Above News Title

थारू पहिचानसँग जोडिएको सख्या नाच र दसैँ पर्व                                                

थारू पहिचानसँग जोडिएको सख्या नाच र दसैँ पर्व                                                

परिचय 
चाडपर्व, संस्कृति मानिसहरूको सामूहिक जीवनशैली हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायको सामाजिक जनजीवन, आर्थिक अवस्था, राजनीतिक चालचलन, खानपिन, पहिरन, चिन्तन मनन आदि अनेकन पक्षलाई समेट्दछ । वास्तवमा चाडपर्वले समुदायलाई खुशी, रौनकता र चम्पन गराउने काम गर्दछ । थारू जातिको अलग पहिचान दिने खालका आफ्नै भाषा, धर्म, संस्कृति एवम् सामाजिक चालचलन, रीतिरिवाज छन् ।

थारू जाति नेपालका मूल आदिवासी हुन् । थारू जातिको नेपालको तराई तथा भित्री मधेसमा करिब २५ जिल्लामा बसोबास रहेको छ । थारू जाति समुदायमा कला, संस्कृतिमा निकै धनी मानिन्छ । थारू जातिको आफ्नै भाषा, कला, साहित्य, इतिहास, वेशभूषा, संस्कार, रीतिरिवाज, चालचलन, संस्कृति, चाडपर्व, रहनसहन नाचगान प्रशस्त छन् । थारू समुदायमा चाडपर्व, मौसम, परिवेशअनुसार विभिन्न नाच नाच्ने चलन रहेको छ । जस्तै, बडा दसैँमा सख्या नाच, बर्का नाच, महोट्या नाच, लट्ठी नाच, माघी पर्वमा मघौटा, बाह्रैमासजसो हुर्डङ्ग्वा, छोक्रा, झुमरा नाचलगायत नाच्ने गर्छन् । 

सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक नाच हो । थारू समुदायमा नाचिने नाचमध्ये सख्या समयको हिसाबले सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । यो नाच दसैँ र तिहारमा नाचिन्छ । सख्या नाचमा गाइने पौराणिक विषयवस्तुमा आधारित गीत रहेको छ । परम्परागत रुपमा थारू नाचिने सख्या नाचले चाडपर्वमा सबै उमेर समूहका नर्तकी र मादलेहरु सहभागी हुन्छन् । गुरुवा र केसौका (धामी) सँग पूजापाठ गरी अगुवा मादले, सहायक मादले (पछुवा), नाचको अगुवाई मोह्रिन्या र पस्गिन्याले गर्दछन् ।

बर्षा यामको खेतीपाती सकेपछि भाद्र महिनाको कुशे औंसी पछिको पहिलो आइतबार थारू समुदायका पुरुषहरुले निराहार ब्रत बसी मनाइने अट्वारी पर्व मानिसकेपछि यो नाच नाच्न सुरु गरिन्छ । यो नाच विशेष दुई समूहमा विभाजन गरेर नाचिन्छ । यो नाच ठुलो सङ्ख्यामा नाचिने हो । यस नाचमा करिब २० देखि १०० जनाको हाराहारीको सहभागिता रहन्छ । त्यसैले यो नाच नाच्दा भूतप्रेत नलागोस्, सबै नचनी, मादले टोलीलाई सुरक्षा होस् भनी नाच्नुभन्दा अगाडि थारू गुरुवाद्वारा गुरै गरेर देवी देवतालाई सम्झेर मात्र नाचको सुरुवात गरिन्छ । 

पहिले पहिले करिब दुईदेखि तीन महिनासम्म लामो समयसम्म सख्या नाचिने गरिन्थ्यो । यो नाच हरेक साँझ करिब छ, सात बजेदेखि राति दश एघार बजेसम्म बरघरको आँगनमा नाच्ने चलन हुन्छ ।

