नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

८५७ दिन अगाडि

|

१० असार २०८१

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

८५७ दिन अगाडि

|

१० असार २०८१

                                  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक विमोचन गरिदै । आदिवासी जनजाति उत्थान राष्ट्रिय (आजउरा) प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठकमा आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन भएको छ । असार ९ गते आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक, डा कृष्णराज सर्वहारी, नविन मुखिया कुमाल तथा तिलकबहादुर कुमालको कुमाल जातिको चिनारी, कर्णबहादुर बुढामगर, बलराम अधिकारीको अठार मगरातः मगर, खाम पाङको शब्दकोश तथा गणेश राईको बाम्बुले भाषाको शिर उभौनी पुस्तक विमोचन गरे । सो क्रममा प्रम प्रचण्डले आदिवासी, जनजातिहरुकै अधिकारको लागि सबैभन्दा बढी समय खर्चिएको आफूले तिनको भाषा, संस्कृतिको उत्थानको लागि बजेट कटौटी गर्ने कल्पनासमेत नगरेको बताए । आदिवासी, जनजातिहरुको हक, अधिकारको लागि आवाज उठाउने पार्टीलाई कम भोट आउने गरेकोमा भने उनले दुःखेसो पोखे ।  (आजउरा) प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले प्रतिष्ठानको महत्व बुझी यसलाई खारेजीमा नलग्न प्रमसंग आग्रह गरे । स्मरण रहोस्, (आजउरा) प्रतिष्ठान खारेज हुने कार्यालयको पहिलो नम्बर सूचीमा रहेको छ ।  कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा तथा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सरकारले आयोगको लागि पर्याप्त बजेट नछुट्याएकोमा दुःखेसो पोखे ।  आजउरा प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठक आज असार १० गते पनि जारी छ ।   

थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

८६४ दिन अगाडि

|

३ असार २०८१

बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ ।  जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने,‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको वसोवास भएकोले थारु भाषाको पढाई सामुदायिक र निजी दुवै तहको विद्यालयमा अनिवार्य रुपले लागु गर्न थालिएको हो ।’ थारु भाषाको पठनपाठनले विद्यार्थी वर्गलाई ज्ञान हासिल गर्न अझ सहज हुने उनको भनाई थियो ।  स्मरण रहोस्, बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब नेपाली भाषामा हाल पठनपाठन गरिरहेको छ । अधिकांश विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पनि नेपालीबाट उल्था गरेर थारु भाषामै पढाउनुपर्ने अवस्थाले थारु भाषाकै पुस्तकमा जोड दिइएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले बताए ।  सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो भएको उनले जानकारी दिए । तालिमको समापनमा प्रशिक्षार्थीहरु सुष्मासागर देवकोटा, जगतराम थारु, विष्णु चौधरीले तालिम निकै फलदायी रहेको बताए । तालिममा १९ महिला तथा २२ पुरुष गरी ४१ जनाको सहभागिता रहेको थियो ।  तालिममा राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान नेपालको सहकार्य रहेको थियो । यसैगरी, तालिमका प्रशिक्षकद्वय डा कृष्णराज सर्वहारी र नरेशकुमार चौधरी रहेका थिए ।  स्मरण रहोस्, लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को सार्वजिनिकीकरण जेठ ३१ गते एक कार्यक्रमका बीच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा गोपाल दहित, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उपप्रमुख रत्नकुमारी पाण्डे, प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखक डा कृष्णराज सर्वहारीलायतले पाठ्यक्रम सार्वजनिक गरेका थिए । 

