थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

७५३ दिन अगाडि

|

४ भदौ २०८०

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

७५५ दिन अगाडि

|

२ भदौ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते छुटे रेशम चौधरी । उनी देशभरी नागरिक स्वागत, बधाई, अभिनन्दन थाप्न भ्याइ सकेका छन् । मेचीदेखि महाकालीको यात्रा पनि पुरा गरिसकेका छन् । त्यति मात्रै होइन, उनी केन्या र त्यहाँका आदिवासी जनजाति, उनीहरूको संगठनले गरेको स्वागत सम्मान थापेर आइसकेका छन् ।  केन्याबाट नेपाल फर्किने बेला सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठ पनि आइसकेको छ । पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ ।  तरंग ल्याउनेमा नश्लवादी सोंच भएकाहरू नै अग्रपंक्तिमा देखिएका छन् । ती मिडियाकर्मी हुन सक्छन्, कानुन ब्यबसायी हुन सक्छन्, अधिकारकर्मी हुन सक्छन् । विभिन्न दलहरूमा लागेका झोलेहरू हुन सक्छन्, तमाम निकाय, संघ, संगठनका विभिन्न पदहरूमा रहेका विभिन्न रंगरुपका ब्यक्तिहरू हुन सक्छन्, जसको सोंच सार्है संकीर्ण छ ।  जो यथास्थितिवादी छन्, जो उत्पीडितहरूले न्याय पाएको देख्न चाहँदैनन् । तिनीहरूको अनुहारमा टीकापुर मुद्दाबारे सर्वोच्चको पूर्ण पाठले खुशियाली छाएको छ । तर अधिकांश आदिवासी जनजातिहरू, थारूहरू, मधेसीहरू, दलितहरू, ब्राम्हन क्षेत्री समुदायका न्यायप्रेमीहरू गलत प्रचारले गर्दा दुःखी भएका छन् ।  सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भनेको छैन । तर, कतिपय मिडियाहरू “रेशम जोल जाने” शीर्षक नै राखेर अदालतलाई उक्साइरहेका छन्, एक किसिमले दवाव दिइरहेका छन् ।  कथित बुद्धिजीवी, कानुन ब्यवसायी, मिडियाकर्मीहरू टीकापुर घटना सम्बन्धमा अलिकति पनि गम्भीर देखिएनन् । रेशम चौधरी कसरी २०७४ सालमा अत्याधिक मत ल्याएर चुनाव जिते ? २०७९ सालमा कसरी जेलबाटै गठिन उनको नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा सफलता पायो ? २०८० का प्रदेश सभा र प्रतिनिधि सभामा कसरी उनको पार्टीले सफलता हासिल ग¥यो ? घोत्लिन जरुरी छ ।  विशेष गरी २०४६ पछि काँग्रेस, एमाले र २०६२÷०६३ पछिका दिनहरूमा माओवादी समेतका कर्तुतका कारण आज थारूहरू यो अवस्थामा पुगेका छन् । थारुहरूलाई आश्वासन दिइएको जातीय स्वशासन, आत्मनिर्णयको अधिकारको आश्वासन त खेर गयो, गयो, उनीहरूलाई पहिचानमा आधारित प्रदेशसम्म पनि कथित लोकतान्त्रिक, समाजवादी दलहरूले दिन चाहेनन् ।  हो, तिनै काला कर्तुतका कारण आज नश्लवादीहरूले सोंचे जस्तो अवस्थामा थारूहरू रहेनन् । उनीहरू देशमा भएका सबै दलले शुरुवात गरेका सबै आन्दोलनमा दरो उपस्थिति जनाएका छन् । तर, आन्दोलन गरेवापत आदिवासी जनजातिहरू, थारूहरूले के पाए ? आन्दोलनले सफलता पायो, थारूहरूले के पाए ?  आफूलाई जनताको बीचमा लोकतान्त्रिक भन्ने दलहरूले थरूहट क्षेत्रमा जाँदा के छातीमा हात राखेर, तुलसा तामा छोएर उनीहरूको माग पुरा गरेको भन्न सक्छन् ? मलाई त त्यस्तो लाग्दैन । थारूहरूको लागि हाम्रो पार्टीले सबैभन्दा बढी बोल्यो भनेर गफ लाउनेले पहिले स्पष्ट हुनु पर्दछ कि थारूहरूको मुख्य माग के थियो ? अहिले पनि मुख्य माग के हो ? तर त्यो हिम्मत कुनै पार्टी र गठबन्धन सरकारसँग छैन ।  थारूहरूमाथि सदावहार अन्याय अत्याचार भैरहेको छ । उनीहरूलाई जंगबहादुर राणाको पालामा बनेको बि.सं १९१० को मुलुकी ऐनले कुन दर्जामा राखेको थियो ? राजा महेन्द्रको शासनकालमा थारूहरूलाई हेर्ने दृष्टिकोण के थियो ? अहिले पनि थारूहरूलाई हेर्ने दृष्टिकोण के छ ? उनीहरू पनि मज्जाले पढिरहेका छन्, हेरिरहेका छन्, विश्लेषण गरिरहेका छन् ।  आफूहरूलाई अहिले पनि केवल लौरोको रुपमा मात्र प्रयोग गरिरहेको कुरा थारुहरु आब जानिफकार भैसके । काँग्रेस, एमालेको स्पष्ट थारूविरोधी सोंच र माओवादीको दोहोरो (दोग्ला) चरित्रका कारण आज आदिवासी जनजातिहरू, दलितहरू, थारूहरू अन्याय अत्याचार खेपिरहेका छन् । नागरिक उन्मुक्ति जस्तो क्षेत्रीय पार्टी जन्मन बाध्य छ । टीकापुर घटनामा रेशम मात्रै मुछिएका छैनन्, उनीसँग सिङ्गो थारु समुदाय मुछिएको छ । टीकापुर घटना थरुहट आन्दोलन हुँदा घट्न पुग्यो । थरुहट आन्दोलन किन भयो ? थारूहरूका माग के थिए ? न त हँसिया हथौडाले कहिल्यै बुझ्न चाह्यो, न त चारताराले, न त अन्यले ।  थारु समुदायको चाहना, माग सुनुवाई गर्नुको साटो सीमाको लागि, देशको लागि लड्ने सशस्त्र प्रहरी, सेनालाई समेत लगाएर लोकतान्त्रिक दलहरूले थरुहट आन्दोलनलाई दबाएका छन् ।  संविधान नबनेकै अवस्थामा अधिकार प्राप्तिको लागि भएको थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलन नभन्ने हो भने स्पष्ट छ, हाम्रो देशको ब्यबस्थापिका, कार्यपालिका, न्यायापालिका नश्लवादी छ । २०७२ साल सम्मको कानुनमा गम्भीर प्रकृतिका घटनामा आममाफी दिन नमिल्ने कुरा थिएन । रेशम पक्राउपछि २०७५ सालदेखि त्यस्तो घटनामा आममाफी दिन नमिल्ने ब्यवस्था भएको देखिन्छ ।  भनिन्छ, संसारमा सबै ठूलो, अग्लो एन्टिना भनेको पुलिस प्रशासनको हुन्छ । हरेक घटना उसको निगरानीमा हुन्छ । तुरुन्त थाहा नपाएपनि ढिलो चाँडो उसले पत्ता लगाउन सक्छ । तर, जुन घटनामा उ आफैं संलग्न हुन्छ, त्यो घटना कहिल्यै टुङ्गो लाग्दैन । उ संलग्न भएको घटनालाई आफू पन्छिएर टुङ्गो लगाउने गर्दछ । त्यस अवस्थामा निर्दोषहरू दुःख झेल्ने अवस्था आउँछ ।  अख्तियार प्रमुखहरू भ्रष्टाचार गरेर अमेरिका भाग्दछन् । राजालाई प्रहरी, सेनाले बचाउन सक्तैनन् । माफियाहरूलाई कारवाही हुँदैन । निर्मला पन्तको मुद्दा टुङ्गो लाग्दैन । टीकापुरको घटनामा लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन । अनि थारूहरूलाई सिधै दोषी अपराधी भन्न भ्याउँछन् ।  अहिले सर्वोच्चको पूर्ण पाठ र मिडियाको प्रचारवाजीले रेशमको संगठनलाई झन् फाइदा भइरहेको छ । उसलाई जेल हाल्यो भने पुनः “बाबा टोहार छावा जेलम् परल बा” भन्ने बोलको गीत थारूहरूमा पुनः गहिरो स्थान पाउनेछ । उसप्रतिको समवेदना मान्छेमा सञ्चार हुन्छ । बरु बाहिर रह्यो भने उसले कुनै ठाउँमा बोल्दा, ब्यवहार गर्दा चिप्लिने डर हुन्छ ।  त्यसैले म त भन्छु, रेशम चौधरीको रिहाई हुँदा औधी खुशी हुनुपर्ने र औधी दुःखी हुनुपर्ने कारण छैन । अहिलेको दुनियाँमा रेशमको भौतिक शरीरलाई कारागारमा कैद गर्न सकिएला तर उनको विचार, उनको संगठनलाई कारागारमा कैद गर्न सकिन्न ।  फेरि सर्वोच्चको पूर्ण पाठले सरकारलाई मात्रै होइन, स्वयम् सर्वोच्चलाई समेत नैतिक संकटमा पारेको देखिन्छ । पाठको आशयअनुसार मुद्दा उल्ट्याउने वा रेशमलाई जेल हाल्ने हो भने ब्यवस्थापिका र कार्यपालिकाको महत्व के हुने ? भन्ने शक्ति पृथकीकरणको सिद्धान्तमा समेत असर पर्नेछ । आदिवासी जनजाति, आदिवासी थारूहरूले हेर्ने नजरियाको त के कुरा गर्नु र !         

