टीकापुर विद्रोह दिवसः एउटै मञ्च, एउटै स्वर, दलीय दासता स्वीकार्य नहुने
७९६ दिन अगाडि
|
८ भदौ २०८१
कैलालीको टीकापुरमा थारुहरुले ‘नवौं थारु बिद्रोह दिवस’ भदौ ७ गते शुत्रलवार सम्पन्न गरेका छन् । दिवसमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उद्ययन राज्य मन्त्री अरुण चौधरीसहित जिल्लाभरीका थारु अगुवा नेताहरुको उपस्थिति रहेको थियो । जहाँ सबैको एउटै स्वर थियो ‘आन्दोलनको बिकल्प छैन, दलिय दासता स्वीकार्य हुँदैन’ ।
गत वर्ष बिद्रोह दिवसको आठौं बर्षगाँठमा एउटै मञ्च प्रयोग गरिए पनि नेताहरुमा अलि अनमन देखिन्थ्यो । तर यसपाली भने बिबादरहित ढंगले एउटै मञ्च सहज स्वीकारिएको र मञ्चबाट बोलेको देखियो ।
कार्यक्रममा थारुहरुले थरुहट प्रदेश पाउनु पर्दछ भन्ने आवाज उठाएकै कारण जेल जीवन बिताएका सबै थरुहटवादीहरुलाई मुख्य अतिथि, बर्तमान मन्त्री, भू.पू. मन्त्री, जनप्रतिनीधिहरुलाई बिशिष्ट अतिथि र अन्यलाई अतिथिमा राखिएको थियो । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुको स्वागत मन्तब्य पश्चात बक्ताहरुले बिद्रोह दिवसमा मन्तब्य राखेका थिए ।
बक्ताहरुमा आदिवासी जनजाति महासंघका प्रदेश अध्यक्ष दल बहादुर घर्तीमगर, थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रेमवती राना, नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल राना, जेलजीवन काटिसकेका रामप्रसाद चौधरी, नेकपा माओवादीका कैलाली जिल्ला अध्यक्ष एवं कैलारी गाउँपालिकाका निबर्तमान अध्यक्ष लाजुराम चौधरी (अंकित), नेकपा एमाले कैलालीका जिल्ला सचिव एवं घोडाघोडी नगरपालिकाका निबर्तमान प्रमुख ममता प्रसाद चौधरी, नेपाली काँग्रेस कैलालीका उपसभापति खेमराज चौधरी, संबिधान सभा सदस्य कृष्णकुमार चौधरी (कुन्दन), सांसद लालबीर चौधरी, सांसद गंगाराम चौधरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामजनम चौधरी, थरुहट आन्दोलनका उठानकर्ता लक्ष्मण थारु रहेका थिए ।
कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो । लोकगायक मनिराम चौधरी, गायिका सोमती चौधरीले गीतमार्फत् अझैं अन्तिम लडाई बाँकी रहेको, कसैको सामु झुक्तैनौं हामी, थरुहट राज्य छोड्दैनौं भन्ने सन्देश दिएका थिए ।
नेकपा माओवादीका जिल्ला अध्यक्ष लाजुराम चौधरी अंकितले २०६४ सालमा पार्टीको नीति र ब्यबहार मन नपरेपछि लक्ष्मण थारुसहित आफूहरुले पार्टीबाट बिद्रोह गरेको स्मरण गराउँदै थारुहरुको लागि कारवाही समेतको परवाह नगरेको स्मरण गराएका थिए । उनले अबका दिन प्रहरी, प्रशासन, सेनामा थारुको प्रतिशत कति ? त्यो खोजिने दिन आएको बताए ।
नेकपा एमालेका जिल्ला सचिव ममताप्रसाद चौधरीले थरुहट आन्दोलनलाई कतिपय ब्यक्तिहरु अन्डरस्टीमेट, अनदेखा गरिरहेको भनी रोष प्रकट गर्दै प्रदेशको सवालमा गहन छलफल र संविधान संशोधनमा धेरै ध्यान दिई अगाडि बढ्नुपर्ने विचार ब्यक्त गरे ।
नेपाल रानाथारु समाजका केन्द्रीय सदस्य कमल रानाले बर्तमान सरकारको संविधान संशोधनबाट थारुहरुको हक अधिकार सम्पन्न हुने कुरामा विश्वास नरहेको र सुदूरपश्चिम सरकारको ९ सदस्यीय समितिले थारुहरुको आरक्षणको मागलाई सम्बोधन गर्ला भन्ने कुरामा विश्वस्त हुन नसकेको बिचार ब्यक्त गरेका थिए ।
