Above News Title

बा आमाजस्तै मेरा गुरुहरू 

बा आमाजस्तै मेरा गुरुहरू 

२०४५ सालमा मैले श्री वालजनता उच्च मावि दाङदेउखुरीबाट एसएलसी पास गरेको हुँ । प्राविको सुरुवातको तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण हामीलाई ‘गाइड’ गर्ने मान्छे घरमा कोही थिएन । परिवार नै पहिलो पाठशाला हो । तर परिवारको पाठशालामा सिकाउने कोही थिएनन् ।

मेरा पिता टीकाराम चौधरी पहाडमा फरेष्टरको जागिर खानुहुन्थ्यो । आमा पढेकी थिइनन् (हाल साक्षर भएकी छिन्) । काका हामीभन्दा माथिल्लो तहको कक्षामा भएपनि हामीलाई पढाइमा डोर्याउने काम कहिल्यै गर्नुभएन ।
    कक्षा २ मा म फेल भएँ । कारण मलाई ‘क’ लेख्न समेत आउँदैनथ्यो । १ कक्षा कसरी उकालिएको थिएँ, मलाई सम्झना छैन । ३ कक्षा म बडो मुश्किलले तेश्रो श्रेणीमा पास भएको थिएँ । त्यसवेला ३ कक्षा जिल्लास्तरीय हुन्थ्यो । जब कक्षा ४ मा पुगेँ, पढाई आफ्नै लागि हो भन्ने भावना केही ठूला लेखकहरुको जीवनी पढेर थाहा पाइसकेको थिएँ । त्यसैले पढाईमा जति सक्दो ध्यान दिने प्रयास गर्थेँ । तर मेरो टेक्ने आधार नै कमजोर थियो । 
कक्षा ४ मा म अँग्रेजी र गणितमा फेल भएँ । विद्यालयले २ विषयमा फेल हुनेलाई १ महिनाको कोचिङ कक्षाको व्यवस्था गर्यो र पुनः मौका परीक्षा दिने अवसर दियो । यो व्यवस्था ४ कक्षाबाटै सुरु गरिएको थियो । यो कोचिङ कक्षाले मलाई निकै उर्जाको काम गर्यो । जम्मा २ विषयमा मात्रै महिना दिन घोरिएर पढ्दा अँग्रेजी, गणित धेरै सुधार गर्ने मौका पाइयो । फलस्वरुप कक्षा ४ मा व्याक लागेर बल्लतल्ल पास भएको विद्यार्थी कक्षा ५ मा एकैपल्ट दोश्रा भएँ । उता दुई तह माथि हुनु भएको मेरो दाई ऋषिराज चौधरीलाई कक्षा ६ मा व्याक लागेकोमा कक्षा ७ मा एकैपल्ट पहिला हुनुभयो । 
विद्यालयका शिक्षकहरु हाम्रो पढाईमा सुधार भएको देखेर आश्चार्यचकित थिए । सबै शिक्षकको मुखमा एउटै कुरा झुन्डिएको थियो । यिनी दुई भाई अचानक यति तगडा कसरी भए ? जबकि घरमा छुट्टै शिक्षक पनि राखिएको थिएन । 
तर हाम्रो सफलता अचानक भएको थिएन । व्याक लागेपछि हामी दुई भाई साह्रै रन्थनिएका थियौँ । परीक्षाको समयमा मात्रै पढ्नुपर्छ भन्ने सोच त्यागेका थियौँ । वर्षे विदा र दसैं तिहार जस्ता लामो विदामा पढाई भएका सवै पाठ लेखेरै तयारी गर्ने बानीको विकास गरेका थियौँ, जो पछिसम्मै रह्यौ ।
कुशे औंसीका अवसरमा लेखिदै गरेको यस आलेखमा म मेरा पिताजी पछि मलाई प्रभाव पार्ने स्कुलका गुरुहरुप्रति केही सम्झनाको पोको खोल्ने प्रयास गरेको छु ।


व्याक परीक्षाको योजना ल्याउने तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीलाई आफूमा आएको परिवर्तनको श्रेय दिन चाहन्छु । वास्तवमा ब्याक परीक्षाको योजना नल्याएको भए म औसत विद्यार्थीको रुपमा मात्रै हुन्थेँ कि ? 