मुहार फेरिएको काठमाडौँ

मुहार फेरिएको काठमाडौँ

७८३ दिन अगाडि

|

६ साउन २०८०

बालिका चौधरी बर्दिया बस्ने म पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा काठमाडौँ आएकी थिएँ । सायद त्यतिवेला एमसीसी विरोधको आन्दोलनको चर्किरहेको थियो । काम विशेषले निस्किदा त्यसबेला माइतीघर मण्डलादेखि संसद भवन, तीनकुनेसम्म सबै गाडीघोडा बन्द थियो । बाटो पुरै सुनसान थियो । आन्दोलनकारी र प्रहरीबिच ढुुंगामुढा थियो । अनिकालमा बीउ जोगाउनु, हुलमालमा जिउ जोगाउनु भनेझैँ जोगिएर हिँड्नु पर्‍यो ।  काठमाडौँ आउँदा म प्रायः पैदल हिँड्ने गर्छु । इमरजेन्सी नपरेसम्म गाडी चढ्दिन । यसपालि असारको पहिलो साता काठमाडौँ आउँदा मैले निकै फरक पाएँ । पहिलाको जस्तो काठमाडौँ रहेन अब । पहिला पहिला सुन्धारा, न्यूरोड हुँदै असन छिर्दा युपी विहारको भीडभाडमा आएजस्तो लाग्थ्यो । जता गए पनि पाइला टेक्ने ठाउँ नै हुँदैनथ्यो । पेटीमै पसल हुँदा हिँड्दा ठेलमठेल गरेर हिँड्नुपर्थ्यो ।  बाटोमै कोही मकै पोलेका हुन्थे त कोही बाटोमै चिया, नास्ता बेचिरहेका हुन्थे । फलफूल बेच्ने, जुत्ता सिउने मान्छेदेखि सेकुवा भुटुवा बेच्ने मान्छे उस्तै, अनि खानेहरूको झनै भीड ।  यसपालि बाटोको पेटीमा रहेको सबै बजार उठाएर सुनसान भएको रहेछ । अहिले ती दृश्य नदेख्दा अनौठो लाग्यो । कस्तो शान्त र स्वच्छ वातावरण पाइयो काठमाडौँमा । तर, भीड हटाउनु मात्रै समस्याको समाधान होइन, तिनको व्यवस्थापन ठुलो कुरा हो । वानेश्वर एरिया लगायतका फुटपाथ पसललाई अलि भित्र व्यवस्थापन गरेको सुन्दा खुसी लाग्यो । बागबजारको पद्मकन्या क्याम्पसको अगाडि, प्रदर्शनी मार्ग, जमल चोक, रत्नपार्क, सुन्धारा, वीर अस्पतालको वरपर, अनि पुरानो बसपार्क त भन्नै परेन, जहिल्यै आउँदा देखिने फोहरको थुप्रो देखिन्थ्यो । यस पटक भने छ्याङ्ग सफा देखेँ । न दरबारमार्गमा, न त बागबजारमा पार्किङले बाटो साँगुरिएको थियो । बागबजारमा त अहिले बोटविरुवा सहितको गमला राखेको सुनेकी छु । मान्छेहरूको व्यवहार परिवर्तन गर्न एक्सन लिनैपर्ने देखियो । यदि काठमाडौँ महानगरपालिकाले एक्सन नलिएको भए संघीय राजधानीमा यो सब सम्भव थिएन । एक्सन लिएकैले होला, यहाँकाले जथाभाबी फोहर फाल्न छोडे । यहाँका मान्छेको व्यवहार परिवर्तन भएको देखेर खुसी लाग्यो ।  बाटोभरी सानो स्पिकरमा रेकर्ड गरेको हल्ला सुनिन्थ्यो, हेल्लो दाई यता फर्केर हेर्नुस् त ! हजार बाह्र सयको जुत्ता मात्र ६ सय पचास, ६ सय पचास मात्र । यसपालि त्यस्तो कान खाने आवाज पनि सुनिनँ । बाटोभरी माग्ने मान्छेको उत्तिकै भीड हुन्थ्यो त्यो पनि देखिएन । दृष्टिविहीनहरू बाटो बाटोमा गीत गाएर बसेका हुन्थे, ती पनि देखिएनन् ।  त्यस्तै, ससाना बालबालिकाहरु खुट्टै ढोगेर माग्न आउँथे । काखमा साना नानी च्यापेर आमाहरू पनि माग्न बसेका हुन्थे, ती भेटिएनन् । वास्तवमा ती मानिसहरूको पनि व्यवस्थापन भएको हो भने निकै नै सह्रानीय काम हो । अन्य पालिकाहरूले पनि सिक्नुपर्ने काम हो यो । राम्रा काम अनुसरण गर्दा के फरक पर्छ र ?                                                                                                                                        लेखिका बालिका चौधरी म लाजिम्पाटबाट हिँडेर लैनचौर हुँदै जमल, रत्नपार्क, सुन्धारा, सिंहदरबार हुँदै हनुमानथान अनामनगर पुगें । बाटोको सरसफाइ अनि मान्छे हिँड्ने बाटोको पेटी हेर्दा साँच्चै परिवर्तन भएछ काठमाडौँ । हरेक चोकमा ट्राफिक प्रहरीको सक्रियता, नगर प्रहरी र ट्राफिक प्रहरी मिलेर काम गरेको देख्दा साँचै परिवर्तन भएकै हो त भन्ने कुरा मनमा खेलिरह्यो ।  हरेक स्थानमा जथाभाबी पार्किङ गर्न रोक लगाइएको रहेछ । सिंहदरबारको दक्षिण गेटभन्दा अगाडि अनामनगर जाने बाटोतर्फ जथाभाबी मोटरसाइकल पार्क गरेकोमा नगर प्रहरीको गाडीले मोटरसाइकल लोड गरेर लगेको पनि देखेँ । नियम भनेको नियम हो । अब बल्ल पो भएछ, “काठमाडौँ सहर हेर्न लाग्छ रहर” । त्यसो त नेपालमा धेरै नियम कानुन बनेका छन् । यदि भएको नियम कानुन सबैले यसरी नै पालना गरे भने त देश सिंगापुर बन्न के बेर । नियम बनाउनमा कोही पछि परेको छैन । चाहे नगरपालिका होस् या गाउँपालिका । प्रदेश होस् या संघ, सबैले आपआफ्नो नियम कानुन बनाएका छन् । तर, केवल कागजको खोस्टामा सीमित छन्, हाम्रा नियम कानुनहरू । त्यसैले त, देशमा भ्रष्टाचार हुने तर साना माछा मात्रै समातिने, ठुला माछालाई कुनै नियम कानुन नै नलाग्ने चलन छ यहाँ । काठमाडौँका आकाशे पुलमा पनि सामान फिँजाएर विक्री गर्नेहरूले गर्दा हिँड्न सकस थियो । अहिले काम परेका मानिसहरू मात्र आकाशे पुलमा सुुईंसुईं हिँडेको देखेर खुसी लाग्यो । तर, मैले जान्न चाहेको कुरा महानगरपालिकाको कार्यालयमा सेवाग्राहीले सेवा कसरी पाइरहेका छन् ? उनीहरू सन्तुष्ट छन् कि छैनन् । सेवा प्रदायकले सेवाग्राहीसँग कस्तो व्यवहार गरिरहेका छन् ? भन्ने हो ।  कतै सेवाग्राही सेवा लिन जाँदा महानगरका कर्मचारीहरू टिकटक बनाएर त बसेका छैनन् ? कतै फेसबुकमा व्यस्त भएर अहिले फुर्सद छैन, पछि आउनुस् त भनेका छैनन् ? कतै सेवाग्राहीसँग झर्केर बोलेका त छैनन् ? मेयर बालेनज्यू, यस्तो त पक्कै छैन होला है । नहोस् पनि ।  कतिपय सरकारी निकायमा गएर सेवा लिन जाँदा मेरो भोगाइको आधारमा माथिका प्रश्नहरू मेरो मनमा उब्जेका हुन् । हालै, कर कार्यालयमा कर बुझाउन गएको थिएँ । निवेदन दर्ता गर्ने ठाउँमा दर्ता गर्ने कर्मचारी मेरी बास्सैको भिडियो हेरेर बसेको थियो । अनि, मेरो फाइल नै नहेरी ४ नं कोठामा जानुस् भनेर पठायो । म ज्ञानी भएर उतै लागेँ ।  ४ नं कोठामा ३ जना कर्मचारी थिए, तिनै जना एउटै मोबाइलमा झुन्डिएका थिए । त्यहाँ पनि फेसबुकको भिडियोमा व्यस्त देखेँ । एक मनले उनीहरूलाई डिस्टर्व नगरूँ जस्तो लागेको थियो । डिस्टर्व नगरी सुखै थिएन । बल्लतल्ल एउटा कर्मचारीले मेरो फाइल समात्यो र हेरेझैँ गरेर दर्तामा जानुस् भन्यो ।  मैले भनेँ, दर्ताले यहाँ पठाएको हो, राम्रोसँग हेर्नुस् भनेपछि यो कागज पुगेको छैन भनेर फिर्ता पो दियो । अन्तमा, बिचौलियाको सहाराले त्यही दिन काम सम्पन्न भयो । नपुग कागज पनि चाहिएन । वडा कार्यालयमा गयो, त्यहाँको पारा पनि उस्तै । जिल्लामा म जस्तो सामाजिक अभियन्तालाई त बाल दिँदैनन् भने सर्वसाधारणलाई कस्तो व्यवहार गर्छन् होला भनेर निकै सोच्ने गरेको छु । त्यसैले, सम्झिदा दुःख लाग्छ, जनप्रतिनिधि अनि सरकारी कर्मचारीको पारा देखेर ।  अब काठमाडौँ महानगरपालिका जस्तै सबै निकाय तह तप्काले भएको कानुन र नियम सबैले सही तरिकाले पालना गरिदियो भने सबैलाई न्याय हुने थियो । लैङ्गिक हिंसा, बालविवाह, बालश्रम न्यूनीकरण गर्न ऐन कानुन बनेको छ । जबाफदेहिता, सुशासनदेखि बाल अधिकार, महिला अधिकार, दलित अधिकार, जनजाति सबैको न्यायको लागि नियम ऐन कानुन बनेको छ । अझ भन्ने हो भने आमाको नामबाट नागरिकता दिने भन्ने कानुन पनि बनिसकेको छ । तर, व्यवहारमा पो लागू भइरहेको छैन ।  छोरीले पनि छोरा सरह बराबर अंश पाइन्छ भनिए पनि व्यवहारमा निकै कम छ । अर्थात् परिवारले छोरीलाई अंश दिनै मान्दैन । त्यसको लागि मुद्दै लड्नुपर्ने देखिन्छ । जतिसुकै कानुन बने पनि सहज रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । के नियम कानुन कार्यान्वयन गर्न बालेन जस्ता स्वतन्त्र जनप्रतिनिधि नै आउनु पर्छ त ?

