदारिता, असमावेशिता र असहयोगकै परिणामस्वरूप महिलाहरूले ‘राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ’ गठन गरेका थिए (राई, २०७३, पृ.५४-७६) । नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनहरूमा स्वतःस्फुर्त होमिएका पुरूष-महिला र आफ्नै समुदायका सहकर्मीहरूले समेत आफूहरूलाई सहायक वा ‘काम चलाउ’का रूपमा मात्रै व्यवहार गर्ने गरेको पाएपछि जातिवाद, उपनिवेशवाद, लैङ्गिक विभेद र सीमान्तकृत समुदायमाथिको बहुआयामिक शोषण र विभेदविरूद्ध सङ्गठित हुन पुगेका  थिए । जनजाति महिलाहरूले जनजाति आन्दोलनले उठाउने सवालहरूमा साथ, समर्थन र सङ्घर्ष गर्दा प्रोत्साहित गरिए भने लैङ्गिक-जातीय सवालसहित सङ्गठित हुँदा ‘जनजाति आन्दोलनको शक्ति घटाउने’ कामका रूपमा अर्थ्याइयो । महिला आन्दोलनले उठाएकै मुद्दाहरूलाई सकारेर बिनाप्रश्न सामेल हुँदा उनीहरू सहजै स्वीकार्य हुन्छन् भने त्यहाँ पनि जातीय-लैङ्गिक सवाल उठाउँदा ‘जातिवादी’ वा ‘महिला आन्दोलनमा फुट ल्याउने’मा दरिइन्छन् । यी दुबै प्रवृत्ति पितृसत्तात्मक संरचना र प्रवृत्तिकै देन हुन् । जनजाति महिलाका सङ्गठन खुलेपछि जनजाति आन्दोलनले लैङ्गिकताको मुद्दाको जिम्मा अघोषित रूपमा उनैलाई सुम्पिएझैँ भयो । ‘सांस्कृतिक एजेन्ट’का रूपमा जातीय पोशाक र भेषभूषामा महिलाहरूलाई धर्ना, जुलुस, झाँकीजस्ता प्रदर्शनीहरूमा अग्र भागमा उभ्याइए । उनीहरूमा भएको वैचारिकी, ज्ञान एवम् निर्णायक हैसियत स्वीकार्ने प्रवृत्ति भने आन्दोलन र संस्थागत संरचनाहरूमा स्थापित भएन । महिलाले महिलाकै निम्ति गठन गरेका र एकाध जातीय संस्थाहरूमा बाहेक महिला नेतृत्व पाउन सकिन्न । समानुपातिक समावेशितालाई प्राथमिक मुद्दा मानेको जनजाति आन्दोलनले नीतिगत करकापले मात्रै महिला सहभागिता सुनिश्चित गर्दै आएको छ । आफैले वकालत गर्ने गरेको अर्थपूर्ण सहभागिताको त कुरै भएन । सवालकेन्द्रित आवाज बलियो पार्नुमा भन्दा पितृसत्तात्मक ढर्राकै पदीय मान मर्यादा र शक्ति हासिल गर्नुलाई आदिवासी जनजाति समुदायले प्राप्त गरेको उपलब्धि मानिएको छ । ‘पहिले आदिवासी जनजातिको रूपमा अधिकार पाउँ अनि महिला आदि इत्यादि’ भन्ने पितृसत्तात्मक एकाङ्गी मान्यता तोड्नुपर्छ भन्ने चेतका साथ अघि बढ्ने जमात एकदमै सानो र सीमित छ । जहिल्यै शासकीय संरचना, स्रोत-साधन, सूचना र परियोजना/कार्यक्रमहरूबाट बहिष्कृत समुदायको सामर्थ्यभन्दा सीमा र अड्चनहरू बढ्तै हुने गर्छन् । आन्दोलन र सङ्गठनहरूभित्रको पितृसत्तात्मक प्रवृत्तिहरूले त्यस्ता सीमा र अड्चनहरूलाई कम गर्नुको सट्टा झन् बढावा दिइरहेको छ । मुश्किलले बचेकुचेका मातृसत्ताका अवशेषको भरमा धानिएको लैङ्गिक समानतालाई आड बनाएर आलटाल गरी बसेका छन् । तब, जनजाति आन्दोलन र सङ्गठन ब्राह्मणवादी पितृसत्ताभन्दा के अर्थमा भिन्न छन् ? पितृसत्ताकै अनुसरणमा जनजाति महिला आन्दोलन मातृसत्तात्मक समाजको सदस्य हुनुको गौरवबोध महिला पुरूष दुबैमा हुनु अस्वाभाविक होइन । मुख्य कुरा, गौरवबोध भन्दा धेरै पर पुगेर, पितृसत्तात्मक सोच र व्यवहारसँग समुदायका पुरूषहरू मात्रै होइन, महिलाहरू पनि उत्तिकै अभ्यस्त पारिएका छन् भन्ने हो ।  समुदायमा महिलाहरू सशक्त छन्, अधिकारको भरपूर उपभोग गरिरहेका छन् भन्ठान्नेहरू नै अधिक छन् । महिलाहरूको त्यस्तो सशक्तपन र स्वतन्त्रता सावर्जनिक वृत्तहरूमा, राज्यका संयन्त्रहरूमा किन छैन भन्ने कुरालाई सुक्ष्म रूपमा बुझ्ने र बुझाउने जमात असाध्यै कम छन् । समुदायका महिलाहरू विभेदमा परेका छन्, शोषणमा परेका छन् भन्ठान्नेहरू पनि कम भेटिन्छन् ।  यस्तो सरल र सपाट बुझाई पितृसत्तात्मक वैचारिकीकै अनुसरण हो । आदिवासीहरूले पितृसत्ता अवलम्बन नगर्दा र त्यसबाट प्रभावित नहुञ्जेलसम्म महिलावाद औचित्यहीन हुनु स्वभाविक हो । अहिले पनि पितृसत्तालक्षित महिलावाद आदिवासी जनजाति महिलाहरूको अनुकूल अवधारणा होइन । महिलावादी अवधारणाको प्रमुख ध्येय महिलालाई पुरूष सरह सामाजिक र राजनीतिक तवरमा समान र सम्मानित बनाउने हो । आदिवासी जनजाति महिलाहरूले अरू पुरूष सरहको समानता र सम्मान पाउनु मात्रै पर्याप्त होइन । उनीहरूको आफ्नै थातथलोसँग सम्बन्धित भिन्न पहिचान, संस्कृति, भाषा आदि भएका महिलाका रूपमा समुदायले प्रदान गरेको हकअधिकारहरू स्वतन्त्रपूर्वक भोगचलन गर्दै स्वायत्त र सम्मानजनक जीवनयापन गर्न पाउनु प्रमुख कुरा हो । त्यस्ता अन्तरसम्बद्ध (इन्टरसेक्सनल) पक्षहरू एकसाथ सम्बोधन हुन सक्ने व्यवस्था वा प्रणाली स्थापित गर्नु नै आदिवासी महिलावादको लक्ष्य हो । जुन आदिवासीवाद र महिलावादको मिश्रणयुक्त एक अन्तरसम्बद्ध खाकाको रूपमा आदिवासीहरूले अपनाउदै ल्याएका छन् । यो सिद्धान्ततः आदिवासीय सामाजिक-सांस्कृतिक-भाषिक-लैङ्गिक पक्षहरूलाई अग्रस्थानमा राख्दै उपनिवेशवादी पितृसत्ता र समुदायभित्र मौलाएको पितृसत्ताविरूद्ध लड्ने खाका हो । नेपालमा धेरै नसुनिएको यो खाकाअन्तर्गत नै आदिवासी जनजाति महिलाहरूले आफ्ना आन्दोलन र सवालहरू अघि बढाइरहेका छन् । तर सैद्धान्तिक र वैचारिक तवरमा त्यसलाई मिहिन ढङ्गले बुझ्ने/बुझाउने र अवलम्बन गर्ने गरिएको छैन । अझै पनि आदिवासी जनजाति महिलाहरू किन र केका लागि आन्दोलित छन् भन्ने कुरा बाह्य समाज र नेपालका महिला आन्दोलनहरूमा प्रस्ट्याउन सकिएको छैन । जनजाति महासङ्घकै संरचनाको सिको गर्दै जनजाति महिला महासङ्घ खडा गरेर अघि बढाइएका छन् । जातीय र लिङ्गीय आन्दोलनहरूमा रहेको पितृसत्तात्मक प्रवृत्तिविरूद्ध आफ्ना आवाज सशक्त पार्न सकेका छैनन् । मिश्रित समाजका अरू समुदायका महिलाहरूमा सादृश्य र भौतिक स्वरूपमा देखिने लैङ्गिक तथा यौनिक शोषण, हिंसा र विभेदकै कोणबाट आदिवासी जनजाति महिलाहरूको सामाजिक-सांस्कृतिक-लैङ्गिक-भाषिक अवस्थिति/विभेदलाई बुझ्ने, गलत अर्थ्याउने र (अप)व्याख्या गर्ने राज्य र बाह्य समुदायको दृष्टिकोणसँग स्पष्ट विचारका साथ जुध्न सकिरहेका छैनन् । समुदायले दिएको हकअधिकारहरू निजी वृत्तमा जे जति लागू गर्न सकेका छन्, ती सार्वजनिक वृत्तहरूमा किन बेकामे भएका छन् भन्ने सवाल राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनन् । त्यसो भए पनि, जनजाति महिलाहरूले लिङ्गीय-जातीय वा जातीय-लिङ्गीय मुद्दा उठाए पनि उनीहरूले टेक्ने हरेक पाइलाको आधारभूमि समुदाय र जनजाति आन्दोलन नै हो । जनजाति महिला आन्दोलनले मूलतः जनजाति आन्दोलनबाटै ज्ञान र अनुभव लिँदै आइरहेको छ । आन्दोलनका विज्ञ र नेतृत्वहरू (जो पुरूष नै छन्)मार्फत नै मार्गनिर्देश हुँदै अधिकांश सूचना र स्रोतहरूमा पहुँच राख्दै आइरहेका छन् ।  समुदाय, आन्दोलन र नेतृत्व पङ्क्ति आफै पितृसत्तात्मक संरचना पछ्याएर हिडिरहँदा उनीहरूले मात्रै त्यसको वैकल्पिक संरचना खडा गर्नु, आन्दोलनको वैकल्पिक थलो निर्माण गर्नु र पितृसत्तालाई कमजोर पार्नु ज्यादै कठिन काम हो । सामाजिक न्यायको पक्षधर जनजाति आन्दोलनले जातीय र लैंगिक न्यायको मुद्दालाई सँगै नलाने हो भने जनजाति महिला आन्दोलन एउटा झिनो आवाज बन्दै बिलिन हुने सम्भावना प्रवल छ । समुदायसँग भएको मातृसत्तात्मक अवेशषहरूलाई पनि पितृसत्तात्मक अभ्यासहरूले नामेट पारिदिनेछन् । टुङ्ग्याउनी आदिवासी जनजाति समुदाय प्रायःजसो पितृसत्ता, चाहे त्यो समुदायभित्रै झाँगिदै गरेकै किन नहोस् र महिलावादका गम्भीर सवालहरूमा मौन हुने गर्छ । लैङ्गिकतासम्बन्धी आलोचनात्मक र विवादका कतिपय महत्त्वपूर्ण कुराहरूमा  विचार अभिव्यक्त गरेको धेरै पाइँदैन  । अडान राख्दैन, सकभर तटस्थ रहन्छ । अरू समुदायका तुलनामा पछाडि पारिनुमा यस्ता अभ्यासहरूले पनि भूमिका खेलिरहेका छन् भन्ने मान्न तयार देखिँदैनन् । त्यसले महिलावादभित्रको समावेशिताको मुद्दा कमजोर पार्छ । समुदायभित्र र समग्र व्यवस्थामा रहेको पितृसत्ताको जगेर्ना गर्छ । लैङ्गिक समानताको अवधारणालाई राज्यले अपनाउन थालेसँगै नेपाली समाजमा विद्यमान पितृसत्ता र महिलामाथि हुने विभेद, हिंसा, शोषणहरूलाई स्वीकार्न  थालिएको छ । आदिवासी जनजाति समुदायले भने त्यो अवधारणा आफ्नो समुदायअनुकूल नरहेको मान्ने तर त्यसको विकल्पमा रहेको आदिवासी महिलावादलाई समेत अपनाउन सकिरहेको छैन । आदिवासी जनजाति समुदायका महिलाहरू मूलतः वृहत्ततर पितृसत्तात्मक शासकीय संरचना र समुदायस्तरको पितृसत्तात्मक अभ्यासबीच चेपिदै जाने क्रम बढ्दो छ । मातृसत्तात्मक समुदायको ऐतिहासिक पहिचानको गौरवगाथामै रमाएर वास्तविकतालाई बेवास्ता गर्न छाड्नुपर्छ । आदिवासी जनजाति समुदायभित्र लादिएको आगन्तुक पितृसत्तालाई कि नकार्न सक्ने बुता पनि समुदायसँग हुनुपर्छ कि चाहिँ त्यसलाई खुलेआम स्वीकारेर अघि बढ्न सक्नुपर्छ ।   सन्दर्भ स्रोत थुलुङ, नारद मुनि (२०४२). किराँतको नालि–बेलि . विराटनगर: श्रीमती अंगुर कन्दङ्वा । भट्टराई, लोककृष्ण (२०५५). नेपाली सभ्यताः विगत र वर्तमान, काठमाडौः विद्यार्थी पुस्तक भण्डार । योञ्जन तामाङ, अमृत (२०७३). उज्यालो यात्रामा तामाङ महिला. काठमाडौँ: गान्बा प्रकाशन । राई, कैलाश (२०७३). राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घः गठन, क्रियाकलाप र औचित्य. पहिचानको खोजी: आदिवासी जनजाति महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३) । राई, कैलाश, सं., पृ. ५४-७६ । काठमाडौँ: इण्डिजिनियस मिडिया फाउन्डेसन । लाहुर्निप (सन् २०१५). परम्परागत संस्थाः एक अध्ययन (नेवार, थकाली, माझी, धिमाल, थारू, ह्योल्मो, ज्यापू र मगर). काठमाडौँ: नेपालका आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ।

लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य

लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य

११६३ दिन अगाडि

|

११ जेठ २०८०

सञ्चार माध्यम र विभिन्न छापाबाट प्राप्त सूचनाका आधारमा के भन्न सकिन्छ भने यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलबाट रिहा हुनुहुनेछ । उच्च अदालतबाट उनलाई तोकेको जन्मकैदको सजाय सर्वोच्च अदालतले सदर गरेदेखि नै यस्तो चर्चा चुलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिमा यस्तो सङ्केत देखिन्छ ।  सर्वोच्च अदालतको फैसलापछि रेशम चौधरीले पनि अत्यन्तै सन्तुलित प्रतिक्रिया दिनुभएको छ । उहाँको पार्टीले सर्वोच्च अदालतको फैसलापछि अपनाएको विशेष संयमताबाट समेत यसको पुष्टि हुन्छ । यस मुद्दामा सर्वोच्च अदालतको यो फैसलाको सम्बन्धमा संसद्मा उपस्थित र खास गरेर मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका नेता र सांसदहरूको मौन मनोभावले समेत त्यो सम्भावनालाई नै बल पुर्‍याएको छ । प्रायः सबै जना जुनसुकै तरिकाले भए पनि उनी जस्तै बिनासित्ति कारागार जीवन भोगिरहेकाहरूको रिहाइको प्रतीक्षामा छन् ।  जेजस्तो र जसरी भए पनि टीकापुरको आन्दोलनका यी निर्दोष आन्दोलनकारीहरू कारागारबाट मुक्त हुनु निश्चय नै एउटा खुसीको कुरा हुनेछ । उनीहरूको रिहाइले मधेसको एउटा जल्दोबल्दो मुद्दाको सम्बोधन हुन्छ । राज्य सञ्चालनका संस्थापन शक्ति समूहको निमित्त पनि यो कार्य राहतको विषय हुने देखिन्छ । किनभने देखावटी भए पनि सत्ता निमित्तको हरेक गठबन्धनीय समीकरण तयार हुने बेलामा मधेस र थरुहटसँग सम्बन्धित प्राय सबै दलहरू बडो जोडतोडका साथ रेशम चौधरीको रिहाइको सर्त तेर्स्याउँदै आएका छन् । देउवा हुन् वा ओली अथवा प्रचण्ड, सबैले आआफ्ना स्वार्थअनुसार मुद्दा फिर्ता लिने आश्वासन दिँदै आएका छन्, तर अहिलेसम्म उनीहरूकै अनिच्छाले पूरा हुन सकेको छैन । कमसे कम चौधरी र अन्य आन्दोलनकारीहरूको माफीमिनाहाको प्रक्रियाबाट रिहाइले यस्तो सर्तको तनावबाट संस्थापन शक्ति समूहलाई पनि केही हदसम्म राहत दिने नै छ । रेशम चौधरी, लक्ष्मण थारु आदिको रिहाइको जस लिन मधेसबाट चुनिएका नेताहरू जनताका बिचमा दौडिरहेका छन् । रिहाइ भएमा सत्तासीन ठुला दलहरूको प्रशंसा पनि बढ्ने छ । अनि लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण गर्नुभन्दा मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा खेप्दै जेल भोगिरहेका र फरार घोषित गरिएका बाँकी आन्दोलनकारीको रिहाइ र मुद्दा फिर्तातिर बढी जोड दिइएको देखिन्छ । यो कार्य संस्थापन शक्ति समूहका निमित्त थप राहतको विषय बन्नेछ । मधेसका नेता भनिनेहरू अब यसै मागको राजनीति गर्ने छन् । लुकाएर राखिएका धेरै मुद्दाहरूको स्थिति यथास्थितिमा रहने छन् । यसको प्रयोग प्रशासनले आवश्यक परेका बेला प्रताडनाको हतियारका रूपमा गरिरहने छ ।  जेलमा कोचिएका रेशम चौधरीसहितका आन्दोलनकारीहरू निर्दोष छन् । समानता निमित्तको आन्दोलनलाई नेतृत्व गरेकै कारण राज्यले उनीहरूमाथि झुटा मुद्दा लगाएर यति विधि यातना दिएको हो । तथ्य यही हो । यो वास्तविकता र तथ्यसँग सबै राम्ररी परिचित छन् । यिनीहरूमाथि सुरु अदालतदेखि ठोकिएको सजायको एक मात्र कारण राजनीतिक प्रतिशोध नै हो । अभियोजन पक्षले पत्यारिलो प्रमाण र आधार प्रस्तुत गर्न नसके पनि अदालतहरूबाट सजाय ठोकिँदै र सदर हुँदै गयो । नेपालको न्यायपालिकाको इतिहासमा वर्तमान न्यायिक स्तरलाई देखाउन रेशम र उनका साथीहरूको मुद्दा निश्चय नै एउटा उदाहरणका रूपमा अगाडि आइरहने छ । लामो समयदेखि लम्बित थरुहट आन्दोलनसँग सम्बन्धित यस मुद्दाको अन्तिम निर्णय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोरतोडका साथ उठिरहेका बेला र गणतन्त्र दिवसको केही अगाडि मात्र आउनु विश्लेषणकै विषय हो । यसले अदालत, सरकार र संस्थापन शक्तिबिच सुमधुर समन्वयकारी सम्बन्धको खुलासा गर्दछ । लोकतन्त्रमा शक्ति पृथकीकरण, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको स्थितिको आकलनको निमित्त यसको अध्ययन जरुरी छ । रेशम चौधरी, लक्ष्मण थारु र अन्य केही आन्दोलनकारीको रिहाइपछि लाल आयोगको प्रतिवेदनको सम्पूर्ण प्रयोजन नै समाप्त हुनेछ भन्ने सरकार र संस्थापन शक्ति समूहहरूको सोच भएको हुन सक्तछ । संस्थापन शक्ति समूहको रणनीतिको मूल पाटो ‘सफाइ होइन, सजाय र अन्त्यमा माफी मिनाहा’ रहेको छ । मधेस र थरुहट आन्दोलनको क्रममा नृशंस दमनको निमित्त जिम्मेवार तत्कालीन सरकार, राज्यको संस्थापन शक्ति समूहभित्रका राजनीतिक दलका नेताहरू र आफ्नै नागरिक दाजुभाइहरूमाथि नृशंस दमनको निमित्त हतियार बन्न पुगेका सुरक्षाकर्मीहरूको दोष पनि लुकाउन सकिने र भविष्यमा समेत यस्तै दमन गर्नुपर्ने भयो भने त्यसको निमित्त सुरक्षाकर्मीहरूको मनोबल पनि कायम रहिरहने उद्देश्य यसको रणनीतिभित्र देखिन्छ । मधेस र थरुहटमा पछि माफीमिनाहाको नौटङ्की गरी रेशम चौधरीलगायतका निर्दोष आन्दोलनकारीको रिहाइ गरी श्रेय लुट्ने स्वार्थ रणनीतिको अन्तिम अध्यायको विषय भएको देखा परिरहेको छ । घटनास्थलबाट धेरै टाढा रहेका र त्यसमा कुनै उक्साहट वा निर्देशन पनि नदिएका रेशम चौधरी, लक्ष्मण थारु आदिलाई बलिको बोका बनाइयो । रणनीति कार्यान्वयनको निमित्त सुरुदेखि अन्तिम तहसम्मको अदालतको प्रयोग गरियो । मुद्दाको किनारा सत्य–तथ्यको आधारमा भएन वा गर्न दिइएन । राजनीतिक सत्ता समीकरणमा दबाबको स्थिति उत्पन्न भएपछि फैसला गरी गराई माफीमिनाहाको प्रक्रियामा पार्ने बाटो अपनाइएको रहेछ ।  लाल आयोग सरकारले नै गठन गरेको थियो । आयोगबाट प्राप्त प्रतिवेदन अहिले पनि सरकारको हातमा छ । उक्त प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम वर्गीकृत भई गोप्य श्रेणीमा रहने कुनै निर्णय भएको छैन । सूचना आयोगले ऐनको दफा ३ को (४) को व्यवस्थाअनुसार प्रतिवेदन ऐनको ३ को (३) अनुसार प्रकाशित गर्न नमिल्ने रहेको अवस्था नरहेकाले सार्वजनिकीकरण गर्न निर्देशनसमेत दिइसकेको स्थिति छ । तर सरकारले प्रतिवेदन सार्वजनिक गरेन, गर्न चाहेन । उल्टै अनुचित रूपमा सरकार आफैँले गरे मात्र सार्वजनिक हुने विषयमाथि रोकको आदेश पाउन अदालत समक्ष पुग्यो । सरकारले नै नचाहे सार्वजनिक नहुने ग्यारेन्टी हुँदाहुँदै अदालतले लगत्तै कुनै छलफल नगरी कारणसमेत नबुझी सार्वजनिकीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश गर्‍यो र निकासको स्थिति अहिलेसम्म झुन्डिएको झुन्डियै छ ।  