आज तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

आज तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

१२८१ दिन अगाडि

|

४ चैत २०७९

राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

१२८१ दिन अगाडि

|

४ चैत २०७९

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।    उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।  उनले शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए ।  नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे ।  

राना थारू समुदायः दाउरा र उखु विवाहको बाधक

राना थारू समुदायः दाउरा र उखु विवाहको बाधक

१२८२ दिन अगाडि

|

३ चैत २०७९

अविनाश चौधरी धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ७० वर्षीय सालिकराम रानाको विवाह बुवाले मगनी गरिदिएकी सिट्ठादेवी रानासँग भएको थियो। भारतको मसानखामकी सिट्ठादेवीलाई लिन जन्ती लिएर जाँदा अर्को देश पुगेको अनुभूति सालिकरामलाई भएकै थिएन।  उहाँले भन्नुभयो, “आवतजावत निर्बाध थियो। फरक देशमा पुगेको छुजस्तै लागेन। त्यसैले विवाह सम्बन्ध एकअर्को गाउँबीच भएजस्तो लाग्ने गर्दथ्यो।” घुइयाघाटकै रामकिसन रानाको विवाह पनि भारतस्थित सरियापाराकी रामप्यारी रानासँग भएको हो। सानैमा मगनी भए पनि विवाह २०४१ सालमा भएको थियो। रामकिसनले भन्नुभयो, “त्यतिबेला यता वनजङ्गल पनि थियो। नदीनालामा माछा प्रशस्तै पाइन्थ्यो। वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुलही बनेर आउन सजिलै तयार भइन्।”  तीन दशकअघिसम्म नेपालका रानाथारू र भारतका रानाथारू समुदायबीच विवाह सम्बन्ध ओल्लोपल्लो छिमेकी गाउँका जस्तै थियो। भौगोलिक सीमाले फरकफरक देशका भनेर छुट्याए पनि उनीहरू त्यसको कुनै पनि परवाह नगरेर वैवाहिक सम्बन्धलाई दरिलो बनाएका थिए। उताबाट दुलही ल्याउने र यताबाट छोरीचेली दिने क्रम धूमधामसँग चलेको थियो। प्रत्येक राना गाउँका धेरै घरमा भारतीय चेली बुहारी बनेर आएका छन् तर अहिले दुई देशका रानाथारू समुदायबीच वैवाहिक सम्बन्ध विगतको जस्तो छैन, घटेको छ।  पछिल्लो दुई/अढाई दशकयता पारिबाट दुलही ल्याउने र छोरी दिने कार्य ह्वात्तै घटेको सो समुदायका अगुवा बताउँछन्। घुइयाघाटका भलमन्सा चन्दर रानाका अनुसार अहिले आएर नेपाल र भारतका रानाबीच विवाह लगभग शून्यजस्तै भएको छ। पहिले त प्रायः सबै दुलही उतैबाट ल्याउने र छोरी पनि उतै दिने चलन थियो। अहिले त्यस्तो छैन।  भलमन्सा रानाका अनुसार खाना पकाउन नेपालमा दाउरा नपाउने गरेका कारण भारतका युवती अचेल यता विवाह गर्न मान्दैनन्। त्यस्तै भारतमा विवाह गरेपछि उखु धेरै काट्नुपर्ने डरले यताका युवती उता विवाह गर्न मान्दैनन्। भारतमा उखु खेती बढी हुने गर्दछ।  त्यहाँ दुधुवा नेसनल पार्क रहेका कारण काठ, दाउरा सजिलै प्राप्त हुने गर्दछ। नेपालमा भने राना समुदायको बसोबास रहेको धेरै ठाउँमा जङ्गल छैन। कतिपय स्थान सहरीकरणमा परिणत भइसकेको छ। पहिले यहाँ दाउरा पाइए पनि अहिले सहर/बजार बनेकाले खाना पकाउने दाउरा पाउन मुस्किल रहेको रामप्यारीको भनाइ छ। उहाँले भन्नुभयो, “ग्यास पनि महँगो भइसक्यो। हामी आउँदा दाउरा थियो, अहिले दाउरा नपाइने गरेकाले भारतका केटी यहाँ विवाह गर्न मान्दैनन्।” स्थानीयका अनुसार भारतको वनकटी, सरियापारा, भुरा, सुँडा, छेदिया अग्लापट्टि, छेदिया पिछ्लापट्टि, पिपरौला, बजाही, ढकिया, बिरिया, नझोटा, मसानखाम, जेनङ्ग्रा, चन्दनचौकी, ढुस्कियालगायतका भारतीय गाउँसँग नेपालीको ‘रोटीबेटी’ सम्बन्ध छ। यी सबै भारतको सीमावर्ती गाउँ हुन्। यीलगायत विभिन्न गाउँबाट कैलाली, कञ्चनपुरका रानाथारूले विगतमा विवाह सम्बन्ध गाँस्दै आएका थिए।  तर, अहिले शिक्षा र कानुनले पनि नेपाल र भारतका रानाथारूबीच विवाह सम्बन्धमा फरक पारेको धनगढी उपमहानगरपालिका–१०, जुगेडाका भलमन्सा भिख्खु रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले दुवै देशको कानुन परिवर्तन भएको छ। उताबाट भित्र्याएका महिलालाई यहाँ नागरिकता प्राप्त गर्न त्यति समस्या छैन तर हाम्रोतिरबाट गएकालाई भारतमा धेरै समस्या छ।” यहाँबाट विवाह गरेर भारत गएकालाई भारतीय नागरिक बन्न समस्या रहेकाले यहाँका युवती अचेल भारतमा विवाह गर्न नमान्ने गरेको रानाको भनाइ छ। उहाँले भन्नुभयो, “पहिले जेजस्तो भए पनि चेलीबेटी लेनदेन खुबै चल्यो, अहिले फाटफुटबाहेक छैन।” ७५ वर्षीय भलमन्सा भिख्खुले आफैँ पनि भारतको बलेरा गाउँबाट विवाह गर्नुभएको थियो तर उहाँकी श्रीमतीको २०/२५ वर्षअगाडि नै निधन भइसकेको छ। अहिले रानाथारू समुदायमा साक्षरता प्रतिशत बढ्दै गएको छ। यो समुदायका शिक्षित युवा आधुनिक जमानानुसार चल्न थालेका छन्। पछिल्ला पुस्ता शिक्षित बन्दै अन्तरजातीय विवाहसमेत गर्न थालेकाले भारतबाट बेहुली ल्याउने वा छोरी भारतमा दिने क्रम घटेको युवा रञ्जित रानाले बताउनुभयो।  “अहिले हाम्रो समुदायका युवा कुनै भेदभाव नमानीकन यतै अन्तरजातीय विवाह गर्न थालेका छन्,” उहाँले भन्नुभयो। विगतमा राना समुदायका महिला पुरुषले आफ्नै समुदायभित्र मात्रै विवाह सम्बन्ध गाँस्नुपर्ने परम्परा थियो। नेपाल रानाथारू समाजका अनुसार कैलाली, कञ्चनपुरमा गरेर नेपालमा रानाथारूको जनसङ्ख्या तीन लाखभन्दा बढी छ। यो समुदायका युवाले अहिले गाउँमै, अर्को गाउँ वा अर्को जिल्लामा विवाह गर्ने क्रम बढेको छ।    