प्रधानाध्यापक चौधरीका अरु पनि विशेषता थिए । उहाँ कक्षा कहिल्यै खाली हुन दिनु हुन्नथ्यौ । अँग्रेजीको शिक्षक भए पनि कक्षा खाली भएको बेला जुनकुनै कक्षामा के विषयको घण्टी खाली भएको हो पढाउन थाल्नु हुन्थ्यो । त्यो विषय कहिल्यै नपढाउनेले पढाउँदा विद्यार्थीमा अझ उत्सुकता, रुचि जाग्दोरहेछ । 
पछि हेडसरले कक्षा खाली भएको परिपूर्ति गर्न गज्जबको ‘आइडिया’ ल्याउनुभयो । कक्षाका उत्कृष्ट विद्यार्थीले नै घण्टी खाली भएकोमा पढाउन थाल्ने । ५ र ६ कक्षामा दोश्रा भएकोमा म ७ कक्षामा  पहिला भएको थिएँ । ७ कक्षामा पढ्दा त्यो योजना ल्याइएको थियो । निश्चय नै जुन विषयको घण्टी खाली भएको हो, कक्षा प्रथम विद्यार्थीको नाताले त्यो विषय पढाउनुपर्ने मेरो पहिलो दायित्व पथ्र्यौ । यसरी विद्यार्थी छँदै म शिक्षक भएको थिएँ । आफ्नै सहकर्मीहरुलाई ‘गाइड’ गर्न पाउँदा यो भन्दा खुशीको कुरा अरु कुन होला र ? 
हेर्दाहेर्दै विद्यार्थीलाई त्यो तहसम्मको जिम्मेवारी सुम्पिने राजेन्द्र गुरुलाई म यो लेखनी मार्फत पनि प्रणाम गर्न चाहन्छु । जसले मलाई पढाइमा थप आत्माविश्वास दिलायो र परीक्षाको लागि कहिल्यै डराउनु नपर्ने स्टेजमा पुर्यायो । मेरा पिताजी पछि कसैले मलाई प्रभाव पार्यो भने त्यो राजेन्द्र गुरु नै हुन् । 