म जिमदार, ऊ कमैया 

म जिमदार, ऊ कमैया 

७८७ दिन अगाडि

|

२ साउन २०८०

                                                                                                                                                  फायल तस्विर २३ वर्ष पहिले २०५७ साउन २ मा कमैयाहरूलाई मुक्तिको घोषणा गरिएको थियो । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, १२ दुना २४ वर्ष हुनै लाग्दा कति कमैयाहरूको जीवनको धमिलो खोला फर्किएर सङ्लो भयो, यसबारे खासै अध्ययन भएको जस्तो लाग्दैन । कमैयाहरू प्रायः थारू समुदायकै थिए । यो पंक्तिकार पनि थारू समुदायकै नाताले उनीहरूसँग निकै उठबस गरेको छ । प्रस्तुत आलेखमार्फत् आफ्नै गाउँठाउँका पूर्व मुक्त कमैयाहरूको जीवन चियाउने प्रयास गरिएको छ ।  कृषि थारू समुदायको पुख्र्यौली पेशा । यो पंक्तिकार हलोको चरो समातेरै हुर्कियो भन्दा हुन्छ । मलाई कमैया काका, बरा बाहरूले हलो जोत्न सिकाए । सिक्ने क्रममा कैयो पटक गोरुको खुरमा फाली पारेको छु । क्याम्पसको विदामा घर आउँदा कमैया काका, बरा बाहरूसँग खेतमा काम गर्दै, सँगै खेतको डुम्ना (अग्लो भाग) मा पलेटी कसेर जाँड पानीसहित खाजा खाएको आजै जस्तो लाग्छ ।  मेरा घरमा रहेका कमैयाका दुइ पुस्ताबारे मैले थाहा पाउँछु । उनीहरूसँग हाम्रो पारिवारिक सम्बन्धझैँ थियो । इन्सेकको रिपोर्ट भन्छ, कमैयाहरू थारू भन्दा गैरथारू जमिन्दारबाट बढी पीडित थिए । जमिन्दारहरूकोे र कमैयाहरूको भान्सा अलग थियो । निश्चय नै जमिन्दारको भान्सामा मिठो मसिनो पाक्थ्यो, कमैयाको भान्सामा काचलाउ खान्की ।   म १ कक्षादेखि १० सम्म पढेको बालजनता उच्च मावि, वनगाउँ, दाङदेउखुरीका तात्कालीन हेडसर राजेन्द्रप्रसाद चौधरी थारू कल्याणकारिणी सभा लगायतको विभिन्न कार्यक्रममा भन्ने गर्नु हुन्थ्यो,‘थारू जिमदारको बुहारीले आफ्ना घरका सबै सदस्यलाई जुन खाना ख्वाउँछिन्, त्यही खाना कमैयाहरूलाई पनि ख्वाउँछिन् । अझ रोपाईंको बेला खाना बोकेर खेतमै पुग्छिन् । कमैयाहरूले खाएको खानाको थाल थारू जिमदारको बुहारीले नै माझ्छिन् । वास्तविक समाजवाद त थारू समुदायभित्रै छ । केही जिम्दारले कमैयाहरूलाई बढ्तै दुःख दिएर कमैया प्रणालीकै वदनाम गरे ।’  मेरो घरमा पनि  मालिक र कमैयाको खानामा मात्रै होइन, व्यवहारमा पनि कुनै उँचनिच थिएन । मैले सबै कमैयालाई तपाईं भनेर सम्बोधन गर्थे, उनीहरूले पनि मलाई तपाईं नै भन्थे । मेरा काकाले कमैयालाई तँ भन्थे, कमैयाहरूले पनि उहाँलाई तँ नै भन्थे ।  कमैयाहरूले जमिन्दारको घरमा खाएर ज्यालाको रुपमा निश्चित बोरा धान पाउँथे, जसलाई मसौरा भनिन्थ्यो । मैले हामीकहाँ बसेको कुनै कमैया खाना नपुगेर भोकै बसेको कहिल्यै थाहा पाइनँ । जमिन्दारसँग ऋण मागेको थाहा पाइनँ ।  हामीकहाँ धेरै वर्ष गाडा हाँक्ने काममा संग्लग्न ‘लह्रेउना’ले छोराहरू पनि कमाउने भएपछि आफ्नो छुट्टै खेत किने । हाम्रो घरको काम भन्दा आफ्नै खेततिर उनको पाइला बढी हेलिन थालेपछि हजुरबाले माघीमा उनलाई विदाइ गरे ।  छयालीसको परिवर्तनले गाउँघरमा ६ महिने रात्री कक्षा खुल्दै गएको थियो । त्यसमा सहभागी भएर कमैया परिवारका सदस्य साक्षर हुँदै गएका थिए । यो निकै खुशीको कुरा थियो ।  घरका सदस्यझैं भएपछि अरु कमैयाहरूलाई पनि काम अह्राउन गाह्रो हुँदै गएको थियो । बा जागिरे भएर पहाडमै रहेपछि खेती व्यवस्थापनको जिम्मा हजुरबाकै थियो । मैले एकदिन भनें, ‘हजुरबा कमैयाहरूलाई मुक्त गरिदिउँ । बरु खेती अधिया लगाउँ ।’ हजुरबालाई पनि अह्रन खटनमा गाह्रो हुँदै गएको थियो, नाइँनास्ती गर्नु भएन । यसरी २०५७ साउन २ गते सरकारले कमैया मुक्ति घोषणा गर्नु ५÷६ वर्ष पहिल्यै हाम्रो घरबाट कमैयाहरू मुक्त भएका थिए ।  हाम्रो घरमा पुस्तौं कमैया भएकाहरूले जग्गा अधिया कमाउन माँगे तर हजुरबाले दिन मान्नु भएन । म त्यो दिन निकै खिस्रिक्क परेको थिएँ । यसरी कमैयाहरूसँग हाम्रो साइनो टुट्यो ।  कमैयाहरू उमेरमा मात्रै होइन, गाउँघरको साइनोले पनि म भन्दा माथि थिए । म जब जब सहरबाट आफ्नो गाउँ दाङदेउखुरीको छुट्की घुम्ना गाउँ छिर्छु, जसको छत्रछायाँमा हामी हुर्किएका थियौं । ती मुक्त कमैयाहरूलाई भेट्ने प्रयास गर्छु । सेवाढोग गर्छु । जबकि गैरथारू जिमदारले आफ्नो पूर्व कमैयालाई ढोगेको परिकल्पनासम्म गर्न सकिन्न । एकपटक काठमाडौं आउँदा आफ्नो एक पूर्व कमैयाबाट मैले सापटी पनि माँगेको छु । हामीलाई सापटी भए पनि सहयोग गर्न पाउँदा ती कमैया काका निकै खुशी देखिएका थिए । मनले भन्यो, सापटी लिने भन्दा दिने खुशी, वाह क्या जिन्दगी ।  मेरो गाउँको घरलाई जमिन्दारको ट्याग लागेको छ । तर, अहिले मेरो घर भन्दा मेरा पूर्व कमैयाहरूको घर अहिले चिटिक्क परेको देख्न सकिन्छ । तिनका छोराछोरी भलै पढ्न सकेनन् । पढ्ने वातावरण नै भएन । तर, अहिले तिनका छोराहरू कोही गाडी लाइनमा छन् । कोही घर बनाउने मिस्त्री भएर राम्रो आम्दानी गरिरहेका छन् । कोही कुखरा फर्ममा काम गरिरहेका छन् । कुनै समय मासु खान चाड कुर्नुपर्ने तिनीहरूको घरमा अहिले माछामासु खान कुनै आइतवार कुर्नुपर्दैन ।  मेरो घरमा एक कमैया थिए, तिनको नाम थियो राजा । गाउँमा प्रदर्शित नाटकमा राजा पात्रको भूमिका निभाएपछि उनको नाम राजा भएको थियो । मैले थाहा पाएदेखि उनी हामीकहाँ भैँसी गोठाला थिए । तिनका तीनै भाइ पनि हामीकहाँ कमैया रहे ।  राजा जन्मैदेखि एक आँखा देख्दैनथे । त्यसैले, तिनले बेहुली नि पाएनन् । तिनको स्वरमा अनौठो जादु थियो । जब गाउँको पश्चिमतर्फको खेतमा भैँसी चराउँदै वैशाख जेठमा सजना गीत उराल्थे, तब भान्सेहरूले उनको स्वरमा हराएर पकाइरहेको रोटी नै जलाउन पुग्थे । अहिलेजस्तो मोवाइलको जवाना थिएन, उनको स्वर रेकर्ड गर्न नसक्ता अहिले पनि थकथक लाग्छ ।  राजाका तीनै भाइहरूको घरको व्यवस्थापन अहिले राम्रो छ । एकजना त सरकारी कर्मचारी नै छन् । तिनको घरपरिवारको उचित व्यवस्थापन देख्दा सन्तोख लाग्छ ।  यी त भए मेरो घरमा कुनै समय कमैया रहेकाहरूको गन्थन । पुछारमा सँगै पढ्ने एक साथीको सफलताबारे फुर्को जोड्न चाहन्छु ।  चेतलालको मेहनत मेरो छिमेकी गाउँ दाङदेउखुरी भैस्कोर्माका चेतलाल चौधरी कक्षा १ देखि १० सम्मका सहपाठी थिए । घरबासबाहेक तिनको घरको जग्गा थिएन । तिनका बुवा, दाजुहरू कमैया थिए । निमाविदेखि उनी विज्ञान शिक्षकको भाँडा माझेर पढे । २०४५ सालमा हामीले सँगै एसएलसी सकायौं । केटाकेटीलाई ट्युसन पढाएर तिनले बीए सके । म एमए पढ्न कीर्तिपुर आउँदा बीएडको जाँच दिन आउँदा मेरै डेरामा बसे ।  अहिले मित्र चेतलाल हामी कक्षा १ देखि १० सम्म सँगै पढेको बाल जनता उच्च मावि, बनगाउँ, देउखुरीको प्राचार्य छन् । आफ्नो लागि अलग अनि बुवा, दाजुहरूलाई अर्को पक्की घर बनाइ दिएका छन् । बजारमा घडेरी जोडेका छन् । उनको प्रगति देख्दा आफैले प्रगति गरेको जस्तो महसुस हुन्छ ।  हो, कुनैबेला म जिमदारको छोरा थिएँ । रोटेपिङ झैं जिन्दगी फनफनी घुम्दै गरेको नियाल्दै गर्दा आज मेरा पूर्व कमैयाहरू जिम्दार भएका छन् । कमैया पृष्ठभूमिका चेतलाल जस्ता मेरा बालसहपाठीहरू जिमदार भएका छन् । उनीहरू मनमौजी जिन्दगी बाँचिरहेका छन् । कुनै बेलाका कमैया उनीहरू जिमदार अनि आठघण्टे ड्युटीले आज म कमैया भएको छु ।  ... अझै पनि कमैया शब्दलाई दासको रुपमा परिभाषित गरिन्छ । धेरैलाई थाहा नहुन सक्छ, कमैया शब्दको परिभाषा । काम प्लस अइया अर्थात् काममा आउनेवाला नै कमैया हो । काममा रमाउने, आफ्नो काम कुशलतापूर्वक निभाउनेलाई कमैया भनिन्छ । त्यसैले, हर कोहीले आफूलाई कमैया भन्दा ग्लानीबोध हुनु जरुरी छैन ।   

'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

'पुनलाई मगर होइन भन्ने छुट कसैलाई छैन'

