सालझन्डीमा बहुरिया के भान्साघर
१२९३ दिन अगाडि
|
२२ फागुन २०७९
बुटवलबाट पश्चिमको यात्रामा हुनुहुन्छ ? करिब २० किमि पर्तिर सालझन्डी बजारमा उत्रिनुभयो भने थारू परिकार पाइने भान्सा भेट्नुहुनेछ– ‘बहुरिया (बुहारी) के भान्साघर ।’
जहाँ पाइन्छन् परम्परागत पहिरनमा थारू महिलाले पकाउँदै, पस्किँदै गरेका घोंघी, ढिक्री, अनदीको खाजा, बगिया, पतुसमी, तिलको लड्डु, चिच्चर, भक्का तथा माछा, हाँस, गंगटालगायतका परिकार ।
यो कुनै व्यापारीले चलाएको भान्साघर भने होइन । समूहमा आबद्ध थारू महिलाले चलाएको खाना, खाजा पाइने परम्परागत भान्साघरको परिष्कृत संस्करण हो । सुरुवातमै राम्रो व्यापार हुन थालेपछि महिलाहरू हौसिएका छन् । घरेलु वातावरणमा ग्राहकलाई थारू परम्परागत खान्की पस्किन थाल्नेमा अगुवा हुन्– रूपन्देहीको सैनामैना–१० झिमपुरकी ५२ वर्षीया शान्ति थारू । घरको काममा सीमित उनलाई यो नयाँ व्यवसायको चटारो थपिएको छ । काममा पालो परेको दिन बिहानै उठ्छिन् ।
तयार भएर निस्केपछि साँझ ७ बजेमात्र उनी घर फर्कन्छिन् । नातिनातिनालाई हेर्ने समयमा आफू व्यवसाय गर्न व्यस्त रहेको उनले बताइन् । ‘परिवारले पठाएरै काम थालियो, अब निरन्तरता दिने हो,’ उनले भनिन्, ‘समूहको अध्यक्ष भएकाले यहाँ पनि सबैले अग्रज मान्छन् । अह्राए, सिकाएको गर्छन् ।’
सैनामैना–१० को झिमपुर, भत्काइका थारू महिलाले सालझन्डी बजारमा सञ्चालनमा ल्याएको बुहारीको भान्साघरले चर्चासँगै सन्तोषजनक व्यापार गरिरहेको छ । स्थानीय थारू बुहारीको समूहले यो काम थालेको हो । समूहमा २० जना सदस्य छन् । उनीहरूको आफ्नै वडाको रुरुपथमा थारू परिकार पाइने भान्साघर चलाएका हुन् । ‘हामी पहिलेदेखि नै समूहमा आबद्ध थियौं, मेला/महोत्सवमा थारू परिकार पकाएर बिक्री गर्ने गर्थ्यौं,’ शान्तिले भनिन्, ‘त्यही समूहका बुहारी महिला नै यसमा पार्टनर बनेर काम गरिरहेका छौं ।’ समूहका १३ जना दैनिक नियमित रूपमा पसलमा आउने, पकाउने, ग्राहकको अर्डरअनुसार परिकार चखाउने गरेको उनले सुनाइन् । ६ लाख रुपैयाँ लगानीमा यो व्यवसाय सुरु गरिएको हो ।
शान्तिका अनुसार समूहका सदस्यहरूले सुरुमा जनहीले साढे ५ हजारका दरले पैसा जम्मा गरेका हुन् । ‘अन्य बजेट नगरपालिका, सेतो गुराँस र यूएनडीपीबाट सहयोग प्राप्त भएको हो,’ उनले भनिन्, ‘हामीले कमाएर आफैंले बाँड्ने गरी व्यवसाय चलाउन पाएका छौं ।’ छोरीबुहारीको हौसलाका लागि अघि सरेर नगरपालिकाले गरेको प्रस्ताव स्विकार्दै थारू भान्साघर चलाउन थालेको उनले बताइन् । महिलाहरू थारू पोसाकमा सजिएर खाना खुवाउँछन् ।