रेशम चौधरीको मुद्दामा समेत अदालतले सो प्रतिवेदन मगाएर हेर्नुपर्ने थियो । त्यसो गर्दा सो मुद्दासँग सम्बन्धित सत्यतथ्यको विस्तृत जानकारी प्राप्त हुनेथियो । सरकारले सो प्रतिवेदनमा उल्लेखित कुनै तथ्यको खण्डन नगरेको हुनाले त्यसमा उल्लेखित तथ्यलाई आधारका रूपमा मानी अदालतले रेशम चौधरी, लक्ष्मण थारु आदिलाई न्याय दिन सक्थ्यो । तर त्यसो गरिएन । बहसका क्रममा अदालत स्वयंले ‘आन्दोलनको आह्वान गर्नु र घटनामा स्वयं उपस्थित हुनु एकै हो, होइन’ भन्ने प्रश्न उठाउँदा सरकारको पक्षबट ‘त्यसो होइन’ भन्ने जवाफ दिइए पनि सर्वोच्च अदालतको निर्णय उच्च अदालतको सजाय सदर नै रह्यो । यी सबैले सबै घटनाक्रम पूर्वनिर्धारित समयअनुसार नै अगाडि बढेको प्रमाणित हुन्छ ।  सवाल लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको हो । लाल आयोगको गठन मधेस र थरुहट आन्दोलनको क्रममा घटेका घटनाहरूको सत्य, तथ्य जनतामा ल्याउनको निमित्त भएको हो । यो कुनै व्यक्तिसँग भएको घटना वा कुनै व्यक्तिमाथि लगाइएको आरोप र मुद्दासँग मात्र सम्बन्धित छैन । सम्पूर्ण मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित छ । मधेस र थरुहट आन्दोलनको क्रममा भएका घटना, हत्याहरूको परिवेश, त्यसका निमित्त जिम्मेवार तत्त्व (राज्यको प्रशासनिक दमनकारी समूह वा आन्दोलनकारीको समूहमा छिरेका असामाजिक तत्त्व), आन्दोलनका क्रममा भएको दमन र सुरक्षा अधिकारीहरू लगायतसँग सम्बन्धित छ । कुन अवस्थामा कसरी टीकापुरमा आन्दोलनकारी र सुरक्षाकर्मीहरू मारिए ? नाबालिग बच्चो कसरी प्रहरीसँग मात्र हुने राइफलको गोलीको सिकार भयो ? थमन विक अस्पताल लैजाँदा राजमार्गबाट नलगी धेरै टाढा र सजिलै गाडी हिँड्न नसक्ने घुमाउरो हिलाम्मे कच्ची बाटोसम्म कसरी लगिए र उनको मृत्यु भयो ? मोरङमा द्रोपदी कसरी गोलीको सिकार भइन् ? जलेश्वरमा आफ्नो आँगन (दैलो)मा उभिएकी महिला कसरी सहिद हुन पुगिन् ? हिफाजत मियाँसँग के भएको थियो ? जलेश्वर, जनकपुर, वीरगञ्ज, मलेठ आदि स्थानमा कसरी युवाहरू सहादत प्राप्त गरे ? महोत्तरीको बजराहीमा नातिको सहादतपछि विक्षिप्त आफ्नो बगैँचामा घुमिरहेको बाजेलाई कसले र किन गोली ख्वायो ? यी घटनाहरूमा कतै कुनै आन्दोलनकारीसँग हातहतियार थियो थिएन ? थिएन भने युद्ध भए जस्तै सुरक्षाकर्मीले किन र कसको आदेशमा घातक हातहतियारको नृशंसपूर्वक प्रयोग गरे ? यस्ता प्रश्नको उत्तर हिमाल, पहाड र मधेस–थरुहट सबै क्षेत्रका जनतालाई जान्ने अधिकार छ । अहिले चर्चा रहेअनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलगायत अरूलाई माफी–मिनाहाको घोषणा भयो भने लाल आयोगको प्रतिवेदनको सार्वजनिकीकरणको माग उठ्दैन र टीकापुरको घटनाको सत्य, तथ्य सदाको निमित्त मसानमा गाडिएर नष्ट भएर जानेछ भन्ने राज्य सञ्चालक संस्थापन शक्ति समूहको सोच छ । लाल आयोगको प्रतिवेदनलाई पनि यस्तै खाल्टोमा धकेल्नु कदापि सुखद हुने छैन । त्यसकारण लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको निमित्त राष्ट्रिय र अन्तर्राट्रिय मानव अधिकारवादी, सङ्घसंस्था तथा राजनीतिकर्मीहरूको गम्भीर ध्यानाकर्षण आवश्यक छ । हाम्रो देशमा आन्दोलनको अनुचित र नृशंस दमनको घटनाबारे छानबिन गर्न बनेका आयोगहरूको प्रतिवेदनको हबिगतको इतिहास सुखद छैन । २०४६ सालको जनआन्दोलनका क्रममा भएका घटनाबारे आएको मल्लिक आयोगको प्रतिवेदनको गहन अध्ययन भएन । दोस्रो जनआन्दोलनका क्रममा भएका अपराधहरू सजायको निमित्त कठघरामा उभ्याइएन । आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्नु र आन्दोलनपछि फेरि पनि बिस्तारै तीनै सत्ताखोरहरूको हालीमुहाली हुन पुगी परिवर्तनपछि आएको नेतृत्व समूह तिनै सत्ताखोरहरूको प्रभावमा परेर भ्रष्टाचारको रङमा रङ्गिन पुग्नुको यो पनि एउटा प्रमुख कारण हो ।  लाल आयोगको प्रतिवेदनलाई पनि यस्तै खाल्टोमा धकेल्नु कदापि सुखद हुने छैन । त्यसकारण लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको निमित्त राष्ट्रिय र अन्तर्राट्रिय मानव अधिकारवादी, सङ्घसंस्था तथा राजनीतिकर्मीहरूको गम्भीर ध्यानाकर्षण आवश्यक छ । यो राष्ट्रिय मानव अधिकार आयोगको समेत चासोको विषय हुनै पर्दछ । सर्वोच्च अदालतले तत्कालीन मुख्य सचिव वैरागीबाट दर्ता गरिएको रिट निवेदनलाई तत्काल अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्दछ । सार्वजनिकीकरण गर्ने पक्ष सरकार नै भएकाले प्रयोजनविहीन अवस्थामा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश र नेपाल सरकारका तर्फबाट सर्वोच्च अदालतमा दर्ता रहेको रिट निवेदनसमेत स्वतः बदरभागी रहेको देखिन्छ । यसलाई अझै लम्बित गर्नु जनताको सूचना पाउने अधिकार अर्थात् संविधानको धारा २७ मा उल्लेखित सूचनाको हकको ठाडो उल्लङ्घन हो । लाल आयोगको प्रतिवेदन कुनै कानुनबमोजिम गोप्य राख्नुपर्ने दस्तावेज नरहेकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको कारणले यसको सार्वजनिकीकरण गर्न अवरोध रही रहनु त्यसैले अन्यायपूर्ण हो । रेशम चौधरी र आन्दोलनको क्रममा गिरफ्तार भएका सबैको रिहाइ होस् । प्रतिगामी तत्त्वहरूद्वारा बलिको बोका बनाइएर उनीहरूमाथि गरिएको अन्यायको अन्त्य यथाशीघ्र हुनुपर्छ र सँगै लाल आयोगको प्रतिवेदन पनि सरकारले सार्वजनिक गर्नु त्यतिकै आवश्यक छ । सत्य, तथ्य बाहिर आएपछि यी निर्दोषहरू जनताको नजरमा सफाइ पाउने छन् । यही उनीहरूप्रति वास्तविक न्याय हुनेछ ।  (लेखक तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन् । )रातोपाटीबाट

कस्तो होला कर्ण बिनाको महाभारत ?

कस्तो होला कर्ण बिनाको महाभारत ?

