तस्विरः लखन दहित
धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको विरुद्ध हुन्छ । धर्मबारे जानकारी खोजी गर्दागर्दै धेरै धर्मवेत्ताहरु धर्तीलाई छाडेर गइसके तर एक बनाउन सकेनन् ।
यतिबेला सबै धर्ममा मानवता सबैभन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा अडिएको छ । धर्मको नाममा बोलेको बोली बचनले, गरिएको ब्यवहारले कसैको मन दुख्छ भने त्यो अधर्म भइहाल्छ ।
मुस्लिमलाई दुःख पर्दा हिन्दूले नबोल्ने, हिन्दूलाई दुःख पर्दा ईसाईले नबोल्ने, ईसाईलाई दुःख पर्दा बौद्धले नबोल्ने कुरा धर्म हुन सक्तैन । मानव मानवबिचमा विभेद गर्नु धर्म होइन, अहंकार हो, अज्ञानता प्रदर्शन हो ।
त्यसैले कुनै सम्प्रदायको होस्, दुःखमा परेको ब्यक्तिको लागि बोल्नु, सहयोग गर्नु, कसैलाई हेला होचो नगर्नु, दिल नदुखाउनु, मानवीय ब्यवहार गर्नु धर्म हो । सबै हिन्दू, बौद्ध, शिख, ईसाई, मुस्लिम सम्प्रदायको निचोड पनि यही हो । यही मानव धर्म हो ।
थारू समुदाय मानव धर्ममा अडिएको देखिन्छ । गुर्बाबा थारूहरुको आदि पुरुष, सृष्टिकर्ता हुन् । थारू जति नजिक हिन्दूसँग छन्, उति नै नजिक बौद्धसँग पनि छन् । अहिले त थारू कुलमै भगवान बुद्ध जन्मे भन्ने कुरा धेरैले पुष्ट्याई गर्दै पुस्तक पनि लेखेका छन् । थारूहरु मुस्लिमका धार्मिक समारोहमा पनि पुगेकै हुन्छन् । मुहर्रममा ताजिया निकाल्दा थारूहरु सहयोग गरेकै हुन्छन् । त्यसैले प्रायः धर्मसँग थारूहरुको सम्बन्ध राम्रो छ ।
धर्म, संस्कृतिको मूलआधार हो । संस्कृति धर्ममा टेकेको हुन्छ । ब्रत र उपवासमा विश्वास गर्नु पनि थारूहरुको संस्कृति हो । पश्चिमा थारू समुदायमा ब्रत बस्दा खेरी अग्रासन छुट्याइन्छ र चेलीबेटीलाई दिने गरिन्छ । तर कतिपय ठाउँमा अटवारीमा दिने अग्रासनलाई बढी महत्वका साथ हेर्छन् । तर सबै ब्रतको अग्रासन उत्तिकै महत्वपूर्ण हुन्छ ।
अग्रासन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता र विश्वास थारू समुदायमा छ ।
अग्रासन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता र विश्वास थारू समुदायमा छ ।
तीर्थ गएकाहरु प्रसाद किनी ईश्वरमा चढाएर बचेका प्रसाद घर आएर जसरी ईष्टमित्र, चिनजान भएकालाई बाँड्छन् । जुन प्रसादको अवमूल्यन कसैले गर्दैन, गर्नु हुँदैन, गर्यो भने राम्रो हुँदैन भन्ने मान्यता छ ।
त्यसै गरी थारूहरुमा प्रायः सबै ब्रतमा अग्रासन निकाल्ने चलन छ । ब्रत उपवासमा खानु अगाडि हरेक ब्रतालु, ब्रतमा खाने सबै कुरा, एक टपरी वा भाँडोमा निकाली भगवानलाई चढाउँछन् र चढाइसकेपछि आफू खान्छन् ।
उनीहरु कृष्ण जन्म अष्टमीमा भगवान श्रीकृष्णको, अटवारीमा भीमको र अनत्तरमा अनन्त भगवान (बिष्णु) को ब्रत उपवास गर्दछन् । पूजा गर्ने आफ्नै तरीका छ । भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णलाई, भाद्र शुक्ल पक्षको पहिलो अटवार (आइतवार) मा भीमलाई र भाद्र शुक्ल चतुर्दशी (अनत्तर) मा भगवान अनन्तलाई चढाएको प्रसाद नै अग्रासन हो, जुन अग्रासन चेलीबेटीको घरमा मुख्य पहुराको रुपमा जान्छ, जसको अवमूल्यन गर्नु हुँदैन, अवमूल्यन गर्दा राम्रो हुँदैन भन्ने मान्यता छ ।
नेपाली शब्दकोशमा अग्रासनको अर्थ “खानु भन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।” त्यसै गरी हिन्दी शब्दकोशमा अग्रासनको अर्थ “देवता, ब्राह्मणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग” भनी अथ्र्याइएको छ । त्यसैले अग्रासन भनेको अग्र+राशन अर्थात् आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पुरा हुन्छ, उनीहरु दीर्घायु हुन्छन् ।
