Above News Title

थारू मौलिक संगीतको झंकार

बन्दुक ताकेझैँ, पंक्षी उड्दै गरेको शैली अनि परेवा जोडीले माया गरेझैँ नाचिने ताल पनि छ सख्यामा ।
थारू मौलिक संगीतको झंकार

एआइबाट बनाइएको ‘मान लेनु साथी टुहिन’ बोलको थारू भाषाको गीत यसै साता युट्युबमा अपलोड भयो । महेश कुचिलाको शब्द, संगीतमा रहेको गीतको उत्कृष्ट भिडियोले पनि यो सर्वत्र चर्चामा छ । यसको देखासिकीमा थारू स्रष्टाहरूले आफ्ना गीत धमाधम एआइबाट गाउन लगाइरहेका छन्, भिडियो विना पनि युट्युबमा अपलोड गरिरहेका छन् । त्यसो त एआइले थारू शब्द सही उच्चारण नगरेको बहसको अर्को पाटो पनि सुरु भएको छ । एआइको सहायताले बनाइएका थारू गीतले जेनजी पुस्तालाई अवश्य आकर्षित गरेको छ । तर, खासमा यसले थारू मौलिक संगीतको झंकार बोकेको रैथाने संगीत थप ओझेलमा पर्दै गरेको अवस्था छ । यस आलेखमा थारू रैथाने संगीतबारे चर्चा गरिएको छ । 

थारू रैथाने लोकनाच भनेर मित्र नविन विभासले चितवन, नवलपरासी क्षेत्रको लट्ठी नाच आफ्नो युट्यूबमा हालेका छन् । सौराहा जाने र त्यहाँको होटलमा एक रात बिताउने जो कोही पर्यटक ढोलकको तालमा लट्ठी फन्नाउँदै नर्तक, नर्तकीहरू बडो जोशका साथ नाचेको अवश्य हेर्नु भएको होला । अध्येता सुशील चौधरीका अनुसार लट्ठी नाच विशेष युद्धकलासँग सम्बन्धित रहेको छ । जंगली जनावर धपाउने र दुश्मनलाई परास्त गर्न अभ्यास गर्दै जाँदा यो नृत्यको विकास भएको मानिन्छ । 

नाच्ने ताल फरक छ । यद्यपि थरुहटको सबैजसो क्षेत्रमा लट्ठी नाच चलनमा छ । दाङदेउखुरी भन्दा पश्चिम थरुहटमा ढोलक होइन, मादलको तालमा लट्ठी नाच नाचिन्छ । डफ गीतमा डफ बाजाबाहेक अन्य सबै नृत्यमा मादलको प्रयोग हुन्छ । नृत्यको शैलीअनुसार मन्जिरा, झाल, कस्टार, बसियालगायत बाजाको प्रयोग हुन्छ । बिरह गीतमा कुमालेले बनाएको ढुकुर आकारको पिलरु बाजा बजाइन्थ्यो, जुन अब देख्न पाइदैन । 

पश्चिमा थारू समुदायमा झुमरा, लट्ठी, मुङग्रह्वा, हुर्डुङ्ग्वा, झर्रा, मघौटा, बर्का, छोक्रा, कठ्घोरी लगायत नृत्य रहेको छ । त्यसैगरी दशैँँमा नयाँ गुरुवा (धामी) बन्न नाचिने अखरिया तान्त्रिक नृत्य हो । यसलाई शिवको रौद्र रूपमा नाचिएको ताण्डव नृत्यसँग तुलना गर्न सकिन्छ । ‘झ्वाङ झ्वाङ नक’ मादलको तालमा गुरुवा बन्न चाहनेहरू नाच्छन् । यो सँगै मुख्य गुरुवाले पचरा मन्त्र वाचन गर्दछन् । २०६२ सालमा यो पंक्तिकार नेपालगञ्ज मिडिया सेन्टरमा थारू भाषाको रेडियो कार्यक्रम ‘हमार सहिडान’ कार्यक्रमको उत्पादक थियो । संकलन गरेर ल्याइएको पचरा मन्त्र स्टुडियोमा सम्पादन भइरहेको बेला ‘हमार सहिडान’ कार्यक्रमको नाटक टोलीका सदस्य सोमलाल चौधरीलाई गुरुवा चढ्न पुगेको थियो । मन्त्र बन्द गरेपछि मात्रै उनी बिस्तारै काम्न छोडेका थिए । यसले थारू रैथाने गीत, संगीतको शक्ति सावित गर्दछ । 