११६३ दिन अगाडि

|

११ जेठ २०८०

रेशम चौधरी “जिस भजनमे रामका नाम ना हो, उस भजनको गाना हि नही चाहिए जिस जगहमे अपना नाम ना हो, उस जगहमे जाना हि नही चाहिए”   प्रवासमा बस्दा मेरो निवास बाहिर एक दृष्टिविहीन कलाकारले भिक्षा माग्दै गाएको गीत हो यो । “जहाँ आफूलाई बोलाइएकै छैन, त्यो स्थानमा नगएकै उत्तम हुन्छ । जुन भजनमा ईश्वरको नामै हुन्न, त्यस्तो भजन के गाउनु ?” माथिको गीतको सार हो यो ।  “छल विना युद्ध कसरी जितिन्छ अर्जुन ?” कृष्णले अर्जुनलाई महाभारतको युद्धमा सम्झाएको अंश हो यो । “द्रौपदी चीरहरणका लागि शकुनीले छलको पासा फाले । भ्राता युधिष्ठिरले छल गरेर कर्ण कवच मागे । सत्यपक्ष छोडेर भीष्म पितामहले कौरव पक्ष रोजे । सूर्य कहिल्यै अस्ताउँदैनन्, तैपनि विलय भएर छल गर्छन् । रात कहिल्यै हराउँदिनन्, तैपनि अलप भएर छल गर्छिन् ।  सृष्टि यस्तै हो अर्जुन ! यहाँ गृहस्थी चलाउन कहिले महादेव महिला बन्नु पर्छ, कहिले गोवरमुनि लुक्नुपर्छ । स्वर्ग, मर्त्य, पाताल सबै छलले नै चलिरहेको छ । त्यसैले, छल बखतमै बाण चलाऊ । कर्ण वध गर । महाभारत तिम्रै हुनेछ ।” अनि छेक्छन्, कृष्ण हत्केलाले सूर्य । अर्जुनले चलाउँछन् बाण । भीष्म पितामह, दुर्योधन, कर्णको वध हुन्छ । र, जित्छन् युद्ध महाभारतको । अनि प्रमाणित हुन्छ–“जितिँदैन रैछ छल विना युद्ध ।”   कहिलेकाहीँ म सम्झिन्छु– कतै म कुन्तीपुत्र कर्ण वंशको सन्तान त होइन ? राजा भईकन पनि रैती हुनुपर्ने । योद्धा भईकन पनि हार्नुपर्ने । मातृत्व, भ्रातृत्व भईकन पनि विहीन हुनुपर्ने । कथा मिल्छ । पात्र, आचरण फरक छैन । हरेक भोगाइले मन विचलित हुन खोज्छ । तैपनि दाह्रा किट्दै मन बुझाउँछु– “कर्ण विनाको महाभारत ब्यासले लेख्ने कल्पनासमेत गर्न सक्दैनन् होला ।”   –“छल गरेर युद्ध जितेका अर्जुनलाई सृष्टिकर्ताले सजाय दिएनन् त ?”  –“किन दिएनन् ? अर्जुन युधिष्ठिरसँग स्वर्ग जान किन नपाएको ?” महाभारत युद्ध जिते पनि अर्जुन कर्ण जस्तो महादानी होइनन् । महाबलि होइनन् । सूर्यपुत्र होइनन् । कवचधारी होइनन् । कर्ण विना इन्द्रप्रस्थको राजसभा बसेन । कर्णलाई हराउन स्वयम् भगवान कृष्ण रथ सारथि बन्नुप¥यो । छल गर्नुप¥यो । दिउँसै सूर्य लुक्नु प¥यो ।  सशस्त्र परीक्षामा कर्णलाई बोलाउनु भीष्मको भूल होइन, छल थियो । त्यस्तै, राज्यले रेशमलाई आन्दोलनमा बोलाउनु भूल होइन, छल थियो । आफ्ना गुरु परशुरामलाई बिच्छीले टोक्न नदिनु कर्णको गुरु मर्यादापालन थियो, क्षत्रिय कर्तव्य थियो । त्यस्तै, आफ्नो समुदायलाई राज्यबाट शोषित हुन नदिनु मेरो भूल थियो । मर्छु भन्ने थाहा थियो र पनि कर्ण युद्धबाट भागेनन् । थारुले न्याय पाउँदैन भन्ने थाहा हुँदाहुँदै पनि म न्यायालयमा लड्न छोडिन । खैर, कर्ण द्वापर युगका महाभारत पात्र हुन् । म कलियुगको थारु पात्र हुँ ।  कुन्तीपुत्र नभएपनि कर्ण पात्र अवश्य हुँ म । हिजो कर्ण हराउन ईश्वरले समेत छल गर्नुप¥यो । सृष्टिमा विचलन्ता ल्याउनु प¥यो । भौतिक रूपमा कर्ण युद्धस्थलमै ढले । तर, न त उनको वीरताको गाथा महाभारतमा ब्यासले लुकाउन सके । न त छल विना अर्जुनलाई जिताउन सक्छुँ, कृष्णले स्वीकार्न सके ।  कर्ण कर्णै हुन् । जसलाई मार्न भगवान् लाग्नुपर्छ । ईश्वरै लागेर पनि इतिहासमा उनलाई लुकाउन सकिन्न ।  अहिले न्यायालयको फैसलाले मलाई हराइएको जरुर छ । तर, मेरो मुद्दाको इतिवृतान्तमा म कतै हारेको छैन । थारु भावना जीवित राख्न बरु मैले निर्दोष हुँदाहुँदै जेल स्वीकारे तर काँग्रेस, कम्युनिष्टहरुको लालच स्विकारिन । कैद स्विकारेँ, टीकापुर घटनामा राज्यले बनाएको मिसिल स्विकारिन । सजाय स्विकारेँ, सामाजिक सद्भाव बिगार्ने सल्लाह स्विकारिन ।  चोला फेर्दैमा के हुन्छ र ? आज ब्यास कथाले भन्छ– भगवान् कृष्णको छल र उक्साहटमा अर्जुनले बाण चलाए र कर्णको वध भयो । तर के ब्यासले महाभारतमा लेख्न सके ? “के कर्णले छलको जीवन बिताए ? के कर्ण कपटी थिए ? के कर्ण महाबली थिएनन् ? के कर्ण महादानी थिएनन् ?” कर्णले महाभारत युद्ध हारेजस्तै मैले न्यायालयको युद्ध हारुँला रे । तर म मा हीनताबोध रत्ती छैन । किनभने मेरो निर्दोषिताको बारेमा म पूर्ण जानकार छु । नेपालको राजनैतिक आन्दोलनको इतिहासमा मेरो गाथा जरुर लेखिनेछ ।  अन्तमा यसो भन्दै गर्दा न्यायालयमा मेरो मुद्दाको मिसिल अझै फिलिङ्गो भई जीवित छ । फिलिङ्गोलाई फुक्न जान्नुपर्छ, आगो जरुर बल्छ । बलेको आगोले हात सेक्छ । भात पाक्छ । नजाने डढेलो लाग्छ, घर जल्छ । सर्वस्वाहा हुन्छ । बाँकी कलियुगे कृष्णहरूकै जिम्मा । जय नागरिक ।   हालः डिल्लीबजार, कारागार  

मलाई मृत्युदण्ड स्वीकार्य छ 

मलाई मृत्युदण्ड स्वीकार्य छ 

११६९ दिन अगाडि

|

४ जेठ २०८०

रेशम चौधरी अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४ लाख पटक भन्दा बढी जमिनी मुद्दाको हार बेहोरेका छन् न्यायालयबाट थारूहरूले । सत्य यही हो, सदियौँदेखि जोतभोग गर्दै आइरहेको जमिनको न्यायिक फैसला नभएकै कारण थारूहरू कमैया बन्न पुगे । मुद्दामामिलाका कारण थारूहरूको जमिन मात्रै गुमेन, चाँदीको सिक्कासमेत स्वाहा भयो । विगतदेखि वर्तमानसम्म न्यायालय र प्रशासनको सिकार भएकै छन् थारूहरू । साँच्चै भन्दा नश्लीय शासकको नोकरवाद लाद्ने गधा बनाइएका छन् थारूहरू ।  मैले जनताबाट न्याय पाएकै हुँ, त्यो पनि घटनास्थल वरिपरिकै मतदाताबाट; एक पटक होइन, तीन–तीन पटक । मैले पाएको न्यायको ठप्पा थारूको मात्रै थिएन, पहाडियाहरूको समेत थियो र छ । कतै हामीले प्राप्त गरेको मतबारे सम्मानित अदालत अन्जान पो छ कि ! होइन भने म त्यही रेशम चौधरी हुँ, जसले २०७४ को निर्वाचनमा विजय प्राप्त गर्दा प्रमाणपत्रका लागि अदालतको ढोका खट्खटाएको थिएँ । तर सम्मानित सर्वोच्च अदालतले मेरो निवेदन दरपीठ गरिदियो । ‘तँ थारू होस्, प्रवासमै बसेर चुनाव जित्ने अधिकार कहाँ छ तँलाई ? ठानेर होला न्यायालयले मेरो निवेदन लिन मनासिब नै ठानेन ।  