त्यति मात्रै होइन, अग्रासनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजु–भाई, दिदी–बहिनी, फूपू–भतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ । चेलीबेटी करोडपति किन नहोस्, माइती आएको बेला, उसका आमाबाबुले उसलाई दिने सय पचास रुपैयाँ उसको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला, जब कृष्ण जन्माष्टमी, अटवारी, अनत्तर आउँछ, चेलीबेटीहरु माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् ।
अग्रासन सम्बन्धि केही सत्य घटना
एउटा घर थियो, जहाँ एक बाबुबाट १ दिदी र ४ भाई छोरा बस्दथे । उनीहरु ठूला भए, सबैको बिहाबारी पनि भयो । ४ भाई छोराहरुको विवाह नजिकैको गाउँबाट भएको थियो । चाडपर्व आउँदा एक परिवार अर्को परिवारसँग समय समयमा भेट हुन्थ्यो । अष्टिम्की, अटवारी, अनत्तर आउँदा समयमै अग्रासन पनि आउने गर्दथ्यो । यद्यपि अग्रासनको महत्व उनीहरुलाई थाहा थिएन । समयमा नपुग्दा बासी भात आयो भनी अवमूल्यन गर्दथे ।
दिदीको बिहा ५ घण्टा पैदल दूरीमा थियो, अग्रासन पुर्याउनै गाह्रो । विहे गरेको ४ वर्षसम्म अग्रासन दिन गए, पाँचौ वर्ष गएनन् । कृष्ण जन्माष्टमीदेखि अनत्तर ब्रतसम्म दिदी पर्खिन्, अग्रासन आएन । सम्पर्कको कुनै माध्यम थिएन, यसपाली भाईहरु किन आएनन्, उनलाई थाहा भएन । असह्य भएर उनी एक दिन माइती आइन् ।
उता भाईहरुका छोराछोरी अर्थात् भतिजा भतिजी खुशी भएर फुपू आइन्, फुपू आईन् भनी कराउन थाले । तर दिदीको अनुहार मलिन थियो, आँखामा मायाको आँसु छचल्किरहेको थियो । उनी कसैसँग नबोली, अनुमति नलिई मोटरी (आफ्नो सरसामानको पोको) काखीमा च्याप्दै माइती आफ्नो पनि घर हो भन्ने हक जटाउँदै घरभित्र पसिन् । भक्कानो छोडेर रुन थालिन् ।
आमा बुवा के भयो ? भनी सोध्न थाले । सासु ससुराले गाली गरे कि ! ज्वाईंले कुटपिट गरे कि ? के भयो, छोरी भन न ! किन रोएको ! हामी छौं, भन्न थाले । भाईहरु पनि सोध्न थाले, किन रोएको दिदी ? भन न । सासु ससुराले केही भने कि, भिनाजुले पिट्नु भयो कि ?
धेरै बेरपछि आफूलाई सम्हाल्दै रुँदै उनले प्रश्न गरिन्, यसपाली मलाई अग्रासन किन आएन ? जेठानी, देउरानीको अग्रासन पुग्यो, मेरो घरबाट किन पुगेन ?
भाईहरुले उत्तर दिए, ‘धेरैले बासी खानेकुरा दिन जान लागेको’ भनी गिज्याउन थाले । त्यसैले यसपाली दिन गइएन दिदी ।
दिदीले भनिन्, ‘वर्षमा एक दुई पटक ब्रत बस्छौ, दिदीको घरमा वर्षको एक दिन आउन गाह्रो हुन्छ है तिमीहरुलाई ! तिमीहरुलाई अग्रासनको महत्व अहिलेसम्म थाहा छैन है ! अग्रासन बासी भात होइन भाई ! यो भगवानको प्रसाद हो, यसमा दाजु–भाई, दिदी–बहिनीको माया लुकेको हुन्छ, सम्बन्ध गाँसिएको हुन्छ । जसका ब्रत उपवास बस्छौं, उनीहरुको कृपा मिसिएको हुन्छ । अरुको लागि जस्तो होस्, मेरो लागि अग्रासन महाप्रसाद हो, यसको ग्रहणले मलाई निकै शान्ति र सन्तुष्टी मिल्छ भाई ।
दिदी भन्दै गइन्, अग्रासन नपुग्दा मलाई मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ । दिदी भाईबिचको निर्मल, कञ्चन, सरस मायामा अपमान र विभेदको गन्ध महसुस हुन्छ । किन बुझ्दैनौ भाई चेलीबेटीको माया ?
दिदीको प्रश्नको बौछारले अन्तमा भाइहरुले गल्ती स्वीकार गरे, आगामी वर्षमा आउने बाचा गरे । यसरी दिदी खुशी भइन् भन्ने भनाइ छ ।
दिदी भन्दै गइन्, अग्रासन नपुग्दा मलाई मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ । दिदी भाईबिचको निर्मल, कञ्चन, सरस मायामा अपमान र विभेदको गन्ध महसुस हुन्छ । किन बुझ्दैनौ भाई चेलीबेटीको माया ?