सख्या गीतको आख्यान

सुर्खेतको सख्या गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छन् । ठाउँअनुसार श्लोक संख्या घटबढ छ । यो नाच महाभारतकालीन पात्र कृष्ण भगवान्का माता देवकी (जासु), बुवा वासुदेव (इसरु), कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ । पहिलो, दोस्रो र तेस्रो खण्डमा यो संसार उत्पत्तिसम्बन्धी सृष्टि हुँदा सबैभन्दा पहिला के के सिर्जना भए भन्ने आख्यान छ । ? संसार सृष्टि भएपछि खेतिपातीको सुरुवात कसरी भयो ? मानव जातिले यस धर्तीमा कसरी जीवन सङ्घर्ष गरे भन्ने कुराको आख्यान यसमा छ । चौथो, पाँचौँ, छैठौ र सातौँ  खण्डमा जासु (यशोदा)को सन्तान माग, दुई जिउकी भएकी, गर्भवती जासुको स्याहार सुसार, सुडिनीको व्यवस्था आदिबारे गीतमा चर्चा छ । त्यस्तै, आठौँ, नवौँ र दसाँँै खण्डमा कान्हा (कृष्ण)को जन्म भएको, बालकको कान्हा नामकरण जुराएको, कान्हाको बाल्यकासम्बन्धी गीत छ । 

गीतको आख्यानमा एघारौँ र बाह्रौँ खण्डदेखि कान्हा लक्का जवान हुन थाल्छ र राधासँगको मायाजालमा पर्दै गएको प्रसङ्ग अन्तर्गत राधाले दूध लिन जाँदा, घर लिप्ने माटो लिन जाँदा, पानी लिन जाँदा विभिन्न समय राधासँग जिस्किने, माया पिरतीको प्रसँग यस खण्डमा रहेको छ । त्यसैगरी तेह्रौ खण्डमा कान्हाले आफ्नो घर छोडेर निकै कष्टपूर्ण यात्रामा निस्कनुपर्ने स्थिति आइपर्छ । कान्हाको लीला प्रसंशा सुनेर ईश्र्या र डाहा गरेर कंसले कान्हालाई कत्तिको योद्धा छ भनी परीक्षा लिनका लागि चुनौतीपूर्ण सर्तमा पार्छन् । उनलाई हिमवत खण्डमा गएर सुन्दर हिमालयन फुल लिएर आउने चुनौती दिन्छन् । 

कंसको सर्त स्वीकार गरी कान्हा बारी फुलवार जान तयार हुन्छन् तर आमाबाबा निकै चिन्तित हुन्छन् । सकुशल फर्किने आश्वासन दिदै दुःखी आमालाई सान्त्वना दिन्छन् । आफ्नो गन्तव्यको लागि आफूलाई चाहिने विभिन्न हातहतियार, सामल तुमलको व्यवस्था गर्न लगाई यात्रामा एक्लै निस्कन्छन् । विभिन्न पहाड, जङ्घार, नदीनालासँग जुध्दै, बाटामा जङ्गली जनावर बाघ, भालु, चितुवा, साँप, विच्छी, अनेकन समस्यासँग सामना गरेर गन्तव्य बारी फुलवार पुग्छन् । फूलहरु टिपेर ल्याउँछन् । 

त्यस्तो खतराजन्य ठाउँमा गएर फूल ल्याउन सक्ने भान्जाको साहस र वीरता देखेर कंस अचम्मित हुन्छन् । त्यही फूल चढाएर आफ्ना कुल देवतालाई चढाएर पूजा गर्ने क्रममा कान्हाले कंसको बध गर्छन् । विजय गरेकोमा रगतको चन्दन लगाई उत्सव मनाउँछन् र राधालाई आफ्नो पत्नीसमेत बनाउछन् र गीतको अन्त्य हुन्छ । 

गीतको आख्यानमा राधा र कान्हाको मिथक चाहिँ भिन्न छ । यस गीतमा राधा कंसको पत्नीको रुपमा वर्णित छिन् । तिनै राधासँग कान्हाको प्रेम हुन्छ र मामा कंसको बध गरी माइजूलाई आफ्नो पत्नी बनाएको पाइन्छ ।  