८२१ दिन अगाडि

|

३१ जेठ २०८०

उजिर मगर नेपाली समाज निर्माणको हरेक ऐतिहासिक कालखण्डमा मगर समुदायको योगदान भेटिन्छ । आफ्नो रैथाने वंश, परम्परा, थर र गोत्रहरूको पहिचानसहित स्थापित समुदायमध्ये मगर अग्रपंक्तिमा आउँछ । आफ्नै थातथलो, संस्कृति, भाषा, भेषभुषा र परम्परामा रमेको मगर समुदायलाई राज्यले उपेक्षा गरिरहेकै छ । कूल जनसंख्याको तेस्रो ठूलो संख्या ओगटेको मगर समुदायभित्र थुप्रै थर, उप–थरहरू छन् । चौबीसे राज्यमध्ये धेरै राज्यका राजाहरू मगर थिए । कालान्तरमा ‘नेपाल एकीकरण’का नाममा ती राज्य विलय भए । ‘सिंजा इतिहासको डोरेटो’ मोहनबहादुर मल्लले मगर राजाहरूबारे भनेका छन्– ‘आम्दानी व्यापारबाटै थियो, जुन व्यापार हुने ठाउँ सिंजा थियो । भोट, भारत र पहाड तीन क्षेत्रलाई पायक पर्ने क्षेत्र सिंजा नगरदेखि पूर्वतिर भेरी नदीको शीरभन्दा राम्रो ठाउँ अर्को थिएन । सायद यसै नदी दुई सिंजा राजको सिमाना मानिएको हुनुपर्छ । भेरी नदी पूर्वका देशहरूमा सबैजसो मगर राजाहरू थिए ।’ यतिखेर मगर समुदायको सघन रस्तीबस्ती र भूगोलका नामकरणहरूले पनि मल्लको दाबीलाई थप पुष्टि गर्छ । मगरहरू ऊन, सुन र कपासमा बढी आकर्षित थिए । रुकुम, रोल्पा, बागलुङमा अहिलेसम्म भेडाको ऊन, अल्लो, भाङ्गो (गाँजा)को रेसाबाट उत्पादित कपडा लगाउने चलन कायम छ । उल्लेखित सन्दर्भ इतिहासका सिंहावलोकन भए । पृथ्वी नारायण शाहको ‘आधुनिक नेपाल’ निर्माणका क्रममा होस् वा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा मगर समुदायको धेरै रगत पसिना बगेको तथ्यहरू खुला छन् । मगरहरूको मुख्य थरमध्ये पर्छ पुन । पुन मगरहरूको ‘ब्रान्डेड’ थर हो । त्यही ब्रान्डेड थरलाई मगर समुदायभन्दा बाहिर राखेर तथ्याङ्क सार्वजनिक गरिनु गम्भीर षड्यन्त्रबाहेक अर्को केही होइन । पछिल्लो पटक मगर समुदायमा राज्यबाट विभाजनकारी व्यवहार गरेपछि समुदायबीच नै मनमुटाव शुरू भएको छ । राष्ट्रिय जनगणना–२०७८ को जातिगत तथ्याङ्क सार्वजनिक गरिएपछि मगर समुदायबीच द्वन्द्व सृजना भएको हो । कूल जनसंख्यामध्ये २० लाख १३ हजार ४ सय ९८ जना अर्थात् ६ दशमलव ९ प्रतिशत मगर समुदायको संख्या देखाइएको छ । तर, परापूर्वदेखि  मगर समुदायले मान्दै आएको मुख्य थरमध्ये पुन मगरलाई छुट्टै जातिको दर्जा दिएको छ । ९ हजार ८ सय २७ जना अर्थात् ० दशमलव  ०३ प्रतिशतमा पुन जाति रहेको भनि तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोझा, इमान्दार हुनु मगर समुदायको स्वभाव हो । त्यही इमान्दारितालाई कमजोरीको आधार बनाएर राज्यसत्ताबाट मगरहरू सधैं ओझेलमा पारिए । मगरहरूको मुख्य थरमध्ये पर्छ पुन । यहाँ सिधा भाषामा भन्दा पुन थर मगरहरूको ‘ब्रान्ड’ हो । अहिले त्यही ब्रान्डेड पुन थरलाई मगर समुदायभन्दा बाहिर राखेर तथ्याङ्क सार्वजनिक गरिनु गम्भीर षड्यन्त्रबाहेक अर्को केही होइन । मगर समुदाय देशको कुनाकाप्चादेखि विश्वका धेरै देशमा रोजगारीका सिलसिलामा पुगेर बसोबास गरेका छन् । प्रथम र दोस्रो विश्व युद्धदेखि अहिलेसम्म हेर्दा बेलायती, भारतीय सेनाको इतिहासमा मगर समुदायको  छुट्टै पहिचान छ । केही अभियानकर्ताहरूले पुन मगर होइन भन्ने अभियान सञ्चालन गरेकै भरमा तथ्याङ्क विभागले एकाएक नयाँ जाति उदय गराउनु नियतमा खोटबाहेक अरू होइन । मानवशास्त्रीय, सामाजशास्त्रीय अध्ययनबाट पुन मगर समुदायको एक थरबाहेक अरू प्रमाणीकरण हुन सक्दैन । जहाँ पुन मगरहरूको सघन बस्ती छ, उनीहरू मगर भएकोमा शिर ठाडो बनाएका छन् । कामकाजी, भर्तीका लागि पुन पद लिएकाले पुन मगर होइनन् भने अभियान थाल्नु र तथ्याङ्क विभागले त्यसलाई स्वीकृति दिनु ‘फुटाउ र राज’ सिद्धान्तमा आधारित षड्यन्त्र मात्रै हो । पुन को हुन् ?  भन्ने सन्दर्भमा मेजर एच.आर.के गिव्सको सन् १९४४ मा प्रकाशित ‘दी गोर्खा सोल्जर’ नामक पुस्तकमा मगर समुदायको थरलाई सात थरमा विभाजन गरेका छन् । गिव्सले भनेका छन्– ‘आले, बुढा वा बुढाथोकी, घर्ती, पुन, राना, रोका र थापा । यी सबै थरहरू सामाजिक हैसियतमा समान छन् र यिनीहरूको बीचमा अन्तरजातीय विवाह पनि सामान्य हुन्छ ।’ त्यसैगरी योगीनरहरिनाथ र कृष्णबहादुर गुरुङ सम्पादक रही २०२० सालमा प्रकाशित ‘श्रीगुरुङ मगर वंशवाली’ पृष्ठः २९ पुन मगरबारे प्रस्टै पारिएको छ– ‘निसी भुजीका महाराजिक वंशज मगर राजाहरूका सन्तान उमरा नरबहादुर पुन प्रभूति रजौटाहरू अद्यापि छन् ।’ यता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐनले समेत पुनलाई अर्को आदिवासी जनजाति भनेर चिन्दैन । तथ्याङ्क विभागले मुलुकको तेस्रो ठूलो जनसंख्या मगर समुदायलाई विभाजन गरेर केही स्वार्थी, अवसरवादीहरूको चित्त बुझाउँदा उसले सार्वजनिक गरिएका तथ्याङ्कको आधारमाथि शंका गर्ने कैयन ठाउँ दिएको छ । मगर समुदायको अक्षम ‘लिडर’ जनसंख्याको अनुपातमा राज्यको पहुँचमा मगर समुदाय नपुगेको यथार्थ हो । अशिक्षित, बेरोजगारी, सोझोपन कोही छ भने त्यो मगर समुदायमै छ । यसको फाइदा राज्यले त लियो नै । कतिपय सन्दर्भमा मगर समुदायबाटै षड्यन्त्र गर्ने काम भएका छन् । राज्यको सञ्जालभित्रै रहेका आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा मगर समुदायकै नेतृत्व छ । ती नेतृत्वले मगर समुदायमा पुन थरको माग के हो ? भनेर राज्यलाई कहिल्यै जानकारी गराएनन् । उनीहरूबारे वैज्ञानिक अध्ययन गराउन पनि चाहेन । जुन उनीहरूको त्यो नालायकीपन हो । अहिलेको कार्यशैली हेर्दा मगर समुदायको संघ/संगठनको नेतृत्वमा आएका ‘अक्षम लिडर’का हुललाई ‘रिफाइन’ गर्नै पर्छ । राष्ट्रिय जनगणना–२०७८को जातिगत तथ्याङ्क सार्वजनिक भइरहँदा शासक वर्ग मगर समुदायलाई विभाजन गरेर फाइदा उठाउने रणनीतिमा सफल देखियो । यसको बेजोड प्रतिवाद गर्न सक्ने मगर संघले समेत केही गर्न सकेन । मूलधारका राजनीति दलहरूकै संरचना र हाराहारी रहेर देश, विदेशमा संगठनात्मक संरचना खडा गरेको मगर संघ विज्ञप्ति प्रकाशित गर्नुबाहेक केही गर्न सकेन । पुनहरू यस कारण मगर हुन भन्ने मानवशास्त्रीय अध्ययन गराउने सामर्थ्य मगर संघले राख्छ । तर ‘अक्षम लिडरसीप’का कारण अध्ययन गराउँदैन, गराएन । मगर लिडरहरूको अक्षमको फाइदा ‘पुन जाति’ अभियन्ताहरूले उठाए । त्यसैलाई आधार मानेर तथ्याङ्क विभागबाट राज्यले ‘मगर फुटाउ र राज गर’ भन्ने सिद्धान्त कार्यान्वयन गरायो । ‘नयाँ जात भनेर स्थापित गरेपछि राज्यबाट सेवा, सुविधा पाइन्छ’ भन्ने हेतुले मगरभित्रका केही अवसरवादीहरू अभियानमा लागेको देखिन्छ । ‘पुन’ मगर होइन भन्नेहरू पहिचान विरोधीका मतियार मात्रै हुन । हरियो घाँसमा लुकेको हर्‍यौं (हरियो सर्प) जस्तै हुन उनीहरू । पुन जात बनाएर मगरबाटै मगर वंश नास बनाउने पात्रहरूप्रति मगर समुदायले बेलैमा सोच्नुपर्छ । एउटै संगठनमा गोलबद्ध भएको समुदाय हो मगर । जीवन्त मगर संगठन र चलयमान जातिमा केही स्वार्थी समूहको प्रवेश भएको इतिहास छ । ऐतिहासिक, वैज्ञानिक, मानवशास्त्रीय, समाजशास्त्रीय कुनैबाट तथ्य नहुने विषयलाई जबर्जस्त लागू गराउने कुचेष्टा बारम्बार भएका छन् । ५० को दशमा दशैं बहिष्कारको नारा लिइयो । मगर बुद्धमार्गी भनेर अभियानै चलाइयो । मगरको लिपी भनेर स्थापित गराउने अझै पनि कोसिस भइराखेको छ । जसलाई भाषाशास्त्रीहरू मगर भाषाको लिपी भनेर पुष्टि गर्न सक्दैनन् । मगर समुदायभित्र बेलाबेला देखिने यस्ता प्रवृत्ति नै समुदाय विकासको बाधक बन्न पुगेको छ । समुदायमा देखिने अज्ञानता, सोझोपनबाट फाइदा लिने अवसरवादीहरूविरुद्ध समुदाय निर्मम हुनै पर्छ । अहिलेको कार्यशैली हेर्दा समुदायको संघ/संगठन नेतृत्वमा आएका ‘अक्षम लिडर’का हुललाई ‘रिफाइन’ गर्नै पर्छ । जसका लागि सबै क्षेत्रमा रहेका मगर व्यक्ति, व्यक्तित्वहरूले आत्म समीक्षाका साथ समुदायप्रति उत्तरदायी, जवाफदेही सक्षम नेतृत्व निर्माणको अभियान आजैबाट थालनी गर्न जरुरी छ । लोकान्तरबाट