कडा लक्षणको मौसमी ‘फ्लु’

कडा लक्षणको मौसमी ‘फ्लु’

१२८३ दिन अगाडि

|

२ चैत २०७९

काठमाडौँ — जोरपाटीकी २६ वर्षीया सुजाता राईलाई २ साताअघि ज्वरो आउने, घाँटी खसखस हुने, खोकी लाग्ने भयो । उनले घरमै बाफ लिने अनि झोल खानेकुरामा जोड दिइन् । १ हप्तामै ठिक भएकी पुनः सोही लक्षण देखिन थालेका छन् । जसमा खोकी झन् बढेको छ । राई भन्छिन्‚ ‘१ हप्तामा निको भएको थियो तर खोकी बढेको छ । यस्तो कडा खालको रुघाखोकी अनुभव गरेको थिइनँ ।लक्षण आउने जाने भइराखेको छ ।’ कोटेश्वरका ३२ वर्षीय राम आचार्यको स-परिवारलाई एक साताअघि फ्लुले सतायो । परिवारका ५ जना सदस्यलाई फरक-फरक खालको लक्षण देखिएको आचार्यले बताए ।‘योपालिको फ्लु कडा देखिएको छ ।निको हुन समय लागिरहेको छ,’ उनले भने । गत साता त्रिवि शिक्षण अस्पतालमा एक ३८ वर्षीय पुरुष सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भए । ४ दिनअघि ज्वरो आउने, रुघाखोकी लाग्ने भएका उनलाई अक्सिजन लेभल घटेपछि अस्पताल ल्याइएको थियो ।जाँच गर्दा निमोनिया भएको पाइयो । अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम भन्छन्‚ ‘फ्लुले कडा लक्षण गरेको बिरामी देखिरहेका छन् । ती पुरुषमा अरु समस्या नदेखिए पनि धेरै मद्यपान गर्ने देखियो । फ्लुका लक्षणलाई हेल्चक्र्याइँ गर्नुहुँदैन ।’ उनले मौसम परिवर्तनसँगै देखिएको फ्लुको बिरामीहरु बढ्न थालेको बताउँदै मौसम धुम्म भएसँगै वातावरणीय प्रदूषण पनि बढेकाले फ्लुका बिरामी बढ्दै जान सक्ने बताए । मौसम परिवर्तन भएसँगै फ्लु (इन्फ्लुएन्जा) का बिरामी देखिन थालेका छन् । धेरैले यो मौसमी रुघाखोकीको लक्षण कडा देखिएको बताएका छन् । खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, शरीर दुख्नेलगायत विभिन्न लक्षण फ्लुका हुन सक्छन् । फ्लुले सताएको बेला ज्येष्ठ नागरिक तथा बालबालिकामा वान्ता हुने तथा झाडापखाला हुने हुनसक्छ । यसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फाेक्सोको संक्रमण) सँगै अन्य संक्रमणको खतरासमेत हुने सम्भावना रहन्छ । चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैं हराएर जाने हुन्छ ।केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । तर‚ अहिले यो लक्षण कडा देखिन थालेको छ अर्थात् लक्षण नै लम्बिएको देखिएको पाइएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या सुनाइरहेको बताए । उनले ३-४ वर्षअघि पनि यस्तै खालका कडा तथा लामो समयसम्म फ्लुका लक्षण देखिएको भन्दै पुनः दोहोरिएको बताए । उनले भने‚ ‘हप्ता वा १० दिनसम्म सामान्तया फ्लु निको हुन्छ तर अहिले थप केही हप्तासम्म लम्बिएको देखिन्छ । कसैलाई १ महिनासम्म पनि दुःख दिइरहेको भेटिएको छ ।’ उनका अनुसार धेरैमा ‘पोस्ट भाइरल कफ’ देखिएको अनुमान लगाउन सकिन्छ । यो भाइरल कफ इन्फ्लुएन्जा देखिसकेपछि हप्तौँसम्म लम्बिने खोकीलाई भनिएको हो । डा. पुनले धेरै लामो समयसम्म खोकी देखिरहेमा चिकित्सकको सल्लाह लिनुपर्ने सुझाउँछन् । भन्छन्‚ ‘कडा लक्षण नै देखिए पनि धेरै जना रुघाखोकीको बिरामी अस्पतालसम्म आइपुग्दैनन् । सम्भवतः क्लिनिकमा जान्छन् । कहिलेकाहीँ लामो समयसम्म खोकी लागिराखेमा सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुन सक्ने हुन्छ ।’ उनले रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्ति, ज्येष्ठ नागरिक दीर्घरोगीलगायतलाई फ्लुले बढी जोखिम पुर्‍याउन सक्ने भन्दै चिकित्सकसँग परामर्श गरिरहनुपर्ने जनाए ।त्यसमा पनि छातीको समस्या भएका व्यक्ति चिकित्सकको निरन्तर सम्पर्कमा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘मौसम परिवर्तन र वायु प्रदूषणको पनि हात होला । कोभिडपछि रोगप्रतिरोधी क्षमता कमजोर भएको पनि हुन सक्छ । लक्षण किन लम्बिएको भन्ने अध्ययन हुनुपर्ने देखिन्छ,’ उनले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन्‚ जसले महामारी फैलाउन सक्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि मार्चसम्म गरिएको १ हजार ८१० परीक्षणमा इन्फ्लुएन्जा ए (एचवानएनवान) २४ वटा, इन्फ्लुएन्जा ए (एच थ्री) २१४ वटा, एन्फ्लुएन्जा ए पोजिटिभ (उपप्रकार छुट्याउन बाँकी) १४ वटा र ३५ वटा इन्फ्लुएन्जा बीको नमुना पोजिटिभ पाइएका छन् । कडा लक्षण देखिएपछि र चिकित्सकले सुझाएपछि मात्र जाँच गराउने भएकाले प्रयोगशाला परीक्षणको नमुना कम देखिन्छ । छातीरोग विशेषज्ञ डा निरज बमले फ्लूको लक्षण भएका व्यक्तिमा तारन्तर ज्वरो आएमा, खकारमा रगत देखिएमा, छाती घ्यार-घ्यार भएमा, छाती बेस्सरी दुखेमा, साँस फेर्न गाह्रो भएमा, रिंगटा लागेमा, मांसपेशी धेरै दुखेमा अस्पताल जानुपर्ने बताउँछन्‚’ उनी भन्छन्‚ ‘ रिंगटा लागेमा अक्सिजन नाप्नुपर्छ । कोभिडपछि अक्सिमिटर प्राय सबैसँग नै छ । अक्सिन ९२ भन्दा कम भएमा त्यस्ता बिरामी अस्पताल आउनुपर्छ ।’ उनले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी, दमका बिरामी फ्लु लागेमा सचेत रहन आग्रह गरे । नेपालमा बर्सेनि कतिलाई फ्लु देखिन्छ भन्नेमा आधिकारिक तथ्यांक उपलब्ध छैन ।डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख केस पहिचान हुने गरेका छन् । तीमध्ये २ लाख ९० हजारदेखि ६ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासका समस्या बढेर मृत्यु हुने तथ्यांकले देखाउँछन् । विशेषज्ञहरू फ्लुको जटिल खालका जोखिमबाट बच्न सबै उमेर समूहलाई इन्फ्लुएन्जाको वार्षिक खोप लगाउन सुझाव दिन्छन् । शतप्रतिशत खोपले सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन खोपले सहयोग गर्छ ।

लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरू आन्दोलित

लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरू आन्दोलित

१२८५ दिन अगाडि

|

३० फागुन २०७९

काठमाडौँ — देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न किसानहरूलाई ठगी गरेको भन्दै त्यसविरुद्ध पीडितहरूको संघर्ष समितिले प्रदर्शन गरेको छ । मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ ।   लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालुको अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् । लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनुपर्ने उनीहरूले बताएका छन् । त्यसै गरी विपन्नहरूलाई बिनाब्याज ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् । उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  

पूर्व मेयर द्वारिकालाल चौधरी एमालेमै फर्किए

पूर्व मेयर द्वारिकालाल चौधरी एमालेमै फर्किए

१२८६ दिन अगाडि

|

२९ फागुन २०७९

विराटनगर । इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् । एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए । मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए । निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए । एमाले बनाउने म रजाइँ गर्ने अरू ? प्रश्न गर्दै उनले आफूले बनाएको घर फर्कन कसैलाई सोध्न नपर्ने बताए ।

 रञ्जिता, सीके र महन्थको पार्टीबीच कार्यगत एकताको घोषणा

 रञ्जिता, सीके र महन्थको पार्टीबीच कार्यगत एकताको घोषणा

१२८८ दिन अगाडि

|

२७ फागुन २०७९

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, डा सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ ।  शनिबार तीन दलबीच भएको बैठकबाट सो सहमति भएको लोसपाका नेता मनिष मिश्रले जनाए । जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् । सो समर्थनपछि अगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको छ । तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ– ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।’ सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।  स्मरण रहोस्, यसअघि पनि जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।