नश्लवादको चिन्तन बोक्नेहरूले म र मेरो पार्टी नागरिक उन्मुक्तिलाई जातीयवादी राजनीतिक दलको उपमा भिडाउने गर्दछन् । हो, हाम्रो पार्टी जातिवादी नै हो तर नेपाली जातिवादी । असली पहिचानको जातीयवादको मुद्दा बोक्ने पार्टी । धर्म बेच्ने होइन, धर्म बचाउने पार्टी । जातीय सफाया गर्ने होइ, जात संरक्षण गर्ने पार्टी, यही एउटा पार्टी हो, जहाँ सबैलाई सम्मान छ । त्यही पार्टीको नेताले आज न्याय पाएन । मुद्दा हारेर रेशमले रोष प्रकट गरेको भन्ठान्दै हुनुहुन्छ भने त्यो एकदम सत्य हो । हो मैले रोष प्रकट गरेकै हो । मैले रोष प्रकट नगरे कसले गर्ने ? अब मैले न्याय माग्न जाने ठाउँ कहाँ हो ?  टीकापुर घटना राजनीतिक घटना हो । २०७२ भाद्र ७ गते थारूहरूको जुलुस टीकापुर बजारमा ‘थरुहट प्रदेश’ लेख्न गएकै हो । तर टीकापुरमा थरुहट प्रदेश लेख्ने आन्दोलनको आह्वान मेरो निर्देशनमा होइन । जेठानको देहान्त भएकाले भाद्र ४ गतेसम्म त म काठमाडौँमै थिएँ । धनगढीमा हुने सर्वदलीय बैठकमा भाग लिन गइदिनुपर्यो भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका नेता भीम रावलको आग्रहमा म धनगढी गएको हुँ । आन्दोलन चलिरहेकाले भाद्र ७ गतेसम्म सुरक्षाकर्मीको सबै बन्दोबस्त मलाई पूर्वगृहमन्त्री भीमबहादुर रावलले नै गरिदिनुभएको हो । भाद्र ६ गते टीकापुर सशस्त्र प्रहरी उग्रतारा गणमा भएको सर्वदलीय बैठकमा सबैलाई मैले भनिदिएकै हुँ– ‘आन्दोलन मेरो नियन्त्रणमा छैन, म यो आन्दोलनको संयोजक पनि होइन ।’ अब मलाई २ अत्यन्तै महत्त्वपूर्ण निर्णय चाहिन्छ– कि न्याय कि मृत्युदण्ड ! साँच्चीकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ ।  भाद्र ७ गते टीकापुरमा हुने थारू आन्दोलनका बारेमा प्रशासन जानकार थियो । त्यो आन्दोलनलाई रोक्न मैले कति प्रयत्न गरेँ, त्यो तत्कालीन सिडिओ राजकुमार श्रेष्ठलाई थाहा छ । जिल्ला प्रहरी प्रमुख विक्रमबहादुर चन्दलाई थाहा छ, सशस्त्र प्रहरी बलका उपरीक्षक लक्ष्मण सिंहलाई थाहा छ । टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षलाई थाहा छ, स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिलाई थाहा छ । सर्वदलीय बैठकमै अब रेशमलाई दोष दिनुहुन्न भनेर सबैले स्वीकारेका छन् । अनि म दोषी भएँ कसरी ? भाद्र ७ गते बिहान ९ बजेसम्म मैले के प्रयत्न गरिनँ ? थारू आन्दोलनको भीडमा जाऊँ, कमरेड विकासले मारिदिन्छु भन्याछन्, अखण्ड सुदूरपश्चिमको भीडमा गए मेरो कपाल पनि बच्नेवाला थिएन । सुरक्षाकर्मीसँग सल्लाह गर्न खोज्यो, तँ आन्दोलनकर्मी होस् भन्छन् । कतै केही सिप नलागेपछि म रेडियो हेर्न बर्दियातिर लागेको हुँ । भाद्र ७ गतेको घटनापछि म भारतमा हुँदासमेत सामाजिक सद्भाव खलबलिन नदिन के मात्रै प्रयत्न गरिनँ मैले । म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्पर्कमै थिएँ । भारतबाटै केवालाल चौधरीको संयोजकत्वमा एमाले नेता भीमबहादुर रावलसँग वार्ता गर्न पठाइदिएकै हुँ । प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भइदिए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला । एकान्तमा एक्लै गम्छु, टीकापुर घटनाको दोषी करारलाई ब्रह्मा, विष्णु, महेश्वर, जिसस, अल्लाह, बुद्ध कसैले पनि प्रमाणित गर्न सक्दैन होला मलाई । तर सम्मानित सर्वाेच्च अदालतले दोषी करार गरिदियो । साँच्चै भन्दा मैले न्याय पाइनँ । अर्काको भावनामा बगेर मलाई अपराधी ठहर गर्न पाइन्न । श्रीमान्ले मेरो बयान पढिदिनुभएन, मिसिल हेरिदिनुभएन जस्तो लाग्यो । त्यसैले मेरो हकमा न्याय भएन; फैसला मात्रै भयो, पपुलिस्ट फैसला । सुरु अदालत, पुनरावेदन सुन्ने अदालत र अन्तिम अदालत सबै पपुलर मात्रै बन्न खोजे । आज न्यायलाई विश्वले समेत ढोग्छ । ढोग्नै नमिल्ने फैसलाको कपी बोकेर म कुन न्यायालयको ढोका खट्खटाउन जाऊँ ? टीकापुर घटना नहुनु पथ्र्यो, भयो । आठ प्रहरी र एक बालकले सहादत प्राप्त गरेकै हुन् । तर के ती सहिदहरूको संहार कुनै बन्द कोठा वा गुफामा गरिएको हो ? त्यो घटनाका प्रत्यक्षदर्शी पनि त हज्जारौँ थिए । मिसिलमा उल्लेख गरेजस्तो भाला, बन्चरो कुनै थारू आन्दोलनकर्मीले बोकेका थिएनन् । कसैलाई दोषी करार गर्ने मलाई कुनै हक छैन तर वास्तविक घटना कसले गरायो, त्यो टीकापुरलाई थाहा छ । सहादत प्राप्त गर्नेको परिवारले पनि अन्तिम सत्य थाहा पाउनुपर्छ । मेरो श्रीमान्, दाइ, भाइ, छोराको हत्या के कसरी भयो, कसले कसरी मारे ? किन मारे ? त्यो अन्तिम सत्य थाहा पाउने चेष्टा पनि प्रहरी परिवारले गर्नैपर्छ । उहाँहरूको मनमा एउटा शङ्का उब्जि नै पर्छ– ‘कतै विभीषणको भेषमा आफ्नै भाइहरू हत्याराको झुन्डमा मिसिएका त थिएनन् ?’ प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भइदिए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला । नेपाली दाजुभाइ दिदीबहिनीहरू ! यदि म ती सहादत प्राप्त सहिदको हत्यारा हुँ भने मलाई फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दुधेबालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ? त्यति क्रुर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु, म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले न्याय मैले पाउनै पर्छ । न्यायको आशा अझै मरेको छैन । यो मेरो सानो रोष मात्रै हो, जसलाई नलेखी म बस्नै सकिनँ । कति सत्य चाहेर पनि लेख्न सकिरहेको छैन । इच्छाउँदैमा सबै कुरा लेख्नु पनि हुन्न । तर तीन तीनवटा फैसलाको खोटले साह्रै चोट दिएको छ मलाई, सहनै नसकिने चोट । व्यर्थै चोट सहिरहनुभन्दा एक पटकको मृत्युदण्ड जाति हुन्थ्यो । अब मलाई २ अत्यन्तै महत्त्वपूर्ण निर्णय चाहिन्छ– कि न्याय कि मृत्युदण्ड ! साँच्चीकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ ।  सम्मानित सर्वोच्च अदालतको फैसलाबाटै मेरो छोरा छुट्छ र घर लिएर जाउँला भनेर मलाई लिन आएक मेरी आमा जेलमा मेरो मुख हेर्नसमेत आउन सकेकी छैनन् ।  चोट लागेर रोष प्रकट गरेको जस्तो देखिए पनि सत्य यही हो । न्यायका लागि कुन कुन, कहाँ कहाँसम्मको दैलो चहार्नुपर्छ, त्यो प्रयत्न मैले जरुर गर्छु ।  अन्त्यमा गीतको एक टुक्काबाट बिट मार्न चाहन्छु– श्रीमान्, न्याय देऊ हामीलाई क्षमा चाहिँदैन  दोषीलाई दण्ड देऊ तर निर्दोषलाई थुन्न पाइँदैन ।

