Above News Title

लुगा चोरलाई चिठी

लुगा चोरलाई चिठी

राजु स्याङ्तान 

प्रिय चोरजी,
रात्रीकालीन सम्झना । 

माघ महिनाको यो ठिहीमा म यतिबेला चोरिएको लुगा सम्झिरहेछु । तिमी त्यही लुगा लगाएर जसोतसो आजको रात काट्ने ध्याउन्नमा छौ होला । तिम्रो बाध्यता थियो, लुगा चोर्नु । मेरो बाध्यता थियो, घरबेटीको कार छेउमा लुगा सुकाउनु । 
तिमीले सम्झियौ होला, यत्रो घरवाला मान्छेको एउटा लुगा चोर्दा के होला र ?

तर मेरो बाध्यता थियो, ग्राउन्ड फ्लोरमा बसेर बाहिर लुगा सुकाउनु । किनकि मलाई घरबेटीको छतमा जाने अनुमति छैन । तिम्रो बाध्यता थियो, लुगा चोरेरै यो वर्षको जाडो कटाउनु । किनकि तिमीलाई आगो ताप्न समेत सहरमा अनुमति छैन ।

प्रिय चोरजी 
अहिले रातको ११ बजिसक्यो । यो रातको चिसो ठिहीमा भर्खरै म पनि कारखानाबाट डेरामा आइपुगेँ । बाटोभरि मेरो चोरिएको लुगा लगाएको तिमी भेटिन्छु कि भन्दै यता उति हेरेँ । कतै भेटिनँ । चिसो सडक पेटीमा कुकुरसँगै डल्लो परिरहेको तिमी हो कि भनि हेरेँ, होइन रहेछ । पुलमुनि लुगलुग काम्दै सुतिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ । 

एउटा मान्छेलाई कुकुरले लखेट्दै सडकको पल्लो छेउ पुर्यायो । उसको साथबाट केही खानेकुरा सडकमा खस्यो । त्यो खानेकुरा उसले खान पाएन, कुकुरले खायो । कुकुरले आफ्नो भाग खोसेको हेरिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ । एकजना मान्छे मिनरल वाटरका खाली बोतलहरु बोकेर बन्द भएको कवाडीखाना नजिक उभिरहेको देखेँ । तिमी हौ कि भनि हेरेँ, होइन रहेछ । 

प्रिय चोरजी,
तिमी यो राती कहाँ सुतिरहेका छौ होला । तिम्रो ठेगाना कहाँ होला ? म केही जान्दिनँ । ठेगाना हराएको यो सहर आफै आफूलाई खोज्दै दिनभर भौतारिन्छ । यो सहर आफ्नै ठेगाना नपाएर आफैसँग छुटेको शताव्दीऔं भइसक्यो । 

थाहा छ चोरजी, उहिले उहिले सहर यस्तो निठुरी थिएन रे । उहिले त मान्छेको सेवा गर्न सहर बजार जन्मिएको रे । बजारमा मान्छे होइन, मान्छेमा बजार पुग्थ्यो रे । तर चोरजी समय कहाँ उस्तै रह्यो र ? जसरी सहरमा घरका तलाहरु थपिए, त्यसैगरि विभेद र वर्गका तहहरु पनि थपिए । सबैभन्दा थोरै काम गर्ने सबैभन्दा माथिल्लो तलामा, सबैभन्दा धेरै काम गर्ने सडक किनारमा ।

प्रिय चोरजी
रातको मध्यान्नमा यतिबेला बाहिर सुनसान छ । यो जून लाग्ने रात हो कि होइन, मलाई थाहा छैन । बाहिर किरा भट्याङ्ग्रा, चराचुरुंगी केही कराएको सुनिन्न । पानी कलकल बगिरहेको, हावा सिरसिर चलिरहेको त झन् कहाँ सुन्न पाउनु । मलाई थाहा छ, यी सबैका आवाज सुन्न मैले यहाँबाट बिहानभरी हिँडेर पर पर पुग्नु पर्छ । 

बरु बेलाबेला सुनिन्छ, धर्ती छाड्दै उडेका हवाइजहाजको चर्चो आवाज । अनि सुनिन्छ, रात्रीकालीन मनोरञ्जनपछि घर फर्किरहेका सहरवासीका कल्याङ मल्याङ । मैले यो सबै तिमीलाई किन सुनाएँ भनेँ, मेरो लुगा जुन तिमीले चोरी गर्यौ, त्यो त्यति न्यानो छैन । भृकुटीमण्डपको बजारबाट १८ सयमा किनेको हुँ । त्यो लुगाको १२ सय जतिको न्यानो त मैले नै लगाइसकेँ हुँला । नयाँ देखेर तिमी त्यसैमा भर परौला, त्यसो नगर चोर जी । 

माथि भनिहाँले नि, सहरमा केहीको पनि आवाज सुनिन्न । सुनसान सडकको ल्यामपोस्ट मुनि जाडोले लुगलुग काम्दै तिम्रो च्यापु हल्लिएको यो सहरले देख्दैन, सुन्दैन । भोको पेट कुँइ कुँइ कराएको यो सहरले सुन्दैन । यो सहर त भर्खरै बजारमा आइपुगेको होइन, अराइभल भएको ब्राण्डेड लुगा ओडेर मस्त निदाइरहेको छ ।

प्रिय चोरजी, 
भोलि तिमी र म भेटौं न । म तिमीलाई मेरो ७८ लटको बाइकमा राखेर दिनभर सहर घुमाउँछु । अनि देखाउँछु, यो सहरमा कहाँ कहाँबाट चोर्न मिल्छ कपडा । 

सबैभन्दा पहिला लैजान्छु तिमीलाई काठमाडौंका ब्यापारिक मलहरुमा, जहाँ कपडा मान्छेले होइन, प्लास्टिकले लगाएका छन् धेरै । त्यसपछि लैजान्छु, कपडा सिलाइरहेका मजदुरहरुको कारखानामा, जहाँका मजदुरहरु आफ्नै छालाका एक एक भाग उप्काउँदै जुग जुगदेखि सिलाइरहेछन् ब्यापारीका लागि कपडा । 

अनि हामी जानेछौं, यो देशका राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीस र सांसदहरुको पोसाक सिलाउने ठाउँमा, जहाँ लाज जत्ति जम्मै धागोमा उनिएर बसेका छन् र मान्छेजस्ता आकृति मात्रै संसदमा चटक देखाइरहेका छन् । र, हामी जानेछौं चोक चोकमा, जहाँ नक्कली ट्राफिकले समेत सक्कली लुगा लगाएर उभिएका छन् ।

प्रिय चोरजी, 
तिम्रो चोरी पटक्कै पुगेन । सहरभरिका, गाउँभरिका र संसारै भरिका भोका नाङ्गाहरु जम्मा गरेर चोर्न जाउँ । त्यसबेला म पनि उभिएको हुनेछु तिमीसँगै । जब हजारौंले, लाखौंले, करोडौंले एकाध दर्जनको घरमा चोर्न पुग्छन् नि त्यो चोरी हुँदैन, चोरेको हुँदैन, खोसेको हुन्छ, विद्रोह गरेको हुन्छ । 

उही तिम्रो ज्यानमा भएको
लुगा लगाउने अघिल्लो मान्छे
राजु स्याङ्तान 

२०७९ माघ ४ 
काठमाडौं

प्रकाशित:

१२८९ दिन अगाडि

|

५ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९