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

८७१ दिन अगाडि

|

२८ जेठ २०८१

कैलाली जिल्ला कैलारी गाउँपालिका वडा न: ३ का वडाध्यक्ष सन्तराम चौधरीले केन्द्रीय सरकारले आफूहरुलाई हातखुट्टा बाँधेर जेठको रापिलो तातो बालुवामा सुताउने गरेको पीडा सुनाए । उनले उक्त कुरा लाहुर्निप र थाकस कैलारीको आयोजनामा जेठ २५ गते कैलारी गाउँपालिकामा सम्पन्न भलमन्सा ऐन, कार्यविधि मस्यौदा र योजना सम्बन्धि अन्तक्र्रियामा सुनाएका हुन् ।  भलमन्साहरुले पोखेको दुखेसोको जवाफ दिने क्रममा उनले आफू पहिले २ बर्ष कैलारी ३ भर्री गाउँको (१ गाउँको) मात्रै भलमन्सा रहेको, अहिले वडाध्यक्षको रुपमा ११ गाउँको भलमन्सा रहेको बताए । १ गाउँको भलमन्सा हुँदा आफू पनि यहाँहरुले भनेजस्तै कुरा राख्ने गरेको, तर पालिकामा पुग्दा त्यो भन्दा फरक स्थिति पाएको जानकारी गराए । वडाको बजेट लाखमा हुने, तर एउटै भलमन्साले करोडको योजना माग गर्दा त्यसको सुनुवाई भनेजस्तो हुन नसकेको बताए । उनले भने सबैले भन्छन्, केन्द्र प्रदेश ढलेपनि स्थानिय सरकार ढल्दैन, तपाईहरु जनताको असली सरकार हो । हो हामी भुईमान्छेको खास सरकार त हो, तर हाम्रो हातखुट्टा बाँधिदिने र जेठको रापिलो र तातो बालुवामा सुताउने काम त केन्द्रले गरिदिने रहेछ, यो कुरा कसले बुझिदिने ? शुरुमा केन्द्रले स्थानिय सरकारलाई बजेट पठाउँछ, हामी त्यही अनुसार योजना बनाउँछौं, तीन चार महिना मात्रै बाँकी रहँदा ५५ प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्न नसकिने पत्र आउँछ, करिब आधा बजेट नआउँदा स्थानिय सरकारको हालत के होला ? यस्तो बेलामा गाली खानुको अर्को बिकल्प छ ? उनले भलमन्साहरुसँगै दुखेसो पोखे । म यहाँहरुको पीरमर्का बुझ्दछु, भलमन्सा चलाएरै आएको ब्यक्ति हुँ, तर गर्ने के ?   कार्यक्रममा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार जोहारी लाल चौधरी, लाहुर्निपका संस्थापक केन्द्रीय सदस्य सर्जुप्रसाद चौधरी, थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी र अन्य ३ जना सहजकर्ताहरुले भलमन्साहरुलाई उनीहरुको भलमन्सा प्रणाली, प्रणालीको महत्व, भलमन्सा ऐन, प्रस्तावित कार्यविधिमा रहेको खास खास ब्यबस्था, भलमन्साहरुले गर्न सक्ने काम, उनीहरुको गाउँ टोल र पालिकासँगको सम्बन्ध, खेल्न सक्ने भूमिकाबारे सहजीकरण गरेका थिए । भलमन्साहरुले आफूहरुले गाउँ, टोलको विश्वास जिती भलमन्सा बनेको, तर पालिकामा योजना फर्म भरी पठाउँदा आफूहरुको योजनाको बेवास्ता हुने गरेको गुनासो राखेका थिए । वडा न: ४ का भलमन्साहरुका संयोजक जगलाल चौधरीले पालिका टोल बस्तीमा आउँदा आफूहरुको योजना पालिकाले छनौट गर्ने कुरा उठ्छ, पालिकामा जाँदा त्यो त वडाले गर्ने कुरा हो भन्छ, बर्षेनी यही भैरहेको छ, हाम्रो कुराको सुनुवाई हुँदैन भन्ने कुरा राखेका थिए । उनीहरु पालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा वडा न. २,३,४ का ५ महिला २३ पुरुष गरी २८ भलमन्साहरुको उपस्थिति रहेको थियो ।     

थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको विमोचन 

थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको विमोचन 

८८६ दिन अगाडि

|

१२ जेठ २०८१

२०३० सालमा नै रामानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा संकलित थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको जेठ १२ गते विमोचन भएको छ । बौद्ध जागरण सिंह बिहारको आयोजनामा ललितपुर, कुपण्डोलस्थित नाइटिङेल बोर्डिङ स्कुलमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभासद तेजुलाल चौधरीले थारु भाषा हराउँदै गएकाले यस्ता शब्दकोशको प्रकाशन महत्वपूर्ण भएको बताए ।  प्राडा बलराम प्रसाईंले शब्दकोशको अंग्रेजी अर्थमा सहयोग गरेका हुन् । कार्यक्रममा डा केशवमान शाक्य, कपिलबस्तुका पूर्व जिविस सभापति कृष्णबहादुर चौधरी, हरिप्रसाद चौधरी, महेश चौधरी लगायतले पुस्तक तथा यसका संकलकद्वयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम रामलगन चौधरीको अध्यक्षतामा भएको थियो ।

