धनगढी । हरेक निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ५ को विशेष चर्चा रहन्छ । यहाँहुने हबिवेट उम्मेदवारहरुबीचको रोचक भिड्न्तले यस निर्वाचन क्षेत्रको राष्ट्रिय राजनीतिमा चर्चा हुन्छ ।
मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकीदै गर्दा यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका हेबीबेट तथा स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।
२०७४ को निर्वाचनमा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री नारदमुनि राना यसपटक पनि चुनावी मैदानमा छन् ।
रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । जुनकारण पनि यस निर्वाचन क्षेत्रको चर्चा रहयो । यहाँ अब मुख्य प्रतिश्पर्धा पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त र उनै रानाबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ ।
पन्त २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । आरजुको ठाउँमा कांग्रेसले पन्तलाई मैदानमा उतारेको हो ।
पन्त र रानाबीचको प्रतिश्पर्धाले मात्रै होइन, यहाँ प्रतिश्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली देखिएका छन् ।
कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझा र नागरिक उन्मुक्तिको समर्थन रहेको जगदीश चौधरी पनि चुनावी मैदानमा छन् ।
२०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली निर्वाचन क्षेत्र नं. ६ छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका थिए । तर २०७४ को निर्वाचनमा टिकट नपाएपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले ओझालाई कारवाही गरेपछि उनी हाल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मत आँकलन
यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । जहाँ एक लाख पाँच हजार ७९३ जना मतदाता छन् ।
स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
२०७४ को निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।
को हुन् डिल्लीराज पन्त ?
नेपाली कांग्रेसका नेता समेत रहेका बुवा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्त कैलालीमा जन्मिएका हुन् ।
बुवा चेतराजको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘मेरो बुवा २००६ सालमा मातृका प्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभएको थियो । २००७ सालको क्रान्तिमा मेरो बुवाले कैलाली, बेलौरी र ब्राह्मदेवको क्रान्तिसँगसँगै डोटीको पनि नेतृत्व लिनुभयो । राणा शासन ढल्यो । २०४६ सालको आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आम सभा भयो । त्यसको सभापतित्व मेरो बुवाले गुर्नभएको थियो ।
कांग्रेसकै विद्रोही माहोलमै हुर्किएका पन्तको विद्यार्थी राजनीतिक जीवन भने २०२९ देखि सुरु भएको हो । उनमा सानैदेखि राणा शासन, पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो ।
जब उनी १७ वर्षका थिए । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । तब पञ्चायती शासन विरुद्ध काम गरेको भन्दै ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् ।
उनले भने, ‘निर्वासनमा एक जना हाम्रो नेता हुनुहुन्थ्यो । हामी श्याम बाजे भन्थ्यौ । उनको नाम श्यामप्रसाद खतिवडा थियो । उनी वीरगञ्जको मान्छे थिए । उनी २००७ देखि यतै थिए । हामी इन्दिया जाँदाखेरि उनी इन्दियाको चन्दचौकी, गौरीफन्टा आइरहन्थे । उनी कांग्रेसका प्रचारक थिए । उनैबाट हामीले एउटा कागज पायौं । कागज के थियो भने, ‘शपथ पत्र’ । पञ्चायती व्यवस्थालाई हटाउने नेपाली कांग्रेसको शपथ पत्र थियो । त्यो भरेर हामीले पलियामा रहेका श्याम बाजे कहाँ पुयाउनुपर्ने थियो । तर बाटोमै प्रहरीले थाहा पायो । तीन वटा फोल्डर थियो । एउटा मेरो, एउटा बझाङका धर्मबहादुर सिंह र एउटा सहजपुरका रतनबहादुर शाहको । हामी तीन जनालाई समात्यो । दुई जना फरार भए । २०३१ मा राजकाज मुद्दामा ६ महिना जेल बस्यौ । हामीलाई त्यसबेला अराष्ट्रिय तत्व भन्थे ।’
जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएपछि उनी अध्ययनको क्रमा भारतको देहरादुन गए । त्यहाँबाटै बिएसम्म अध्ययन गरे ।
अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउथे ।
देहरादुनको बसाइ सुनाउँदै उनले भने, ‘त्यहा मेरो शेरबहादुर देउवासँग भेट भयो । उहाँकै परामर्शले हामी नेपाल विद्यार्थी संघ पनि खोल्यौ । त्यहाँ संस्थापक अध्यक्ष भए । देहरादुनबाट फर्केपछि कैलालीमा पनि नेपाल विद्यार्थी संघको ऐठक (प्रारिम्भक) कमिटी खोले । यहाँ विद्यार्थी आन्दोलनको नेतृत्व लिए । निर्दलीय व्यवस्थाको विरुद्धमा । २०४६ सालमा भूमिगत बस्यौ । आन्दोलन सफल भयो । चैत २६ गते राजाले बहुदल घोषणा गर्यो ।’
‘कांग्रेसभित्रै पीडित व्यक्ति हुँ’
पन्तले कांग्रेसको राजनीतिक जीवनमा क्रियाशिल भए पनि हालसम्म मुख्य जिम्मेवारीबाट वञ्चित हुदै आएको सुनाउँछन् । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको लागि अप्लाइ गर्दै अहिलेको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको उनी बताउँछन् ।
‘जतिखेर कांग्रेस विभाजन भयो । म संस्थापन पक्षबाट कैलाली जिल्ला समिति सदस्य भए । मैले पद लिएको त्यही हो । त्यो बाहेक २०७४ सम्म पार्टीको कुनै जिम्मेवारीको पद छैन । न मलाई कसैले कुनै पद दियो । न मैले मागे’, उनले भने, ‘२०७४ को निर्वाचनमा प्रदेशका कुरा आयो । संघीयताका कुरा आए । पार्टीले अहिलेसम्म त हेरेन । प्रदेशमा यहाँ २÷२ वटा सिट छ, एउटा सिट पाउँछु कि ? भनेर अप्लाइ गरेको हुँ मैले । शौभाग्यले पाइयो । जनताले माया दिए । चुनाव जिताए । ५ वर्षमा मैले गरेको काम देखेर, मेरो व्यवहार देखेर र आरजु भाउजुको स्वास्थ्यको अवस्थाले नदिएपछि मलाई यो पालि पार्टीले संघको जिम्मेवारी दिइएको हो । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार छु ।’
मल करखाना खोल्ने योजना
पन्तले आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खण्दानी काँग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि आफ्नो मार्ग स्पष्ट रहेको उनको भनाइ छ ।
उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भए । प्लस टु बनाए । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बनाउन सपिङ कमप्लेक्स बनाए । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भए । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष मोहनबहादुर शाह हुँदा कार्यकारी सदस्य भए । कैलाली जनपुस्ताकालयको सचिव भएर काम गरे । ह्दय रोग प्रतिष्ठान कैलालीको अध्यक्ष भए । यसरीमा जनतामाझ परिचित छु । मेरो व्यक्ति जीवनको अधारमा मेरो जित्ने आधार छ । कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि मेरो जित्ने आधार छ ।’
आफ्नो निर्वाचन क्षेत्र अन्तरगत धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको २ वडा परे पनि यहाँको अवस्था जर्जर रहेको बताए । बाटो घाटो, पुल पुलेसो, नदी कटानको अवस्था विकराल रहेको बताउँदै उनले आफू जितेको अवस्थामा ती समस्यालाई मध्यनगर गरेर काम गर्ने बताए ।
त्यस्तै उनले गेटा विमान स्थलको अवस्था सुधार गरी अन्तर्राष्ट्रिय नभए प्रादेशिक स्तरको बनाउने सुनाए । गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने पनि आफ्नो प्रमुख एजेण्डा रहने उनको भनाइ छ ।
प्रकाशित:
१३६८ दिन अगाडि
|
१६ कात्तिक २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९