पितृसत्ता र आदिवासी जनजाति

पितृसत्ता र आदिवासी जनजाति

८२१ दिन अगाडि

|

३१ जेठ २०८०

 कैलाश राई आदिवासीहरूमा भएको ज्ञान, सीप अभ्यास गर्ने थलोको अभाव भएलगत्तै उनीहरूको सशक्तपन, स्वतन्त्रताजस्ता वैयक्तिक र सामूहिक अधिकार निष्प्रभावी हुँदै जान थाले ।    निजी र सार्वजनिक तवरमा पुरूष सत्ता र शक्तिले महिला (यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समेत)लाई अधीनमा राख्नु पितृसत्ता हो । सिद्धान्ततः पितृसत्ताको अवधारणा र आदिवासीय परम्परा एकसाथ रहँदैनन् । आदिवासीय दर्शन र मूल्यमान्यताले पुरूषतन्त्र र पुलिङ्गी शासन, शक्ति र संरचना कल्पना गरेको हुँदैन । उनीहरू लिङ्ग, उमेर, वर्गलगायतका  आधारमा विभेद र हेलाहोचो नगर्ने समानताको सामूहिक अवधारणाबाट निर्देशित हुन्छन् ।  त्यसैले संसारभरका आदिवासी समुदायमा पितृसत्ताको अस्तित्व हुँदैन भन्ने सैद्धान्तिक मान्यता रहिआएको छ । बरू अधिकांश आदिवासीहरू मातृसत्तात्मक शासकीय व्यवस्थाबाटै आएको दाबी गर्ने गर्छन् । कतिपय आदिवासीय समुदाय अहिले पनि मातृसत्तात्मक रहेका छन्, जस्तैः नेटिभ अमेरिकी आदिवासीहरू, भारतको मेघालयका आदिवासीहरू । सामाजिक-सांस्कृतिक र वैयक्तिक रूपमा ‘अरूहरू’माथि पुरूषको आधिपत्य आदिवासीय मौलिकता विपरीतको वैचारिकी हो । पितृसत्तात्मक चरित्रका आधुनिक राज्य व्यवस्थाहरूसँग पौठेजोरी खेल्दै आआफ्नो अस्तित्व र पहिचान जोगाउने कसरत गर्दागर्दै बाह्य समाजबाट क्रमशः आदिवासी समुदायभित्र पितृसत्ता छिर्दै छिर्दै गयो भन्ने उनीहरूको जिकिर हुने गरेको छ, जसलाई समकालीन आदिवासी जनजाति समाजमा पितृसत्तात्मक अभ्यास हुने गरेको छ भन्ने स्वीकारोक्ति मान्न सकिन्छ । आदिवासीहरू समुदायभित्रको बढ्दो पितृसत्तात्मक अभ्यासलाई एक औपनिवेशिक अवधारणा मान्ने गर्छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको प्रतिवेदनअनुसार “पितृसत्ता आदिवासीहरूका लागि आगन्तुक हो तर हिन्दु पितृसत्तासँग लामो समय अन्तरघुलनमा रहेका कारण केहीमा त्यसका प्रभाव धेरै र केहीमा कम देख्न सकिन्छ (एनआइडब्लुएफ सन् २००८: ५९) । ” त्यसैगरी पितृसत्तात्मक संरचना, सोच र व्यवहारलाई सैद्धान्तिक तथा नीतिगत रूपमा निस्तेज पार्ने महिलावादको अवधारणालाई पनि आदिवासी समुदायले अपनाउनु उचित नरहेको ठान्छन् । पितृसत्ता र महिलावादका अवधारणाहरू आदिवासीय सभ्यता, जीवनशैली र संस्कृतिभन्दा भिन्न धरातलमा आधारित भएकाले पनि त्यसबारे समुदायभित्र नगण्य छलफल तथा विमर्श हुने गरेको छ । नेपालका आदिवासी जनजाति समुदायको हकमा पनि यी कुराहरू लागू हुन्छन् । मातृसत्ताको अवशेष  नेपालका आदिवासी जनजातिहरूले आफूहरू मातृसत्तात्मक व्यवस्थाकै उपज भएको विश्वाससहित दाबी गर्दछन् । समकालीन आदिवासी जनजाति समुदायहरूमा मातृसत्ताको विशेषताहरू पनि छिटफुट रूपमा भेटिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट उत्पादित राज्यद्वारा सूचीकृत आदिवासी जनजातिहरूमध्ये धेरैजसोको जातिशास्त्रीय विवरणिकाहरूमा उपलब्ध सङ्क्षिप्त जानकारीले निजी वृत्तमा महिलाको भूमिका सशक्त भएको देखाउँछ । उनीहरू घरपरिवार सञ्चालनको प्रमुख भूमिकामा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक तथा वैयक्तिक पक्षहरूमा केही हदसम्म स्वतन्त्रता उपभोग गरिरहेका छन् । उदाहरणका लागि दोलखा र सिन्धुपाल्चोकका थामी/थाङ्मीहरूमा आमाको थर क्रमशः छोरीहरूमा सर्दै जाने परम्परागत अभ्यास (कानूनी बाधाको बाबजुद) अद्यापि छ । थामीहरूमा रहेको यो अभ्यासलाई सुक्ष्म अध्ययन गर्ने हो भने मातृसत्तात्मक समाजबारे केही थाहा पाउन सकिएला भन्ने आशा गर्न सकिन्छ । लोककृष्ण भट्टराईको पुस्तकमा चिनियाँ यात्री ह्वेन साङले पनि काश्मीर अफगानिस्तान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुर आसपासका डाँडा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व. पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन्” (भट्टराई, २०५५)भन्ने वाक्यांश छ । यी उल्लिखित स्थानहरू आदिवासी जनजातिका रूपमा सूचीकृत तामाङहरूको पुर्ख्यौली थातथलोका क्षेत्र हुन् । बिहेपश्चात तामाङ महिलाको थर परिवर्तन नहुने, उसको अस्थी (हाड, जसलाई थर मानिन्छ) माइतीमै रहने (योञ्जन-तामाङ, २०७३) परम्परा छ । यसलाई तामाङ महिलाको अस्तित्व बंशजको रूपमा रहने चलनको उदाहरणका रूपमा लिन सकिन्छ । नारदमुनि थुलुङ (२०४२) ले उल्लेख गरेका छन्, “…किराँत कहलिएका मनुका भाइ इयमका दुईपत्नी थिए । एउटी बसु, एउटी साध्या । बसुपट्टिका आठ भाइ भए, जसलाई आठ बसु भनिन्छ । साध्यापट्टिका तीन भाइ भए जसलाई तीनसाध्य कहिन्छ । ती पुत्रहरूलाई साध्य र बसु भन्नाको कारण उसबेला पितृसत्ताको भन्दा मातृसत्ताको महत्त्व थियो भन्ने बुझिन्छ । आमाको नामबाट बोलाउने चलन थियो (पृ. २०३)।” उनले त्यसबेला मातृसत्ता मात्रै थियो भनेर किटान गरेका छैनन् ।  त्यस आधारमा किराँती समुदाय कुनै समय लैङ्गिक समान व्यवस्थामा चल्ने गर्थ्यो भन्न सकिन्छ । त्यसो त मानव सभ्यताको सुरुवातमा कविलाई र घुमन्ते अवस्थामा महिलालाई प्रमुख मानिन्थ्यो, वंश आमाको नाताबाट चल्थ्यो । बसोबासको स्थायित्व, परिवार, निजी सम्पत्तिको थालनीसँगै पिताको वर्चश्व स्थापित गरिँदै लगियो र बलियो पितृसत्तात्मक सामाजिक व्यवस्था खडा भयो भन्ने गरिन्छ । त्यसो हो भने मातृसत्ताबाट समाजलाई पितृसत्तामा सार्ने उपक्रममा आदिवासी जनजातिहरू तुलनात्मक रूपमा पछिल्लो समयावधिमा बाध्यताले सामेल हुँदै गएको भन्न सकिन्छ । समुदायका विभिन्न निजी तथा सार्वजनिक स्तरका सामाजिक, धार्मिक, सांस्कृतिक तथा सामुदायिक क्रियाकलापहरूमा महिलाको उल्लेख्य र हस्तक्षेपकारी सहभागिता हुने गर्छ । अझै पनि मातृसत्ताका केही अवेशषहरू बचाइराखेका भुटान, थाइल्याण्ड, भारतको मेघालय र नेपालकै आदिवासी जनजातिहरूमा पारिवारिक वृत्तमा महिलाको बलियो भूमिका हुनु त्यसैको सङ्केत मान्न सकिन्छ । तर, यदि नेपालका आदिवासी जनजातिहरू मातृसत्तात्मक थिए भन्ने हो भने कसरी र कहिलेबाट उनीहरू पितृसत्तातर्फ ढालिए भन्ने प्रश्नकेन्द्रित सुक्ष्म अध्ययनको अभाव खड्किरहेकै छ । मातृसत्ताको केही खुद्रा मसिना र नाजुक अवस्थामा रहेका अभ्यासहरूमै सन्तोष मान्नु पनि न्यायोचित ठहरिदैन । न मातृसत्ता न पितृसत्ता ! पितृसत्ताको अवधारणा आदिवासीय चिन्तन र ज्ञानबाट उत्पन्न भएको होइन भन्दाभन्दै पनि आदिवासी जनजातिहरू त्यस्तो अवधारणागत अभ्यासको जञ्जालमा फसिसकेका छन् । एकातिर बाहिरी समाजसँगको अन्तरक्रिया र राज्य व्यवस्थाअनुकूल ढालिन सकेवापत कमाएको पितृसत्तात्मक ढर्राको सामाजिक पुँजीकै आधारमा पुरूषहरूको स्थान उच्च हुँदै गयो । पुरूषहरू समुदाय र आधुनिक राज्य व्यवस्था एवं मिश्रित समाजबीचको सेतु बने । आदिवासी समुदाय क्रमशः अरू समाज र व्यवस्थाहरूसँग घुलमेल हुँदै त्यसैको अङ्ग बन्दै जानेक्रममा महिलाको सशक्त भूमिका रहने परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासहरू मासिदै गए । आदिवासीय समुदायको जीविकोपार्जनको आधार र स्रोत राज्य व्यवस्थाले सरकारी तथा निजी स्वामित्वमा ढाल्दै लग्यो । नेपालका विभिन्न भूभागमा राष्ट्रिय निकुञ्ज, ठुल्ठुला जलविद्युत परियोजना, राज्यद्वारा अवधारणाकृत सामुदायिक वन, आधुनिक विकासका परियोजनाहरूले आदिवासीय जीविकाका आधार- जल, जमिन, जङ्गल खोस्दै लग्यो । आदिवासीहरूमा भएको ज्ञान, सीप अभ्यास गर्ने थलोको अभाव भएलगत्तै उनीहरूको सशक्तपन, स्वतन्त्रताजस्ता वैयक्तिक र सामूहिक अधिकार निष्प्रभावी हुँदै जान थाले । त्यही क्रममा एकातिर, आदिवासी जनजातिहरू आफ्नो अस्तित्व, मौलिक पहिचान र स्वायत्तता र स्वशासनको लागि राज्यसँग लड्दालड्दै पुरूष सत्ता र पुरूष वर्चश्व अनुकूलित बन्दै गए । अर्कोतिर घर-परिवारमा आमा र समुदायमा महिलाको ज्ञान, सीप र शक्तिशाली भूमिका क्षय हुँदै गयो । मातृसत्तात्मक इतिहासको स्वघोषित गौरव गर्दै अघोषित रूपमा पितृसत्तात्मक व्यवस्थाको अनुकरणतर्फ समुदाय लम्कियो । उमेर, लिङ्ग, वर्गको हिसाबले विभेद वा असमान अभ्यास नहुने कुरा समुदायका लागि इतिहास बन्दै जान थाल्यो । सामूहिक विशेषताले बाँधिएको भए पनि समकालीन आदिवासी जनजाति समुदाय आफै विविध र विषम छ । उनीहरूभित्रको लैङ्गिक शक्ति सम्बन्धहरू पनि उत्तिकै विविध अवस्था र स्तरका छन् । यद्यपि निजी र सार्वजनिक वृत्तमा उनीहरूका लैङ्गिक शक्ति सम्बन्धहरू समान छैनन् । महिलालाई निमित्तका रूपमा राखी पुरूषबाट पुरूषमै वंश कायम रहँदै गएको इतिहास गाढा छ । वंशजको गुणगान र गाथाहरूलाई ‘पिता पूर्खा’को पौरख र साहसको रूपमा पुस्तान्तरण गरिदै ल्याइएको छ । वैवाहिक तथा पारिवारिक संस्था र वंशजको अधिकार पुरूषमै निहित छ । सम्पत्तिको पहिलो र प्रमुख हकदार पुरूष नै रहँदै आएका छन् । घर सञ्चालनको अधिकांश वा पूरापूर दायित्व महिलाले निर्वाह गरेपनि घरमूली वा मालिक भने पुरूष नै मानिन्छन् ।  