                                 तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरी
  

 अग्लो हृष्टपुष्ट खाइलाग्दो ज्यान, रवाफिलो वोली, हात्ती जस्तो लमक लमक हिँडाइले जो कोही विद्यार्थी राजेन्द्र सरसँग तर्सिन्थे । कारण घण्टी लागेपछि कक्षा वाहिर हुने जो कोही विद्यार्थी उहाँको कोपभाजनको शिकार हुन्थ्यो । उहाँको रवाफिलो वोलीले विद्यालयको वातावरण औधी शान्तमय थियो, विद्यालय अनुशासित थियो । उहाँको छोरा सुरेन्द्र चौधरीसँग हामी सहपाठी थियौं । गृहकार्य नगरेकोमा छोरालाई समेत कुट्नु हन्थ्यो । यसरी कसैलाई काखा, कसैलाई पाखाको व्यवहार कहिल्यै गर्नुभएन उहाँले । प्रशासनसमेत चलाउने प्रधानाध्यापकमा ओजपूर्ण आवाज हुनैपर्छ, जुन उहाँमा थियो ।
अमेरिकाबाट अँग्रेजी भाषाको तालिम लिएर आएपछि राजेन्द्र सर अझ खारिएर आउनु भएको थियो । त्यसको थप उपलब्धि अमेरीकी स्वयमसेवक शिक्षिका ‘एमी एकर’लाई विद्यालयमा भित्र्याउनु भयो । जसले गर्दा कक्षा पूर्ण रुपले अंग्रेजी वातावरण भएपछि सुरु सुरुमा गाह्रो लागे पनि पछि अंग्रेजी बुझाई सहज हुँदै गयो । 
एमीले ६ र ७ मा अंग्रेजी पढाउँथिन् । पाठयोजना घरबाटै बनाएर ल्याउने र कालोपाटीमा टेपले टाँसेर पढाउने उहाँको सैलीले थोरै समयमा सवैको मन जित्यो । त्यसरी पाठयोजना वनाएर सुरुका र पछिका कुनै शिक्षकले पढाएनन् । 
एकदिन राजेन्द्र सरले अंगे्रजी सिकाइको लागि थप योजना ल्याउनुभयो । उहाँले भन्नुभयो, अमेरीकी शिक्षकले पूर्ण रुपले अंग्रेजी पढाएको तिमीहरुले बुझेकै छौ । म पनि अब पुरै घण्टी अंग्रेजीमै बोल्छु । तिमीहरुले कुनै प्रश्न भए अंग्रेजीमै गर्नेछौ । कोही नेपाली बोल्न पाउनेछैन । बोलेमा प्रति वाक्य १० पैसा फाइन लाग्नेछ । 
अनि, नेपाली बोल्नेलाई अनुगमन गर्ने र जरिवाना रकम टिप्ने जिम्मेवारी मैमाथि पर्यो । म आफै पनि ‘फाइन’ तिर्नेमा परें । तर यसले अंग्रेजी सिक्ने वातावरणको भने धेरै विकास गर्यो । अर्को कुरा अक्षर विगार्छ भन्ने हेतुले डटपेनले लेख्न प्रतिबन्ध लगाउनु भएको थियो उहाँले । यसले ह्याण्डराइटिङमा धेरैको सुधार भएको थियो । 
    विज्ञान शिक्षक प्रकाशकुमार चौधरीको कक्षाको वातावरण पनि मुग्ध पार्ने खालको हुन्थ्यो । नअड्किइ सरासर परिभाषा लेखाउने शैलीमा उहाँ पढाउनुहुन्थ्यो । म पहिलो बेन्चमा बस्थे । एकदिन पढाइरहेको समयमा मलाई वाहिर हेरेको देख्नुभयो र झपार्नु भयो–‘कक्षा वाहिर हेर्ने भए म तिमीलाई सवैभन्दा पछिल्लो वेन्चमा वसालिदिन्छु । विद्यार्थीको नजर सधैँ पढाउने शिक्षककै मुहारमा केन्द्रीत हुनुपर्छ, अनि मात्रै पाठ पढाएको राम्ररी वुझिन्छ ।’ त्यो घटनापछि पढाइरहेको समयमा कक्षा वाहिर हेर्ने धृष्टता कसरी गर्नु र ? 
९ र १० कक्षामा अनिवार्य र ऐच्छिक दुवै गणित पढाउने श्याम बहादुर त्रिपाठी सरको पढाईले भने मलाई कहिल्यै तान्न सकेन । सायद उनी गेस पेपर हेरेर पढाउन आउँथे । कालोपाटीमा प्रश्न हल नगर्दै पुछारमा उत्तर लेखिसकेका हुन्थे । त्यसैले राम्ररी बुझाएर यो कसरी भयो भन्ने नअथ्र्याइ ठ्याक्कै उत्तर मिलाउनमै उनको ध्यान केन्द्रीत हुन्थ्यो । 
कक्षा १, २, ३ मा पढ्दा पाएको सजाय म जिन्दगी भरी भुल्न सक्दिन । कुखुरा नबनेको कुनै दिनै हुन्नथ्यो । कुखुरा बन्न नसक्ने धेरै साथीहरुले उहिल्यै पढाई छाडे । कुखुरा बनाउँदै पिठ्युँमा झोला, त्यसमाथि ईंटा थपिदिँदै शिक्षक प्रेम चौधरीले भन्ने गर्थे– यो केटोले कहिल्यै उन्नति गर्न सक्दैन । मैले नेपालीमा एमए सक्दा उनी आश्चार्यचकित भएका थिए । चाँडै पो विते विचरा । न भए आज मैले पीएचडी सकाउँदा उनको भाव कस्तो पो हुँदो हो ? 
माथि वर्णित मेरो अनुभवले के भन्छ भने पाठयोजना बनाएर कक्षामा प्रवेश गर्ने, विद्यार्थीको मनोभावना बुझ्ने, थरीथरीका अतिरिक्त क्रियाकलाप गराउने, घण्टी खाली हुन नदिने, सजायले मात्रै विद्यार्थीले सिक्न सक्छन् भन्ने भावना त्याग्ने गुण राम्रा शिक्षकका उदाहरण हुन् । विद्यार्थीलाई अनुशासित र सफा सुग्घर भएको देख्न चाहने शिक्षकले आफूमा पनि त्यो गुण खोज्नुपर्छ । सबै विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झिनु पर्छ ।


 

प्रकाशित:

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९