संबिधान सभा सदस्य कृष्णकुमार चौधरी (कुन्दन) ले थरुहट प्रदेशको लडाई निरन्तर जारी रहने आशय ब्यक्त गर्दै जनसंख्याको आधारमा राज्यमा थारुहरुको सुनिश्चितता अनिवार्य भैसकेको बताए । उनले यदि देशमा १०० जना आर्मीको भर्ती खुल्छ भने ७ जना थारुहरुको सिट अनिवार्य हुनुपर्ने बताए । उनले थारुहरुले मागेको जम्माजम्मी थरुहट प्रदेश, समान अनुपातमा सहभागिता र भाषा संस्कृतिको संरक्षण थियो भन्ने विचार ब्यक्त गरेका थिए ।
नाउपाका सांसद गंगाराम चौधरीले आफूले संसदमा टिआरसीमार्फत् थारुहरुमाथि लगाइएको झुट्ठा मुद्दा खारेज गरिनुपर्ने आवाज उठाएको जानकारी गराएका थिए भने पूर्वमन्त्री रामजनम चौधरीले थारुहरुको अधिकारका लागि दलीय ह्वीप नमान्ने र जबसम्म थारुहरुको माग, मुद्दा सुनुवाई हुँदैन, तबसम्म लडिरहने, संबिधान संशोधनले प्रदेश मिल्छ भने त्यसमा पनि ध्यान दिइनुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उद्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो उमेर कम हुँदा पनि थरुहट आन्दोलनको शुरुवातदेखि आफू लागेको, आन्दोलनमै लाग्दा आफ्नो ट्रयाक्टरसमेत जलेको बताएका थिए । उनले अहिले पनि थारुहरुको लागि गर्न सकिने काम गर्ने धारणा राखेका थिए ।
त्यसैगरी, थरुहट आन्दोलनका उठानकर्ता लक्ष्मण थारुले आफू कोहलपुरमा हुँदा टीकापुरमा घटना घटेको र राज्यले जेल हालेको स्मरण गराउँदै उनले भने “कोही भ्रममा नबस्दा हुन्छ । हामी भाग्नेवाला छैनौं, अधिकारको लागि हामी यहीं लड्छौं, यहीं मर्छौं, यहीं बाच्छौं ।” जेल पर्दा काँग्रेस, एमालेका कतिपय ब्यक्तिहरु आफूहरुलाई हत्यारा भनेकोमा दुःख लागेको बताउँदै उनले त्यतिबेलाका डिएसपी विश्वराज खड्काले नै अखण्ड पक्षधरहरुलाई थारुहरुको घरमा ढुङ्गा हान्न लगाएको बताए । दलीय ह्वीप नमान्ने विचार ब्यक्त गरेका साथीहरुलाई सूचित गर्दै उनले अगाडि भने, साथीहरु विचार गर्नुहोला, असोज ३ गते हामी संबिधानका केही धारा जलाउँदै छौं ।
नाउपाका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले लाल आयोग गठन कसले ग¥यो, किन ग¥यो र किन त्यसको प्रतिबेदन सार्वजनिक गरिएन ? भन्दै राज्यलाई प्रश्न गरे ‘के हामीले पहिचानको मुद्दा उठाउनु गलत थियो ? अधिकार माग्नु गलत थियो ? हामीले हाम्रो संस्कृति बचाइदेऊ भन्दा हाम्रो गल्ती के ? हामी निर्दोष हुँदाहुँदै पनि जेल कोचिनु थारु भएकै कारण हो ?’ उनले आफ्नो फूलवारी एफएम, रिसोर्टमा आगो लगाइएको सम्झँदै भने, मेरो त्यहाँ भएका सारा सम्पत्ति जलाइयो । तर, सबैभन्दा दुःखको कुरो मेरो त्यहाँ भएको छालाको पुस्तक, लिपि जल्यो । मसँग अरुले सामान लगिरहेका फुटेज छन् । तर, म यही ठाउँमा बस्नु छ, समाज मिलाएर लानु छ, त्यो जिम्मेवारी पनि मेरो हो ।
रेशमले रामजनम चौधरीलाई सभामा गरेको बाचा नबिर्सन अनुरोध गर्दै भने, ‘रामजनम दाजु, अब हुने थारु र थरुहटको लागि हुने आन्दोलनमा हामी छोड्दैनौं । भाग्नुहुन्छ भने घरैबाट खुट्टा समाएर घिसारेरै ल्याउँछौं ।’ उनले टीकापुरमा फेरी प्लेन उड्ने ठोकुवा गर्दै भने, “अब टीकापुर अर्को जिल्ला एक बन्छ, दुई बन्छ, तीन बन्छ ।”
कार्यक्रमको आयोजना थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कैलाली र थारु बिद्यार्थी समाजले गरेको थियो । अधिकारको लागि अब दलहरुको ह्वीपभन्दा माथि उठ्ने बक्ताहरुको एक आवाज थियो । टीकापुर अर्को जिल्ला बन्ने ठोकुवा त भयो, तर थरुहट प्रदेश बन्ने बनाउने ठोकुवा भने कसैले गरेनन् ।