लिङ्गका आधारमा असमान सोच र व्यवहारहरू उत्तिकै बलिया छन् । मातृसत्ताका अवशेषहरू छुट्दै, मासिदै दुर्लभ हुन थालेका छन् । आधुनिक शासकीय संरचनाअन्तगर्तका पितृसत्तात्मक अभ्यास बाक्लिदै र पुस्तान्तरण हुँदै गइरहेको छ, तैपनि आदिवासी जनजाति समुदायले उनीहरू पितृसत्तात्मक होइनन् भन्ने नै जिकिर गर्ने गर्छन् । नेपालका आदिवासीमध्ये पछिल्लो समयसम्म घुमन्ते जनजीवनमै रहँदै आएका राउटेहरूले अन्य आदिवासी जनजातिहरूको दाँजोमा हिन्दु दर्शन र राज्यसत्तासँग कमै अन्तरक्रिया गर्ने गरेका छन् । उनीहरूको समुदायमा महिला-पुरूष दुबैको सल्लाह र सहमतिमा सरसामान किनबेच गर्ने, आवश्यक निर्णयहरू लिने गरे पनि महिलालाई जङ्गलमा दाउरा लिन जान, काठका भाडाकुँडा बनाउन र बाहिरफेर कामकाजमा पठाउने गर्दैनन् र ठाउँ सर्नुपर्ने भएमा नयाँ ठाउँको वस्तुस्थिति, पायकपन बुझ्न पुरूष नै जाने गर्छन् । त्यस्तै उनीहरूलाई समुदायबाहिरका मानिसहरूसँग भेटघाट र संवाद गर्न दिइँदैन (एनआइडब्लुएफ सन् २०१८) । कारण जे जस्तो भए पनि राउटे महिलाहरूमाथिको त्यस्तो निषेध लैङ्गिक भूमिकाका हिसाबले विभेदकारी पितृसत्तात्मक अभ्यास हो । म हुर्केको किराँत राई समुदायको कुनै पनि संस्कारअन्तर्गत मुन्धुम गरिँदा ‘पिता पुर्खा’ भन्ने शब्द अत्यधिक प्रयोगमा ल्याइन्छ । यद्यपि, मुन्धुमले पुर्खाको अर्थ पुरूष महिला दुबै हुन् भन्ने गर्छ । तैपनि पुर्खाको अगाडि आउने ‘पिता’ शब्द पुलिङ्गी वर्चश्वकै प्रतीक हो । त्यस्तैगरी मृत्यु भएपछि ‘पितृकोमा बास होस्’ भन्ने गरिन्छ । यो शब्द पिताबाटै आएको हो । जुन किराँतीहरूले भन्ने गरेको पुर्खाको अवधारणासँग बाझिन्छ, किनकि आफ्ना पुर्खाहरूबाट आशिष माग्दा ‘सुम्निमा पारूहाङ (किरात राईहरूको देवी देउता)ले बल प्रदान गरून्’ भन्ने चलन अझै पनि छ । यहाँ पिता होइन माता अर्थात् सुम्निमाको शक्ति अग्रणी मानिने कोणबाट केलाउँदा समकालीन परिवशेमा मुन्धुमको नेपाली रूपान्तरणले ल्याएको समस्याका रूपमा यसलाई बुझ्न सकिने ठाउँ छ । आदिवासी समुदायमा स्वशासन, न्याय र सुरक्षा कायम राख्ने प्रथाजनित/परम्परागत संस्था र न्याय प्रणालीहरू समतामूलक र समावेशी हुन्थे भन्ने गरिन्छ । धिमालको माझीवाराङ, माझीको मझेसाबा, थकालीको तेह्र मुखिया, थारूको बडघर, ह्योल्मोको ह्युल्ठिम लगायतका परम्परागत संस्थाहरूको गठन र नेतृत्व चयन प्रक्रिया समावेशी थिए (लाहुर्निप, सन् २०१५) । ती संस्थाका नेतृत्वमा समुदायले रुचाएको जोसुकैलाई चुनेपछि निर्विरोध चयन भएको मानिन्थ्यो । त्यस अर्थमा भेलाले महिला, युवा जसलाई पनि चुन्न सक्थ्यो तर त्यसरी कति महिला चुनिए ? भन्ने कुरा अनुत्तरित छ । यस्ता संस्थाको समावेशी चयन प्रक्रिया पनि नेपाल एकीकरणसँगसँगै क्रमभंग भयो । जस्तैः एकीकरणका बखत माझीको मझेसाबामा जो जो नेतृत्वमा थिए उनैका छोरामा स्वतः नेतृत्व सर्दै जाने चलन बसालियो (माझी, सन् २०१५, पृ. ७३-१०४) । त्यसपश्चात् नेतृत्वमा महिला आउने ढोका बन्द भयो र उनीहरू सहयोगी भूमिकामै सीमित पारिए । नेपालका आदिवासी जनजातिहरूले मातृसत्तात्मक समुदायको दाबी गरे पनि अहिले उनीहरूले अभ्यास गरिरहेको व्यवस्था पूर्ण रूपमा पितृसत्तात्मक नै हो । आन्दोलन र सङ्गठनको पितृसत्तात्मक चरित्र आदिवासी जनजातिहरूले २०४६ सालपछि नेपाली राज्य व्यवस्थासँग लड्नका लागि खडा गरेका सङ्गठन र आन्दोलनको खाका पितृसत्तात्मक धरातलबाटै उठेका छन् । आदिवासीय परम्परागत संस्थाको सट्टामा आधुनिक राज्य सत्ताकै ढाँचाअनुरूपका सङ्गठनहरूमार्फत् आन्दोलन थाली विस्तार गरिएको छ ।  त्यसका दुईवटा पक्ष छन्- पहिलो, त्यसबेला समुदायलाई आफ्नो अस्तित्व र मौलिक पहिचान पुनस्थापनाका निमित्त सचेत बनाएर राज्य संरचनाविरूद्ध एकढिक्का भएर उभिनु अत्यावश्यक थियो । फलतः शासन व्यवस्थाले उनीहरूको मौलिक पहिचान, दर्शन, ज्ञान, भाषा-संस्कृति, थातथलोलगायतका कुराहरू मास्दै लगेकाले ती सवालहरूमा उनीहरू केन्द्रित भए ।  दोस्रो, समुदाय पितृसत्तात्मक व्यवस्थामा चल्न अभ्यस्त भइसकेकाले त्यस्ता सङ्घर्षहरूमा स्वतः पुरूषहरूको अग्रसरता र विचारको प्रभुत्व रहन गयो ।  समुदायका महिलाहरूको सवालसहितको संलग्नता र उनीहरूमाथि हुने वा भएका शोषण-विभेद र त्यसको प्रभावहरू अदृश्य भए । आदिवासी जनजाति समुदायभित्र जे जति पितृसत्ताका चरित्र र अभ्यासहरू छन्, तिनको कारक हिन्दु वर्णाश्रम अनुरूपको ब्राह्मणवादी पितृसत्तात्मक शासन व्यवस्थालाई ठान्ने गरेका छन्, जुन गलत होइन तर त्यही कुरालाई आधार मान्दै समुदायभित्रका लैङ्गिक विभेद/हिंसा, समुदायका महिलाहरूमाथि बहुरूप र तहमा भइरहेको विभेद र अन्यायलाई महत्त्व नदिनु त्यही पितृसत्तात्मक व्यवस्थालाई बलियो पार्नु हो । जनजाति आन्दोलन र उनीहरूका निमित्त खोलिएका संस्था/सङ्गठनहरूले त्यही गर्दै आइरहेका छन् । २०४७ सालमा स्थापित आदिवासी जनजातिहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घ स्थापनाकालदेखि निरन्तर आन्दोलनमा छ । आन्दोलन बलियो बनाउनकै खातिर सङ्गठन विस्तार गरिए । सवालहरू पहिचान गरिए । जनजाति महासङ्घदेखि देशविदेशसम्म बिस्तारित जातीय सङ्गठनहरूमा महिला सहभागिता र महिला नेतृत्व उत्पादन कार्यलाई गम्भीरताका साथ लिइएन । सवालहरूलाई लैङ्गिक कोणबाट उठाइएन । आदिवासी जनजाति समुदायभित्रको अन्तरसम्बद्ध- खासगरी महिलाका सवालहरूमा जनजाति आन्दोलनको बेवास्ता, असमझदारिता, असमावेशिता र असहयोगकै परिणामस्वरूप महिलाहरूले ‘राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ’ गठन गरेका थिए (राई, २०७३, पृ.५४-७६) । नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनहरूमा स्वतःस्फुर्त होमिएका पुरूष-महिला र आफ्नै समुदायका सहकर्मीहरूले समेत आफूहरूलाई सहायक वा ‘काम चलाउ’का रूपमा मात्रै व्यवहार गर्ने गरेको पाएपछि जातिवाद, उपनिवेशवाद, लैङ्गिक विभेद र सीमान्तकृत समुदायमाथिको बहुआयामिक शोषण र विभेदविरूद्ध सङ्गठित हुन पुगेका  थिए । जनजाति महिलाहरूले जनजाति आन्दोलनले उठाउने सवालहरूमा साथ, समर्थन र सङ्घर्ष गर्दा प्रोत्साहित गरिए भने लैङ्गिक-जातीय सवालसहित सङ्गठित हुँदा ‘जनजाति आन्दोलनको शक्ति घटाउने’ कामका रूपमा अर्थ्याइयो । महिला आन्दोलनले उठाएकै मुद्दाहरूलाई सकारेर बिनाप्रश्न सामेल हुँदा उनीहरू सहजै स्वीकार्य हुन्छन् भने त्यहाँ पनि जातीय-लैङ्गिक सवाल उठाउँदा ‘जातिवादी’ वा ‘महिला आन्दोलनमा फुट ल्याउने’मा दरिइन्छन् । यी दुबै प्रवृत्ति पितृसत्तात्मक संरचना र प्रवृत्तिकै देन हुन् । जनजाति महिलाका सङ्गठन खुलेपछि जनजाति आन्दोलनले लैङ्गिकताको मुद्दाको जिम्मा अघोषित रूपमा उनैलाई सुम्पिएझैँ भयो । ‘सांस्कृतिक एजेन्ट’का रूपमा जातीय पोशाक र भेषभूषामा महिलाहरूलाई धर्ना, जुलुस, झाँकीजस्ता प्रदर्शनीहरूमा अग्र भागमा उभ्याइए । उनीहरूमा भएको वैचारिकी, ज्ञान एवम् निर्णायक हैसियत स्वीकार्ने प्रवृत्ति भने आन्दोलन र संस्थागत संरचनाहरूमा स्थापित भएन । महिलाले