सख्या नाचको तयारी  

लामो समयसम्म नाचिने भएकोले यो नाच नाच्नुभन्दा अगाडि गाउँको मूली बरघर्‍या (मटाँवा) को सरसल्लाहमा गाउँभरिका दाजुभाइ, दिदीबहिनीहरुबिच बैठक बसेर छलफल गरी कहिलेदेखि नाच्ने ? नाच टोलीको मुख्य अगुवा मादले, दोस्रो मुख्य (पछुवा) मादले को बन्ने ? नाच टोलीको महिला समूहको मुख्य नाइके (मोह्रिन्या), दोस्रो समूहको नाइके (पछ्गिन्या) को बन्ने ? आदि विविध विषयमा टुङ्गो लगाएर मात्र विधिवत रुपमा नाचिन्छ । गाउँमा छलफलबाट नचनी, मादले एवम् अन्य कलाकारहरुको निधो भइसकेपछि सोमबारको दिन पारेर गुरुवा केसौकाबाट गुरै गरिन्छ । 

सुरुको दिन नाच्ने युवा, युवती महिलाहरु विभिन्न देवीदेवतालाई सम्झिएर मात्र नाच सुरु गर्छन् । पूर्वबाट उदाउँदै गरेको सूर्य, पश्चिमको रमझम देवी, उत्तरतिर हरिकविलास देवता, दक्षिणमा शिव जगन्नाथ, आकाशका इन्द्र र चन्द्र, पातालको बासुकी नाग, त्यसैगरी गाउँको मूल साझा ठन्वाका भूइह्यार आदिलाई सम्झेर हाम्रो रक्षा गर्नु र गीत कण्ठ गराइ सरसर्ती आउने गराउनु भनी पुकारा गर्छन् । 

नाच सुरु हुनुभन्दा अगाडि अगुवा मादले, पछुवा मादलेले विशेष किसिमको देवी देवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ, जसलाई झ्वाङ मर्ना या ट्रासन मर्ना भनिन्छ ।

नाच सुरु हुनुभन्दा अगाडि अगुवा मादले, पछुवा मादलेले विशेष किसिमको देवी देवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ, जसलाई झ्वाङ मर्ना या ट्रासन मर्ना भनिन्छ । नाच्नेहरु मादलको तालमा पैया नाच नाच्छन् । फरक फरक ढङ्गले नचाउन सकिने पैया नाच दर्जनौ शैलीका हुन्छन् । एउटा गीत गाउने पैँया नाचबाहेक अरु पैँया नाच नाच्दा गीत गाइदैन । मादलको तालमा सामूहिक रुपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मिलाएर नचनीहरु नाच्दछन् । यस्तो पैँया नाच बिचबिचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरु पालैपालो गीत गाउँदै नाचिन्छ । यो नाच नाच्दा एकै प्रकारको गीत गाउने भएकाले बिच बिचमा मनोरञ्जनात्मक पैया नाच नाचिन्छ ।

हरेक दिन सरस्वती बन्दना जस्तै सरस्वती देवीको सम्ह्रौती गाएर यो नाच नाचिन्छ । दुई समूहमा महिलाहरु बाँडिएर गीत गाउँदै मादलको तालमा नाचिने नाच देउदा नाचकोझैँ माला जोडिएको हुन्छ, बिचमा मादलेको टोली हुन्छ । नचनी महिलाहरुको जुन समूहले गीत गाइरहेका छन् त्यही समूहको नजिक गएर मादलेहरु मादल बजाउँछन् । यस नाचमा चार पाँचदेखि दर्जन जति मादल बजाउनेहरु हुन्छन् । अगुवा मादलेले ताल काट्दा ‘हाँ’ भन्ने बोली लगाउनुपर्छ । सोही बोलीको आधारमा अन्य मादलेहरु पनि सँगै मादलको ताल काट्छन् । 

अगुवा मादलेले ताल काट्दा ‘हाँ’ भन्ने बोली लगाउनुपर्छ । सोही बोलीको आधारमा अन्य मादलेहरु पनि सँगै मादलको ताल काट्छन् । 