समूहकी सचिव विनिती थारूले घरबाट बाहिर निस्केर काम गर्न आफू सक्षम रहेको आत्मविश्वास भान्साघर थालेदेखि महसुस गरेको सुनाइन् । ‘हामी घरकै काम गरेर बस्ने बानी परेकाहरू छौं, साँझको समयमा भीडभाड हुन्छ,’ उनले भनिन्, ‘हामीले मिलेर काम बाँडेका छौं । आआफ्नो जिम्मेवारीका काम गरिरहेका छौं । भान्सामै गर्ने कामले पनि पैसा हुने यो व्यवसायले हामीलाई राम्रै गरेको छ ।’ समूहमा आबद्ध भएर सबै मिलेर काम गर्दा दुःखसुखका कुरा, एकअर्काका बारेमा समेत धेरै जान्ने–बुझ्ने मौका पाइरहेको उनले बताइन् ।
सचिव भएर समूहमा रहँदा सामूहिक कार्यक्रममा बोल्ने मात्र गरेको र अहिले व्यवसायमा सबैसँग मिलेर पकाउने, भाँडा माझ्ने, सामान खरिद गर्न बजार जाने आदि कामले आफूहरूको सक्रियतासमेत बढाएको अनुभव उनले सुनाइन् ।
२५ वर्षीया ठुलकुमारी चौधरी समूहकी सदस्य हुन् । उनले कक्षा ८ सम्म मात्र पढेकी छन् । पढाइ धेरै नभएकाले कहीँ जागिर पाइँदैन कि भन्ने लागेकी उनले व्यवसाय सञ्चालक बन्न पाउँदा हर्षित भएको सुनाइन् । ‘घरका सदस्यले के काम कस्तो भन्ने बुझेरै बाहिर निस्कन दिएका छन्,’ उनले भनिन्, ‘आफ्नै कमाइ, आफूले खर्च गर्न पाउने भएपछि छुट्टै आनन्द महसुस भएको छ ।’
समूहमा आफू कान्छी बुहारीमध्येकी एक भएकाले सबैको माया र अग्रजले सिकाएअनुसार काम गरिरहेको उनले बताइन् । ‘थारू समुदायको भए पनि म सबै परिकार पकाउन नजानेकी मान्छे, अहिले सिक्न पाइरहेको छु,’ ठुलकुमारीले भनिन् । उनीहरूसँगै काम गर्ने अन्य बुहारीको पनि उस्तै अनुभव छ ।
गत माघ २० देखि सञ्चालनमा आएको भान्साघरमा दिनहुँ ग्राहकको राम्रो उपस्थिति रहने गरेको छ । बिहान ८ देखि साँझ ६ बजेसम्म ग्राहकलाई खाना तथा खाजाका परिकारमार्फत सेवा दिइरहेको उनीहरूले बताए । दैनिक ३ देखि ७ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । ‘अहिलेसम्म १ लाख बढीको कारोबार गरिसक्यौं,’ अध्यक्ष शान्तिले भनिन्, ‘त्यो नाफालाई लगानीमै थपेर काम अघि बढाएका छौं ।’ आगामी महिनादेखि भने नाफा बाँडेर लिने उनले बताइन् ।
थारू संस्कृति संरक्षणका लागि स्थानीय महिलाहरूको उद्यमशीलता विकास गर्ने उद्देश्यले भान्साघर सञ्चालनमा ल्याइएको सैनामैना नगर प्रमुख फणीन्द्र शर्माले बताए । ‘नमुनाका रूपमा थालिएको यो भान्साघरले महिला रोजगारी विकासमा सहयोग पुग्ने विश्वास छ,’ उनले भने, ‘थारू महिलाले जिम्मेवारी लिएर थालेको यो प्रयासले परिकार र संस्कृति संरक्षणका लागि योगदान नै हुने ठानेका छौं ।’ कान्तिपुरबाट