हुर्डङ्वा नृत्य फूलवार लोककाव्य गायन गरी नाचिने प्रसिद्ध नाच हो । बर्कीमार अर्थात्् थारू महाभारतको बर्का नाच थारू समुदायको शास्त्रीय नृत्य हो । बर्का नाच, लट्ठहवा, मुंग्रह्वा, सखिया नाच बर्का पैयाँ खोट (ताल) मा नाच्ने चलन रहेको छ । सखिया नाच थारूहरूको भागवत पुराणमा आधारित नृत्य हो । कठघोरी नाचमा बाँसले घोडाको आकार बनाई त्यसलाई थारू नर्तकहरूले आफ्नो काँधमा भिरेर मादलको तालमा नाच्छन् । हातमा काठको मुङग्रा लिइ नाच्ने नाचलाई मुङग्रहवा भनिन्छ । झर्रा नाचमा नाच्नेहरू हातमा बाँसको मसिना सिन्काबाट बनाइएको दुवै हातमा एक एक मुठा झर्रा लिई नाच्छन्, जसलाई आपसमा हिर्काउँदा झर्राउने स्वर आउँदछ । यसै स्वरको आधारमा झर्रा नाच भनिएको हो । थारूहरूको नयाँ वर्ष माघ (माघी) को अवसरमा नाचिने नाचलाई मघौटा नाच भनिन्छ । मघौटा नाच नाचेवापत घरमुलीले दीपावलीमाझैं ढक्कीमा चामल, खानेकुरा र दक्षिणाको रूपमा नगद दिन्छन् । 

झुमरा, छोकरालगायत नृत्य बाह्रैमास नाचिन्छ । हाल मागअनुसार विभिन्न कार्यक्रममा प्रदर्शनीका लागि लगिने भएकाले अन्य नृत्य पनि बाह्रैमास नाच्न थालिएको छ । झुमरा नाचमा एकजना मादले, एक वा दुर्ईजना नाच्ने महिला हुन्छन् । कहिलेकाही मनोरञ्जनका लागि सोंगिया (जोकर) पात्र पनि हुन्छन् । छोक्रा/छोकरा भनेको एक अर्थमा केटा हो । पुरुष नर्तकहरूले महिलाको पोशाक लहँगा, चोलो, अघरान, चुरा, टिकुली आदि गहना आदि लगाएर विशेष प्रकारको तालमा नाच्ने एक लोक नृत्यलाई छोकरा भनिन्छ । त्यसो त झुमरा नाचमा पनि पहिले पहिले पुरुष नै महिलाको पोशाक लगाएर नाच्ने गर्दथे । झुमरालाई स्थान विशेषअनुसार झुमरी, झुमर, धुमर, धुमरा नाच पनि भनिन्छ ।

थारू समुदायमा ऐतिहासिक महत्व राख्ने बर्का नाचमा महाभारतको कथावस्तुलाई समेटेर नाचिन्छ । सबैजना पुरुषमात्र रहने यस नाच टोलीमा सयभन्दा बढी वा सो हाराहारीमा नाच्नेहरू हुन सक्छन् । त्यसैले यसलाई बर्का अर्थात् ठूलो नाच भनिन्छ । दशैँँको अवसरमा नाचिने यो नाचको लागि आर्थिक भार बढी, तन्त्र मन्त्रको प्रष्ट ज्ञान, धेरै सदस्य र प्रतिबद्धताको जरुरत पर्दछ । यो नाच गर्नुभन्दा पहिले गुरुवा (धामी) हरूले विभिन्न थरिका पूजा र बलीहरू चढाउँछन् । बर्का नाचलाई दाङ, जलौराका चन्द्रप्रसाद चौधरीको टोलीले मात्रै जोगाएको छ ।