महिलाकै निम्ति गठन गरेका र एकाध जातीय संस्थाहरूमा बाहेक महिला नेतृत्व पाउन सकिन्न । समानुपातिक समावेशितालाई प्राथमिक मुद्दा मानेको जनजाति आन्दोलनले नीतिगत करकापले मात्रै महिला सहभागिता सुनिश्चित गर्दै आएको छ । आफैले वकालत गर्ने गरेको अर्थपूर्ण सहभागिताको त कुरै भएन । सवालकेन्द्रित आवाज बलियो पार्नुमा भन्दा पितृसत्तात्मक ढर्राकै पदीय मान मर्यादा र शक्ति हासिल गर्नुलाई आदिवासी जनजाति समुदायले प्राप्त गरेको उपलब्धि मानिएको छ । ‘पहिले आदिवासी जनजातिको रूपमा अधिकार पाउँ अनि महिला आदि इत्यादि’ भन्ने पितृसत्तात्मक एकाङ्गी मान्यता तोड्नुपर्छ भन्ने चेतका साथ अघि बढ्ने जमात एकदमै सानो र सीमित छ । जहिल्यै शासकीय संरचना, स्रोत-साधन, सूचना र परियोजना/कार्यक्रमहरूबाट बहिष्कृत समुदायको सामर्थ्यभन्दा सीमा र अड्चनहरू बढ्तै हुने गर्छन् । आन्दोलन र सङ्गठनहरूभित्रको पितृसत्तात्मक प्रवृत्तिहरूले त्यस्ता सीमा र अड्चनहरूलाई कम गर्नुको सट्टा झन् बढावा दिइरहेको छ । मुश्किलले बचेकुचेका मातृसत्ताका अवशेषको भरमा धानिएको लैङ्गिक समानतालाई आड बनाएर आलटाल गरी बसेका छन् । तब, जनजाति आन्दोलन र सङ्गठन ब्राह्मणवादी पितृसत्ताभन्दा के अर्थमा भिन्न छन् ? पितृसत्ताकै अनुसरणमा जनजाति महिला आन्दोलन मातृसत्तात्मक समाजको सदस्य हुनुको गौरवबोध महिला पुरूष दुबैमा हुनु अस्वाभाविक होइन । मुख्य कुरा, गौरवबोध भन्दा धेरै पर पुगेर, पितृसत्तात्मक सोच र व्यवहारसँग समुदायका पुरूषहरू मात्रै होइन, महिलाहरू पनि उत्तिकै अभ्यस्त पारिएका छन् भन्ने हो ।  समुदायमा महिलाहरू सशक्त छन्, अधिकारको भरपूर उपभोग गरिरहेका छन् भन्ठान्नेहरू नै अधिक छन् । महिलाहरूको त्यस्तो सशक्तपन र स्वतन्त्रता सावर्जनिक वृत्तहरूमा, राज्यका संयन्त्रहरूमा किन छैन भन्ने कुरालाई सुक्ष्म रूपमा बुझ्ने र बुझाउने जमात असाध्यै कम छन् । समुदायका महिलाहरू विभेदमा परेका छन्, शोषणमा परेका छन् भन्ठान्नेहरू पनि कम भेटिन्छन् ।  यस्तो सरल र सपाट बुझाई पितृसत्तात्मक वैचारिकीकै अनुसरण हो । आदिवासीहरूले पितृसत्ता अवलम्बन नगर्दा र त्यसबाट प्रभावित नहुञ्जेलसम्म महिलावाद औचित्यहीन हुनु स्वभाविक हो । अहिले पनि पितृसत्तालक्षित महिलावाद आदिवासी जनजाति महिलाहरूको अनुकूल अवधारणा होइन । महिलावादी अवधारणाको प्रमुख ध्येय महिलालाई पुरूष सरह सामाजिक र राजनीतिक तवरमा समान र सम्मानित बनाउने हो । आदिवासी जनजाति महिलाहरूले अरू पुरूष सरहको समानता र सम्मान पाउनु मात्रै पर्याप्त होइन । उनीहरूको आफ्नै थातथलोसँग सम्बन्धित भिन्न पहिचान, संस्कृति, भाषा आदि भएका महिलाका रूपमा समुदायले प्रदान गरेको हकअधिकारहरू स्वतन्त्रपूर्वक भोगचलन गर्दै स्वायत्त र सम्मानजनक जीवनयापन गर्न पाउनु प्रमुख कुरा हो । त्यस्ता अन्तरसम्बद्ध (इन्टरसेक्सनल) पक्षहरू एकसाथ सम्बोधन हुन सक्ने व्यवस्था वा प्रणाली स्थापित गर्नु नै आदिवासी महिलावादको लक्ष्य हो । जुन आदिवासीवाद र महिलावादको मिश्रणयुक्त एक अन्तरसम्बद्ध खाकाको रूपमा आदिवासीहरूले अपनाउदै ल्याएका छन् । यो सिद्धान्ततः आदिवासीय सामाजिक-सांस्कृतिक-भाषिक-लैङ्गिक पक्षहरूलाई अग्रस्थानमा राख्दै उपनिवेशवादी पितृसत्ता र समुदायभित्र मौलाएको पितृसत्ताविरूद्ध लड्ने खाका हो । नेपालमा धेरै नसुनिएको यो खाकाअन्तर्गत नै आदिवासी जनजाति महिलाहरूले आफ्ना आन्दोलन र सवालहरू अघि बढाइरहेका छन् । तर सैद्धान्तिक र वैचारिक तवरमा त्यसलाई मिहिन ढङ्गले बुझ्ने/बुझाउने र अवलम्बन गर्ने गरिएको छैन । अझै पनि आदिवासी जनजाति महिलाहरू किन र केका लागि आन्दोलित छन् भन्ने कुरा बाह्य समाज र नेपालका महिला आन्दोलनहरूमा प्रस्ट्याउन सकिएको छैन । जनजाति महासङ्घकै संरचनाको सिको गर्दै जनजाति महिला महासङ्घ खडा गरेर अघि बढाइएका छन् । जातीय र लिङ्गीय आन्दोलनहरूमा रहेको पितृसत्तात्मक प्रवृत्तिविरूद्ध आफ्ना आवाज सशक्त पार्न सकेका छैनन् । मिश्रित समाजका अरू समुदायका महिलाहरूमा सादृश्य र भौतिक स्वरूपमा देखिने लैङ्गिक तथा यौनिक शोषण, हिंसा र विभेदकै कोणबाट आदिवासी जनजाति महिलाहरूको सामाजिक-सांस्कृतिक-लैङ्गिक-भाषिक अवस्थिति/विभेदलाई बुझ्ने, गलत अर्थ्याउने र (अप)व्याख्या गर्ने राज्य र बाह्य समुदायको दृष्टिकोणसँग स्पष्ट विचारका साथ जुध्न सकिरहेका छैनन् । समुदायले दिएको हकअधिकारहरू निजी वृत्तमा जे जति लागू गर्न सकेका छन्, ती सार्वजनिक वृत्तहरूमा किन बेकामे भएका छन् भन्ने सवाल राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनन् । त्यसो भए पनि, जनजाति महिलाहरूले लिङ्गीय-जातीय वा जातीय-लिङ्गीय मुद्दा उठाए पनि उनीहरूले टेक्ने हरेक पाइलाको आधारभूमि समुदाय र जनजाति आन्दोलन नै हो । जनजाति महिला आन्दोलनले मूलतः जनजाति आन्दोलनबाटै ज्ञान र अनुभव लिँदै आइरहेको छ । आन्दोलनका विज्ञ र नेतृत्वहरू (जो पुरूष नै छन्)मार्फत नै मार्गनिर्देश हुँदै अधिकांश सूचना र स्रोतहरूमा पहुँच राख्दै आइरहेका छन् ।  समुदाय, आन्दोलन र नेतृत्व पङ्क्ति आफै पितृसत्तात्मक संरचना पछ्याएर हिडिरहँदा उनीहरूले मात्रै त्यसको वैकल्पिक संरचना खडा गर्नु, आन्दोलनको वैकल्पिक थलो निर्माण गर्नु र पितृसत्तालाई कमजोर पार्नु ज्यादै कठिन काम हो । सामाजिक न्यायको पक्षधर जनजाति आन्दोलनले जातीय र लैंगिक न्यायको मुद्दालाई सँगै नलाने हो भने जनजाति महिला आन्दोलन एउटा झिनो आवाज बन्दै बिलिन हुने सम्भावना प्रवल छ । समुदायसँग भएको मातृसत्तात्मक अवेशषहरूलाई पनि पितृसत्तात्मक अभ्यासहरूले नामेट पारिदिनेछन् । टुङ्ग्याउनी आदिवासी जनजाति समुदाय प्रायःजसो पितृसत्ता, चाहे त्यो समुदायभित्रै झाँगिदै गरेकै किन नहोस् र महिलावादका गम्भीर सवालहरूमा मौन हुने गर्छ । लैङ्गिकतासम्बन्धी आलोचनात्मक र विवादका कतिपय महत्त्वपूर्ण कुराहरूमा  विचार अभिव्यक्त गरेको धेरै पाइँदैन  । अडान राख्दैन, सकभर तटस्थ रहन्छ । अरू समुदायका तुलनामा पछाडि पारिनुमा यस्ता अभ्यासहरूले पनि भूमिका खेलिरहेका छन् भन्ने मान्न तयार देखिँदैनन् । त्यसले महिलावादभित्रको समावेशिताको मुद्दा कमजोर पार्छ । समुदायभित्र र समग्र व्यवस्थामा रहेको पितृसत्ताको जगेर्ना गर्छ । लैङ्गिक समानताको अवधारणालाई राज्यले अपनाउन थालेसँगै नेपाली समाजमा विद्यमान पितृसत्ता र महिलामाथि हुने विभेद, हिंसा, शोषणहरूलाई स्वीकार्न  थालिएको छ । आदिवासी जनजाति समुदायले भने त्यो अवधारणा आफ्नो समुदायअनुकूल नरहेको मान्ने तर त्यसको विकल्पमा रहेको आदिवासी महिलावादलाई समेत अपनाउन सकिरहेको छैन । आदिवासी जनजाति समुदायका महिलाहरू मूलतः वृहत्ततर पितृसत्तात्मक शासकीय संरचना र समुदायस्तरको पितृसत्तात्मक अभ्यासबीच चेपिदै जाने क्रम बढ्दो छ । मातृसत्तात्मक समुदायको ऐतिहासिक पहिचानको गौरवगाथामै रमाएर वास्तविकतालाई बेवास्ता गर्न छाड्नुपर्छ । आदिवासी जनजाति समुदायभित्र लादिएको आगन्तुक पितृसत्तालाई कि नकार्न सक्ने बुता पनि समुदायसँग हुनुपर्छ कि चाहिँ त्यसलाई खुलेआम स्वीकारेर अघि बढ्न सक्नुपर्छ ।   सन्दर्भ स्रोत थुलुङ, नारद मुनि (२०४२). किराँतको नालि–बेलि . विराटनगर: श्रीमती अंगुर कन्दङ्वा । भट्टराई, लोककृष्ण (२०५५). नेपाली सभ्यताः विगत र वर्तमान, काठमाडौः विद्यार्थी पुस्तक भण्डार । योञ्जन तामाङ, अमृत (२०७३). उज्यालो यात्रामा तामाङ महिला. काठमाडौँ: गान्बा प्रकाशन । राई, कैलाश (२०७३). राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घः गठन, क्रियाकलाप र औचित्य. पहिचानको खोजी: आदिवासी जनजाति महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३) । राई, कैलाश, सं., पृ. ५४-७६ । काठमाडौँ: इण्डिजिनियस मिडिया फाउन्डेसन । लाहुर्निप (सन् २०१५). परम्परागत संस्थाः एक अध्ययन (नेवार, थकाली, माझी, धिमाल, थारू, ह्योल्मो, ज्यापू र मगर). काठमाडौँ: नेपालका आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ।

लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य

लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य

८४१ दिन अगाडि

|

११ जेठ २०८०

सञ्चार माध्यम र विभिन्न छापाबाट प्राप्त सूचनाका आधारमा के भन्न सकिन्छ भने यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलबाट रिहा हुनुहुनेछ । उच्च अदालतबाट उनलाई तोकेको जन्मकैदको सजाय सर्वोच्च अदालतले सदर गरेदेखि नै यस्तो चर्चा चुलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिमा यस्तो सङ्केत देखिन्छ ।  सर्वोच्च अदालतको फैसलापछि रेशम चौधरीले पनि अत्यन्तै सन्तुलित प्रतिक्रिया दिनुभएको छ । उहाँको पार्टीले सर्वोच्च अदालतको फैसलापछि अपनाएको विशेष संयमताबाट समेत यसको पुष्टि हुन्छ । यस मुद्दामा सर्वोच्च अदालतको यो फैसलाको सम्बन्धमा संसद्मा उपस्थित र खास गरेर मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका नेता र सांसदहरूको मौन मनोभावले समेत त्यो सम्भावनालाई नै बल पुर्‍याएको छ । प्रायः सबै जना जुनसुकै तरिकाले भए पनि उनी जस्तै बिनासित्ति कारागार जीवन भोगिरहेकाहरूको रिहाइको प्रतीक्षामा छन् ।  जेजस्तो र जसरी भए पनि टीकापुरको आन्दोलनका यी निर्दोष आन्दोलनकारीहरू कारागारबाट मुक्त हुनु निश्चय नै एउटा खुसीको कुरा हुनेछ । उनीहरूको रिहाइले मधेसको एउटा जल्दोबल्दो मुद्दाको सम्बोधन हुन्छ । राज्य सञ्चालनका संस्थापन शक्ति समूहको निमित्त पनि यो कार्य राहतको विषय हुने देखिन्छ । किनभने देखावटी भए पनि सत्ता निमित्तको हरेक गठबन्धनीय समीकरण तयार हुने बेलामा मधेस र थरुहटसँग सम्बन्धित प्राय सबै दलहरू बडो जोडतोडका साथ रेशम चौधरीको रिहाइको सर्त तेर्स्याउँदै आएका छन् । देउवा हुन् वा ओली अथवा प्रचण्ड, सबैले आआफ्ना स्वार्थअनुसार मुद्दा फिर्ता लिने आश्वासन दिँदै आएका छन्, तर अहिलेसम्म उनीहरूकै अनिच्छाले पूरा हुन सकेको छैन । कमसे कम चौधरी र अन्य आन्दोलनकारीहरूको माफीमिनाहाको प्रक्रियाबाट रिहाइले यस्तो सर्तको तनावबाट संस्थापन शक्ति समूहलाई पनि केही हदसम्म राहत दिने नै छ । रेशम चौधरी, लक्ष्मण थारु आदिको रिहाइको जस लिन मधेसबाट चुनिएका नेताहरू जनताका बिचमा दौडिरहेका छन् । रिहाइ भएमा सत्तासीन ठुला दलहरूको प्रशंसा पनि बढ्ने छ । अनि लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण गर्नुभन्दा मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा खेप्दै जेल भोगिरहेका र फरार घोषित गरिएका बाँकी आन्दोलनकारीको रिहाइ र मुद्दा फिर्तातिर बढी जोड दिइएको देखिन्छ । यो कार्य संस्थापन शक्ति समूहका निमित्त थप राहतको विषय बन्नेछ । मधेसका नेता भनिनेहरू अब यसै मागको राजनीति गर्ने छन् । लुकाएर राखिएका धेरै मुद्दाहरूको स्थिति यथास्थितिमा रहने छन् । यसको प्रयोग प्रशासनले आवश्यक परेका बेला प्रताडनाको हतियारका रूपमा गरिरहने छ ।  जेलमा कोचिएका रेशम चौधरीसहितका आन्दोलनकारीहरू निर्दोष छन् । समानता निमित्तको आन्दोलनलाई नेतृत्व गरेकै कारण राज्यले उनीहरूमाथि झुटा मुद्दा लगाएर यति विधि यातना दिएको हो । तथ्य यही हो । यो वास्तविकता र तथ्यसँग सबै राम्ररी परिचित छन् । यिनीहरूमाथि सुरु अदालतदेखि ठोकिएको सजायको एक मात्र कारण राजनीतिक प्रतिशोध नै हो । अभियोजन पक्षले पत्यारिलो प्रमाण र आधार प्रस्तुत गर्न नसके पनि अदालतहरूबाट सजाय ठोकिँदै र सदर हुँदै गयो । नेपालको न्यायपालिकाको इतिहासमा वर्तमान न्यायिक स्तरलाई देखाउन रेशम र उनका साथीहरूको मुद्दा निश्चय नै एउटा उदाहरणका रूपमा अगाडि आइरहने छ । लामो समयदेखि लम्बित थरुहट आन्दोलनसँग सम्बन्धित यस मुद्दाको अन्तिम निर्णय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोरतोडका साथ उठिरहेका बेला र गणतन्त्र दिवसको केही अगाडि मात्र आउनु विश्लेषणकै विषय हो । यसले अदालत, सरकार र संस्थापन शक्तिबिच सुमधुर समन्वयकारी सम्बन्धको खुलासा गर्दछ । लोकतन्त्रमा शक्ति पृथकीकरण, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको स्थितिको आकलनको निमित्त यसको अध्ययन जरुरी छ । रेशम चौधरी, लक्ष्मण थारु र अन्य केही आन्दोलनकारीको रिहाइपछि लाल आयोगको प्रतिवेदनको सम्पूर्ण प्रयोजन नै समाप्त हुनेछ भन्ने सरकार र संस्थापन शक्ति समूहहरूको सोच भएको हुन सक्तछ । संस्थापन शक्ति समूहको रणनीतिको मूल पाटो ‘सफाइ होइन, सजाय र अन्त्यमा माफी मिनाहा’ रहेको छ । मधेस र थरुहट आन्दोलनको क्रममा नृशंस दमनको निमित्त जिम्मेवार तत्कालीन सरकार, राज्यको संस्थापन शक्ति समूहभित्रका राजनीतिक दलका नेताहरू र आफ्नै नागरिक दाजुभाइहरूमाथि नृशंस दमनको निमित्त हतियार बन्न पुगेका सुरक्षाकर्मीहरूको दोष पनि लुकाउन सकिने र भविष्यमा समेत यस्तै दमन गर्नुपर्ने भयो भने त्यसको निमित्त सुरक्षाकर्मीहरूको मनोबल पनि कायम रहिरहने उद्देश्य यसको रणनीतिभित्र देखिन्छ । मधेस र थरुहटमा पछि माफीमिनाहाको नौटङ्की गरी रेशम चौधरीलगायतका निर्दोष आन्दोलनकारीको रिहाइ गरी श्रेय लुट्ने स्वार्थ रणनीतिको अन्तिम अध्यायको विषय भएको देखा परिरहेको छ । घटनास्थलबाट धेरै टाढा रहेका र त्यसमा कुनै उक्साहट वा निर्देशन पनि नदिएका रेशम चौधरी, लक्ष्मण थारु आदिलाई बलिको बोका बनाइयो । रणनीति कार्यान्वयनको निमित्त सुरुदेखि अन्तिम तहसम्मको अदालतको प्रयोग गरियो । मुद्दाको किनारा सत्य–तथ्यको आधारमा भएन वा गर्न दिइएन । राजनीतिक सत्ता समीकरणमा दबाबको स्थिति उत्पन्न भएपछि फैसला गरी गराई माफीमिनाहाको प्रक्रियामा पार्ने बाटो अपनाइएको रहेछ ।  लाल आयोग सरकारले नै गठन गरेको थियो । आयोगबाट प्राप्त प्रतिवेदन अहिले पनि सरकारको हातमा छ । उक्त प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम वर्गीकृत भई गोप्य श्रेणीमा रहने कुनै निर्णय भएको छैन । सूचना आयोगले ऐनको दफा ३ को (४) को व्यवस्थाअनुसार प्रतिवेदन ऐनको ३ को (३) अनुसार प्रकाशित गर्न नमिल्ने रहेको अवस्था नरहेकाले सार्वजनिकीकरण गर्न निर्देशनसमेत दिइसकेको स्थिति छ । तर सरकारले प्रतिवेदन सार्वजनिक गरेन, गर्न चाहेन । उल्टै अनुचित रूपमा सरकार आफैँले गरे मात्र सार्वजनिक हुने विषयमाथि रोकको आदेश पाउन अदालत समक्ष पुग्यो । सरकारले नै नचाहे सार्वजनिक नहुने ग्यारेन्टी हुँदाहुँदै अदालतले लगत्तै कुनै छलफल नगरी कारणसमेत नबुझी सार्वजनिकीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश गर्‍यो र निकासको स्थिति अहिलेसम्म झुन्डिएको झुन्डियै छ ।  रेशम चौधरीको मुद्दामा समेत अदालतले सो प्रतिवेदन मगाएर हेर्नुपर्ने थियो । त्यसो गर्दा सो मुद्दासँग सम्बन्धित सत्यतथ्यको विस्तृत जानकारी प्राप्त हुनेथियो । सरकारले सो प्रतिवेदनमा उल्लेखित कुनै तथ्यको खण्डन नगरेको हुनाले त्यसमा उल्लेखित तथ्यलाई आधारका रूपमा मानी अदालतले रेशम चौधरी, लक्ष्मण थारु आदिलाई न्याय दिन सक्थ्यो । तर त्यसो गरिएन । बहसका क्रममा अदालत स्वयंले ‘आन्दोलनको आह्वान गर्नु र घटनामा स्वयं उपस्थित हुनु एकै हो, होइन’ भन्ने प्रश्न उठाउँदा सरकारको पक्षबट ‘त्यसो होइन’ भन्ने जवाफ दिइए पनि सर्वोच्च अदालतको निर्णय उच्च अदालतको सजाय सदर नै रह्यो । यी सबैले सबै घटनाक्रम पूर्वनिर्धारित समयअनुसार नै अगाडि बढेको प्रमाणित हुन्छ ।  सवाल लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको हो । लाल आयोगको गठन मधेस र थरुहट आन्दोलनको क्रममा घटेका घटनाहरूको सत्य, तथ्य जनतामा ल्याउनको निमित्त भएको हो । यो कुनै व्यक्तिसँग भएको घटना वा कुनै व्यक्तिमाथि लगाइएको आरोप र मुद्दासँग मात्र सम्बन्धित छैन । सम्पूर्ण मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित छ । मधेस र थरुहट आन्दोलनको क्रममा भएका घटना, हत्याहरूको परिवेश, त्यसका निमित्त जिम्मेवार तत्त्व (राज्यको प्रशासनिक दमनकारी समूह वा आन्दोलनकारीको समूहमा छिरेका असामाजिक तत्त्व), आन्दोलनका क्रममा भएको दमन र सुरक्षा अधिकारीहरू लगायतसँग सम्बन्धित छ । कुन अवस्थामा कसरी टीकापुरमा आन्दोलनकारी र सुरक्षाकर्मीहरू मारिए ? नाबालिग बच्चो कसरी प्रहरीसँग मात्र हुने राइफलको गोलीको सिकार भयो ? थमन विक अस्पताल लैजाँदा राजमार्गबाट नलगी धेरै टाढा र सजिलै गाडी हिँड्न नसक्ने घुमाउरो हिलाम्मे कच्ची बाटोसम्म कसरी लगिए र उनको मृत्यु भयो ? मोरङमा द्रोपदी कसरी गोलीको सिकार भइन् ? जलेश्वरमा आफ्नो आँगन (दैलो)मा उभिएकी महिला कसरी सहिद हुन पुगिन् ? हिफाजत मियाँसँग के भएको थियो ? जलेश्वर, जनकपुर, वीरगञ्ज, मलेठ आदि स्थानमा कसरी युवाहरू सहादत प्राप्त गरे ? महोत्तरीको बजराहीमा नातिको सहादतपछि विक्षिप्त आफ्नो बगैँचामा घुमिरहेको बाजेलाई कसले र किन गोली ख्वायो ? यी घटनाहरूमा कतै कुनै आन्दोलनकारीसँग हातहतियार थियो थिएन ? थिएन भने युद्ध भए जस्तै सुरक्षाकर्मीले किन र कसको आदेशमा घातक हातहतियारको नृशंसपूर्वक प्रयोग गरे ? यस्ता प्रश्नको उत्तर हिमाल, पहाड र मधेस–थरुहट सबै क्षेत्रका जनतालाई जान्ने अधिकार छ । अहिले चर्चा रहेअनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलगायत अरूलाई माफी–मिनाहाको घोषणा भयो भने लाल आयोगको प्रतिवेदनको सार्वजनिकीकरणको माग उठ्दैन र टीकापुरको घटनाको सत्य, तथ्य सदाको निमित्त मसानमा गाडिएर नष्ट भएर जानेछ भन्ने राज्य सञ्चालक संस्थापन शक्ति समूहको सोच छ । लाल आयोगको प्रतिवेदनलाई पनि यस्तै खाल्टोमा धकेल्नु कदापि सुखद हुने छैन । त्यसकारण लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको निमित्त राष्ट्रिय र अन्तर्राट्रिय मानव अधिकारवादी, सङ्घसंस्था तथा राजनीतिकर्मीहरूको गम्भीर ध्यानाकर्षण आवश्यक छ । हाम्रो देशमा आन्दोलनको अनुचित र नृशंस दमनको घटनाबारे छानबिन गर्न बनेका आयोगहरूको प्रतिवेदनको हबिगतको इतिहास सुखद छैन । २०४६ सालको जनआन्दोलनका क्रममा भएका घटनाबारे आएको मल्लिक आयोगको प्रतिवेदनको गहन अध्ययन भएन । दोस्रो जनआन्दोलनका क्रममा भएका अपराधहरू सजायको निमित्त कठघरामा उभ्याइएन । आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्नु र आन्दोलनपछि फेरि पनि बिस्तारै तीनै सत्ताखोरहरूको हालीमुहाली हुन पुगी परिवर्तनपछि आएको नेतृत्व समूह तिनै सत्ताखोरहरूको प्रभावमा परेर भ्रष्टाचारको रङमा रङ्गिन पुग्नुको यो पनि एउटा प्रमुख कारण हो ।  लाल आयोगको प्रतिवेदनलाई पनि यस्तै खाल्टोमा धकेल्नु कदापि सुखद हुने छैन । त्यसकारण लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरणको निमित्त राष्ट्रिय र अन्तर्राट्रिय मानव अधिकारवादी, सङ्घसंस्था तथा राजनीतिकर्मीहरूको गम्भीर ध्यानाकर्षण आवश्यक छ । यो राष्ट्रिय मानव अधिकार आयोगको समेत चासोको विषय हुनै पर्दछ । सर्वोच्च अदालतले तत्कालीन मुख्य सचिव वैरागीबाट दर्ता गरिएको रिट निवेदनलाई तत्काल अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्दछ । सार्वजनिकीकरण गर्ने पक्ष सरकार नै भएकाले प्रयोजनविहीन अवस्थामा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश र नेपाल सरकारका तर्फबाट सर्वोच्च अदालतमा दर्ता रहेको रिट निवेदनसमेत स्वतः बदरभागी रहेको देखिन्छ । यसलाई अझै लम्बित गर्नु जनताको सूचना पाउने अधिकार अर्थात् संविधानको धारा २७ मा उल्लेखित सूचनाको हकको ठाडो उल्लङ्घन हो । लाल आयोगको प्रतिवेदन कुनै कानुनबमोजिम गोप्य राख्नुपर्ने दस्तावेज नरहेकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको कारणले यसको सार्वजनिकीकरण गर्न अवरोध रही रहनु त्यसैले अन्यायपूर्ण हो । रेशम चौधरी र आन्दोलनको क्रममा गिरफ्तार भएका सबैको रिहाइ होस् । प्रतिगामी तत्त्वहरूद्वारा बलिको बोका बनाइएर उनीहरूमाथि गरिएको अन्यायको अन्त्य यथाशीघ्र हुनुपर्छ र सँगै लाल आयोगको प्रतिवेदन पनि सरकारले सार्वजनिक गर्नु त्यतिकै आवश्यक छ । सत्य, तथ्य बाहिर आएपछि यी निर्दोषहरू जनताको नजरमा सफाइ पाउने छन् । यही उनीहरूप्रति वास्तविक न्याय हुनेछ ।  (लेखक तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन् । )रातोपाटीबाट