त्यसै गरी एक गरिब घरकी छोरीको बिहे धनी घरमा भयो । बिहे अगाडि दाजु बहिनीबिच निकै प्रेम थियो । घरको गरिबीसँग दाजु, बहिनी मिलेर लड्थे । बिहे भएपछि केही वर्षमा बहिनीको आनीबानीमा परिवर्तन आयो ।
वातावरणले पनि मान्छेमा प्रभाव पर्ने रहेछ । सिधासादा मान्छेलाई कसैले ईज्जत, सम्मान दिन चाहँदैन । सुरुका वर्षहरुमा बहिनीले दाजुहरुसँग राम्रै ब्यवहार गर्थिन् । अग्रासन दिन जाने क्रम जारी थियो ।
तर केही वर्षपछि दाजु अग्रासन दिन जाँदा बहिनीको बानी ब्यहोरा परिबर्तन भएको पाए । दाजु आँगनमा पुगिरहेको बेला, बहिनी घर नजिकैको कुवामा थिइन् । दाजुलाई देख्दा देख्दै उनी घरभित्र पसिन् र अर्को ढोकाभित्र निस्किइन् । दाजु धेरै बेरसम्म छिरुवा (गोरु बाँध्ने, लडिया, डन्लप राख्ने घर) मा बसे । बहिनी निस्किनन् ।
यसरी दाजु निराश र दुःखी भए । मनमनै नआउनु पर्ने थियो, गल्ती गरियो, अब अग्रासन लिएर घर फर्किनु पनि राम्रो होइन, घरकाले के भन्लान् ? उनलाई पीर प¥यो । उनी मनमनै सोच्दै थिए, अब कसैलाई बहिनी मानेर दिनु पर्ला ।
दाजुले अग्रासनको भारी उठाएको बेला छिमेकमा रहेको बहिनीको साथीले कहाँ जान लागेको डाडु (दाजु) ? पानी खाएर त जानुस् भनिन् र पानी ल्याइदिइन् । सोधपुछ भलाकुसारी गरिन् । दाजुको मन पग्लियो, उनी खुशी भए । उनले भनिहाले आजदेखि तिमी मेरो बहिनी भयो, म तिमीलाई बहिनी मानें । यो अग्रासन लिएर जाऊ ।
त्यो अग्रासनले दाजु बहिनीको सम्बन्ध गाँसिदियो । दाजुले नयाँ आत्मीय बहिनी र बहिनीले दाजु पाइन् । धनी घरमा पुगेपछि, धनको घमण्ड गर्ने ज्वाईहरुको संगत र दवावले शायद बहिनी अग्रासनको महत्व नै बिर्सिन् । उनले बिर्सिन् कि धनले माया, ममता किन्न सकिन्न भन्ने कुरा । त्यसैले त उनी गरिब दाजुको बेवास्ता गरिन्, अपमान गरिन् । फलस्वरुप सहोदर बहिनीसँगको सम्बन्ध टुट्यो र पराया बहिनीसँगको सम्बन्ध कायम भयो । त्यसैले बुझ्न जरुरी छ कि ‘माया, ममता, मानवता धनले खरिद गर्न सक्ने चिज होइन ।’
त्यसैले सारमा के भन्न सकिन्छ भने हामी जानी जानी बेवास्ता गरेका पनि हुन सक्छौं, अन्जानमा यसको अवमूल्यन गरेका पनि हुन सक्छौं वा कार्य ब्यस्तताका कारण बिहा भएका आफ्ना फुपु, दिदी, बहिनी, छोरी, भतिजी, नातिनीको घरमा अग्रासन दिन जान नसकेका पनि हुन सक्छौं । त्यो हाम्रो कमजोरी हो । तर अग्रासन भनेको जसको हामी पूजा, उपासना गर्दछौं, कुनै कामना गर्दै ब्रत उपवास बसेका हुन्छौं, खाने समयमा ब्रतालुले उपभोग गर्ने हरेक चिज बस्तु तिनै आराध्य देवदेवी (कृष्ण, भीम, अनन्त आदि) का लागि छुट्ट्याएर अगाडि पट्टी राखिएको खानेकरा÷प्रसाद हो ।
अग्रासन भगवान÷देवदेवीको कृपा, दाजुभाई, आमाबुवा, परिवारका अन्य सदस्यहरुको माया लुटपुटिएको खाद्य बस्तु हो, जो चेलीबेटीहरुलाई उपहारको रुपमा दिने गरिन्छ । चेलीबेटीहरुका लागि यो अति महत्वपूर्ण पहुरा, उपहार हो, जसलाई सामान्य खाना, खानेकुरासँग दाँज्न मिल्दैन । यसलाई बासी खानेकुरा भनी अवमूल्यन गर्नु हुँदैन । अग्रासन दाजुभाई, दिदी बहिनी, माइती र चेलीबेटीबिच घनिष्ट सम्बन्ध बनाउने भरपर्दो माध्यम हो । लैहर (माइती) र ससुराल (घर) को प्रेमयुक्त सम्बन्ध जोड्ने सेतु हो । यसलाई निरन्तरता दिनु तपाईं हामी सबैको कर्तव्य हो ।
प्रकाशित:
१३५७ दिन अगाडि
|
२५ भदौ २०७९
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९