के लघुवित्त संस्था खारेजी र कर्जा मिनाहा हुन्छ ?

के लघुवित्त संस्था खारेजी र कर्जा मिनाहा हुन्छ ?

११८१ दिन अगाडि

|

२४ वैशाख २०८०

डा गोपाल दहित निरन्तर एक महिना लगाएर करिव ८ हजार महिला तथा अभिभावकहरुसित युनिक लघुवित्तको सम्बन्धमा प्रत्यक्ष अन्तरक्रिया र वित्तीय साक्षरता सम्पन्न गरियो। उहाँहरुको उत्साहपूर्ण सहभागिता र सक्रिय छलफलबाट लघुवित्त बिरुद्धको भ्रम चिर्न र वस्तुगत यथार्थ राखी सेवाग्राही सदस्यहरुलाई खुशी बनाउन सकेकोमा खुशी लागेको छ। अघिल्लो वर्षझै यस अवसरमा उत्कृष्ट केन्द्र १४५ वटा, उत्कृष्ट उद्यमी ८३ जना, उत्कृष्ट केन्द्र प्रमुख ४१ जना, उत्कृष्ट बचतकर्ता ४१ जना र जेष्ठ सदस्य ५९ जना गरी ३६९ जनालाई सम्मान तथा पुरस्कार वितरण गरियो। सोही अवसरमा सेवाग्राही सदस्यहरुको गरिव तथा जेहन्दार २१७ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरी शिक्षा आर्जनमा हौसला बढाउने काम गरियो। बाहिर हल्ला भएजस्तो लघुवित्त विरुद्धको भुसको आगो सेवाग्राही सदस्यसम्म नपुगेको, उल्टै कतिपय ठाउँमा सदस्यहरुले उनीहरुलाई प्रतिकार गरेको सुन्न पाइयो। खराव नियतले कर्जा लिने र किस्ताको भाका नघाएका, कर्जा लिएर दुरुपयोग गरेका, कर्जा लिएर फजुल खर्च गर्दै मादक पदार्थ सेवन गर्दै हिँड्ने, आर्थिक मामलामा बदनाम भएकाहरु र थोरै आस साथै भ्रममा परेका सोझासाझा केही सेवाग्राही सदस्य बाहेक अत्याधिक सदस्यहरु लघुवित्त विरुद्धको संघर्ष समितिले उठाएका विषयमा रतिभर पनि विश्वास र भरोसा नभएको र नगरेको भनाइ सुन्दा लघुवित्तले राम्रो सेवा दिएको रहेछ भन्ने लागेको छ। तर, आन्दोलनकारीको डर धम्कीका कारण कर्मचारीहरुले निर्धक्कका साथ केन्द्र बैठक र कर्जा असुली गर्न ताकेतामा जान नसकेको, कर्मचारीहरुमा असुरक्षाको त्रास रहेको पाइयो। विश्वमा सैद्धान्तिक रुपमा स्वीकारेको तथ्य के हो भने “विपन्नलाई ब्याजदर भन्दा कर्जा सेवा सर्वसुलभ बनाउनु पर्दछ।” पुँजीगत लागत र स्प्रेड दर भन्दा कम दरमा लघुवित्तको कर्जाको ब्याजदर यदि निर्धारण गर्ने हो भने नेपाल सरकारले लघुवित्तलाई ब्याजमा हुने नोक्सानीको क्षतिपूर्ति दिनु पर्दछ। कतै मिनाहा भई हाल्छ कि भन्ने आसमा नियमित किस्ता तिर्न सक्ने सदस्यहरुले पनि केही महिनादेखि किस्ता रोकेकोले असुली दर घटेको छ, एनपीएल बढेको छ र मासिक वित्तीय विवरण नकारात्मक बन्दै गएको छ। यो हो, अहिलेको चुनौतीको विषय। संघर्ष समितिले शुरुमा उठाएको माग लघुवित्त खारेजी र सामुहिक जमानी कर्जा मिनाहा थियो। पछिल्लो दिनमा आएर ती माग छोडेर ब्याज घटाउनेमा पुगेको, र सुधार गर्नुपर्ने विषयहरु उठाउन थालेका छन्। जस्तै, कर्जा सदुपयोगीता जाँच हुनु पर्ने, ब्यावसायिक योजना बनाएर मात्र कर्जा र सीप विकास तालिम दिनु पर्ने, कर्जाको किस्ता भुक्तानी गर्न नसक्ने ऋणीहरुको म्याद थपेर सहज बनाई दिनु पर्ने, आदि। यही बीच धमिलो पानीमा माछा मार्न ठाउँ ठाउँमा अमुक पार्टीको कार्यकर्ताको नाममा र केही लुटेरा टोली समेत शाखा कार्यालयमा आई ताला लगाउने, कर्मचारीलाई धम्क्याउने र मौका पाए रकम कलम लुत्न उद्यत रहेको पाइएको छ। यसलाई समयमा ठिक तरिकाले सम्बोधन गर्न राज्यले तत्काल पहल लिनु पर्दछ, र अटेरी र हुलहुज्जत गर्ने अराजक पक्षलाई प्रहरी प्रशासन लगाएर ब्यवस्थापन गर्नुपर्ने देखिन्छ। लघुवित्त कार्यक्रमको विधि प्रक्रिया, कर्जा र बचतको ब्याज र सेवा शुल्क लगायतको विभिन्न सेवाहरुको बारेमा जानकारी नपाएका वर्गहरुमा समेत लघुवित्तको सेवाको बारेमा भ्रम रहेको पाइयो।  यसलाई वित्तीय साक्षरताको माध्यमबाट लघुवित्त संस्थाले क्रमशः चिर्दै जानु पर्ने वस्तुगत आवश्यकता रहेको छ। राजनैतिक दलका जिम्मेवार केही नेता तथा जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताका लागि संसद, मिडिया र सार्वजनिक रुपमा अधुरो सूचनाको आधारमा लघुवित्तको बारेमा नकारात्मक टिप्पणी गरेको पाइएको छ, उहाँहरुको काम राज्यमा सुशासन ल्याउन नीति निर्माण गर्ने हो, तथ्यगत कुरा गर्ने हो, गैर जिम्मेवार टिप्पणी गरेर आफ्नो कद आफैं घटाउन हुँदैन। राम्रो पक्ष भनेको बहुसंख्याक जनप्रतिनिधि र प्रहरी प्रशासन लघुवित्तको सेवाप्रति सकारात्मक र सहयोगी हुनु हुन्छ। पछिल्लो दिनमा लघुवित्तले केही गल्ती गरेकै हो। प्रमुख गल्तीहरुमध्ये विपन्न वर्गभन्दा माथिल्ला वा धनीवर्गका महिलाहरुलाई समेत लघुवित्तको सदस्य बनाउने काम भयो, ती सम्पन्न र चलाक महिलाहरुको अगुवाईमा १० देखि २० जनाको समूहले धेरै लघुवित्तमा गई सदस्य बने, आफ्नो नाममा कर्जा निकाली ती धनी वर्गका महिलाहरुलाई सानो लोभ लालसामा परी कर्जा रकम दिए, त्यस्ताले समयमा किस्ता नतिरी अटेर गरे र कोही त रकम लिएर भागे, जसका कारण आफ्नो नामबाट कर्जा निकालेर अरुलाई कर्जा दिने महिला फसे, किस्ता तिर्न सकेनन्। अर्को गल्ती, ब्यापारिक घरानाबाट आएका केही लघुवित्तले कर्जा लगानीमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाले, जसको कारण सदस्यहरुले सजिलै कर्जा पाउन थाले। आयमूलक कामका लागि रु. १ हजार, २ हजारबाट शुरु गरी १८, २० वर्षमा मुस्किलले रु. ८० हजार, ९० हजार कर्जा लिने सदस्यहरुलाई पछिल्लो केही वर्षहरुमा लघुवित्त कारोबार गर्न शुरु गरेकाले पहिलो वर्षमै “ठाउँका ठाउँ रु. ३ लाख देखि रु. ५ लाख कर्जा” को नारा लिएर घर घरमा गई कर्जा दिने काम गर्नुभयो। तेश्रो गल्ती सदस्यहरुबाट भयो, किस्ता तिर्ने आफ्नो क्षमता नहेरी सदस्यहरुले जुनसुकै कामकोलागि पनि लघुवित्तबाट जतिसुकै कर्जा लिन थाल्नु भयो। केहीले त खराव नियतका साथ कर्जा लिएर एक किस्ता नतिरी भाग्नु भयो। सित्तैमा पाएपछि चारमाना चुक खाने उखान छ, पछि बिगार गर्ला कि नसोच्ने, पेट पोलेपछि बल्ल चेत बाबा। ताली पितेको भरमा कर्जा पाइने, सदस्यहरुले कर्जा धमाधम लिए, मागे पछि दिनै पर्‍यो, नदिए समूह छोड्ने धम्की आउने र लगानीमा रहीरहेको रकम दुब्ने डर। यी तीनवटै गल्तीलाई दुवै पक्षले सुधार गर्नु पर्दछ। नियमक निकायले पनि ठूलो संख्यामा लघुवित्तको इजाजतपत्र दिने र जथाभावी शाखा खोल्न दिने गल्ती गरेकै हो। यद्यपि जति बढी पूँजी परिचालन भयो त्यति बढी आर्थिक गतिविधि बढ्छ र आर्थिक उन्नतिमा टेवा पुग्छ भन्ने मान्यता पनि छ। यसैबीच बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भयो, ब्यावसायमा मन्दी आयो, मूल्य वृद्धि भयो, जनताको हातमा नगद पुग्न छोड्यो, कर्जाको चक्र रोकियो र भाखा नाघ्ने क्रम बढ्यो। यही अवस्थालाई आधा बुझेर केहीले आफ्नो स्वार्थकालागि आन्दोलनको नाम दिएर लघुवित्त संस्था खारेजी र कर्जा मिनाहाको कुरा उठाउन थाल्नु भयो, सदस्यहरुबाट रु. ५०० देखि मासिक रु. १,००० नगद उठाउन थाल्नु भयो, उठेको रकमले होला आफ्नो कर्जा तिर्नु भयो, तर सोझा निमुखा सदस्यहरु फस्ने गरी आन्दोलनलाई बढाउँदै लानु भयो, बीचमा मचेजस्तो भयो, र अब छिटै ठच्चिदैछ पनि। नेपालको लघुवित्तको ब्याजदर र सेवा शुल्क प्रमुख विषय होइन। “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाबाट १३.५ देखि १५ प्रतिशतसम्ममा कर्जा लिएर विपन्न वर्गलाई लघुकर्जा सेवा दिई राखेको छ। बचतकर्तालाई कम्तीमा ७.५ देखि १३ प्रतिशतसम्म ब्याज दिई राखेको छ। दुवैको औषत ब्याज करिव १४ प्रतिशत पुग्छ र वार्षिक १५ प्रतिशत ब्याज लिई लघुकर्जा सेवा दिँदै आएको छ। छिमेकी मित्रराष्ट्र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमा लघुवित्तको कर्जामा सेवा शुल्क वाहेक वार्षिक ब्याजदर न्यूनतम १८ देखि ३० प्रतिशतसम्म रहेको छ। लघुवित्तको वार्षिक ब्याजदर १५ बाट तल झार्ने हो भने पहिले “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाबाट लघुवित्त संस्थाले आफूले लिएको थोक कर्जाको ब्याजदर र सेवाग्राही सदस्यहरुलाई प्रदान गरी रहेको बचतको ब्याजदर घटाउनु वा घट्नु पर्दछ, तब मात्र सम्भव छ। होइन भने नेपालको लघुवित्तको ब्याजदर दुनियाको सबैभन्दा सस्तो हो। सामान्य अवस्थामा लघुवित्तको ब्याजदर केही महंगो अवश्य हुन्छ, किनकी गाउँ गाउँमा धेरै शाखा खोलेर थप कर्मचारी राखी सदस्यहरुको घरदैलोमा सेवा दिनु पर्दछ, ससानो आकारको तर धेरै ठूलो संख्यामा सदस्यहरुलाई कर्जा सेवा दिनु पर्दछ, वित्तीय साक्षरता र क्रेडिट प्लस सेवा दिनु पर्दछ, यसका कारण प्रशासनिक खर्च तुलनात्मक महंगो हुन्छ, र सामुहिक जमानी कर्जाको जोखिमलाई सुरक्षण गर्नुपर्ने हुन्छ। विश्वमा सैद्धान्तिक रुपमा स्वीकारेको तथ्य के हो भने “विपन्नलाई ब्याजदर भन्दा कर्जा सेवा सर्वसुलभ बनाउनु पर्दछ।” पुँजीगत लागत र स्प्रेड दर भन्दा कम दरमा लघुवित्तको कर्जाको ब्याजदर यदि निर्धारण गर्ने हो भने नेपाल सरकारले लघुवित्तलाई ब्याजमा हुने नोक्सानीको क्षतिपूर्ति दिनु पर्दछ। किनकी लघुवित्त संस्था पब्लिक कम्पनी हो, जनताको पुँजी नोक्सानमा जानेगरी आफ्नो सेवा दिन सक्दैन र अधिकार पनि छैन। लघुवित्तको खारेजी वा ऋण मिनाहाको कुरा उठाउनेहरुले सबैभन्दा पहिला लघुवित्तको मर्म, भावना, अवधारणा र यसले विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानमा गरेको योगदान बुझ्नुपर्ने हुन्छ। लघुवित्त संस्थाले गाउँका लाखौं विपन्न महिला दिदीबहिनीहरुलाई सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गरेको छ। ती लाखौं महिलाहरुको वित्तीय सेवामा पहुँच पुगेको कारण व्यवसायी बनेका छन्। गाउँघरमा छरिएर रहेको रकम खरबौंमा बचत संकलन गरी राज्य र सदस्यहरुलाई पुँजी निर्माणमा सहयोग गरेको छ। राज्यलाई अरवको दरले कर बुझाएको छ। आन्दोलनकारीहरु वा राज्यले कि त लघुवित्तको उत्तम विकल्प दिन सक्नु पर्दछ, नभए आफ्नो निहित स्वार्थका लागि लघुवित्तको विरुद्ध बोल्न बन्द गर्नुपर्छ। किनकी तपाईंहरुको अवैधानिक गतिविधिका कारण समयमा किस्ता नतिर्दा धेरै दिदी बहिनीहरुको ब्याज र हर्जाना दिनानुदिन बढदै छ, कर्जाको भारमा फँस्दै छन्। कालो सूचीमा पर्दा तीनपुस्ते बदनाम। लघुवित्त र सहकारी संस्थाहरुको सेवा रहेको बेलामा समेत गाउँ ठाउँ र शहर बजारका साहुमहाजन र मिटर ब्याजीको जगजगी छ, जसले प्रति सय रुपैयाँमा मासिक रु. ३ देखि १० रुपैयाँसम्म ब्याज लिने गरेको बताउनछन् ऋण लिनेहरु। लघुवित्त र सहकारी नहुँदा वा धितो कर्जा सेवामा आफूलाई रुपान्तरण गर्दा उनीहरुको ब्याज कहाँ पुग्ला? एक पटक राम्ररी सोचौं। विपन्नहरुलाई साहुमहाजन र मिटर ब्याजीको फण्डामा पार्ने गल्ती गर्ने कसैलाई गर्ने छुट छैन। लघुवित्त संस्थाले २०७९ साल पुसको विवरण अनुसार करिव ३० लाख जना ऋणीहरुलाई साह्रे ४ खर्वभन्दा बढी रुपैयाँ कर्जा लगानी गरेका देखिन्छ। त्यसमध्ये ४० प्रतिशतभन्दा बढी रकम ठूलो बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम हो, ३७ प्रतिशत सेवाग्राही सदस्यहरुबाट संकलन भएको बचत रकम हो भने बाँकी रकम शेयरधनीहरुको लगानी र संचित पुँजी हो। यो सबै रकम डुब्ने गरी कुनै पनि लघुवित्त संस्था बन्द वा खारेज हुँदैन र कर्जा मिनाहा पनि हुँदैन। सबैलाई चेतना भया। डीसी नेपालबाट लेखक युनिक लघुवित्त बैंक कोहलपुरका सीइओ हुन् ।

नेपाल र भारतका थारुबीच सहकार्यका के के छन् आधार ?

नेपाल र भारतका थारुबीच सहकार्यका के के छन् आधार ?