बरघरबाहेक गाउँको गन्नेमान्यको घरमा सम्मानका लागि पनि सख्या नाच्ने प्रचलन रहेको छ । दसैँ पर्वलाई हर्षोल्लास बनाउने, रमाइलो र चम्पन गराउने काम यो नाचले गरेको हुन्छ । यो नाचमा बुढापाकादेखि ससाना बालबालिकाहरुसमेत सहभागी हुने भएकाले सबैको उपस्थितिले गाउँमा रौनकता थपिएको हुन्छ । बडा दसैँमा थारूहरु अष्टमीको दिन आफ्ना पितृहरुलाई ढिकुरी पूजा गरी आफ्ना देवी देवताहरुलाई चढाउँछन् । सोही दिन बरघर (मटाँवा) को घरमा रातभरि नाचेर बिहान गराउने भन्ने चलन छ । त्यो दिन नचनी युवा युवतीहरु निकै सजधजका साथ रातभरि नाच्छन् । भाले बासेको डाको सँगै केही युवा र युवतीहरुले अघिल्लो दिन पूजापाठ भेँडो गुनी (देवता) लाई छुट्याएको रक्सी उठाउने चलन हुन्छ । सबै घरबाट उठाएर ल्याएका प्रसाद स्वरुपको रक्सी सामूहिक रुपमा खाने गर्छन् ।

दसैँको महानवमीको दिन बिहान आआफ्ना कुल देवताहरुलाई पूजापाठ गरेको फूल, अछता, पाती एवम् कुल देवतालाई प्रसादस्वरुप चढाएका विभिन्न परिकारसहित नजिकैको नदी वा खोलामा सेलाउन जाने गर्छन् । उक्त दिन सख्या नाच टोली महिला, युवतीहरु विशेष वेशभुषा, गरगहनामा सजिएर पितृहरुको भाग नजिकको नदीमा सेलाउन जाँदा सबै गाउँले सँगै जाने गर्दछन् । त्यो दिन नदीतिर जाँदा सख्या नाचको टोली दुई लाइनमा आवद्ध भई नाच्दै नाच्दै जान्छन् र ठुलो चौरमा फरक फरक शैलीमा पैँया नाच नाच्छन् । दसैँको टीकाको दिन पनि युवा युवतीहरु बरघरको आँगनमा दिउँसोको समयमा नाच्ने गर्दछन् । 

सख्या नाचको अन्तिम चरणतिर पहिला सम्झिएका सम्पूर्ण देवी देवतालाई गीतमार्फत् आआफ्ना थानमा बस्न आग्रह गर्दै समाप्ती गरिन्छ । नाचको अन्तिम दिनमा पनि गुरुवा र केसौका (सहायक गुरुवा) ले पुनः गुरै (विशेष पूजापाठ) गर्छन् । सोही पूजापाठका लागि नचनीहरु विशेष दिन पारेर खोलाबाट माछा मारेर ल्याएका हुन्छन् । खाने परिकार जोहो गर्छन् । नाच सकेपछि त्यो दिन खुवाइपिवाइ गरि समापन गरिन्छ । 

निष्कर्ष 

सख्या नाच ठुलो समूहमा नाचिने भएकोले प्रायः गाउँको सबैको सहभागिता रहेको हुन्छ । नाच नाचिसकेपछि सबैले सुखानी दुखानी बिर्साउनका लागि कुनै विशेष दिन तोकेर भोज खाने चलन छ, जसलाई ख्यारा खैना भनिन्छ । यसको लागि नचनी समूहका मुख्य टोली प्रमुखहरु गाउँको घर घरमा नाच्दा दान दक्षिणा पनि संकलन गरेर राखेका हुन्छन् । संकलित चामलको जाँड बनाउने र उठेको रकमबाट सुँगुर, बँगुर किनेर भोज भतेर गर्छन् । त्यो ख्यारा खाएको दिन सबैले मिठो परिकारसँगै खानपिन गरेर छोक्रा नाचेर रमाइलो गर्छन् । 

वर्तमान समयमा सख्या नाच लोप हुँदै गइरहेको छ । थारू जाति समुदायको पहिचानसँग जोडिएको यो नाचलाई संरक्षण, संवर्धन गर्न जरुरी छ । यस्ता खालका नाचहरु प्रवर्धन गर्न थारू जातिका अगुवाहरु स्वयम् सक्रिय हुनुका साथैै स्थानीय तह तथा राज्यले ध्यान दिन आवश्यक छ । नेपालको हरेक जातजातिको कला, संस्कृति देशकै संस्कृति हो भन्ने कुराको बोध हुनुपर्छ । 

बीरेन्द्रनगर, सुर्खेत 
 

प्रकाशित:

३९० दिन अगाडि

|

१८ असोज २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९