लट्ठी, बर्का, लट्ठहवा, मुंग्रह्वालगायत नाचमा मादले र नाच्नेहरू जिउमा रंगीविरंगी कमिज, पिठ्युँमा मयुरको प्वाँख, दुवै काखीमा रातो सप्को, टाउकोमा फुन्ना लगाइएको टोपी वा सेतो वा रंगीन पगरी, नाडीमा फुन्ना लगाइएको कन्ठी, घाँटीमा फुन्ना लगाइएको गर्‍याला, कम्मरमा छोटोखाले धोती, खुट्टामा चप्पल या जुत्ता, कम्मरमा ठूलो खाले पेटीमा उनको घुँघरु र थरीथरीका गहना लगाएका हुन्छन् । मादलेहरूले पनि कम्मरमा विशेष श्रृङ्गार गरेर मादल भिरेका हुन्छन् । यसले थारू  समुदायको परम्परागत पोशाकको पनि प्रतिनिधित्व गर्छ । 

मादलको २२ ताल 
‘थारू संस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन’ (२०७६) शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा यो पंक्तिकारलाई थारू गीत, संगीतबारे पनि विशद् अध्ययन गर्ने मौका जुरेको थियो । दशैंमा नाचिने सखिया नाचमा २२ खोट (ताल) मादल बजाइन्छ । मेरो क्षेत्रकार्य रहेको दाङको घोराही उपमहानगरपालिकाको राजपुर गाउँका कालीप्रसाद चौधरीले मादलको तालको दस्तावेजीकरण गर्ने क्रममा १४ खोट मादलको ताल मात्र बजाउन सकेका थिए । उता गाउँमा सामूहिक नाचको क्रममा ७ खोट मात्रै मादलको ताल बजाइएको पाइएको थियो । 

झोङ्नक–झोङ्नक, टोङ घडोनक् टोङ, झोङ्नक घिल्डोक नक मादलको ताल सुन्ने बित्तिकै थारू  सखिया नाच भन्ने स्वतः बुझिन्छ । सखिया नाचको पुरै २२ खोट बजाउने मादले हराउँदै गएकोमा यो पुरै बजाउने को पो होला ? खोजी पस्दै जाँदा बर्दियाको बह्रैयाताल गाउँपालिका मयूरबस्तीका अभिन्न मित्र सुशील चौधरीले गाँठो फुकाइ दिए । उनले २२ ताल बजाउँदै त्यस तालको नामकरण पनि गरे । यसको नाम मात्रै सुनेर पनि नाचको शैली थाहा पाइन्छ । जस्तो कि चोल बुडी मड पिए अर्थात् हिँड हजुरआमा रक्सी पिउन तालको मादलले बुढाबुढीलाई हौस्याउँछ । हात्तीको हिँडाइ जस्तो लमक लमक, भेंडा घुमाउनेदेखि कुखुराको जुधाइसम्म नाचिने ताल छ । एक खुट्टाले उफ्रिदै लाइनमा छिर्ने, मादले र नर्तकी टाउको जोड्दै नाचिने, नर्तकीलाई लखेट्ने ताल छ । त्यस्तै, कानतिर संकेत गर्दै नाचिने, सैनिक परेडझैँ नाचिनेदेखि उफ्रिएर कुलो पार गरेजस्तो, छुपुछुपु रोपाइको शैलीको नाचको ताल पनि छ । उता बन्दुक ताकेझैँ, पंक्षी उड्दै गरेको शैली अनि परेवा जोडीले माया गरेझैँ नाचिने ताल पनि छ सख्यामा । यसबारे बिस्तृत कुनै अर्को लेखमा लेखौंला । 

नेपाली लोकसाहित्यमा पहिलो विद्यावारिधि गरेका दाङका डा गोविन्द आचार्यका अनुसार दशैं तथा तिहारको अवसरमा नाचिने थारू सखिया, पैंयाको संगीत सहितको गीत श्रवण गर्दा उनलाई मीठो निद्रा पर्ने गरेको छ रे । उनको भनाई छ, ‘निद्रा बोलाउने आफ्नो मौलिक रैथाने संगीत फालेर थारूहरूको नयाँ पुस्ता निद्रा बिगार्ने आधुनिक गीत संगीतको लतमा फस्दै गइरहेको देख्दा दुःख लाग्छ ।’

साभारः कान्तिपुर कोसेली, २०८२ कार्तिक २२

https://ekantipur.com/koseli/2025/11/08/22-rhythms-of-the-madal-in-tharu-music-45-49.html?

प्रकाशित:

२६४ दिन अगाडि

|

२४ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९