जडिबुटी ज्ञान निःशुल्क बाँड्दै रामदिन महतो

जडिबुटी ज्ञान निःशुल्क बाँड्दै रामदिन महतो

८८७ दिन अगाडि

|

११ जेठ २०८१

कारी महतो चितवन, रत्ननगर नगरपालिका–८, बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरुको औषधीय गुणबारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दै हुनुहुन्छ ।  नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४ गतेसम्म आयोजना गरिएको थारु गुरौको विधि तथा जडिबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँ अहिले प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ । उहाँ पेशाले नेचर गाइड भएतापनि हाल जडीबुटी ज्ञानतर्फ आकर्षित हुनुहुन्छ ।  चालिस वर्ष अघि एकदिन वहाँ बिरामी भई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधी खाँदा पनि निको भएन । अन्तमा थारु गुरौको विधि र जडीबुटीबाट ठीक भएको र त्यसैबाट प्रभावित भई थारु गुरौहरुले प्रयोग गर्ने जडीबुटीहरु पहिचान गर्ने र प्रयोग विधि सिक्ने सोंच बनाएको बताउनुहुन्छ । उहाँ नेचर गाइडको रुपमा टाइगर टप्समा काम गर्ने क्रममा बर्दियासम्म पुग्नु भयो । त्यहीबाट उहाँले जडीबुटीहरुको नामहरु संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन सुरु गरेको बताउनु हुन्छ । अहिले उहाँले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपि तयार गर्नुभएको छ ।  उहाँले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरुको व्यवहारिक अनुभवहरुलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरु अहिले यो संसारबाट विदा लिई सकेका छन् । उहाँका अनुसार ती व्यक्तिहरु थारु गुरौ मात्र नभई अन्य आदिवासी जनजाति, बाहुनक्षेत्री, दलित, मधेसी थिए ।  उहाँको अनुभवमा जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो छैन, जस्तै कुनै कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव छ उहाँसंग । जानेको व्यक्तिले सहजै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउनु हुन्छ ।  एकपटक त एउटै जडिबुटीबारे सिक्न एकजनालाई पाँच हजार नगद दिएर सिके तर थारु गुरौहरुले भने निःशुल्क सिकाएको बताउनुहुन्छ । उहाँलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व.परमेश्वर महतो, बस्यौलीका स्व.नवलकिशोर चौधरी, बाघमाराका स्व.सुन्दर भगत (फौदार), सिसुवारका स्व.अजित महतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व.श्रीराम महतो, माडीका स्व.ठागाराम महतो, माडीका किसुन महतो आदि कैयौं गुरौहरुलाई उहाँ स्मरण गर्नुहुन्छ । अहिले कसैलाई कुनै रोग वा समस्या भएमा विनाशुल्क लिई परामर्श दिनुहुन्छ । कुन रोगको लागि कुन कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ लगायत सम्पूर्ण जानकारी निःशुल्क दिनुहुन्छ ।  रामदिन आफूले पहिचान गरेका जडिबुटीहरुलाई अहिलेसम्म व्यावसायिकता दिनु भएको छैन । उहाँका अनुसार धेरैजसो जडीबुटी चितवनको कसराको जंगल र गाउँघरमै पाइने भएतापनि कुनैकुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ ।  विश्वका कतिपय मुलुकहरुले धेरैजसो जडिबुटीहरुको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउनुहुन्छ ।  प्रशिक्षण कार्यक्रम थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ गरिएको हो । जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरीलगायत प्रशिक्षक रहेका छन् । थाकस चितवनका सचिव सन्तकुमार चौधरीले सहजीकरण गरेको कार्यक्रम थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारायण महतोले संयोजन तथा व्यवस्थापन गर्नुभएको हो ।  

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

८८८ दिन अगाडि

|

१० जेठ २०८१

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् । गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलो भइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ । कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए । गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ । गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’ जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ । कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता रहेको बताए । भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न । टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’ थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो । योजना तर्जुमा नअटाएको ती विकास राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ । कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ । अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।