१२१६ दिन अगाडि

|

१८ चैत २०७९

बर्दियाको भुरीगाउँमा प्रथम अन्तर्राष्ट्रिय थारु सम्मेलन २०७९ चैत ४ र ५ गते सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय थारु सम्मेलन भनिए पनि सम्मेलनमा खास गरी नेपाल र भारतका थारुहरूको मात्र उपस्थिति थियो । कार्यक्रम आयोजक ‘थारु अन्तर्राष्ट्रिय महासभा’का पदाधिकारीहरूले विश्वका थारुहरूलाई एकजुट गराउने प्रयासको थालनीस्वरुप पहिलो कार्यक्रम आयोजना गरिएको बताएका छन् । सीमा जोडिएको नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध हुन नितान्त जरुरी छ । कारण सीमा जोडेका जंगली जीवजन्तुहरूले त एकापसमा सम्बन्ध जोडिरहेका छन् भने हामी त मनुष्य हौं । नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध ल्याउने के के हुन सक्छ आधार, यो लेखमा त्यसको उत्तर खोजिएको छ ।  दुई देशका थारुबीच घनिष्ट सम्बन्ध ल्याउने प्रमुख कडी हो उनीहरूको संस्कृति । यस आलेखको सुरुवातमा नेपाल र भारतका थारुबीच सम्बन्धका केही प्रयासबारे चर्चा गरिन्छ ।  १.सम्बन्धका केही प्रयास नेपाल र भारतका थारुबीच संस्थागत रुपमा सम्बन्धको औपचारिक थालनी कहिलेबाट भयो, यो खोजको विषय हो । पहिले नेपालमा विद्यालय, कलेजको राम्रो व्यवस्था नभएकाले अध्ययनको सिलसिलामा धेरै थारु युवाहरू भारत गएको देखिन्छ । जस्तो कि भारत, बलरामपुरमा अध्ययनरत दाङ देउखुरीका थारु विद्यार्थीहरूले ‘दाङ देउखुरी थारु छात्र संघ’ गठन गरेका थिए (सर्वहारी, २०७३) । दाङ देउखुरी गोवरडिहाका भक्तनारायण चौधरीको संयोकत्वमा खुलेको संघले २०२२ सालमै ‘श्री कृष्ण जन्माष्टमी गीत’ प्रकाशित गरेको थियो । तर यो संगठनमा  भारतीय थारु विद्यार्थीहरूको संग्लग्नता खुल्दैन ।  खास गरी २०७२ भदौ ७ को टीकापुर घटनापछि प्रशासनको धरपकडका कारण धेरै थारु अगुवाहरूको भागाभाग भयो । तिनीहरू छिमेकी भारतमा शरण लिए । सांसद रेशम चौधरीले त्यसबेला भारतमा आश्रय लिंदा त्यहाँका थारु समुदायबाट धेरै सहयोग पाएको आफ्नो पुस्तक चिरफार (२०७३) मा सबिस्तार उल्लेख गरेका छन् ।  टीकापुर घटनापछि नेपाल–भारतका थारुहरूको भारत सिमाना छेउछाउमा संयुक्त सभा हुन थाल्यो । यसले दुई देशका थारुहरूलाई जोड्ने काम ग¥यो ।  २०७३ वैशाख १४ र १५ गते सामाजिक अभियन्ता दाङ देउखुरीका सुरेन्द्र चौधरीको संयोजनमा चितवनको सौराहामा नेपाल–भारत थारु अन्तर्राष्ट्रिय प्रथम सम्मेलन भएको थियो ।  उक्त भेलाको समुद्घाटन गर्दै तात्कालीन नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अन्जु रन्जनको भनाइ थियो, ‘नेपालका मधेसी समुदायमा मात्र होइन, थारु समुदायमा पनि भारतसँग रोटीबेटी सम्बन्ध छ ।’ त्यसैले अबका दिनमा दुबै देशका थारुहरूबीच एकता र सद्भाव कायम गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।  सम्मेलनमा दुई देशबीचका थारुहरूको राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको पहिचान गरी एक अर्कालाई सहयोग प्रदान गर्ने उद्देश्यले सुरेन्द्र चौधरीको संयोजकत्वमा नेपाल–भारत सहकार्य संघ गठन भएको थियो (सर्वहारी, २०७६ः ङ) ।  संघको सदस्यमा महावीर चौधरी (दाङ), मीनराज चौधरी (बर्दिया), इन्दु चौधरी (कैलाली), लक्ष्मी चौधरी र ललित चौधरी (चितवन), मदन चौधरी (बारा), लक्ष्मी चौधरी (उदयपुर), नन्दु सरदार (मोरङ) थिए । भेलाले नेपालबाट सांसद तेजुलाल चौधरी, गोपाल दहित र पूर्व सांसद कृष्णकुमार चौधरी, पत्तु थारु तथा भारतबाट राजकिशोर चौधरी, राममनोहर चौधरी, शैलेन्द्र गढवाल, दिपनारायण महतो र विजय पावेलाई सल्लाहकार चयन गरेको थियो ।  विडम्वना नेपाल–भारत सहकार्य संघको पछि कुनै छलफल, बैठक बस्न सकेन । संघ दर्ताको लागि प्रक्रिया अगडि बढाउन खोज्दा ठूलै शक्तिबाट रोक्न खोजिएपछि अभियान थाँती राखिएको सुरेन्द्र चौधरी बताउँछन् ।  २०७३ वैशाख २७ गते भारत उत्तर प्रदेशको चन्दनचौकीमा तथा जेठ १५ र १६ गते भारत उत्तर प्रदेशकै एकलव्य विद्या निकेतन, विशनपुर विश्राम, बलरामपुरमा नेपाल–भारतका थारुहरूको ऐतिहासिक सम्मेलन सम्पन्न भएको थियो (सर्वहारी, २०७४ः ४३) ।  २०७४ सालमा दुइ देशका थारुहरूवीच संयुक्त रुपमा कुनै कार्यक्रम नभएपनि २०७५ सालमा भने थाकसले यसको कडी जोड्ने काम ग¥यो । पञ्चायत अघि तथा यसपछि पनि सरकार प्रमुखहरूलाई नै महाधिवेशनको समुद्घाटनको लागि प्रमुख अतिथिको रुपमा निम्त्याउने थाकसको परम्परा देखिन्छ । यद्यपि पछिल्लो पटक २०७५ असोजको दोस्रो साता काठमाडौमा भएको थाकसको २२औं महाधिवेशनमा सरकार प्रमुखलाई प्रमुख अतिथि नबनाई महाधिवेशनमा भारतीय थारु कल्याण महासंघका अध्यक्ष दीपेन्द्र प्रसादलाई प्रमुख अतिथि बनाइयो । यसले दुइ देशका थारुहरूको सम्बन्ध सुधारको ढोका खोलियो (सर्वहारी, २०७६ः च) ।                                                         सम्मेलनलाई सम्बोधन गर्दै भारतीय थारु कल्याण महासंघका अध्यक्ष दीपेन्द्र प्रसाद थाकसका पदाधिकारीहरू भारतीय थारु कल्याण महासंघको निमन्त्रणामा पहिलो पटक आधिकारिक रुपमा २०७५ सालको तिहार लगत्तै भारतको चम्पारनमा गरिएको अन्तक्रिया कार्यक्रममा सहभागी भए ।  त्यसै गरी थारु जनजाति समाज श्रावस्ती, उत्तराखण्ड भारतको आयोजनामा नेपालका थारु कलाकारहरूलाई सांगीतिक कार्यक्रममा निम्ट्याएर कला प्रस्तुति गराउनुका साथै सम्मान गरियो । २०७५ मंसिर १५ र १६ गते पूर्व मावि रनियापुर (मोतीपुर) सिरसिया, श्रावस्ती, उत्तराखण्ड भारतमा थारु विकासका लागि गरिएको कार्यक्रममा नेपालका थारु गायक समिक्षा दहित, खेम चौधरी, सत्यनारायण फेटारा लगायत कलाकारले प्रस्तुति दिएका थिए । दुबै देश बीचको यस्तो सांस्कृतिक आदान प्रदानले भाइचाराको सम्बन्ध प्रगाध हुँदै गयो (सर्वहारी, २०७६ः च) । २०७८ जेठ १० मा भारतीय थारु कल्याण महासंघको आयोजनामा भारत, विहारको पश्चिम चम्पारणअन्तर्गत हरनाटाँडमा ‘थारु अन्तर्राष्ट्रिय महासभा’ गठन भयो । अन्तर्राष्ट्रिय रुपमै थारुहरूलाई जोड्ने प्रयास गरिए पनि यस संगठनमा भारत र नेपालकै पदाधिकारीहरूको बाहुल्यता छ ।  त्यसो त ‘थारु अन्तर्राष्ट्रिय महासभा’ मा थारु कल्याणकारिणी सभा (थाकस) का आधिकारिक प्रतिनिधि नराखिएको भनेर असन्तुष्टि जनाउँदै थाकस केन्द्रले बर्दियाको भुरीगाउँमा यही चैत ४ र ५ गते आयोजित अन्तर्राष्ट्रिय थारु सम्मेलन एक विज्ञप्ती जारी गरी वहिष्कार गर्ने दुःखद निर्णय गरेको थियो । सम्बन्धको केही प्रयासको यो सामान्य सूची हो । यसमा अन्य थप सहकार्य भएको हुन सक्छ । मूल कुरा कुनै पनि जातिलाई जोड्ने भनेको त्यसको जातिगत पहिचान नै हो । नेपाल र भारतका थारुबीच अन्य के के पक्षमा सहकार्यको थप आधार हुन सक्छ त ? यहाँ यसबारे बुँदागत चर्चा गरिन्छ । २. भाषाको अन्तर्घुलन तथा सांस्कृतिक आदान प्रदान नेपालकै सबै क्षेत्रका थारुहरूको भाषामा एकरुपता छैन,  यस्तोमा भारतका थारुहरूको भाषासँग नेपालका थारुहरूको भाषाको सामञ्जस्यता खोज्नु कठिन कार्य हो । तर खोजी पस्ने हो भने सीमा वारि र पारीका थारुहरूको भाषा मिल्छ । जस्तो कि कैलाली, कञ्चनपुरका राना थारुहरूको भाषा भारतको सिमा जोडिएको चन्दनचौकीका गाउँलेसँग मिल्छ । बर्दियाका कठरिया थारुहरूको भाषा, पारी बलै गाउँ वरपरका कठरिया थारुभाषीसँग मिल्छ । देउखुरीका थारुहरूको भाषा, पारी भामरका थारुभाषीसँग मिल्छ । बारा, पर्साका थारुहरूको भाषा, पारी पश्चिम चम्पारणका थारुभाषीसँग मिल्छ । यसरी भाषाको अन्तर्घुलनले अन्य संस्कृतिमा पनि सामञ्जस्यता देखिन्छ ।  भाषामा धेरथोर फरक परे पनि समुदायलाई जोड्ने कडी संगीत पनि हो । विभिन्न अवसरमा सांस्कृतिक आदान प्रदान गरेर नेपाल र भारतका थारुहरूको सम्बन्ध सुमधुर बनाउन सकिन्छ ।  ३. रोटीबेटी सम्बन्ध एउटा आम बुझाई के छ भने नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध मधेसी समुदायमा मात्र छ । तर नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध थारु समुदायमा पनि वर्षौदेखि रहेको छ । तर वैवाहिक सम्बन्ध अहिले आएर निकै कम हुन गएको छ ।  २०७९ चैत २ मा गोरखापत्रमा प्रकाशित अविनाश चौधरीको समाचारको पेटबोलीले रोटीबेटी सम्बन्ध कम हुनुको धेरै कारण बोल्छ । कैलाली, धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ७० वर्षीय सालिकराम रानाको सानैमा मगनी भए पनि विवाह २०४१ सालमा भारतको मसानखामकी सिट्ठादेवी रानासँग भएको थियो । आवतजावत निर्वाध हँुदा जन्ती लिएर जाँदा सालिकरामलाई फरक देशमा पुगेको जस्तो लागेन । अहिले भारत छिर्न नागरिकता देखाउनु पर्छ ।  कैलाली, घुइयाघाटकै रामकिसन रानाको भारतको सरियापाराकी रामप्यारी रानासँग विवाह भएको छ । उनका अनुसार त्यतिबेला यता वनजङ्गल प्रशस्त थियो । वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुलही बनेर आउन सजिलै तयार भइन् ।  तीन दशक अघिसम्म नेपालका रानाथारु र भारतका रानाथारु समुदायबीच विवाह सम्बन्ध वल्लो पल्लो छिमेकी गाउँको जस्तै थियो। घुइयाघाटका भलमन्सा चन्दर रानाका अनुसार अहिले आएर नेपाल र भारतका रानाबीच विवाह लगभग शून्यजस्तै भएको छ । भलमन्सा रानाका अनुसार खाना पकाउन नेपालमा दाउरा नपाउने गरेका कारण भारतका युवती अचेल यता विवाह गर्न मान्दैनन्। त्यस्तै भारतमा विवाह गरेपछि उखु धेरै काट्नुपर्ने डरले यताका युवती उता विवाह गर्न मान्दैनन्। भारतमा उखु खेती बढी हुने गर्दछ (चौधरी, २०७९ः ८) । तर हाल आएर गाउँ गाउँको भान्सामा खाना पकाउने ग्यास अनि उखु कटानमा मेशिनको प्रयोगले विवाह सम्बन्ध घट्नुमा यो कारक देखिन्न । नेपालको कैलाली, कञ्चनपुर जिल्ला जोडिएको भारतको सीमावर्ती गाउँ वनकटी, सरियापारा, भुरा, सुँडा, छेदिया अग्लापट्टि, छेदिया पिछ्लापट्टि, पिपरौला, बजाही, ढकिया, बिरिया, नझोटा, मसानखाम, जेनङ्ग्रा, चन्दनचौकी, ढुस्कियालगायतका गाउँसँग नेपालीको ‘रोटीबेटी’ सम्बन्ध छ।  युवा रञ्जित राना थारुका अनुसार पछिल्लो पुस्ता शिक्षित बन्दै अन्तरजातीय विवाहसमेत गर्न थालेकाले भारतबाट बेहुली ल्याउने वा छोरी भारतमा दिने क्रम घटेको हो । जबकि विगतमा रानाथारु समुदायका महिला पुरुषले आफ्नै समुदायभित्र मात्रै विवाह सम्बन्ध गाँस्नुपर्ने परम्परा भएकाले भारतसम्म पुग्नुपर्ने बाध्यता थियो ।  नेपाल र भारतका रानाथारुबीच वैवाहिक सम्बन्ध लगभग शून्यजस्तै भएको अवस्था  नेपालको कैलाली, कञ्चनपुर जिल्ला जोडिएको भारतको सीमावर्ती गाउँको मात्रै समस्या होइन । झापादेखि कञ्चनपुरसम्म तराईमा वारिपारि थारु समुदायकै बसोबास रहेको छ । यो सबै क्षेत्रको समस्या हो ।  दुवै देशका थारुहरूको सभासम्मलेन भएपछि एकापसमा घनिष्टताले मात्रै वैवाहिक सम्बन्ध लगायतका कुरा पनि जोडिने हो । त्यसैले, नेपाल र भारतका थारुहरूको संयुक्त कार्यक्रम नियमित हुनु जरुरी छ ।  ४. नागरिकता प्राप्तीमा समस्या अहिलेको नागरिकता प्राप्ती लगायत कानुनले पनि नेपाल र भारतका रानाथारुबीच विवाह सम्बन्धमा फरक पारेको अवस्था छ । धनगढी उपमहानगरपालिका–१०, जुगेडाका भलमन्सा भिख्खु रानाका अनुसार अहिले दुवै देशको कानुन परिवर्तन भएको छ। उताबाट भित्र्याएका महिलालाई यहाँ नागरिकता प्राप्त गर्न त्यति समस्या छैन तर हाम्रोतिरबाट गएकालाई भारतमा धेरै समस्या छ । कतिपय थारु अभियन्ताले नागरिकता प्राप्ती थारु समुदायको समस्या नरहेको बताउने गरेका छन् । तर दुई देश वीचको वैवाहिक सम्बन्धले नागरिकता प्राप्तीमा समस्या रहेको इंगित गर्दछ । त्यसैले, दुई देशका प्रबुद्ध थारु वर्गले यो समस्या सल्टाउन छलफल गर्नुपर्ने देखिन्छ ।  ५. माघलाई मानक पर्व अहिले माघ अर्थात् माघी पर्वलाई थारु समुदायको नयाँ वर्ष मानिएको छ । खास गरी पश्चिम थरुहटमा सीमित थियो माघी । २०५९ सालमा नेपाल सरकारले माघी पर्वको अवसरमा विदा दिने निर्णय गरेपछि यो पूर्वी भेगमा मात्र होइन, देश विदेशमा रहने थारु समुदायमा समेत माघ मनाउने लहर चलेको छ ।  नेपाल र भारतका थारुहरूले माघलगायत पर्वलाई संयुक्त रुपमा मनाउन सके पर्वको माध्यमबाट, गीतसंगीतको माध्यमबाट भाइचाराको सम्बन्ध अझ प्रगाध हुने देखिन्छ ।  ६. बरघर/गुमस्ता प्रणालीलाई जीवन्तता  माघ पर्वको अवसरमा नेपालमा प्रत्येक थारु गाउँमा बरघर चयन गरिन्छ । एसएनभीका लागि गरिएको एक अध्ययन (सन् २००६–२००८) को सिलसिलामा भारतको विहारअन्र्तगत पश्चिम चम्पारण, जमुनिया, हरनाटाँड क्षेत्रमा यो पंक्तिकार घुम्दा त्यहाँ थारु गाउँको अगुवा गुमस्ता रहेको पाइयो, जसको काम यहाँका बरघरसँग मिल्दो जुल्दो देखियो ।  भारतका थारुहरूको मरुवा, भुँइहार थान, पूजापाठ गर्ने शैली पनि नेपालकै थारुहरूको झैं देखियो । यसले नेपाल र भारतका थारुहरूलाई सिमानाले मात्रै छुट्याएको तर जीवनशैली एकै देखिन्छ । यहाँका बरघर तथा उताका गुमस्ताहरूको संयुक्त भ्रमण गराई गाउँ सञ्चालन प्रक्रियामा आआफ्ना अनुभव आदानप्रदान गर्न सके समग्रमा दुबै देशका थारु गाउँको थप विकास हुने देखिन्छ ।  ७.अन्य संस्थागत सम्बन्ध नेपालमा विभिन्न पेशा, व्यावसायीहरूको संगठन छ । जस्तो कि थारु विद्यार्थीहरूको संगठन थारु विद्यार्थी समाज अस्तित्वमा रहेको छ । त्यस्तै, पत्रकार, लेखक, कानुन व्यावसायी, आर्ट व्यावसायी, स्वास्थ्य कर्मचारी लगायतको संगठन छ । भारतमा पनि त्यस्ता विभिन्न पेशा, व्यवसायीहरूको संगठन होला, नभए गठन गर्न सकिन्छ । र, पेशा, व्यवसायीहरूको संगठनको संयुक्त कार्यक्रम गरेर विभिन्न फलदायी काम गर्न सकिन्छ ।  यहाँ थारुहरूको छाता संगठन थारु कल्याणकारिणी सभा रहेझैं कठरिया समाज, राना थारु समाज पनि अस्तित्वमा रहेको छ । अहिले भारतीय थारु कल्याण महासंघ र थाकसबीच सहकार्य भएझैं नेपालका कठरिया समाज, राना थारु समाजलाई पनि भारतमा रहेका कठरिया समाज, राना थारु समाजसँग संयुक्त रुपमा जोड्न जरुरी छ । यसबारे प्रयास पनि हुन थालेको छ । यसले पनि वैवाहिक सम्बन्ध बढाउनेलगायत धेरै क्षेत्रमा एकापसमा काम गर्ने वातावरण बन्छ ।  ८. शिक्षामा छात्रवृत्ति  शिक्षामा पछि पर्नाले नै थारु समुदाय पछि परेका हुन् । चाहे ती भारतका हुन् या नेपालका । नेपालमा थारु आयोग गठन भएको छ, तर यसले खासै केही अधिकार पाएको छैन । निजामती ऐन नबन्दा थारुलाई लोकसेवा आयोग लगायतमा छुट्टै कोटा छुट्टिन सकेको छैन । भारतमा थारुहरूलाई उच्च शिक्षाका लागि विभिन्न छात्रबृत्ति रहेको छ । ती छात्रबृत्तिमा नेपालका थारुहरूको पनि पहुँच पुर्याउन सके यसले पनि दुइ देशका थारुबीच सम्बन्ध दिगो बनाउन थप भूमिका खेल्नेछ ।  ९. वातावरण संरक्षणका लागि सम्बन्ध वातावरण संरक्षणका लागि पनि सीमा जोडिएको नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध हुन अत्यावश्यक छ । सीमा जोडिएका कारण दुइ देशका पशुपंक्षी निर्वाध ढंगले एक अर्काको सिमानमा ओेहोरदोहोर गर्छन् । त्यसैले, वन, वातावरण, पशुपंक्षी संरक्षणका लागि पनि होस्टेमा हैंसे जरुरी छ । १०. निष्कर्ष नेपाल र भारतका थारुबीच सहकार्यका आधारहरूबारे माथि चर्चा गरिएका यी केही प्रतिनिधि सामान्य बुँदा हुन् । मुख्य कुरा सिर्जनात्मक क्रियाकलापका लागि विभिन्न बहानामा नेपाल र भारतका थारुबीच संस्थागत ढंगले नियमित भेटघाट, अन्तक्रिया हुनु जरुरी छ । नेपाल र भारतका थारुबीच के के कुरामा समानता, भिन्नता छ, यसबारे बृहतर अध्ययन जरुरी छ । यसका लागि थारु अध्ययन केन्द्रको खाँचो देखिन्छ । किनकि थारुहरूले आफ्नो इतिहास आफै लेख्न सकिरहेका छैनन् । सुगौली सन्धिले दुई देशका थारुहरूलाई छुट्याए पनि सुगौली सन्धि अगाडि एकै परिवार थिए । त्यसैले, संस्कृतिको माध्यमले सम्बन्ध बढाई सहकार्य दिगो बनाउन सकिन्छ । थारुहरूको हक, अधिकारका लागि यो समयको माग पनि हो ।  प्रस्तुत आलेख २०७९ चैत ४ र ५ गते बर्दियाको भुरीगाउँमा ‘थारु अन्तर्राष्ट्रिय महासभा’को आयोजनामा भएको प्रथम अन्तराष्ट्रिय थारु सम्मेलनको अवसरमा प्रस्तुत अवधारणापत्रको संशोधित सार हो ।